Tuesday, June 11, 2019

तामाङ ज्ञान महोत्सव

तामाङ ज्ञान महोत्सव : जस्तो क्षण उस्तै नाचगान
भाद्र ८, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ । तर बिस्तारै यो परम्परा लोप हुँदै गएको विज्ञहरू बताउँछन् । नेपाल पर्यटन बोर्डमा आयोजित तामाङ ज्ञान महोत्सवको अन्तिम दिन बिहीबार तामाङ समुदायमा प्रचलित र लोपोन्मुख गीत, नाच र नाटकबारे बहस चल्यो।
‘तामाङ लोक नाटक’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै प्रवीण पुमाले दोइला, घेवा, छेस्युग, दोरा, झ्युङा, छ्योत्पा, भाक्पा, स्याब्रु, डम्फु, छेची, म्हेन्दोमायालगायत तामाङ जीवनशैली, उत्पत्ति, संस्कृति, परम्परा झल्किने विभिन्न लोक नाटकको चर्चा गरे । त्यस्तै रमेशकुमार तामाङले ‘तामाङ गीतसंगीत’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै ताम्बा गीत, शेरगमला व्हाई (प्रार्थना गीत), डम्फुसेङाला व्हाई (डम्फु उत्पत्तिको गीत), रुइला व्हाई (थर उत्पत्तिको गीत), म्हेन्दोमाया लगायतका लोक गीतहरू चर्चा गरे । ‘यी गीतहरूको अभिलेखीकरण र व्याख्या विश्लेषणमा काम हुन सकेको छैन,’ उनले भने । प्रतिभा पुनले ‘तामाङ लोक नाच’ बारे कार्यपत्र प्रस्तुत गरिन् ।
उनले प्रदेश नम्बर ३ को तामाङ समुदायमा २० वटा लोक नाच रहेको बताइन्। ‘तर तामाङ जाति भन्नेबित्तिकै मानिसलाई सेलो नाच नै याद आउँछ,’ उनले भनिन्, ‘अरू नाचबारे पनि अनुसन्धान गरी प्रकाशमा ल्याउनुपर्छ ।’ यो सत्रको अध्यक्षता गर्दै प्राज्ञ पुष्कर गुरुङले ‘अघिल्लो महिना मात्रै राजधानीमा सम्पन्न सेलो महोत्सवमा तामाङ लोक नाटक हेर्न पाएको’ बताउँदै लोक नाटकलाई आधुनिक स्टेजमा ल्याउनुपर्ने औंल्याए ।
पहिलो सत्रमा भने आदिवासी साहित्यिक अभियानका अभियन्ता काजीमान थिङले तामाङ समुदायको संस्कृति र यसमा आएको विचलनबारे प्रकाश पार्दै आफ्नो मौलिकता र संस्कृतिबारे अनभिज्ञ रहेको दाबी गरे । उनले धार्मिक र सांस्कृतिक हिसाबले पवित्र बुद्धमन्त्र राखिएको खादाको महत्त्व बुझाउन नसक्दा अरू वस्तुले प्राथमिकता पाएको दाबी गरे । तामाङ बस्तीलाई तामाङ संस्कृति र खानाको पयर्टकीय गन्तव्य बनाउन सकिने सम्भावना उनले औंल्याए । महोत्सवमा ‘नेपालको राजनीतिक आन्दोलनमा तामाङ जातिको योगदान’ माथि रामबहादुर बुढाले कार्यपत्र पेस गरे ।
लेखक एवं राजनीतिकर्मी सीताराम तामाङले विस्तारै तामाङको भूमि, ताम्बा परम्परा, लामा परम्परा संकटमा पर्दै गएको बताए । अन्तिम दिन खोजराज गोले, सिङ्ग मोक्तान तामाङ, अनिसकुमार थोकर, आरके तामाङ, सामसूर्य तामाङ, बालकृष्ण बल र मवि दोङ तामाङले कार्यपत्र प्रस्तुत गरे ।
पुस्तक, पुरानो सांस्कृतिक सामग्री, भेषभूषा प्रदर्शनीसहितको महोत्सव यसपटक लोभलाग्दो सहभागिता रहेको महोत्सव संयोजक गणेश योञ्जनले बताए । अन्तिम दिन फूलमान वल निर्देशित छोटो फिल्म ‘सेलफोन’ समेत देखाइयो।
प्रकाशित : भाद्र १०, २०७५ २०:५८

३२ भाषाका ३६ कविता वाचन

३२ भाषाका ३६ कविता वाचन 
फाल्गुन ९, २०७५सुनीता साखकर्मी
काठमाडौँ — अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्गलवार 'राष्ट्रिय मातृभाषा कविता महोत्सव' आयोजना गरेको छ । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको छ ।
महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाएका थिए।
यस्तै, पूर्णीमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए।
दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बु, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाकीसहित र्‍याली प्रदर्शन गरे। कमलादीबाट सुरु भएको र्‍याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो।
 कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्न सक्ने बताए। 'बौद्धिकता र गुणस्तरीयको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ। यसलाई सुधार्नुपर्छ,' उपराष्ट्रपति पुनले भने, 'हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला। त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ।'
तस्बिरहरुः सञ्जोग मानन्धर/कान्तिपुर प्रकाशित : kantipur, फाल्गुन ९, २०७५ १८:३६

बागेश्वरीको तिजोरी फुटाइने

बागेश्वरीको तिजोरी फुटाइने
फाल्गुन २८, २०७४ठाकुरसिंह थारु
नेपालगन्ज — प्रसिद्ध बागेश्वरी मन्दिरमा सुन, चाँदी र हीराका मूर्ति यकिन गर्न पहिलोपल्ट तिजोरी फुटाउने निर्णय भएको छ । मन्दिर गुठी व्यवस्थापन समितिको आइतबार बसेको बैठकले मालपोत कार्यालयको जिम्मामा रहेको गहनाको तिजोरी खोल्ने निर्णय गरेको हो ।
उच्च अदालत नेपालगन्ज इजलासले मन्दिरको नाममा रहेको चलअचल सम्पत्ति पारदर्शी र व्यवस्थित गर्न समिति गठन गरेको छ । उक्त समिति संयोजक नेपालगन्ज उपमहानगरपालिका प्रमुखलाई तोकिएको छ ।
प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले उक्त मन्दिरको सम्पत्ति अभिलेखीकरण गरिरहेको छ । बैठकले आउँदो बुधबार बिहान ९ बजे गहनाका तिजोरी खोल्ने निर्णय गरेको छ । मन्दिरका नाममा १ सयभन्दा बढी बिघा जमिन दर्ता छ । वागेश्वरी छेउछाउमा दर्जनौं सटर भाडामा सञ्चालन गरिएका छन् ।
मन्दिरमा भक्तजनले सुन र चाँदीका मूर्ति चढाउने परम्परा छ । त्यसको अभिलेखसमेत व्यवस्थापन समितसँग छैन । चैते दसैं, शिवरात्रिलगयात चाडपर्वमा हजारौं भक्तजन भाकल गर्न र भेटी चढाउन आउने गर्छन् । मन्दिरको चारैतिर करिब ५० भन्दा बढी व्यावसायिक सटर छन् । ती सटर भाडाको हिसाब लेखाजोखा थिएन । कतिपय भक्तजनले मन्दिरको नाममा जग्गा दान गर्दै आएका थिए ।
‘अदालतको आदेशपछि गठन भएको वागेश्वरी मन्दिर गुठी समितिले सम्पत्तिको अभिलेख तयार गरिरहेको छ । मालपोत कार्यालयमा राखिएको तिजोरी फागुन ३० गते सार्वजनिक गर्ने निर्णय भयो,’ समिति सदस्य तथा मन्दिरको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता बलबहादुर चन्दले भने, ‘तिजोरी खोलिएपछि गरगहनाबारे यकिन हुनेछ ।’
संकलन हुने भेटी, गरगहना र सटरबाट हुने आयआर्जनको हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगरिएपछि अधिवक्ताद्वय चन्द र लोकबहादुर शाहले अदालतमा रिट दर्ता गरेका थिए । हिन्दुको प्रमुख शक्तिपीठ मानिने उक्त मन्दिरमा भक्तजनले दैनिक पूजाका क्रममा भेटी चढाइने गरिएको छ । यहाँ दैनिक सयौं भक्तजन पूजाका लागि आउने गर्छन् ।
चाडपर्वका बेला एकैदिन हजारौं भेटी संकलन हुन्छ । ती भेटी महन्थहरूले आफूखुसी गर्दै आएका छन् । मालपोत कार्यालयमा रहेको वागेश्वरीको तिजोरीबाट गरगहना हराइसकेको शंका गरिएको छ । भेटीको अभिलेख नराखी बहुमूल्य मूर्तिहरू हराइएका हुन् । चाँदीका तुटेफुटेका मूर्ति मात्रै अभिलेखमा रहेको जानकारले बताए । मन्दिरको नाममा रहेका सम्पूर्ण चलअचल सम्पत्तिको नियमित रूपमा अभिलेख राख्न र सार्वजनिक गर्न अदालतले आदेश दिएपछि समिति गठन भएको हो । मन्दिर स्थापनाकालदेखि हालसम्मको अवस्था तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वसमेत झल्कने गरी वागेश्वरीको परिचय, जानकारीपत्र वा पुस्तक प्रकाशन गराउन, पूर्वतर्फको रानी तलाउको पुल जीर्ण भइसकेकाले यथाशक्य छिटो पुनर्निर्माण, व्यवस्थित पार्क, सार्वजनिक शौचालयको व्यवस्थित गर्न माग गरिएको छ ।
रिटमा वागेश्वरी मन्दिर व्यवस्थापन, सञ्चालक समिति, मूल महन्थ, प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय प्रमुखलाई विपक्षी बनाइएको थियो । धार्मिकस्थल भएका कारण त्यहाँको पारदर्शिताका लागि कसैले पनि आंैला उठाउन नसक्दा सार्वजनिक सम्पत्ति दुरुपयोग हुँदै आएको छ । प्रकाशित : कान्तिपुर, फाल्गुन २८, २०७४ १०:५९

जय बागेश्वरीको मौलिकता मासिँदै

जय बागेश्वरीको मौलिकता मासिँदै
फाल्गुन ११, २०७५दामोदर न्यौपाने
काठमाडौँ — जय बागेश्वरीको पहिचान माटो हो । मन्दिरको भित्ताको जडान माटोको छ । मूर्ति माटाकै छन् । अब यसको निर्माण भने मौलिकता मासिने गरी हुने भएको छ । भुइँचालोले क्षतिग्रस्त यो मन्दिर जगैसम्म भत्काउनुपर्ने भएको छ ।
‘यो माटोले बनेको हो,’ पशुपति क्षेत्रका संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्य भन्छन्, ‘यसको प्राचीनता, मौलिकपन जोगाउन माटोले नै बनाउनुपर्छ । तरकोषले चुना सुर्कीले बनाउने गरी इस्टिमेट गरेको छ ।’
कोषले मन्दिर निर्माणका लागि तुलसी कन्स्ट्रक्सनसँग सम्झौतासमेत गरिसकेको छ । कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार ३ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । कोषका योजना महाशाखा प्रमुख भरत मरासैनीले चुना सुर्कीको जडान प्रयोग गरेर निर्माण हुन लागेको र यसका लागि पुरातत्त्व विभागले अनुमति दिएको उनले बताए । ‘चुना सुर्की नै प्रयोग गर्न लागेका छौं,’ मरासैनी भन्छन्, ‘यहाँ सबै कामका लागि पुरातत्त्वको अनुमति लिएका छौं ।’
पुरातत्त्व विभाग विश्व सम्पदा शाखाले पनि चुना सुर्की प्रयोग गर्न अनुमति दिइएको जनाएको छ । ‘चुना सुर्कीलाई पनि प्राचीन निर्माण सामग्री मानिएको छ,’ विश्व सम्पदा शाखाका प्रमुख सुरज श्रेष्ठ भन्छन्, ‘ठेक्काबाट काम गर्दा माटोको जडान राख्दा असम्भव देखिएकाले यसअघि नै माटोको साटो चुना सुर्की प्रयोग गर्न अनुमति दिने गरिएको हो ।’
माटो पनि जहाँ पायो त्यहींको प्रयोग गरेर हुँदैन । त्यहाँ प्रयोग भएको जस्तो माटो कहाँ पाइन्छ र कति खर्च लाग्ने अनुमानै गर्न नसकिने भएकाले यो सम्भव नहुने श्रेष्ठ बताउँछन् । पुरातत्त्वको यो मान्यता संरक्षणको सिद्धान्तविपरीत हुने संरक्षणकर्मी बताउँछन् ।
‘संरक्षण भनेको जे थियो त्यही, जस्तो थियो त्यस्तै हो,’ पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्षसमेत रहेका प्रदेश ३ का सभासद नरोत्तम वैद्य भन्छन्, ‘यो मन्दिर पहेंलो माटोले बनेको हो । यही माटोले बनाइएन भने यहाँको मौलिकता मासिन्छ । यसमा कोषलेध्यान दिनैपर्छ ।’
माटो खोज्न कठिन भए पनि असम्भव भने नहुने मुकुन्दराज बताउँछन् । ‘खेतमा गहिरो खनेपछि यहाँ प्रयोग भएको जस्तो माटो पाइन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि मिहिनेत त गर्नै पर्‍यो नि । खेतमा २०/२५ हात गहिरोमा खन्यो भने राम्रो माटो आउँछ ।’ त्यति गहिरोमा गएपछि रङ रङका माटो आउने उनी बताउँछन् । वैद्यका अनुसार यहाँ प्रयोग हुने माटो लेलेबाट ल्याइन्थ्यो ।
माटोबाट निर्माण सम्भव छ भनेर आफूहरू अध्ययन गर्न काष्ठमण्डपमा पनि गएको वैद्यले बताए । सातौं शताब्दीमा बनेको काष्ठमण्डप माटोबाटै बनाइएको छ । त्यहाँ कस्तो माटो प्रयोग भएको थियो भनेर प्रयोगशालामा परीक्षणसमेत गरिएको थियो । त्यसबाट तीन किसिमको माटो प्रयोग भएको पाइएको थियो । यहाँ प्रयोग भएको जस्तो माटो ताहाचलमा पाइएको थियो । ‘काष्ठमण्डपमा माटो प्रयोग भयो भने यहाँ किन गर्न सकिँदैन ?’ वैद्य प्रश्न गर्छन्, ‘हामीले पनि माटोबाटै बनाउनुपर्छ । नत्र यसको मौलिकता रहँदैन ।’
प्राविधिकले यहाँ प्रयोग भएको माटो पनि प्रयोग गर्न सकिने बताएका छन् । ‘माटोको कुनै आयु हुँदैन । यो जहिले पनि प्रयोग गर्न सकिन्छ भनेका छन् यहींका प्राविधिकले,’ जयबागेश्वरी टोल सुधार समितिका अध्यक्ष छत्रानन्द वैद्य भन्छन्, ‘भत्काउँदा खेर नजाने गरी माटो संकलन गर्न सकिन्छ । त्यसको गुणस्तर कस्तो छ भनेर प्रयोगशालामा परीक्षण गर्न सकिन्छ । आधा माटो मात्रै काम लाग्यो भने पनि धेरै खर्च कम हुन्छ । विकल्प सोच्दै नसोची कोषले सजिलोको लागि चुना सुर्की प्रयोग गर्न भनेको छ । सजिलैकै लागि विभागले पनि कोषको माग पूरा गरिदिएको छ । यसो गरियो भने यहाँको मौलिकता कहाँ रह्यो र ? यसो गर्नुहुँदैन भनेर हामीले विरोध गरिराखेका छौं । तर कोषले कुरा सुनेको छैन ।’
जयबागेश्वरीको पादपीठमा लिच्छविकालीन भएको प्रमाण फेला परेको छ । माथिल्लो भागमा भने हरेक १२ वर्षमा कलेबर फेर्ने चलन छ । यो बेला मूर्तिदेखि मन्दिरका बाहिर भाग रङरोगन गर्न, बुटा फेर्नेलगायतका काम गरिन्छ । पशुपति क्षेत्रको भण्डारखाल छेउकै नवाली टोलमा पर्छ जयबागेश्वरी ।
पशुपति क्षेत्रका ९ वटा टोलमध्ये एउटा हो नवाली । पशुपति क्षेत्र ९ वटा ग्रह संयोजन मिलेर बनेको छ । पशुपति क्षेक्र ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शत्तिपीठ, ९ चोक, ९ चौर र ९ जात, ९ टोल मिलेर बनेको छ पाशुपात क्षेत्र । यसलाई ९ गुणा ९ (८१) ग्रहको संयोजन भनिन्छ ।
नेपालको पहिलो वंश गोपालवंशको राजधानी यही क्षेत्रलाई मानिएको छ । देवपाल राजाले शासन गरेको हुनाले यो ठाउँलाई देवपतनसमेत भनिन्छ । यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन् । नेवारी भाषामा देवपाटलाई ‘ग्वल’ भनिन्छ । राजभण्डारीको अनुसार ग्वलको अर्थ ९ गुणा ९ को संयोजन हो ।
राजोपाध्याय, कर्मचार्य, जोशी, राजभण्डारी, कपाली, वैद्य, डंगोल, खड्गी र देउला जाति मिलेर यो क्षेत्रको व्यवस्थापन गर्दै आएका छन् । यी जातिले यहाँ जन्मदेखि मरणसम्मका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् देवपाटनमा । ९ ग्रहको संयोजन अहिले बिग्रेको छ ।
पशुपति क्षेत्र विकास कोषले यहाँकोबस्ती उठाइदिएपछि ९ टोल अब रहेन । ९ टोलमध्ये ५ टोल उठाइयो । अब चार टोल मात्रै बाँकी छन् । नवाली टोल, इतापाखा टोल, पाँचु टोल, भकुन टोल, करे टोल, लगानलाछी टोल, मतमडिल टोल र दथु टोल मिलेर बसेका थिए ।
यी टोलैपिच्छै बेग्लाबेग्लै जातको बसोबास थियो । राजोपाध्य, भण्डारी, वैद्य, शाक्य, श्रेष्ठ, डंगोल, मानन्धर, कसाई, नापित, संघ, गाइने, कुसुले, पोडेलगायतका जाति पशुपति क्षेत्रमा बसोबास गर्छन् । यहाँ नेवार जातिको चारै वर्णको बसोबास थियो ।
यी टोलमा अलग अलग जातिको बसोबास थियो । राजोपाध्य र वैद्यको थलो दथु टोल हो । शाक्यहरू नवाली टोलमा बस्छन् । डंगोलको बसोबास लगनलाछी टोलमा र भगु टोल हो । भण्डारीको टोल दथु टोल पाँचु टोल र मतण्डी टोल हो ।
गाइने र कसाई करे टोलमा, कुसुले लगानलाछी टोल र भकुन टोलमा छरिएर रहेका थिए । पोडेको बसोबास पहिला इतापाखा टोलमा थियो । पछि उनीहरूलाई यहाँबाट अन्यत्र सारिएको थियो । उनीहरूलाई १९४५ सालमा इतापाखाबाट गौचरनमा सारिएको थियो ।
पशुपतिका मुख्य शक्तिपीठमध्येमा पर्छ जयबागेश्वरी । मूर्त मात्रै नभई यहाँ थुप्रै अमूर्त सम्पदा पनि छन् । तीमध्ये नवदुर्गा नाच मुख्य हो । जयबागेश्वरीलाई नवदुर्गाको मितिनीका रूपमा पनि लिइन्छ । त्यही भएर भक्तपुरका देवगण नवदुर्गा नाच लिएर जयबागेश्वरी जाने गर्छन् ।
यहाँ साउन, मंसिर र चैतमा रागो बलि दिइन्छ । पुस र माघमा देवीलाई आगो तपाइन्छ । असारमा त्रिशूल जात्रा देखाइन्छ । ‘पुनर्निर्माण गर्दा यी सबै अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ,’ वैद्य भन्छन्, ‘सम्पदा निर्माण भनेको भौतिक निर्माण मात्र होइन, यहाँका अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ ।’
अरु शक्तिपीठ पशुपति क्षेत्रभित्रै पर्छन् । जयबागेश्वरी अर्को शक्तिपीठ पिंगलास्थान भने चक्रपथ बनेपछि क्षेत्र बाहिर पर्‍यो । पिंगलास्थान पुलमुनि परेको छ । यहाँ सयौंले नाघेर हिँड्छन् । जयबागेश्वरीचाहिं सडक पारितिर पर्‍यो । दिनहुँ गुड्ने गाडीले गर्दा यो थर्किराखेको हुन्छ । ‘यति प्राचीन मन्दिरको छेउबाट गाडी गुडाइएको छ । यसले गर्दा पनि यसको आयु छोटिँदै गयो,’ मन्दिरमा कलेबर फेर्दै आएका राजेन्द्र चित्रकार भन्छन्, ‘यो सम्पदामाथि भएको ज्यादती हो ।’
मन्दिर चारपाटे मण्डप शैलीको छ । यहाँको पुजाको थालनी लिच्छवीकालीन राजा शिवदेवको पालादेखि शुरु भएको मानिन्छ । भाषा वंशावलीका अनुसार मानसरोवरबाट तिला नदी तरेर आई जयबागेश्वरी भएको उल्लेख छ ।
गर्भगृहको बीचमा जयबागेश्वरी, दायाँतर्फ श्वेतभैरव र बायाँतिर गणेशका मूर्ति छन् । गणेश सुँड नभएको छ । सुँड नुहुनेको अर्थ महादेवले गणेशको टाउको काट्नुअघिकै भएको वैद्य बताउँछन् ।
‘यहाँ के–के छन् के–के,’ वैद्य भन्छन्, ‘खोज्नुपर्ने धेरै छन् यहाँ । त्यही भएर यसलाई हचुवामा लिनु हुँदैन ।’ कुनै बेला सती जाने महिलाको गहना यही मन्दिरमा चढाउने गरिएका जयबागेश्वरीलाई धनी मन्दिरको रूपमा समेत लिइने गरिएको पशुपतिका भण्डारी केदारमान भण्डारी बताउँछन् । तर यहाँ चढाइएका गहनाको कुनै अभिलेख भने छैन ।
‘अभिलेख राख्ने काम कोषको हो,’ भण्डारी भन्छन्, ‘तर कोष नै संवेदनशील देखिएको छैन ।’ इतिहासकार डा. गोपाल शिवाकोटीका अनुसार यसको भण्डार राजा जयप्रकाश मल्ल र नृपेन्द्र मल्लले रित्याएका हुन् । पटकपटक विवादका कारण यसको निर्माण अघि बढ्न सकेको थिएन ।
भुइँचालो जानासाथ निर्माणको जिम्मा एडभेन्चर टुर एन्ड टुर ट्राभललाई दिइएको थियो । त्यसका सञ्चालक कल्याण शर्माले कंक्रिट प्रयोग गरेपछि स्थानीयवासीले विरोध गरेका थिए । काम सुरु नभएपछि गत वर्ष कोषले सम्झौता खारेज गरेको थियो ।
प्रकाशित : कान्तिपुर, फाल्गुन ११, २०७५ ०७:५३

इतिहास : बुद्धका दस विपत्ति

इतिहास : बुद्धका दस विपत्ति
वैशाख २३, २०७४अभय श्रेष्ठ
बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।
‘जहाँ अन्याय छ, त्यहाँ छायाले जस्तै अशान्तिले पछ्याउँछ,’ उनी भन्थे, ‘अन्यायमा शान्तिको खोजी त्यतिकै निरर्थक छ जति निरर्थक सिउँडीको बोटमा सुन्तला फल्ने आशा गर्नु हुन्छ ।’ आज अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वशान्ति खलबलिने खतरा छ । तर, २५ सय वर्षअघि जन्मेका बुद्धको शान्ति र न्याय चेत यति उँचो थियो जसलाई एक्काइसौँ शताब्दीका ‘शान्तिवादी’ हरूले अझै बुझ्न सकेका छैनन् । भारतीय विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ का अनुसार शाक्य र कोलिय राज्यबीच रोहिणी नदीको पानी प्रयोग गर्नेबारे झगडामा तत्कालीन राजकुमार सिद्धार्थले आफ्नै राज्यका किसानको पनि गल्ती औँल्याएका थिए । आफन्त, पराई वा राष्ट्रवादभन्दा उनका लागि मानवता, न्याय, सत्य र अहिंसा सर्वथा महत्त्वपूर्ण थिए ।
सतातन धर्मावलम्बीले बुद्धलाई विष्णुको नवौँ अवतार मानेका छन् । सायद बुद्धप्रति यो सद्भाव थियो । तर, उनी भाग्यवाद, अन्धविश्वास, यथास्थिति, पूजापाठ, ईश्वरभक्ति, यज्ञ, प्रार्थना, जात व्यवस्था, पुरोहितवाद आदिको प्रतिकारमै ज्ञानको खोजीमा हिँडेका थिए । उनको संघमा जातिभेद थिएन । कतिसम्म भने उपाली, स्वास्ती, सुनीतजस्ता शूद्रलाई संघमा अग्राधिकारसहित उनले सम्मानित पद दिएका थिए । कुनै पनि कुरालाई उनी अन्तिम सत्य मान्दैनथे । आफ्नै दर्शनलाई पनि सत्य खोजीमा हिँड्ने डुंगा मात्र ठान्थे । ‘म मोक्षदाता होइन, मार्गदर्शक मात्र हुँ, मेरो दर्शन अन्तिम सत्य पनि होइन । यो तत्काल मेरो ब्रह्मले देखेको श्रेष्ठ मार्ग मात्र हो,’ उनी भन्थे, ‘ध्यानको अभ्यास गर्दै मनको अज्ञान हटाउन सके कुनै पनि व्यक्ति बुद्ध बन्न सक्छ । आफ्नो मालिक तिमी आफैँ हौ । पुरोहितहरूले जग्गे थापेर कहिल्यै कसैले नदेखेको ईश्वरका नाममा जीवन धान्ने अमूल्य अन्न र घिउ–तेल स्वाहा गर्नु मूर्खता हो । सम्मानित गुरु, इतिहास वा शास्त्रले भन्दैमा त्यसै नमान । तथागतकै कुरा पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैं जान । आफ्नो दियो आफैं बन ।’ खासमा, बुद्धले मनको अँध्यारो र अज्ञान हटाएर जिउँदै आनन्दित र मुक्त जीवनको स्वर्गीय आनन्द भोग्न पाउने उपाय सुझाए । त्यसैले त आइन्सटाइने बुद्ध दर्शनलाई संसारकै सबैभन्दा उँचो मानवीय दर्शन भनेका छन् । वेद, पुराणको सत्ता चलिरहेको युगमा यस्ता आदिविद्रोही र महात्माको जिन्दगीमा अनेक विपत्ति आइलाग्नु स्वाभाविक थियो । तर, उनले कुनै पनि विपत्तिसँग हार मानेनन् । कहालीलाग्दो भीरको थाप्लामा उभिएझैँ लाग्ने यी विपत्तिलाई उनले निर्भयतापूर्वक सामना गरे ।
१) देश निकाला
शान्ति र सद्भावको पक्ष लिँदा २९ वर्षको उमेरमा उनलाई देश निकाला गरिएको थियो । हरेकजसो बौद्ध साहित्यमा ‘उनले रोगी, वृद्ध र मृतक देखेपछि ज्ञानको खोजीमा मध्यरातमा घर छाडेको’ उल्लेख छ । बौद्ध साहित्यमा यसलाई महाभिनिष्क्रमण भनिन्छ । भारतीय दलित विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ ले यससम्बन्धी उद्घाटन गरेको तथ्य स्तब्ध पार्ने खालको छ । अम्बेडकरका अनुसार रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्डस्वरूप उनले देश छाडेका थिए । २९ वर्षको उमेरसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? धर्मानन्द कौसम्बीले पहिलोपल्ट यस्तो प्रश्न उठाए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकर पनि सोही निष्कर्षमा पुगे । पछि कतिपय राजनीतिक इतिहासकारले पनि यसलाई पुष्टि गरे । छिमेकी राज्य कोलियसँग रोहिणी नदीको पानी प्रयोग गर्नेबारे विवाद भएपछि शाक्य संघले लडाइँको घोषणा गर्‍यो । सिद्धार्थले विरोध गरे । तत्कालीन शाक्य राज्यमा बीस वर्ष पुगेका हरेक युवक सदस्य रहने शाक्य संघ संसद्को भूमिकामा हुन्थ्यो । उनको शान्तिवार्ता प्रस्ताव बहुमतद्वारा अस्वीकृत भयो । बीस वर्ष पुगेका सबै युवाले युद्धमा भाग लिनुपर्ने भयो । सिद्धार्थले आफू युद्धमा सामेल नहुने घोषणा गरे ।
बहुमतको निर्णय नमान्दा संघले उनको परिवारलाई सामाजिक बहिष्कार गर्न सक्थ्यो वा परिवारको जमिन जफत गर्न सक्थ्यो । अथवा उनलाई मृत्युदण्ड दिन वा देशनिकाला गर्न सक्थ्यो । सिद्धार्थले आग्रह गरे, ‘कृपया, मेरो गल्तीको सजाय परिवारलाई नदिनुस् । मेरो दोषको सजाय म एक्लैलाई भोग्न दिनुहोस् । मृत्युदण्ड दिनुस् वा निर्वासनको सजाय, म खुसीसाथ स्विकार्छु ।’ त्यतिखेर भर्खर उनका छोरा राहुलको जन्म भएको थियो । मातापिता वृद्ध भइसकेका थिए । यस्तो स्थितिमा शान्ति र सद्भावका लागि उनले देश छाडे । विलासमा हुर्किएका राजकुमारका लागि यो सजिलो बाटो थिएन । तर, यो उनको सत्याग्रह थियो । पछि, उनकै चाहनाअनुसार दुई देशबीच समझदारी भई शान्ति कायम भयो । शान्ति सम्झौतापछि उनलाई घर फर्कन आग्रह गरियो । तर, उनी स्थायी शान्तिका लागि ज्ञानको खोजीमा लागे ।
२) अंगुलीमालको आतंक र चिञ्चाको नक्कली पेट
बुद्ध त्यतिखेर ५६ वर्षका थिए जब उनको सामना खतरनाक हत्यारा अंगुलीमालसँग भयो । भियतनामी बौद्ध विद्वान् तिक न्यात हन्हको किताब ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ का अनुसार जालिनी वनबाट ऊ कोसल राज्यको श्रावस्ती प्रवेश गर्दा पूरै बस्ती मसानसरह सुनसान थियो । मानिसहरू दिउँसै ढोका बन्द गरेर बस्थे । हरेक व्यक्तिको हत्यापछि ऊ त्यसको एउटा औँला मालामा उन्थ्यो । सय जनाको हत्या गरेर तिनका औँलाको माला लाएपछि आफ्नो मायावी शक्ति बढ्ने भ्रम उसलाई थियो । एकपल्ट चालीस जनाले घेरा हाले । अद्भुत युद्धकला जानेको अंगुलीमालले छिनभरमै अधिकांशलाई मारिदियो । बाँकीले भागेर ज्यान बचाए । राजा प्रसेनजितले उसलाई पक्रन सशस्त्र सेना तैनाथ गरेका थिए ।
तीमध्ये कतिपयलाई उसले मारिसकेको थियो । यो थाहा पाउनासाथ बुद्ध निडर भएर एक्लै श्राबस्तीमा हिँड्न थाले । अंगुलीमाल हकार्दै, खुँडा ताक्दै आइपुग्यो । एउटा रूखअगाडि उभिएर शान्त स्वरमा बुद्धले भने, ‘अंगुलीमाल, म तिम्रो उद्देश्यका लागि मारिन तयार छु । तर, त्यसका लागि तिमीले मलाई यस रूखका चारवटा पात टिपेर ल्याइदिनुपर्छ ।’ पहिलोपल्ट आफूसँग निडर भएर बोल्ने मान्छे भेट्दा अंगुलीमाल हच्कियो र चारवटा पात टिपेर ल्याइदियो । बुद्धले फेरि भने, ‘अब यो पात जस्ताको तस्तै त्यही हाँगामा लगेर जोडिदेऊ ।’
उसले भन्यो, ‘तिमीले के भन्न खोजेको भिक्षु ? यो कसरी सम्भव छ ?’
‘हो, जसरी टिपिसकेका पात जोड्न सक्दैनौ, त्यसैगरी तिमीले हत्या गरेका मान्छेलाई फेरि बचाउन सक्दैनौ । जब मारिएकालाई बचाउन सकिन्न भने तिनलाई मार्ने अधिकार तिमीलाई कसले दियो ?’ अंगुलीमाल नाजवाफ भयो ।
‘मानिसहरू अज्ञान, घृणा र द्वैषका कारण क्रूर बन्छन् । क्षमा, करुणा, ज्ञान र प्रेमको मार्गमा हिँड्यौ भने तिम्रो जीवनमा पनि स्वर्गीय आनन्द आउनेछ अंगुलीमाल’, बुद्धको कुरा सुनेर उसले खुँडा बिसायो र माफी माग्दै नमन गर्‍यो । बुद्धको शरणमा गएको दुई हप्तामै अंगुलीमाल अहिंस्रक नाम धारण गरेर सौम्य र करुणामय भिक्षु भइसकेको थियो ।
त्यसअघि नै सम्बोधी प्राप्त गरेर देश देशावरमा प्रसिद्ध भइसकेका बुद्धमाथि एउटा गम्भीर आरोप लागेको थियो । चिञ्चा नामकी एक ब्राह्मण युवतीले बुद्धको देशना चलिरहेको सभामै बुद्धले आफूलाई गर्भवती बनाएको आरोप लगाइन् । सुनेर सबै जना स्तब्ध भए । बुद्धले शान्त मुस्कानसहित भने, ‘कुमारी चिञ्चा, तपाईँले बोलेको कति सत्य हो भन्ने तपाईँ र मलाई मात्र थाहा छ, कि कसो ?’ बुद्धको शान्त मुस्कान देखेर चिञ्चा हडबडाइन् । बाहिर निस्किँदा एउटा खम्बामा ठोकिएर उनको पेटमा बाँधिएको काठको गोलाकार खसेर खुट्टामा लाग्यो । घाइते औँला थिचेर उनी रुन थालिन् । उनको पेट अब एकदमै सपाट थियो ।
३) सत्यको त्रासदी
उनी नौ वर्षका राजकुमार हुँदा एक दिन बगैँचामा एउटा चरा खस्यो । त्यसलाई वाण लागेको थियो । उनले त्यसको घाउमा औषधि लगाइदिए । त्यसलाई वाण हान्ने उनकै काकाको छोरा देवदत्त घाइते चरा लिन आइपुग्यो । सिद्धार्थले दिन मानेनन् । उनीहरूबीचको विवाद दरबारसम्मै पुग्यो । दुवैले मन्त्रीगणसँग आ–आफ्ना तर्क राखे । घाइते चरामाथिको स्वामित्व व्याधाको होइन, बचाउनेको हुनुपर्ने तर्क सिद्धार्थको थियो । बहुमत बुद्धको तर्कमाथि हाँस्न थाल्यो र देवदत्तको पक्षमा ढल्कियो । राजा शुद्धोदन एक्कासि खोक्न थाले । यो एक खालको संकेत थियो । मन्त्रीहरूले एकाएक सिद्धार्थको पक्षमा निर्णय गरे । चरा उनलाई दिइयो । मन्त्रीगणले राजालाई खुसामद गर्न मात्र सिद्धार्थलाई जिताइदिएका थिए । यो थाहा पाउँदा उनको आत्मसम्मानमा ठूलो चोट लाग्यो । तर, उनले चराको मुक्तिका लागि यस्तो अपमानजनक स्थितिसँग पनि सम्झौता गरे । यस घटनाबाट उनलाई ज्ञान भयो, सत्य र ठीकका पक्षमा उभिन बहुतै ठूलो साहस चाहिन्छ जुन अधिकांश मान्छेमा हुँदैन ।
४) सुन्दरीको शव
अर्कोपल्ट श्रावस्तीको जेतवन बिहारमा प्रहरीले सुन्दरी नामकी एक युवतीको शव बरामद गर्‍यो । बेलाबेला उनी बिहारमा बुद्धको देशना सुन्न आउँथिन् । शव बुद्धकै कुटीको पछाडिपट्टि खाल्डामा गाडिएको थियो । त्यसै दिन सुन्दरीको सम्प्रदायका मान्छेले शव नगर परिक्रमा गराए । उनीहरू भनिरहेका थिए, ‘शव जेतवन बिहारमा भेटियो । वासनारहित जीवन व्यतीत गरिरहेको दाबी गर्ने बुद्धका शिष्यले नै यसलाई बलात्कार गरेर शव लुकाउने चेष्टा गरे । दया, करुणा, आनन्द र समत्व भावका उनका कुरा झूटा हुन् । लौ हेर्नुस् तिनका करामत !’ श्रावस्तीवासी यस घटनाबाट दिक्क भए । बुद्धका श्रद्धावान् शिष्यको आस्था डगमगाउन थाल्यो । भिक्षाटनका लागि हिँडेका भिक्षुलाई नगरवासी अनेक लाञ्छना लगाउँथे । यसले गर्दा कतिपय भिक्षु भिक्षाटनमा नगई भोकभोकै बस्न थाले । बुद्धले तिनीहरूलाई भने, ‘अनुचित आरोप कसैमाथि पनि, कुनै पनि बेला लाग्न सक्छ । त्यसबाट हीनताबोध र लज्जाबोध गर्नु जरुरी छैन । लज्जित त्यतिखेर हुनुपर्छ जब तपाईँ शुद्ध जीवनयापनबाट विरत हुनुहुन्छ ।’ नभन्दै एकै हप्ताभित्र हत्याराहरू पक्राउ परे । दुई हत्याराले अत्यधिक मद्यपान गर्दा यो रहस्य खोलेका थिए । बुद्धलाई बदनाम गर्न सुन्दरीको सम्प्रदायकै मान्छेले पैसा दिएर उसको हत्या गराएका थिए ।
५) सूत्राचार्य र शीलाचार्यको आत्मस्वीकृति
बुद्धको देशना (उपदेश) कण्ठस्थ पार्ने भिक्षुको समुदायलाई सूत्राचार्य भनिन्थ्यो । श्रामणेर तथा भिक्षुका लागि निर्धारित पञ्चशील र दस शीलका विशेषज्ञलाई शीलाचार्य । एकपल्ट गोशिरा बिहारमा सूत्राचार्य र शीलाचार्यबीच ठूलो विवाद भयो । एक सूत्राचार्यले कर–प्रक्षालन पात्र सफा गर्न बिर्सिए । एक शीलाचार्यले आपत्ति प्रकट गरे । सूत्राचार्य आफूले जानीबुझी यस्तो नगरेकाले दोष स्विकार्न तयार भएनन् । प्रत्येक भिक्षुले आ–आफ्ना अध्यापकको पक्ष लिन थाले । दुवै पक्ष एक अर्काको हदै निन्दा गर्न थाले ।
यसले संघमा विभाजन आउन सक्थ्यो । निष्पक्ष भिक्षु, उपासक र शुभेच्छुकको आग्रहमा बुद्धले दुवै पक्षको भेला बोलाए र विवाद अन्त्य गर्न आग्रह गरे । यस्तैमा एक भिक्षुले आवेशमा भने, ‘यो विवाद हामी आफैँ मिलाउँछौँ । तपाईँ बीचमा नआउनुस् ।’ भिक्षुको अपमानजनक व्यवहारपछि आफ्ना अनुचर तथा सहयोगी आनन्दलाई समेत नभनी बुद्ध एक्लै भ्रमणमा निस्किए । उनी एक वर्ष चार महिनापछि फर्किए । उनलाई थाहा थियो, दुवै पक्षले आफ्ना गल्ती महसुस गर्नेछन् र विवाद समाधान हुन्छ । अन्तत: दुवै पक्षले एक दिन आ–आफ्ना गल्ती स्वीकारे । दोष स्वीकार समारोहमा बुद्ध पनि उपस्थित थिए । सूत्राचार्यले सारा अहंकार बिर्सेर शीलाचार्यलाई नमन गर्दै भने, ‘मान्यवर, म स्विकार्छु, मैले एउटा शील उल्लंघन गरेको छु । मलाई सुधार्न तपाईँले भनेका कुरा ठीक थिए । म संघसमक्ष आफ्नो दोष स्विकार्छु ।’ शीलाचार्यले प्रत्युत्तरमा नमन गर्दै भने, ‘त्यो बेला ममा विनम्रता थिएन । त्यसका लागि कृपया मलाई माफ गर्नुहोला ।’ यसरी त्यो उग्र विवाद समाधान भयो ।
६) देवदत्तको धोकाबाजी
जीवनको उत्तरार्धमा देवदत्तले बुद्धलाई संघको नेतृत्वबाट गलहत्याउन खोजे । बुद्ध ७२ वर्ष भइसकेका थिए । उनीप्रति भिक्षुहरूको अगाध श्रद्धा थियो । केही नलाग्दा देवदत्तले भिक्षुहरूका लागि अर्को कडा पाँच नियमको पासो थापे । १) भिक्षु केवल वनमा रहनुपर्छ । गाउँ वा नगरमा सुत्ने अनुमति नदिइयोस् । २) भिक्षुले भिक्षाटन गर्नुपर्छ । उपासककहाँ भोजन गर्न जानु हुँदैन । ३) भिक्षुले पुराना कपडाबाट चिवर सिलाउनुपर्छ । उपासकले दिएको नयाँ कपडा स्विकार्नु हुँदैन । ४) भिक्षु रूखको फेदमा सुत्नुपर्छ । कुटी वा भवनमा सुत्नु हुँदैन । ५) भिक्षुले केवल शाकाहारी भोजन गर्नुपर्छ । बुद्ध मध्यमार्गी थिए । उनले यी नियमको कडीकडाउलाई स्विकार्न सकेनन् । त्यसपछि देवदत्तले झन्डै ५ सय भिक्षुलाई साथ लिएर अर्कै संघ खोले ।
७) हत्याको तीन दुष्प्रयास
यसपछि तीनपल्ट बुद्धको हत्या प्रयास भयो ।
एक दिन बुद्ध गृद्धकुट शिखरमा साधना गरिरहेका थिए । आँखा खोल्दा रूखपछाडिबाट एउटा मान्छे उनलाई हेरिरहेको थियो । बुद्धको पाउमा तरबार राखेर उसले नमन गर्दै भन्यो, ‘गौतम, मलाई तपाईँको हत्या गर्ने आदेश दिइएको थियो । मैले दुवै हातले दसपल्ट तरबार उठाएँ तर एकै कदम अघि बढ्न सकिनँ । अब के गरूँ ? मेरा मालिकले मलाई जीवित छाड्ने छैनन् ।’
आदेश दिनेको नाम उसले बताउन सकेन । बुद्धले उसलाई कोसलमा नयाँ जिन्दगी बिताउने व्यवस्था गरिदिए । बाटो बिराएका भिक्षुहरूलाई भेट्न जान लागेका सारीपुत्त र मौदगल्यायनले यो थाहा पाएर यात्रा स्थगित गर्न खोजे । बुद्धले भने, ‘चिन्ता नगर्नुस् । तथागत कुनै पनि खतराको सामना गर्न तयार छ । तपाईँहरू निश्चिन्त भएर जानुस् ।’
एक दिन उनी पहाडको चट्टानमा उभिएर सायंकालीन आकाशको सौन्दर्य निहारिरहेका थिए । माथिबाट अजंगको ढुंगा गुड्दै आयो । दुवैतिर चट्टानले घेरिएको साँघुरो बाटोमा दायाँबायाँ गर्नु असम्भव थियो । संयोगले ढुंगा चट्टानको बीचमा अड्कियो । तैपनि फुटेको टुक्रा खुट्टामा लाग्दा उनी रक्ताम्मे भए । माथितिर हेर्दा एक जना भागिरहेको थियो । यो देखेका भिक्षुले राति टोली बनाएर बुद्धलाई सुरक्षा दिने योजना बनाए । तर, बुद्धले आदेश दिए, ‘तथागतलाई सुरक्षाको आवश्यकता छैन । तपाईंहरू आ–आफ्ना कुटीमा गएर आराम गर्नुस् ।’
त्यसको दस दिनपछि नलगिरि नामक क्रोधित हात्ती लगाएर उनलाई मार्न खोजियो । भिक्षाटन गरिरहेका बेला हात्ती सुँढ उचाल्दै बुद्धतिर आयो । उनी शान्त भावले त्यहीँ खडा भइरहे । भिक्षु आनन्द सास रोकेर हात्ती र बुद्धका बीच उभिन आइपुगे । हन्हको पुस्तकअनुसार त्यसै बेला बुद्धले हात्तीको स्वर निकाले । उनको आवाज रानी हात्तीको जस्तै थियो । रक्षितवनमा रानी हात्तीसँग उनले मित्रता गाँसेका थिए । हात्तीको आवाज सुन्नेबित्तिकै नलगिरिले हातपाउ बिसाएर शिर निहुरायो मानौँ ऊ बुद्धलाई नमन गरिरहेको थियो । बुद्धले एक हातले त्यसको सुँढ समाते र अर्को हातले शिर थपथपाए । त्यसलाई हात्तीसाला पुर्‍याएर प्रबन्धकलाई उनले भने, ‘यो हात्ती कसको आदेशले छाडियो भन्ने म जान्न चाहन्नँ । किन्तु, यसले सयौँ व्यक्ति मार्न सक्थ्यो । भविष्यमा यस्तो हुन कहिल्यै नदिनू ।’ प्रबन्धकले माफी माग्दै बुद्धलाई प्रणाम गर्‍यो ।
 ८) अजातशत्रुको बर्बरता
देवदत्त छुट्टिएर गएपछि मगधमा अनेक बितन्डा हुन थाल्यो । उनले राजा बिम्बिसारका छोरा अजातशत्रुलाई हात लिए । चन्द्रगुप्त मौर्यका छोरा बिम्बिसार बुद्धका उपासक थिए । त्यो उनका लागि अत्यन्त खतरा साबित भयो । कुनै मध्यरात राजाको कक्षमा सन्देहास्पद स्थितिमा घुसेका राजकुमारलाई अंगरक्षकले पक्राउ गरे । तलासी लिँदा राजकुमारले लुकाएर ल्याएको खड्ग फेला पर्‍यो । राजाले सोधे, ‘राजकुमार, तिमी खड्ग लिएर किन यहाँ आयौ ?’
‘पिताजी, म तपाईँको हत्या गरेर राजा बन्न चाहन्थेँ ।’
बारम्बारको केरकारपछि अजातशत्रुले स्विकारे, यो कृत्य देवदत्तको दिमागको उपज थियो । मन्त्रीगणले राजकुमार र देवदत्तलाई मृत्युदण्ड दिन सिफारिस गरे । बुद्धका सच्चा शिष्य बिम्बिसारले यो प्रस्ताव स्विकार्न सकेनन् । उनले भने, ‘म यी दुवैलाई म क्षमा गर्न चाहन्छु । भोलि नै घोषणा गरेरै छोरालाई म यो सिंहासन त्याग्छु ।’ राजाले यो घटना गोप्य राख्न आदेश दिए । यो थाहा पाएर देवदत्तले राजकुमारलाई भेटे । त्यसको दुई दिनपछि राजकुमारले राजा र दुई मन्त्रीलाई बन्दी बनाए । राज्याभिषेक समारोहलाई बुद्ध र उनका भिक्षुले बहिष्कार गरे । जनतालाई अनेक शंका भयो । केहीपछि नै उनीहरूलाई थाहा भयो, पूर्वराजा र उनका दुई मन्त्रीलाई देवदत्तको सल्लाहअनुसार बन्दी बनाइएको छ । बिस्तारै उनीहरूले देवदत्त समर्थक भिक्षुलाई भिक्षा दिन छाडे । यो, नयाँ शासकप्रतिको अप्रत्यक्ष निन्दा थियो ।
रानीबाहेक राजासँग कसैलाई भेट गर्न दिइएन । रानी दिनहुँ राजाका लागि भोजन लिएर जान्थिन् । पछि भोजन बन्द गरियो । बिम्बिसार भन्थे, ‘मलाई छोराको यस कार्यप्रति कुनै घृणा छैन । म मर्न चाहन्छु तर देशमा गृहयुद्ध देख्न चाहन्नँ ।’ त्यसपछि रानीले भातका ससाना डल्ला कपालमा लुकाएर राजालाई खुवाउन थालिन् । पूर्वराजा अझै नमरेको देखेपछि फेरि पूर्वरानी विदेहीको तलासी लिइयो । त्यसपछि रानीले दूध, सख्खर र पिठोको लेप शरीरमा दलेर, त्यही लेप माडेर राजालाई खुवाउन थालिन् । बुद्ध बसेको गृद्धकुट पर्वततिर हेरेर बिम्बिसार ध्यान गर्छन् भन्ने थाहा पाएपछि त्यही झ्याल पनि बन्द गरियो । पछि पूर्वरानीलाई पूर्वराजासँग भेट्न पूरै मनाही गरियो । यति गर्दा पनि राजाको मृत्यु नभएको देखेपछि अजातशत्रुले बगरे बोलाएर राजाका दुवै खुट्टा काट्न लगाए । त्यसमा नुन, तातो तेल र भर्भराउँदो आगोको गोल राखियो । यसरी राजाको क्रूरतापूर्वक हत्या गरियो ।
पछि झन्डै यस्तै घटना कोसलमा पनि भयो । राजा प्रेसेनजितको निधन राजगृहको एक धर्मशालामा दीनहीन अवस्थामा भयो । प्रसेनजित एक दिन बुद्धलाई भेट्न शाक्य राज्यको मेदालुम्पा आएका थिए । राजकुमार विडुडाभ र प्रधानसेनापति कारायण पनि साथै थिए । राजाले प्रधानसेनापतिलाई राजकीय खड्ग र मुकुट रथमा राख्न पठाए । बुद्धलाई भेटेर जब राजा बाहिर निस्किँदा चार रथको ठाउँमा एउटै मात्र बाँकी थियो । प्रधानसेनापतिले राजकीय खड्ग र मुकुटसहित जबर्जस्ती सबैलाई श्राबस्ती पुर्‍याए । सेनापतिले राजकुमार विडुडाभलाई भने, ‘राजा बूढा भए । अब तपाईँ सिंहासनमा बस्नुस् ।’ राजकुमारले अस्विकार्दा सेनापतिले आफैँ सिंहासनमा बस्ने चेतावनी दिए । राजकुमार यसरी बाध्य भएर सिंहासनमा बसे । राजा प्रसेनजित मगध नरेश तथा ज्वाइँ अजातशत्रुको सहयोग लिन राजगृह पुगे । राति ढिलो पुगेकाले उनले राजमहलको ढोका ढकढकाउनु उचित ठानेनन् । उनी धर्मशालामा बसे । त्यसै रात राजालाई बेस्सरी ज्वरो आयो । त्यहीँ सारथिको काखमा उनले प्राण त्यागे । यी सबै बुद्धविरुद्ध देवदत्तले खेलेका षड्यन्त्रकारी खेलका परिणाम थिए ।
९) मौदगल्यायनको हत्या
पिता शुद्धोदनको निधन हुँदा दरबार शून्य थियो । सिंहासनमा बस्ने हक बुद्धलाई थियो । उनले सहर्ष त्यो हक ठूला बाका छोरा महानामलाई सुम्पिए । बुद्धको त परिवारै, आमा महाप्रजापति, पत्नी यशोधरा, भाइ नन्द र छोरा राहुल सद्धर्ममा लागेर भिक्षु बनेको थिए । बुद्ध ७८ वर्ष पुग्दा उनका उपासक राजा प्रसेनजित र बिम्बिसारको मृत्यु भइसकेको थियो । बुद्धका प्रथम पाँच शिष्यमध्ये एक कौडन्न अनि काश्यप बन्धु, भिक्षुणी महाप्रजापति, बुद्धका छोरा भिक्षु राहुल र भिक्षुणी यशोधरा पनि बितिसकेका थिए । प्रसेनजितको मृत्युलगत्तै वेणुवनमा विरोधी सन्न्यासीहरूले बुद्धका वरिष्ठ शिष्य मौदगल्यायनको हत्या गरे जो निर्भयता र स्पष्टवादिताका लागि विख्यात थिए । अन्य सम्प्रदायका व्यक्ति उनीसँग क्रुद्ध थिए । एक बिहान दुई भिक्षुसहित भिक्षाटनका लागि निस्कँदा बिहारको बाहिरपट्टि लुकेर बसेका केही व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरे । घटनास्थलमै उनको मृत्यु भयो ।
१०) पेट पीडा र महापरिनिर्वाण 
बौद्ध साहित्यमा बुद्धको निधनलाई महापरिनिर्वाण भनिन्छ । ८० वर्षको उमेरमा बुद्धले वैशाली, भन्डग्राम र पावामा देशना दिए । पावामा कामी समुदायका उपासक चण्डले बुद्ध र उनका ३ सय शिष्यलाई विशेष भोजन गराए । चण्ड स्वयंले बुद्धका लागि भोजन पस्किए जसमा चन्दन वृक्षको काष्ठफूलको विशेष भोजन ‘सुकर माद्दव’ समावेश थियो ।
भोजनपछि बुद्धले चण्डलाई भने, ‘यो भोजन खाल्डो खनेर पुरिदिनू । कसैलाई नखुवाउनू ।’ रातभरि बुद्धको पेटमा असह्य पीडा भयो । यही पीडाबीच पनि कुशीनगर यात्रामा मल्ल वंशका पुक्कुसलाई शिष्य स्विकारी उनले उपदेश दिए । कुकुथ नदीमा स्नानपछि आनन्दलाई भने, ‘मेरो स्वास्थ्य बिग्रिनुमा चण्डको कुनै दोष छैन । त्यो, मेरो जीवनभरिकै सर्वोत्तम दुई भोजनमध्ये एक थियो । सबैले चण्डलाई धन्यवाद दिनू ।’ त्यही पीडाले कुशीनगर नपुग्दै सालवनमा उनी मृत्युशय्यामा पुगे । मृत्युशय्यामै उनले सन्न्यासी सुभद्रको आग्रहमा प्रवचन दिए र उनलाई शिशु स्विकारे । ‘जन्मेपछि मृत्यु अनिवार्य छ । ज्ञान अर्थात् मुक्ति प्राप्त गर्ने बाटोमा सबै जना परिश्रमी भएर अघि बढ्नू’, यति भनेर शान्तिपूर्वक उनले प्राण त्यागे । उनलाई थाहा थियो, त्यसै रात उनको निधन हुनेछ । मृत्युसँग उनी अलिकति पनि भयभीत थिएनन् ।
प्रकाशित : कान्तिपुर, वैशाख २३, २०७४ १६:१०

बुद्धको काठमाडौं यात्रा !

बुद्धको काठमाडौं यात्रा !
के भगवान् बुद्ध काठमाडौं उपत्यका अर्थात् त्यस बेलाको नेपाल आएका थिए ? अनि, बुद्ध धर्म यस भेगमा कसरी फैलियो ?
सन्दर्भ : बुद्ध जयन्ती
वैशाख २३, २०७४हिमेश
बौद्धमार्गी देशहरूमा बुद्धको आगमनबारे आ–आफ्नै कथा प्रचलित छन् । यसलाई लोकोक्ति भने पनि हुन्छ । यी सबै ऐतिहासिक विवरण जत्तिकै व्यापक र लोकप्रिय छन् । खासमा ती देशहरूले आफ्नो मुलुकमा बौद्ध धर्मको प्रवेश सुरुदेखि नै भएको थियो भनेर देखाउन यस्ता कथा र लोकोक्ति प्रस्तुत गर्ने गर्छन् ।
नेपाल स्वयं पनि यसमा अपवाद भने छैन । जस्तो स्वयम्भू पुराणमा बुद्ध किरात राजा जितेदस्तीको पालामा काठमाडौं उपत्यकाका आएको उल्लेख छ ।
स्वयम्भू पुराणमा भनिएको छ— बुद्ध आफ्ना एक हजार तीन सय ३० शिष्यसहित स्वयम्भू डाँडोको पश्चिमस्थित पुच्छाग्र चैत्य रहेको स्थानमा बसे । र, त्यहीं एक यक्षिणीलाई प्रवजित गरे । यस्तै बुद्धले धर्म देशना पनि गरे । यसरी बुद्ध काठमाडौं आएको विश्वास तयार हुन्छ । श्रीलंकामा बुद्ध तीनपल्ट पुगेको विश्वास गरिन्छ । महावंशका अनुसार बुद्ध बुद्धत्व प्राप्तिको नौ महिनापछि, पाँचौं तथा आठौं वर्षमा श्रीलंका पुगेका थिए र त्यस क्रममा उनले धर्म देशना पनि गरे ।
यसको अर्थ बुद्ध स्वयं धर्म प्रचारका लागि श्रीलंका पुगेका थिए । यस्तै बर्मामा पनि बुद्धत्व प्राप्तिको तीन महिना र पाँच महिनापछि बुद्ध त्यहाँ पुगेका थिए, धर्म देशनाका लागि । बुद्धको शरणमा जाने पहिलो उपासक तपस्सु र भल्लुक नै बर्माका थिए भनिन्छ । उनीहरू व्यापारी थिए । बुद्धको केश धातुलाई राखेर उनीहरूले स्तूप बनाएका थिए । यो नै अहिलेको प्रसिद्ध स्वेडगोन स्तूप हो भनिन्छ, जुन यांगुनमा छ । अरू दुई अवसरमा पनि बुद्ध बर्मा पुगेको मानिन्छ ।
बुद्ध जन्मथलो लुम्बिनी अहिलेको आधुनिक नेपालकै भूभागमा परेको हुँदा उनको जीवनकालमै यहाँ बौद्ध धर्मको प्रवेश भइसकेको तथ्यलाई मान्नैपर्छ । त्रिपिटक यसको सबैभन्दा ठूलो प्रमाणका रूपमा छ । बुद्ध आफ्नो परिवारलाई भेट्न लुम्बिनी आएको प्रसंग पाली साहित्यमा उल्लेख छ । त्यो अर्थमा कम्तीमा अहिलेको आधुनिक नेपालको भूभागमा बुद्ध आएको र उनले यहाँ धर्म देशना गरेको तथ्य मान्न पौराणिक कथा अथवा लोकोक्तिको सहयोग लिनु पर्दैन ।
त्यसैले बुद्धको जीवनकालमै बौद्ध धर्म नेपालमा प्रवेश गरिसकेको मान्न सकिन्छ । बोधी ज्ञानको प्राप्तिपछि उनी धेरैपल्ट आफ्नो देश कपिलवस्तुमा फर्केका थिए । बुद्ध कतिपल्ट कपिलवस्तु आएका थिए, त्यसबारे ठ्याक्कै भन्न भने सकिन्न । किनभने यसबारे श्रीलंका, बर्मा र तिब्बतका बौद्ध ग्रन्थले फरक–फरक तथ्य उल्लेख गरेका छन् ।
आफ्ना पिता सुद्धोदनको निमन्त्रणमा बुद्ध पहिलोपल्ट कपिलवस्तु पुगेर धर्म देशना गरेका थिए ।
त्यसैले यही दिनबाट आधुनिक नेपालमा परेको भूभागमा बौद्ध धर्म प्रवेश भएको मान्नुपर्छ । बुद्धत्व प्राप्तिको पहिलो वर्षमा सुद्धोदनका मन्त्री कालुदायीको प्रयासले बुद्ध सबैभन्दा पहिले कपिलवस्तु पुगेका थिए । कालुदायी सानोमा बुद्धका साथी थिए । बुद्ध फागुन पूर्णिमाको दिन राजगृहबाट निस्के र वैशाख पूर्णिमाकै दिन कपिलवस्तु पुगे । वैशाख पूर्णिमाकै दिन उनी जन्मे, बोधीज्ञान हासिल गरे र निर्वाण पनि प्राप्त गरे । यो दिनसँग अरू धेरै महत्त्वपूर्ण प्रसंग पनि जोडिन्छन् ।
त्यसैले बौद्ध धर्ममा यस दिनको ठूलो महत्त्व छ । बुद्ध भएयता उनी यही दिन पहिलोपल्ट कपिलवस्तु आएको हुनाले पनि नेपालको इतिहासकै लागि यो थप महत्त्वको छ । कपिलवस्तु आगमनको पहिलो अवसरमा बुद्ध एक साता लुम्बिनीमा बसे । यस क्रममा उनले धेरै अवसरमा धर्म देशना गरे । त्यसको चार वर्षपछि सुद्धोदन सिकिस्त बिरामी परे । त्यति बेला वैशालीमा पाँचौं वर्षवास बिताइरहेका बुद्ध दोस्रोपल्ट कपिलवस्तु आए र आफ्ना पितालाई भेटे । त्यस अवसरमा पनि बुद्धले धर्म देशना गरे । बुद्ध आएको एक सातामै सुद्धोदनको निधन भयो । शोकमग्न परिवारलाई सान्त्वना दिन बुद्ध केही दिन कपिलवस्तुमै बसे ।
त्यसपछि एकपल्ट कपिलवस्तुका शाक्य र कोलियबीच रोहिणी नदीको पानीबाट सिँचाइ गर्नेबारे विवाद भएपछि युद्धको स्थिति बनेको थियो । यस्तोमा बुद्ध स्वयं त्यहाँ पुगे र स्थिति सामान्य पारे । यस्तै अर्कोपल्ट विडुडभले शाक्यसँग बदला लिन आफ्नो सेनासहित कपिलवस्तु पुगेको समाचार आएपछि बुद्ध त्यहाँ पुगे ।
यसरी बुद्ध विभिन्न अवसरमा पटक–पटक कपिलवस्तु पुगेका थिए । काठमाडौं उपत्यकाका भने बौद्ध धर्मले कहिले प्रवेश पायो त ? त्यति बेला काठमाडौं उपत्यका नै नेपाल थियो । वंशावलीलाई आधार मान्ने हो भने बुद्धको समयमै बौद्ध धर्म नेपाल प्रवेश गरिसकेको थियो । बुद्धको समयमा काठमाडौं उपत्यकातिर किरात शासन चलिरहेको थियो । ईसापूर्व छैटौं–पाँचौं शताब्दीतिर दक्षिणतिरका व्यापारी काठमार्डौं पुगिसकेका थिए ।
सातौं शताब्दीअगाडि लेखिएको मूलसर्वास्तिवाद विनयसूत्रमा नेपालमा हुने व्यापारबारे उल्लेख छ । त्यसमा व्यापारीसँगै बौद्ध भिक्षुहरू नेपाल जाने गरेको बताइएको छ । त्यसअनुसार, बुद्ध श्रावस्तीमा रहेको बेला केही भिक्षु नेपाल जान लागेका व्यापारीको समूहमा समावेश भए । उपत्यका छिरेयता भिक्षुहरूलाई यहाँको जाडोले निकै सताएको थियो । त्यसैले उनीहरूले छिट्टै काठमाडौं छाड्न हतारिए । त्यति बेला नै उनीहरूले काठमाडौंमा पनि शिर मुडेर पहेँलो चिवर लगाएका भिक्षुहरू देखेको उल्लेख गरेका थिए ।
बुद्ध जीवित छँदै बडुडभले कपिलवस्तुका शाक्यहरूको नरसंहार गरेका थिए । त्यसबाट बचेका शाक्यहरू अन्यत्र लागे । त्यसमध्ये केही शाक्य काठमाडौंतिर पनि पुगे । यसमा पनि केही शाक्य भिक्षु आनन्दका नातेदार थिए । आनन्द बुद्धका सबैभन्दा प्रसिद्ध भिक्षुमध्ये एक हुन् । उनी बुद्धका निजी सहायक पनि थिए । आनन्द पछि आफ्ना नातेदारलाई भेट्न काठमाडौं आएको त्यही मूलसर्वास्तिवाद विनयसूत्रमा उल्लेख छ । उनलाई पनि काठमाडौंको जाडोले निकै सताएको थियो ।
त्यति बेला काठमाडौंमा हिउँ पर्ने गथ्र्यो । आनन्द श्रावस्ती फर्केयता उनका हातखुट्टाका औंला हिउँले खाएको देखेर अरू भिक्षु निकै चिन्तित भए । त्यसमा जवाफमा आनन्दले भनेका थिए, ‘नेपाल हिमालसँग जोडिएको छ । यहाँको हिउँ र चिसो हावाले मेरो यस्तो स्थिति बन्यो ।’ यस्तोमा उनलाई प्रश्न गरियो, ‘नेपालका भिक्षुको स्थिति कस्तो छ त ?’ आनन्दको जवाफ थियो, ‘उनीहरू जुत्ता लगाउने गर्छन् ।’ फेरि प्रतिप्रश्न गरियो, ‘तपाईंले किन जुत्ता नलगाएको त ?’ उत्तर थियो, ‘बुद्धले अहिलेसम्म जुत्ता लगाउने अनुमति दिनुभएको छैन ।’ त्यसपछि भिक्षुहरू बुद्धकोमा गए र सबै घटना सुनाए । बुद्धले भने, ‘अबदेखि जाडो र हिमाली ठाउँमा बस्नेले जुत्ता लगाए हुन्छ ।’
खासमा बुद्धकै जीवनकालमै शाक्यहरू काठमाडौं उपत्यकामा बसाइ सरिसकेका थिए । दक्षिणका बौद्ध धर्म अनुयायी शरणार्थीका रूपमा काठमाडौं भित्रिसकेका थिए । यसरी वर्तमान काठमाडौं उपत्यकामा बुद्धकै समयकालमा बौद्ध धर्म यहाँ प्रवेश गर्न सकेको मान्न सकिन्छ ।
बुद्धले बौद्ध धर्मको स्थापना त गरे, यसलाई प्रचारप्रसार गर्ने सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम भने सम्राट अशोकले गरे । नेपालमा पनि बौद्ध धर्मको प्रचारमा उनको ठूलो भूमिका छ । बुद्धको निर्माणपछि उनको जीवनसँग सम्बन्धित प्रमुख स्थान लोकप्रिय तीर्थस्थल बने । त्यसमा उनको जन्मभूमि लुम्बिनी प्रमुख थियो नै । अशोकले पनि लुम्बिनीको यात्रा गरे । आफ्नो राज्याभिषेकको २० औं वर्षमा अशोक तीर्थ यात्राका लागि लुम्बिनी आएका थिए ।
बुद्धको जन्म लुम्बिनीमा भएको हो भन्ने सबैभन्दा ठूलो अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ छ । ईसापूर्व २४९ मा भारतीय इतिहासकै महान् राजा मानिएका अशोक लुम्बिनी पुगेका थिए । मगध सम्राट अशोक विन्दुसारका पुत्र हुन् । यस्तै मौर्य साम्राज्य स्थापना गरेका चन्द्रगुप्त मौर्यका नाति । पाली साहित्यमा धेरै स्थानमा अशोकको लुम्बिनी भ्रमणबारे चर्चा पाइन्छ । कलिङ युद्धको विभीषिकाबाट तर्सित अशोक अन्तत: बौद्ध धर्मप्रति आकर्षित भएका थिए ।
अशोकस्तम्भमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि शुद्ध जन्मको ठाउँमा आफैं आएर पूजा गरेरै त्यसैको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनी गाउँलाई कर मुक्त गरिदिए ।’ अशोककै शानसकालमा तेस्रो बौद्ध संगायना भएको थियो । अर्थात् बौद्ध सम्मेलन । त्यो नौ महिनासम्म चलेको थियो । त्यो संगायनाको समाप्तिमा अशोकले आफ्ना दूतहरूको बौद्ध धर्मको प्रचारका लागि विभिन्न देश पठाए । बौद्ध धर्मको खास प्रचारप्रसार यही समयबाट भएको हो ।
अशोकका दूत पुगेको प्रमुख देशमा श्रीलंका र बर्मा छन् । श्रीलंकामा त उनले आफ्ना छोरा महेन्द्र र छोरी संघमित्रालाई नै पठाएका थिए । अशोकले उत्तरतर्फ हिमालय प्रदेशमा पठाएको समूहका प्रमुख थिए, मज्झिम स्थविर । दीपवंशका अनुसार उनको टोलीमा अन्य सदस्यमा काश्यप गोत्र, मूलदेव, सहदेव र दुन्दुभिसार थिए । यसमध्ये काश्यप काठमाडौं उपत्यका पुगेको मानिन्छ । बाबुराम आचार्यले ईसापूर्व २३६–२३४ तिर काश्यप काठमाडौं आइपुगेको र त्यसयता यहाँका आदिवासीले बौद्ध धर्म ग्रहण गरेको बताएका छन् ।
यहाँका आदिवासी बुद्ध समयमै यो धर्मसँग परिचित भइसकेका थिए । त्यसैले उनीहरूले अशोकको प्रतिनिधि रहेका काश्यपप्रति स्वाभाविक रुचि लिए । यसबीच राजा अशोक आफैं काठमाडौं आए कि आएनन् त ? अशोक पनि काठमाडौं उपत्यका आएको लोकक्ति छ । अशोकले नै पाटन सहर स्थापना गरेकोसम्म भनिन्छ । अझ कतिसम्म पनि भनिएको छ भने काठमाडौंको असनको नामसमेत अशोकको अपभ्रंशबाट भएको हो । यी तथ्य वास्तवमै रोमाञ्चित तुल्याउने खालका छन् ।
ड्यानिएल राइटले प्राप्त गरेको वंशावलीमा किराती राजा स्थुन्कोको पालामा अशोक काठमाडौं आएका हुन् । त्यसअनुसार अशोक आफ्ना गुरु उपगुप्त र छोरी चारुमतीसँगै काठमाडौं आएका थिए र यहाँ अशोकपतन नामले सहर पनि बसाए । यस सहरको चार कुना र बीच भागमा स्तूप पनि बनाए । यस्तै एउटा विहार पनि स्थापना गरे । पछि उनले आफ्नी छोरी चारुमतीको विवाह यहाँका एक राजकुमार देवपालसँग पनि गराए । पछि चारुमतीले एउटा विहार पनि बनाइन् र यसको नाम चारुमती विहार थियो । पछि यो चाबहिल नामले प्रसिद्ध भयो ।
अशोकको काठमाडौं यात्रालाई ऐतिहासिक रूपमा पुष्टि भने गर्न सकिन्न । राइटले प्राप्त गरेको वंशावलीमा धेरै त्रुटि रहेको मानिन्छ । इतिहासकार भुवनलाल प्रधानले लेखेजस्तै, अशोकले आफ्ना छोराछोरीलाई धर्म प्रचारका लागि श्रीलंका पठाएको हुनाले त्यससँग मिल्दोजुल्दो चारुमतीको प्रसंग निर्माण गरिएको हुन सक्छ, जसरी स्वयम्भू पुराणमा बुद्धको काठमाडौं उपत्यका भ्रमणको कल्पना गरिएको छ ।
त्यसो भए, पाटनका ती प्रसिद्ध स्तूपलाई किन अशोक चैत्य भनिए त ? यसको उत्तरमा धेरै तर्क प्रस्तुत गरिएका छन् । पहिलो तर्क, अशोकले मज्झिमको टोलीसँग पठाएको बुद्धको अस्तिधातु गर्वमा राखेर चैत्य बनाइएकाले यस्तो भनिएको हो । दोस्रो तर्क, चैत्यको निर्माण केही हदसम्म अशोकीय शैलीमा निर्माण भएको हुनाले यस्तो भनिएको हो । तेस्रो, बाबुराम आचार्यका अनुसार लुम्बिनी पुगेको अशोकीय टोलीको सम्मानमा यी चैत्यको नाम त्यस्तो राखिएको हो ।
यी सबै प्रसंगहरूबीच मूल प्रश्न फेरि बाँकी रहन्छ— के स्वयम्भू पुराणमा उल्लेख भएअनुसार बुद्ध स्वयम् काठमाडौं आएका थिए ? इतिहासले यसलाई के भन्छ ?
स्वयम्भू पुराणमा उल्लेख तथ्यलाई इतिहासका रूपमा लिन सकिन्न । स्वयम्भू चैत्यको माहात्म्य लेखिएको यस पुराणमा ऐतिहासिक गौत्तम बुद्ध मात्र नभएर यसअघि अतीतका अरू छ बुद्ध काठमाडौं उपत्यकामा आएको पनि भनिएको छ । स्वयम्भू पुराणमा ऐतिहासिकताभन्दा बुद्धको अलौकिकतालाई बढी महत्त्व दिइएको छ । बुद्धलाई प्राणीको मुक्तिका लागि सधैं तल्लीन महाकरुणामयको रूपमा प्रस्तुत गरिएको छ । यो भक्ति र श्रद्धाको विश्वास हो ।
प्रकाशित : कान्तिपुर, वैशाख २३, २०७४ १२:१८

डिक्राको देउडा


डिक्राको देउडा
‘पश्चिम नेपालमा मेमोरी कार्डको चलन आएर रेकर्डिङ स्टुडियो बन्द भएपछि डिक्रा बादीले गाउन छोडिन् । कसैले खोजेनन् पनि । शनिबार दिउँसो उनलाई सांस्कृतिक संस्थान (नाचघर) मा देउडा गुन्जाउँदै गरेको भेटियो’
फाल्गुन १२, २०७५सजना बराल
काठमाडौँ — ठाडी भाका र देउडा गीतकी चर्चित गायिका डिक्रादेवी बादी पछिल्लो दशक गुमनाम थिइन् । उनी कहाँ छिन्, के गर्छिन्, जिउँदी छिन् वा छैनन् भन्नेसम्मको खबर लोकले पाएन । कञ्चनपुरको बंकामा दुःखसुख हातमुख जोर्दै गरेकी डिक्रा हप्ता दिनअघि एकाएक काठमाडौं झुल्किइन् । शनिबार दिउँसो उनलाई सांस्कृतिक संस्थान (नाचघर) मा देउडा गुन्जाउँदै गरेको भेटियो ।
‘यस्तो दिन आउला भनेर सोचेकी थिइनँ,’ कार्यक्रममा भावुक हुँदै उनले भनिन्, ‘म त साँझबिहानको खाना टारेर बसेकी थिएँ । पश्चिममा मेमोरी कार्डको चलन आएर रेकर्डिङ स्टुडियो बन्द भएपछि मैले गाउन छोडेँ । कसैले खोजेनन् पनि ।’ आफूलाई गाउने रहर भए पनि गरिबी र अन्य परिस्थितिका कारण स्वर लुकाउनुपरेको उनको भनाइ थियो । आफ्ना लयहरू अरूले गाइदिएको देख्दा उनलाई मन दुख्थ्यो तर गर्न सक्ने केही थिएन । ‘भइगयो भनेर चुपै लाग्छु,’ उनले भनिन्, ‘मान्छेलाई आफैं प्रसिद्ध होऊँ, आफैं माथि जाऊँ भन्ने लोभ हुन्छ । अरूका लागि किन सोच्थे !’
कन्सेप्ट नेपालले गरेको ‘लोकगायिका डिक्रा बादी एकल डेउडा गायन’ कार्यक्रममा ५० वर्ष पुगेकी डिक्राले आफ्ना चर्चित ठाडी भाका र दोहोरी सुनाइन् । उनलाई पति कित्थ्या बादी र गायिका झुमा लिम्बूले सघाए भने परम्परा ब्यान्डले वाद्यवादनमा साथ दियो । ‘उहाँहरूजस्ता गायिका पछाडि परेकाले नेपाली संगीतले आफ्नो धार बनाउन सकेको छैन,’ गायिका लिम्बूले भनिन्, ‘हाम्रो धार छिमेकीले बनाइदिनुपरेको छ ।’ समारोहमा सुदूरपूर्व र सुदूरपश्चिम एकजुट भएको भन्दै कवि हमेन्त विवशले उक्त क्षणको प्रशंसा गरेका थिए । विवशले नै डिक्रालाई काठमाडौं ल्याउन हत्ते हालेका हुन् ।
प्रायः विरह पोखिने गरेको ठाडी भाकामा महिला स्वर कमै सुनिन्छ । डिक्राअघि र पछि पनि एकाध महिलाले मात्रै ठाडी विधा रोज्ने गरेका छन् । स्वर धेरै तन्काउनुपर्ने र लय शब्दमा चुर्लम्मै डुब्न सक्नुपर्ने भएकाले यसलाई अप्ठ्यारो विधा मानिन्छ । ‘गाउन छोडेको धेरै झइगयो, अलि डर लागेको छ,’ कार्यक्रमअघि डित्राले भनेकी थिइन्, ‘पेटमा समस्या पनि छ । धेरै तान्न सक्दिनँ ।’ उनको ठाडी भाका सुनेपछि कार्यक्रममा उपस्थित दर्शक भने विहवल भए भने कित्थ्या र झुमासँगको दोहोरीमा ‘वान्स मोर’ माग भयो । धेरैपछि नेपालको ‘र म्युजिक’ सुन्न पाएको भन्दै केही दर्शकले हलभित्रै चिच्याएर प्रतिक्रिया दिए ।
जिजुहजुरबादेखि नै आफूहरूकहाँ गायनको माहोल भएको डिक्राले सुनाइन् । सुनेर आफ्नै अग्रज र गाउँपाखाबाट गायनको कखरा सिकिन् । विसं २०५२ मा ‘बसिबियाँलो’ नामक पहिलो एल्बम निकालेपछि सुदूरपश्चिममा उनको माग चुलियो । ‘उनले एउटा मात्रै गीत गाइदिए पनि एल्बम बिक्थ्यो भनेर धेरैले उनलाई गवाए,’ कवि विवश भन्छन्, ‘अहिलेसम्म हजार/पन्ध्र सय डेउडा गाइसक्नुभएको छ । दलित र गरिब भएकाले उचित पारिश्रमिक पाउनुभएन । उहाँका गीत अरूले लगे । उहाँलाई थिचोमिचोमा राखियो ।’
डिक्रालाई आफ्नै प्रसिद्धिले पनि अप्ठ्यारोमा पारेको रहेछ । उनले आफ्ना पतिलाई काममा पठाउन सकिनन् । ‘यस्तो चलेकी गायिकाका लोग्नेले त्यस्तो काम गर्‍यो भनेर खिसी गर्ने भए,’ उनले भने, ‘त्यही सरमले गढुवालतिर काम गर्न गयौं । त्यहाँ पनि मलाई चिने । तिमीजस्तीको त काठमाडौंमा घर होला नि भनेर खिस्याए ।’ क्यासेट चक्काको चलन जानुअघि उनी रेकर्डिङ र स्टेज कार्यक्रममा व्यस्त हुन्थिन् । बम्बई, बैंग्लोर र गोवामा समेत कन्सर्ट गरेकी रहिछन् । ‘आधा उमेर त खाइसकेँ,’ उनले भनिन्, ‘स्वास्थ र स्वर रहुन्जेल गाउने धोको भने छ ।’
डिक्राको नाजुक हालतबारे थाहा पाएपछि नाचघरको कार्यक्रमा उपस्थित विभिन्न स्रष्टा र संगीकर्मी उनलाई आर्थिक सहयोग गर्न एकजुट भएका थिए । गीतकार बुलु मुकारुङ, कवि श्यामल, लीलाराम गिरी लगायतले जनही पाँच हजार प्रदान गर्ने बताए । गीतकार हर्क साउदले डिक्राको सम्पूर्ण उपचार खर्च बेहोर्ने वाचा गरे भने शोभा थापाले उनको नयाँ म्युजिक भिडियोका लागि लगानी गर्ने बताइन् । ‘डिक्रा दिदीको स्वरलाई डिजिटलमा परिवर्तन गर्नुपर्छ अब,’ श्यामलले भने, ‘म उहाँको स्वरको पारखी हुँ । डिक्राजस्ता थुप्रै स्रष्टा एक्सपोजर नपाएर हराइरहेका छन् ।’
प्रकाशित : कान्तिपुर, फाल्गुन १२, २०७५ ०७:५९

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...