Tuesday, June 11, 2019

बागेश्वरीको तिजोरी फुटाइने

बागेश्वरीको तिजोरी फुटाइने
फाल्गुन २८, २०७४ठाकुरसिंह थारु
नेपालगन्ज — प्रसिद्ध बागेश्वरी मन्दिरमा सुन, चाँदी र हीराका मूर्ति यकिन गर्न पहिलोपल्ट तिजोरी फुटाउने निर्णय भएको छ । मन्दिर गुठी व्यवस्थापन समितिको आइतबार बसेको बैठकले मालपोत कार्यालयको जिम्मामा रहेको गहनाको तिजोरी खोल्ने निर्णय गरेको हो ।
उच्च अदालत नेपालगन्ज इजलासले मन्दिरको नाममा रहेको चलअचल सम्पत्ति पारदर्शी र व्यवस्थित गर्न समिति गठन गरेको छ । उक्त समिति संयोजक नेपालगन्ज उपमहानगरपालिका प्रमुखलाई तोकिएको छ ।
प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले उक्त मन्दिरको सम्पत्ति अभिलेखीकरण गरिरहेको छ । बैठकले आउँदो बुधबार बिहान ९ बजे गहनाका तिजोरी खोल्ने निर्णय गरेको छ । मन्दिरका नाममा १ सयभन्दा बढी बिघा जमिन दर्ता छ । वागेश्वरी छेउछाउमा दर्जनौं सटर भाडामा सञ्चालन गरिएका छन् ।
मन्दिरमा भक्तजनले सुन र चाँदीका मूर्ति चढाउने परम्परा छ । त्यसको अभिलेखसमेत व्यवस्थापन समितसँग छैन । चैते दसैं, शिवरात्रिलगयात चाडपर्वमा हजारौं भक्तजन भाकल गर्न र भेटी चढाउन आउने गर्छन् । मन्दिरको चारैतिर करिब ५० भन्दा बढी व्यावसायिक सटर छन् । ती सटर भाडाको हिसाब लेखाजोखा थिएन । कतिपय भक्तजनले मन्दिरको नाममा जग्गा दान गर्दै आएका थिए ।
‘अदालतको आदेशपछि गठन भएको वागेश्वरी मन्दिर गुठी समितिले सम्पत्तिको अभिलेख तयार गरिरहेको छ । मालपोत कार्यालयमा राखिएको तिजोरी फागुन ३० गते सार्वजनिक गर्ने निर्णय भयो,’ समिति सदस्य तथा मन्दिरको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता बलबहादुर चन्दले भने, ‘तिजोरी खोलिएपछि गरगहनाबारे यकिन हुनेछ ।’
संकलन हुने भेटी, गरगहना र सटरबाट हुने आयआर्जनको हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगरिएपछि अधिवक्ताद्वय चन्द र लोकबहादुर शाहले अदालतमा रिट दर्ता गरेका थिए । हिन्दुको प्रमुख शक्तिपीठ मानिने उक्त मन्दिरमा भक्तजनले दैनिक पूजाका क्रममा भेटी चढाइने गरिएको छ । यहाँ दैनिक सयौं भक्तजन पूजाका लागि आउने गर्छन् ।
चाडपर्वका बेला एकैदिन हजारौं भेटी संकलन हुन्छ । ती भेटी महन्थहरूले आफूखुसी गर्दै आएका छन् । मालपोत कार्यालयमा रहेको वागेश्वरीको तिजोरीबाट गरगहना हराइसकेको शंका गरिएको छ । भेटीको अभिलेख नराखी बहुमूल्य मूर्तिहरू हराइएका हुन् । चाँदीका तुटेफुटेका मूर्ति मात्रै अभिलेखमा रहेको जानकारले बताए । मन्दिरको नाममा रहेका सम्पूर्ण चलअचल सम्पत्तिको नियमित रूपमा अभिलेख राख्न र सार्वजनिक गर्न अदालतले आदेश दिएपछि समिति गठन भएको हो । मन्दिर स्थापनाकालदेखि हालसम्मको अवस्था तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वसमेत झल्कने गरी वागेश्वरीको परिचय, जानकारीपत्र वा पुस्तक प्रकाशन गराउन, पूर्वतर्फको रानी तलाउको पुल जीर्ण भइसकेकाले यथाशक्य छिटो पुनर्निर्माण, व्यवस्थित पार्क, सार्वजनिक शौचालयको व्यवस्थित गर्न माग गरिएको छ ।
रिटमा वागेश्वरी मन्दिर व्यवस्थापन, सञ्चालक समिति, मूल महन्थ, प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय प्रमुखलाई विपक्षी बनाइएको थियो । धार्मिकस्थल भएका कारण त्यहाँको पारदर्शिताका लागि कसैले पनि आंैला उठाउन नसक्दा सार्वजनिक सम्पत्ति दुरुपयोग हुँदै आएको छ । प्रकाशित : कान्तिपुर, फाल्गुन २८, २०७४ १०:५९

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...