Wednesday, June 12, 2019

पानी अझै चल्दैन...

पानी अझै चल्दैन...
थुप्रै पात्रहरू जो टाँसिए हाम्रा जीवनमा, जसलाई दलित भनिए पनि उनीहरू हाम्रो समाज सन्तुलित बनाउने अंग थिए ।
फाल्गुन २५, २०७५साम्पाङ सञ्जु
काठमाडौँ — चारचक्केको पर्खाइमा थिएँ म कार्जेलयबाहिर  । विशेष लोकल बस, नत्र म्याजिक (सानो हात्ती)  । जे आउँछ घुस्रिन्छु, अटेसमटेस हुँदै । तीन–चार किमिको यात्रामा पनि विभिन्न कल्पना, विचार अनि सम्झनाहरूले छुत्ती खेल्छन् दिमागमा । कुनै बेला नयाँ कुराहरू सुन्न पाइन्छ यात्रुहरूबाट । कहिलेकाहीं नयाँ गीत वज्छ गाडीमा ।
प्रायः भक्कु भीडमा ठेलमठेल गर्दै बसिन्छ । आहा ! कुनै दिन त डल्लै गाडी रिजर्व गरेजस्तो उपरखुट्टी लगाएर एक्लै ‘दादा’ भइन्छ । त्यो दिन पनि यस्तै सोच्दासोच्दै कति छिटो आइसकेछ गन्तव्य । ल, मैले रु. १० को कुदाउनुपर्ने जति गाडी कुदाइसकेछु ।
निश्चय नै त्यो साँझ थियो । दिउसोको आयु लगभग सकिएको अनि बेलुकीको बैंस छिपिँदै गरेको अवस्थालाई जनाउने केही हुन्छ भने त्यो पश्चिम आकाश नै हो । आकाशमा घामका सुन्तले धर्साहरूले मायालाग्दो दृश्य बनाइरहेथ्यो । मायालाग्दो यस अर्थमा कि त्यो दिनप्रतिको मायाले हो कि खै सन्ध्याले निल्दै गरेको पल नीरस लाग्थ्यो मलाई । तर, हुन्छ रोमाञ्चक पनि । पुलमा सेल्फी लिइरहेका हुन्थे केही जोडीहरू । केही किशोरकिशोरीको समूह दुब्ली चट्पटेवाली आन्टीकोमा फोन खेलाउँदै पालो पर्खिरहेका । फुच्चेहरू खोलाको छेउकै स्यानो चौरमा फुटसल खेल्दै हुन्थे । उता भर्खरै ओपनिङ भएको होटलमा ‘कस्टमर’ हरूले मोमो, आलु चपहरू चपाउँदै गरेको दृश्य पनि बडो गज्जब लाग्ने । ओहो ! अनि त एकै छिनमा ख्याप्पै खाइहाल्थ्यो रातले त्यो झलमलाउँदो दिनलाई...! यता गाडीबाट ओर्लिनासाथ देखिहालेँ मेरा मान्छेलाई, जो भट्भटे लिएर रेडी पोजिसनमा थिए । म पनि ठ्याक्क बसिहालेँ पछिल्लो सिटमा । जसै हामी एउटा स्कुललाई देब्रे पारेर अघि बढ्दै थियौँ । ‘अँ सुन न, त्याँ मास्तिर खसी काटेको रैछ कि’,उसले सुनायो । ‘ला किन हौ फेरि ?’ बेला न कुबेला खसी काट्नु भनेको कि घरमा पालेको पशु चौपाया बिरामी भएर कि त घरमा आर्थिक समस्याले गाह्रो बनाएर हुन सक्छ भन्ने मेरो मनोविज्ञान । त्यसैले उसको कुरा नसक्दै प्रश्न गरिहालेछु ।
‘हत्तेरी सुन न पैला चैं, जेसुकै भएर काटेको होस् नि । त्याँ धनमाया बडी र आमा जानुभा’को रैछ, अन्त खसी काट्ने घरकाले त छिःछिः र दुर्दुर गर्‍यो अरे । बडीलाई साह्रै नराम्रो लागेछ ।’ एउटा अत्यास, एउटा नमज्जा... तत्कालै अनुभव भयो मलाई । धनमाया बडी अर्थात् धनमाया विश्वकर्मा, हाम्री आमा (सासू) की एकदमै मिल्ने साथी र छिमेकी । म घर पुग्दा उनी अपमान र तिरस्कारले अत्यन्तै दुःखी थिइन् अनि, रिसले आँखा रातो पार्दै मनको गुनासो अरूसँग पोख्दै रहिछन् । ‘त्यो मरी भने त म शव पनि हेर्न जान्नँ, कस्तो हेप्नसम्म हेपेको हौ ?’ यता आफूलाई सबै कुरा सुन्ने हुट्हुटी भो मनमा, सोधेँ, ‘के भयो बडी ? के भने तिनीहरूले ?’ थकित आवाजमा उनले विस्तार सुनाइन्, ‘अम्बौ कस्तो घिन गरेकी नि बाबु, हामी त ओर पो उभिइरा’को थिउँ त हौ, एसो देख्नेबित्तिकै लुलुलु छिटो काटिसक, छिटो भागबन्डा गरिहाल, याँ छैछुत हुन्छ फेरि भन्छे है लु ।’ पोखिइन् फेरि ‘न त्याँ छेउमा जानु, न गएर छुनु, छक्कै परेँ नानी म त... !’ कताकता आत्मा चर्केको चरक्क आवाज सुनेँ आफैंभित्र । ज्यान भारी भएर दिमागलाई पनि शिथिल गरायो । रातिको खानपिन पूरै बेस्वादिलो । जब घुस्रिएँ ओछ्यानमा, लौ जिन्दगीकै पहिलो अनुभव, मरिकाटे निदाउन सकिनँ म । छेउमै घुरिरहेथ्यो ऊ, छट्पटाइरहेँ म तर भन्न सकिनँ, ‘किन सुनायौ मलाई यो घटना ?’
निद्रा त आँखाले स्वीकार नै गरेन, मनमा लगातार नमीठो अनुभूतिले पोलिरह्यो । सोचेँ, हैन त्यसरी हैट्–हैट् गर्दै परपर खेदाउने काम त जनावरलाई जस्तै कुकुर–बिरालोलाई पो गर्छन् त । मान्छेले मान्छेलाई त्यस्तो गर्दा के बित्यो होला खेदाइमाग्नेको आत्मामा, उसको मगजमा, उसको आत्मसम्मानमा अनि भावनामा ? ओहो ! अनि त रातभरि म ओल्टेकोल्टे हुँदै मन निचोरिएर आँखासम्म आइपुग्ने तरल पीडाहरूलाई तह लाउनमै तल्लीन भएँ । बिल्कुल म बसेँ उनै धनमाया बडीको ठाउँमा, उनको त्यो दिनको तिरस्कृत भोगाइमा, मुटु कोपरिने आलो घाउमा, खाटा बसेका पुराना दुखाइहरूमा... ! कस्सम, त्यतिको दुःख र चित्त फाट्ने गरीको अनुभूति जिन्दगीमा कहिले पनि भएको थिएन । म त्यो ‘एक दिन’ कसैलाई परेको चोटले त्यति विक्षिप्त थिएँ भने, जिन्दगीभर यस्ता दुर्व्यवहार र दुर्वचन खपेर बस्ने कथित ‘दलित’ लाई कस्तो हुँदो हो ?
साउन बिदौरी हुँदै गरेको दिन । एउटी दर्जिनीले अर्की राइनीलाई तीन दिनसम्म दिनरात नभनी प्रसव व्यथामा साथ दिइन् । उनै ‘सुँडेनी’ ले पछि नानीको नाम राखिदिइन्, शनिबार जन्मेको भएर ‘सञ्जु’ । छिमेकी गाउँ तिरिंग जाने घुमाउरो बाटोछेउमा थियो उनीहरूको घर । खुट्टा भाँच्चिएर अलि खोच्याउँदै हिँड्ने भएकाले गाउँलेहरूले ‘लंगडे दमाई’ भनेर नाम राखिदिए दर्जी बडालाई । लुगा पुरानो भएर च्यात्तिएर जान्थ्यो तर उनले सिलाएको सिउनी खुस्किन्थेन भन्छन् अहिले पनि हाम्रा गाउँलेहरू । उनका छोराछोरी पनि हाम्रा फुपू अनि दाजुदिदीका साथी थिए । मलाई अझै मधुरो सम्झना छ, दर्जी बडाको कान्छी छोरी देउकी दिदी र हाम्री चन्द्री दिदी दिनैभरि बलवान छाप खैनीको बट्टामा भात पकाउँदै खेलिरहन्थे अम्बकको बोटमुनि । पारिपट्टिको जुँगे कान्छा म्हेमेको खाली खेतमा गाईबस्तु चराउँथे, हाम्रा दाजुदिदी अनि उनीहरू मिलेर । बर्खामासमा हात्ती आएर वितन्डा मचाउँदा हाम्रै गाउँमा आउँथे उनीहरू । खै, मैले त मेरो संस्कारमै पाइनँ दलितलाई छिःछिः, दुर्दुर गर्नुपर्छ भन्ने कुरा । स्यानो खोल्सा कटेपछि अलि पर्तिर तामाङ, मगर, किसान अनि गहतराजहरूको बस्ती । त्यो हो हाम्रो छिमेकी गाउँ । मेलापात, अर्मपर्म, जन्ममृत्यु, बिहेबटुलो सबैमा समान उपस्थिति हुन्थ्यो र, हुन्छ । मैले जानेर वा नजानेर, चेतन अचेतन कुनै पनि दिमागले आजसम्म दलितप्रति जातीय हिंसा गरेको छुइनँ भनेर छातीमा हात राखेरै भन्न सक्छु म । अहिले पनि गाउँमा मलाई उनीहरूले नामले पनि बोलाउँदैनन्, सबैले छोरी नै भन्छन् । म पनि साइनोअनुसार काका–बडा भनेर नमस्ते गर्छु, आदर–अभिवादन गर्छु ।
सम्मान गरियो भने सम्मान पाइन्छ नै । ती दिनहरू सम्झेँ मैले, जहाँ तिरिंगबाट बिहानै आइपुग्थे दर्नाल बाबै र सुनाइरहन्थे दिनभर ‘सिलोक’ । हाम्री बोजु थिइन् मोटी ज्यानकी । सिकुवाको खाटमा पल्टिरहन्थिन् दिनैभरि । अनि उनी एक शान्त श्रोता हुन्थिन्, दर्नाल बाबैको श्लोकको । उनै बाबैका कान्छी श्रीमतीपट्टिका ससुरा आउँथे कहिलेकाहीँ ‘गजमेर बाबै’ । उनी झन् रौसे, हँसीमजाक ठट्टा गरिरहनुपर्ने मिजासका । हाम्रो घरमा गफ गरेरै दिन बिताइदिन्थे उनी । खै कहिले पनि हाम्रो परिवारले उनीहरूलाई हेलाहोचो, थिचोमिचो, अन्याय गरेको घटना थाहा भएन र अझैसम्म भएको पनि छैन ।अर्को फरक सम्झना भनेको, तल्लो देवीगन्जाका मुर्दुङ बाजे र माथ्लोकी कान्छी दमिनी आमैले चाहिँ चियापानी खाएको गिलास घरकालाई पानी मागेर पखालेर बाहिर राखिदिन्थे । अझै बाल्यकालको रमाइलो याद त तिहारको हो है ! लुहागुन माइला बडा र उनका फुच्चे छोरा देउसी खेल्न आइपुग्थे । उनी खुबै मजाले भट्याउने भएकाले हामी केटाकेटी झुरुप्पै भेला भएर सुन्दा जुन आनन्द थियो, त्यो अचेल खै कहाँ ?
हैन, दलितहरूसँग उठबस नै गर्न नहुने भन्ने चैं खै कहाँ कसले लेखेको होला नि ? अनि गुरुपूर्णेको त्यो माहोल नि झन्, जहाँ दर्नाल्नी आमै चिन्ता बसेको हेर्नलाई मात्र पनि जम्मा हुने घुइँचोले उनको घर झन्डै–झन्डै भत्काइदिन्थ्यो । देवीगन्जाबाट आउने धमला बाबै नै हुन्, हाम्रो घरको छपनी बनाउने शिल्पी । कतिओटा पुराना कुच्चिएका सिल्बरे भाँडा दिँदा नयाँ छपनी बनिन्छ भन्ने पनि बोजु र आमालाई राम्रै हेक्का हुन्थ्यो । सायद सिकेका थिए उनै धमला र गजमेर बाजेहरूसँगै । उता फलामका हातहतियार बनाउनुपर्दा खाती माल्दाजु ठिक्क छँदैछन् । हिउँदमा पहाडबाट झर्ने सहनाई बजाउने दर्जी दाजुहरूको जत्थालाई पनि हाम्रै घरमा बास मिल्थ्यो । उनीहरूमध्ये मुख्य नाइकेले हाम्री बोजुलाई ‘मुखिनी’ अनि आमालाई ‘माइली मालिक्नी’ भन्थे । अनि हामी केटाकेटीचैं आमा र बोजुलाई जिस्काउनमा रमाइलो मान्थ्यौं । यी अनेकौं अतीतलाई गमेर सोच्छु, अहँ मबाट ती धनमाया बडीसँग भएको जस्तो घटना भएकै छैनन् । थुप्रै पात्रहरू जो टाँसिए हाम्रा जीवनमा, जसलाई दलित भनिए पनि उनीहरू हाम्रो समाज सन्तुलित बनाउने अंग थिए ।
लेखक एवं चिन्तक आहूतिले लेखेको ‘तीन हजार वर्षदेखिको दलन’ पढ्दै गर्दा पनि सत्यको नजिक पुग्न सकेको अनुभव गरेँ मैले । आफ्नै समाजको अध्ययन गर्नलाई पनि उपयुक्त छ उनका लेखहरू । कोही कतै स्वार्थले आफ्नो समुदायप्रति गैरजिम्मेवार भएर लेख्ने र बोल्ने गरिरहेका पनि हुन सक्लान् । केही महिनाअघि एक जना मित्रसँग भेट भयो । उनी भारत बस्दै आएको निकै भएछ, उनी मात्र पहिलो व्यक्ति लाग्यो मलाई कि, जातीयताकै आधारमा विभेदको अनुभव नगरेका पात्र । उनले केही व्यक्तिहरूको नाम पनि लिए, जो पैसाको लागि दलित आन्दोलन, राजनीति र साहित्यमा देखिइरहेका छन् अरे । ‘मैले त कतिलाई अनफलो नै गरेको छु’,उनी भन्दै थिए । अर्की साथीले पत्रकार पर्वत पोर्तेलको अनुभव पनि सुनाइन् । नयाँ कोहीसँग चिनजान गर्दा धेरैले सोध्ने प्रश्न ‘पोर्तेल भनेको के जात पो हो ?’
उनले ‘विश्वकर्मा’ भन्नेबित्तिकै उनीहरूको अनुहारको भाव हेर्नलायकको हुन्छ रे । तर उनै पर्वतजीको घर गएर मजासँगले रात्री भोजन गरेर मेरी रेडियोकर्मी साथी बैनी सुजता शिवाकोटी र म कोठा फर्केका थियौँ । कतै केही बिसाएको, शरीर बिग्रिएको, जात झरेको केही महसुस भएन त । मसँग मिल्ने एउटी विश्वकर्मा बैनीले माथिल्लो जातसँग बिहे गरेकै आधारमा केटाको परिवारले उसको ‘किरियाकर्म’ गरेको खबरले पनि मलाई व्यथित गराउँछ ।
डेराको जीवन बाँच्दै गर्दाको एउटा अनुभव छ । सामुदायिक विद्यालयका शिक्षक थिए घरबेटी, जो हरेक बेलुकी स्थानीय रक्सीको ट्वाँक जति चढाउँथे, उति साइकलको गति बढाउँथे । अनि कुनै दिन त बाँसको भाटाको बार भत्काउने पाराले साइकलबाटै उछिटिन्थे । जब घर आइपुग्थे उनी, तब घरबेटी आन्टी कराउँथिन्, ‘धोक्नसम्म धोकेछन्, कामी दमाईजस्तो । कामी दमाईले पो यसरी खान्छन् त ।’ मलाई त्योभन्दा आश्चर्य अरू केही लाग्दैनथ्यो । माथिल्लो तलामा घरबेटीले त्यसो भनिरहँदा भुइँतल्लामा भाडामा बस्ने शिवा थरकी आन्टी चुपचाप सुनिरहन्थिन् । मनमा त उनलाई पनि लाग्दो हो, ‘उसको श्रीमान् जाँड खाने अनि गाली पाउने कामी दमाई ?’
अस्ति भर्खरै एउटा लेखमा लेखकले जात ढाँटेरै बस्दै र पढ्दै आएको अनि दलित हुँदाको मनोसामाजिक समस्या उल्लेख गरेको देखेर नमज्जा लाग्यो । यस्ता उदाहरण त लाखौं छन् मुलुकमा तर, यो युगमा आफ्नै घर छिमेकमा भएको घटनाले अहिलेसम्म पनि विचलित बनाइरहेछ । उही धनमाया बडीका छोरीहरूले मलाई पानी पनि अडिन नमान्ने मेरो गर्भावस्थाले शिथिल भएको समयमा तागतिलो खानेकुरा ल्याइदिएर ठूलो गुन लगाएको बिर्सिनसक्नु छ । ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ उहिलेदेखि पढ्दै र सुन्दै आए पनि वास्तविक व्यवहारमा प्रयोगमा आउन अझै समय लाग्ने रहेछ । अनि त उही गीत ‘तिमीले छोएको पानी अझै चल्दैन’ नै गाउने होला नि कति पुस्ताले अझै ?
प्रकाशित : कान्तिपुर, फाल्गुन २५, २०७५ १२:१४

नेपालमा भ्रष्टाचार

नेपालमा भ्रष्टाचार : हिजो, आज र भोलि
 
दीपेन्द्रबहादुर क्षेत्री
२९ फाल्गुन २०७४, मंगलवार ०३:३३
भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । यस्तो क्रियाकलाप संवैधानिक रूपले सबैले तिरस्कार गरे पनि नेपालमा दिनानुदिन भ्रष्टाचार सांस्कृतिक रूपमा झांगिँदै गएको छ । यस आलेखको उद्देश्य नेपालमा हिजो, आज र भोलि भ्रष्टाचारको नालीबेली जाहेर गर्नु रहेको छ । भ्रष्टाचारबाट उन्मुक्ति पाउन सके मुलुकले सर्वतोमुखी विकासमा कसरी अग्रसर हुन सक्दछ भन्ने संकेत गर्नु पनि हो ।
भ्रष्टाचार निवारण सरकारको दायित्व हो । अधिकारै नपाएका शक्तिबाट भ्रष्टाचार हुन सक्तैन । अधिकार राजनीतिक शक्तिसँग सम्बन्धित छ । विधिविधानले सुरक्षित गरेका क्षेत्र वा संगठन सामान्य मान्यताअनुसार भ्रष्टाचारमा डुबेकै भए पनि कानुनी संरक्षण रक्षाकवच बन्छ । भ्रष्ट भनेर अभियोजन गर्ने, दण्डसजाय गर्ने कुरा त कानुनी पहुँचले भेट्नेलाई मात्र हो । समेटिने दायरा पनि शक्ति, दौलतका कारण निस्तेज हुने पनि गर्दछ । राजनीतिक आस्थाले विश्वासको संकट उत्पन्न गर्छ । त्यसैले एउटै घटनालाई पनि सत्तामा रहँदा एक प्रकारले र नरहँदा अर्को प्रकारले व्यवहार गरेको पाइन्छ ।
कुरा २०४२ सालतिरको हो । सुधारिएको पंचायत सिंगौरी खेल्दै थियो । यो पंक्तिकारलाई उच्च अध्ययनका लागि अस्ट्रेलिया जाने मौका मिलेको थियो । सिड्नी भन्ने सहरका नेपालप्रेमी एक अस्ट्रेलियन नागरिकसँग भेट हुँदा नेपालको हालखबर बेलिविस्तार गर्ने क्रममा नेपालको गरिबी टिठलाग्दो रहेको र नेपालमा खडेरी परेको, नजिकको पानी पनि तान्ने उपाय नभएको बुझेपछि पम्पसेट किन्न पैसा पठाइदिएको सुनाए । हामो मुलुक पछि पर्नुको कारणहरूमध्ये अशिक्षा, सुशासनको अभाव आदि रहेको बताउँदा ‘अब फेरि नेपाल जाँदा तिम्रो राजासँग भेट्ने व्यवस्था मिलाई खराबी हटाउन सुझाव दिन्छु’ भने । उनी सामान्य व्यवसायी, पर्यटनका रूपमा आउने व्यक्तिलाई अर्ति–उपदेश सुन्न राजदरबारले किन वास्ता गर्ला र भन्ने अभिव्यक्ति सुन्दा खिन्न भए र मर्मस्पर्शी दर्शन पनि छाँटे । विकसित देशमा पनि भ्रष्टाचार हुन्छ तर त्यसले सर्वसाधारण जनतालाई असर गर्दैन, नेपाल जस्तो गरिब देशमा त भ्रष्टाचारले जनता ठहरै भइहाल्छन् नि ! उनको भनाइ साँचो थियो । संभवतः कुलो निर्माणलाई पैसा निकासा हुँदा एक चिम्टी माटो नखोस्रेर कागजी बन्दोबस्ती मिलाई जिल्ला पंचायतका विकास अधिकारी सचिवसम्म गएर निवृत्त भएका छन् । गाईकाण्ड, सर्पको छालाकाण्ड कल्पना गरेर सिर्जना गरिएका भ्रष्टाचारका काण्ड होइनन् ।
२०२९ सालको कुरा हो । निश्चित लेभी (शुल्क) तिरेर चामल निकासी गर्न सरकारले अनुमति दिन्थ्यो र खडेरी, अतिवर्षाजस्ता प्राकृतिक प्रकोपका कारण खाद्यान्न संकट हुने संभावना थियो । यातायातको सुविधा अहिले जस्तो थिएन । केही व्यापारीको सल्लाहमा निर्यात गर्न रोकिएको चामल फुक्का गर्ने आदेश दिएका तत्कालीन खाद्य कृषि सचिव सुरेन्द्रराज शर्मा ठूलो शारीरिक यातना र कारागार सजायमा परे । कारण थियो, खडेरीले निम्त्याएको खाद्यान्न संकटका कारण दोलखाबासी राजदरबारमा धर्ना बस्न थाले । पश्चिमको दैलेखमा केही जनताको ज्यान गयो । सचिव शर्मामाथिको आरोप थियो निकट भविष्यमा घट्न सक्ने घटनाको ख्याल नगरी खाद्यान्नको संचय गर्नु सट्टा व्यापारीलाई फाइदा दिलाउन सघाएको । राजदारबारले चासो राखी सचिव तहको कर्मचारीलाई दिएको यातना र सजाय नजिरका रूपमा राख्ने एक पक्ष थियो भने भ्रष्टाचारको लाभांश तालुको हैकमवालासँग नपुग्नु अर्को थियो ।
अझ घटनाहरूले पंचायत भ्रष्टहरूको अखडा थियो, त्यसैले जनताले उखालेर फाले भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ । पंचायतअन्तर्गत काम गर्ने केही प्रशासकहरू निष्ठावान र कर्तव्यनिष्ठ पनि थिए । गोरक्षबहादुर न्हुच्छे प्रधान, नरकान्त अधिकारी, कुलशेखर शर्मा नेपाली प्रशासनका आदर्शपूर्ण र स्मरणयोग्य कर्मचारीहरू हुन् । त्यस्तै, थरका हिसाबले शाह भए पनि शशिनारायण शाह कुशल, कर्तव्यनिष्ठ प्रशासक हुन् । अर्थ सचिव रहेका बखत यो पंक्तिकार नेपाल राष्ट्र बैंकको कर्मचारी संगठनको प्रतिनिधित्व गर्दै अर्थ मन्त्रालय पुगेको थियो । टक्सारको हविंग मेसिन खरिदमा भएको भ्रष्टाचारको छानबिन होस् भन्ने माग सम्बोधन गर्ने वचन संचालकका हैसियतले दिए । टोली नेपाल राष्ट्र बैंकले नेताहरूलाई उपयोग गर्न दिएका मोटरहरू सडकबाटै खोसेर लाने गरेको घटना सुनाउँदै, अर्थ सचिवज्यूले प्रयोग गर्नुभएको गाडी पनि सेतो प्लेटमा परिणत गरी चढ्दै आएको जानकारी गराउँदा गंभीर देखिए । केही जवाफ दिएनन् । टोली बालुवाटार पुग्न आधा घन्टा लाग्यो । त्यतिबेलै अर्थ सचिव शाहले चढेको गाडी सेतो प्लेट उतारी राष्ट्र बैंकमा दाखेल भइसकेको थियो । यो उच्च नैतिकता र कर्तव्यबोध गर्ने शाहको अनुकरणीय चरित्र अहिलेका प्रशासकमा कमै पाइएला । त्यसैले त छापा माध्यमले निर्वाचनको आचार–संहिता लागिसक्दा पनि विदेश भ्रमणमा बीसौँ करोड खर्च भएको विवरण सार्वजनिक गरेका छन् । विगतको राजनीतिक पद्धति र कर्मचारीतन्त्र भ्रष्ट थियो भनी दोषारोपण गर्नु उक्त उल्लिखित व्यक्तित्वलगायतका कर्तव्यनिष्ट राष्ट्रसेवकमाथि अन्याय हुन्छ ।
भ्रष्टाचारको सन्दर्भलाई वर्तमान परिवेश खासगरी प्रजातन्त्रको वहालीपछिको अवस्था केलाउँदा विगतमा भन्दा कम नभएको तर बढेको आँकलन छ । भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि २००५ को अनुमोदन नेपालले सन् २०११ मा गरेको छ । त्यसका अतिरिक्त भ्रष्टाचारको छानबिन, अनुसन्धान, अभियोजन गर्न संवैधानिक अंगका हैसियतमा अख्तियार अनुसन्धान आयोग गठन भएको छ । उक्त आयोगको पछिल्लो प्रतिवेदनअनुसार ११७०४ थान मुद्दा आर्थिक वर्ष २०७३÷७४ मा दायर भएका र ७,८७६ थान गत वर्षहरूबाट जिम्मेवार सर्न आएको छ । कारबाही गरिएको विवरणमा ७०६५ तामेली (कारबाही गर्नु नपर्ने ठहर ?), ३०६ थानको विस्तृत अनुसन्धान, कानुनी संरचना निर्माण र कार्यान्वयन, ४४९० अन्य कार्यालयमा लेखिपठाएको भन्ने जनाइएको छ । यसप्रकार ११८६१ थान मुद्दा सम्बोधन गरिएबाट खुद ७७१९ थान मुद्दा चालु आर्थिक वर्षका लागि अ.ल्या. (अगाडिबाट ल्याइएको) देखिन्छ । विचारणीय कुरा के छ भने प्रतिवेदनमा अ.ल्या. गरिएका मुद्दा कति पुराना छन् भन्ने खुल्दैन । चर्चाअनुसार कर्णाली उज्यालो कार्यक्रममा भएको अनियमितताजस्ता मुद्दामा अभियोगी सरकारका विभिन्न उच्च ओहदामा पुगिसकेर आराम गरिसक्दा पनि अख्तियारले बल्छीको आहारजस्तै सुरक्षित राखेको गुनासो गरिन्छ । हुन पनि कुन सालमा दायर भएको मुद्दा कति थान सम्बोधन भए भन्ने तथ्य बाहिर नल्याएसम्म शंका गर्ने ठाउँ रहेकै छ । अख्तियारलाई पनि इच्छाअनुसार मुद्दा साङ्गो–पाङ्गो लगाउने वा बिना–अनुसन्धान तामेलीमा हाल्ने हक त नहुनुपर्ने हो । पारदर्शिता अपनाउन अख्तियारले मुद्दा दायर भएको साल र अनुसन्धान, छानबिन गर्न लागेको समयसमेत खुलाउन नसकेसम्म १३ पन्ने विवरण भराउन लगाई सार्वजनिक ओहदा सम्हालेका राष्ट्रसेवकलाई त्राहिमाम बनाउने र वशमा पार्ने रणनीति मात्र ठहर्नेछ । पूर्व मुख्य आयुक्त लोकमान सिंहको कारबाहीका सिलसिलामा सर्वोच्च अदालतले नियुक्तिसम्बन्धी निर्णय माग गर्दा प्रधानमन्त्री कार्यालयका मुख्यसचिव सोमनाथ सुवेदीले उपलब्ध गराउन नसकेको व्यहोरा लेखे । भूकम्पका कारण कार्यालय सर्नुपरेकाले हाल उपलब्ध नभएको भन्ने भनाइ रहे पनि गुह्य कुरो १३ भन्ने विवरण भर्न बाध्य भएका मुख्य सचिवलाई ‘मनोवैज्ञानिक दबाब’ नै मुख्य कारण थियो । यो प्रवृत्ति अनुसन्धान गर्ने निकायले नै अख्तियारको दुरुपयोग गरेको ठहर्दैन र ? त्यस्तै अर्को अपारदर्शी गतिविधिको आभास पक्राउको अधिकांश समय सार्वजनिक (सकेसम्म लामो) बिदा पार्ने गरिन्छ । अधिकारप्राप्त निकायले कारबाही गर्न औंशी–पूर्णिमाको जोखना हेर्न आवश्यक पर्दैन । कसैले अदालत गुहार्ला वा शक्तिकेन्द्रको अ¥होट मान्नुपर्ला भन्ने भएको मानसिकताबाट उन्मुक्त हुन नसक्ने हो भने के निस्पक्ष र स्वतन्त्र कारबाही गर्न सक्तछ, संवैधानिक निकायले ?
भ्रष्टाचार सामाजिक अपराध भएकाले कहीँकतै बन्देज नरहनुपर्ने हो । अख्तियारले निजीक्षेत्रमा भएको भ्रष्टाचार हेर्दैन । सार्वजनिक ओहोदा सम्हालेकाबाट हुने अख्तियाको दुरुपयोग मात्र छानबिनको दायरामा पर्दछ । सैनिक र न्यायालयलाई अख्तियारको दायरालाई अलग गरिएको छ । संभवतः राष्ट्रको सीमा सुरक्षामा खट्नुपर्ने भएकाले होला सैनिकबारेको व्यवस्था । त्यस्तै न्यायालयको स्वतन्त्रताको विषयले होला उन्मुक्ति दिएको । ती निकायबाट हु्ने विसंगति आफ्नै संयन्त्रबाट छानबिनको व्यवस्था गरिएको छ सैनिकका हकमा ‘कोर्टमार्सल’ र न्याय सेवाका हकमा न्याय परिषद् । अंग्रेजीको उखान ‘पानीभन्दा रगत बाक्लै हुन्छ’ नितान्त प्रयोजनहीन देखिँदो रहेछ ।
सरकारी कार्यालयहरूमा हुने अनियमितता हेर्न राष्ट्रिय सतर्कता केन्द्रको स्थापना पनि भएको छ । सार्वजनिक पद धारण गर्ने पदाधिकारीले निश्चित समयमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, विडम्बना ! यस्तो विवरण बुझाउने ‘देउराली’ यति धेरै हुँदा रहेछन् कि ‘नमरी संसार देखिन्न’ भनेजस्तै आपैँलाई परेपछि मात्र चेतिन्छ । पंक्तिकार नेपाल राष्ट्र बैंकमा गभर्नरमा नियुक्त भएपछि नेपाल राष्ट्र बैंक ऐन, नियमावलीअनुसार ३५ दिनभित्र आफ्नो जायजेथाको विवरण संचालक समितिसमक्ष बुझायो । सबैलाई जानकारी होस् भनी नेपाल राष्ट्र बैंकको वेभसाइडमा पनि राख्न लगायो । दस हप्ताजति बितेपछि राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्र बैंकको गभर्नर फलाना र अर्को निकायमा पदाधिकारी फलानाले सम्पत्ति विवरण अझै बुझाएका छैनन् भनी वक्तव्य जारी ग¥यो । विश्वका सात अर्ब जनसंख्याले हेर्न सक्नेगरी विद्यतीय माध्यमबाट नेपाल राष्ट्र बैंकको वेभसाइटमा समयमै राखिएको विवरण सतर्कता केन्द्रले थाहा नपाउनु उदेकलाग्दो विषय थियो । हाल पनि अख्तियार अनुसन्धान आयोगले सार्वजनिक पदमा बसेका सम्पत्तिको विवरण नबुझाउनेलाई जरिवाना गरेको समाचार प्रकाशित हुने गर्दछ । यसप्रकार एउटा पदाधिकारीले आफ्नै संस्थाको आधिकारिक निकायका अतिरिक्त अख्तियार, सतर्कता केन्द्र सम्बन्धित ऐनअनुसार पनि विवरण दिनुपर्छ भन्ने कानुन ‘थाहा थिएन’ भन्नु जति अव्यवहारिक हुन्छ, त्योभन्दा जडता बहुसंस्थामा विवरण पेश गर्नुपर्ने व्यवस्था हुन जान्छ ।
सर्वोच्च अदालतको तत्कालीन प्रधान न्यायाधिश सुशीला कार्कीमाथि संसद्मा १७ वैशाख २०७४ मा महाअभियोग दर्ता गरियो । सर्वोच्चको एक न्यायाधिशले ‘आपूm प्रधान न्यायाधिश भएदेखि नै भ्रष्टाचारका मुद्दालाई प्राथमिकता दिनु उहाँको कमजोरी भयो, त्यो कसैका लागि पाच्य थिएन’, (कान्तिपुर १८ वैशाख, २०७४) । काकताली नै भनौँ, सुडान घोटलाकाण्डमा प्रहरीका तीन महानिरीक्षकहरू रमेश चन्द ठकुरी, ओमविक्रम राणा र होमबहादुर गुरुङ्गलगायतकालाई कैद र नगद जरिवाना हुनेगरी १७ गते नै फैसला गरेकी थिइन् । यस मुद्दामा सबै प्रहरी महानिर्देशकले भ्रष्टाचारमा सरिक भए भन्नु गलत हो । त्यस्तो निर्णय गराइ फाइदा लिने राजनीतिक व्यक्तिहरू चोखै रहनु नेपालको भ्रष्टाचारको विशेषता हो । जसरी हालै प्रचारमा भएको आन्तरिक राजस्व प्रकरणमा मूल अभियन्तातिर ध्यान देखिएका कर्मचारी र बोर्ड अध्यक्ष, सदस्यलाई जिम्मेवार बनाइयो । त्यसैगरी अन्य भ्रष्टप्रकरण पनि रहस्यकै गर्भमा रहेका छन् ।
जेठ ८ गतेका लागि नेपाली कांग्रेसका पूर्व मन्त्री गोविन्दराज जोशीको मुद्दा सुनुवाइका लागि पेशीमा चढेको थियो । अन्य पूर्व सचिवहरूको भ्रष्टाचारसम्बन्धी मुद्दाहरू पनि पेशीमा चढेका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा देखाइएको तत्कालीन प्रधानन्यायधीस कार्कीको तत्परता सत्तामा रहेका राजनीतिक दलका नेताहरूलाई पाच्य थिएन । त्यति नै बेला प्रहरी महानिरीक्षक नियुक्तिमा सरकारको निर्णय बदर गरिदिँदा कार्यपालिका र न्यायपालिकाका प्रमुखहरूबीच राम्रै मनोवैज्ञानिक युद्ध छेडियो । आग्रह र पूर्वाग्रहले कार्यपालिका र न्यायपालिका हालसम्म पनि ग्रस्त छ ।
प्रधान न्यायधीशलाई महाअभियोग लगाउँदा पेश भएका हस्ताक्षर अन्य प्रयोजनका लागि तयार गरिएको गलत ढंगले प्रयोग गरियो भन्ने दाबी त्यसैबखत प्रस्ताव, समर्थक राजनीतिक दलका नेताहरूले गरेकै थिए । त्यस्तो जटिल विषयमा किर्ते जालसाजी गरेकोबारे अदालतले प्रसङ्ग उठाएन तर नवराज सिलवालले अनलाइनमा प्राप्त तथ्य भनी पेश गरेको विषयलाई गम्भीर प्रकृतिको बनाई छानबिन गर्न आदेश दिइयो । प्रहरीले सिलवाललाई पक्राउ गर्न अन्तर्राष्ट्रिय सहयोगसमेत गुहा¥यो । जब सत्ता बदलियो अर्थात् अठ्ठा–जोकर प¥यो । सिलवाल सार्वजनिक रूपमै देखिन थाले । संसद्को सपथ लिन जानेक्रममा सुरक्षा दस्ताले सलाम ग¥यो । त्यही हिसाबको अदालतका आदेशले जेल चलान गरिएका अभियोगी रेशमलाल चौधरी दोस्रो नागरिक हुन् ? थारु भएकै कारण राज्यले फरक ढंगले हेरेको हो कि, अर्कै दल (सत्ताइत्तर) भएकाले ? यिनै विभेदले कानुन निरपेक्ष ढंगले प्रयोग हुन पर्नेमा सापेक्षता देखिएको छ व्यवहारमा ।
अदालतकै प्रसङ्गमा कुरा गर्दा प्रधानन्यायधीश कार्कीका पालामा पेशी चढेका मुद्दा खासगरी भ्रष्टाचारसम्बन्धी मुद्दा किन मिसिलका अक्षर धुलोले पुरिनेगरी दराजमा थन्किन्छन् ? यसै प्रसङ्गमा तत्कालीन प्रधानन्यायधीश कार्कीले भनेकी थिएन्, नाम चलेक मानिसहरूको भ्रष्टाचारसम्बन्धी मुद्दा ‘बेन्चको जानकारीमा नआई फाँटवालाहरूले लम्ब्याउने गर्दा रहेछन् ।’ कस्तो मुलुक स्वतन्त्र न्यायालयको यो अधिकार कति तलसम्मका कर्मचारीले उपयोग गर्न सक्ने रहेछन् ? हालैको राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा चयन गरिएका सदस्यत्रयबारे सुनुवाइका लागि तोकिएको बेन्चमा अन्तरिम आदेश दिने न्यायधिशको बेन्च तोकिनुहुँदैन भन्ने हेक्का निर्णयकर्ता न्यायमूर्तिलाई बारले सम्झाउनुपर्ने हो ? भ्रष्टचार, मौद्रिक या भौतिक विषय मात्र गणना हुँदैन । ढिलासुस्ती, आलटाल पनि भ्रष्टाचारमा गणना हुँदैन । पश्चिमेलीहरूका सबै कुरा ठीक नहोलान् तर ‘समय मुद्रा हो’ भन्ने कथन औचित्यपूर्ण छ ।
भ्रष्टाचारबारे आगतको कुरा गर्दा हालैको अवस्थामा कहालीलाग्दो चित्र देखापर्छ । पंचायतकालमा केन्द्रीकृत शासन व्यवस्था थियो । सोअघि राणाकालमा अति केन्द्रीकृत थियो । राणाहरू जिल्लामा भ्रष्टाचार गर्नेहरूलाई वास्ता नगरे जस्तो भान गर्दथे । जब उल्लेखनीय स्रोत जम्मा भइसक्छ अनि हदैसम्मको कारबाही गरेको देखाई सर्वस्वहरण गरी सम्पत्ति हडप्थे । दुनियाँलाई न्याय गरेको देखिने राणाको ढुकुटी भरिने । त्यसैको कान्छो प्रक्रिया पंचायतमा पनि थियो । आसेपासे दरबारिया साखुल्ले हुन अनेक हर्कत गर्थे । जिउडाल मिलेका डोटीका खड्गबहादुर सिंह ललितपुरमा उड्ने घर बनाउन त्यसै सफल हुन सक्दथे र ! नुवाकोट बट्टारको सिंचाइ आयोजना निरीक्षणका क्रममा गएका राजा वीरेन्द्रलाई कम गुणस्तरको सामग्री प्रयोग गरी भ्रष्टाचार गरिएको छ भन्ने प्रमाणित गरी आफ्ना विरोधी पंचहरूलाई ठेगान लगाउन ‘पंचको हात पर्याप्त छ’ भनी जुरुक्क ईट्टा उचालेर भत्काइदिएका थिए । राजालाई प्रभाव पारी आफ्नो स्वामीभक्ति देखाउने तरिका भ्रष्टाचारलाई दरबारकै आसपासमा केन्द्रित गर्नु थियो ।
२०४६ को आन्दोलनले केही महिना भ्रष्टाचार मत्थरिने संकेत ल्यायो । भ्रष्टाचारको सुरुआत आन्तरिम सरकारलाई सरिक गराउने कामको थालनी सिंहदरबार परिसर टुक्राएर अनामनगरमा सडक विस्तार गरेपछि सुरु भयो । त्यसपछि सुन तस्कर विदेशी हुन् कि धर्म प्रचारमा परेका हुन्, बिनाशर्त छाड्ने काममा पनि ‘गह्रौं ब्रिफकेस’ को सौदाबाजीमा रिहा गरिएको प्रसङ्ग जोडिन्छ । तत्पश्चात् भ्रष्टाचार यति विस्तार भयो कि हिनेमिने नेतासमेत दलालीमा लाग्ने र ठेक्का, पट्टा, लाभका विषय अग्रसर भई हुने विषय नहुनेमा परिणत गर्ने र असंभव ठानिएका विषय संभव बनाइदिने भए । भ्रष्टाचारको विकेन्द्रीकरणको तह बेहदसँग नाघ्यो ।
राजनीतिक चक्र यसरी घुम्यो कि राजनीतिक दल फुटाउन अर्को दलले मोटो रकम खर्च गर्ने भयो । महाकाली सन्धि विषयमा एकीकृत माक्र्सवादी–लेनिनवादी दल फुटेर माक्र्सिस्ट लेनिनिस्ट (माले) भए । यसरी फुटाउन तीन करोड खर्च गरेको उद्घोष कांग्रेसका नेता खुमबहादुर खड्काले सार्वजनिक गरे । तिनै खुमबहादुर भ्रष्टाचार अभियोग गरी जेल सजाय भोगेका कारण प्रतिनिधि–राज्यसभामा उम्मेद्वार हुन पाएनन् । परिवर्तनका लागि पंचविरुद्ध लडेका कांग्रेस, साम्यवादी नेताहरू लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा मन्त्री परिषद्मा बसे । राजाको प्रत्यक्ष शासनमा उपाध्यक्ष भएका तुलसी गिरीले पंचहरू भ्रष्ट रहेको स्वीकारे । त्योभन्दा पनि बढी भ्रष्ट परिवर्तनकारी राजनीतिक दलहरू भएको आरोप लगाउँदै भने ‘पंचहरूका पालामा भ्रष्टाचार हुन्थ्यो । पैसा गनेर हिसाब गरिन्थ्यो । अहिले त भ्रष्टाचारको मात्रा यति बढ्यो कि नोटको बिटा गणना गरिन्न, बरु जोखेर निर्धारण गरिन्छ ।’ विधिको विडम्बना ठेक्कापट्टा, नियुक्ति सबै रकममा निश्चित गरिने भएपछि उक्त अभिव्यक्ति अन्यथा पनि लाग्दैन । भ्रष्टाचार संस्था, राजनीतिक दल, व्यापारिक संस्था र व्यक्तिमा यसरी व्याप्त छ कि नातागोता र नैतिकताको घेरा नाघेको छ । यस प्रवृत्तिले देशको सार्वभौमिकता जोखिममा परेको छ ।
आगतकै कुरा गर्दा प्रधानमन्त्रीलाई बलियो बनाउन अख्तियार प्रधानमन्त्रीको कार्यालय मातहत राख्ने चर्चा चलेको छ । वाम गठबन्धनबाट सहज बहुमत पाएको र मधेसी दल र साम्राज्यवादी फोरमसमेत सत्तामा लोभिएको अवस्थामा दुईतिहाइ पुग्ने अवस्थाले शक्ति–सम्पन्नता हेर्न लायकको हुनेछ । शक्तिको मात लोकमानले मात्र होइन, गिरिजाप्रसादले पनि देखाएकै हुन् । फेरि पनि त्यस्ता घटनाबाट शिक्षा लिई राज्य र जनताका खातिर काम गर्ने अवस्था आउला भन्ने कल्पना मात्र गर्न सकिन्छ । विश्वास गरिनुपर्छ, विश्वासघात भएमा पछुताउनुबाहेक अरू के हुन सक्छ ? जनतासामु मुक्तिबाहेकका कुरामा सम्झौता नगर्ने बाचा गरेका नेताहरू सबैको प्रयासले यो अवस्थामा आइपुगेको हो भनी प्रतिक्रियावादी, संशोधन र पलायनवादीलाई जस दिँदै सहकार्यमा जुटेका छन् । वाणीमा भ्रष्टाचार विरोधी नारा सुनिए पनि व्यवहारमा भ्रष्टहरूबाटै कसरी नियुक्ति, उम्मेद्वारी बिक्री, बाह्य शक्तिबाट सहयोगका रूपमा बटुल्ने र जनतालाई भुलभुलैयामा राखी सत्तामोहमा डुबुल्की मार्ने प्रपञ्च घनीभूत छ ।
प्रदेश र स्थानीय तहमा अधिकार पुगेको छ तर हिजोकै मानसिकताको जग बसाल्नुभन्दा खलबलाउने काम गर्ने आशंका बढेको छ । आमूल परिवर्तनबाट आएको व्यवस्था नभएकाले हिजोकै परिवेशको मानसिकता केवल बदलिएको स्वाङले मात्र जनता र देशप्रति इमानदार बन्न पर्याप्त कारण बन्न सक्तैन । भ्रष्टाचार झनै संस्थागत, काबुभन्दा बाहिर पुग्ने अवस्था छ । राजनीतिक दल चनाखो रही इमानदारितापूर्वक भ्रष्टाचार विरोधी अभियान नचलाउने हो भने खर्चिलो निर्वाचनका लागि सार्वजनिक ओहदाको दुरुपयोग नियम बन्न जान्छ, अपवाद होइन ।
अन्तमा, जुन विषय गैर–कानुनी हो, अनैतिक हो, नारामा विरोध गर्ने, व्यवहारमा चुर्लुम्म डुब्ने हालको राजनीतिक, प्रशासनिक परिवेशलाई जरैबाट उखेली निर्मूल गर्न नसके भ्रष्टाचार सदाचारकै रूपमा स्थापित हुने संभावना देखिन्छ । हिजोकाको विरोध गर्ने, आज आफूले गरेको अनियमितता अनेक वाहनामा पुष्टि गर्न खोज्ने प्रवृत्तिले भविष्य अन्यौलग्रस्त बनाएको छ । बदलिँदो परिस्थितिअनुसार गाउँ तहसम्म विकास निर्माण र आंशिक न्यायिक हकसमेत निक्षेपण भएको अवस्थामा भ्रष्टाचार जस्तो असामाजिक प्रवृत्तिलाई हटाउन नसके जनताको आर्थिक, सांस्कृतिक मूल्य र मान्यता घराशायी बन्ने पक्का छ । अशान्ति, वैमनस्यता र विग्रहले समुदायमा जरा गाड्नेछ । अन्ततः देशभित्र जनताको मनोबल कमजोर हुन गई शक्तिराष्ट्रहरू र विस्तारवादी नीति लिएका छिमेकीहरूका लागि कवाज खेल्ने मैदान बन्न जानेछ । भ्रष्टाचार जस्तो सामाजिक विकृतिमा रमाएका सानो समूहलाई परास्त गर्नु राष्ट्रको हितमा हुनेछ ।
(लेखक पूर्व गभर्नर तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।)
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २९ गते बिहान ९ : २० मा प्रकाशित

‘नेपालीको भाषामोह लोभलाग्दो छ’

‘नेपालीको भाषामोह लोभलाग्दो छ’
सुनिता साखकर्मी
भारतीय प्रगतिशील लेखक संघ सुरु भएको तेह्र वर्षपछि विसं २००९ मा नेपालमा पनि प्रगतिशील लेखक संघको स्थापना भयो । यी दुई संस्थाको काम कारबाही उस्तै प्रकृतिको भए पनि अहिलेसम्म दुईबीच संवाद हुन सकेको थिएन ।
भारतीय प्रगतिशील लेखक संघ, राजस्थानका महासचिव ईशमधु तलवार नेतृत्वको चार सदस्यको टोली नेपाल आएको अवसरमा हालै राजधानीमा नेपालको संघले ‘प्रलेस परिसंवाद’ गर्‍यो । परिसंवादमा दुवै संघबीच सहकार्यबारे मौखिक सहमति भए ।
गतवर्ष संघले गरेको समानान्तर फेस्टिभलमा नेपालका अभय श्रेष्ठ लगायतका लेखककविले भारतमा आफ्ना रचना सुनाउने अवसर पाएका थिए । नेपालको कविता सुन्दा राम्रो लागेको ईशमधुले थपे । ‘योभन्दा अघि नेपालका कविता, साहित्य सुन्ने, पढ्ने अवसर पाएका थिएनौँ,’ उनले भने, ‘नेपालमा यति उत्कृष्ट कविताहरू लेखिन्छन् भन्ने अन्दाज लगाएको थिइनँ । हामी नेपालको साहित्य अझ धेरै पढ्न चाहन्छौँ ।’
भारतमा आयोजना हुने फेस्टिभलहरूमा नेपालको सहभागिता बढाउनेदेखि अनुवादका कामहरूसमेत गर्ने उनले दाबी गरे । भने, ‘हिन्दी भाषाका कविताहरू अन्य विदेशी भाषा र मातृभाषामा थुप्रै अनुवाद हुने गरेका छन् । तर अन्य मातृभाषाबाट हिन्दीमा अनुवाद कम भइरहेको छ । अनुवादको स्थिति राम्रो छैन ।’
सोमबार काठमाडौं आइपुगेका ईशमधुले सोमबारै बेलुकी आफ्नो फेसबुकमा नेपालका सवारीसाधनका फोटाहरू पोस्ट गर्दै लेखेका थिए, ‘यो देखेर खुसी लाग्यो, नेपालको सवारीसाधनको नम्बरप्लेट अंग्रेजीमा छैन । शब्द र अंकहरू देवनागरीमा छन् । अंकचाहिँ हिन्दीसँग मिल्दा रहेछन् । यसबाट हामीले केही सिक्नुपर्छ ।’ भारतमा सरकारी कामकाजको भाषा अंग्रेजी छ । ‘जुन भाषाले हामीलाई गुलाम बनायो, त्यही भाषा अनिवार्य गरिएकोमा दु:ख लाग्छ,’ उनले भने, ‘आए पनि नआए पनि अंग्रेजी बोल्नुपर्ने, लेख्नुपर्ने बाध्यता छ । तर नेपालमा त्यो रहेनछ । नेपालको आफ्नो भाषाप्रतिको माया देख्दा मोहित भएँ । आफ्नो भाषालाई प्राथमिकता दिएर आफ्नो भाषाको सम्मान गरेको देख्दा एकदमै खुसी छु ।’
उनले भारतमा पूर्णत: साहित्यमै लागेर जीविकोपार्जन हुन सक्ने अवस्था बनिनसकेको बताए । उनी स्वयं पनि कथा, गद्य र व्यंग्य लगायत विधामा कलम चलाउँछन् । उनले पनि जीविकोपार्जनको लागि पत्रकारिता पेसा अंगालेका छन् ।
कार्यक्रममा नेपालको प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीले नेपाली कृतिहरू भारतमा पुर्‍याउने सहज वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।
प्रकाशित : कान्तिपुर, जेष्ठ ४, २०७५ ०८:१०

गल्लैलाउरे

गल्लैलाउरेकोसेली
दोस्रो महायुद्धताका गल्लावालहरू नेपाली गाउँघरमा पसेर युवालाई भर्ती गरेर लैजाने चलन थियो । गल्ला तथा गाउँले जवानको बिदाइ समयमा रातभर नाचगानका कार्यक्रम गर्ने चलन त्यसबेला थियो । प्रेम–वियोगको यो क्षणमा गल्लैलाउरे लोकगीत जन्मेको हो भन्ने विश्वास छ ।
फाल्गुन २५, २०७५तुलसी प्रवास
काठमाडौँ — गल्लैलाउरे’ नेपाली लोकगीतको बाह्रमासे गीतअन्तर्गत पर्ने एउटा महत्त्वपूर्ण प्रकार हो  । ‘गल्ला’ र ‘लाउरे’ शब्दको मेलबाट ‘गल्लालाउरे’ शब्द बनेको हो भने यही ‘गल्लालाउरे’ शब्द उच्चारण क्रममा अपभ्रंश हुँदै ‘गल्लैलाउरे’ हुन पुगेको गीत–गायनका विज्ञको दाबी छ  ।
गण्डकी प्रदेशको पर्वत जिल्ला र स्याङ्जा जिल्लाको पश्चिमी भूभागमा बसोबास गर्ने ब्राह्मण, क्षत्री, मगर तथा गुरुङ समुदायका महिला–पुरुषले अलिक ढिलो लयमा यो गीत गाउने गर्छन् । खेली गीतको एउटा प्रकार समेत हो— गल्लैलाहुरे । यो गीतलाई ठाउँअनुसार गल्लालाउरे, गल्लैलाउरे, गल्लैलागुरे, गल्लालागुरे आदि नामले सम्बोधन गर्ने गरिन्छ । यस्ता लोकगीतमा जानीनजानी लय, छन्द, विम्ब, अलङ्कारका काव्यात्मक गुण भित्रिएका हुन्छन् । संरचनागत कुरा गर्दा गल्लैलाउरे पंक्तिको अक्षर–संरचना प्रायः ६–७ को रहेको पाइन्छ । तर पनि गाउने क्रममा कहिलेकाहीँ अक्षरसंख्या तलमाथि हुन सक्छ । गल्लैलाउरे मूलतः भाकाप्रधान हुने भएकाले भाका मिल्यो भने अनुप्रास पनि यस्ता गीतमा अत्यावश्यक मानिँदैन । अक्षरको एकरूपता पनि यसमा बाध्य छैन । अधिकांश गल्लैलाउरे गीतको संरचना यस्तो हुन सक्छ :
जस्तै: आउँ दै र नु हो ला
लाउँ दै रहुँ ला पि र ति
यसरी हेर्दा गल्लैलाउरे गीतमा पहिलो पंक्तिमा छ अक्षर र दोस्रोमा सातको संरचना रहेको भेटिन्छ । गीत गाउँदा प्रत्येक अक्षरलाई ढिलो लयमा एक–एक गरी उच्चारण गरिन्छ । यो मानव हृदयको स्वस्फूर्त अभिव्यक्ति हो । गाउँदै जाँदा मानिसलाई जसरी सहज हुन्छ, त्यसरी नै यसलाई गाउने गरिन्छ । गल्लैलाउरेको लयमा पनि एकरूपता छैन । ठाउँअनुसार फरक तरिका र लयमा यो गीत गाइन्छ । हरेक लोकगीतमा कुनै न कुनै कथ्य विषय हुन्छ नै । गल्लैलाउरेमा पनि कथ्य विषय समेटिएको हुन्छ । विशेषतः प्रेम र वियोगका विषयवस्तु यसमा भेटिन्छ । विभिन्न धार्मिक उत्सवमा सुरुमा आरती, भजन प्रस्तुत गरिन्छ, त्यसपछि खेली–दोहोरी गाइन्छ । र, रात छिप्पिँदै गएपछि केही सीमित महिला–पुरुष बसेर गल्लैलाउरे गाइन्छ । शृंगार र करुण रसको प्रधानता गल्लैलाउरे गीतमा पाउन सकिन्छ । नेपाली ग्रामीण समाजका नारीले भोग्नुपरेको बाध्यात्मक परिस्थितिको विषय यस्ता गीतमा समेटिएका हुन्छन् ।
गल्लैलाउरे गीत एकप्रकारको भाषिक अभिव्यक्ति हो, यसमा लयात्मक भाषा हुन्छ । स्थानीयता झल्किएको यो गीत ग्रामीण अपठितले बढी गाउने हुनाले यसमा स्थानीय भाषिकाअनुसार शब्दोच्चारण भेटिन्छ । मौखिक अभिव्यक्ति भएकोले अनौपचारिक भाषा यसमा प्रयोग हुन्छ । गीतमा प्रयोग हुने शब्दहरू स्थानीय भाषिका, आगन्तुक र झर्रा नेपाली रहेका हुन्छन् । यस्तै भाषाले गर्दा यी गीतलाई प्राकृतिक एवम् जीवन्त तुल्याएका हुन्छन् ।
शैली भन्नाले गायन वा कथनको तरिका हो । यसको शैली सरल हुन्छ । यस्ता गीत अन्तरामुक्त शैलीमा गाइन्छ । सरलता, सहजता र कोमलता गल्लैलाउरे गीतका शैलीगत विशेषता हुन् । एकल वा सामूहिक दुवै रूपमा गाउन सकिने यी गीतमा प्रशस्तै विम्ब–प्रतीक हुन्छ । ‘आ...हा...’, ‘ए बाउ...’, ‘ए दाइ...’ आदि थेगोबाट गीत उठेको हुन्छ । यस्ता थेगोले गल्लैलाउरे गीतमा मीठास थपिदिएका हुन्छन् । थेगोलाई अत्यावश्यक मानिदैन । र, लौ, खै, त, नि जस्ता निपात गल्लैलाउरे गीतमा प्रशस्तै प्रयोग गरिन्छ । यस्ता गीतमा आलङ्कारिक, वर्णनात्मक, विवरणात्मक, संवादात्मक, वादविवादात्मक, मनोवादात्मक शैलीमध्ये कुनै एक वा अनेक शैली अपनाइएको हुन्छ ।
लोकगीतमा पटकपटक दोहोरिने पंक्ति वा पंक्ति समुह स्थायी हो । स्थायीलाई लोकसमाजले रिटक वा रहनी पनि भन्ने गर्छ । यही रिटक वा रहनीलाई गीतको बोल, गीतको बथन वा गीतको टुवा पनि भनिन्छ । गल्लैलाउरे गीतमा स्थायी दुई वा तीन पटक दोहोरिन्छ । एउटै स्थायीलाई २ देखि ३–४ पटकसम्म पनि दोहोर्‍याइन्छ । लोकगीत सन्दर्भमा लय र भाका भनेको एउटैजस्तो बुझिए पनि लय भनेको लोकछन्द हो भने भाका भनेको स्वरको आरोहअवरोह हो । गल्लैलाउरेको लयमा एकरूपता छैन । ठाउँअनुसार, फरक तरिकाले फरक लयमा गल्लैलाउरे गीत गाइन्छ । जस्तै ः
ए दाइ...
भे टै न हु न लाई
हरेक लोकगीतका आफ्ना निजी सन्दर्भ हुन्छन् । गीतका अन्य तत्त्वले पुष्ट भए पनि सन्दर्भले पुष्ट नभएको गेय अभिव्यक्ति अपेक्षित लोकगीत हुन सक्दैन । हरेक लोकगीतको आफ्नो एउटा इतिहास हुन्छ । इतिहासको कुनै घटनासँग लोकगीतको कतै न कतै सम्बन्ध जोडिएको पनि हुन सक्छ, त्यसलाई पनि ऐतिहासिक सन्दर्भ मान्न सकिन्छ । गल्लैलाउरे गीत पनि विश्वइतिहासको त्यस मार्मिक घटनासँग सम्बन्धित छ जसले सारा विश्वलाई प्रभावित पारेको थियो । यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समयदेखि भएको अनुमान गर्न सकिन्छ ।
दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवालाई भर्ती गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतीहरू छिट्टै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तीमा लैजाने लोभले पनि उनीहरू गल्लावालसँग नजिकिन चाहन्थे । त्यसरी अन्जानमै ती गल्लालाई प्रेम गर्न पुग्छन् । गल्ला तथा गाउँले जवानको बिदाइ समयमा रातभर नाचगानका कार्यक्रम गर्ने चलन त्यसबेला थियो । प्रेम–वियोगको यो क्षणमा गल्लैलाउरे लोकगीत जन्मेको हो भन्ने विश्वास छ ।
नेपाली लोकजीवन गरिबी र अनेक समस्याबाट गुज्रिरहेको छ। सधैँभरि अर्काको घरमा निमेक गरेर जीवन चलाउनेहरू ग्रामीण क्षेत्रमा अहिले पनि छन्। यस गीतको नामकरण नै अर्काको मुलुकमा लाउरे हुन जाने र लाउरे बनाउन गाउँपसेका गल्लावालसँग सम्बन्धित भएकाले बिरानो मुलुकमा नोकरी गर्न जाँदाको पीडा यसको मुख्य विषयवस्तु बनेर आएको हुन्छ । गीत गाउँदा–गाउँदै रुने, आँसु झार्नेजस्ता क्रियाकलाप पनि उनीहरूमा स्वतः देखापर्छ । त्यसैगरी अर्काको घरमा गोठालो बस्ने, साहुको काम गर्नेजस्ता कुरा गल्लैलाउरे लोकगीतमा व्यक्त भएका हुन्छन्। यो गीत अत्यन्तै विरहलाग्दोसमेत हुने भएकाले गायकगायिका गीत गाउँदा–गाउँदै रुने र अन्य दर्शक/श्रोतालाई समेत रुवाउने गर्छन् ।
ए दाइ.....
भे टै न हु न लाई
ला ग्यो पा पी ब रि खा ।।
नेपाली ग्रामीण जनजीवन कृषिमा आश्रित छ । मेलापात, घाँस, दाउरा आदि उनीहरूका दिनचर्या हुन् । वर्षायामलाई मानो खाएर मुरी उब्जाउने समयको रूपमा किसानहरूले लिएका हुन्छन् । यस्तो समय मायाप्रेम गरेर बस्ने समय होइन । काममा दिनरात व्यस्त रहँदा अब भेटघाट हुँदैन भन्ने चिन्ता माथिको गीतमा अभिव्यक्त भएको छ । वर्षायाममा भेटघाट हुन गाह्रो हुने अवस्थाको चित्र पनि यो गीतमा पाइन्छ ।
ए बाउ....
वन् को न्याउ ली प नि
सो झो छै न म सि त ।।
न्याउली चरीलाई विरह प्रतीकको रूपमा लिने नेपाली लोकविश्वास छ । न्याउली कराउँदा प्रेममा वियोग खेपेका कतिपय मानिसहरू शोकमा डुब्ने गर्छन् । अन्य सामाजिक चालचलन, ऐँचोपैँचो आदिजस्ता सामाजिक व्यवहारले गल्लैलाउरे गीतलाई बढी भावनात्मक र जीवन्त तुल्याएका हुन्छन् ।
गल्लैलाउरे लोकगीतमा पर्वत, स्याङ्जातिर बोलिने स्थानीय भाषिकाको प्रयोग पाइन्छ। गाउँघरमा बोलिने बोलचालको भाषाले गीतलाई प्राकृतिक र जीवन्त तुल्याएको हुन्छ। जस्तै ः
बोल न मयालो
तिम्रै बोली सुन्नर ।।
डाइको गलबन्डीमा
झुन्निएर मोरुँला ।।
हात काटेर रउतै
मन फाटेर बिरउतै ।।
गल्लैलाउरे गीतमा नायकनायिकाको मिलनको आशालाई जगाउने प्रवृक्ति विद्यमान हुन्छ । यस्ता गीतमा नायक–नायिकाका बीच वैयत्तिक, सामाजिक, आर्थिक वा अन्य कुनै बाधा बन्देजका कारण प्रेम सम्बन्ध कायम हुन नसकेको झल्को मिल्छ । यसमा विप्रलम्भ शृंगारको भाव अभिव्यक्त भएको पाउन सकिन्छ । विप्रलम्भ शृङ्गारमा रति (प्रेम) भने पूरा छ तर आफ्नो प्रिय वा प्रियाको लाभ भने भएको हुँदैन । यो पूर्वराग, मान, प्रवास र करुण गरी चार प्रकारको हुन्छ । यसमा रति स्थायीभाव रहेको हुन्छ । आलम्बन विभावको रूपमा नायक–नायिका, उद्दीपन विभावको रूपमा पूर्वस्मृति, स्मृति चिह्न, प्रकृति, एकान्त स्थल आदि रहेको हुन्छ । त्यसका साथै अनुभावको रूपमा छट्पटाउनु, पिरोलिनु, आँसु झार्नु, टोलाउनु, विह्वल हुनु आदि रहेका हुन्छन् भने व्यभिचारीभावका रूपमा धैर्य, स्मृति, विषाद, ग्लानि, चिन्ता, वितर्क, चपलता आदि आएका हुन्छन् । गल्लैलाउरे गीतमा घटीत विप्रलम्भ शृंगार रसलाई यसप्रकार उल्लेख गरिएको छ ः
ए दाइ...मरेँ असेटैले
मरिँदैन भन्थ्यौ नि ।।
यो गल्लैलाउरे गीतमा नायक (दाइ) ले नायिकालाई छोडेर कतै टाढा वा विदेश गएको प्रसङ्गको वर्णन भएको छ । प्रेमिकाले गीत गाउने सिलसिलामा आफ्नो प्रेमीलाई दाइ भनेर सम्बोधन गरे पनि उनीहरू दाजुबहिनीचाहिँ होइनन् । गल्लैलाउरे गीत गाउँदा गायिकाले ‘ए दाइ...’ र गायकले ‘बैनी हो...’ भन्ने थेगो प्रयोग गर्ने गर्छन् ।
सम्झी...रुन्छु दसै धारा
अचेल काँ छौ पियारा ।
यो गीतमा नायक (प्रेमी) लाई सम्झेर नायिका (प्रेमिका) दसै धारा रोएको प्रसङ्ग छ । कुनै बाध्यताले नायक र नायिकाको विछोड भएको छ । नायक सम्झनाले गर्दा नायिका विह्वल बनेकी छन् ।
गल्लैलाउरे लोकगीत नेपाली लोकगीतको अत्यन्तै महत्त्वपूर्ण उपविधा हो । पर्वतको पैयुँखोला क्षेत्र र स्याङ्जाको पश्चिमी भेगमा यस्ता गीत गाउने प्रचलन रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने विशेषगरी बाह्मण, क्षत्री र मगर जातिका मानिसले यो गीत गाउने गर्छन् । यस गीतलाई गल्लालाउरे, गल्लैलागुरे आदि नामले समेत सम्बोधन गरिएको पाइन्छ । शब्द र अर्थको चातुर्यपूर्ण प्रस्तुतिले यी गीत नेपाली समाजका सदावहार गीत बनेर गुन्जिरहेका छन् । लाहुरे संस्कृतिले जन्माएको एउटा पीडादायी लोकगीत गल्लैलाउरे हो ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २५, २०७५ १२:१२

नारीका कुची, नारीका कुरा

नारीका कुची, नारीका कुरा
कान्तिपुर संवाददाता
दिनहुँ बढ्दै गइरहेको हिंसात्मक घटनाको त्रासले चित्रकलालाई पनि प्रभाव पारेको छ । अनिसा महर्जनको चित्रमार्फत अहिलेको अवस्थामाथि व्यंग्य कसेकी छन् । पाटनस्थित क्लासिक ग्यालरीमा जारी प्रदर्शनीमा उनको ‘प्रोटेक्सन’ शीर्षकको चित्र सजिएको छ, जहाँ एउटी बालिका पछाडि हतियार लिएर हिँडदै छन् ।
ग्यालरीमा अनिसासहित पाँच महिला चित्रकारका सिर्जना छन् । ‘सदन’ शीर्षकको प्रदर्शनीमा उनीहरूले आआफ्ना अनुभूति क्यानभासमा साटेका छन् । अनिसाले हिंसात्मक बन्दै गएको समाजमा छोरीहरू कसरी सुरक्षित हुने ? भन्ने त्रासपूर्ण मनोदशा क्यानभासमा उतारेकी छन् । उनका क्यानभासमा दु:खी कुमारीदेखि संस्कृतिको बहानामा बाँधिएका महिला चरित्रसम्म छन् ।
चित्रकार सरिता डंगोलका सिर्जना पुरानै सिरिजअन्तर्गत छन् । पछिल्लो समय काइँयोको विम्बमार्फत उनले महिला र पुरुषको सम्बन्ध देखाउँदै आएकी छन् । यस पटक पनि उनले त्यसै गरेकी छन् । प्रेम, विछोड, निराशा, खुसी, मनमुटावजस्ता अनेक मनोदशाबाट गुज्रिएका जोडीको मनोभाव उनका चित्रमा देख्न पाइन्छ । सबै चित्रमा सम्बन्धलाई जोड्न भने उनले काइँयोकै प्रयोग गरेकी छन् । अनामिका गौतमले नारी सशक्तीकरणको भाव रंगमा पोख्ने जर्मको गरेकी छन् ।
‘एड्जस्टमेन्ट टिल व्हेन ?’ थिममा सिर्जित उनका चित्रले पीडितले शासकीयको मनोमानी कहिलेसम्म सहने भन्ने भाव बोकेका छन् । नेपाली पेपरलाई क्यानभासमा सिधै टेक्स्चर गरेर अनामिकाले प्रस्तुति माध्यममा नौलो काम स्वाद दिएकी छन् । अर्की चित्रकार दीपमाला महर्जनले सेतो, रातो, पहेँलो, हरियो र नीलो रंगमा न्युड फिमेल फिगर उतारेकी छन् । एउटै न्युड शरीरमा फरकफरक रंगका माध्यमबाट भिन्नाभिन्नै मनोविज्ञान सिर्जिएकी छन् उनले ।
नम्रता सिंहको चित्रमा चाहिँ प्रेम र सद्भावको भाव झल्किन्छ । तराई परिवेशका महिला आकृति एवं बुट्टा उतारेकी उनले चम्किलो रंग प्रयोग गरेकी छन् । तर, महिलाको आँखामा देखिने निराशा, वेदना र मौनताले थुप्रै गुनासा पोखेजस्तै महसुस हुन्छ ।
‘साइलेन्ट लभ’ शीर्षकको चित्रमा उनले प्रेममा महिलाको स्थानमाथि व्यंग्य कसेकी छन् । मिथिला समाजमा महिला प्रकृतिप्रेमी हुन्छन् र उनीहरू मौन भई प्रेम गर्छन् भन्ने भाव चित्रले खुलाउँछ । हाँसको चुचोमा कमलको फूल हेर्दै घुम्टोभित्र लजाएकी महिला आकृतिले मैथिली नारी मनोविज्ञानको संकेत गर्छ ।
प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रकाशित : आश्विन १०, २०७५ १२:११

थुलुङ भाषाको व्याकरण

थुलुङ भाषाको व्याकरण सार्वजनिक

मंसिर २९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — पाँचवीर थुलुङ राई लिखित ‘नाम्स्योर थुलुङ बोक्छेम’ (सजिलो थुलुङ व्याकरण) पुस्तक सार्वजनिक गरिएको छ ।
थुलुङ राई संस्कृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । ७८ वर्षीय लेखक पाँचवीर अवकाशप्राप्त शिक्षक हुन् । उनको अगुवाईमा ‘थुलुङ भाषाको शब्दकोश’ र कक्षा १ देखि ५ सम्म अनौपचारिक शिक्षाको पाठ्यपुस्तक प्रकाशित छन् ।
चालू शैक्षिक सत्रबाट थुलुङ राई बाहुल्य क्षेत्रका २२ विद्यालयमा थुलुङ भाषाको औपचारिक पठनपाठन सञ्चालनमा छ । सार्वजनिक गरिएको व्याकरण पुस्तक थुलुङ र नेपाली भाषामा अनुवादसमेत रहेको छ । प्रमुख अतिथि रहेका अध्यक्ष राईले गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । पुस्तकबारे किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जयकुमार राई, डा. सुकराज राई, थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईलगायतले चर्चा गरेका थिए । प्रकाशित : मंसिर २९, २०७५ १५:३८

Tuesday, June 11, 2019

के लेख्दै छ जाजरकोट ?

के लेख्दै छ जाजरकोट?
फाल्गुन ८, २०७५कान्तिपुर संवाददाता
खलंगा — झाडापखालाले बेलाबेला चर्चामा आइरहन्छ, कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोट यहाँका कवि, लेखकहरू चाहिँ के लेखिरहेका छन्? जिल्लामा दोस्रो पटक आयोजित राष्ट्रियस्तरको सिर्जना उत्सवमा राजधानीबाट आएका स्रष्टाहरूले नजिकबाट महसुस गरे।आआफ्ना सिर्जना सुने, सुनाए मुलुक संघीयतामा गइसकेको भए पनि स्थानीय रूपमा अवसरहरू निर्माण भइसकेका छैनन् युवाहरू परदेसिनुको पीडा, दाइजो प्रथादेखि दुर्गम क्षेत्रको समस्या र द्वन्द्वकालीन चोट अझै निको हुन सकेको छैन स्थानीय स्रष्टाहरूले कविता गजलमा यसरी जाजरकोटको व्यथा ुनाइरहेका बेला राजधानीबाट आइपुगेका स्रष्टाहरूले भने आशा, उत्साह र सकारात्मक चेतनाको ढाडस दिए
सद्भाव र सिर्जना’ थिममा समृद्धि र प्रेमको साइनो गाँसे रचनामार्फत।जिल्ला समन्वय समिति जाजरकोट नेपाली कला साहित्य डट कम प्रतिष्ठानले गरेको ‘जाजरकोट सिर्जना उत्सव’ को माहोल जिल्लामा अहिलेसम्मकै उल्लासपूर्ण र भव्य थियो ‘मेरो देश मेरो ध्येय’ शीर्षकको काव्य मेलामा सहभागी हुँदै गर्दा प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले भने, ‘जिससको यो हलमा अहिलेसम्मकै ठूलो सभा देखें।’ हुन पनि जाजरकोटको साहित्यिक इतिहास त्यति लामो छैन विसं २०२६ मा पहिलो पटक गीति पुस्तक ‘राष्ट्रिय संगीत सुधा’ निकालेका थिए योगेश्वर कार्कीले त्यसको एक दशकपछि कथाकार अमर शाह, कवि राजेश्वर कार्की, दिलीप शाहहरूको समूहले हस्तलिखित साहित्यिक पत्रिका सुरु गरे ‘प्रजातन्त्र पुनस्र्थापनापछि स्थानीय रूपमा छिटफुट कवि, लेखक त देखा परे, तर राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम या अभियान हुन सकेन’, राजधानी बस्दै आएका राजेश्वरले भने, ‘दुई वर्षअघि कला साहित्य डट कम प्रतिष्ठानकै पहलमा सिर्जना उत्सव भएपछि भने माहोल तातिएको छ।’
यस पटक दोस्रो सिर्जना उत्सव गरिएको हो उत्सवका लागि पोखरादेखि आइपुगेका थिए कवि तथा आख्यानकार सरुभक्त काठमाडौंबाट अशेष मल्ल, विमल कोइराला, जंगव चौहान, युवराज नयाँघरे, हरिप्रसाद मानसाग्नि, मोमिला जोशी, सुलोचना मानन्धर, अमर शाह, मणि लोहनी, ठाकुर बेलबासे, शकुन्तला जोशी, अश्विनी कोइरालालगायत जाजरकोटमा दुई दिन बिताएर आइतबार फर्केका स्रष्टाहरूको यो टोलीले ऐतिहासिक जाजरकोट दरबार, मालिका मन्दिर, भेरी नदीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको आग्रहमा ब्रिटिसहरूले बनाइदिएको झोलुंगे पुल लगायतको थलोहरूको भ्रमण पनि गरे
सिर्जना उत्सवमा भने स्थानीय स्रष्टाहरू हरि सन्दर्भ, चन्द्रबहादुर बुढा, पूर्ण समीर महतारा, धीरेन अनुपम, पृथ्वीबहादुर सिंह, नेहा केसी, अमिन सिंह, लालकुमार शर्मा, निरोज विश्वकर्मा, जनक संवेदक, अच्यूतप्रसाद शर्मा, लालबहादुर महातारा, सुनीता शर्मा, टुकुमाया घर्ती, पूजा बोहरा लगायतले कविता, गीत र गजल सुनाए

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...