Thursday, June 13, 2019

पुरातत्व : सम्पदा र संस्कृति

पुरातत्व : सम्पदा र संस्कृति
शनिबार, ०२ चैत २०७५, १२ : २५ |  गोविन्द न्यौपाने
प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्। तर, लेखन कलाको सुरुवात हुनुभन्दा हजाराैं वर्ष पुरानो मानव सभ्यताको इतिहासलाई वैज्ञानिक अध्ययन गर्नको लागि पुरातात्विक प्रमाणको नै महत्वपूर्ण भूमिका हुन्छ।
प्रागःमानवको संस्कृति, जीवनपद्धति, आस्था, विश्वास, सामाजिक विकासक्रमको प्रक्रिया र यसको ढाँचा, तत्कालीन वातावरण र पर्यावरणमा आएको परिवर्तन र त्यस परिवर्तनले मानवको शारीरिक तथा मानसिक विकासक्रममा पारेको प्रभाव आदि विषयहरूको प्रमाणिक अध्ययन गर्ने आधार पुरातत्व हो। मुलतः प्रागःइतिहासको अध्ययनको महत्वपूर्ण आधार प्रागःमानवले प्रयोग गरेका ढुंगे उपकरण र औजार नै हुन्। पुरातत्व अतित सभ्यताको पुनःनिर्माण गर्ने आधार हो।
प्राप्त सीमित पाषाण हतियारको आधारमा प्राचीन मानव सभ्यताको विश्लेषण गर्नु साधारण अन्दाजमा दुस्साहस र हास्यास्पद हुन सक्छ। तर, योबाहेक अरु कुनै विकल्प पनि छैन भन्ने प्राज्ञिक सीमिततालाई स्वीकार गर्नुपर्छ। त्यसैले भनिन्छ, कि इतिहासशास्त्रले इतिहासको एक प्रतिशत मात्र अध्ययन गर्छ भने पुरातत्व विज्ञानले इतिहासको उनान्सय प्रतिशतको अध्ययन गर्छ। यद्यपि पुरातत्व विषय आफैमा पूर्ण विषय र विधा होइन। यसले मानविकी र विज्ञानका अन्य विविध विषयको सहयोगमा आफूलाई पूर्णता प्रदान गर्ने भएकाले यसलाई विज्ञान केन्द्रित मानविकी वा कला विषयको रूपमा व्याख्या र विश्लेषण गर्ने गरिएको पाइन्छ। जमिनमुनि दबिएर रहेका पुराना दरवार, मन्दिर, घर, पर्खाल वा अरु मानव निर्मित भौतिक संरचनाको वैज्ञानिक विधिले अन्वेषण र उत्खनन् गरी प्राचीन सभ्यताको विश्लेषण गर्नु निश्चय नै अत्यन्त कठिन हो।
प्रागः मानवले छाडेर गएका अन्य भौतिक वस्तुको अवशेषको आधारमा प्राचीन सभ्यताको विश्लेषण गर्ने पद्दति र विधि छन्। प्राचीनकालको कुनै एउटा सिक्काको आधारमा त्यस समयको सामाजिक, आर्थिक र धार्मिक इतिहासको गहन अध्ययन गर्न सकिन्छ। कुनै एउटा मूर्ति वा प्रतिमाको विश्लेषण गरेर तत्कालीन सभ्यताका विविध विषयको जानकारी हासिल गर्न सकिन्छ। भूगोलको आफ्नै भौगोलिको प्रक्रिया अनुसार जमिनमुनि भौगोलिक स्तर बनेका हुन्छन्।
मानव सभ्यताको विकास चरणमा त्यहाँ विभिन्न समूहका मानिसको आवतजावत भई नै रहन्छ। कुनै एक समूहको मानिस बसाइँ सरेर गएपछि सोही स्थानमा अर्को समूह आएर बसोवास गर्न सक्छन् र ती अनेक चरणका निवासीहरूले त्यहाँ आफूलाई काम नलाग्ने वस्तु छाडेर जान्छन्। अन्ततः ती छाडिएका वस्तु प्राकृतिक वा अन्य मानवीय कारणले जमिनमुनि पुरिन गई एक साँस्कृतिक स्तर बन्न जान्छ, यो प्रक्रिया चलि नै रहँदा जमिनमुनि अनेकौं साँस्कृतिक तह बन्न जाने हुन्छन्, जस्को परिणाम जमिनमुनि नै विभिन्न जाति र प्रजातिको एउटा साँस्कृतिक शृंखला तयार भएको हुन्छ। यसरी तयार भएका विभिन्न साँस्कृतिक स्तरलाई कुशल पुरातत्वविद्ले वैज्ञानिक विधिबाट गरिएको उत्खनन्बाट पत्ता लगाउँछन्।
मानव सभ्यताको पाइला परेको तहसम्म अध्ययन गर्नु पुरातत्वको परिधि हो। त्यसअघिको जमिनको प्राकृतिक तहसँग पुरातत्वको कुनै सम्बन्ध र सरोकार रहँदैन। वैज्ञानिक पद्दति र विधिबाट उत्खनन् गरिएका यस्ता साँस्कृतिक शृंखलाको वैज्ञानिक विश्लेषण गरी त्यो सभ्यताको निर्माण कहिले र कसले गरे ? तिनीहरू त्यस ठाउँमा कहिले आए ? ती को थिए र तिनको सभ्यता कसरी पतन भयो भन्ने विषयलाई प्रमाण जुटाएर विश्लेषण गरी निष्कर्षमा पुगिन्छ। प्रागितिहासिक सभ्यताको कुनै लिखित दस्तावेज हुँदैन। तर, तिनले छाडेर गएका भौतिक वस्तु नै इतिहासलेखनका व्याकरण बन्छन्।यिनै पुरातात्विक व्याकरणको सहयोग लिएर पुरातत्वविद्ले प्राचीन सभ्यताको विश्लेषण गर्छ।
पुरातत्व विशुद्ध प्रविधि केन्द्रित प्राज्ञिक विधा हो। उत्खनन् गरिसकेपछि प्राप्त सामग्रीको विस्तृत अभिलेखीकरण, संरक्षण र सम्वद्र्धन गर्ने नैतिक दायित्व समेत उत्खनन्कर्तामा रहन्छ। अझ उत्खनन् गरिसकेपछि प्रतिवेदन प्रकाशन गर्नुपर्ने प्राज्ञिक दायित्व उतखनन्कर्ता वा त्यससँग सम्बन्धित संस्थासँग रहन्छ। उत्खनन् अत्यन्त सम्वेदनशील र जटिल विधा हो। इतिहास संस्कृति र सभ्यतासँग सम्बन्धित यस विधालाई एक अपरेसन थियटरसँग तुलना गर्न सकिन्छ। जसरी अपरेसन थियटरमा डाक्टरले बिरामीको अप्रेसन गर्छन्, त्यसरी नै उत्खनन्को ट्रेन्चभित्र पसेपछि उत्खनन्कर्ताले अत्यन्त सजकतापूर्वक उत्खनन् गर्ने गर्छ। जमिनमुनिको सभ्यता उजागर गर्ने क्रममा सानो एउटा गल्तीले पनि इतिहास र संस्कृतिको शृंखलालाई हजारौँ वर्षको तलमाथि पार्न सक्ने सम्भावना रहन्छ। उत्खनन् एउटा यस्तो अज्ञात दिशाको अन्वेषणात्मक यात्रा हो, जसले प्रमाणहरूको आधारमा प्राचीन सभ्यतालाई दिशा प्रदान गर्छ। तब त पुरातत्वविद्लाई सभ्यताको विश्लेषक भनिएको हो।
उत्खनन्बाट प्राप्त साधारण माटाका भाँडाकुँडाको अध्ययनबाट त्यतिबेलाको साँस्कृतिक शृंखलाको जानकारी हुनुको साथै तत्कालीन समाजभित्र रहेको वर्गीय चेतनाको जानकारी हुन्छ। भाँडाकुँडाको आकार–प्रकार र त्यसमा निहित गुण र सौन्र्दयको आधारमा त्यसका प्रयोगकर्ताको आर्थिक र सामाजिक हैसियतको जानकारी हुने भएकोले समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनको लागि समेत पुरातत्वको गरिमा र महत्व रहन्छ। त्यस्तै, प्राचीन मानवको कुनै अस्थि अवशेषबाट त्यस मानवको जाति र प्रजातिको मानवशास्त्रीय विश्लेषण गर्नको लागि मानवशास्त्रलाई पुरातत्वको अपरिहार्य आवश्यकता पर्न जान्छ।
सिन्धु सभ्यता र मेसोपोटामिया जस्ता विश्वको प्राचीन सभ्यता उत्खनन्बाट नै प्रकाशनमा आएका हुन्। आज वैदिक सभ्यतालाई प्रमाणित गर्ने पुरातात्विक प्रमाण हामीसँग नभएता पनि यसको खोजिका पुरातत्वविद्हरू लागिपरेका छन्। भारतका पुरातत्वविद्ले रामायण र महाभारतकालीन सभ्यताको खोजीमा जुटिरहेका छन्। नेपालमा पुरातत्वको माध्यमबाट लुम्बिनी र कपिलवस्तुबाट वौद्धकालीन सभ्यताको उजागर भइसकेको छ भने उत्तरी हिमाली भूभागमा विशेषगरि हिमाली गुफामा १६ औँ शताब्दी इसापूर्व देखि १६ औँ शताब्दी इश्वी. सम्मका सांस्कृतिक शृंखलाको निरन्तरता रहेको तथ्यलाई पुरातत्वविदले उजागर गरेका छन्।
अतः मानव सभ्यताको प्राचीन इतिहासलाई प्रकाश पार्ने भौतिक अवशेष अतितको र सभ्यताका दर्पण हुन् भन्दा अतिशयोक्ति नहोला। हिन्दू धर्म र दर्शनले प्रतिपादन गरेका सिद्धान्तलाई अनुसरण गर्ने आर्य जातिका अनेकौं शाखा प्रशाखा, वौद्ध धर्म मान्ने जाति, जनजाति र तिनका अनेकौं सांस्कृतिक अभ्यास, र अन्य अनेकौं  प्रकृतिपूजक जाति र जनजाति फले फुलेको साक्षको वैज्ञानिक विश्लेषण पनि पुरातत्वबाट नै साध्य भएको हो।

कलामा प्रयोग

कलामा प्रयोग
युवाले कलामा नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । सिर्जनशील काम गर्नेहरुलाई जीविकोपार्जनको समस्या पनि छैन ।
फाल्गुन ७, २०७५सुनीता साखकर्मी
काठमाडौँ — ठूलो फ्रेमभित्र सानो पौभा चित्र । आकार एक वर्ग सेन्टिमिटर मात्रै । टाढाबाट आँखाले यो पौभा चित्रमा आकृति ठम्याउन सकिँदैन । नजिकै गएर नियाल्दा सुन्दर मण्डला देखिन्छ । चित्रकार उजय बज्राचार्यले कोरेको यो मिनिएचर चित्रमा गरगहनाका बुट्टा मात्रै छैनन्, अक्षर पनि छन् । काठमाडौं उपत्यकामा हिन्दु तथा बौद्ध दर्शनमा आधारित विषयवस्तुलाई नेवार समुदायले कपडामा विभिन्न रङ मिश्रण गरी पौभा चित्र निर्माण गर्छन् । पौभा चित्र बनाउँदा कलाकारले निश्चित नियम पालन गर्नुपर्छ । मनगढन्ते चित्र कोर्न पाउने छुट हुन्न ।
पौभाका पुराना नियमहरू पालना गर्दै यसमा नयाँ गर्न सकिने भन्दै उजयले सानो पौभा बनाउने कोसिस गरे । ‘पौभामा कोरिने बुट्टा निश्चित छन्, त्यसमा कलाकारले यताउति गर्न मिल्दैन,’ उनले भने, ‘साइजमा भने परहेज छैन । नियम पालना गर्दै जत्रो साइजको चित्र बनाए पनि हुन्छ ।’ ‘बज्रबाराही मण्डला’ शीर्षकको त्यो सानो फ्रेममा उनले ज्वालावली (अग्नि), वज्रावली (बज्रका माला), खप्परको माला र त्रिभुजाकारभित्र वज्रबाराहीको ‘वं’ अक्षर कोरेका छन् । सर्कलबाहिर पनि चार कुनामा बज्र बनाएका छन् । सामान्यतया पौभा चित्रको साइज तीन/चार फिट हुन्छ ।
उनले सन् २००८ मा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा २८ वर्गफिटको ‘वल्र्ड लार्जेस्ट’ मण्डला बनाएका थिए । त्यतिखेर ठूलो पौभा चित्रले व्यापक चर्चा दिएको थियो उनलाई । ठूलोपछि केही नयाँ गर्ने सोचअनुसार मिनिएचर बनाएको उनले बताए । इनाजोलका ३७ वर्षीय उजयले पौभा चित्र कोर्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ ।
कला लेखक देवेन्द्र थुम्केलीका अनुसार प्रतिमा लक्षण विधानशास्त्रमा पौभा चित्र बनाउने नियम छ । त्यसमा कुन देवताको स्वरूप कस्तो हुनेदेखि रङहरूबारे समेत उल्लेख गरिएको छ । पौभा दुई हजार वर्ष पुरानो मानिन्छ । तर, १२ औं शताब्दीदेखिका पौभा मात्रै भेटिएको उनी बताउँछन् । तिनै पौभाकलाको विम्ब लिएर ‘कन्टेम्पोररी’ कला बनाउने चलन सुरु भइसकेको छ । हिन्दु तथा बुद्ध धर्मसित जोडेर धार्मिक प्रयोजनका लागि बनाइने हुँदा निश्चित नियम पालना गर्नुपर्ने उनले बताए ।
उजयले नांगा आँखाले मिनिएचर चित्र बनाएका थिए । आँखाको तेजिलोपन र सोचाइमा सूक्ष्मता नभएका चित्रकारले पौभा सिर्जना गर्न सक्दैनन् । नाङ्गा आँखाले लामो समय सूक्ष्म रूपमा काम गर्दा आँखामै खराबी आउन सक्ने खतरा पनि हुन्छ । उजय भन्छन्, ‘ठूलो बनाउनभन्दा सानो बनाउन गाह्रो हुने रहेछ । धेरै बेर नियालेर काम गर्दा आँखा दुख्थ्यो । केही बेर आराम गर्दै बनाउँदा एक साता लाग्यो ।’ सानो मण्डला बनाउँदाको भिन्नता महसुस गर्न यो चुनौती लिएको उनले बताए ।
पछिल्लो समय पौभा चित्रको बजार पनि सन्तोषजनक रहेको उजयले बताए । ‘दुई दशकअघि चित्र बेचेर बाँच्न गाह्रो थियो,’ उनले भने, ‘अहिले राम्रो काम गरे यसैबाट जीविकोपार्जन हुन सक्ने वातावरण बनेको छ ।’ पहिले चित्रका खरिदकर्ता विदेशी मात्रै हुने गर्थे । अहिले नेपालीले पनि किन्न थालेका छन् । ‘पहिले पौभा चित्र किनेर सजाउने सोच थिएन, मिहिनेत धेरै हुने भएकाले चित्रको मूल्य पनि धेरै हुन्थ्यो,’ उनले भने, ‘अहिले नेपाली खरिदकर्ता धेरै आकर्षित छन् ।’
परम्परागत रूपमा पौभा चित्र सजावटभन्दा पनि सांस्कृतिक रूपमा पूजाआजा वा मेडिटेसन, भिजुअलाइजेसनका लागि प्रयोग हुन्छ । नियममा बाँधिएरै पनि ‘इनोभेटिभ’ काम गर्न सकिने चित्रकार रितेश शाही बताउँछन् । ‘देवताको वस्त्र, बज्र, स्थान भिन्नै बनाउन मिल्दैन,’ उनले भने, ‘तर चित्रमा बनाउने कलश, ब्याकग्राउन्ड कलाकारले सिर्जनशील तरिकाले बनाउन सक्छ ।’ उनले हालै पौभालाई तिब्बतियन शैलीसितफ्युजन गर्दै बनाएका छन् । ३० वर्षीय रितेशका अनुसार पछिल्लो समय पौभा चित्रकारहरूको संख्यामा वृद्धि भइरहेको छ । पौभा चित्रको स्तर घट्दै गएको हो कि भन्ने पनि उनलाई लाग्छ । परम्परागतबाट भिन्न गर्दा गालीगलौज सामना गर्नुपर्छ । उनले भने त्यस्तो भोगेका छैनन् । प्रोत्साहन मिलिरहेको छ । उनी भन्छन्, ‘पुरानोलाई बिगार्नु भएन । परम्परागत नभए पनि कलामा निखार ल्याउने ध्येयले गरेको कामलाई समाजले स्विकार्ने रहेछ ।’
चित्रकार रितेशका अनुसार नेपाली पौभा कलाको बजार चीन हो । पौभाको गुणस्तर खस्किन थालेदेखि बजार पनि कम भएको हो कि भन्ने महसुस रितेशलाई हुन्छ । कलाकारले बजार बचाउन चित्रको गुणस्तरमा ख्याल गर्नुपर्ने उनी बताउँछन् ।
अहिले जमाना स्मार्ट भएको छ । कला कोर्ने साधनदेखि विधि र ‘फर्म’ फेरिएका छन् । कलाकार रोशन भण्डारी दुईभन्दा बढी फर्म फ्युजन गर्दै कला बनाउँछन् । कला पढ्दै गर्दा उनले सबै फर्मका पेन्टिङ बनाउने गर्थे । स्नातकोत्तर सकाएपछि उनले दुवैलाई फ्युजन गर्ने सोचे । ‘एब्स्ट्रयाक्ट’ सित ‘फिगरेटिभ कम्पोजिसन’ लाई फ्युजन गर्दै उनी चित्र कोर्छन् । उनको चित्रमा कल्पना र वास्तविकताको फ्युजन भेटिन्छ । ‘स्ट्रोक’, ‘स्प्लासेस’ र ‘कलर कम्बिनेसन’ लाई फोकस गर्दै फिगर मार्फत आइडिया प्रस्तुत गर्ने शैली नयाँ हो । जसरी मानिसमा बाहिरी कुराले प्रभाव पार्छ, त्यस्तै रोशनको चित्रमा देखिने हरेक क्यारेक्टरलाई बाहिरीको रङ, स्प्लासेसले पारिरहेको देखिन्छ ।
उनी भन्छन्, ‘मेरा चित्रमा फिगर पनि ब्याकग्राउन्डका रूपमा प्रयोग हुन सक्छ र कुनै बेला ब्याकग्राउन्ड पनि मुख्य फिगरका रूपमा उतार्न सक्छु ।’ ‘थर्ड प्रोसेस’ बाट पेन्टिङ गर्न गाह्रो भए पनि उनलाई यसमै रस पसिसकेको छ । बदलिँदो समयअनुसार कलाकारले पनि आफ्नो कला समयानुसार परिवर्तन गर्न‘पर्ने उनलाई लाग्छ । ‘व्यावसायिक रूपमा मात्रै पेन्टिङ बनाउनु छ भने जे गरिरहेको हो त्यही गर्दा हुन्छ,’ उनले भने, ‘समयअनुसार आफूलाई परिवर्तन गर्नु कलाकारको दायित्व पनि हो । नयाँ आउने पिंढीलाई नयाँ बाटो र क्षेत्र खुल्न सक्छ । कला जगत्ले नयाँ मोड लिन सक्छ ।’
केही नयाँ गर्ने इच्छा, सोच छ भने चुनौती लिनैपर्ने उनी बताउँछन् । चित्रकार रोशनका अनुसार अन्य मुलुकसित तुलना गर्दा नेपालको कला बजार त्यति ठूलो छैन । तर १०/१५ वर्षयता कलाको बजार राम्रो भएको छ । उनी र उनका साथीहरू कलाबाटै जीविकोपार्जन गरिरहेका छन् । इनोभेटिभ र क्रियटिभ काम गर्ने कलाकारको जीविकोपार्जनमा समस्या नभएको उनले सुनाए ।
प्रकाशित : kantipur, फाल्गुन ७, २०७५ १८:१२

खस क्षेत्री र बाहुन बीच किन कुटुम्बेरी चल्दैन ?

खस क्षेत्री र बाहुन बीच किन कुटुम्बेरी चल्दैन ?

By: Final Truth Final Truth <sachokura2@gmail.com>

आर्य भन्नाले पुरेत्याई गर्ने बाहुन बुझिन्छ र संंस्कृत भाषामा ब्राम्हाण भनिन्छ । बाहुनको परिवारमा विधुवा वा कुमारी आमाबाट जन्मिएको सन्तानलाई जैसी भनिन्छ । त्यस्तै जनजाति, दलित र खस क्षेत्री महिलाबाट जन्मिएकालाई जात खसाई दिएर खत्री क्षेत्री बनाउने प्रचलन भेटिन्छ । खत्री क्षेत्रीका थरहरु बाहुन संग मिल्ने अनगिन्ती रहेका हुन्छन् ।
खस क्षेत्री पश्चिम नेपालका खसान प्रदेशका आदिवासी जाति हुन । यस जातिलाई झर्रो क्षेत्री र खसान इलाकामा पावई खस पनि भन्ने गरिन्छ । यद्यपी खस जाति नेपाल अधिराज्यभर छरिएर रहेका छन् । खस क्षेत्रीका थरहरुः कार्की, कटुवाल, खड्का, बस्नेत, थापा, राउत, रावत, विष्ट, सिंजापति, डाँगी, बुढाथोकी, खाती, कुवँर, बोगटी, धामी, बानिया, रायमाझी, अरिरि, कठायत, खडायत, खाँड, बम, महतारा, महरा, बुढा, सेन, वर्मा, शाही आदि पाइन्छन् । यी उल्लेखित थरीहरु बाहुन हुदैन्न ।
खस र आर्य अर्थात बाहुन र क्षेत्री एकै हुन भन्ने भ्रमहरु हुनसक्छन तर बाहुन र क्षेत्रीबीच कुटुम्बेरी चल्दैन त्यसैबाट प्रष्ट हुन्छ यी दुई जाति ऐतिहासिक कालबाटै, हरेक कोणमा बेग्लाबेग्लै हुन । त्यस्तै खस क्षेत्री र खत्री क्षेत्री बीचको भिन्नतालाई पनि बुझ्न अनिवार्य हुन्छ । ‘क्षेत्री’लाई हिन्दीमा ‘क्षत्री’ लेख्ने गर्दछन् ।
को हुन खस
पश्चिम नेपालको खसान क्षेत्रमा आदिमकाल देखि बसोवास गर्दै आएका प्रकृति पुजक आदिवासी खस हुन । उनीहरु ‘मष्टो’ धर्म मान्दछन । उनीहरुको पुजा गर्ने ठाँउलाई ‘थान’ भन्दछन र उनीहरुको प्राचीन भाषा ‘वाल्हीकी’ हो । उनीहरुको लिपीलाई ‘खरोष्टि’ भनिन्छ । खस राजाको दरबार जुम्लाको सिंजामा थियो । दक्षिण उत्तरप्रदेशको कन्नौजबाट आएका द्धय कान्यकुब्ज र मैथिली बाहुनहरुले खसहरुलाई हिन्दुकृत गरेका हुन । खसहरुले सुंगुर खाने गरेको इतिहास पाइन्छ । खसहरु हिन्दु नभएकोले वर्णाश्रम ब्यवस्था मान्दैन्न । तर, जनै लगाई दिएर हिन्दुकरणमा परेसंगै क्षेत्री पदवी अन्ततः जातको रुपमा स्थापित हुन पुगेको हो । घरज्वाई बस्ने, जेठाँसले अलिबढि अंश पाउने प्रथा, मष्टोलाई वलिदिने देवाली पुजा, गोठपूजा, माघी मनाउने  र टेकुवा वा नाठोको चलन खसका मौलिक संस्कृति हुन ।
खस –क्षेत्री) जाति अहिले पनि नेपालको माथिल्लो निकायमा अत्यन्तै न्यून छन् । खस –क्षेत्री) लाई नेपालका नयाँ जनजाति भन्ने गरिन्छ । बाहुन संग रङ्गरुप धेरै मिल्नाले जनजाति तथा मधेसीहरु आफूलाई शोषण गर्ने बाहुन संगै क्षेत्रीलाई पनि जोडेर गाली गर्नेगर्छन । वास्तवमा बाहुनबाट सबैभन्दा धेरै खस क्षेत्री शोषित छन् । १. आफ्नो स्थापित थरको नाम नै जात खसाईएको नाम ‘खत्री क्षेत्री’ मिसाई दिइ क्षेत्री जाति सबै दोस्रो दर्जाका हुन भन्ने भ्रम छरि जातिय अन्यायमा परयो । २. खस –क्षेत्री) को जनसंख्या लगभग १८ % र आर्य बाहुन) को जनसंख्या १२ % जोडेर राज्यवाट लिने अवसर र सुविधामा ३० % प्रतिशत लिने र त्यसमा सबैजसो बाहुनले मात्र उपभोग गरि खस –क्षेत्री)लाई पूर्ण शोषण गरेका छन् । त्यसै कारण संवैधानिक ब्यवस्थामा पनि ‘खस आर्य’ भनिएकोमा खस क्षेत्रीको असहमति र आपत्ति हो । खस र आर्य प्राचीन सभ्यता देखि नै विल्कुल भिन्नभिन्नै हुन ।
पहिला झनै थोरै जनसख्या रहेका बाहुन र त्यसमा पनि एकाधले मात्र अन्य जातिको विवाह गरि ‘खत्री क्षेत्री’ बनेका कति होलान अनुमान गर्न सकिन्छ । त्यसैले पश्चिम देखि पूर्व सम्म बसोबास गरेको पाइने सबैभन्दा ठूलो जनसंख्या भएका खस क्षेत्रीको सच्चा इतिहास र हैसियत खोज्न ‘खस क्षत्री एकता समाज’ क्रियाशिल भएको देखिन्छ । क्षेत्री समुदाय भित्रै यो चेतना छर्ने अभियानकोक्रममा हाल ५ वटा भन्दा बढि ‘थान’ निर्माण भईरहेको कुरा पनि आएको छ । अन्य जातिहरु शोषित भनी घोषित छन् र सरकारबाट विशेष ब्यवस्था छ । तर, लामो समय देखि हरेक हिसावमा शोषित –धार्मिक, सांस्कृतिक, राजनैतिक, जातिगत र भौगोलिक हेर्नुहोसः कर्णालीको विकास) खस जाति अझै अघोषित छन् त्यसैले अदेख्खा चरम शोषण र अतिक्रमणमा छन् । विडम्बना केही खस युवाहरु आफै यसबारे अनविज्ञ देखिन्छन् । अब खस युवाहरु स्वयं आफू माथिको शोषण विरुद्धमा किन नउठने ?
स्रोतः
१) वराल, इन्द्रबहादुर, खस जातिको मौलिक पहिचान र आर्य सभ्यता, –फेसबुक पोष्ट  facebook.com/thaha.rajesh/posts/1308712192504063 (1 Mar 16),
(२) पश्चिमेसियामा कस अर्थात खस जातिको विवरण चर्चित ज्ञानकोष, पृ ९६८, १५औ संस्करण सन् १९७३ ।
(३) योगी नरहरिनाथ, इतिहास प्रकाश, अंक २, भाग १, –वि.स. २०१३), पृ. १०९ र १४६ ।
(४)सिजापति, विपुल, को हुन खस ?

लोकतान्त्रिक नियन्त्रण

लोकतान्त्रिक नियन्त्रण
फाल्गुन ३०, २०७५सम्पादकीय
काठमाडौँ — संगठन खोल्न र राजनीतिक गतिविधि गर्न सबैलाई संवैधानिक अधिकार छ । बिनाहातहतियार जम्मा हुने र सभा सम्मेलन गर्ने स्वतन्त्रता पनि सबैलाई छ । विध्वंसात्मक गतिविधि गर्न र हत्या, हिंसाको राजनीति गर्न झने कुनै व्यक्ति, समूह वा संगठनलाई छुट हुँदैन । छैन । यो छुट नेत्रवित्रम चन्दलाई पनि छैन ।
चन्द नेतृत्वको माओवादी समूहले चन्दा असुली, आगजनी, बम विस्फोट बढाउन थालेपछि सरकारले प्रशासनिक कारबाहीस्वरूप उनका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
अघिल्लो दशकका एक दशक लामो सशस्त्र द्वन्द्वका घाउ अझै पुरिएका छैनन् । घाइते, अपांगहरू रोईरोई बाँचिरहेका छन् । बेपत्ता पारिएका परिवारका सदस्यहरू आफन्तको अत्तोपत्तो नहुँदा पीडित छन् । मारिएकाहरूका परिवार अझै विगतको त्रासदीले तर्संदै छन् । फेरि माओवादको नाममा अर्को हिंसा नेपाली समाजले धान्न सक्दैन । हिंसाको त्यस्तो दुष्चक्रमा चन्द माओवादी र सरकारले मुलुकलाई लैजान पाउँदैन ।
चन्द समूहले शान्तिपूर्ण राजनीतिक यात्राकै बाटोमा फर्कनुपर्छ । आम नेपालीको शान्तिप्रतिको चाहनाको सम्मान गर्नुपर्छ । ‘जनयुद्ध’ भने पनि वा ‘सहरी विद्रोह’ हतियारबन्द आन्दोलन हो जसले समाजलाई हत्या, हिंसा र आतंकमा पुर्‍याउँछ र देशलाई स्वतन्त्र रूपमा निर्णय गर्न नसक्ने दशामा धकेलिदिन्छ । सशस्त्र द्वन्द्व कसैले सुरु गरे राज्य चुप लागेर बस्न सक्दैन, जनधनको क्षति रोक्ने दायित्व पूरा गर्न उसले प्रतिकार र प्रतिरोध गर्दा अन्ततः देश, समाज र जनता नै प्रताडित हुन पुग्छन् ।
देशमा शान्ति स्थिति कायम गर्ने सिलसिलामा सरकारले विधिसम्मत बल प्रयोग गर्न पाउँछ । चन्द नेतृत्वको समूहको सामना गर्न सरकारले अहिले अपनाएको उपाय भने गम्भीर खालको छ । यसले असन्तुष्ट समूहलाई उत्तेजित पार्ने खतरा निम्त्याउन सक्छ । सरकारले आजसम्म उक्त समूहका राजनीतिक अनुहार र आवाज पहिचान गर्ने र त्यसअनुसार पहिला व्यवहार गर्न खोजेको देखिएको छैन । भलै उसले पूर्वाधार संरचनासहित बलजफ्ती आर्थिक स्रोत संकलन गर्न जे–जति हथकण्डा अपनाएको छ र जनघातक विस्फोट नै गराउन थालेको छ, त्यसमा उसलाई पर्याप्त चेतावनीसहित वार्ताकै विश्वासिलो पहल गर्नुपर्ने थियो ।
शान्ति प्रक्रिया अझै तार्किक निष्कर्षमा पुगेको छैन भन्ने आवाज बलियै छ । सरकार हिजोका द्वन्द्वका घाउ पुर्ने जिम्मेवारीबाट पन्छने, अरूलाई दोष थोपर्ने र हिंसा भड्काउने कार्य गर्न सक्दैन, गर्न हुँदैन । राज्य अझै जिम्मेवार हुनुपर्छ । ऊ अभिभावक हो । हिंसाको लोकतान्त्रिक नियन्त्रण राज्यको नीति हुनुपर्छ । राज्यका तर्फबाट कुनै कमजोरी हुन नदिने सदैव सतर्क रहनुपर्छ । अहिले भने मन्त्रिपरिषद्को निर्णयप्रति सत्तारूढ दलकै नेताहरू असन्तुष्ट देखिएका छन् । आपसी मेलबिना सरकार राजनीतिक रूपमा बलियो हुन सक्दैन ।
असहमत पक्षसित वार्ता र संवाद राज्यको पहिलो सर्त हो । चन्दलाई अझै विश्वासमा लिने र संवैधानिक परिपाटीभित्र उनको समूहलाई प्रोत्साहित गर्न सकिने ठाउँ खोज्नुपर्छ । आजका सत्तारूढ नेताहरूले हिजो राजनीतिक बीउ छरेकै समूहलाई चन्दले नेतृत्व गरेको बिर्सनु हुँदैन । कोही पनि हिंसात्मक गतिविधिमा उत्रँदा सरकारले प्रतिहिंसात्मक सोच र व्यवहार सकभर देखाउनु हुँदैन । लोकतान्त्रिक नियन्त्रणका उपाय खोजी गर्नुपर्छ । त्यो भनेको वार्ता र संवाद नै हो । त्यसको अधिकतम प्रयास र लचकता हो । सरकारले जनजीविकालगायतका मुद्दालाई भाषणको भेलमा बगाएर कसैलाई काखा, कसैलाई पाखा गर्न मिल्दैन । सबैलाई समेट्दै अविश्वास र असहमतिलाई वार्ताद्वारा छिनोफानो गर्ने लोकतान्त्रिक विधिप्रति विश्वास जनाउने र असन्तुष्टहरूको ध्यानाकर्षण गर्नुपर्छ ।
अब चन्द समूह कमजोर बन्ने कि शक्तिशाली भन्ने उसका भावी गतिविधि र सरकारी व्यवहारमा भर पर्छ । त्यसैले सक्ने, सकिने र शक्तिशाली बन्ने होड दुवै पक्षले त्याग्नुपर्छ । राज्यले हिजोको कमजोरी फेरि नदोहोर्‍याओस् । त्यो पुनरावृत्ति नहोस् । राज्यले आफ्नो कमजोरी के हो ? कहाँ भूल भएको छ ? त्यसतर्फ आफूलाई चनाखो बनाओस् । अहिले चन्दसँग वार्ताका साथै उनीहरूले आफ्ना मुद्दाद्वारा कसलाई अपिल गरिरहेका छन् ? कसरी आकर्षण गर्न खोजिरहेका छन् ? सरकारले त्यस्ता पक्षको पहिचान गर्न कसुर छाड्नु हुँदैन । राज्यको कमजोरीमै असहमत पक्षले खेल्ने र हुर्कने अवसर पाउने हो । प्रकाशित : Kantipur, फाल्गुन ३०, २०७५ ०८:३९

पृथक्तावादको परकम्प

पृथक्तावादको परकम्प
डेटलाइन तराई
फाल्गुन ३०, २०७५चन्द्रकिशोर
काठमाडौँ — स्वतन्त्र मधेस’का लागि अभियान चलाउँदै आएका सीके राउतसँग संघीय सरकारले गरेको राजनीतिक सहमतिपश्चात ‘पृथक्तावादी राजनीति’को विमर्शले विभिन्न पक्षलाई तरंगित पारेको छ । विमर्श मूलतः ४ विषयमा केन्द्रित छ । पहिलो, पृथक्तावादको आकस्मिक अवतरण कसरी भयो ? दोस्रो, के प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद’ संकथनले फेरि रणनीतिक सफलता पायो ?
तेस्रो, मधेस राजनीतिमा सीकेले कस्तो स्पेस बनाउँछन् ? चौथो, सीके पृथक्तावादी गतिविधि त्यागेर मूलधारको राजनीतिमा आए कि फेरि उनले सरकारसँगको सहमतिलाई आफ्नो अभियानको फगत शक्ति सञ्चयमा प्रयोग गर्नेछन् ? यदाकदा सीकेको ‘युटर्न’ पछाडिको खेल के हो ? मधेसका मूलधारमा रहेका दलहरूलाई कमजोर बनाएर के फुनगी र भुइँयामा दुई अतिवाद उभिन खोज्दै छन् ?
जनआन्दोलन–२ को सफलतापछिको रोमाञ्चित अवधिमै सीकेको उदय कसरी भयो ? पृथक्तावादले राजनीतिमा कसरी प्रवेश गर्छ ? फेरि पनि पृथक्तावादी राजनीतिको टाउको दुखाइ हुन्छ कि हुँदैन ? पृथक्तावादी तत्त्व कसरी हुर्किन खोज्छन् ? तिनलाई कहाँबाट मलजल प्राप्त हुन्छ ? यो यसकारणले महत्त्वपूर्ण छ, लोकतान्त्रिक स्पेसको प्रयोग गरेर नै विखण्डनको बीउ मौलाउन खोज्छ ।
हामीकहाँ लोकतान्त्रिक अभ्यासका निम्ति ‘पृथक्तावाद र हिंसाको राजनीति’ मन्दविष बनिरहेको छ । यी दुइटैले लोकतान्क्रिक रित्तताको उपयोग गर्ने गर्छन् । पहिलोप्रहार भने लोकतान्त्रिक पद्धतिमाथि नै गर्छन् । विखण्डनवादी वा बन्दुके राजनीतिले बल पुर्‍याउने भनेको केन्द्रीय वर्चस्वको आधिपत्यलाई नै हो । यसले एउटा अतिवादको समानान्तरमा अर्को अतिवाद उभ्याउँछ ।
परिदृश्य
क्षेक्रवादको अति आत्रामक अवस्थाले पृथक्तावादलाई जन्म दिन्छ । क्षेत्रवादसँगै कुनै खास समुदायको हित संरक्षण जोडेर यसलाई उठाइन्छ । पृथक्तावादले एउटा भूगोल केन्द्रित उत्तेजना निर्माण गरेर स्वतन्त्र राज्यको परिकल्पनालाई सघाउ पुर्‍याउँछ । हिंसाको राजनीति मुलुकसमक्ष गम्भीर चुनौती हो । यो लोकतन्त्र र मानवताविरुद्ध अपराध हो ।
वाञ्छित उद्देश्यका निम्ति हिंसाको सुनियोजित प्रयोग गर्दै जाँदा राजनीतिमा हिंसाको प्रवेश हुन्छ । पृथक्तावादले प्रजाति सिद्धान्त (रेस–थ्योरी) लाई प्रचारित गर्छ । त्यसको आधारमा मुलुकको एउटा हिस्सामा रहनेहरूलाई विभक्त गर्ने प्रयास गर्छ । हिंसा वा पृथक्तावादको राजनीति गर्नेले राज्यको अनुदार रवैयालाई दोषी ठहर्‍याउँछन् । तिनकै आधारमा खास संकथन निर्माण गरी पीडित पक्षमा उत्तेजनाको मनोविज्ञान खडा गर्छन् । त्यहाँ तर्क र तथ्यलाई सुनियोजित रूपमा बेवास्ता गरिन्छ । निहित स्वार्थका लागि कृत्रिम तथ्य र तर्कको प्रक्षेपण गरिन्छ ।
नेपाली समाजमा विविधता छ । प्रत्येक भूगोल र समुदायका आफ्नै कथा–व्यथा छन् । विभिन्न समुदायका आफ्नै भाषा, रहन–सहन र रीतिरिवाज छन् । राज्यसँग सम्बन्धको गणित पनि कतिपय अवस्थामा फरक–फरक छ, जसलाई गुणा–भाग गरेर विभिन्न क्षेत्र र समुदायले आफ्ना असन्तुष्टि व्यक्त गरिरहेका हुन्छन् । यी सबका बावजुद केही साझापन पनि छन्, जसबाट एकार्काबीच समन्वय र सामञ्जस्यको सम्भावनाखोज्न सहयोग पुग्छ ।
पहिचानको राजनीति बाक्लिँदै गएपछि एकले अर्काबीच भिन्नताको खोजी गर्नथाले । फरकपनलाई चिनायो । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । विविधतायुक्त हाम्रो मुलुकमा सबै जाति, समुदाय, भाषा र संस्कृतिको पहिचान प्रकट भइराख्नुपर्छ ।
विगतमा राज्य संरक्षित ‘दबदबायुक्त संस्कृति’भित्र संरक्षणविहीन संस्कृति ‘हराउन’ पुगे वा कम ओजपूर्ण हुँदै गए । यथार्थ के पनि हो भने, विभिन्न भूगोल र समुदायबीच सहकार्य र संवादको निरन्तरता जनस्तरमा भेटिन्छ । दुई फरकपनको बीचमा साझापनका तत्त्व पनि मौजुद छन् । यसबारे हुनुपर्ने जति विमर्श नभएको माक्रै हो । मूलधारका शत्तिहरूले यसतर्फ बेलैमा ध्यान दिएनन् । पहिचानको आकांक्षा उठ्दै जाँदा एकार्काबीच ‘पृथक हुँ’ भन्ने कथ्यलाई पृथक्तावादी वा हिंसात्मक अभीष्ट राख्नेहरूले उचाल्ने मौका पाए ।
ढलमल मधेसी दल
मधेसमा भए, गरेका कुनै पनि धारका आन्दोलनले यहाँको अर्थतन्त्र, सामाजिक सेवा, निजी लगानी र जनसांख्यिक परिवर्तनलाई आधार बनाउन चाहेनन् । कतिपय सहर वा क्षेत्रमा अहिले पनि ‘रैथाने र बाहिरिया’को सोच बेलाबखतमा देखापर्नु वा राजनीतिक खपतका लागि प्रयोग गर्नु कालान्तरमा पृथक्तावादतिरको उन्मुखता नै हो । ‘बाहिरिया’सँग सम्पर्क, संवाद र सहयात्रा बढ्दा आफ्नो सांस्कृतिक सामर्थ्य कमजोर हुने वा हराउने सोचले नजानिँदो किसिमले पृथक्तावादतिर धकेल्छ । आ–आफ्नो रक्षित क्षेत्रमा रहने प्रवृत्ति पृथक्तावादको बीज हो ।
राष्ट्रिय एकीकरणको दिशा र दशा के रह्यो ? हाम्रा ऐतिहासिक पृष्ठभूमि के छन् ? लोकतान्त्रिक अभ्यासले राष्ट्रिय एकीकरणका सहायक तत्त्वलाई कतिको सघाउ पुर्‍यायो ? राष्ट्रिय एकात्मकतालाई धक्का दिने के कस्ता बाधक तत्त्व रहे ? त्यतातिर हाम्रो ध्यान गएन । कुनै क्षेत्र विशेषका जनतालाई बढी राष्ट्रवादी ठान्ने र कसैलाई कसैको मतियार ठान्ने सोचले पनि पृथक अस्तित्वको खोजी गर्न उत्प्रेरित गर्छ । जहाँसम्म मधेसको सवाल हो, बहुसंख्यक मधेसी नेपालको सरहदभित्र आफ्नो सामर्थ्यको उच्चतम अभिव्यक्ति चाहन्छन् ।
पृथक्तावादी राजनीतिले मधेसमा सैनिकीकरणलाई ठाउँ दियो । सीकेभन्दा पहिला पनि यो नारा नउठेको होइन, तर सीकेको प्रवेशको छोटो अवधिमा तिनका अतिवादी नारालाई देखाएर जसरी मधेसमा सुरक्षाको संगठित सञ्जाल विस्तार गरियो, यसले मधेसमा नागरिक क्रियाशीलतालाई खुम्च्यायो । तेस्रो मधेस आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमन यसैको उदाहरण हो ।
सीकेको गतिविधिले मधेसमा कुन शक्तिको पल्ला भारी भयो ? उनले उठाएको ‘स्वतन्त्र मधेस’ मुद्दालाई देखाएर देश जोड्ने संघीयता र समावेशीको मुद्दाको उभारलाई समेत विखण्डनवादी माग भनियो । दक्षिणी सीमाको रखवाली गर्ने जनतालाई शंकाको नजरले हेरियो । स्वयं मधेसका मध्यमार्गी राजनीतिक शक्ति बेलाबखत ‘प्रदेश नहीं तो देश लेंगे’ भन्ने नारा उचाल्न चुकेनन् ।
अर्थात् राज्यसँंगको मोलमोलाइमा मधेसी दलहरू आफूलाई कमजोर पारिए अतिवादी नारा दिनेहरू फैलिन्छन् भन्ने त्रास देखाउँदै बढे । सीके वा तिनका कार्यकर्तामाथि सरकारी दमन भइराख्दा यी दलले तिनका पक्षमा बोले । यसले के देखायो भने यिनीहरूले एकार्काको विरोधाभासबाट शक्ति सञ्चय गर्दै गए ।
विगतमा पनि मधेसमा बन्दुके राजनीति फस्टाएको बेला मधेसी दलहरूको यस्तै दोधारे भूमिका रह्यो । मधेसका मध्यमार्गी दलहरू आफूले लिएको बाटोबारे कहिल्यै पनि अलमलमा पर्नु हुँदैनथ्यो । आफ्नै कमजोरीले गर्दा तिनको नेतृत्वको आन्दोलनले अपेक्षित गुरुत्व पाएन । सीके प्रकरणबाट तिनीहरूले पाठ सिक्नुपर्छ ।
सीके तुरूप
संस्थापनले सीकेमार्फत मधेसको शान्त पोखरीमा ढुङ्गा फालेको छ । मधेसी आन्दोलनको उभारसँगै त्यस क्षेत्रमा भारतीय प्रभाव सघन भएको जुन आकलन थियो, त्यस पृष्ठभूमिमा सीकेको अवतरणमा ती पक्ष अनभिज्ञ गराइनुले एउटा सन्देश बोकेको छ ।
संविधानलाई लिएर विस्फोट भएको मधेसी असन्तुष्टिमा ओत लागेर जसरी भारतीय स्वार्थ मिसिएर आयो, त्यसलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौती मानियो । हो, यस्तै मनसायले मधेसमा ताजा समीकरणको सुरुवात गर्न खोजिएको छ । पृथक्तावादी गतिविधि त्यागेर मूलधारको राजनीतिमा आउनु सुखद पक्ष हो, तर यसले मधेसको राजनीतिमा के प्रभाव पार्छ त ? सीकेले सहमतिको सम्बोधनमा मधेसको सार्थक संघीयता र समावेशीको सवाल, संविधान संशोधनको अलमल, मधेस आन्दोलन वा मधेसको सशक्तीकरण जस्ता पक्षमा केही बोलेनन् ।
नेपालको भूराजनीतिक बाध्यताले गर्दा सम्भव हुन नसक्ने वाचा गरेर प्रभावशाली नेताहरूले आ–आफ्नै समर्थकहरूकोनजरमा समेत विश्वसनीयता गुमाएका छन् । मधेसका मध्यमार्गीहरूले भन्नुपर्छ, ‘पृथक्तावादको विरोध गर्छु, किनभने यो सिंगै मुलुक वा मधेसी समुदायका लागि अनिष्टकारी साबित हुन्छ ।’ यो मधेसीविरोधी कुरै होइन ।
अतिवादलाई ठाउँ छैन
लोकतान्त्रिक व्यवस्थाबाहेक अरू कुनै रूपमा शासन चलाउन खोजिए नेपालको एकता, अखण्डता एवं स्थायित्वमै नकारात्मक असर पर्न सक्छ । यस्तोमा कुनै देशी वा विदेशी शक्तिले यो उपलब्धिलाई विस्थापित गर्न चाहन्छ भने सबभन्दा पहिला उसले राजनीतिक दलहरूलाई कमजोर र अविश्वसनीय बनाउँछ ।
संविधानले चिनेका, प्रतिनिधिसभामा उलेख्य स्थान ओगटेका, प्रदेश २ सरकारमा रहेका र जनताबाट अनुमोदित मधेस केन्द्रित दलहरूलाई अवमूल्यन गरेर रातारात स्थापित गर्न खोजिएको कुनै पनि ‘सेलेब्रिटी’ स्थापित हुँदैन । अहिलेका मधेसी दलहरू जागरुक, क्रियाशील एवं जिम्मेवार भएनन् भने आउँदा दिनमा उनीहरूको हैसियत खुम्चन सक्छ ।
सीके राउतसँग जोडिएको सवाल हो, ‘विकल्प सहमति हो वा मुठभेड’ ? सीकेले स्पष्टता देखाउन सकेनन् भने संस्थापनको असमञ्जस कठोरतामा परिणत हुन बेर लाग्दैन । छिमेकीका आशय नबुझिने किसिमका छैनन् । सीकेले राजनीतिक जटिलता बुझ्न ढिलो गर्दै गए भने मधेसमा फेरि नयाँ थिचोमिचो सुरु हुन्छ । यसले लोकतान्त्रिक परिवेशलाई पनि खुम्च्याउँछ ।
सीकेलाई सरकारी पक्षले आफूसँंग उभ्याइराख्ने र मधेसको असन्तुष्टि व्यवस्थापन नगरी बलमिच्याइँ गर्न खोज्यो भने कुनै न कुनै रूपमा पृथक्तावादका परकम्पहरू प्रकट हुन सक्छन् ।यो अहं प्रश्नको उत्तर सरकारबाहेक अरूसँग छैन । संघीय सरकार स्थिर अनिश्चिततामाझ मधेसको गन्जागोलमारमाउन खोज्दै छ ।
datelineterai@gmail.com
प्रकाशित : kantipur, फाल्गुन ३०, २०७५ ०८:३६

कर्णालीका सुइना

कर्णालीका सुइना

नाटक ‘सुइना कर्णालीको’ मा देखिएका कतिपय सपना पूरा भइसकेका छन् । अहिले हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्, अप्ठ्यारोमा परेका सुत्केरी र गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरिन्छ ।
फाल्गुन ३०, २०७५राजबहादुर शाही
मुगु — उमेरले ७० कटेका पूर्णबहादुर विश्वकर्मा ७ वर्षीया बिरामी नातिनीको उपचार गर्न घरबाट हिँड्छन् । बाटोमा झमक्क साँझ पर्छ । दायाँबायाँ छिटपुट घर छन् तर दलित भएकै कारण बास पाउँदैनन् । बल्लतल्ल गोठमा ओत लाग्न पाए पनि खानेकुरा दिइँदैन । राति बिरामी नातिनी ‘भोक लाग्यो’ भन्दै मुख बाउँछिन् ।
उनी झोलामा भएको एकमुठी कागुनोको चामल दिन्छन् । चिन्डो (पानी बोक्ने भाँडो) को पानीले घाँटी ओसिलो पार्छन् । भोलिपल्ट बिहानै उठेर नातिनीलाई सुविधासम्पन्न अस्पताल पुर्‍याउने योजनासहित निदाउँछन् । एकछिनमै देख्छन् सुइना (सपना) ।
पूर्णबहादुरले देखेको सुइना यस्तो हुन्छ– केही दिनदेखि देशका प्रधानमन्त्री कर्णाली प्रदेशमा आउने खबर टेलिभिजनका पर्दामा निरन्तर आइरहन्छ । कर्णाली प्रदेश सरकारको विशेष विमानबाट प्रधानमन्त्री आउने खबरले जनता निकै उत्साही हुन्छन् । हेर्दाहेर्दै प्रधानमन्त्रीसहित उनको टोली कर्णाली प्रदेशको राजधानी सिँजा पुग्छ । स्थानीय परम्पराअनुसार उनीहरूको स्वागत हुन्छ ।
मुख्यमन्त्रीसहित मन्त्रीले स्थानीय रूपमा उत्पादित ऊन, कपासको लुगा लगाएका छन् । सबैले कुनै न कुनै काम गरिरहेका छन् ।
कर्णाली प्रदेशको कुनै पनि जमिन बाँझो छैन । जताततै धान, कोदो, जौ, गहुँ, फापर, आलु, चिनो, कागुनो, स्याउ, ओखर र जडिबुटी लगाइएको छ । कर्णालीबाट बर्सेनि १० हजार मेट्रिक टन अनाज बाहिरिन्छ । व्यावसायिक र प्राविधिक शिक्षाका लागि ठूल्ठूला विश्वविद्यालय छन्, जहाँ अध्ययन गर्न देश–विदेशका विद्यार्थीको घुइँचो छ ।
आफ्नै भाषाको विश्वविद्यालयसमेत सञ्चालनमा छ । कर्णालीका सबै स्थानमा अत्याधुनिक सुविधासम्पन्न अस्पताल छन् । विदेशबाट समेत बिरामी उपचारका लागि आउँछन् । खोलानाला र नदीबाट उत्पादित हजारौं मेगावाट विद्युत् बाहिर निर्यात हुन्छ ।
अन्तर्राष्ट्रियस्तरका जडीबुटी संकलन तथा प्रशोधन केन्द्र छन् । यहाँ उत्पादित औषधि विश्व बजारमा निर्यात हुन्छ । प्रदेश सरकारद्वारा सञ्चालित उद्योगमा विभिन्न देशका कामदार छन् । हिमाली क्षेत्रमा केबुलकार र रेल छन् । सबैका हातमा अत्याधुनिक सञ्चार उपकरण छन्, जसका लागि कर्णाली प्रदेश सरकारले आफ्नै भू–उपग्रह सञ्चालनमा ल्याएको छ ।
आफ्नै मौलिक कला–संस्कृति छ । प्रदेशका मन्त्री, कर्मचारी र नागरिक भाषण गर्नभन्दा काममा व्यस्त रहन्छन् । प्रदेशको सुरक्षा मामिला निस्फिक्री छ । मुख्यमन्त्री, मन्त्री कसैका पनि निजी सुरक्षाकर्मी छैनन् । नागरिकले आफ्नो सुरक्षा आफैं गरेका छन् । कर्णालीका कुनै गाउँबस्ती सडकविहीन छैनन् । जताततै कालोपत्रे सडक, सडकको दायाँबायाँ हरियाली । गाउँ–गाउँमा हेलिप्याड ।
दैनिक सरदर ४० वटा उडान हुन्छन् । त्यति मात्र हो र ? प्रदेशमा १० अन्तर्राष्ट्रियस्तरका विमानस्थल छन्, जहाँबाट दैनिक ६० जहाजले उडान भर्छन् । प्रदेशका सबै जिल्ला सदरमुकाम मेट्रो रेलले जोडिएका छन् । प्रदेशभर ६ सय त मट्रो रेल छन् । जातीय, लैंगिक विभेद छैन । स्थानीयले एटीएम कार्डमार्फत सामान किनमेल गर्छन् । कर्णाली नेपालकै सम्पन्न प्रदेशका रूपमा छ ।
भ्रमणक्रममा यस्तो देखेपछि प्रधानमन्त्री चकित पर्छन् । काठमाडौं फर्किन लाग्दा संघीय सरकारका लागि अनुदान उपलब्ध गराउन माग गर्छन् । ५ अर्ब अनुदानको अपेक्षा गरेका प्रधानमन्त्रीलाई कर्णाली प्रदेश सरकारले १० अर्ब दिने निर्णय गर्छ । प्रधानमन्त्री खुसी हुँदै काठमाडौं फर्किन्छन् । यता बिहानीको सिरेटोले पूर्णबहादुरको निद्रा भंग हुन्छ । नातिनीलाई ब्युँझाएर उपचारका लागि हिँड्ने हतारो गर्छन् । विडम्बना ! नातिनी कहिल्यै नउठ्ने गरी सुतिसकेकी हुन्छिन् ।
देश संघीयतामा जानुभन्दा करिब ७ वर्षअघि २०६६ सालमा लेखिएको ‘सुइना कर्णालीको’ अहिले झन् सान्दर्भिक बनेको छ । छायानाथ रारा नगरपालिका–१, ठिनीगाउँका सुमन मल्लद्वारा लिखित नाटकको निर्देशन आरोहण गुरुकुलका सुनील पोखरेलले गरेका थिए । नाटकले उति बेलै काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निकै चर्चा बटुलेको थियो ।
गुरुकुलको थिएटरमा प्रदर्शन भएको नाटक हेर्न मन्त्रीदेखि कूटनीतिक नियोगका प्रमुखहरूको बाक्लो उपस्थिति थियो । ‘हामीले देख्न चाहेको कर्णाली सुइना (सपना) मा देखिएजस्तो समृद्ध प्रदेश हो, अभावमा अल्झिएको प्रदेश होइन,’ मल्ल भन्छन्, ‘अहिले कर्णाली रोग, भोक र गरिबीले च्यापिएको छ ।’ सुइनामा रूपान्तरण गरिएको अभावपूर्ण कर्णाली र अहिलेको कर्णालीमा खासै परिवर्तन नपाइएको उनले बताए ।
मल्लको विचारमा संघीयताले कर्णालीमा समृद्धि ल्याउनुपर्ने हो तर झन् विकृति भित्र्याएको छ । जनताले झन् दुःख पाएको उनी बताउँछन् । ‘बजेटमा जनप्रतिनिधिको हालिमुहाली छ, विकास कागजमा सीमित छ,’ मल्ल भन्छन्, ‘यसले जनतालाई निराश बनाएको छ ।’
नाटकभित्रका केही सुइना भने विपनामा परिणत भएको नाटककार मल्लको भनाइ छ । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन् । अप्ठेरोमा परेका सुत्केरी र गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरिन्छ । जुम्लामा डाक्टरी पढाइ हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । गरिबका छोराछोरीका लागि डाक्टर बन्ने अवसर आफ्नै आँगनमा आएको छ । गाउँ–गाउँमा मोबाइल फोन पुगेको छ । कर्णालीमै बसेर देश–विदेशका आफन्तसँग कुरा गर्न पाइन्छ । कर्णालीका विद्यार्थीले फाटेकापुस्तक पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।
यति हुँदाहुँदै पनि नाटककार मल्ल कर्णालीलाई सुइनाभित्रकै जस्तो देख्न चाहन्छन् । कर्णाली सबै प्रदेशभन्दा समृद्ध हुनु नाटकको परिकल्पना हो । सबैभन्दा पहिले नामकरण र स्थायी राजधानी तोकेर उत्साह जगाएको प्रदेश सरकारले अझै स्पष्ट गति लिन सकेको छैन । ‘काम गर्नेभन्दा भाषण गर्नेको बाहुल्य देखिन थालेको छ,’ मल्लले भने, ‘बेरोजगारी समस्या र गरिबी कम हुनुको साटो झन् बढिरहेको छ ।’
सुइना कर्णाली वर्तमानको यथार्थ चित्रण हो भने भविष्यको स्वर्णिम कल्पना । नाटकमा पूर्णबहादुरको भूमिका लेखक स्वयंले गरेका छन् । इरानी सुन्दरी भामले नातिनी, कविराज भामले मुख्यमन्त्री र सूर्यमणि हमालले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । नाटकमा नन्दप्रसाद खत्री, राज्यलक्ष्मी मल्ल, तारा खत्री, आशिषकुमार मल्ल, माया खडका, पूर्णबहादुर भाम, कमल नेपाली, धनबहादुर बिटालु, लक्ष्मण रोकाया र गगनबहादुर बुढाले विभिन्न भूमिकामा अभिनय गरेका छन् ।
मल्लले २०६५ सालमै ‘कर्नाली दख्खिन बग्दो छ’ नाटक लेखे । यसमा सुइना कर्णालीको विपरीत पीडैपीडा भरिएको छ । गरिबीका कारण श्रमका लागि भारततिर भासिने युवा श्रमशक्तिको कथा यसमा उल्लेख छ । उक्त नाटकमा हुडेको भूमिकामा रहेका मल्ल अहिले पत्रकारका रूपमा कार्यरत छन् । ‘समय परिस्थितिलाई उजागर गर्ने ऊर्जा भए पनि आर्थिक अल्झनले बाधा पुर्‍याउँदो रहेछ,’ मल्ल भन्छन्, ‘नाटकलाई पुस्तकका रूपमा प्रकाशित गर्ने सोच भए पनि आर्थिक कारणले सम्भव छैन ।’ उनले सुइना कर्णालीकोलाई नेपाली र अंग्रेजीमा रूपान्तरण गर्ने सुनाए ।
नाटकका अन्य पात्र पनि आ–आफ्नै पेसामा रमाइरहेका छन् । इरानी सुन्दरी भाम काठमाडौंमा अध्ययन गर्दै गीत–संगीतमा छिन् । एक समय चर्चाको शिखरमा रहेको सुइना कर्णालीको अहिले सन्दर्भ मिल्दासमेत सेलाएको छ । नाटकका एक पात्र गगनबहादुर प्रदेश र संघीय सरकारले यसलाई प्रवर्द्धन गरी कर्णालीको समृद्धिमा शिक्षा ग्रहण गर्नुपर्ने बताउँछन् । ‘कर्णालीको व्यथालाई ढाक्ने होइन, उजागर गरेर समृद्धिको सूत्र पहिल्याउनुपर्छ,’ उनी भन्छन्, ‘समृद्धि भन्ने कुरा सेतो कागजमा मसीले रंग्याएर आउँदैन, व्यवहारमा तल्लिन हुनुपर्छ ।’
प्रकाशित : kantipur, फाल्गुन ३०, २०७५ ०८:५८

Wednesday, June 12, 2019

नेपाल संवत् नेपालको मौलिक संवत्

नेपाल संवत् नेपालको मौलिक संवत्
उपेश महर्जन
शनिबार, कार्तिक १३, २०७३
https://arabnepal.com/news/
सरकारी मान्यता पाएपछि पनि सांस्कृतिक प्रदर्शनकै निरन्तरतामा रहेको मौलिक संवत् नेपाल संवत्लाई कामकाजी बनाउन माग राख्दै हरेक वर्ष गरिने कार्यक्रमले अन्ततः काठमाडाँै उपत्यकालाई दुलही झैँ सिँगारिएको हुन्छ ।  दशैँ नेपाली हिन्दूको महान् पर्व रहे पनि स्थानीय नेवार समुदायले उपत्यकामा नेपाल संवत्लाई सांस्कृतिक महìवका साथ मनाउने चलन रहिआएको छ ।  पञ्चायतकालमा पञ्चायतविरोधी भावना जगाउनको लागि उपत्यकामा आन्दोलनका रूपमा थालिएको नेपाल संवत् राष्ट्रिय संवत्को नारा अहिले नेपाल संवत् ११३७ को पूर्वसन्ध्यामा आइपुग्दासम्म उपत्यकामा गुञ्जिने गरेको छ ।  विगतमा विभिन्न प्रकारले राजधानीमा ¥याली गरिन्थ्यो भने अहिले संवत्का प्रणेता शंखधर शाख्वाःको मूर्ति र बाजागाजासहित सिन्दुर जात्रा गर्ने परम्परा बसिसकेको छ ।  आन्दोलनलाई सांस्कृतिक मूल्यमान्यतासहित सांस्कृतिक झाँकीमा शुभकामना आदानप्रदान गर्ने कार्यले नेपालको पहिचानमा थप आयाम स्थापित भएको छ ।  नेवार र नेवारी परम्परा वा दर्शन भनेकै आफ्ना पितापूर्खालाई देवत्वकरण गर्ने संस्कार रहेकाले पनि शंघधर शाख्वाःलाई एक देवताको रूपमा पुज्ने कार्य थालनी भइसकेको छ भने ठाउँठाउँमा सालिक राखेर पूजा गर्ने बानी नेवार समुदायले अँगालिसकेको छ ।
नेपाल संवत्का प्रणेता शंखधर साख्वाःलाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा राष्ट्रिय विभूति गरिएको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रीत्व कालमा राष्ट्रिय संवत्लाई मान्यता दिलाउने काम भएको थियो ।  त्यसपछि सरकारी कामकाजमा प्रयोगको सान्दर्भिकताको विषयमा नेपाल संवत्लगायत नेपालमा रहेका अन्य संवत्बारे अनुसन्धान गर्न गठन गरिएको कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक हुन सकेको छैन ।  यस विषयको टुङ्गो दोस्रोपटक प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकालमा लाग्ने विश्वास गरिएको छ ।
 इतिहास
लिच्छवीकालीन नेपालको सबैभन्दा पुरानो संवत् लिच्छवी संवत् (शक् संवत्) ४९८ वर्ष र, पछि मानदेव संवत् ३०४ वर्षसम्म चलेको थियो ।  यसरी शक् संवत् चलेको ८०२ वर्षपछि ईश्वी संवत् ८७९ अक्टोबर २० तारिखदेखि शंखधरकृत नेपाल संवत् प्रारम्भ भएको मानिन्छ ।  राजा राघवदेवको पालामा व्यापारी शंखधर शाख्वाःले काठमाडाँैको इच्छुमति खोलाबाट निकालेको बालुवा सुनमा परिणत भएको वा बालुवामा सुनको कण भेटिए भन्ने विवाद जे जस्ता भए पनि उहाँले जनताको ऋणमोचन गरेर आसामीलाई मुक्ति दिलाएको स्मरणमा नेपाल संवत् चलाइएको मानिन्छ ।
नेपाल संवत्लाई व्यावहारिक रूपमा सामाजिक अभियन्ता च्वसापासाले ६६ वर्ष पहिला वि.सं २००७ सालमा विप्लबी पुस्तकालय र कन्या मन्दिर स्कुलमा सार्वजनिक रूपमा नयाँ वर्ष मनाउनु भएको थियो ।  वि.सं २०३५÷३६ पछि राजनीतिक रूपमा नेपालभाषा मंकाः खलःले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने मागसहित आन्दोलन चलायो ।  आन्दोलन गरेको बीस वर्षमा वि.सं २०५६ मा नेपाल संवत्का प्रणेता शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा हुनुभयो र वि.सं २०६५ मा राष्ट्रिय संवत्को मान्यता पनि पायो ।  औपचारिक रूपमा नयाँ वर्ष मूल समारोह समिति गठन गर्दै प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर शुभकामना आदानप्रदान गर्ने कार्य पनि २५ आंै पटक हुन लागेको छ ।  नेपाल संवत्लाई व्यावहारिक रूपमा कामकाजी रूपमा चलाउन केही विद्वान्ले पात्रो बनाए पनि औपचारिक रूपमा मान्यता पाएको स्थिति छैन ।
कामकाजी संवत्
नेपाल एकीकरणपछि नेपाल संवत्लाई विस्थापित गरेर पुनः शक् संवत् पृथ्वीनारायण शाहले चलाए पनि केही समय पुनः नेपाल संवत् चलाउनु परेको थियो ।  त्यसपछि पुनः राणा प्रधानमन्त्री चन्द्र शमसेरले हरेक तीनवर्षमा एकपटक वर्षमा १३ महिना हुने भएकाले व्यावहारिक नभएको भनी यसलाई विस्थापित गर्दै विक्रम संवत् चलाएको भनिन्छ ।  उपत्यकाका नेवार समुदायले आफ्नो कर्मकाण्ड तिथि अनुसार गर्ने भएकाले यसलाई निरन्तरता दिएकाले अहिले नेवारहरूको मात्र हो कि भन्ने बुझाइ नै गलत हो ।
नेपाल बाहिर पनि चलेको संवत्
देशको नाम चलेको र साधारण जनताले चलाएको संवत् नेपाल संवत् हो ।  नेपाल संवत् नेपालभर विभिन्न समयमा चलनचल्तीमा रहेको थियो ।  यस संवत्को प्रयोग तिब्बत, भारत, म्यान्मा, चीनसम्म भएको पाइन्छ ।  विद्वानहरूका अनुसार गोरखाको पोखरीथोक बजारमा रहेको भैरव मन्दिरको शिलालेखमा नेपाल संवत् ७०४ लेखिएको छ ।  त्यसैगरी, भोजपुरको अजिमा मन्दिरमा रहेको ढोकामा नेपाल संवत् १०११ उल्लेख छ ।  तिब्बतको ल्हासामा रहेको जोखान मन्दिरमा रहेको छावसकमिनी अजिमा मूर्तिमा नेपाल संवत् ७८१ उल्लेखित छ ।  करिब चारसय वर्ष अगाडि भारतको बङ्गाल राज्यका राजा प्राण नारायणले आफ्नो राज्याभिषेकको समयमा निकालेको असर्फीमा नेपाल संवत् उल्लेख गरेका छन् भने चीनका बादशाहले बनेपाका जयरामलाई पठाएको चिठ्ठीमा नेपाल संवत् ५६५ को मिति उल्लेख गरिएको भेटिएको छ ।  त्यसैगरी, सल्यानकोट, पनौति, दोलखा जिल्लाका मन्दिरहरूमा पनि नेपाल संवत्को प्रयोग प्रशस्तै मात्रामा पाइन्छ ।  उपत्यकाका सबै शिलालेखहरूमा नेपाल संवत् नै उल्लेख छ ।
नेपाल संवत्को विशेषता
चन्द्रमास अनुसार सञ्चालन हुने भएकाले यो संवत्मा ३५४ दिन मात्र हुन्छ ।  सूर्यमासको आधारमा चल्ने संवत्मा ३६५ दिन हुन्छ ।  चन्द्रमासको कारणले प्रत्येक महिना २९÷३० दिन हुने भएकाले प्रत्येक तीन वर्षमा एकमहिना थप हुन्छ ।  उक्त वर्ष १३ महिना हुन आउँछ ।  कछला, थिंला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुंला र ञला गरी १२ महिना रहेका छन् ।  प्रत्येक तीन वर्षमा ‘अनला’ महिना गुंला र ञलाको बीचमा पर्न आउँछ ।  यद्यपि तिथिलाई चन्द्रमासको आधारमा गणना गरे पनि मसान्त र संक्रान्तिसहित यस संवत्मा पनि ३६५ दिन नै हुन्छ ।
चन्द्रमासका अनुसार चल्ने भएकाले पनि एकै दिन दुईवटा तिथि हुने र कहिलेकाहीँ तिथि टुट हुन्छ ।  वास्तवमा नेपाल संवत् मात्र होइन अरु संवत् पनि चन्द्रमासकै अनुसार चलेको थियो ।  विक्रम संवत्लाई चन्द्र शमसेरले चलाए पनि भीम शमशेरले सौर्यमास अनुसार व्यवस्थित पारेका थिए ।  इश्वी संवत्मा पहिला १० महिना थियो पछि  मात्र १२ महिना बनाइएको हो ।  तिथिको गणना नेपाल संवत्मा मात्र होइन, मुसलमान पात्रो, चिनियाँ, कोरियाली, थाइल्याण्डका पात्रोहरूमा रहेका छन् र इश्वी संवत्सँगै आफ्नै मौलिक संवत्हरूलाई चलनचल्तीमा प्रयोग गरिरहेका छन् ।  चिनियाँ पात्रोमा चन्द्रमास (लुनार) र सूर्यमास (सोलार) का तìवहरू प्रयोग गरेकाले यसलाई ‘लुनिसोलार’ क्यालेन्डर भनिन्छ ।  विक्रम संवत्मा सूर्यमास र चन्द्रमास अनुसार चलाउन सकिन्छ भने नेपाल संवत्लाई तिथिमितिसहित सौर्यमासका विशेषता राखेर चलाउन सकिन्छ ।  भनौं, नेपालसंवत्मा नभएको विशेषता विक्रम संवत्बाट लिएर पनि कामकाजी बनाउन सकिन्छ ।
म्हःपूजा
यसै दिनमा देश र विदेशमा बसेका सम्पूर्ण नेवार समुदायले म्हः पूजा गर्ने गर्दछन् ।  अर्थात् वर्ष भरीको लागि मंगलकामनाको लागि शरीर वा आफ्नो आत्मा पूजा गर्ने गरिन्छ ।  नेवारहरूले कात्तिक शुक्ल प्रतिपदाको दिनमा अति महìवका साथ यस दिनमा म्हः पूजा गर्दछन् ।  यस्तो पूजा गर्ने चलन करिब दुईहजार वर्ष पहिलादेखि प्रचलनमा रहेको बताइन्छ ।  राजभोग माला वंशावली अनुसार लिच्छवी राजा मानदेव प्रथमको पालादेखि नै यो पूजा गर्ने चलन बसेको उल्लेख छ ।  लिच्छवीकालीन शक् संवत्, मानदेव संवत् र नेपाल संवत्ले कात्तिक प्रतिपदा (कछलाथ्व पारु) अर्थात् आत्मपूजा गर्ने म्हःपूजाको दिन शुभ मान्दै चलाएको देखिन्छ ।  नेवार समुदायमा म्हः पूजालाई विशेष रूपमा लिने चलन छ ।  मण्डलालाई आत्मा मानेर म्हः पूजा गरिन्छ ।  विवाहित महिलाले यस दिनमा आफ्नो माइतीबाट श्रीमान्को परिवारको लागि विभिन्न प्रकारको भोजसहित विशेष प्रकारको पूजा सामग्रीहरू लानुपर्छ ।  त्यस्तो परम्परालाई ‘कु’ दिने भनिन्छ ।  सामाजिक प्रतिष्ठाको विषय भएकाले कु दिने चलन अहिले पनि कायम छ ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...