Thursday, June 13, 2019

१५ पेट्रोल पम्प हटाइने

१५ पेट्रोल पम्प हटाइने 
चैत्र ५, २०७५दीपेन्द्र विष्ट
काठमाडौँ — ‍उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेपछि सहरभित्रका १५ वटा पेट्रोल पम्पलाई हटाइने भएको छ । पेट्रोल पम्पले सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो ।
काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।
त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोलीले ८ स्थानका १५ पेट्रोल पम्पलाई हटाउन सिफारिस गरेको हो । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी थिए । ‘सडक आउजाउलाई सहज बनाउन ती पम्पलाई हटाउन सिफारिस गरिएको हो,’ संयोजक कुँवरले जानकारी दिए । सोल्टीमोडको सीता पेट्रोलपम्प, बालाजुको कोतधुकु पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलंकीका बाबा, श्यामा पम्पहरू हटाउने सूचीमा छन् ।
त्यसैगरी त्रिशूल पेट्रोल पम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोल पम्प, जडीबुटीको कामाख्या पेट्रोल पम्प, जोरपाटीका जुबी र बराल पेट्रोल पम्प, पनि हटाउन सिफारिस गरेको छ । दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोल पम्प र महाराजगन्जको सीतापेट्रोल पम्पलाई तत्काल हटाउन सिफारिस गरिएको छ ।
‘चाँडो हटाउँछौं, सुरक्षा र ट्राफिक व्यवस्थापनका हिसाबले चाँडो हटाउनुपर्ने पेट्रोल पम्पलाई हटाउँछौं,’ कुँवरले भने, ‘अब मापदण्डविपरीत सञ्चालनमा नहरेका सबै पेट्रोल पम्पलाईविस्थापित गर्छौं ।’
अधिकांश पेट्रोल पम्प मापदण्डविपरीत रहेको भन्दै उनले त्यसले गर्दा ट्राफिकलाई सवारी व्यवस्थापन गर्न र पैदलयात्रीलाई हिँडन समस्या परेको बताए । सहरको बीचमा पम्प हुँदा आगलागीको समेत जोखिम हुने भएकाले मानव बस्तीभन्दा टाढा राख्न पर्ने उनले बताए । केही पेट्रोल पम्प फुटपाथमै राखिएकाले त्यसबाट पैदलयात्रीलाई हिँडन अप्ठेरो भएको उनले बताए ।
‘सडकमै पम्प राखिएका छन्,’ उनले भने, ‘पेट्रोल भर्दा लाइनमा राखिन्छ, जाम हुन्छ, त्यसकारण हटाउनैपर्छ ।’ अब नयाँ हुने पेट्रोल पम्पमा शौचालय र कफी पसल व्यवस्था हुनुपर्ने उनले बताए । करिब ३५ देखि ४० पेट्रोल पम्पलाई तत्काल नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै उनले त्यसका लागि सबै निकायसँग छलफल गरिने बताए ।
धेरैजसो पम्प आयल निगमको मापदण्डमा नपरेको भन्दै उनले चाँडै हटाइने बताए । उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक छेउका पेट्रोल पम्पले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए । ‘पेट्रोल भर्ने गाडीका लाइनले सडक अस्तव्यस्त हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरोकारवाला निकायले पहल गर्नैपर्छ, पिक आवरमा एकदमै कठिन हुन्छ ।’ त्यसका साथै रिङरोडभित्रका ग्योरज, रिकडिसन पसललाई पनि हटाउन सिफारिस गरेको उनले बताए ।
आवश्यकता अनुसार अन्य पम्पसमेत हटाइने उनले बताए । ‘पिक आवर’ मा ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने भएकाले सडक छेउका पम्पलाई अन्यत्रै सार्नुपर्ने उनले बताए । ट्राफिक लाइट नहुँदा समस्या भएको भन्दै उनले सडक छेउका पम्पले झनै कठिन भएको बताए । सडक विभाग ट्राफिक महाशाखा प्रमुख दीप बराहीले २०५४ सालअघि राखिएका हटाइने बताए । ‘अत्यधिक सवारी संख्या बढेको छ । सडक छेउमा पम्प छन् समस्या छ,’ उनले भने, ‘अब हटाउनैपर्छ । मानव बस्तीबाट अलि टाढै राख्नुपर्छ ।’
प्रकाशित : चैत्र ५, २०७५ १०:१९

रेमिटयान्ससंगै भित्रिन्छन् शिशु


तिलौराकोट उत्खनन : विश्वसम्पदा सूचीमा राख्न तथ्य जुट्दै

तिलौराकोट उत्खनन : विश्वसम्पदा सूचीमा राख्न तथ्य जुट्दै
चैत्र १, २०७५मनोज पौडेल
(कपिलवस्तु) — बुद्धस्थल प्राचीन कपिलवस्तु (तिलौराकोट)लाई विश्व सम्पदामा सूचीकृत गर्न प्रशस्त तथ्य र प्रमाणहरू संकलन भएका छन् । २ महिनाअघि गरिएको उत्खननबाट त्यस्ता प्रमाण संकलन भएका हुन् ।
यसवर्ष विज्ञ विदेशी पुरातत्त्वविद्सहित नेपाली टोलीले विश्व सम्पदाकै लागि केन्द्रित भई तिलौराकोटमा अन्वेषण गरेका हुन् । अध्ययन टोलीमा बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न थिए ।
यसपटक तिलौराकोटका ४ ठाउँमा उत्खनन गरिएको थियो । मध्य क्षेत्रमा पाइएको प्रशासनिक भवन संरचनाको पश्चिमी सुरक्षा किल्ला पर्खालको उत्खनन गरिएको थियो । त्यहाँ १५ मिटर लामो सुरक्षा पर्खाल भेटिएको छ । यो ५० मिटरसम्म हुने अनुमान गरिएको छ । त्यहाँ ४ वर्ष अघि जियोफिजिक्स (भू–भौतिक सर्भे) गर्दा ठूलो संरचना पाइएको थियो । पछिल्लो पटक भइरहेको उत्खननमा मध्य भागको प्रशासनिक भवन संरचना मुख्य उपलब्धि हो । जियोफिजिक्सले गरेको व्याख्याअनुसार नै नतिजा निस्कनु राम्रो भएको पुरातत्त्वविद्को भनाइ छ । मुख्य प्रशासनिक भवन ईशापूर्व तेस्रो शताब्दीतिरको हो । पश्चिमी सुरक्षा किल्ला पर्खालनजिक उत्खनन गर्दा तामाको कुषाणकालीन २ सय ५२ सिक्का भेटिएत्यस्तै सन् २०१५ मा मध्यभागमा पोखरी फेला परेको थियो । उक्त पोखरीको यस वर्ष अध्ययन गर्दा दुई किनारको छेउ भेटिए । पूर्व–पश्चिमतिरको उत्खननमा दक्षिण–पश्चिम पोखरीको कुना भेटियो भने अर्कोतिर दक्षिणपूर्वतिरको कुना भेटियो । यो पोखरी २३ सय वर्ष पुरानो रहेको अध्ययनले देखाएको छ । पूरातत्त्वविद्का अनुसार यो पोखरी तिलौराकोट दरबारमा बस्ने राजाले प्रयोग गर्थे । यो अहिले पनि पोखरीकै रूपमा देखिन्छ । जमिनको २ मिटर तल २६ तहसम्म रहेको इँटाको मनमोहक पर्खाल देखिन्छ ।
त्यस्तै समयमाई मन्दिरदेखि उत्तर पश्चिम २ वर्षदेखि गरिएको उत्खनन स्थलमा पश्चिमतिर बढाएर उत्खनन गर्दा नयाँ संरचना पाइएको छ । यसपटक तिलौराकोट कम्पाउन्डबाहिर रहेको कन्थक स्तूपमा पनि उत्खनन गरियो । त्यसका लागि जापानी नागरिक डा. नोबुओ कसाईले १ करोड सहयोग गरेका थिए । यही स्थानमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा उत्खनन गरेका थिए । त्यसपछि यस वर्ष उत्खनन भएको हो । यहाँ इँटाभन्दा पहिले प्रयोग गरिने माटोका स्तूप फेला परेका छन् । भेटिएका तथ्यको अनुसन्धान भइरहेको छ । अर्को वर्ष विस्तृत खोज गरिने पुरातत्त्वविद्हरूले जनाएका छन् । यस वर्ष माटोका मूर्ति, कुँदिएको इँटा, मानव तथा जनावरका मूर्ति फेला परेका छन् । यस्तै, कुमालेको माटोका भुग्रो, जाँतो आकारको टुक्रा र धातु पगाल्ने भाँडाकुडा पनि पाइएको छ ।
लुम्बिनी विकास कोष पुरातत्त्व अधिकृत कृष्णबहादुर केसीले यसपटक पनि वैज्ञानिक तरिकाले अध्ययन अनुसन्धान गरिएको बताए । त्यसक्रममा भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ, सोसियो इकोनोमी र भिजिटर सर्भे गरेको उनले बताए ।का थिए । यो सिक्का ईशाको दोस्रो शताब्दीतिर प्रयोग गरिएको विज्ञको भनाइ छ ।
‘उत्खनन परिणाम राम्रो हुँदा निकै खुसी छौं,’ उत्खनन परियोजना सहनिर्देशक तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले भने, ‘यस क्षेत्रको योजना र विकासका लागि कोसेढुंगा बन्न सहयोग गर्छ ।’ यसबाट तिलौराकोटको ऐतिहासिकता पुष्टि भएको उल्लेख गर्दै उनले भने, ‘अब विश्व सम्पदामा सूचीकृत हुन समस्या छैन ।’ उनका अनुसार उत्खननबाट प्राचीन सहरको स्वरूप र सांस्कृतिक विकास थाहा लाग्नेछ । तिलौराकोटको कालक्रम पत्ता लगाएर ऐतिहासिक रूपमा प्रमाणित गरे हाल रहेका भ्रम चिरेर विश्वको ध्यान तान्न थप सहयोग पुग्ने उनले दाबी गरे । ‘धेरै महत्त्वपूर्ण प्रमाण फेला परेका छन्’ लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्रले भने, ‘अब छिट्टै तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुन्छ, त्यसपछि यसको महत्व विश्वव्यापी रूपमा बढ्छ । उनले कोषले अहिलेदेखि नै तिलौराकोटमा विकासका काम थालेको र पर्यटकीय आकर्षण थप्ने काम भइरहेको बताए । ‘एक वर्षभित्रै रूप परिवर्तन हुनेछ,’ उनले भने ।
पछिल्लो उत्खननका क्रममा सय वाई मिटरको केन्द्रीय प्रशासनिक संरचना, ऐतिहासिक पोखरी, हतियार बनाउने उद्योग, व्यवस्थित सहरका पुराना संरचना भेटिएका छन् । करिब ५ सय पंचमार्क सिक्का पाइएका थिए । त्यस्तै ईशापूर्व आठौं शताब्दीका भवनका किल्ला तथा पर्खालको पोस्टहोल (काठ र बाँसका खाँबोको डोब) पनि पाइएको थियो ।
सन् २०१३ देखि यहाँ उत्खनन अन्वेषण भइरहेको छ । पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछिबाट जापान सरकारको जापानी फन्ड इन ट्रस्ट (जेफिड)को सहयोगमा युनेस्कोमार्फत अध्ययन अन्वेषण भइरहेको छ । सन् २०१९ देखि २०२१ सम्म तेस्रो चरणका लागि सम्झौता भई काम भइरहेको हो । तेस्रो चरणमा विश्व सम्पदाका लागि प्रमाण संकलन गरी डकुमेन्टेसन गरिने गरी काम अघि बढाइएको छ ।
अत्याधुनिक उपकरण प्रयोग गरेर पुरातात्त्विक मूल्यमान्यताअनुसार उत्खनन भइरहेको छ । ‘उत्खननले तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्दै गएको छ,’ डुर्‍हाम विश्वविद्यालय बेलायतका प्रोफेसर तथा प्रमुख पुरातत्त्वविद् डा. रबिन कनिङ्घमले भने, ‘भित्र प्रवेश गर्नासाथै प्राचीन सहरको व्यवस्थित र ऐतिहासिक रूपरंग देख्न सकिने बनाउँदै छौं । यहाँ संरक्षणका काम पनि थालिएको छ ।’
उत्खननमा बेलायतको डुर्‍हाम विश्वविद्यालय र लार्टोव विश्वविद्यालय अस्ट्रेलियाका प्राध्यापक, युनेस्को, पुरातत्त्व विभागका र लुम्बिनी विकास कोषका विशेषज्ञ तथा पुरातत्त्वविद् सहभागी छन् । केही दिन बंगलादेश, श्रीलंका र भारतका पुरात्त्वविद् पनि सहभागी थिए । त्यस्तै त्रिविका इतिहास र संस्कृति पढ्ने १२ विद्यार्थी पनि सहभागी छन् । उत्खनन करिब २ महिनासम्म चलेको थियो । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल भएकाले बौद्ध धर्मावलम्बीका लागि निकै महत्त्वपूर्ण मानिन्छ । तिलौराकोट सन् १९९६ मा विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको थियो ।
प्रकाशित : कान्तिपुर, चैत्र १, २०७५ ०९:३०


रोकिएन नेवारभित्रै विभेद

रोकिएन नेवारभित्रै विभेद
फाल्गुन ३०, २०७५प्रशान्त माली
ललितपुर — नेवार जातिबीच भेदभाव र छुवाछुत अन्त्यको घोषणा भएको ७ वर्ष बितिसक्दा पनि व्यवहारमा लागू हुन सकेको छैन । २०६८ मा काठमाडौंको वसन्तपुरमा विभिन्न ६५ थरी नेवारभित्रका जातीय संस्थाका प्रमुखले एक साथ लिखित रूपमा विभेद अन्त्यको घोषणा गरेका थिए । संविधानमा पनि जातीय, वर्गीय, लिंगीय विभेद नहुने उल्लेख छ । तर, पनि उपत्यकाका नेवार जातिभित्र विभेद कायम छ ।
६ महिनाअघि गोदावरी नगरपालिका १२ का एक महर्जन युवाले कपाली थरकी केटीलाई भगाइ विवाह गरेका थिए । चार दिनपछि जब उनले दुलही घरमा भित्र्याउन खोजे । परिवारले मानेनन् । घरबाट निकाल्ने मात्र नभई छुट्टिन दबाब दिए । पछि केटीले बाध्य भएर आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गोदावरी नगरपालिकाका र महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दर्ता गरे ।
तर, सुनुवाइ भएन । अन्तमा ती केटी अन्यत्र विवाह गरेर जान बाध्य बनिन् । त्यसैगरी, एक जना खडगी थरका केटाले महर्जन कुलकी केटीसँग विवाह गरे । केटी पक्षका परिवारले खोजीनीति गरी छोरीलाई फिर्ता ल्याए । पुनः दुवै जना भागे । प्रहरीमा उजुरी पुग्यो । झगडाकै रूप लियो । अहिले खडगी दम्पतीबाट सन्तान जन्मे ।
केटी पक्षले न ज्वाइँलाई घरमा भित्र्याए न त उनीहरूबाट जन्मेको सन्तानलाई नै । नेवार समुदायमा देवाली गुठीमा छोराज्वाइँ सबैलाई बोलाएर अनिवार्य बलिको शिर पुच्छर छुट्याएर भोज खाने चलन छ । तर, ससुरालीको गुठीमा अझै ज्वाइँले प्रवेश पाएका छैनन् । उनीहरूजस्तै जातीय विभेदको समस्या भोग्न नेवारी समुदायमा थुप्रो छन् । आफ्नो नभई अर्कै थरकी केटी विवाह गरेमा गुठीमा नभित्र्याउने कुप्रथा अझै कायम छ ।
नेवारको छाता संस्थाका रूपमा नेवाः देय दबू छ । यो संस्थाअन्तर्गत नेवार जातिभित्रका २८ जातीय संस्था र संगठन सदस्य छन् । दबूका महासचिव माइलाबाबु देउला जातीय विभेद अन्त्य भएको घोषणा गरे पनि निर्मुल पार्न निरन्तरता दिन नसकेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘दबूका पदाधिकारी र अन्य प्रभुत्व व्यक्तिले घोषणालाई निकासको रूपमा लिए ।’
उनले जब समस्या आयो तब मात्र तात्ने गरेको बताए । ‘निरन्तर लागिरहनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘जयस्थिति मल्लले ४ वर्ण र ३६ जातलाई जातीय व्यवस्था सुरु गरेको नभई व्यवस्थित मात्र गरेको हो । उनले ब्राह्मण मुख, क्षेत्री काँध, जैसी पेट र स्रु पैतलाबाट जन्मेको भनी इतिहासमा गलत व्याख्या गरिएको बताए । ‘सबै आमाको कोखबाट जन्मिएका हुन्,’ उनले भने, ‘त्यसैले दलित परिभाषा गर्नु नै गलत हो ।’
देउला समाजका अध्यक्षसमेत रहेका उनले नेवार समुदायमा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने १९१० को मुलुकी ऐनलाई प्रचलनमा ल्याएको विरोध जनाए । ‘यसलाई सच्याउन ज्ञापनपत्र दिइसकेका छौं,’ उनले भने, ‘नत्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्छौं ।’ उनले मुलुकमा आमूल परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुरुमा कुप्रथा अन्त्य गर्न जरुरी रहेको बताए ।
‘यसबारे सरकार पक्ष पनि गम्भीर हुन जरुरी छ,’ उनले भने । नेवार समुदायमा लिच्छविकालदेखि सुरु भएको जात र वर्ण व्यवस्थाको प्रभाव अझै पाइन्छ । सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये नेवार आर्थिक हिसाबले उन्नत समूहमा पर्छ । व्यापार व्यवसायमा अब्बल मानिने यो जातिभित्र पनि ब्राह्मण, क्षत्री, वैश्य र शुद्रजस्तै ४ तहमा विभाजन गरेको पाइन्छ । नेवार समुदायमै रहेका देउला, कुचीकार, च्याम्खललाई भने दलितको सूचीमा राखिएको छ । राष्ट्रिय दलित आयोगले नै यिनलाई दलित मानेको छ ।
नेवाः दे दबूका अध्यक्ष नरेश ताम्रकार पनि नेवार समाजभित्र विभेद भए पनि कम गर्न प्रभावकारी ढंगबाट अगाडि बढ्न नसकिरहेको स्विकार्छन् । भन्छन्, ‘दबूसँग स्रोतसाधन नहुनु पनि अवरोधका विभिन्न कारणमध्ये एक हो,’ उनले भने, ‘एनजीओले पर्याप्त रकम खर्च गरेर कार्यक्रम गर्दा पनि समस्या सिर्जना भएको छ ।’
उनले गुठीको भोजमा अरू सहभागी हुन नपाउनु बिहेवारी नचल्नु मुख्य समस्याको रूपमा रहेको बताए । अधिकारकर्मी शाक्य सुरेनले घोषणापछि नीतिगत कार्यक्रम तर्जुमा गरेर अगाडि बढ्न नसक्नाले अन्योलमा परेको बताए । ‘जातीय समाजका नेतृत्वदायीव्यक्तिले भूमिका नखेल्दा पनि समस्या जस्ताको तस्तै रहेको हो,’ उनले भने ।
राष्ट्रिय जनगणना ०६८ अनुसार मुलुकमा नेवारको संख्या १३ लाख २१ हजार ९ सय ३३ छ । जुन कुल जनसंख्याको ४.९ प्रतिशत हो । नेवारको प्रमुख पहिचान गुठी परम्परालाई मानिन्छ । सामाजिक, धार्मिक, आर्थिक, पारिवारिक सम्बन्धहरू गुठीअन्तर्गत सञ्चालन हुन्छन् । वंश र परम्पराको निरन्तरताको टुंगो पनि गुठी र त्यसका प्रमुख थकालीबाट हुने गर्छ । गुठीका सदस्यलाई गुठियार भनिन्छ । गुठियारको घरपरिवारमा हुने देवाली, व्रतबन्ध, विवाहदेखि मृत्यु संस्कारसम्मका क्रियाकलाप गुठीले गर्छ ।
विभेदको जरो
नेवारलाई बहुधर्मावलम्बी जाति मानिन्छ । नेवारभित्र हिन्दु र बौद्ध धर्म मान्ने छन् । नेवार समुदायका महिलाले विभिन्न थरीका गरगहना पहिरिए पनि नाक छेडदैनन् र फुली पनि लगाउँदैनन् । तर, सामाजिक भेदका कारण नाक छेड्ने महिला भेटिन्छन् । विशेषगरी ‘दलित’ मानिने समुदायमा यो चलन बढेको छ ।
विभेदबाट मुक्ति पाउन केहीले धर्म परिवर्तन गर्ने गरेको पनि पाइन्छ । कतिपय उपल्लो जातका युवाले कथित तल्लो जातिकी युवतीसँग विवाह गरे समाजबाट बहिस्कृत हुने, बुहारीलाई कुलमा सामेल नगरिने गरेको पाइन्छ । यस्तै, कथित तल्लो जातिका युवासँग आफ्नी छोरीचेलीले विवाह गरे माइती पक्षले सधैंका लागि त्याग्ने गरेको उदाहरण पनि छन् ।
नेवाः पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन भन्छन्, ‘यस सम्बन्धी समन्व्य, दबाब दिने अधिकारी दबूलाई छ ।’ उनका अनुसार सामाजिक जातीय विभेदलाई नयाँ पुस्ताले बेवास्ता गर्ने गरे पनि गुठीमा कठोर व्यवस्थाका कारण चटक्कै छोड्न सकेको अवस्था छैन । ‘यसमा दबूका पदाधिकारी सक्रिय हुनुपर्छ,’ उनले भने । प्रकाशित : कान्तिपुर, फाल्गुन ३०, २०७५ ०८:१४

सलबलाउँदै असन्तुष्टि

सलबलाउँदै असन्तुष्टि
चैत्र २, २०७५दुर्गा खनाल
काठमाडौँ — संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन्, उल्टै मुखरित हुँदैछन् । तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेक्रवित्रम चन्द नेतृत्वको समूह र हालै सरकारसँग सहमतिमा आएको सीके राउत समूह मुख्य छन् ।  भिन्नभिन्न प्रकृतिका यी दल र समूहहरुको संस्थापनप्रतिको असन्तुष्टि पनि फरक–फरक छन् । कसैको स्पष्ट कार्यदिशा छ भने कोही गोलमटोल माग राखेर आफ्ना असन्तुष्टि पस्किरहेका छन् । खासमा के चाहन्छन् यी शक्ति र समूहहरु ?
दुई साताअघि ‘मेची–महाकाली स्वाभिमान यात्रा’ थालेको राप्रपाले शुक्रबार राजधानीको भृकुटीमण्डपमा आमसभा गरको छ । राप्रपाको यो अभियानको मुख्य उद्देश्य हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको माग जनमानसमा पुर्‍याउनु हो । राप्रपाका यी माग र अभियान संविधानका प्रावधानलाई चुनौती दिने खालका छन् ।
पञ्चायतकालमा लामो समय सत्तामा बसेकाहरूको समूहबाट बनेको राप्रपा राजसंस्थाको पक्षधर हो, जसले हिन्दु राज्यको एजेन्डा अघि सारेको छ । यही एजेन्डालाई लिएर २०६४, २०७० र २०७४ का तीन चुनाव लडेको राप्रपाको अहिले प्रतिनिधिसभामा एक सिट मात्र छ । यो दलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्साउने माहोल चाहिरहेको देखिन्छ । बेलाबेलामा जनमानसमाझ घुलमिल हुन थालेका शाह हाल तराई–मधेसको यात्रामा छन् ।
राप्रपाको अहिलेको रणनीति संस्थापनविरुद्ध जनमत बनाउने र आफ्नो शक्ति सञ्चय गर्नमा केन्द्रित छ । राजधानीमा शनिबार आयोजित सभामा अध्यक्ष कमल थापाले सरकार र लोकतन्त्रमाथि नै आक्षेप मात्र लगाएनन्, हालै सरकारले प्रतिबन्ध लगाएको नेक्रवित्रम चन्द समूहको प्रशंसासमेत गरे । अहिलेको व्यवस्थाप्रति नै आक्रोश फोख्दै आक्रामक ढंगले अघि बढेको अर्को शत्ति चन्द समूह हो, जसले हिंसात्मक बाटोबाटै भए पनि अहिलेको राज्यसत्ता नै परिवर्तन गर्ने लक्ष्य तय गरेको छ ।
पूर्वमाओवादी धारबाट जन्मिएको यो समूहले विध्वंसात्मक बाटो लिएपछि सरकारले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । यो समूहले संसदीय व्यवस्थासहितको गणतन्त्र रुचाएको छैन । ‘अहिलेको सत्ता दलाल पुँजीवादी छ,’ चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन भन्छन्, ‘त्यसैले वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ । यसका लागि अहिलेका संरचनाहरू भत्काउनुपर्छ ।’ सहर केन्द्रित आन्दोलनमा अघि बढेको यो समूह संविधानविरुद्ध उभिएपछि सरकारले उसका गतिविधिलाई आपराधिक ठहर गर्दै नियन्क्रण गर्ने निर्णय लिएको हो ।
यी दुई शत्ति गणतन्त्र र संघीयताको मूलभावना आत्मसात गरेको संविधानविरुद्ध उभिए पनि तराई केन्द्रित मधेसी दलहरू राजपा र संघीय समाजवादी फोरम यही संरचनाभित्रै रहेर संस्थापनविरुद्ध आन्दोलित छन् ।
संविधान निर्माणका क्रममा संविधानसभा बहिष्कार गरे पनि अहिले स्विकारेका यीदुवैले संविधानका कमजोरी सच्याउनुपर्ने माग राखेका छन् । संविधान संशोधनका लागि तयार भएपछि सरकारलाई समर्थन गरेको राजपाले हालै आफ्ना माग सम्बोधन नभएको भन्दै समर्थन फिर्ता लिएको छ ।
राजपा नेता केशव झाका अनुसार संविधानभित्रका ४ मुख्य विषयमा संशोधन गर्नुपर्ने यो दलको माग छ । नागरिकताको प्रावधानमा वैवाहिक नागरिकता दिनुपर्ने, राज्यका प्रमुख पदहरूमा वंशजको नागरिकता पाएका व्यक्तिमात्र जान पाउने प्रावधान खारेज हुनुपर्ने, सबै भाषाहरूलाई संविधानको अनुसूचीमा राख्नुपर्ने, एकभन्दा बढी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने, राष्ट्रिय सभामा स्थानीय तहका प्रमुखको मताधिकार राख्न नहुने, प्रदेशको सीमा हेरफेरमा सबै प्रदेशको सहमति चाहिने खालकोप्रावधान हटाउनुपर्ने यो दलका मुख्य माग हुन् ।
संविधान संशोधनबाटै यी माग पूरा हुनुपर्ने आवाज उठाउँदै आएको राजपाले अहिले आन्दोलनका क्रममा घाइते र मृतक परिवारलाई क्षतिपूर्तिर्को कुरा पनि उठाएको छ । हालै कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई जिल्ला अदालतले जन्मकैद फैसला गरेपछि यसलाई पनि राजपाले संस्थापनविरुद्ध औंला ठड्याउने विषय बनाएको छ ।
राजपाकै जस्तै माग भए पनि संघीय समाजवादी फोरम भने सरकारमै छ । सरकारमा सहभागी भएरै उसले सरकार र संस्थापन पक्षधर दलमाथि प्रश्न उठाइरहेको छ । फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री त छन् तर आफैं प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट माग र ज्ञापनपत्र पेस गरिरहन्छन् । ‘संविधानमा धैरै कमजोरी छन्, त्यसलाई सच्याउनुपर्छ भनेका थियौं,’ फोरमका महासचिव रामसहायप्रसाद यादवले भने, ‘त्यही कुरामा सहमति भएर सरकारमा गएका हौं । तर अहिलेसम्म सम्बोधन भएको छैन ।’ फोरम र राजपाका माग उस्ताउस्तै भएकाले यी दुवै दल हाल पार्टी एकीकरणका लागि पत्र आदानप्रदान गरिरहेका छन् ।
सरकारमाथि औंला उठाउने अर्को शक्तिका रूपमा तराई–मधेसमै सीके राउतको समूह पनि छ । विखण्डनको मुद्दा उठाउँदै आएको यो समूहले एक साताअघि मात्रै संविधानको दायरामा आउने प्रतिबद्धता जनाए पनि त्यसको व्यावहारिक कार्यान्वयन र आगामी कार्यदिशा अझै स्पष्ट हुन सकेको छैन ।
कसका के माग?
राजपा– संविधानमा नागरिकता, भाषा, प्रतिनिधित्व र सीमा हेरफेरको प्रावधानमा संशोधन
फोरम– संविधानका केही प्रावधान संशोधन
राप्रपा– हिन्दु राज्य, राजसंस्था पुनःस्थापना
विप्लव– राज्य सत्तामै फेरबदल/ संसदीय गणतन्त्र फाल्ने, वैज्ञानिक समाजवाद ल्याउने
राउत– स्वशासनको अधिकार खोज्दै, विखण्डनको मुद्दा छोडेपछिनयाँ कार्यदिशा तय गर्दै
सरकार भन्छ–‘संविधानबाटै सम्बोधन’
सरकारले सबै असन्तुष्ट दल र समूहहरूलाई सहमतिमा ल्याउन अधिकतम पहल गर्दै आएको जनाएको छ । संविधानको दायराभित्रैबाट धेरैका माग सम्बोधन गर्न सकिने र सरकार त्यसैमा लागिपरेको कानुनमन्त्री भानुभक्त ढकालले बताए ।
‘हाम्रो संविधानले सबै खालका असन्तुष्टि सम्बोधन गर्ने क्षमता राख्छ,’ ढकालले कान्तिपुरसित भने, ‘तर संविधानको प्रस्तावना र मूलभावना प्रतिकूल हुने कुरामा सहमति गर्न सकिन्न ।’ ठूलठूला परिवर्तनबाट संस्थागत गरिएको गणतन्त्रका उपलब्धि नै कमजोर बनाउन कोही लाग्न नहुने उल्लेख गर्दै उनले भने, ‘सरकार सबैलाई सकेसम्म सहमतिबाटै अघि बढाउन चाहन्छ ।’ प्रकाशित : kantipur, चैत्र २, २०७५ ०७:२३

हिउँको प्रदेश

हिउँको प्रदेश
चैत्र २, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — तकात्तिकमा पहिलो पटक मुस्ताङ पुग्दा चारैतिर मरुभूमिजस्तो भूमि थियो  । उजाड पहाडहरू  ।
आफ्नै देशको भूगोलको यो पाटोसँग म बिल्कुल अन्जान थिएँ । त्यसको ठीक ४ महिनापछि पुनः मुस्ताङ पुग्दा त यो मरुभूमि सेतै थियो । हिउँ नै हिउँको प्रदेश । हिउँकै पहाड, हिउँकै घर, हिउँकै सडक !
टोयोटाको नयाँ एसयूभी ‘रस’ गाडीको ‘रस टु मुस्ताङ’ यात्रा उपल्लो मुस्ताङ पुग्ने गरी फागुन २१ देखि सुरु भयो । पहिलो दिनको गन्तव्य थियो, लेते । एक त अफरोड, त्यसमाथि हिमपात । नदीको तीरैतीर बनाइएको भीरको बाटो । बाटोमा भेटिने चालकहरू गाडी माथिल्लो मुस्ताङ पुग्न नसक्ने बताइरहेका थिए । तातोपानीबाट करिब दुई घण्टाको याक्राको त्रममा बाटोमै पर्ने रुप्से झरना केही सुकेको थियो । तथापि हेर्दा मन प्रफुल्ल हुन्थ्यो । घासा पुग्दा मौसम बिग्रिन थाल्यो । पानी छिट्याउन थाल्यो । करिब ६ बजे लेते बजार पुगियो । बादलले गर्दा झमक्क साँझ परेको जस्तो देखिन्थ्यो । मौसम बिग्रिएकाले माथिल्लो मुस्ताङ पुग्न नसकिने खबरले भने मन खिन्न भयो । माथिल्लो मुस्ताङको यात्रा तुहिएपछि २३ गते मुक्तिनाथ हाम्रो नयाँ गन्तव्य बन्यो । मार्फा जोमसोम मुक्तिनाथको यात्रामा बाटोमा देखिने अन्नपूर्ण, नीलगिरिजस्ता हिमशृंखलाले उत्साहित बनाइरहेका थिए ।
मार्फा सुनसान थियो । स्याउ थिएनन् । बोट सुकेका थिए । धेरै चिसो भएकाले गाउँका बासिन्दा बेंसी झरेका थिए । होटल सञ्चालन गर्ने मात्रै थिए । चार महिनापहिले भरिभराउ देखिएका अधिकांश होटलमा अहिले ताल्चा थिए । धेरै अलमल नगरी जोमसोम पुगियो । जोमसोमको हावा चिसो मात्रै थिएन, मान्छे नै उडाउँलाजस्तो तेज पनि थियो ।
जोमसोम बजार कटेर मुक्तिनाथ जाने बाटोमा सडक वरपर हिउँ नै हिउँ थियो । सुल्खा मरुभूमि र पहाड हिउँले भरिभराउ थिए । कागबेनीसम्म पुग्दा जमिन खासै देखिएन । साथीहरू हिउँमा रमाएर फोटो खिच्न थाले । सिंगल । ग्रुप सेल्फी । कोही ड्रोन क्यामराबाट प्राकृतिक दृश्यहरू कैद गर्न थाले । म पनि उत्साहित थिएँ । हिउँमा नाच्न थालें ।
कागबेनीदेखी मुक्तिनाथ मन्दिरसम्मको यात्रामा थप स्मरणीय रह्यो । बाटो, घर, रूख र पहाडमा देखिएको हिउँको दृश्यले माथिल्लो मुस्ताङको रहर पूरा गरिदियो । हिउँले पर्यटकलाई रमाइलो भए पनि स्थानीयवासीको जीवन भने कष्टकर भएका थियो । घरको छत, आँगन, बाटो सबैतिर हिउँ भरिएकाले हिँडडुल गर्न हिउँ डोकोमा बोकेर फाल्नुपर्ने बाध्यता थियो ।
४ महिनाअघि मैले १ सय ८ घारामा नुहाएको थिएँ । यसपालि भने धारा वरपर हिउँ जमेकाले नुहाउन सकिएन । हिमपातकै कारण मन्दिरसमेत सुनसान थियो । बेलुकीको ५ बजेपछि फेरि हिउँ पर्न सुरु भयो । मुक्तिनाथ मन्दिरबाट फर्केर लेते आइयो । अर्कोदिन फेरि जोमसोम हुँदै ‘धुम्बा ताल’ पुगियो । समुद्र सतहबाट करिब २ हजार ८ सय ३० मिटरको उचाइमा रहेको उक्त ताल सुन्दर थियो । केही साताअघि हिउँका कारण ताल नै जमेको फोटो देख्न पाएका थियो । हामी पुग्दा भने हिउँ पग्लिइसकेको थियो ।
शब्द/तस्बिर:राजु चौधरी
प्रकाशित : koseli, चैत्र २, २०७५ १२:३२

यसरी नाचिन्छ सँगिनी नृत्य

यसरी नाचिन्छ सँगिनी नृत्य
फाल्गुन २६, २०७५कुम्भराज राई
ओखलढुंगा — सँगिनी नृत्य भन्नाले महिला दिदिबहिनीहरु जम्मा भएर आफ्नो दुःखलाई गीतको माध्यमबाट प्रस्तुत गर्दै तीजको बेलामा नाच्ने संस्कृतीको रुपमा चिनिन्छ ।
https://youtu.be/Pny45oj8i4o
आफना साथीस“गीस“ग दुख बा“डेर रमाउने भएकोले पनि यसको नाम स“गिनी भनिएको हो । तर हिजोआज यहा“को गाउ“घरहरुमा यो परम्परा विस्तारै लोप हु“दै गएको छ ।
यही परम्परा संरक्षण गर्ने उद्देश्यले यहा“को मानेभन्ज्याङ गाउ“पालिकाले बजेट विनियोजन गरेरै अभियान शुरु गरेको छ । स“गिनी नृत्य लोप हुन नदिन विभिन्न प्रतियोगिता र सार्वजनिक कार्यक्रममा प्रस्तुत गरि संरक्षणको अभियान शुरु गरेको हो । स“गिनी मात्र नभएर गाउ“घरमा लोप हु“दै गएका यस्ता परम्परागत स“स्कृतिलाई जगेर्ना गर्न गाउ“पालिकाले अभियान चलाउने जनाएको छ ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २७, २०७५ ०७:३३

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...