Thursday, June 13, 2019

तिलौराकोट उत्खनन : विश्वसम्पदा सूचीमा राख्न तथ्य जुट्दै

तिलौराकोट उत्खनन : विश्वसम्पदा सूचीमा राख्न तथ्य जुट्दै
चैत्र १, २०७५मनोज पौडेल
(कपिलवस्तु) — बुद्धस्थल प्राचीन कपिलवस्तु (तिलौराकोट)लाई विश्व सम्पदामा सूचीकृत गर्न प्रशस्त तथ्य र प्रमाणहरू संकलन भएका छन् । २ महिनाअघि गरिएको उत्खननबाट त्यस्ता प्रमाण संकलन भएका हुन् ।
यसवर्ष विज्ञ विदेशी पुरातत्त्वविद्सहित नेपाली टोलीले विश्व सम्पदाकै लागि केन्द्रित भई तिलौराकोटमा अन्वेषण गरेका हुन् । अध्ययन टोलीमा बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न थिए ।
यसपटक तिलौराकोटका ४ ठाउँमा उत्खनन गरिएको थियो । मध्य क्षेत्रमा पाइएको प्रशासनिक भवन संरचनाको पश्चिमी सुरक्षा किल्ला पर्खालको उत्खनन गरिएको थियो । त्यहाँ १५ मिटर लामो सुरक्षा पर्खाल भेटिएको छ । यो ५० मिटरसम्म हुने अनुमान गरिएको छ । त्यहाँ ४ वर्ष अघि जियोफिजिक्स (भू–भौतिक सर्भे) गर्दा ठूलो संरचना पाइएको थियो । पछिल्लो पटक भइरहेको उत्खननमा मध्य भागको प्रशासनिक भवन संरचना मुख्य उपलब्धि हो । जियोफिजिक्सले गरेको व्याख्याअनुसार नै नतिजा निस्कनु राम्रो भएको पुरातत्त्वविद्को भनाइ छ । मुख्य प्रशासनिक भवन ईशापूर्व तेस्रो शताब्दीतिरको हो । पश्चिमी सुरक्षा किल्ला पर्खालनजिक उत्खनन गर्दा तामाको कुषाणकालीन २ सय ५२ सिक्का भेटिएत्यस्तै सन् २०१५ मा मध्यभागमा पोखरी फेला परेको थियो । उक्त पोखरीको यस वर्ष अध्ययन गर्दा दुई किनारको छेउ भेटिए । पूर्व–पश्चिमतिरको उत्खननमा दक्षिण–पश्चिम पोखरीको कुना भेटियो भने अर्कोतिर दक्षिणपूर्वतिरको कुना भेटियो । यो पोखरी २३ सय वर्ष पुरानो रहेको अध्ययनले देखाएको छ । पूरातत्त्वविद्का अनुसार यो पोखरी तिलौराकोट दरबारमा बस्ने राजाले प्रयोग गर्थे । यो अहिले पनि पोखरीकै रूपमा देखिन्छ । जमिनको २ मिटर तल २६ तहसम्म रहेको इँटाको मनमोहक पर्खाल देखिन्छ ।
त्यस्तै समयमाई मन्दिरदेखि उत्तर पश्चिम २ वर्षदेखि गरिएको उत्खनन स्थलमा पश्चिमतिर बढाएर उत्खनन गर्दा नयाँ संरचना पाइएको छ । यसपटक तिलौराकोट कम्पाउन्डबाहिर रहेको कन्थक स्तूपमा पनि उत्खनन गरियो । त्यसका लागि जापानी नागरिक डा. नोबुओ कसाईले १ करोड सहयोग गरेका थिए । यही स्थानमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा उत्खनन गरेका थिए । त्यसपछि यस वर्ष उत्खनन भएको हो । यहाँ इँटाभन्दा पहिले प्रयोग गरिने माटोका स्तूप फेला परेका छन् । भेटिएका तथ्यको अनुसन्धान भइरहेको छ । अर्को वर्ष विस्तृत खोज गरिने पुरातत्त्वविद्हरूले जनाएका छन् । यस वर्ष माटोका मूर्ति, कुँदिएको इँटा, मानव तथा जनावरका मूर्ति फेला परेका छन् । यस्तै, कुमालेको माटोका भुग्रो, जाँतो आकारको टुक्रा र धातु पगाल्ने भाँडाकुडा पनि पाइएको छ ।
लुम्बिनी विकास कोष पुरातत्त्व अधिकृत कृष्णबहादुर केसीले यसपटक पनि वैज्ञानिक तरिकाले अध्ययन अनुसन्धान गरिएको बताए । त्यसक्रममा भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ, सोसियो इकोनोमी र भिजिटर सर्भे गरेको उनले बताए ।का थिए । यो सिक्का ईशाको दोस्रो शताब्दीतिर प्रयोग गरिएको विज्ञको भनाइ छ ।
‘उत्खनन परिणाम राम्रो हुँदा निकै खुसी छौं,’ उत्खनन परियोजना सहनिर्देशक तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले भने, ‘यस क्षेत्रको योजना र विकासका लागि कोसेढुंगा बन्न सहयोग गर्छ ।’ यसबाट तिलौराकोटको ऐतिहासिकता पुष्टि भएको उल्लेख गर्दै उनले भने, ‘अब विश्व सम्पदामा सूचीकृत हुन समस्या छैन ।’ उनका अनुसार उत्खननबाट प्राचीन सहरको स्वरूप र सांस्कृतिक विकास थाहा लाग्नेछ । तिलौराकोटको कालक्रम पत्ता लगाएर ऐतिहासिक रूपमा प्रमाणित गरे हाल रहेका भ्रम चिरेर विश्वको ध्यान तान्न थप सहयोग पुग्ने उनले दाबी गरे । ‘धेरै महत्त्वपूर्ण प्रमाण फेला परेका छन्’ लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्रले भने, ‘अब छिट्टै तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुन्छ, त्यसपछि यसको महत्व विश्वव्यापी रूपमा बढ्छ । उनले कोषले अहिलेदेखि नै तिलौराकोटमा विकासका काम थालेको र पर्यटकीय आकर्षण थप्ने काम भइरहेको बताए । ‘एक वर्षभित्रै रूप परिवर्तन हुनेछ,’ उनले भने ।
पछिल्लो उत्खननका क्रममा सय वाई मिटरको केन्द्रीय प्रशासनिक संरचना, ऐतिहासिक पोखरी, हतियार बनाउने उद्योग, व्यवस्थित सहरका पुराना संरचना भेटिएका छन् । करिब ५ सय पंचमार्क सिक्का पाइएका थिए । त्यस्तै ईशापूर्व आठौं शताब्दीका भवनका किल्ला तथा पर्खालको पोस्टहोल (काठ र बाँसका खाँबोको डोब) पनि पाइएको थियो ।
सन् २०१३ देखि यहाँ उत्खनन अन्वेषण भइरहेको छ । पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछिबाट जापान सरकारको जापानी फन्ड इन ट्रस्ट (जेफिड)को सहयोगमा युनेस्कोमार्फत अध्ययन अन्वेषण भइरहेको छ । सन् २०१९ देखि २०२१ सम्म तेस्रो चरणका लागि सम्झौता भई काम भइरहेको हो । तेस्रो चरणमा विश्व सम्पदाका लागि प्रमाण संकलन गरी डकुमेन्टेसन गरिने गरी काम अघि बढाइएको छ ।
अत्याधुनिक उपकरण प्रयोग गरेर पुरातात्त्विक मूल्यमान्यताअनुसार उत्खनन भइरहेको छ । ‘उत्खननले तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्दै गएको छ,’ डुर्‍हाम विश्वविद्यालय बेलायतका प्रोफेसर तथा प्रमुख पुरातत्त्वविद् डा. रबिन कनिङ्घमले भने, ‘भित्र प्रवेश गर्नासाथै प्राचीन सहरको व्यवस्थित र ऐतिहासिक रूपरंग देख्न सकिने बनाउँदै छौं । यहाँ संरक्षणका काम पनि थालिएको छ ।’
उत्खननमा बेलायतको डुर्‍हाम विश्वविद्यालय र लार्टोव विश्वविद्यालय अस्ट्रेलियाका प्राध्यापक, युनेस्को, पुरातत्त्व विभागका र लुम्बिनी विकास कोषका विशेषज्ञ तथा पुरातत्त्वविद् सहभागी छन् । केही दिन बंगलादेश, श्रीलंका र भारतका पुरात्त्वविद् पनि सहभागी थिए । त्यस्तै त्रिविका इतिहास र संस्कृति पढ्ने १२ विद्यार्थी पनि सहभागी छन् । उत्खनन करिब २ महिनासम्म चलेको थियो । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल भएकाले बौद्ध धर्मावलम्बीका लागि निकै महत्त्वपूर्ण मानिन्छ । तिलौराकोट सन् १९९६ मा विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको थियो ।
प्रकाशित : कान्तिपुर, चैत्र १, २०७५ ०९:३०


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...