Wednesday, October 16, 2019

न्हू पोखरीको पुनर्निर्माण सुरु


न्हू पोखरीको पुनर्निर्माण सुरु
भाद्र १३, २०७६सीमा तामाङ
काठमाडौँ — पोखरी तथा ढुंगेधाराको मुख्य स्रोत मानिएको लगनखेलस्थित न्हू पोखरी करिब चार दशक अगाडि सुकेको थियो । पोखरीमा पानी घटेपछि जमिन अतिक्रमणमा पर्‍यो । पोखरीवरिपरिको डिल भत्काएर फुटपाथ पसल, झुपटपट्टी, सवारीसाधन पार्क गर्ने थलो बन्यो । 
पोखरीको पानी सुकेपछि डम्पिङ साइट, घर भत्काइएको सामान फाल्ने र सुंगुरबंगुर खेल्ने ठाउँ बनेको थियो । हाल ललितपुर महानगरले न्हू पोखरी पुनर्निर्माण सुरु गरेको छ ।

करिब १० रोपनी जग्गामा फैलिएको पोखरीको छेउमा ८ फिट र बीच भागमा १५ फिट गहिरो छ । अब बन्ने पोखरी बच्चादेखि वृद्धसम्मका लागि बस्न मिल्ने गरी बनाइने छ । पोखरीमा पानीको फोहोर अर्थात् वाटर फाउन्टेन, बोटिङ गर्न मिल्ने, सार्वजनिक शौचालय, प्राकृतिक विपद् आइपर्दा बस्न मिल्ने ठाउँ निर्माण हुने भएको हो ।

ललितपुर महानगरले न्हू पोखरी निर्माणका लागि गत वर्ष ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । जुन बजेटको काम अहिले भइरहेको वडा– ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले बताए । यस वर्ष पनि पोखरीका लागि महानगरले १ करोड बजेट छुट्याएको छ । ५ करोड लागतमा बृहत् योजनासहित पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार आवश्यक परे वडा कार्यालय भत्काइने छ । वडा कार्यालय विस्तारका क्रममा नयाँ भवन निर्माण गरिएको थियो ।

पोखरी मााःआपा (पुरानो शैलीको ६ इन्च चौडाइ र ८ इन्च लम्बाइ भएको इँटा) र बज्र (सुर्की, बालुवा र चुना मिसाएर बनाएको), कालो माटो मिलाएर निर्माण गरिरहेको, पुनर्निर्माणको जिम्मा लिएका भक्तपुरको कृष्णप्रसाद दुमरुले बताए । उनी भाजुपोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । भक्तपुरको ९ सय वर्ष पुरानो भाजुपोखरी र सिद्धपोखरी पनि उनकै समूहले निर्माण गरेका छन् । हाल उनकै समूहले काठमाडौंको रानीपोखरी पनि पुनर्निर्माण गरिरहेका छन् ।

पोखरीको पश्चिम भाग सडक विस्तारका क्रममा माथिल्लो तह नै सडकमा गाभिन गएको छ । उत्तरको भाग नर्सरी र दक्षिण भागमा वडा कार्यालय ५ को भवन निर्माण भएको छ । पोखरी उत्खनन गर्दा पोखरीभित्र जाने खुडकलो, स्लोभ वालहरू भेटिएको दुमरुले बताए ।

त्यस्तै पोखरीको बीच भागमा १४ फिट लम्बाइ र १४ फिट उचाइ भएको ४ फिटको काठको टुक्रा पनि फेला परेको छ । तर अहिले उक्त काठ पोखरीको पानीले छोपिएको उनले सुनाए । इतिहासविद्, सम्बन्धित सरोकारवालाले उक्त काठको बारेमा कुनै पनि खोजीेकार्य नगरेको उनको गुनासो छ । खोजी गरे थप तथ्यहरू फेला पर्ने उनको अनुमान छ ।

हाल दक्षिणतर्फ पानी बस्ने ठाउँको स्लोभ वाल निर्माण गरिरहेको छ । पोखरीमा भेटिएको पुरानो अवशेषका आधारमा पोखरी निर्माण भइरहेको छ । गत वर्षको बजेटले अहिलेसम्म पोखरी उत्खनन तथा गाह्रो लगाउने काम गरे पनि केही भागसम्म अधुरो रहने उनको अनुमान छ ।

काठमाडौंको रानीपोखरीलाई पनि ‘न्हू पुखु’ भनिन्छ । न्हूको अर्थ नेपालभाषामा नयाँ भन्ने बुझिन्छ । तत्कालीन समयमा नयाँ भएकाले पोखरीको नाम ‘न्हू पुखु’ रहेको हुन सक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । लगनखेलको न्हू पुखु १६औं शताब्दीमा सिद्धिनरसिंह मल्लको समयमा निर्माण भएको मानिन्छ । यहाँ राजकुलोबाट पानी भरिन्थ्यो । पाटनका लागि टीकाभैरव राजकुलोबाट बगेर आउने पानीले पाटनका पोखरी भरिन्थे ।प्रकाशित : भाद्र १३, २०७६ ०८:३७


द्यो ब्वोय्केगु


द्यो ब्वोय्केगु
आश्विन २७, २०७६लीला श्रेष्ठ
भक्तपुर — भक्तपुरको नवदुर्गा देवगण नाचको इतिहासमा पहिलोपल्ट आइतबार कोजाग्रत पूर्णिमाको अवसरमा द्यो ब्वोय्केगु (नवदुर्गा देवता प्रदर्शन) गरिएको छ । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारी नवदुर्गा देवगणको दर्शन, पूजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर द्यो ब्वोय्केगु आयोजना गरेको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । 
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख नवदुर्गा मन्दिरमा पूजाआजाका लागि आउने प्रचलन छ । सोही प्रचलनअनुसार कोजाग्रत पूर्णिमाको दिन दर्शनका लागि आउँदा राष्ट्र प्रमुखलाई द्यो ब्वोय्केगु कार्यक्रम गर्ने धेरै वर्ष अघिदेखिको प्रयास पूरा गरेको समितिका अध्यक्ष वृजेश वनमालाले बताए ।

द्यो ब्वोय्केगुका लागि सूर्यविनायक नगरपालिकाले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको समितिका सचिव रत्नमान वनमालाले बताए । नवदुर्गा देवगणको द्यो ब्वोय्केगु सर्वसाधरणले आफ्नो भाकल गरेको मनोकामना पूरा भएमा इच्छाअनुसार गर्न सकिने उनले बताए । द्यो ब्वोय्केगुमा नवदुर्गा देवगणलाई गच्छेअनुसार भोज चढाउने गरिन्छ ।

नवदुर्गा भवानीको नाच व्यवस्थापन एवं मौलिक जात्रा संरक्षणका लागि ५२ लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिने भएको छ । अक्षयकोषका लागि जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालको संयोजकत्वमा १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघको ५ लाख १५ हजार रुपैयाँ गरी कुल २० लाख १५ हजार रुपैयाँ नवदुर्गा देवगण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । अक्षयकोषको उक्त रकम राष्ट्रपति विद्यादेवी भण्डारीले श्री नवदुर्गा गण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् । अक्षयकोषका लागि समितिले ३२ लाख रुपैयाँ संकलन गरेको समितिका सचिव वनमालाले बताए ।

राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति भण्डारीले पूजा तथा प्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष वडादसैंको अन्तिम दिन राष्ट्र प्रमुखद्वारा नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्ने प्रचलन छ । राजा हुँदा राष्ट्र प्रमुखको हैसियतले राजाबाट प्रसाद ग्रहण हुन्थ्यो । गणतन्त्र स्थापनापश्चात् राष्ट्रपतिबाट प्रसाद ग्रहण हुँदै आएको छ ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको पूजा गराई टीका एवं प्रसाद प्रदान गरेका छन् । राष्ट्रपति भण्डारीलाई नवदुर्गा देवगणका मूल पूजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका छन् । प्रसाद ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा नाच अवलोकन गरी नवदुर्गाका पूजारी, नाइके र देवगणलाई जनही १ सय ५० का दरले दक्षिणा प्रदान गरेकी छन् ।प्रकाशित : आश्विन २७, २०७६ ०९:१७


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...