Wednesday, October 16, 2019

मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर


मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर
भाद्र ३१, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — राजधानीको थापाथलिस्थित जंग हिरण्य हेमनारायण मन्दिरको पुनर्निर्माण रोकिएको छ । मौलिक शैलीमा पुनर्निर्माण नभएपछि सरोकारवालाले मन्दिर निर्माणमा रोक लगाएका हुन् । 
माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर राख्नुपर्ने भए पनि सामान्य गजुर मात्र राखिएको छ । त्यस्तै तेस्रो तल्लाको चारै कुन्नामा राखिएको चार सिंह (मेघ, मल्ल, सिंह र सधुन) पनि सफा नगरी राखिएका छन् ।

मन्दिर मौलिक स्वरूपमा नबनाएकाले पुनर्निर्माणमा रोक लगाएको काठमाडौं महानगर–११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए । ‘पुरातत्त्व विभागले निर्माण गरेको मन्दिरमा नागसहितको गजुर नराखी अर्कै गजुर राखिएकाल पुनर्निर्माणमा रोक लगाएको हो,’ उनले भने । हाल विभागलाई मौलिक शैलीमा नै पुनर्निर्माण गर्न निर्देशन दिइएको उनले बताए ।

पुरानो मन्दिरको माथिल्लो भाग शिखर शैलीको थियो भने, अहिले उक्त भाग मण्डप शैलीतिर ढल्केको छ । ती भाग पनि चर्किएको स्थानीयको भनाइ छ । मन्दिर शिखर शैलीमै बनेको भए पनि आकारमा परिवर्तन आएकोे पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुँवर बताउँछन् । मन्दिरको आकारमा परिवर्तन आएको स्थानीयको गुनासो छ तर आकारको अहिलेसम्मननापेको भनाइ छ ।

‘मन्दिरको काम बाँकी भएकाले रोकेको छ,’ उनले भने, ‘त्यसैले गजुर पनि राखिको छैन, हराएको भने होइन ।’ मन्दिरको पुनर्निर्माण नसकिएकोले गजुर नराखेको उनको भनाइ छ । करिब एक महिनापछि मन्दिरको काम सुरु हुने उनले बताए ।२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएको थियो । पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएपछि २०७३ सालमाठेक्का दिएको थियो ।

बीचमा निर्माण केही समय रोकिए पनि २०७५ मा सकाउने लक्ष्य लिइएको मन्दिर भने हालै मात्र निर्माण सम्पन्न भएको हो । जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित वाग्मती किनारमा उक्त मन्दिर बनाएका थिए ।

उक्त कालमोचन घाटमा नै राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीनतल्ले ‘जगं हिरण्य हेमनारायण मन्दिर’ निर्माण गरेका थिए । माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर र तेस्रो तल्लाको चारै कुन्नामा चार सिंह राखी स्थापना गरिएको मन्दिर अगाडि भने जंगबहादुरकै पूर्णकदकोप्रतिमा रहेको छ ।

बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा उक्त मन्दिर निर्माण गरेका थिए । करिब ३० रोपनी क्षेत्रफलमा निर्माण गरेको मन्दिर परिसरलाई कालमोचन घाट पनि भनिन्छ । हेमनारायण मन्दिरको अगाडि राणा खानदानी किरिया बस्ने गर्दछन् । त्यहाँ संन्यासी, उदासी र वैरागी गरी तीन अखडारहेका छन् ।प्रकाशित : भाद्र ३१, २०७६ ०७:३४


मल्लकालीन शैलीमा बन्दै थन्थु दरबार


मल्लकालीन शैलीमा बन्दै थन्थु दरबार
भाद्र १३, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — भक्तपुर नगरपालिकाले थन्थु दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने भएको छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार परिसरको तलेजु भवानी, मूलचोकको पूर्व–उत्तरमा अवस्थित दरबार नगरपालिकाले फोटोलगायत प्राप्त प्रमाण र विज्ञको सुझावबमोजिम पुनर्निर्माण गर्ने तयारी गरेको नगर उप–प्रमुख रजनी जोशीले बताइन् । 
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार दरबार नेपाल सम्वत् ७९८ मा राजा जितामित्र मल्लले बनाउन लगाएका हुन् । जितामित्र मल्लले सिद्वि र सुन्धारा चोक गरी दुई चोकसहित दरबार निर्माण गरेको उनी बताउँछन् । नेपाल सम्वत् ८०१ को विनाशकारी भूकम्पमा भत्किएपछि जितामित्र र उनका छोरा भूपतेन्द्र मल्लले सुन्दरीकरण गरी ५५झ्याले दरबारसँगै निर्माण गरेको उनले बताए ।

१९९० माघको भूकम्पका कारण क्षतिग्रस्त मल्लकालीन थन्थु दरबार राणाकालीन शैली (नियोक्लासिक) शैलीमा बन्यो । जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि नियोक्लासिक शैलीमा निर्माण गर्न लगाएको नगरपालिकाले जनाएको छ । सोही राणाकालीन शैलीको भवन ०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भयो ।

क्षतिग्रस्त भवन जस्ताले छोपेर अस्थायी संरक्षण गर्ने कार्य गरिएको छ । भूकम्प गएको ४ वर्षपछि भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ मा पुनर्निर्माण थालिने गरी १ करोड रुपैयाँ विनियोजन गरेको नगर उप–प्रमुख जोशीले बताइन् । नगरपालिकाले करिब १४ करोड ८० लाख रुपैयाँ लागत इस्टमेट तयार गरेको जनाएको छ । पुनर्निर्माणका लागि नक्सा, स्केचको काम भइरहेको आर्किटेक इन्जिनियर एवं उप–प्रमुख जोशीले बताइन् ।

त्यसैगरी, नगरपालिकाले दरबार क्षेत्रकै तत्कालीन नक्सा तथा कानुन शाखा भवनलाई समेत पुरानै शैलीमा निर्माण गर्ने तयारी थालेको छ । भवन निर्माणका लागि नगरपालिकाले करिब ८ करोड ४६ लाख लागत इस्टिमेट गरेको भक्तपुर नगरपालिका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए ।

नगरपालिकाको तथ्यांकअनुसार ०७२ वैशाखको भूकम्पका कारण भक्तपुर नगरको ६७ सम्पदा पूर्ण क्षति, ४९ आंशिक क्षति गरी १ सय १६ सम्पदामा क्षति पुगेको छ । जसमध्ये, ४१ मन्दिर, २६ सत्तल, ३१ पाटी, २ ढुंगेधारा, २ प्रवेशद्वार र ६ भवनमा क्षति पुगेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७५/७६ सम्ममा १७ मन्दिर, ६ सत्तल, ३४ पाटी, ५ ढुंगेधारा, २ प्रवेशद्वार, ४ द्यो छें, ५ पोखरी, ५ इनार र अन्य गरी ८३ सम्पदा पुनर्निर्माण भएको सम्पदा शाखा प्रमुख इन्जिनियर श्रेष्ठले बताए ।प्रकाशित : भाद्र १३, २०७६ ०७:३३


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...