Saturday, December 01, 2018

Sindure festival in Thimi of Nepal


थिमिमा सिन्दुरे जात्राको रमाइलो

वैशाख २, २०७५तस्बिर : अंगद ढकाल

भक्तपुर — बिस्केट जात्राका अवसरमा मध्यपुर थिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् 

थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । शनिबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो ।

जात्रा शुरु भएपछि पमा (जात्रा चलाउने नाइकेका सहयोगी)हरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमति लिई बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा कायाँ बाजा, भुस्या बाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एकार्कालाई सिन्दूर दल्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणसहित क्वाछें द्यो(देवता), हिचो द्यो, अजिमा द्यो, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिन्छ ।

परम्परानुसार नै देवता लायकू दरबारभित्र पस्न नपाऊन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गण बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याइने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ ।आजै अपराह्न थिमिको जिब्रो छेड्ने जात्रा शुरु हुँदैछ । बोडेका ४६ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । उनले यसअघि पाँच पटक जिब्रो छेडिसकेका छन् । (रासस)


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...