‘पिताजीको अनैतिक चरित्र’
संस्मरण
माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै
राति बिछ्यौनामा सँगै हुन भरे आइज ।’ त्यो केटीले मानिन । माताजीले त्यसको जगल्टा समातेर गालामा थप्पड हान्नुभयो । त्यो केटी उठेर आफ्नी आमाछेउ गई ।
मंसिर २२,
२०७५
काठमाडौँ — ती युवतीसितको अवैध सहवासले गर्दा
पिताजीबाट हामी छोराछोरी र माताजीले ठूलै दु:खकष्ट भोग्नुपर्यो । त्यो सम्बन्धबाट पिताजीलाई बाहिर निकाल्न हामीले प्रयास गर्दा सन् १९५५ मा उहाँले हामीसित रिसाएर बनारसको हाम्रो घर आफ्ना माहिला दाजुको
जेठा छोरालाई बकसपत्र लेखेर छोडिदिनुभयो । त्यतिबेलै त्यो घरको मोल करोड थियो ।
माताजीको अवसानभन्दा
निकै वर्षपहिले नेपालमा भीमशमशेरको प्रधानमन्त्रीत्वको समयको कुरा हो । मेरा पिताजीलाई उनले गम्भीर यातनाहरू दिइरहेका थिए । त्यस्तैमध्ये एउटा थियो— घर र डिल्लीबजार खोरमा आधाआधा समय बस्नु । पिताजीले बिहान आठ बजेदेखि भोलिपल्ट बिहान आठ बजेसम्म चाहिँ डिल्लीबजारको खोरमा थुनिनुपथ्र्यो । तिनताका दुई जना लट्ठीधारी प्रहरी उहाँका साथै रहन्थे ।
संवत् १९८७ सालको घटना
हो यो । एक दिन पिताजी हाँडीगाउँको आफ्नो घरमा आउनुभयो । रातको साढे सात बजेको थियो । दुई जना प्रहरी तल
दलानमा थिए । म आठ वर्षको केटो थिएँ । मेरा दुई दिदी दस र तेह्र वर्षका थिए । हामीलाई कोठाबाहिर राखेर पिताजीले ढोका बन्द गर्नुभयो । माताजीसँग उहाँको कुन कुरामा विवाद बढ्यो, जथाभावी पिट्न थाल्नुभयो । कोठामा रहेका जुत्ता र खराउले नपुगेपछि लट्ठीले पिटेको पिट्यै गर्नुभयो । हामी तीन जना केटाकेटी रुँदै बाहिरबाट ‘ढोका खोल्नु, ढोका खोल्नु’ भन्दै कराइरह्यौँ । आधा घण्टापछि पिताजी ढोका खोलेर सोझै तल जानुभयो र दलानमा पर्खिरहेका प्रहरीसँगै डिल्लीबजार खोरतिर जानुभयो । जाँदाजाँदै उहाँले मलाई भन्नुभयो, ‘असनको त्यो वैद्य पसलमा यस्तो नीलडाम घाउमा
लगाउनुपर्ने लेप पाइन्छ । सो किनेर ल्याएर भोलि माताजीका घाउहरूमा लगाइदिनू ।’ गएर माताजीका पिठ्युँ, आङ, पाखुरा, खुट्टामा जताततै नीलडाम थिए, छाला
चर्किएर रगत बगिरहेको थियो ।
भीमशमशेरकै समयमा हाम्रो
घरसँगैको अर्को घरको एउटा कोठामा पूर्व एक नम्बरका एक जनसेनाका तल्लो तहका अधिकारी
डेरा गरी बस्थे । तिनलाई हामी ‘हवल्दार’ भन्ने गथ्र्यौं । एक दिन तिनले आफ्नो घरबाट किशोर उमेरकी आफ्नी छोरी लक्ष्मालाई
डेरामा ल्याए र भीमशमशेरको टङ्गाल दरबारमा सुसारे सेविकाका रूपमा भर्ना गरिदिए ।
जहानियाँ शासनको त्यो
कालो युगमा ‘रोलवाला सत्र भाइ राणाजी’ को बिगबिगी थियो । ती प्रत्येकका घरमा पाँच जनादेखि पच्चीस जनासम्म चौध वर्षदेखि अठार वर्षसम्मका किशोरीहरू सुसारेका
रूपमा राख्ने चलन थियो । तिनलाई राणाजीहरू भोग गर्थे । निकै गोरी, छरितो
जिउकी लक्ष्मा भीमशमशेरका छोरा पद्मशमशेर र अन्य राणाजीहरूकी उपभोग्य थिई । टङ्गाल दरबारमा भर्ना भएको चार महिनापछि माघमा त्यो केटी हाम्रो घरमा आफ्ना बाबुआमालाई भेट्न आई । तीन दिनको घर बिदामा
आएकी त्यो केटी र मेरी माताजीबीच एक दिन दिउँसो दुई बजे दलानअगाडिको पेटीमा बसेर
कुराकानी चलिरहेको थियो । म त्यसको ठीक माथिपट्टि झ्यालमा बसेर दुवै जनाको गफ सुनिरहेको थिएँ । त्यस बेला माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज ।’ त्यो केटीले मानिन । माताजीले त्यसको जगल्टा समातेर गालामा थप्पड हान्नुभयो । त्यो केटी उठेर आफ्नी आमाछेउ गई ।
यो घटना अर्कोपटक पनि
भयो । भीमशमशेर मरिसकेका थिए । लक्ष्मा रुद्रशमशेरको दरबारमा सरुवा भएर आइसकेकी थिई । जुद्धशमशेर श्री ३ भएका थिए । एक दिन त्यो केटी आफ्नो बाबुलाई भेट्न हाम्रो घर आएकी थिई । हामी आँगनमा खेल्दै थियौँ । त्यो केटीले औँलाले मतिर देखाउँदै भनी, ‘ऊ मेरो पोइ !’ म बाह्र वर्षजतिको थिएँ होला । त्यो केटीले भनेको मैले बुझिनँ । ‘पोइ’ भन्ने शब्दको अर्थ नै मलाई थाहा थिएन । अंशबन्डामा हाम्रो भागमा पर्नुभएका र रोजै बिहान आएर हाम्रो घरका देवता
शालिग्रामको पूजा गरिदिनुहुने, मभन्दा सात वर्ष जेठा धरणीधर भट्टराईलाई मैले
भोलिपल्ट सोधेँ, ‘लक्ष्माले
मलाई देखाएर ऊ मेरा पोइ भनी । यो भनेको के हो ?’ उहाँले
मलाई बताउनुभयो, ‘विवाह
गरेको एक जनालाई पति भनिन्छ । त्यसपछि अर्कोसित टाँस्सियो भने फुँडी र तेस्रो मानिससित सुत्यो भने त्यसलाई रन्डी भनिन्छ । रन्डीले स्वर्ग जान पाउँदैनन् । त्यही पनि ऊ मेरो पोइ भनी मान्छेलाई देखाउँदै एक हजार सङ्ख्या पुर्यायो भने त्यो केटी स्वर्ग गएर इन्द्रकी पत्नी भएर रानी हुन पाउँछे ।’
माताजी मूच्र्छा पर्ने
क्रम चलिरह्यो । स्थानीय वैद्यले भनेबमोजिम हाम्रो खेतको कान्लामा रहेको बोझोजस्तो जडीबुटी खुवाउने काम चलिरह्यो । तर, कुनैले पनि काम गरेन । सन् १९४५ मा वीरगन्जको
हरिनारायण नामक मारवाडीको बगैँचामा भाइ महेशको विवाह भएको थियो । त्यस विवाहका क्रममा एक साँझ एउटी युवतीले मलाई फकाउने प्रचण्ड
कोसिस गरेकी थिइन् । त्यस बेला म एमए पहिलो वर्षमा पढ्दै थिएँ र संन्यासी हुनेबारे कोसिस गर्दै थिएँ । मैले नमानेपछि ती युवती मेरा पिताजीतिर ढल्किछन् । सन् १९४६ को अन्तिमतिर म बलरामपुरमा काहिँला पितृव्यका
छोराको व्रतबन्धको निम्तो मान्न मेरा सानाकान्छा पितृव्य हरमणि दीक्षित पनि
काठमाडौँबाट आउनुभएको थियो । एक दिन उहाँले मलाई भन्नुभयो, ‘मदनबाबु, यता आउँदा म वीरगन्जमा तिम्रा पिताजीको डेरामा
दुई दिन बसेको थिएँ । त्यस बेला तिम्रा पिताको चालचलन र चरित्रबारे मैले आफूले देखेका कुरा तिमीलाई भन्दै छु । मलाई त्योचित्त बुझेन ।’
पछि गएर यस विषयले दारुण
रूप लियो ।
त्यसै बेलाको कुरा हो । माताजी पिताजीलाई सम्झाउन वीरगन्जबाट बनारस जानुभएको थियो र आफ्नी विधवा दिदीको डेरामा बस्नुभएको थियो । भाइ महेशमणिले उहाँलाई त्यहाँ
पुर्याएका थिए । पिताजीलाई रामकटोरामा भेटेर सम्झाउन दिउँसो तीन बजेतिर उहाँ त्यतै जानुभएछ । तर, घरको ढोका बन्द रहेछ । जमिनबाट तीनवटा ढुङ्गे खुड्किला चढेपछि ढोकामा पुगिन्थ्यो । उहाँले ढोकामा पुगेर ढकढक गर्नुभएछ । पिताजीले ढोका खोल्नुभएछ । ढोका खुलेपछि माताजीले
निहुरिएर खुट्टामा ढोग्न खोज्दा पिताजीले दाहिने खुुट्टाले माताजीको शिरमा हानेर
तीन खुड्किला तल लडाइदिनुभएछ । उहाँहरूबीच कुनै कुराकानी हुन पाएन । शरीरमा घाउचोट बोकेर माताजी आफ्ना दाजुको घर फर्किनुभयो । डाक्टर बोलाइयो र आवश्यक मह्लमपट्टी गरियो । स्वस्थ भएपछि
उहाँ आफ्ना काहिँला देवर यज्ञमणिलाई भेट्न बलरामपुर जानुभयो, पिताजीलाई
सम्झाउन–बुझाइदिन भन्नलाई ।
माताजी बलरामपुरमा
पन्ध्र दिन बस्नुभयो । उहाँको एपिलेप्सी झन् बल्झेछ । लखनउबाट डाक्टर बोलाइयो । त्यो डाक्टरले केही गर्न सकेन र भनेछ, ‘अब उहाँको जीवन लामो छैन ।’ त्यस बेला भाइ महेश वीरगन्ज फर्किसकेका थिए । संवत् २०१३ साल सुरुको कुरा हो यो । म काठमाडौँमा थिएँ । बलरामपुरबाट मेरा नाउँमा टेलिग्राम आयो, तुरुन्तै आउनू भनेर । चार दिनपछि म बलरामपुर पुगेँ । माताजीको स्वास्थ्य राम्रो हुँदै रहेछ । दुई दिनपछि बलरामपुरबाट पितृव्यको मोटरगाडीमा गोन्डासम्म र त्यहाँबाट
रक्सौलसम्म ट्ेरनमा मैले माताजीलाई ल्याएँ । छपरादेखि बेतियासम्मको ट्ेरन यात्रामा माताजी फेरि दुई पटक मूच्र्छा पर्नुभयो, अवसानप्राप्त हुनुहोलाजस्तो स्थितिमा पुग्नुभयो । त्यस बेला म ट्ेरनको तेस्रो दर्जामा थिएँ भने सुविधा होस् भनेर माताजीलाई दोस्रो दर्जामा राखेको थिएँ । दोस्रो दर्जामा छपरादेखि काठमाडौँकै मणि परिवारका नातेदार कोपुण्डोलका हर्षनाथ थिए र उनैले हेरविचार गरिदिए । मैले आफूसित रहेको होमियोप्याथिक औषधि माताजीलाई खुवाउने गर्दै आएको थिएँ ।
बलरामपुरबाट फर्केपछि
हामीले रुपैयाँ पैसाको अभावले गर्दा अति दु:ख भोग्नुपर्यो । वीरगन्जमा छउन्जेल मेरी देवीजीले माइतीघरबाट सहयोग ल्याएर चामल, दाल, तरकारी, मसला आदिको सम्पूर्ण खर्च चलाउने गरेकी थिइन् । त्यहाँबाट सुरुमा म एक्लै काठमाडौँ आएको थिएँ, कुनै काम पाइन्छ कि भनेर ।
यथार्थ भन्ने हो भने
त्यस बेला मेरा कान्छा भाइ महेन्द्रमणि तथा माहिला भाइ महेशमणि गम्भीर बिरामी
हुँदा पनि देवीजीमार्फत मेरो ससुरालीले सम्पूर्ण खर्च बेहोरिदिएको थियो ।
माताजीबारे यी कुरा
नलेख्ने र पिताजीले वीरगन्जकी ती युवती अर्थात् आफ्ना मामाकी नातिनीकी छोरीसित
सहवास बढाएका बारेमा कुनै चर्चा नगर्न मेरी देवीजीले मसित बराबर आग्रह गर्ने
गर्थिन् । उनी भन्थिन्, ‘अन्य केटीसितको व्यवहारमा पिताजीले गल्ती
गर्नुभएकै हो ।... सबैमाथि आक्रमण गर्नु पनि नराम्रो हो । तथापि जे हुनु थियो, त्यो सब भयो । अब आएर
पिताजीमाथि मात्र किन दोष थोपर्ने ? हजुर
आफूले पनि सहनुपथ्र्यो तर कहिल्यै सहने कोसिस गर्नुभएन ।’
आफ्नी पत्नीका
गुनासाहरूलाई म नाजायज भन्दिनँ, तथापि मेरो स्वाभिमानले पिताजीको अनैतिक
चरित्रका सामुन्ने निहुरिने अनुमति मलाई दिएन । पिताजीले कतिसम्म निकृष्ट
व्यवहार गर्नुहुन्थ्यो भने एकचोटि मलाई ती युवतीका अगाडि भन्नुभएको थियो, ‘मेरा
मामाकी नातिनीकी छोरी हो । तसर्थ तेरी दिदी पनि हो । ल, यो दिदीको खुट्टामा ढोग् ।’ आफूले अवैध सहवास गरिरहेकी केटीको खुट्टामा ढोग्न पिताजीले मलाई अह्राउनुलाई मैले त्यस बेला आफ्नो स्वाभिमानका
निम्ति अत्यन्त ठूलो आघात ठानेको थिएँ । मेरो स्वाभिमानको आधार पनि थियो । मेरा पितामह काशीनाथ आचार्य दीक्षितका भारतका धेरै ठूला विद्वान् डा. सर्वपल्ली राधाकृष्णनले मेरो स्वाभिमानलाई पुष्टि गरेका थिए । त्यसैले मेरानिम्ति पिताजीको त्यो आचरणगत भ्रष्टता
असह्य हुने गरेको थियो । आफ्नो त्यो असहिष्णुताले गर्दा एक पटक मैले घरपरिवार सबै छाडेर सदाका लागि बिदेसिने निर्णय पनि गरेको थिएँ । तर, माताजी र परिवारप्रतिको कर्तव्यले मलाई रोकेको
थियो ।
माताजीको मानसम्मानबारे
सम्झिने प्रयास गर्दा म त्यस बेलाका वरिष्ठ र प्रबुद्ध काशीनाथ आचार्य दीक्षितको
समय र समाजको अवस्था तथा सामाजिक सम्बन्धबारे ध्यान दिन्छु—
–त्यो
परिवारमा सवारी साधानका रूपमा नौवटा तिब्बती घोडा थिए । तिनको भोजन र स्याहारसुसारका लागि एघार जना सइस र कामदारहरू थिए । ती सबै त्यस बेलाको ऐन–कानुनअनुसार ‘कमारा’
थिए । ती कमाराहरूका कमारी पत्नी पनि त्यही घरमा काम गर्दै वर्षका दुई जोर (रामनवमी र बडादसैँमा) सबैभन्दा सस्तो कपडाको धोती–चोलो पाउने गर्थे ।
–तबेलाको
काम गर्नेबाहेक परिवारका सदस्यहरूको दैनिकको सेवा कार्यका निम्ति एक–एक जना कमारी
रहने गरेका थिए । ती कमारीका लोग्नेहरू पनि रहने गर्थे । एउटी कमारीले मेरी माहिली दिदीको विवाहको अन्त्यमा लोकन्ती भएर जानुपर्दा भाने भन्ने उसको लोग्नेले नयाँ सुती साडीको माग गरेको थियो । त्यसबाट रिसाएर उसलाई मेरा एक पितृव्यले हात समातेर फनफनी घुमाएका थिए र त्यसको दाहिने पाखुरा भाँचिएको
थियो । यो संवत् १९७७ सालको घटना हो ।
–त्यही
भाने कमारोले एक दिन मेरा एक पितृव्यको दराजमा रहेको बट्टा चुरोट झिकेर सल्कायो । त्यो अपराधबापत उसका दुवै हातमा कटक बिजुली बाँधेर चक्का घुमाई एक घण्टासम्म बिजुली लगाइयो । बिजुली लागेको समयमा भाने एक डल्लो भएर
भुइँमा लडिरह्यो । चार घण्टापछि त्यो केटोको होस खुल्यो र उठेर काम गर्न थाल्यो । यो घटनाको साक्षी थिएँ म ।
–हाम्रो
घरमा काम गर्ने कमाराकमारी र भोजन पकाउने बाहुन बाजे र बाहुनी बज्यैहरूले
बिहान–बेलुका मकैको पीठोको ढिँडोसँगै रायोको साग खानुपथ्र्यो ।
–कमारीहरू
हाम्रो घरमा बस्दा अज्ञात व्यक्तिबाट सन्तान जन्माउँथे र त्यस्ता सन्तानलाई हाम्रो
त्यो विशाल घरको चारैतिरको पर्खालको फेदमा लुकाएर गाडिदिने गर्थे ।
–मेरा
पितामह चढ्ने घोडा पुड्को, निक्खर कालो र निकै फुर्तिलो थियो । पितामहले पहिरिने कोटमा घोडाको कालो रौँ
एउटा मात्र पर्यो भने पनि उहाँ गैरिधारादेखि टुँडिखेलको खरीको बोटसम्म जाँदा
सयसले घोडाले जति नै उहाँको लट्ठीको पिटाइ सहनुपथ्र्यो ।
–पितामहको
शान्ति निकेतन नामक त्यस घरमा चर्पी घरभित्रै थियो । तर, केही फरक सातवटा चर्पी कोठा बनाइएका हुन्थे । पितामह भने आफ्नै कोठामा कोपरामा आफूलाई हलुका तुल्याउनुहुन्थ्यो । चार वर्षदेखि एघार वर्षसम्मका केटाकेटीहरू चर्पीघरतिर जाने ढुङ्गे ओसारोको छेउको नालीमा दिसा गर्ने गर्थे । चर्पीकोठासम्म जान चाहनेहरूले ती फोहोरमैलामा कुल्चिँदै जानुपथ्र्यो । चर्पीकोठाको कनेस्टर भरिएको सात दिनपछि त्यसलाई खेतमा लगी घोप्ट्याइन्थ्यो ।
–मेरा
एक पितृव्यले घरको तेस्रो तलामा आफ्नो कोठाबाहिर सिमेन्टको सानो चर्पी बनाउनुभएको
थियो र उहाँ आफूलाई हलुका पार्न त्यहाँ नाङ्गै बस्ने गर्नुहुन्थ्यो । त्यस बेला घरका पाँच–सात जना केटाकेटीले उहाँको सामुन्ने बसेर
दिसा निस्केको तथा पिसाब बगेको हेरिहरहनुपथ्र्यो ।
–त्यो
विशाल घरमा भान्साघर दुईवटा जस्तै थिए । एउटा कोठामा मेरा पितामहका निम्ति प्राय: मेरी पितामही उच्चस्तरीय चामल, साग, तरकारी, आलुको अचार, बाक्लो पारेको दूध तयार पार्नुहुन्थ्यो । भोजन तयार भएपछि एउटी कमारीले
गएर पितामहका सामु ‘तल बज्यैले भन्नुभयो, भोजन तयार भयो’ भन्नुपथ्र्यो । पितामहले भोजन गरिसकेपछि पितामहीले त्यही ठाउँमा बसेर तिनै थाल र कचौरामा पतिले बाँकी छाडेका ‘पुरा’ खानुपर्ने चलन थियो । पितामहबाहेक अरूका लागि छुट्टै भोजन पाक्ने गथ्र्यो ।
–पितामह
र पितामहीको भोजन सिद्धिएपछि भान्साको ढोकाबाहिर झुन्डिएको धातुको एउटा घन्टामा
काठको हथौडीले ठूलो आवाज आउने गरी दुई पटक हानिन्थ्यो । त्यसपछि घरका छोराहरू भोजन गर्न आउने गर्थे ।
–छोराहरूले
भोजन गरिसकेपछि भान्से बाहुन बाजेले उही घन्टामा तीन पटक हान्थे । यसपछि घरका बुहारीहरू भान्साघरमा आउँथे र पतिदेवले छाडेका पुराको थालमा खाने गर्थे । तिनले खाँदाखाँदै बाहुन बाजेले थप भोजन पनि पस्कने गर्थे ।
–एवंरीतले
पितामाताले खाइसकेपछि छोरा र छोरीहरूको भोजन गर्ने समय आउँथ्यो । केटाकेटीलाई भान्साकोठाको बाहिर रहेको पेटीमा नत्र आफ्नो कोठाबाहिरको मटानमा कमारी वा तिनका माताहरूले लगेर खुवाउने गर्थे ।
माथि उल्लेख गरिएका
विवरणहरू हामी बम्बईमा अढाई वर्ष बसेर म चार वर्षको भएपछि काठमाडौँको घरमा आएपछि
मेरा बाल्यकालका सम्झना मात्र हुन् । त्यस बेला घरका केटाकेटीलाई कठोर यातनामा राख्ने गरिन्थ्यो । ताजा हरियो पोल्ने सिस्नुलाई पानीमा भिजाएर केटाकेटीका नाङ्गो हात र आङमा छापिदिने चलन व्यापक थियो । त्यति मात्र होइन, अति सामान्य गल्ती गर्दा पनि केटाकेटीलाई
धोतीले हातखुट्टा बाँधेर दलिनमा आधा घण्टासम्म झुन्ड्याइदिने व्यवहार सामान्य थियो ।
(दीक्षितको
प्रकाशोन्मुख संस्मरण सङ्ग्रह ‘मेरी माता’ बाट)
प्रकाशित : मंसिर २२, २०७५ ०८:४९