Monday, May 06, 2019

लोप हुँदै ‘रत्यौली’


लोप हुँदै ‘रत्यौली’
नागरिक, आइतबार, २२ बैशाख २०७६, १३ : ३४ |  किसान संगीत नेपाली
लमजुङ– ‘आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो.....।
हे...आजै र मैले दाउरा खोजें वनको ठिनामिना, दुलाहा गयो दुलही लिन, जन्ती गए किन।
हे बाबु, हे बसुन्धरा, आमालाई नरुवाउ चम्धारा......।’
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो । हे बाबु, हे बसुन्धरा......।’
आमा छोराको सम्बन्ध टुटाएर टुट्न सम्भवै छैन तर विवाह गरिसकेपछि त्यो सम्बन्धले थोरै कोल्टे भने अवश्य फेर्छ। सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौलीमा खुब रमाइलो गरिन्थ्यो उहिल्यै–उहिल्यै। आमा, दिदी–बहिनीहरू दुलाहा–दुलही र घरपरिवारलाई आशिक दिन्थे, पारिवारिक अवस्थाको चित्रण गर्दै बह पोख्थे अनि खुलेरै रमाइलो गर्थे। रमाइलो गर्थे मात्र के भन्नु, गाउँसहरकी ६८ वर्षीया तिलमाया मजाकोटीकै भाषामा भन्दा, ‘मनपरी बोलेर उन्मत्तै गर्थे। उत्पातै रमाइलो हुने भएकाले नामै रत्यौली रे।’ बिहे घरमा अचेल त्यस्तो हुँदैन। कठैबरी! रत्यौली त कता गयो कता?
उहिल्यै रत्यौलीमा सुनिने रमाइला, ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरू आजकल सुनिँदैनन्। छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काइ–मर्काइ नाच्थे। विगतमा जस्तो मौलिक स्वाद र शैलीका रत्यौली अहिले नरहेको बेसीसहर नगरपालिका–३ गाउँसहरकी तिलमाया मजाकोटी बताउँछिन्। रत्यौलीमा गाउन र नाच्न मरिहत्ते गर्ने तिलमाया आफूले विगत ५५ वर्षदेखि बर्सेनि रत्यौलीमा रमाइलो गर्दै र गराउँदै आएको बताइन्। गाएर अनि नाचेरै नथाक्ने उनलाई कतिले त ‘रत्यौलीकी रानी’ पनि भन्दा रहेछन्। उनका अनुसार बिहेघरमा भेला भएका महिलाहरू साँझ परेदेखि नै रत्यौली जमाउँछन्। आमा मन भक्कानिने गरी गीतमा यसरी बह पोख्थिन्,
आँखाबाट आँसु झार्दै आगो फुक्न थाल्थें, मेलापात गरी गरी बालबच्चा पाल्थें’ आज गयौ फूलमाला भिरेर, दूधको भारा साडीले तिरेर। व्यर्थै रै’छ आमाको माया, संसार देख्दा रनभुल्ल म भएँ....। बाबुले ल्याएको झोला मैले खोल्न होला कि नहोला.......।
उहिल्यै रत्यौलीमा सुनिने रमाइला, ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरू आजकल सुनिँदैनन्। छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काई–मर्काई नाच्थे।
उहिल्यै त दुई दिने विवाह हुन्थ्यो। त्यतिबेला चलनचल्तीका भाकामा एकोहोरी र दोहोरी गीत गाएर रमाइलो गर्दै सुरु हुने रत्यौलीमा रातका प्रहरअनुसार गीतका भाका र शब्दहरू पनि फेरिँदै जान्छन्। रमाइला गीतहरू गाउँदै गर्दा महिलाहरू पुरुषको भेषमा रत्यौलीमा प्रवेश गर्छन् र नबोलिकन हाउभाउ गर्दै नाच्दै र हास्यस्पद ढंगले रमाइलो गर्छन्। उसको साथमा रमाइलो थप्ने अर्को हास्यपात्र पनि हुन्छ। पुरुष भेषधारी त्यो पात्रलाई रत्यौलीमा ‘लाहुुरे’ अर्थात् ‘मारुनी’ र अर्को हास्यपात्रलाई ‘जोगी’ भनिने राक्सेस्थान गाउँसहरस्थित गोदावरी आमा समूहकी अध्यक्ष चिजा मजाकोटी बताउँछिन्।
लामो समयदेखि रत्यौलीमा रमाइलो गर्दै आएका उनलाई त्यसबारे धेरै जानकारी छ। ‘लाहुरे र जोगीले हुनसम्मै रमाइलो गर्छन्,’ उनले भनिन्, ‘उहिल्यै त रत्यौलीमा छोरा मान्छे जानै पाउँथेनन्, ती लाहुरे र जोगीले त लाजै मर्नु बनाउँथे नि!’
भैंचालाले लान्छ क्यारे रेलीमाई दैलीभँडार, जाउँजाउँ उधैंतिर हिमालको फेदै तिर, चरीले बीउ खायो सम्झनाले जिउ खायो पानी सलल....।’ जस्ता रमाइलो र हाँसीमजाक शैलीका गीतमा रात बितेको पत्तै नहुने रत्यौलीका अनुभवी महिलाहरू बताउँछन्।
हुर्किंदो उमेरका युवतीहरू र बैंसालु महिलाहरू मायाप्रेमका गीतमा बढी रमाउँछन्। आफूले राम्रो कमाइ भएको, रोजगारीमा लागेको पुरुषलाई चाहेको, माया बसेको मान्छेसँग टाढिएर बस्नु परेको जस्ता विषयवस्तुमा पनि रत्यौलीका गीतमा जम्ने गर्दछन्। ‘चारकुने चौतारी एकलो वर, पिरती नलाउँदै जाऊ बरु लाहुर, टाढाको माया नलाउनु रै’छ न चिठी पठाउने न सम्चार आइरहनि।’ जस्ता प्रेमिल गीतहरूमा युवतीहरूको चाख रहने रत्यौलीकी रानी तिलमाया बताउँछिन्। त्यस्तै, ‘आमाको ज्यान सुक्यो किन, छोरो गयो कलहको बीउ लिन, आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो।’ जस्ता गीतले बुहारी आइसकेपछि परिवारमा पर्ने प्रभावका विषयवस्तुलाई पनि गीतमा समेट्ने गर्दछन्।
रातभरि निकै रमाइला गीत गाएर रात छिचोलिन्छ। जब रात ढल्दै क्षितिजमा प्रभातकालीन रश्मी देखिन थाल्छ अनि विभिन्न देवी देवता पुकार्दै दुलाहाका आमाबाबु, परिवारजन र आफन्तजनलाई आशिष दिने र दान संकलन गर्ने गरिन्थ्यो । बिहानीपख रत्यौली सकेर महिलाहरू आ–आफ्नो घरतिर लाग्ने र बेलुकी दुलही भित्र्याउने बेलामा फेरि तिनै महिलाहरू भेला भएर दुलहीको स्वागत गर्ने, आशीर्वाद दिने र रत्यौलीको समापन गर्ने चलन थियोे। तर हिजोआज एकदिने विवाह हुन्छ, रातिमा रत्यौली खेल्ने चलन लोप नै भइसकेको छ। दिउँसोमा नाचगान गर्ने गरिन्छ त्यसमा रत्यौलीको स्वादै हुँदैन। परिवर्तन र प्रविधिको प्रयोगसँगै गीत पनि फेरिइएका छन्। आजकल आमाहरू यस्ता गीत पनि गाउँछन्, ‘कैले छोरो साउदी–कतार, कैले छोरो मेलेसिया, कैले छोरो जर्मन, फोनमा पनि नबोल्दा त रुँदो रै’छ यो मन’ रुन्छ मन मूलढोका उघारी, नेटमा बोल्छन् छोरा र बुहारी...।
रत्यौली संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आफूहरूले सकेसम्म पुराना गीतहरूलाई नै प्राथमिकता दिने गरेको गाउँसहरकै गोदावरी आमा समूहकी अध्यक्ष मजाकोटी बताउँछिन्। नयाँ पुस्ताले यस्ता गीतप्रति रुचि नदेखाउने गरेकाले यसको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ। दिउँसो एकछिन रत्यौलीको झलक र छनक मात्र आउँछ वास्तविक रत्यौली नहुने लमजुङ मावि गाउँसहरका शिक्षक एवं संस्कृतिकर्मी सोमराज बराल बताउँछन्। ‘रत्यौली हाम्रो समाजको एउटा मौलिक परम्परा हो,’ उनी भन्छन्, ‘आजकल रत्यौली हरायो, अहिले रत्यौली त आमा समूहको नाचगानमा बदलियो।’ विगतमा मादल नहुनेहरूले तामा वा सिलौटका गाग्री, थाल आदि बजाएरै पनि रमाइला र झर्रा शब्दमा गीत गाएर खुब रमाइलो गर्ने चलन रहेकोमा अहिले त्यस्तो नहुने बरालको भनाइ छ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...