Monday, August 03, 2020

कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान

कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान

रातोपाटी, काठमाडौँ - सांस्कृतिक संस्थानले विभिन्न जातजाति, संस्कृति तथा कलासँग सम्बन्धित देशका दुर्लभ नृत्य, गीतसंगीतको संरक्षण गर्नाका साथै जुनसुकै बेलामा ती कला र संस्कृति प्रस्तुती गर्न सकिने जनाएको छ । 

सो संस्थानका अनुसार बज्रयान बौद्ध परम्परामा आधारित चर्या नृत्यसहित मञ्जुश्री, आर्यतारा, पञ्चबुद्ध तथा कुमारी, भैरवकाली, बज्रयोगीनी, तामाङ्गसेलो, साकेला, धिमाल, सतार, धिन्तामै, सोरठीलगायत ५१ प्रकारका नृत्य, गीतसंगीत, लोकगीत,आदि रहेकाछन् ।

नेपालमा लोप हुन लागेको संस्कृति, नाटक, नृत्य बाजा तथा गीतसंगीतको संरक्षण गर्ने, खोज तथा अनुसन्धान गर्ने उद्देश्य रहेको सो संस्थानले हाल सांस्कृतिक कार्यक्रम गर्ने, नाच, प्रशिक्षार्थीलाई प्रशिक्षण दिने, लोपोन्मुख कला, संस्कृति तथा नाटकको अनुसन्धान तथा खोजबिन गर्ने तथा प्रशिक्षण प्राप्त विद्यार्थीलाई विभिन्न विदेशी मुलुकमा जानका लागि सिफारिश गर्ने काम गर्दै आएको छ । 

रासससँग कुरा गर्दै संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले संस्थानले हाल नियमित रुपमा नेपाली भाषाका नाटक, नृत्य, लोकगीतजस्ता कलासंस्कृतिको प्रदर्शन गर्ने गर्दै आएको बताए । यो वर्ष आफ्नै कार्यालय सांस्कृतिक संस्थानसहित गोकर्ण रिसोर्ट, राष्ट्रपति भवन, भृकुटीमण्डप, झापाको विर्तामोड, कैलालीको टीकापुरजस्ता स्थानमा मादल प्रतियोगिता, सार्क आर्टिष्ट क्याम्प, गोपाल योन्जन स्मृति कार्यक्रम, गजल उत्सव, नृत्य प्रशिक्षण, सडक नाटक तथा किराँतेश्वर शास्त्रीय संगीत गरी कूल ६२ वटा कार्यक्रम सम्पन्न गरेको उनले बताए । 

सांस्कृतिक संस्थानमा कार्यक्रम अवलोकनका लागि आएका कर्म लामाले नेपालको कला, संस्कृति तथा दुर्लभ नाचहरुको संरक्षण गरी भावी पिँढीलाई पनि हेर्ने तथा अनुुभूत गर्ने मौका दिनु सरकार तथा कलाप्रेमीको दायित्व रहेको बताए । उनले नेपालीका अतिरिक्त अन्य भाषाका वाद्यवादन, कला, संस्कृति तथा नाचलाई काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा पु¥याउनुपर्ने आवश्यकता औंल्याए । 

सो संस्थानबाट उत्पादित कलाकारहरु नाटकतर्फ घिमिरे युवराज, राजन खतिवडा, कृष्ण शाह यात्री, प्रदीप पुमा तथा नृत्यतर्फ सारंगा श्रेष्ठ, सोनी गुरुङ, मेनुका भण्डारी तथा बिमला श्रेष्ठ एवं संगीततर्फ खड्क बुढा, शिव परियार आदिले कला सेवामा योगदान गर्दै आएका छन् । 

हाल वरिष्ठ नाटककार वीरेन्द्र हमाल र खड्क बुढाले माडल तथा पञ्चनारायण महर्जनले तबला, मुनुज जोशी र शारदा सिलवालले नृत्यको प्रशिक्षण दिँदै आएका छन् । 

 


http://www.ratopati.com/story/32207

 

 


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...