Thursday, August 06, 2020

कारागारमा कसको शासन ?

 

कारागारमा कसको शासन?

असार २३, २०७७सम्पादकीय

तीन दशकयता मुलुकमा प्रधानमन्त्री–गृहमन्त्री बनेका प्रायः नेता आफ्नो राजनीतिक जीवनमा धेरथोर जेल बसेका छन्। यी राजनीतिज्ञहरूलाई त्यहाँभित्रको बेथिति र समस्याबारे ज्ञान भएकाले पनि हुनुपर्छ, यस अवधिमा कारागार सुधार एउटा आम एजेन्डाजस्तै बनेको छ

२०४७ सालयता यसै हेतुले कैयौं अध्ययन समिति तथा कार्यदल बनाइएका छन्। तर तिनले सरकारलाई बुझाएका प्रतिवेदनहरू त्यसै कतै थन्किने गरेका छन्। भौतिक पक्ष होस् या व्यवस्थापकीय, कारागारभित्रका समस्या वर्षौंदेखि उस्तैउस्तै छन्। कैदीको आचरण सुधारमा पनि ध्यान दिइएको छैन। कारागार व्यवस्थापन विभाग, सम्बन्धित कारागार कार्यालय र पहुँचवाला कैदी–बन्दीको मिलेमतोमा कानुनी प्रावधान मिचेरै चौकीदार, नाइके र सहनाइके छानिनु यसैको दृष्टान्त हो

जेलको आन्तरिक प्रशासन मानिने कैदी व्यवस्थापनसम्बन्धी दैनिक खटनपटनको जिम्मेवारी नै जघन्य अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई सुम्पिँदा कारागर सुधारगृह बन्न सक्दैन। तसर्थ, कारागार व्यवस्थापन विभाग, सम्बन्धित कारागार कार्यालय र पहुँचवाला कैदी–बन्दीको मिलेमतोमा कानुनी प्रावधान उल्लंघन गर्दै चौकीदार, नाइके र सहनाइके छान्ने ‘प्रथा’ तोडिनैपर्छ। कारागार कार्यालय प्रमुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले यी पदहरूबारे निर्णय गर्नुपर्ने व्यवस्थाको पालना हुनैपर्छ। कारागार व्यवस्थापन ऐन २०१९, नियमावली २०२० र कारागार व्यवस्थापन कार्यविधि २०७३ अनुसार सोही कारागारमा एक वर्ष बसेको, ५० प्रतिशत सजाय भुक्तान गरेको तथा नकारात्मक सूचीमा नभएकालाई मात्रै चौकीदार र मूलनाइके नियुक्त गर्न मिल्छ

लागूऔषध, बलात्कार, कर्तव्य ज्यान, भ्रष्टाचार, जासुसी, मानव बेचबिखन, संरक्षित वन्यजन्तु तस्करी, पुरातात्त्विक सम्पदा चोरीसहित १० कसुरमा कैद भुक्तान गरेकालाई आन्तरिक प्रशासनमा खटाउन पाइँदैन। तैपनि राजधानीका केन्द्रीय कारागार, डिल्लीबजार र नख्खुसहित ठूला, मध्यम र जिल्ला तहका लगभग सबै कारागारमा कानुनविपरीत कैदीलाई आन्तरिक प्रशासनमा खटाइएको छ। एकपटक आन्तरिक प्रशासनमा खटिइसकेका कैदीलाई दोहोर्‍याएर जिम्मेवारी दिन नपाइने प्रावधान पनि उल्लंघन गरिएको छ। राजविराज कारागारमा त कर्तव्य ज्यानसहितका जघन्य अपराधमा सजाय भोगिरहेका तथा भारतीय नागरिकलाई समेत कारागारभित्रको आन्तरिक प्रशासनमा नियुक्त गरिएको छ

जेलको आन्तरिक प्रशासन व्यवस्थापनमा धेरै कमजोरी भएको महसुस गर्दै कारागार व्यवस्था विभागले चौकीदार र नाइके छनोटमा जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिस अनिवार्य गर्न लागेको छ, तर उक्त व्यवस्थाको पनि उचित पालना भएमा मात्र समस्याको समाधान हुन सक्छ। देशभरका ७४ कारागारमा २३ हजारभन्दा बढी कैदीबन्दी छन्। दिनहुँ थपिने र कैद भुक्तान गरेर बाहिरिने क्रम चलिरहेकै हुन्छ। आपराधिक कार्यमा संलग्न ठहरिएकालाई सुधार्नका लागि कारागारमा राखिन्छ, आफ्नो अपराध कर्ममा पश्चात्ताप गरून्, चरित्र तथा आनीबानी सुधारून् र समाजमा पुनःस्थापनाका लागि योग्य बनून् भनेर। तर यही हिसाबले जेल सञ्चालन भइरहने हो भने, ती कारागार कहिल्यै सुधारगृह बन्न सक्ने देखिँदैन

जेल साँच्चिकै सुधारगृह बन्न किन जरुरी छ भने, कैद भुक्तान गरेर बाहिरिनेहरू सबै आचरण सुधारेर सामान्य जीवनमा फर्केका छैनन्। कति फेरि अपराधमै लागेका दृष्टान्त छन्, कारागारभित्रै भएको चिनजानले कतिलाई अरू अपराधको बाटोमा डोर्‍याएको छ। जेल अपराध सिक्ने पाठशाला र अरू आपराधिक सम्बन्ध विस्तार गर्ने थलो नबनोस् भनेर पनि त्यहाँको आन्तरिक प्रशासनको यो विषयलाई खेलाँचीका रूपमा लिनु हुँदैन। जेलभित्रै समयसमयमा ज्यानै लिनेसम्मका अपराध भएका छन्। गम्भीर अपराधमा परेकैलाई आन्तरिक प्रशासन सुम्पिँदा कति कारागारमा नाइकेबाटै अरू कैदीमाथि शोषण भएका उदाहरण छन्। तसर्थ, उनीहरूमाथि उचित निगरानी पनि आवश्यक देखिन्छ। गम्भीर अपराधमा कैद भुक्तान गरेकाको ‘खटनपटन’ मा कारागार बस्दा आम कैदीमा समाजमा पुनःस्थापनाका लागि आवश्यक योग्यता, नैतिकता र आत्मविश्वास विकास कसरी हुन सक्ला, गृह प्रशासन यसबारे गम्भीर बन्नैपर्छ

कैद भुक्तान गरी निस्केकालाई समाजमा पुनःस्थापनाका लागि योग्य बनाउन सुधार गर्नुपर्ने अरू पक्ष पनि छन्। जीर्ण भवनको मर्मत, सुत्नका लागि पलङदेखि शौचालयको उचित व्यवस्था, क्षमताअनुसार मात्र कैदी–बन्दी संख्या, निर्धारित कर्मचारी दरबन्दीजस्ता विषयमा ध्यान दिनैपर्छ। कैदी र थुनुवालाई छुट्टाछुट्टै राख्ने व्यवस्था हुनुपर्छ। सम्भव भएसम्म सीप विकास र रोजगारमूलक कार्यको अवसर प्रदान गर्नुपर्छ। कैदी–बन्दीलाई अनुशासन, आचरण र चरित्र सुधारसम्बन्धी प्रशिक्षण पनि आवश्यक पर्छ। जेललाई वास्तविक सुधार गृह बनाउन सके मात्रै कैद सजायको अर्थ रहन्छ, नत्र दण्ड–सजायको उद्देश्य नै खेर जान्छ, त्यसैले सम्बन्धित निकायले यसलाई ध्यानमा राखेर कदम चाल्नुपर्छ

प्रकाशित : कान्तिपुर, असार २३, २०७७ ०८:०७

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...