Monday, August 17, 2020

मनाइयो अष्टिम्की पर्व

मनाइयो अष्टिम्की पर्व


तेजराज भट्ट
धनगढी

२०७७ श्रावण २९ बिहीबार ०६:५८:००

विभिन्नै मौलिक चालचलन, रीतिरिवाज र संस्कृति बोकेको पश्चिम तराईका आदिवासी थारू समुदायका महिलाले अष्टिम्की पर्व मनाएका छन् । थारू महिलाले बिहान नदी तथा खोलाका किनारमा गई टीका, फलफूल, जल अर्पण गर्नुका साथै दीप प्रज्वलन गरेर दुई दिन मनाइने पर्व बुधबार समापन गरे । 

महिलाहरू व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा छ । पर्वको पहिलो दिनको अघिल्लो राति महिलाहरू दर खाएर बस्छन् । पहिलो दिन दिनभर पानीसमेत नखाएर व्रत बसी र बेलुकी घरको भित्तामा कोरिएका पौराणिक चित्रको टिक्ने (पूजाआजा) गर्छन् । 

यो पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरको बहरी (बैठक कोठा)को भित्तामा लिपपोत गरी चुनले रंग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको धनगढी–६, की उर्मिला चौधरी बताउँछिन् ।

 श्रीकृष्ण चित्रको दायाँतिर सूर्य र बायाँतिर चन्द्रमा, मुनितिर सात भाइ कौरव, दुलाहा–दुलही, दुलही अन्माएको डोली, मयूर, सर्प, बिच्छी, माछा, गंगटा, बाघ, गाई आदिको चित्र कोर्ने चलन रहेको उनको भनाइ छ । बिहान कोरिएका चित्रको बेलुकी महिला र युवतीहरूले पूजाआजा गर्छन् । पूजाआजा गर्दा महिला र युवतीहरूले लेहेंगा, ब्लाउज, चोलिया आदि परम्परागत पहिरन लगाउने गर्छन् । पूजाआजापछि प्रसादका रूपमा लगिने काँक्रो, अम्बालगायतका फलफूल एकआपसमा बाँडेर खाने चलन छ । प्रसादका रूपमा फलफूल खाएपछि रातभर पनि महिलाहरू निराहार व्रत बस्छन् ।

त्यो दिन रातभर पूजाकोठामा बसेर महिलाहरू परम्परागत गीत गाउँछन् । गीतमा पृथ्वीको उत्पत्ति, भगवान् श्रीकृष्णको जन्मका गाथा समेटिने गरिएको थारू नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी बताउँछन् । पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गर्छन् । चौधरीका अनुसार बहरीमा पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी र खोलामा सेलाउने गर्छन् । 

नदी, खोलामा पूजा सेलाउन सामूहिक रूपमा जाने परम्परा रहेको उनले बताए । नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, तरकारी, भात, खरियालगायत खानाका परिकार खाने गरिन्छ । खानुअघि ‘फरहार’ गर्ने चलन छ । आफूले खानुअघि प्रत्येक परिकारबाट आधा भाग निकालेर छुट्याएर राख्नुलाई फरहार भनिने चौधरीले बताए । खानुअघि निकालिएको परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिन चलन छ । 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...