आज साउने संक्रान्ति, यस्तो छ पौराणिक महत्व
२०७७
श्रावण १ बिहीबार
https://www.kharibot.com/news-details/59487/kharibot
काठमाडौँ । सूर्यले
मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने
सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने
भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते
शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार
महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी
रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका
अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
एक महिना काम गर्ने किसान साउन १ गते
आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती
आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा
गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार
नाङ्लो ठटाउने,
शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका
बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा
गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने
गरिएको पनि अध्यक्ष गौतमले बताए ।
साउन महिनाभर देशभरका शिवालय विशेषगरी
पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई
शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड
लाग्छ ।