Friday, June 14, 2019

नेपालको इतिहास



नेपालको इतिहास
कमल दीक्षित
अम्बिकाप्रसादको ‘नेपालको इतिहास’ ले दुई ओटा ‘नेपाली’ राज्यको इतिहास बताउँछ– नेपाल र रामनगरको।
नेपालको इतिहास नेपालीले त लेख्नै नहुने जस्तो थियो राणाकालभरि। लेखे पनि वंशावली सार्ने, त्यसैमा अलिकति आफ्ना मनमा लागेका तात्कालीन कुरा थप्ने र त्यो आफ्नै घरमा लुकाएर राख्ने गर्थे कोही निडर इतिहासप्रेमीहरू।
नेपालबाट भागेपछि (जङ्गपुत्र) पद्मजङ्गले अंग्रेजीमा लेखेको सानो इतिवृत्तबाहेक नेपालीहरू अरूले त आँटै गरेनन्। त्यस्तो बेला १९७९ सालमा भारतमै बसोबास भएका एक जना नेपाली ‘एड्भोकेट’ को एउटा किताब प्रकाशित भयो ‘नेपालको इतिहास’ भन्ने।
यो त हुनै नहुने कुरा, कसरी भयो? भन्ठाने रैथाने नेपालीले। तर उनीहरूलाई थाहा थिएन, महाराजको स्वीकृति पाएर नै भएको थियो त्यो काम। महाराज चन्द्रशमशेरका विश्वासपात्र दरबारिया व्यक्तिहरूको पहलमा भएको थियो, त्यो।
भारतीय बिहार राज्यको बेतिया निकट रहेको रामनगर राज्य नेपालका शाह खानदानका छोरीपट्टिका सन्तानको हैकममा थियो। उनीहरू पनि शाह नै कहलाउँथे। तिनका मन्त्री या ‘फौदार’ थिए अम्बिकाप्रसादहरू। त्यसै फौदार खलककी एउटी कन्यासँग महाराज चन्द्रका सल्लाहकार ‘माहिला पण्डित’ का एक छोराको विवाह भएपछि उनीहरूको पनि नेपाल आउने जाने बाटो खुल्यो।
एकपल्ट उनीहरू आएका बेला नेपालमै दुई ‘कुटुम्ब’ को सरसल्लाहपछि यो इतिहास लेख्ने निधो भएको बुझिन्छ। सल्लाहपछि अम्बिकाप्रसादलाई यताबाट केही सामग्री पनि उपलब्ध गराइयो र उनले पटनामा त्यो इतिहास लेखे। त्यो तयार भएपछि उनका काका देवीप्रसादले काशीमा त्यो प्रकाशित गरेका थिए।
मोटो गाता र भव्य ‘गेट–अप’ मा निस्केको त्यो किताब देखेर महाराज निकै प्रसन्न भए रे! किताबमा अघिल्तिरै राजसी पोशाकमा सजिएको उनको रङ्गीन फोटो थियो। किताब पनि अत्यन्त विनीत भावले उनैलाई ‘समर्पण’ गरिएको थियो। त्यस समर्पणवाक्यको अन्त्यमा एउटा आशीर्वाद–श्लोक समेत हालिएको थियो, यस्तोः
“स्वस्तिश्री मदतिप्रचण्डभुजदण्डेत्यादिपद्यान्वित।
नेपालक्षितिपाल तीनसरकार् सौर्यप्रतापान्वित।।
श्रीमान् चन्द्र नरेन्द्रका हजुरमा स्वस्ती हजारौं पुगुन्।
गुह्येशी पशुनाथले हजुरको सङ्कष्ट सारा हरून्।।”
यी त बाहिरी कुरा हुन् त्यस किताबको आकर्षणका। मुख्य कुरा थियो नेपालको इतिहासप्रति लेखकको आधुनिक दृष्टिकोण र त्यो इतिहास प्रामाणिक तथा वैज्ञानिक होस् भन्ने सचेतता।
पुस्तकको भूमिकाका प्रारम्भिक केही वाक्य हेरौं “वर्तमान समयमा प्रकाशित भएका देशदेशका इतिहासहरूमध्ये हिन्दीभाषामा लेखिएका नेपालका इतिहास दुई छन्। यौटा बाबू रामदीनसिंह लिखित र अर्को वेङ्कटेश्वर प्रेसका अध्यक्षद्वरा प्रकाशित भएको। तर यी दुवै थरि इतिहासमा लेखिएका धेरै कुराको जाँचबुझ् गर्दा ज्यादै नै भ्रमपूर्णता पाइन्छ।… राइट साहेवले अंग्रेजीमा अनुवाद गरेको यौटा नेपालको इतिहास पनि देखिन्छ।… यो इतिहास लेख्ता मैले पाएसम्मका सबै नेपालका इतिहासहरूको सहायता लिएको छु… डाक्टर राइट, पर्सी ब्राउन, ओलफील्ड, क्याप्टेन भ्यान्सिटार्ट… इत्यादि र नेपालका अनेक शिलालेख इत्यादि सामग्रीको संग्रहबाट यो पुस्तक तयार भएको छ…।”
‘नेपालको इतिहास’ का अम्बिकाप्रसादका यी प्राथमिक वाक्यहरू मार्मिक छन्। नेपालको इतिहास लेख्दा विदेशी लेखकहरूले धेरै भ्रमपूर्ण कुरा पनि लेखिदिए। तिनको संशोधन हुनु जरूरी छ भन्ने उनले बुझे अनि सकेजति गरे पनि। मेरो विचारमा नेपाली इतिहास–लेखनको श्रीगणेश गर्ने या भनौं नेपाली भाषामा लेखिएको नेपालको इतिहासको प्रथम पुस्तक कुन हो भनेर खोजिपस्ने हो भने यस पुस्तकभन्दा उँभो जान सकिंदैन। हुन त अम्बिकाप्रसादको त्यो इतिहास पनि त्रुटिरहित थिएन र नै उनको ‘इतिहास’ का धेरै कुरा ऐले काटिई संशोधन भइसकेका छन् तापनि उनले स्थापित गरेको मान्यता नै ऐले स्वीकृत भएको छ।
सर्वगुणसम्पन्न नभए पनि सर्वप्रथम छापिएको नेपालको आधुनिक इतिवृत्त अम्बिकाप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’ एउटा महत्वपूर्ण र बेजोड पुस्तक हो भन्नैपर्छ। त्यसबाहेक सर्वप्रथम नेपालको इतिहासलाई प्राचीन, मध्यकालीन र आधुनिक गरी छुट्याई वर्गीकरण गर्ने पुस्तक पनि यही नै हो कि क्या।
अम्बिकाप्रसादले उस बेला खडा गरिदिएको त्यो काल विभाजनलाई ऐलेसम्म हाम्रा इतिहासकारहरू मोटामोटी पछ्याइरहेका छन्। यो पनि त्यस पुस्तकको एउटा विशेषता नै मान्नुपर्छ।
अम्बिकाप्रसादको यो किताब अर्को एउटा कुराले गर्दा पनि महत्वपूर्ण भएको छ। यस किताबले दुई ओटा ‘नेपाली’ राज्यको इतिहास बताउँछ। नेपाल त भयो नै तर अम्बिकाप्रसादले यसमा रामनगर राज्यको पनि इतिहास जोडेका छन्। उनको यस पुस्तकको नाम नै ‘नेपालको इतिहास र रामनगरको इतिहास’ भन्ने छ।
रामनगर राज्य भनेको नेपाली भाषी राजाहरूले शासन गरेको इण्डियाभित्रकै एउटा सानो राज्य हो। यो त्यस्तो एउटा मात्र राज्य थियो त्यस जमानामा ‘बिहार याण्ड उडिस्सा प्रोभिन्स’ अन्तर्गत। त्यस हिसाबले यो एउटा नौलो पुस्तक हुनपुगेको रहेछ हाम्रो नेपाली पुस्तक सम्पदामा।
अम्बिकाप्रसादको यो द्विदेशीय इतिहासमा नेपालको त शुरूदेखि त्यस बेलासम्म पाइएका साङ्गोपाङ्ग इतिवृत्त समेटिएका छन्। पुस्तकको एक–तृतीयांश अर्थात् १३० पृष्ठ ओगटे पनि रामनगर राज्यको भने अपूरो जस्तो लाग्छ किनभने त्यसले १८२७ सालदेखि एक सय वर्षको इतिहास मात्र बताउँछ।
नेपालका बहादुर शाहले तनहुँ आक्रमण गर्दा त्यहाँका राजा कुमारीदत्त सेन मारिएपछि भागेका उनका छोराहरू सोमेश्वर पर्वतमा लुकेर बसेका थिए। त्यताबाट एक छोरा तल झ्रेर इष्ट इण्डिया कम्पनीलाई बक्साई चम्पारनका केही तप्पाहरूमा रजाइँ चलाइबसेछन्। त्यही पछि रामनगर राज्य भएको रहेछ।
त्यहाँका राजा तेजप्रकाश सेनले बनारसमा श्री ५ रणबहादुर शाहकी छोरीलाई बिहे गरी चौथी रानी तुल्याएका थिए। उनको शेषपछि उनका सन्तानहरू बीच परेको मुद्दामामिला बेलाइतको ‘प्रिभि काउन्सिल’ सम्म पुगेको इत्यादि बताएर रामनगरको इतिहास टुंग्याइएको छ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...