Monday, June 10, 2019

जातको जन्म र मृत्यु

जातको जन्म र मृत्यु 
सरोकार
थरले पुख्र्यौली थलो, पद वा उपाधि, विवाह, कतैकतै पेसा पनि संकेत गर्छ पद भने राज्य सत्तामा पहुँच भएकाहरूले पाउने हुन्
माघ ५, २०७५ध्रुवसत्य परियार
काठमाडौँ — शूद्रलाई पशु बराबर मान्ने मनुस्मृतिको के कुरा ? करिब साढे ६ सय वर्षअघि जयस्थिति मल्लले बनाउन लगाएको कानुनमा उल्लेख छ, ‘तल्लो जातका व्यक्तिले ब्राह्मण वा आफूभन्दा उत्कृष्ट जातका व्यक्तिको समान आसन चाहेमा उसलाई कम्मरमा डामेर देशनिकाला गर्नु अथवा त्यसका कम्मरका मासुका दुई लुँदा काटिदिनू ।’
अहिले प्रचलित जति जाति छन्, तिनीहरू आ–आफ्नो व्यवहार, धन्दा, पेसाका कारणबाट बनेका हुन् । अतयव, जुन धन्दा वा पेसालाई जसले गरिरहेको छ, त्यसबाट जातिको नाम लिइन्छ,’ भारतीय खोजकर्ता छोटेलाल शम्र्माको पुस्तक ‘जाति अन्वेषण’ मा उल्लेख छ ।
जातको उत्पत्ति पेसाका आधारमा भएको हो भन्नेमा अधिकांश एकमत छन् । तर, यसको उत्पत्तिको जग, त्यो जगको औचित्य, आवश्यकता आदिको व्याख्यामा भने विभिन्न मत पाइन्छन् । शम्र्माको उपरोक्त कथनभित्रको ‘आ–आफ्नो व्यवहार’ अंशले गम्भीर अर्थतिर संकेत गर्छ । हिन्दु धर्मलाई व्यवस्थित बनाउन वर्ण–व्यवस्थाको विशेष भूमिका छ । हाम्रा धर्मग्रन्थहरूमा वर्णका आधारमा आचार–व्यवहार, कर्म–पेसा, भोजन, विवाहसम्म तोकिएको छ । यसर्थ, जातको उत्पत्तिमा पेसासँगै धेरै कुराले भूमिका खेलेका छन् ।
पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास भाग–१’ अनुसार, जन्म एवं व्यवसायमा आधारित जाति–व्यवस्था प्राचीनकालमा फारस, रोम एवं जापानमा पनि प्रचलित थियो । तर, ती देशमा समयसँगै समाप्त भए । काणेले वंश–परम्परा (सिद्धान्तत: जन्मँदै कुनै एक जातमा जन्मनु), जातिभित्र मात्रै विवाह, भोजन (के खाने के नखाने), व्यवसाय, उचनीच श्रेणीलाई जाति–व्यवस्थाको विशेषता भनेका छन् ।
छोटेलालको पुस्तकमा भारतका जति जातिबारे उल्लेख गरिएको छ, तीमध्ये कति नेपालमा पनि छन् । नेपालमा विभिन्न समय विभिन्न जाति वा समुदाय भारतबाट प्रवेश गरेको सर्वविदितै छ । भारतभूमिमा जन्मेको जात वा वर्ण–व्यवस्था हामीकहाँ आइपुग्दा अनेक रूपमा झाङ्गियो । वर्ण–व्यवस्थाको चर्चा गर्नुअघि हामीकहाँ सतहमा देखिएका जात र थरबारे प्रस्ट हुनुपर्छ ।
हामीकहाँ जात विशेषत: पेसाका आधारमा जन्म्यो भने थर पुख्र्यौली थलो, पद वा उपाधि, विवाहलगायत आधारमा । थर शब्दको व्युत्पत्ति संस्कृत शब्द स्थलबाट भएको हो । श्रीहरि रूपाखेतीको पुस्तक ‘नेपाली थर–गोत्र–प्रवर कोश’ अनुसार, सिग्देल वा सिग्द्यालय एउटै थर हुन् । पुख्र्यौली थलो सिग्दीमा घर (आलय) भएकाले सिग्द्यालय/सिग्देल भनियो । त्यस्तै : पन्त र भट्टजस्ता थर पद हुन् । विवाहका आधारमा हेर्दा अझै पनि ब्राह्मण पुरुष र ठकुरी (क्षत्री) स्त्रीबाट जन्मेको सन्तानको थर हमाल रहन्छ ।
यसरी थरले पुख्र्यौली थलो, पद वा उपाधि, विवाह, कतैकतै पेसा पनि संकेत गर्छ । पद भने राज्य सत्तामा पहुँच भएकाहरूले पाउने हुन् । पुख्र्यौली थलोदेखि सरकारी पद र धार्मिक उपाधि (जस्तो : ठूलो यज्ञ सम्पादन गरेको आचार्य, ज्योतिष्टोम आदि यज्ञ सम्पादन गरेको आचार्य दीक्षित) खुल्ने हुँदा बाहुन–क्षत्रीले सरकारी कागजातमा जात नलेखेर थर लेख्न थाले ।
हाम्रो भूगोलका दलितहरूको जात मात्रै भएको, थर–गोत्र नभएको होइन । दलितहरूका पनि शाखा, गोत्र र पुख्र्यौली थलो वा वंश जनाउने थर छन् । अझ कतिपय दलित र बाहुनलगायत गैरदलितका थर एउटै छन् । यद्यपि, छुवाछूत गर्न पहिचान खुलोस् भनेर राज्य–सत्तामा पहुँच भएका बाहुन–क्षत्रीले दलितहरूको थर नखेली जात मात्रै लेखिदिए ।
आउनुस्, जात र अछूतपनको जन्मबारे चर्चा गरौँ ।
जातको जन्म
विद्वान्हरूको मत छ, नदी किनारमा विकसित भएका विश्वका अन्य प्राचीन सभ्यताजस्तै भारतको सिन्धु नदी आसपासमा पनि आर्यहरू आउनुअघि नै अनेक नगर सभ्यता विकसित भएका थिए । त्यसका अवशेष हुन्, मोहनजोदाडो र हरप्पा सभ्यता । आर्यहरू प्रवेश गरेर यहाँका आदिवासीलाई हराउँदै गएसँगै भारतमा वैदिक धर्म र संस्कृति विस्तार हुन्छ । जसबारे अध्ययनको आरम्भिक स्रोत हो– ऋग्वेद (रचनाकाल : ४०००–१००० इपू, काणेका अनुसार) । यसमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र भनी रोपिएको वर्ण–व्यवस्थाको बीजले समय क्रमसँगै विभिन्न वर्णसङ्कर जातिको जन्म दियो । गुण र पेसाका आधारमा बनाइएको भनिएको वर्ण–व्यवस्थाले मानिसको पेसा र कर्मलाई मात्रै होइन, आर्य, अनार्य, दास, दस्यु, गुलाम, द्रबिड, आर्यसँग युद्धमा पराजितहरूतर्फ पनि संकेत गर्छ । आर्यहरूले बनाएको वर्ण–व्यवस्थाको मूल ध्येय देखिन्छ– पराजितहरूलाई दबाएर काममा लगाउनु, धर्म र सत्तामध्ये के चलाउने भनेर आफूहरू (सत्तासँग निकट) ले पनि काम बाँड्नु ।
‘शूद्रोंका प्राचीन इतिहास’ पुस्तकमा रामशरण शर्मा लेख्छन्, ‘उत्तरवैदिक राज्य व्यवस्थामा जो महत्त्वपूर्ण परिवर्तन भयो, त्यो हो— वैश्य र शूद्रलाई विभेद गरी ब्राह्मण र क्षत्रीहरूलाई विशेष स्थान दिने प्रवृत्ति ।’ शर्माका अनुसार, वर्ण–व्यवस्थाको प्रारम्भिक चरणमा शूद्रहरू अछूत नभई कृषक, पशुपालक र शिल्पी–श्रमिक थिए । क्रमश: ब्राह्मण र क्षत्रीहरूले शूद्रहरूलाई दबाएर शासन गर्दै आए । उनीहरूलाई मानसिक रूपमा उठ्नै दिएनन् । तपस्या गर्ने शम्बुक ऋषिलाई शूद्र भनी रामले हत्या गरेको रामायणको प्रसंगले पनि यसलाई पुष्टि गर्छ । आज जातीय भेदभाव तथा छुवाछूतको चपेटामा परेको दलित समुदायको उत्पत्तिको जग वर्ण–व्यवस्थाको शूद्रदेखि दास, दस्यु, आर्यबाट पराजितहरूसम्म पुग्छ । तर, हिन्दु राज्य वा समाजको इतिहासमा विविध नियम बनाएर कतिलाई अछूत जाति बनाइयो, शासकको सनकका भरमा कतिलाई जातबाट उठाइयो वा खसाइयो, त्यसको कुनै लेखाजोखा छैन ।
विभिन्न धर्मसूत्रहरूको स्रोत दिँदै रामशरण शर्मा लेख्छन्, ‘कुनै शूद्रले आफ्नो जातभन्दा फरक महिलाबाट जन्माएको सन्तानलाई पतित सम्झनुपर्छ । ब्राह्मण स्त्रीबाट जन्मेको शूद्रपुत्रलाई चाण्डाल मान्नुपर्छ । अधिकतम प्राचीन विधिग्रन्थहरूमा विवाह र सम्बन्धका कारण लगभग एक दर्जन मिश्रित (वर्णसङ्कर) जातिको उत्पत्तिको वृत्तान्त पाइन्छ ।’ प्राचीन स्मृतिग्रन्थहरूले वर्णसङ्कर जातिको नाम, काम र उनीहरूले राख्न पाउने सम्पत्तिसम्म तोकेका छन् । मनुस्मृतिमा उल्लेख छ, ‘ब्राह्मण कन्याबाट क्षत्रीयले जन्माएका सन्तान सूत जाति हुन्छन्, वैश्यले जन्माएका सन्तान मागध भनिन्छन् र वैश्यले क्षत्रीय कन्याबाट जन्माएका सन्तान वैदेह जातिका हुन्छन् । सूतको काम रथको सारथि हुनु, वैदेहको काम स्त्रीहरूको खोपीमा रक्षा गर्नु, मागधको काम स्थलमार्गमा मजदुरी गर्नु ।’
आफ्नो पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ मा जनकलाल शर्माले पनि चार वर्णबाहेक व्यवसायसित सम्बद्ध एउटा समाज कालान्तरमा जातिसूचक हुन पुगेको उल्लेख गरेका छ । उनी लेख्छन् ‘ऋग्वेदमा वप्ता अर्थात् हजाम, तष्टा अर्थात् रथनिर्माता, त्वष्टा सिकर्मी अर्थात् बढई, भिषक् अर्थात् वैद्य, कर्मार अर्थात् फलामको काम गर्ने कामी, चर्मन अर्थात् सार्कीको उल्लेख पाइन्छ ।’ उत्पादनको प्रकार बढेसँगै निश्चय नै जातको संख्या पनि बढ्दै गयो । त्यस्तै, हिन्दु समाजका व्यक्ति र अन्य भिन्न समुदायका व्यक्तिबीच पनि विवाह वा यौन–सम्बन्ध हुँदै आयो, यसले पनि विविध जाति जन्मायो । यी सबै जातिलाई वर्ण–व्यवस्थाअन्तर्गत कुन वर्णमा समेट्ने भन्न कठिन छ । जनकलाल शर्माका अनुसार, हाम्रो पहाडी भू–भागमा वैश्य र शूद्र छुट्टयाउन कठिन छ । किनभने, तराईमा खवास नामको शूद्र वा दास जाति पाइन्छ भने पहाडमा खवास नामधारी क्षत्रीय ।
वर्ण–व्यवस्थाअनुसार, वेदपाठ, यज्ञ–पूजालगायत पौरोहित्य कर्म गर्ने ब्राह्मण, राजकाज गर्ने क्षत्री, व्यापार–व्यवसाय गर्ने वैश्य र सेवा गर्ने शूद्र बुझिने हुँदा वैश्य र शूद्रका काम कतिपय अवस्थामा खुटिँदैन । रामशरण शर्माले रथनिर्माता, बढई, कुम्भकार/कुम्हाल, लोहार, सर्राफ (सुन–चाँदीको काम गर्ने), चरवाहा (गाईबस्तु चराउने), गडेरिया (भेडा–बाख्रा पाल्ने), किसान, मद्यनिर्माता, मछुवा र सिकारीलाई वैश्य र शूद्रको कोटिमा राख्न सकिने उल्लेख गरेका छन् । वैदिक धर्मको लामो कालखण्डमा कसले यज्ञ वा ध्यान–तपस्या गर्‍यो, को युद्ध लड्यो र राज्य चलायो, कसले खेती वा व्यापार गर्‍यो, कसले सेवा वा शिल्पी कर्म गर्‍यो, त्यसको कुनै यकिन छैन । जनकलाल शर्माका अनुसार, कुनै जातिको पाँचदेखि सात पुस्तामा उत्कर्ष (माथि चढ्ने) र अपकर्ष (तल झर्ने) पनि हुन्छ । नेपाली समाजमा राजपूत, मल्ल, ठकुरी र खसको उत्कर्ष भएको पाइन्छ भने सुदूरपश्चिमी नेपालका मतवाली क्षत्रीको अपकर्ष भएको पाइन्छ ।
अछूत जातको जन्म
छूत र अछूतसम्बन्धी चर्चा गर्न अलिकति दार्शनिक, पौराणिक वा धार्मिक र ऐतिहासिक कसीमा चिन्तन गर्नुपर्छ ।
दिनरात, चन्द्रकला, रजस्वला, जन्म र मृत्यु, अनि ऋतुहरू– आदिम मानिसका चिन्तनका स्रोत यिनै हुन् । मानिसले धेरै चीज पत्ता लगाउँदै र आविष्कार गर्दै आयो । तर, मानिसका लागि आगोपछिको अर्को महत्त्वपूर्ण आविष्कार हो, लिखित वा अलिखित पात्रो । आदिम मानवले सुरुमा चन्द्रमा, सूर्य, ग्रह र ताराहरूको अवस्थिति हेरेर समयप्रति सचेतरह्यो । गोरख प्रसादको पुस्तक ‘भारतीय ज्योतिष का इतिहास’ अनुसार, सर्वप्रथम ज्योतिष ज्ञान कृषकहरू र पुजारीहरूलाई आवश्यक भयो । कृषकलाई पानी पर्ने समय र खेती लगाउने समय जान्नुपथ्र्यो भने प्राचीन समयमा सूर्यको उपासना गर्ने र वर्षभरि जस्तो यज्ञ चल्ने हुँदा पुजारीहरूलाई दिन, महिनाबारे जानकारी आवश्यक थियो ।
जेहोस्, पृथ्वीमा पर्ने चन्द्रमा र सूर्यको प्रभावसँगै प्राकृतिक विपत्को कारणदेखि अनेक ग्रह, ताराहरूको खोजीमा आदिमकालदेखि नै मानिस धर्म र देउताको मिथ्यासम्म पुग्यो । आज हामीले आ–आफ्नो धर्म–संस्कृति, रीतिरिवाजलाई पात्रोबमोजिमको तिथि वा दिनमा विधिपूर्वक मनाउँछौं । र, हाम्रो धर्म–संस्कृतिको जगमा दुई विश्वास आउँछन्— पवित्रता र अपवित्रता ।
हिन्दु समाजमा भने यही पवित्र र अपवित्र भावना छूत र अछूत हुँदै जातमा पुगेको हो । भारतीय विद्वान् डा. बीआर अम्बेडकरका अनुसार, आरम्भिक मानवले कुनै विशेष घटना, वस्तु र व्यक्तिको स्पर्शका कारण अपवित्र भइनेमा विश्वास गथ्र्यो । आदिम मानिसका लागि सबैभन्दा अपवित्र कुरा थियो— मृत्यु । ‘अछूत कौन और कैसे ?’ पुस्तकमा अम्बेडकर लेख्छन्, ‘प्रारम्भिक मनुष्यका लागि मृत व्यक्तिका सामान लिनु पनि अपवित्र मानिन्थ्यो । मृत व्यक्तिसँगै उसले प्रयोग गर्ने औजार र हतियारलाई चिहानमा गाड्नुको तात्पर्य यही थियो कि मानिसहरू यस्ता सामानको प्रयोगलाई खतरनाक र दुर्भाग्य सम्झन्थे ।’ आदिम मानवले जन्म, दीक्षा, बालिग हुनु, विवाह, सम्भोग र मृत्युलाई ‘अपवित्रता’ को कारण मानेको थियो । अम्बेडकरले संसारका थुप्रै समाजको उदाहरण दिएर मानिसले यी घटनालाई कसरी ‘अपवित्र’ मान्थ्यो भनी प्रस्ट्याएका छन् । उनका अनुसार, आरम्भिक समाजमा दलगत युद्ध हुन्थ्यो । युद्धमा पराजितहरू छिन्नभिन्न भएर कुनै स्थिर रूपमा बसेको बस्तीछेउ बस्न पुग्थे । यस्ता मानिसलाई स्थिर बसोबास गरेका वा विजेताहरूले आफ्नो चौकिदारीलगायत अन्य सानो मानिएका (खासगरी फोहोरसँग सम्बन्धित) काम लगाउँथे । यसरी युद्धमा छिन्नभिन्न भएका पराजितहरू नै आर्य वा हिन्दु समाजमा शूद्र, दास, दस्यु, गुलाम हुँदै अछूत बन्न पुगे । पवित्र–अपवित्र र छूत–अछूत बेग्लाबेग्लै भएको अम्डेकरको धारणा छ । किनभने, घर–परिवार र समूहभित्र पनि पवित्रता–अपवित्रताको मान्यता हुन्छ र त्यसलाई चोख्याउन सकिन्छ । तर, हिन्दु समाजमा कुनै समूहलाई अछूत बनाएर उनीहरूका सन्तानलाई पनि जन्मजात अछूत बनाइयो । यसको निरन्तरतामा धर्मग्रन्थहरूको विशेष भूमिका छ ।
प्राचीन ग्रन्थकारहरूले शूद्रहरूप्रति बढी नै विभेदकारी र पूर्वाग्रही नीति लिएको देखिन्छ । जस्तो : मनुस्मृति भन्छ, ‘ब्राह्मणलाई कटुवचन बोल्ने शूद्रलाई प्राणदण्ड दिनुपर्छ । तर, शूद्रलाई कटुवचन बोलेमा ब्राह्मणले १२ पण दण्ड दिनुपर्छ । चाण्डाल र श्वपच गाउँभन्दा बाहिर बस्नुपर्छ । यिनीहरूसँग भाँडाकुँडा हुनु हुँदैन, कुकुर र गधा नै यिनीहरूका सम्पत्ति हुन् । शूद्रको धन ब्राह्मणले निसंकोच लिन सक्छ ।’ यसरी धार्मिक कानुन बनाएर शूद्र र वर्णसङ्कर जातिलाई ब्राह्मणविरुद्ध बोल्नै दिइएन, गाउँदेखि बाहिर बस्न लगाएर सम्पत्ति राख्न दिइएन, जबर्जस्त घृणित मानिएको काम गर्न लगाइयो, अभ्यक्ष भनिएको खान विवश पारियो । वर्णसङ्कर जातिको उत्पत्ति हुनुमा कुन वर्णकी महिला र कुन वर्णको पुरुषबीच विवाह वा संसर्ग हुन्छ भन्नेले निर्धारण गर्छ । यो अनुमान गर्न सकिन्छ, स्त्रीमा जवानी छँदासम्म हुने रजस्वला पनि मानिसको प्रारम्भिक चेतनाका लागि एक रहस्यमयी घटना थियो । यो चन्द्रकलाजस्तै निश्चित समय जस्तोमा किन हुन्छ ? मानिसले यसलाई पनि दैवीशक्तिको रूपमा लियो र चिन्तन गर्दै रह्यो । यौन स्वतन्त्रता रहेको सामूहिक परिवार हुँदै सभ्यताको यात्रा गर्दा संसारभरकै मानिसले स्त्रीसम्बन्धी अर्थात् यौन र विवाहका विषयलाई लिएर पाप–धर्मका धेरै नियम बनाए । हामीकहाँ जन्म–संस्कार, मृत्यु–संस्कार, विवाह परम्परा (वर्ण र गोत्रमा आधारित), रजस्वला, यौन आदिमा पवित्रता वा अपवित्रताको कुरा आउँछ ।
नेपालमा जात र धर्म
हाम्रा पुराना कानुनहरू पनि हिन्दु धर्मग्रन्थहरूबाटै निर्देशित छन् । तिनले हामीकहाँ विभिन्न जातलाई जन्माउँदै जातहरूबीच सानो–ठूलो र छुवाछूतको भावनालाई बढावा दिए । जातीय, वर्गीय र लैंगिक विभेदको खाडल पनि बढाउँदै ल्याए । अहिले हाम्रो देश रहेको भूगोलमा बौद्धकालदेखि नै आर्य समाजको प्रभाव रहँदै आयो । नेपालको दक्षिणी भाग वैदिक धर्मबाट प्रभावित थियो नै, भारतको वैशालीबाट युद्धमा हारेर नेपाल (अहिलेको काठमाडौं) प्रवेश गरेका लिच्छविहरूले पनि जात भित्र्याए । धनवज्र वज्राचार्यको पुस्तक ‘लिच्छविकालका अभिलेख’ अनुसार, लिच्छविकालमा यहाँ चार वर्ण र १८ जाति रहेका थिए । चाँगुनारायणस्थानको मानदेवको अभिलेखको स्रोत दिँदै वज्राचार्य लेख्छन्, ‘ब्राह्मणलगायत चाण्डालसम्मको बसोबास थियो भन्ने स्पष्ट थाहा पाइन्छ । शूद्रको एक भेद चाण्डाल भएकाले लिच्छविकालमा यहाँ शूद्रहरू पनि थिए भन्ने कुरामा शंका छैन ।’ यसले देखाउँछ, जहाँ–जहाँ हिन्दु धर्मबाट संस्कारितहरूको राज्य स्थापित भयो, त्यहाँ–त्यहाँ वर्ण–व्यवस्था लागू भयो ।
शूद्रलाई पशु बराबर मान्ने मनुस्मृतिको के कुरा ? करिब साढे ६ सय वर्षअघि (विसं १४३६ मा) जयस्थिति मल्लले बनाउन लगाएको कानुनमा उल्लेख छ, ‘तल्लो जातका व्यक्तिले ब्राह्मण वा आफूभन्दा उत्कृष्ट जातका व्यक्तिको समान आसन चाहेमा उसलाई कम्मरमा डामेर देशनिकाला गर्नु अथवा त्यसका कम्मरका मासुका दुई लुँदा काटिदिनू ।’ यो त धेरैअघिको कुरा भयो, एक सय ६५ वर्षअघि जंगबहादुरले उपाध्या, रजपूत, जैसी बाहुन, तागाधारी क्षत्रीय, नमासिन्या मतुवाली, मासिन्या मतुवाली, छिटो हाल्नुनपन्र्या, छिटो हाल्नुपन्र्या, पानी नचलन्याजस्ता जात छुट्टयाई विभेदकारी मुलुकी ऐन ल्याए । २०२० सालसम्म यही ऐनले काम गर्‍यो, जसको प्रभाव अझैसम्म छ । सदियौँदेखि धार्मिक नियम र कानुनबाट अहिलेका दलित बेसरी नै मिचिए, अन्य गैरदलितहरूले पनि सामाजिक उचनीचको भावनाको भेद भोग्दै आएका छन् ।
जातको मृत्यु
विभिन्न धर्मग्रन्थ र विद्वान्हरूको खोजले देखाउँछ— जातको उत्पत्ति पेसा, धार्मिक नियमविपरीतको विवाह, युद्धमा पराजित, सिनो–गोमांसलगायत अभक्ष्य भनिएको पदार्थ सेवन आदिका आधारबाट भएको हो । हामीकहाँ जातअनुुसारको पेसा अझै पनि प्रचलिच छन् । हिन्दु समाज (अन्य धर्म–संस्कृतिका जाति वा समुदायको कुरा होइन, जोसँग आफ्नै वंश परम्परा छ) मा जातले व्यक्तिको गोत्र–वंश परम्परा जनाउने नभएर पेसासँग मात्रै सम्बन्धित रहेको प्रस्ट हुन्छ । तसर्थ, हिन्दु समाजमा जुन नियम र औचित्यले जति पनि जातको उत्पत्ति भयो, त्यही नियम र औचित्यले ती सबै जातको मृत्यु भइसकेको छ । किनभने, आज कुनै पेसा कुनै जात विशेषको रहेन, आफ्नो अनुकूलता र फाइदा हेरी सबैले सबै प्रकारका काम, पेसा, जागिर गर्न थालेका छन् । अन्तर्जातीयदेखि अन्तर्राष्ट्रिय विवाह भइरहेको छ । त्यस्तै, शास्त्रले तोकेबमोजिमको कर्म, भोजन र विवाह नगरेर ब्राह्मणहरूले पनि आफ्नो जात गुमाइसकेका छन् । यसर्थ, आजको पुँजीवादी युगमा वैदिक धर्मबाट निर्देशित भएर उत्पत्ति भएका जातहरूको मृत्यु भइसकेको छ । अब कसैले पनि आफ्नो जातको घमण्ड गर्नु व्यर्थ छ । आज हिन्दु समाजमा हामीले आफ्नो जुन जात भनिरहेका छौं, त्यो त कुनै मरिसकेको पूर्वजको नाम लिएसरह हो । अझ भनौँ, त्यो कुनै भूत (प्रेतात्मा) जस्तै हो, जसको भौतिक अस्तित्व हुँदैन तर मानिसहरूले त्यसमाथि विश्वास गरेर तर्सिरहेका हुन्छन् । अबको खास बहस जातबारे होइन, जातीय प्रेतात्माबारे हुनुपर्छ । मानिसहरूको मानसिकताबाट यो प्रेतात्मा निकालेर फाल्न सामाजिक न्यायमाथि बहस हुनुपर्छ ।
अर्कोतिर, हामीले जेको आधारमा आफ्नो जात र वंशको रक्त–शुद्धताको घमण्ड गर्छौं, खोजिल्याउँदा त्यही नै रक्तमिश्रित देखिन्छ । रजनीकान्त शास्त्रीको पुस्तक ‘हिन्दु जाति का उत्थान और पतन’ अनुसार, हिन्दुहरूले निर्माण गरेको चार वर्णमध्ये कुनै पनि रक्तशुद्ध छैनन् । शास्त्रीले आठ प्रमुख गोत्रकारमध्येका वशिष्ठ ऋषि वेश्याबाट, गौतम शशक (खरायो) को पछाडिको भागबाट, भारद्वाज शूद्र स्त्रीबाट उत्पत्ति भएको उल्लेख गरेका छन् ।
शास्त्रीका अनुसार, क्षत्रीय कुलका पूर्वज चन्द्र र सूर्य वंशमा पनि रक्तशुद्धता पाइँदैन् । चन्द्र वंशका प्रवर्तक चन्द्र (महर्षि अत्रिका पुत्र) ले गुरु वृहस्पतिकी पत्नी तारासँग जबर्जस्ती कुकर्म गरी बुध नामक पुत्र जन्माए । बुधलाई कुन वर्ण मान्ने ? त्यस्तै, सूर्यवंशका प्रवर्तक विवस्वानका सन्तान राजा तृणविन्दुले अलब्बुषा नामकी देव जातिकी वेश्यासँग प्रेम भएर विशाल नामको पुत्र जन्मिए । यसरी गोत्र–वंशबारे ब्राह्मण–क्षत्रीमै रक्त अशुद्धताका अनेक मिथक भेटिन्छन् भने वैश्य र शूद्रको हालत के होला ? यद्यपि, विवाहका लागि थर–गोत्र–वंश महत्त्वपूर्ण भएकाले यसबारे बेग्लै बहस आवश्यक छ ।
न्यायको बाटो
कुनै समय शासकहरूले नियम–कानुन बनाएर लागू गरेको जातीय भेदभाव तथा छुवाछूतलाई अहिले कानुन नै बनाएर हटाउने प्रयास भएको छ । राज्य–संयन्त्र र दलहरूले समावेशीको नीति लिएका छन् । निश्चय नै हामी सकारात्मक बाटोमा छौँ । तर, राज्यले कानुन बनाउँदैमा समाजमा लागू हुन्छ भन्ने हुँदैन, यसमा विभिन्न तत्त्वले काम गर्छन् । कानुनले मार्ने प्रयास गरे पनि हिन्दु समाजमा छुवाछूत अधमरो अवस्थामा छ, यसबारे बेलैमा बहस नभए यसले अझ अर्कै रूप लिन सक्ने खतरा पनि छ ।
अहिले नजानिँदो ढंगले गैरदलितमा उच्चजातीय अहंको मानसिकता छ भने दलितमा हीन मनोविज्ञान । ब्राह्मणभित्रै पनि पूर्विया–कुमाईं, उपाध्याय–जैसी जस्तो सानो ठूलो र अस्पृश्यताको भावना छ, दलितभित्र सानो–ठूलो भेद छ ।
यस्तो मानसिकता निर्माण हुनुमा हामीलाई विभेद सिकाउने धार्मिक संस्कार र राज्यका कानुन दोषी छन् । एउटा उदाहरण हेरौँ, कुनै प्रसूतिगृहमा साटिएर हिन्दु कुलको बच्चा मुस्लिम कुलमा र मुस्लिम कुलको बच्चा हिन्दु कुलमा हुर्कियो भने उसले आफू हुर्केकै समाजको संस्कृति सिक्छ, त्यहीअनुसार चल्छ, त्यसैलाई सही भन्छ । यसलाई पछिल्लो व्याख्या र विज्ञानले मिथक, ‘माइन्डसेट’, ‘माइन्ड प्रोग्रामिङ’ भनेको छ । हामीमा महिला, जात–छुवाछूत, सामाजिक न्यायको बुझाइबारे जस्तो ‘माइन्डसेट’ वा ‘माइन्ड प्रोग्रामिङ’ छ, त्यसलाई ‘रि–प्रोगामिङ’ गर्न आवश्यक छ ।
हामीकहाँ विशेषत : जातीय भेदभावको असर समाज, सरकार, सरकारी कार्यालय र राज्य–संयन्त्रमा देखिँदै आएको छ भने छुवाछूत घरभित्र । पहिलेको कुरा होइन, अहिले पनि देशमा मन्त्रीहरू, न्यायाधीशहरू, प्रहरी र सेनाका हाकिमहरू, सरकारी कार्यालयका सचिवहरू, ठूला नेताहरू कुन जातका, लिंगका छन् ? कताकति समावेशी हुन थाले पनि उही ब्राह्मण–क्षत्रीकै रजगज छ ।
पूर्वजले बनाएका नियमले ब्राह्मणहरूलाई पनि अप्ठेरो पारेकै हो । त्यसैले उनीहरूले शास्त्रका नियम त्याग्दै, परिरिस्थतिअनुकूलको भोजन गर्दै आए । अब घरभित्रको छुवाछूतदेखि समाज र राज्यसंयन्त्रभित्र रहेको जातीय भेदभाव हटाउन ब्राह्मण–क्षत्रीलगायत कथित उच्च जातिले सहयोग गर्नुपर्छ । यसका लागि हामीले घरभित्रको कुल–देवतालाई साझा–देवता बनाउन आवश्यक छ । किनभने, भोलि तल्लो भनिएको जातिको सरकारी कर्मचारी माथिल्लो भनिएको जातिको घरमा बसेर छानबिन गर्नुपर्दा जात सोध्ने कुरा आउँदैन । आफ्नो सन्तानले स्कुल, कलेज, कार्यालयको साथी घरमा ल्याउने, विवाह गर्ने स्थिति आउँदा जातले रोक्नु मानवीय कुरा हँुदैन । आखिर पुर्खाले बनाइदिएको परम्परा हो भने, हामीले त्यसलाई परिमार्जित गर्न सक्छौँ ।
लामो समय ब्राह्मण–क्षत्रीको शासकीय अभ्यास र पितृसत्ताको भावनाका कारण हामीकहाँ महिला, दलितलगायत अन्य जाति, समुदाय पछाडि परे । हामीले निश्चित अवधिका लागि दलित लगायत पछाडि पारिएका लिंग, जातिलाई क्षतिपूर्तिस्वरूप विशेषाधिकार दिनुपर्छ । उनीहरूलाई राज्यले विशेष प्याकेज ल्याएर पढाउनुपर्छ, उत्पादनसँग जोड्नुपर्छ, सरकारी निकायमा सेवा गर्नका लागि तयार पार्नुपर्छ र जाति, समुदाय, लिंगको समानुपातका आधारमा कोटा छुट्टयाएर सरकारी सेवामा भर्ना गर्नुपर्छ । सबैले सामाजिक न्यायको अनुभूत गरेका दिन पछाडि परेको, दलित भएको नाममा कसैले अधिकार खोज्दैन । क्रमश: जातीय प्रेतात्मारूपी जातको मृत्यु भएर मानवता झल्काउने जात–थर आफैँ बन्दै जानेछन्।प्रकाशित : माघ ५, २०७५ ११:५२

विद्यार्थीका लागि सिनेमा

कोसेली
विद्यार्थीका लागि सिनेमा 
इतिहास
 ‘नेपालमा सिनेमाघर नखुलोस् भन्ने हाम्रो राय होइन आफ्नो पेट, बगली, संस्कृतिको विचार राखेर मात्र पाइलो अगाडि सार्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’
माघ ५, २०७५लोकरञ्जन पराजुली
काठमाडौँ — श्री ३ चन्द्रशमशेर र उनका उत्तराधिकारीको शासनकालमा मूलत: अभिजात वर्गको मात्र पहुँचमा रहेको सिनेमा प्रविधिमा पद्मशमशेर शासनारूढ भएपछि रैतीको पनि केही पहुँच पुग्यो, पद्मकै क्षणिक उदारताका कारण ।
प्रधानमन्त्री देवशमशेर र उनकी महारानीको सिन्दूरयात्राक्रम (सन् १९०१) मा नेपालमा सिनेमाको पहिलो सार्वजनिक प्रदर्शनी भएको थियो— टुँडिखेलमा । देवशमशेरलाई लखेटेर शासनसत्ता हत्याएका चन्द्रशमशेरले त्यसपछि करिब तीन दशक (सन् १९०१–१९२९) अविच्छिन्न शासन गरे । उनको शासनकालमा त्यतिबेलाका प्रभावशाली राणाहरूकहाँ आ–आफ्नै ‘थिएटर घर’ थिए र त्यहाँ नियमित रूपमा सिनेमा हेरिएका प्रसंग विभिन्न पुस्तकमा छरिएर रहेका छन् । बालकृष्ण समको आत्मकथा ‘मेरो कविताको आराधना’ मा उनका हजुरबा डम्बरशमशेरले हेर्ने सिनेमाको वर्णन छ :
हाम्रो बाज्येज्यूलाई त्यसताका सन् १९१६–१९१७ तिर चलचित्र (सिनेमा) मा सोख बढेको थियो, दिनदिन नाच बैठकमा उनी सो हेर्थे । ...त्यस बेला मूक सिनेमा थियो... नाटकमा तीव्र रुचि भएको मलाई सिनेमा मन जत्ति नै मन पर्दथ्यो तर हाम्रो भुइँ बैठकमा पढ्ने बेला र माथि सिनेमा लाग्ने बेला एउटै पर्दथ्यो । त्यहाँ माथि कार्बोन बल्दा त्यसले हाम्रो पढ्ने ठाउँको बत्तीबाट तेज र हाम्रो मन सँगसँगै खिच्दथ्यो ...भ्रमरको गुञ्जनझैं कार्बोन बलेको शब्द झ्याउँकीरी कराए जस्तै मेसिनको स्वरसित मिसिएर आउँदा मलाई वासनाले खिन्न बनाउँथ्यो ...अँध्यारो ठाउँमा घरभरिका मानिसबीचको सेतो उज्यालो चलिरहेको चित्रविचित्रको संसार देखेर रमाइरहेका हुन्थे... । (सम २०५४, पृ. ५७–५८)
चन्द्रशमशेर र उनका उत्तराधिकारीको शासनकालमा मूलत: अभिजात वर्गको मात्र पहुँचमा रहेको सिनेमा प्रविधिमा पद्मशमशेर शासनारूढ भएपछि (सन् १९४५ मा) रैतीको पनि केही पहुँच पुग्यो, पद्मकै क्षणिक उदारताका कारण । उनी प्रधानमन्त्री भएपछि उनले आफ्नो दरबार विशालनगरमा विद्यार्थीका लागि र सम्भवत: अन्य रैतीजनलाई पनि केही सिनेमा देखाएका थिए ।
यसरी विद्यार्थीलाई सिनेमा देखाउन थालेपछि सोबारे त्यसबेलाको एक मात्र खबरपत्रिका गोरखापत्रमा सम्पादकीय, लेख र चिठ्ठीपत्र छापिएका छन् । ती सामग्रीमा पहिलो, दुई लाइनको सम्पादकीयमा भनिएको छ, ‘श्री ३ महाराज, आज नेपालका शिक्षित नवयुवकहरूका प्यारा श्री ३ महाराजबाट चलचित्रको भाव बुझ्नसम्म सक्ने कलेज–स्कुलका विद्यार्थीहरूलाई बराबर शिक्षाप्रद सिनेमा देखाउने प्रबन्ध मिलाइदिबक्स्यो । आज नेपालका प्रत्येक शिक्षित यो कुराले गदगद् छन् ।’ (गोरखापत्र २००२–९।२५।२) ।
‘शिक्षाप्रद’ भनिएका ती सिनेमा पौराणिक विषयवस्तुमा बनाइएका ‘धार्मिक’ सिनेमा थिए । तीमध्ये पहिलो ‘महात्मा विदुर’ थियो । सन् १९४३ मा रिलिज भएको र पाश्र्वनाथ यशवन्त अल्टेकर र बाबुराव पेन्टरको निर्देशनमा बनेको यो सिनेमाका प्रमुख कलाकारमा विष्णुपन्त पग्निस, दुर्गा खोटे, एसबी नयमपल्ली आदि थिए ।
त्रिचन्द्र कलेजका विद्यार्थीले मात्र सुरुमा सिनेमा हेर्ने मौका पाए । उनीहरूले जुलाई १९४६ (असार २००३) सम्ममा कम्तीमा चार पटक सिनेमा हेर्न पाएका थिए । यससम्बन्धी गोरखापत्रमा छापिएका सामग्री केलाउँदा यो कुरा पत्ता लाग्छ । सम्भवत: केहीले सूचनाको अभावमा कुनै सिनेमा हेर्न छुटाए र उनीहरूमध्ये एकले तत्कालीन समयको समाचारको प्रमुख स्रोत गोरखापत्रलाई चिठ्ठी लेखे— कहिले, के सिनेमा देखाउने हो सोको सूचना पहिले नै छापिदिए हुन्थ्यो भनेर । गोरखापत्रले तिनको चिठ्ठीलाई चिठ्ठीकै रूपमा छापेन तर यस्तो प्रत्युत्तर दियो :
एक जना सज्जन, सायद कुनै अंग्रेजी फाँटका विद्यार्थी होलान् । तिनको एउटा चिठ्ठी हामीले पायौं । चिठ्ठीमा उनी श्री ३ महाराजको विद्यार्थीहरूउपरको निगाहले विद्यार्थीहरूले सिंहदरबारमा चारचोटि सिनेमा हेर्न पाएका कुराको उल्लेख गर्दै भन्दछन्— अबउप्रान्त देखाइने सिनेमाहरूको सूचना पहिले नै गो.प.मा प्रकाशित गरिदिने गर्नुभए बेस हुन्थ्यो, इत्यादि । हवस कोसिस गर्नेछौं तर हाम्रो सिद्धान्त छ, ‘कर्मण्ये वाधिकारस्ते मा फलेसु कदाचन । मा कर्म फलहेतुर्भूर्मा ते संगस्त्वकर्मणि ।। (गोरखापत्र २००३।४।१।२)
विशालनगर दरबारमा देखाइने सिनेमाबारे बजारमा हल्ला चल्नसमेत थाल्यो । त्यस्तो हल्लालाई विश्वास नगर्न पाठकलाई अनुरोध गर्दै गोरखापत्रले थप्यो : ‘यहाँ अर्को एउटा कुरो पनि भनिहालौं । फलानो सिनेमा आएको छ । अब त्यो पनि विद्यार्थीहरूलाई देखाइने रे इत्यादि गल्लीहल्लाहरूमा चाहिँ विश्वास नगर्नुहोस् । बेलायती अप्रिल मैह्नाको संक्रान्ति नेपालका गल्लीहरूमा दिनदिनैजसो आइरहन्छ’ (गोरखापत्र २००३।४।१।२) ।
त्रिचन्द्रका विद्यार्थीले सिनेमा हेर्न पाए तर संस्कृत मेल तर्फकाले पाएनन्, न स्कुले विद्यार्थीले पाए । विभेद भयो । सिनेमा हेर्ने धोको त संस्कृततर्फकालाई पनि थियो । उनीहरूले नि गोरखापत्रलाई नै मुक्तिदाता सम्झे र सम्पादकका नाममा बेनामी चिठ्ठी (हरू ?) लेखे, त्रिचन्द्रका विद्यार्थीको रूपमा परिचय दिँदै । सम्पादकले कुरो बुझिहाले र प्रत्युत्तर दिए । अलिकति सन्तोष गर्न सम्झाइएको र अलिकति ‘सार्काज्म’ (या कन्टेम्प्ट ?) मिसिएको लामो टिप्पणी यस्तो थियो : एउटा अर्को बेनामी चिठ्ठी पनि हामीले पायौं । त्यसमा कुनै छद्मभेषी विद्वान् या विद्यार्थीले आफूलाई त्रिचन्द्र कलेजको विद्यार्थी हुँ भनी लेखेको थियो । पर्दाभित्र लुकेर कराएको हामीलाई मन पर्दैन । तर पनि उसको मागलाई नकिची कुनै न कुनै रूपमा प्रकाशित गरिदिनु नै गो.प.को धर्म हो । उसको भनाइ थियो । ‘संस्कृतका विद्यार्थीहरूले सिनेमा हेर्न किन नपाउनु ?’ इत्यादि । प्रश्न त मौलिक छ तर यसमा सत्व बहुतै कम । संस्कृतको सिनेमा अर्थात् सवाक् चित्रलाई दयालु भगवान्ले सृष्टि गरी नेपालमा पठाउनुभएको छैन । ‘होलिडे इन’ र ‘विल्सन’ जस्ता सिनेमालाई उहाँहरू बुझ्नुहुन्न । धार्मिक सिनेमाहरू पनि आधुनिक रङमा ढालिएका मात्र छन् । ‘नवमेव मनोहारी’ भन्ने उन्नतिप्रिय क्षेमेन्द्र मरिहाले । योगको दिव्यदृष्टि र तान्त्रिक साधनहरूका अघिल्तिर सिनेमा एउटा तुच्छ वस्तु हो । आजकालको समयमा पनि कति मानिस यस्ता छन् जो सिनेमाका खेलाडीहरूलाई पतित सम्झन्छन् । यसै भ्रम या धारणाले निमन्त्रणामा छुट भएको होला । तर पनि सन्तोष नै बेस होला कि क्या— किनकि ‘असन्तुष्टा द्विजा नष्टा:’ भन्ने पुरानो उखान छ । (गोरखापत्र २००३।४।१।२)
***
माथि उल्लिखित होलिडे इन (सन् १९४२, सांगीतिक) र विल्सन (सन् १९४४, जीवनी) अमेरिकी फिल्म हुन् । विल्सनचाहिँ २८ औं अमेरिकी राष्ट्रपति (सन् १९१३–१९२१) विड्रो विल्सनमाथि बनेको फिल्म हो । यी फिल्मबारे सम्पादक कसरी जानकार भए, त्यो थाहा हुँदैन । ती फिल्म आयात गरेर सम्भ्रान्त वर्गले निजी रूपमा हेरेको पनि हुन सक्छ । अथवा भारतबाट ल्याइने हिन्दी र अंग्रेजीका विभिन्न पत्रपत्रिकामा ती सिनेमाबारे छापिएका सामग्रीबाट पनि सम्पादक जानकार भएको हुन सक्छ ।
जे होस्, संस्कृतका विद्यार्थीको निवेदनले गोरखापत्रमा परोक्ष स्थान पाएपछि अन्तत: उनीहरूको अभ्यर्थना पनि सुनियो । र, संस्कृत मेलतर्फका विद्यार्थीले पनि कम्तीमा एक पटक सिनेमा हेर्न पाए । गोरखापत्रको निम्न टिप्पणीले सोही संकेत गर्छ :
यसपालि संस्कृतका विद्यार्थीहरूले पनि एउटा भक्ति रसको सवाक् चित्र हेर्न पाएको कुरो हामीले सुन्यौं । यस विषयमा हाम्रो अघिल्लो सम्पादकीय व्यग्योक्तिलाई धेरै विद्यार्थीहरूले बुझेनछन् । अब ता सबैले बुझ्न्यै छन् भन्ने आशाका साथसाथै संस्कृततर्फका विद्वान् अथवा विद्यार्थीहरूले नवीनताको कदरमा यति धेरै चटपटाएकोमा हामी औधी खुसी भएका छौं । (गोरखापत्र २००३।४।८।२)
संस्कृतका विद्यार्थीले पनि सिनेमा हेर्न पाएपछि, स्कुले विद्यार्थी के पछि पर्थे र ? उनीहरूले पनि प्रयत्न गरे, गोरखापत्रमार्फतै । आठ कक्षाका विद्यार्थीले लेखेको र गोरखापत्रमा छापिएको सानो फिरादपत्र यस्तो थियो : ‘महाशय— जति बालक नाच्छन् उति उत्सवको रंग चढ्छ । हामीले पनि अरू उच्च कक्षाका विद्यार्थीले झैं सिनेमा हेर्न पाए श्री ३ महाराजको जय जय मनाउँथ्यौं । —अष्टम श्रेणीका विद्यार्थीहरू’ (गोरखापत्र २००३।४।२९।३)
गोरखापत्रका सामग्रीबाट आठ वा तल्लो तहका विद्यार्थीले तत्पश्चात् सिनेमा हेर्न पाए–नपाएको प्रस्ट हुन्न । यद्यपि, मूलत: विद्यार्थीका लागि देखाइए पनि केही सिनेमा अन्य सर्वसाधारण या ‘थाङ्ने–माङ्ने’ ले पनि हेर्न पाए । हेर्न पाउने/नपाउने र केही सिनेमा हेर्न पाउने सबैले गुनासो र अनुरोधका लागि गोरखापत्रलाई गुहार्थे । गोरखापत्र एउटा सम्पादकीयमा लेख्छ, “हामीकहाँ आजकाल सिनेमासम्बन्धी धेरै चिठीहरू आइरहेका छन् । कुनै भन्दछन्, ‘मैले हेर्न पाइनँ ।’ कुनै भन्दछ—‘हामीहरूले ता अवश्यै पाउनुपर्ने ।’अर्को एक थरी भन्दछ— ‘अस्तिको पालि हेरेकै हो, यसपालि मात्र हामी किन छुट्यौं ?’” (गोरखापत्र २००३।४।१८।२) । गोरखापत्र आफ्नो सम्पादकीयमा अगाडि लेख्छ—
वर्तमान श्री ३ महाराजबाट आफ्नो व्यक्तिगत उपयोगको निम्ति झिकाइएको सिनेमा अरू धेरै सर्वसाधारणलाई पनि हेर्ने मौका बक्सियो । फेरि यसपालि विशालनगर दरबारमा भइरहेको नाटकहरूलाई हेर्नका लागि कैयन दिनसम्म हद से हद थाङ्ने–माङ्नेहरूका निम्ति पनि ढोका खुला थियो † यसलाई भन्दछन् उदारता! सायद कुनै–कुनैलाई यो कुरा मन परेन पनि होला— यसमा ता मुसुक्क हाँस्नु सिवाय के औषधि छ र ? (गोरखापत्र २००३।५।२५।२)
आफ्नो निजी उपभोगका लागि ल्याएको सिनेमा यसरी सार्वजनिक प्रदर्शनी गरी ‘ऐरे–गैरे’ लाई हेर्ने सुविधा दिएको घटनालाई सम्पादकले मालिकको ‘उदारता’ ठह‍र्‍याए पनि यो उदारता धेरै दिन टिके–नटिकेको थाहा हुँदैन । किनभने, भदौको अन्तिम सातापछिपद्मशमशेर सत्तामा रहुन्जेल गोरखापत्र (शारदामा पनि) मा सिनेमाबारे थप सामग्री छापिएको भेटिएन । सायद टिकेन अन्यथा यो वा ऊ आवरणमा केही न केही सामग्री छापिन्थे ।
विशालनगर दरबारमा उदारतापूर्वक भएको यो सिनेमाको ‘सार्वजनिक’ प्रदर्शनीअघि नै नेपालीहरूलाई पनि सिनेमाको चस्काले छोइसकेको थियो । र, यो प्रदर्शनीले सम्भवत: सो चस्कालाई थप बढाइदियो । त्यसैले, सोही समय (अर्थात् सन् १९४६ मै) नेपालमै सिनेमा खोल्नेबारे थोर–बहुत चर्चा भएको संकेत मिल्छ ।
गोरखापत्रको सम्पादकीय टिप्पणीमा सिनेमा खोल्ने कुराको ‘परोक्ष’ विरोधसमेत गरिएको छ, ‘जबसम्म हाम्रा जातीय फिल्महरू तयार हुँदैनन् त्यहाँसम्म सर्वसाधारण अबुझहरूमा विदेशी संस्कृतिको भाव जबर्जस्ती कोचिदिनाले नेपाली संस्कृतिका प्रति अन्याय हुनेछ ।... नेपालमा सिनेमाघर नखुलोस् भन्ने हाम्रो राय होइन । आफ्नो पेट, बगली, संस्कृतिको विचार राखेर मात्र पाइलो अगाडि सार्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ (गोरखापत्र २००३।४।१८।२)
गोरखापत्रको यो विरोध सम्भवत: कसैको ‘सह’ नपाई भएको थिएन । त्यसैले, पद्मशमशेरको शासनकालमा सिनेमाघर स्थापना चर्चा चर्चामै सीमित रह्यो, व्यवहृत हुन सकेन । त्यसका लागि अर्को तीन वर्षभन्दा बढी कुर्नुपर्‍यो । नयाँ शासक आउनुपर्‍यो ।
पद्मशमशेरलाई निर्वासित हुन बाध्य तुल्याएर (सन् १९४८ मा) सत्तारूढ भएका मोहनशमशेरको पालामा नेपालमा सिनेमाको सार्वजनिक उपभोगको साधन बन्यो । मोहनशमशेरले शासनसत्ता हातमा लिएपछि भएको सिन्दूरयात्राका अवसरमा दिएको वक्तव्य र त्यसको केही महिनापछि जन्मोत्सवमा दिएको वक्तव्यमा सिनेमाघर स्थापना गर्ने कुरा नपरे तापनि सन् १९४९ को डिसेम्बरमा ‘काठमाडौं सिनेमा भवन’ को स्थापना गरेर व्यापारिक हिसाबले आजभोलिको जस्तो सिनेमाको टिकट बेचेर सिनेमा देखाउने प्रबन्ध भयो । डिसेम्बर ११ मा उद्घाटन गरिएको उक्त हलमा पहिलो पटक ‘रामविवाह’ नामक सिनेमाको प्रदर्शनी भएको सिनेमा थियो ।प्रकाशित : माघ ५, २०७५ ११:३१

थारू गाउँमा मटान अङ्ना

थारू गाउँमा मटान अङ्ना
माघ ३, २०७५
दुर्गालाल केसी

दाङ — हातमा ढिकरी, अचार, रोटी र रक्सीका बोतल । गाउँभरिका मानिस लक्ष्मीप्रसाद चौधरीको घरमा जम्मा भए । ल्याएको प्रसाद आँगनको बीचमा जम्मा गरे अनि सबैले चौधरीबाट टीका थापे । उनले पनि गाउँलेलाई सकेजति मीठोमसिनो खुवाए । अनि, चौधरीले गाउँलेलाई सम्बोधन गर्न थाले, ‘मैले वर्षभरि गाउँ समाजको नेतृत्व गरेँ, गाउँमा मुद्दा मामिला मिलाएँ । केही गुनासा छन् भने राख्नुहोस् ।’
चौधरी घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँका महतवा हुन् । महतवा थारू गाउँको अगुवा हो । माघी पर्वको अवसरमा नयाँ महतवा चुनिन्छ । पुरानाले राम्रो काम गरेको समीक्षा भएमा उसैलाई निरन्तरता दिइन्छ । नभए नयाँ छानिन्छ । महतवाकै आँगनमा गाउँले जम्मा भएर लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छान्ने कामलाई मटान अङना भनिन्छ । बुधबार मटान अङ्नाबाट लक्ष्मीप्रसाद पुन: महतवा चुनिए ।
गाउँलेले आ–आफ्ना विचार राखे । महतवाको कामबाट सन्तुष्ट भएको भाव व्यक्त भएपछि सबैले फेरि उनैलाई निरन्तरता दिने निर्णय गरे । त्यसपछि गाउँमा वर्षभरि के कस्ता काम गर्ने भन्नेबारे पनि छलफल भयो । ‘मैले आफ्ना योजना सुनाए । गाउँलेले पनि सल्लाह–सुझाव दिए,’ लक्ष्मीप्रसादले भने, ‘हाम्रो थारू गाउँ महतवा प्रथामा चलेको छ ।’
अहिले स्थानीय सरकारका रूपमा वडा कार्यालय भएकाले स्थानीय तहसँग समन्वय गरी विकासका काममा ध्यान दिनुपर्ने सुझाव स्थानीय जन्तराम चौधरीले सुझाए । ‘हाम्रो महतवा प्रथालाई स्थानीय सरकारले पनि महत्त्व दिनुपर्छ,’ उनले भने, ‘हाम्रा कामलाई मान्यता दिनुपर्छ । गाउँको विकासमा महतवाले पनि स्थानीय वडा कार्यालयसँग मिलेर काम गर्नुपर्छ ।’ अनिल चौधरीले जनताको चाहनाअनुसार काम गरेर महतवाले कुशल नेतृत्व दिनुपर्ने सुझाव दिए । ‘यो वर्षौंदेखि चल्दै आएको परम्परा हो,’ उनले भने, ‘यसलाई बचाउन जनताको चाहना बुझेर काम गर्नुपर्छ ।’
गाउँकै गुरुप्रसाद चौधरीले महतवा प्रथा हराउँदै गएकामा चिन्ता व्यक्त गरे । ‘धेरै ठाउँमा महतवा छान्न छोडिएको छ । हाम्रो कला संस्कृति हराउन थाल्यो,’ उनले भने, ‘हाम्रो चिनारी हराउन दिनुहुँदैन ।’ थारू समुदायले हरेक वर्ष माघी पर्वका अवसरमा वर्षभरिको समीक्षा गरी नयाँ योजना बनाउने चलन छ । महतवाकै घरमा जम्मा भएर माघीको शुभकामना आदानप्रदान गर्ने, नाचगान गर्ने र नयाँ नीतिनियम बनाउने चलन रहेको शुक्रबारका नवीन चौधरीले बताए । प्रकाशित : माघ ३, २०७५ ०८:०८

२५ गाउँमा महतवा

२५ गाउँमा महतवा
माघ ३, २०७५
करिश्मा चौधरी
वीरेन्द्रनगर — ३५ थारू गाउँ रहेको सुर्खेतको वीरेन्द्रनगरका २५ गाउँमा महतवा र अगह्वा चुनिएका छन् । थारू जातिले माघलाई नयाँ वर्षका रूपमा मनाउनुका साथै अगह्वा र महतवा चुन्ने गर्छन् । यो माघीको दोस्रो दिन हुन्छ ।
विभिन्न सामाजिक, सांस्कृतिक काम गरिने माघमा थारूले अगह्वा र महतवा चुन्ने प्रक्रियालाई निकै महत्त्व दिन्छन् । नयाँ अगह्वा र महतवाले गाउँका लागि नयाँ योजना पनिबनाउने गर्छन् । यसअघि कार्यान्वयन भइरहेका नियम पनि पालना गराउँछन् । अघिल्लो
वर्षका अगह्वा र महतवाकोकाम चित्तबुझ्दो भए उनीहरूलाईनयाँ वर्षमा जिम्मेवारी दिइन्छ । चित्तबुझ्दोनभए अर्को व्यक्ति चुनिन्छ । महतवार अगह्वा चयन गर्दा धेरैजसोसर्वसम्मत हुन्छन् ।
नेतृत्व गर्ने चुन्ने र जिम्मेवारी दिन गाउँका सबैले छलफल गर्छन् । गाउँको भलाइ, सबैको माग र नियमअनुसार नै उनीहरूले काम गर्नुपर्ने हुन्छ । महतवा छनोटमा गाउँको सक्षम व्यक्ति खोजिन्छ । यस वर्षका लागि वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा चन्द्रबहादुर थारू महतवा र बुद्धि चौधरी अगह्वा चुनिए । त्यस्तै नयाँ गाउँमा टोल विकास संस्थाका अध्यक्ष बालकृष्ण चौधरीलाई महतवा छानियो । वीरेन्द्रनगरकै पदमपुरमा पनि दुर्गबहादुर थारू महतवा र गंगाराम चौधरी अगह्वा चुनिएका छन् ।
थारू गाउँमा विकास निर्माणका साथै भोजभतेर, विवाहपर्व तथा मान्छे बित्दा कामको बाँडफाँट र निर्देशन दिने काम महतवाले गर्छन् । अगह्वाले महतवाको निर्देशन पालना गर्छन् । गाउँमा कुनै विषयमा बेमेल भए, झैझगडा भए महतवाको अध्यक्षतामा मिलाउने गरिन्छ । अगह्वा र महतवालाई नेतृत्व विकाससँग जोडिन्छ । अगह्वा/महतवा केन्द्रीय समिति सदस्य दुर्गबहादुर थारूले महतवा टोल विकास संस्थाका अध्यक्षजस्तै नेतृत्वकर्ता रहेको बताए ।
महिला पनि अगह्वा र महतवा बन्ने चलन छ । सुर्खेतमा भने अहिलेसम्म महिला महतवा चुनिएका छैनन् । ‘चलनअनुसार महिला पनि महतवा बन्छन्, सुर्खेतमा छैन,’ उनले भने, ‘अधिकार लिन नखोजे कसले दिन्छ र ?’ महिला पनि अगह्वा, महतवा बने उनीहरूको नेतृत्व विकास हुने थारू बताउँछन् । थारू समुदायमा अगह्वा, महतवा चुन्ने परम्परालाई एकताका रूपमा लिन सकिने अगुवा जागुराम थारू बताउँछन् ।
प्रकाशित : माघ ३, २०७५ ०८:०९

थारू बस्तीमा माघीको उल्लास

थारू बस्तीमा माघीको उल्लास
जिता, ढिक्री, घोंगी र मुसाका परिकार, गाउँगाउँमा बडघर चयन, छोराछोरीको विवाह मिति तय
माघ १, २०७५प्रदेश ५ ब्युराे
बुटवल — पश्चिम तराईका थारू गाउँलाई माघीको रौनकले छपक्कै छोपेको छ । सोमबारदेखि खानपान र नाचगान सुरु भए । गाउँमा परदेशी फर्किएका छन् । यसलाई बहुआयामिक पर्व मानिन्छ । माघ १ गते परिवारका सबै सदस्य स्वतन्त्र हुन्छन् ।
आत्मनिर्णयको अधिकार उनीहरूलाई दिइन्छ । यसैले माघीलाई स्वतन्त्रताको पर्व भनिन्छ । ठूलो परिवार अलग–अलग हुन सक्छन् । छोराछोरीको विवाहको मिति तय गरिन्छ । घरमूली फेर्न पाउँछन् । गाउँका लागि आवश्यक नियम यही दिन तय गरिन्छ ।
‘गाउँका अगुवा (बडघर) पनि चयन गरिन्छ,’ अगुवा नारायण चौधरीले भने, ‘माघी लोकतान्त्रिक पर्व हो ।’ थारू समुदायले यसलाई वैज्ञानिक पर्वका रूपमा मनाउँछन् । यतिबेला घरमा खाद्यान्न र बारीमा तरकारी हुने भएकाले पर्व मनाउन सहज छ । बडघर छनोट गर्न गाउँभरिका परिवारका घरमूलीले आफ्ना मत वा तर्क पेस गर्छन् । थारू समुदाय संस्कृतिको खानी मानिन्छ । पछिल्लो समय संस्कृति बिर्सिन थालेपछि यसलाई सांस्कृतिक अभियानका रूपमा मनाउन थालिएको हो ।
दाङ, बाँके र बर्दियाका थारू बस्तीमा सोमबार मासुका लागि (जिता) सुँगुर–बंगुर मारिएका छन् । ढिक्री पकाउन सुुरु भइसकेको छ । घोंगी, माछा, मुसाका परिकार तयार भइसकेका छन् । राति माघी नहान (स्नान) गरिन्छ । गाउँगाउँमा सांस्कृतिक कार्यक्रम राखिएका छन् । माघीले समुदायमा उत्साह थपेको छ । सोमबार राति १२ बजेपछि तालतलैया, नदीमा गएर स्नान गरी शिवालयमा जल चढाउने परम्परा छ ।
स्नानपछि आफूभन्दा ठूलालाई ढोग गरी (निसराउ) चामल छुनुपर्छ । जुन चालम विपन्नलाई दान दिने र उब्रेमा दिदीबहिनीलाई कोसेली पठाइन्छ । ‘मासुका लागि जिता तयार भइसक्यो,’ बाँके बैजनाथ–८ का बडघर केदार चौधरीले भने, ‘सोमबार बिहानैबाट चहलपहल बढेको छ । रमाइलोसुरु भइसक्यो ।’
माघी लक्षित गरेर बैजनाथ गाउँपालिका गुरुदयालपुर, राप्ती सोनारी गाउँपालिकाको भुवरभवानी, बर्दियाका बाँसगढी नगरपालिका, ठाकुरद्वारा, सदरमुकाम गुलरियामा महोत्सव तथा मेला आयोजना गरिएको छ । त्यहाँ माघी परिकार बिक्रीमा राखिएका छन् । परम्परागत पहिरनमा सजिएर माघीका गीत गाउँदै रमाइरहेका छन् ।
ढिक्री र मघौटा
माघीमा थारू समुदायले पकाउने महत्त्वपूर्ण परिकार ढिक्री हो । यसले बेग्लै पहिचान बनाएको छ । अहिले माघीको रौनकसँगै थारू गाउँमा ढिक्री पाकिरहेका छन् । अन्य समुदायका मानिस यसको स्वाद लिन थारू गाउँ पस्छन् । अचेल औपचारिक कार्यक्रममा पनि खाजाका रूपमा ढिक्री खुवाउने गरिन्छ । यो चामलको पिठोको परिकार हो । यो बाफबाट पकाइन्छ ।
पकाउने तरिका म:मको जस्तै हो । ‘थारू समुदायका चाडपर्व भनेपछि ढिक्रीको नाम आइहाल्छ । ढिक्री नपकाएसम्म पर्व नै मनाइँदैन,’ घोराही १०, नारायणपुरकी सरस्वती चौधरीले भनिन्, ‘हामीले ढिक्रीलाई महत्त्वपूर्ण परिकार मान्दै आएका छौं । अरू समुदायका पनि थारू गाउँ आएपछि ढिक्री खोज्छन् ।’ माघीको अवसरमा ढिक्री पकाउने, अचार बनाउने, रोटी पकाउने, सुँगुर काट्नेलगायत काम चलिरहेका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेको छ । माछा, खसी, सुँगुर, कुखुरा मार्नुका साथै तरुल पनि खनिएका छन् ।
खास माघी पर्व माघ १ गते हो । यस दिन बिहानै नुहाउने, अग्रजसँग टीका ग्रहण गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा निसराउ दिन जाने चलन छ । माघीमा मघौटा गीत गाइन्छ । घरघरमा नाचगान गर्दै जाने र ढिक्री खाने परम्परा रहेको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘माघीमा मघौटा गीत र नाचसँगै ढिक्री खाएर रमाइलो गरिन्छ,’ उनले भने, ‘ढिक्री थारूको पुरानो परिकार हो । यसलाई विभिन्न पौराणिक कथासँग जोडेर व्याख्या गरिन्छ ।’ पाँच पाण्डवमध्येका सबैभन्दा बलिया भीम भएको र उनले पिठोको नपाकेको रोटी खाएको कहानीसँग पनि ढिक्रीको प्रसंग जोडिने उनले बताए ।
चलन हरायो
माघी थारू समुदायको नयाँ वर्ष हो । यस दिन वर्षभरिको योजना तर्जुमा गरिन्छ । जिम्मेवारी बाँडफाँट हुन्छ । पहिले माघीका दिन मुखिया चुन्ने चलन थियो । सबैले सम्मान गर्ने र न्याय गर्न सक्ने व्यक्तिलाई वर्षदिनका लागि मुखिया चुन्थे । गाउँघरमा झगडा, दु:ख पर्दा, सहयोग आदानप्रदान मुखियाको निर्देशनमा हुने र जग्गाको तिरो उनैमार्फत बुझाउने चलन थियो ।
अहिले उक्त चलन हराएको छ । पश्चिम नवलपरासीको सरावलका ७५ वर्षीय जितबहादुर चौधरीलाई गाउँमा मुखिया चुन्ने परम्पराको अझै सम्झना छ । ‘गाउँभरिका जम्मा भएर नाचगान गर्ने, मीठो खाने र आपसमा सहमति गरेर एक अगुवालाई मुखिया चुन्ने गरिन्थ्यो,’ उनले भने, ‘बहुदल आएपछि राजनीतिक पार्टीको चहलपहलले यो प्रथा हराएजस्तो भयो ।’
थारू गाउँ मिश्रित समुदाय भयो । नयाँ पुस्ताले आफ्नो भाषा नजान्ने अवस्था आएपछि यसको संरक्षणमा थारू अगुवाले चासो देखाएका छन् । मौलिक पोसाक र संस्कृति संरक्षणका लागि विभिन्न स्थानमा महोत्सव गर्ने, मौलिक नाच प्रतियोगिता गर्ने र नयाँ पुस्तालाई मौलिक संस्कृतितर्फ आकर्षण गर्न खोजिएको स्थानीय मनीराम थनैतले बताए ।
चेली पुज्ने पर्व
माघी ठाउँ र परिवेशअनुसार फरक–फरक तरिकाले मनाइन्छ । पूर्वी रुकुममा मीठो खाने, सिस्नो हान्ने र परम्परागत खेल खेलेर मनाउने चलन छ । केही क्षेत्रमा छोरीबहिनीलाई पुज्ने गरिन्छ । मगर समुदायले माघीमा चेली पुज्ने गर्छन् । पुथाउत्तरगंगा र भूमेका अधिकांश र सिस्ने गाउँपालिकाका केही ठाउँमा छोरीबहिनीको पूजा गरिन्छ ।
यो चलन ठाउँपिच्छे फरक छ । कति ठाउँमा बिहान भाले बास्नेबित्तिकै र कति ठाउँ ढिला गरेर छोरीबहिनी पुज्ने गर्छन् । पुजिसकेपछि उनीहरूलाई मीठा परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । ‘दिन लामा हुने, रात छोटा हुने, जाडो भाग्ने र न्यानो लाग्ने संक्रान्तिका रूपमा यसलाई लिइन्छ,’ भूमेका अध्यक्ष रामसुर बुढामगरले भने, ‘छोरीबहिनी पुज्ने चलन उहिल्यैदेखिको हो ।’
मगर समुदायले छोरीबहिनी पुजिसकेपछि ‘अस्तासिन्या’ सुरु गर्छन् । हरेक वर्षको माघ महिनाको पहिलो दिन सुरु हुने ‘अस्तासिन्या’ सात दिनसम्म चल्ने गर्छ । खाम भाषामा ‘अस्तासिन्या’ को अर्थ तारो अर्थात तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि ‘अस्तासिन्या’ हान्न थालिएको भनाइ छ ।
जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाका अधिकांश ठाउँ र सिस्नेका केही गाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगाको १ देखि ४ वडामा यो पर्व विशेष धुमधामसाथ मनाइन्छ । प्रकाशित : माघ १, २०७५ ०८:१६

चेलीबेटी पुज्दै सकराती

चेलीबेटी पुज्दै सकराती
माघ २, २०७५सुनीता साखकर्मी
काठमाडौँ — कोही मादलको तालमा नाच्दै थिए त कोही स्टलहरूमा विभिन्न परिकार चाख्दै थिए । कोही भने विभिन्न भाषाका पुस्तकहरू बेच्दै थिए । मञ्चतिर सांस्कृतिक अधिकारकर्मीहरू संस्कृति बचाउनुपर्ने भन्दै भाषण दिँदै थिए ।
राजधानीको टुँडिखेलमा मंगलबार मगर, थारू, राई लगायत विभिन्न समुदायले भिन्नभिन्न तरिकाले माघे संक्रान्ति मनाए । यो दिनलाई मगर समुदायले भने मौलिक पर्व ‘माघे सकराती’ का रूपमा मनाउँदै आएको छ र टुँडिखेलमा त्यसको भिन्न उल्लास देखिन्थ्यो ।

काठमाडौँको सामाखुसीका कमलबहादुर राना मगरसहित छ जनाको टोली चौरमै बसेर सेल र तरुल खाँदै थियो । ५९ वर्षीया कमलले यी परिकार घरैबाट ल्याएका रहेछन् । मगर संस्कृति नै अनुसरण गर्ने भए पनि उनी मासु खाँदा रहेनछन् ।

‘यहाँका स्टलमा माछामासुयुक्त खानेकुरा हुने भएकाले घरबाटै पकाएर ल्याएको,’ नरम सेल टोक्दै उनले भने, ‘पहिलेका मानिस र संन्यासीहरू यस्तै सादा खाएर बाँचेका थिए । सेल, तरुल र सख्खरले चिसोमा शरीरलाई तातो बनाउन सहयोग गर्छ । अनि यस्तो मेलाले आफन्तहरूलाई एकै ठाउँ भेला पारिदिन्छ, अनि रमाइलो हुन्छ ।’

उनकै टोलीमा रहेका गोरखाका चेतबहादुर आलेले राजधानीमा नै माघे सकराती मनाउन थालेको बीस वर्ष भइसक्यो । स्टलका खानाहरूले लोभ्याए पनि स्वास्थ्यका कारण तीबाट टाढै बस्ने गरेको उनले बताए । ‘यी खानेकुराहरू स्वास्थ्यवर्धक नहुन सक्छन् । घरबाटै ल्याए स्वस्थ पनि हुन्छ अनि मीठो पनि हुन्छ,’ उनले भने, ‘के खाने, के नखाने मनको इच्छा हो, तर स्वास्थ्यको हिसाबले खाने हो भने हामीले त्यसलाई महत्त्व दिनु हुन्न ।’

सोह्रखुट्टेबाट मेलामा आएकी रामेछापकी सुनीता मगरको टोली टँुडिखेलकै एकातिर गोलबद्ध थियो । उनको टोलीका चौध–पन्ध्र जना पनि घरबाटै ल्याएका पोका खोल्दै थिए । सुनीताका अनुसार, उनीहरूले दुई वर्षदेखि राजधानीमा माघे सकराती मनाउन थालेका हुन् । पढाइको सिलसिलामा राजधानी आएपछि गाउँ जान नपाएको उनले बताइन् ।
‘स्टलमा भएका खानेकुराहरू अलि महँगा छन्,’ घरबाटै पोका बोकेर आउनुको कारणबारे उनले भनिन्, ‘महँगो तिरेर थोरै खान पाइन्छ, पेट पनि भरिँदैन । घरबाटै जति खान मन लाग्छ पकाएर ल्याए टन्न खान पाइन्छ ।’

सुनीताहरूले ल्याएका पोकामा छोइला, अचार, पिँडालु, सेल रोटी, सुंगुरको मासु, तरुल लगायत थिए । ‘लोकल रक्सी र छयाङ पनि ल्याएका थियौँ,’ त्यही टोलीका वसन्त राईले भने, ‘पहिलो चोटि राजधानीमा सकराती मनाएको, रमाइलो लागिरहेको छ । तर यो चौरमा घाँस नभएर धुलैधुलो मात्र रहेछ । घरबाट ल्याएका खानेकुरा पनि धुलो पर्ला भनेर छिटछिटो खानुपरिरहेको छ ।’

राजधानीकै पकनाजोलबाट आएका इरुजा पाण्डे, सुनीता केसी, सविता केसी र सविना केसी टपरीमा सेल, बारा र अचार राखेर खाँदै थिए । उनीहरूले घरमा घ्यू, चाकु, तरुल, खिचडी, मासु खाएर आएका रहेछन् । मेलामा मगर साथीहरूले खाजाको अफर गरेपछि बारा, सेल खान मन लागेको इरुजाले बताइन् । ‘टपरीमा राखेर खाँदै गर्दा गाउँको फिल आएको छ,’ उनले भनिन् ।

फिल्मकर्मी एवं लेखक संजोग लाफा मगरका अनुसार, मगर जाति भित्रै पनि विविधता छ । मगरहरूले आफ्ना चेलीबेटी पुज्ने पर्वको रूपमा यो सकराती मनाउने गरेको उल्लेख गर्दै उनले भने, ‘मगरहरूको सकराती चेलीबेटी पुजेपछि सुरु हुन्छ । स्याङ्जाका केही भागमा भने मगरहरूले आफ्ना पितृपुर्खाको नाममा डिडाके (पानी चढाउने) काम गर्छन् ।’

टुँडिखेलमा पहिलो पटक मगरहरूले सकराती मनाएको उनले बताए । प्राय: मौलिक पोसाकमा सजिएर बालबालिकादेखि बूढापाकासम्म टुँडिखेल पुगेका थिए । ‘यसले मगरहरूले आफ्नो संस्कृति र संस्कारमाथि गौरव गर्न थालेको संकेत दिन्छ,’ उनले भने ।
टुँडिखेलमा फुड स्टलदेखि पुस्तक प्रदर्शनी, फेस पेन्टिङलगायत स्टल राखिएका थिए ।
प्रकाशित : माघ २, २०७५ ०८:३७

अस्तासिन्याको उत्साह

अस्तासिन्याको उत्साह 
हरि गौतम
जिल्लाका मगर समुदायले माघी अर्थात् मकर संक्रान्तिलाई विशेष तवरले मनाउँछन् । भूम्या पर्वपछि यो उनीहरूको ठूलो चाड हो । माघीको अवसरमा मगर समुदायको बाक्लो बसोबास रहेको स्थानमा अस्तासिन्या पर्व सुरु भएको छ ।
हरेक वर्षको माघ महिनाको पहिलो दिनदेखि सुरु हुने यो पर्व ७ दिनसम्म चल्छ । यस वर्ष पनि मंगलबारबाट सुरु भएको अस्तासिन्या पर्व सोमबार सकिनेछ । मगर खाम भाषामा अस्तासिन्याको अर्थ तारो अर्थात् तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि नै तारो हान्ने चलन सुरु भएको स्थानीयहरू बताउँछन् ।
जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाकाका अधिकांश वडा र सिस्ने गाउँपालिकाका केही ठाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ६ वडा तथा साबिकको रन्मामैकोट तथा हुकाम, तकसेरालगायतका ठाउँमा ‘अस्तासिन्या’ अर्थात् तारो हान्ने चलन छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ४ वडाका विभिन्न टोलमा ‘अस्तासिन्या’ को रौनक बेग्लै छ ।
टोलैपिच्छे मनाइने यो पर्वको रौनक सुरु भइसकेको छ । मंगलबारदेखि सुरु भएको यो पर्वमा हरेक दिन फरक–फरक टोलले कार्यक्रम गरेर ‘अस्तासिन्या’ हान्ने गरेका छन् । एउटा टोलमा हुने अस्तासिन्यामा अन्य टोलका सर्वसाधारण पनि सहभागी हुने गरेका छन् ।
हरेक टोलले आफ्नो पालो परेको दिन अस्तासिन्या र तारो राखिएको स्थान (अस्ताकोला) का लागि रातो कपडा, रिवन र ऐनाको व्यवस्था गर्छन् । ‘जुन टोलमा तारो हान्नुपर्ने हो, त्यही टोलले तारो बनाउने प्रचलन छ,’ पुपाल युवा क्लबका अध्यक्ष भरतकुमार पुनमगरले भने, ‘तारो हान्न सबै सहभागी हुन्छन्, तारो बनाउने काम भने सम्बन्धित टोलको हुन्छ ।’
यस वर्ष बारघर टोलबाट तारो हान्न सुरु भएको छ । अस्तासिन्या घर्तीडेरा, कोटडेरा, कान्छाबारा, धारा टोल हुँदै काल्दुङ टोलमा पुगेर सकिने पुनले बताए । बिहानकोखानापछि नै यो खेल सुरु हुन्छ ।
अस्तासिन्या र अस्ताकोलाका लागि रातो कपडा, रिबन र ऐना इष्टपट्टिका चेली वा कुलकै चेलीबाट माग्ने प्रचलन छ । मैकोट निवासी कर्मसही घर्तीका अनुसार अस्ताकोलामै निसाना लाउनेलाई दिनैपिच्छे पुरस्कारको व्यवस्था गरिएको छ । हरेक वर्ष पुरस्कारको राशि फरक–फरक हुन्छ ।
पुरस्कारको व्यवस्था पनि सम्बन्धित टोलले नै गर्छन् । अस्तासिन्या सुरु गर्नुपूर्व यो चलन अन्तर्गत बिहान भाले बास्नेबित्तिकै घरकी छोरीबहिनी पुज्ने प्रचलन छ । त्यसपछि कुलभित्रका छोरीबहिनी पुज्ने परम्परा मगर समुदायमा छ । बिहानै छोरीबहिनीलाई पुजिसकेपछि उनीहरूलाई मीठामीठा खानाका परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । मगर समुदायले आफन्त, साथीभाइबीच भेटघाट र रमाइलो नाचगान गरेर यो पर्व मनाउने गर्छन् । प्रकाशित : माघ २, २०७५ १०:०७

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...