Monday, June 10, 2019

विद्यार्थीका लागि सिनेमा

कोसेली
विद्यार्थीका लागि सिनेमा 
इतिहास
 ‘नेपालमा सिनेमाघर नखुलोस् भन्ने हाम्रो राय होइन आफ्नो पेट, बगली, संस्कृतिको विचार राखेर मात्र पाइलो अगाडि सार्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’
माघ ५, २०७५लोकरञ्जन पराजुली
काठमाडौँ — श्री ३ चन्द्रशमशेर र उनका उत्तराधिकारीको शासनकालमा मूलत: अभिजात वर्गको मात्र पहुँचमा रहेको सिनेमा प्रविधिमा पद्मशमशेर शासनारूढ भएपछि रैतीको पनि केही पहुँच पुग्यो, पद्मकै क्षणिक उदारताका कारण ।
प्रधानमन्त्री देवशमशेर र उनकी महारानीको सिन्दूरयात्राक्रम (सन् १९०१) मा नेपालमा सिनेमाको पहिलो सार्वजनिक प्रदर्शनी भएको थियो— टुँडिखेलमा । देवशमशेरलाई लखेटेर शासनसत्ता हत्याएका चन्द्रशमशेरले त्यसपछि करिब तीन दशक (सन् १९०१–१९२९) अविच्छिन्न शासन गरे । उनको शासनकालमा त्यतिबेलाका प्रभावशाली राणाहरूकहाँ आ–आफ्नै ‘थिएटर घर’ थिए र त्यहाँ नियमित रूपमा सिनेमा हेरिएका प्रसंग विभिन्न पुस्तकमा छरिएर रहेका छन् । बालकृष्ण समको आत्मकथा ‘मेरो कविताको आराधना’ मा उनका हजुरबा डम्बरशमशेरले हेर्ने सिनेमाको वर्णन छ :
हाम्रो बाज्येज्यूलाई त्यसताका सन् १९१६–१९१७ तिर चलचित्र (सिनेमा) मा सोख बढेको थियो, दिनदिन नाच बैठकमा उनी सो हेर्थे । ...त्यस बेला मूक सिनेमा थियो... नाटकमा तीव्र रुचि भएको मलाई सिनेमा मन जत्ति नै मन पर्दथ्यो तर हाम्रो भुइँ बैठकमा पढ्ने बेला र माथि सिनेमा लाग्ने बेला एउटै पर्दथ्यो । त्यहाँ माथि कार्बोन बल्दा त्यसले हाम्रो पढ्ने ठाउँको बत्तीबाट तेज र हाम्रो मन सँगसँगै खिच्दथ्यो ...भ्रमरको गुञ्जनझैं कार्बोन बलेको शब्द झ्याउँकीरी कराए जस्तै मेसिनको स्वरसित मिसिएर आउँदा मलाई वासनाले खिन्न बनाउँथ्यो ...अँध्यारो ठाउँमा घरभरिका मानिसबीचको सेतो उज्यालो चलिरहेको चित्रविचित्रको संसार देखेर रमाइरहेका हुन्थे... । (सम २०५४, पृ. ५७–५८)
चन्द्रशमशेर र उनका उत्तराधिकारीको शासनकालमा मूलत: अभिजात वर्गको मात्र पहुँचमा रहेको सिनेमा प्रविधिमा पद्मशमशेर शासनारूढ भएपछि (सन् १९४५ मा) रैतीको पनि केही पहुँच पुग्यो, पद्मकै क्षणिक उदारताका कारण । उनी प्रधानमन्त्री भएपछि उनले आफ्नो दरबार विशालनगरमा विद्यार्थीका लागि र सम्भवत: अन्य रैतीजनलाई पनि केही सिनेमा देखाएका थिए ।
यसरी विद्यार्थीलाई सिनेमा देखाउन थालेपछि सोबारे त्यसबेलाको एक मात्र खबरपत्रिका गोरखापत्रमा सम्पादकीय, लेख र चिठ्ठीपत्र छापिएका छन् । ती सामग्रीमा पहिलो, दुई लाइनको सम्पादकीयमा भनिएको छ, ‘श्री ३ महाराज, आज नेपालका शिक्षित नवयुवकहरूका प्यारा श्री ३ महाराजबाट चलचित्रको भाव बुझ्नसम्म सक्ने कलेज–स्कुलका विद्यार्थीहरूलाई बराबर शिक्षाप्रद सिनेमा देखाउने प्रबन्ध मिलाइदिबक्स्यो । आज नेपालका प्रत्येक शिक्षित यो कुराले गदगद् छन् ।’ (गोरखापत्र २००२–९।२५।२) ।
‘शिक्षाप्रद’ भनिएका ती सिनेमा पौराणिक विषयवस्तुमा बनाइएका ‘धार्मिक’ सिनेमा थिए । तीमध्ये पहिलो ‘महात्मा विदुर’ थियो । सन् १९४३ मा रिलिज भएको र पाश्र्वनाथ यशवन्त अल्टेकर र बाबुराव पेन्टरको निर्देशनमा बनेको यो सिनेमाका प्रमुख कलाकारमा विष्णुपन्त पग्निस, दुर्गा खोटे, एसबी नयमपल्ली आदि थिए ।
त्रिचन्द्र कलेजका विद्यार्थीले मात्र सुरुमा सिनेमा हेर्ने मौका पाए । उनीहरूले जुलाई १९४६ (असार २००३) सम्ममा कम्तीमा चार पटक सिनेमा हेर्न पाएका थिए । यससम्बन्धी गोरखापत्रमा छापिएका सामग्री केलाउँदा यो कुरा पत्ता लाग्छ । सम्भवत: केहीले सूचनाको अभावमा कुनै सिनेमा हेर्न छुटाए र उनीहरूमध्ये एकले तत्कालीन समयको समाचारको प्रमुख स्रोत गोरखापत्रलाई चिठ्ठी लेखे— कहिले, के सिनेमा देखाउने हो सोको सूचना पहिले नै छापिदिए हुन्थ्यो भनेर । गोरखापत्रले तिनको चिठ्ठीलाई चिठ्ठीकै रूपमा छापेन तर यस्तो प्रत्युत्तर दियो :
एक जना सज्जन, सायद कुनै अंग्रेजी फाँटका विद्यार्थी होलान् । तिनको एउटा चिठ्ठी हामीले पायौं । चिठ्ठीमा उनी श्री ३ महाराजको विद्यार्थीहरूउपरको निगाहले विद्यार्थीहरूले सिंहदरबारमा चारचोटि सिनेमा हेर्न पाएका कुराको उल्लेख गर्दै भन्दछन्— अबउप्रान्त देखाइने सिनेमाहरूको सूचना पहिले नै गो.प.मा प्रकाशित गरिदिने गर्नुभए बेस हुन्थ्यो, इत्यादि । हवस कोसिस गर्नेछौं तर हाम्रो सिद्धान्त छ, ‘कर्मण्ये वाधिकारस्ते मा फलेसु कदाचन । मा कर्म फलहेतुर्भूर्मा ते संगस्त्वकर्मणि ।। (गोरखापत्र २००३।४।१।२)
विशालनगर दरबारमा देखाइने सिनेमाबारे बजारमा हल्ला चल्नसमेत थाल्यो । त्यस्तो हल्लालाई विश्वास नगर्न पाठकलाई अनुरोध गर्दै गोरखापत्रले थप्यो : ‘यहाँ अर्को एउटा कुरो पनि भनिहालौं । फलानो सिनेमा आएको छ । अब त्यो पनि विद्यार्थीहरूलाई देखाइने रे इत्यादि गल्लीहल्लाहरूमा चाहिँ विश्वास नगर्नुहोस् । बेलायती अप्रिल मैह्नाको संक्रान्ति नेपालका गल्लीहरूमा दिनदिनैजसो आइरहन्छ’ (गोरखापत्र २००३।४।१।२) ।
त्रिचन्द्रका विद्यार्थीले सिनेमा हेर्न पाए तर संस्कृत मेल तर्फकाले पाएनन्, न स्कुले विद्यार्थीले पाए । विभेद भयो । सिनेमा हेर्ने धोको त संस्कृततर्फकालाई पनि थियो । उनीहरूले नि गोरखापत्रलाई नै मुक्तिदाता सम्झे र सम्पादकका नाममा बेनामी चिठ्ठी (हरू ?) लेखे, त्रिचन्द्रका विद्यार्थीको रूपमा परिचय दिँदै । सम्पादकले कुरो बुझिहाले र प्रत्युत्तर दिए । अलिकति सन्तोष गर्न सम्झाइएको र अलिकति ‘सार्काज्म’ (या कन्टेम्प्ट ?) मिसिएको लामो टिप्पणी यस्तो थियो : एउटा अर्को बेनामी चिठ्ठी पनि हामीले पायौं । त्यसमा कुनै छद्मभेषी विद्वान् या विद्यार्थीले आफूलाई त्रिचन्द्र कलेजको विद्यार्थी हुँ भनी लेखेको थियो । पर्दाभित्र लुकेर कराएको हामीलाई मन पर्दैन । तर पनि उसको मागलाई नकिची कुनै न कुनै रूपमा प्रकाशित गरिदिनु नै गो.प.को धर्म हो । उसको भनाइ थियो । ‘संस्कृतका विद्यार्थीहरूले सिनेमा हेर्न किन नपाउनु ?’ इत्यादि । प्रश्न त मौलिक छ तर यसमा सत्व बहुतै कम । संस्कृतको सिनेमा अर्थात् सवाक् चित्रलाई दयालु भगवान्ले सृष्टि गरी नेपालमा पठाउनुभएको छैन । ‘होलिडे इन’ र ‘विल्सन’ जस्ता सिनेमालाई उहाँहरू बुझ्नुहुन्न । धार्मिक सिनेमाहरू पनि आधुनिक रङमा ढालिएका मात्र छन् । ‘नवमेव मनोहारी’ भन्ने उन्नतिप्रिय क्षेमेन्द्र मरिहाले । योगको दिव्यदृष्टि र तान्त्रिक साधनहरूका अघिल्तिर सिनेमा एउटा तुच्छ वस्तु हो । आजकालको समयमा पनि कति मानिस यस्ता छन् जो सिनेमाका खेलाडीहरूलाई पतित सम्झन्छन् । यसै भ्रम या धारणाले निमन्त्रणामा छुट भएको होला । तर पनि सन्तोष नै बेस होला कि क्या— किनकि ‘असन्तुष्टा द्विजा नष्टा:’ भन्ने पुरानो उखान छ । (गोरखापत्र २००३।४।१।२)
***
माथि उल्लिखित होलिडे इन (सन् १९४२, सांगीतिक) र विल्सन (सन् १९४४, जीवनी) अमेरिकी फिल्म हुन् । विल्सनचाहिँ २८ औं अमेरिकी राष्ट्रपति (सन् १९१३–१९२१) विड्रो विल्सनमाथि बनेको फिल्म हो । यी फिल्मबारे सम्पादक कसरी जानकार भए, त्यो थाहा हुँदैन । ती फिल्म आयात गरेर सम्भ्रान्त वर्गले निजी रूपमा हेरेको पनि हुन सक्छ । अथवा भारतबाट ल्याइने हिन्दी र अंग्रेजीका विभिन्न पत्रपत्रिकामा ती सिनेमाबारे छापिएका सामग्रीबाट पनि सम्पादक जानकार भएको हुन सक्छ ।
जे होस्, संस्कृतका विद्यार्थीको निवेदनले गोरखापत्रमा परोक्ष स्थान पाएपछि अन्तत: उनीहरूको अभ्यर्थना पनि सुनियो । र, संस्कृत मेलतर्फका विद्यार्थीले पनि कम्तीमा एक पटक सिनेमा हेर्न पाए । गोरखापत्रको निम्न टिप्पणीले सोही संकेत गर्छ :
यसपालि संस्कृतका विद्यार्थीहरूले पनि एउटा भक्ति रसको सवाक् चित्र हेर्न पाएको कुरो हामीले सुन्यौं । यस विषयमा हाम्रो अघिल्लो सम्पादकीय व्यग्योक्तिलाई धेरै विद्यार्थीहरूले बुझेनछन् । अब ता सबैले बुझ्न्यै छन् भन्ने आशाका साथसाथै संस्कृततर्फका विद्वान् अथवा विद्यार्थीहरूले नवीनताको कदरमा यति धेरै चटपटाएकोमा हामी औधी खुसी भएका छौं । (गोरखापत्र २००३।४।८।२)
संस्कृतका विद्यार्थीले पनि सिनेमा हेर्न पाएपछि, स्कुले विद्यार्थी के पछि पर्थे र ? उनीहरूले पनि प्रयत्न गरे, गोरखापत्रमार्फतै । आठ कक्षाका विद्यार्थीले लेखेको र गोरखापत्रमा छापिएको सानो फिरादपत्र यस्तो थियो : ‘महाशय— जति बालक नाच्छन् उति उत्सवको रंग चढ्छ । हामीले पनि अरू उच्च कक्षाका विद्यार्थीले झैं सिनेमा हेर्न पाए श्री ३ महाराजको जय जय मनाउँथ्यौं । —अष्टम श्रेणीका विद्यार्थीहरू’ (गोरखापत्र २००३।४।२९।३)
गोरखापत्रका सामग्रीबाट आठ वा तल्लो तहका विद्यार्थीले तत्पश्चात् सिनेमा हेर्न पाए–नपाएको प्रस्ट हुन्न । यद्यपि, मूलत: विद्यार्थीका लागि देखाइए पनि केही सिनेमा अन्य सर्वसाधारण या ‘थाङ्ने–माङ्ने’ ले पनि हेर्न पाए । हेर्न पाउने/नपाउने र केही सिनेमा हेर्न पाउने सबैले गुनासो र अनुरोधका लागि गोरखापत्रलाई गुहार्थे । गोरखापत्र एउटा सम्पादकीयमा लेख्छ, “हामीकहाँ आजकाल सिनेमासम्बन्धी धेरै चिठीहरू आइरहेका छन् । कुनै भन्दछन्, ‘मैले हेर्न पाइनँ ।’ कुनै भन्दछ—‘हामीहरूले ता अवश्यै पाउनुपर्ने ।’अर्को एक थरी भन्दछ— ‘अस्तिको पालि हेरेकै हो, यसपालि मात्र हामी किन छुट्यौं ?’” (गोरखापत्र २००३।४।१८।२) । गोरखापत्र आफ्नो सम्पादकीयमा अगाडि लेख्छ—
वर्तमान श्री ३ महाराजबाट आफ्नो व्यक्तिगत उपयोगको निम्ति झिकाइएको सिनेमा अरू धेरै सर्वसाधारणलाई पनि हेर्ने मौका बक्सियो । फेरि यसपालि विशालनगर दरबारमा भइरहेको नाटकहरूलाई हेर्नका लागि कैयन दिनसम्म हद से हद थाङ्ने–माङ्नेहरूका निम्ति पनि ढोका खुला थियो † यसलाई भन्दछन् उदारता! सायद कुनै–कुनैलाई यो कुरा मन परेन पनि होला— यसमा ता मुसुक्क हाँस्नु सिवाय के औषधि छ र ? (गोरखापत्र २००३।५।२५।२)
आफ्नो निजी उपभोगका लागि ल्याएको सिनेमा यसरी सार्वजनिक प्रदर्शनी गरी ‘ऐरे–गैरे’ लाई हेर्ने सुविधा दिएको घटनालाई सम्पादकले मालिकको ‘उदारता’ ठह‍र्‍याए पनि यो उदारता धेरै दिन टिके–नटिकेको थाहा हुँदैन । किनभने, भदौको अन्तिम सातापछिपद्मशमशेर सत्तामा रहुन्जेल गोरखापत्र (शारदामा पनि) मा सिनेमाबारे थप सामग्री छापिएको भेटिएन । सायद टिकेन अन्यथा यो वा ऊ आवरणमा केही न केही सामग्री छापिन्थे ।
विशालनगर दरबारमा उदारतापूर्वक भएको यो सिनेमाको ‘सार्वजनिक’ प्रदर्शनीअघि नै नेपालीहरूलाई पनि सिनेमाको चस्काले छोइसकेको थियो । र, यो प्रदर्शनीले सम्भवत: सो चस्कालाई थप बढाइदियो । त्यसैले, सोही समय (अर्थात् सन् १९४६ मै) नेपालमै सिनेमा खोल्नेबारे थोर–बहुत चर्चा भएको संकेत मिल्छ ।
गोरखापत्रको सम्पादकीय टिप्पणीमा सिनेमा खोल्ने कुराको ‘परोक्ष’ विरोधसमेत गरिएको छ, ‘जबसम्म हाम्रा जातीय फिल्महरू तयार हुँदैनन् त्यहाँसम्म सर्वसाधारण अबुझहरूमा विदेशी संस्कृतिको भाव जबर्जस्ती कोचिदिनाले नेपाली संस्कृतिका प्रति अन्याय हुनेछ ।... नेपालमा सिनेमाघर नखुलोस् भन्ने हाम्रो राय होइन । आफ्नो पेट, बगली, संस्कृतिको विचार राखेर मात्र पाइलो अगाडि सार्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ (गोरखापत्र २००३।४।१८।२)
गोरखापत्रको यो विरोध सम्भवत: कसैको ‘सह’ नपाई भएको थिएन । त्यसैले, पद्मशमशेरको शासनकालमा सिनेमाघर स्थापना चर्चा चर्चामै सीमित रह्यो, व्यवहृत हुन सकेन । त्यसका लागि अर्को तीन वर्षभन्दा बढी कुर्नुपर्‍यो । नयाँ शासक आउनुपर्‍यो ।
पद्मशमशेरलाई निर्वासित हुन बाध्य तुल्याएर (सन् १९४८ मा) सत्तारूढ भएका मोहनशमशेरको पालामा नेपालमा सिनेमाको सार्वजनिक उपभोगको साधन बन्यो । मोहनशमशेरले शासनसत्ता हातमा लिएपछि भएको सिन्दूरयात्राका अवसरमा दिएको वक्तव्य र त्यसको केही महिनापछि जन्मोत्सवमा दिएको वक्तव्यमा सिनेमाघर स्थापना गर्ने कुरा नपरे तापनि सन् १९४९ को डिसेम्बरमा ‘काठमाडौं सिनेमा भवन’ को स्थापना गरेर व्यापारिक हिसाबले आजभोलिको जस्तो सिनेमाको टिकट बेचेर सिनेमा देखाउने प्रबन्ध भयो । डिसेम्बर ११ मा उद्घाटन गरिएको उक्त हलमा पहिलो पटक ‘रामविवाह’ नामक सिनेमाको प्रदर्शनी भएको सिनेमा थियो ।प्रकाशित : माघ ५, २०७५ ११:३१

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...