Monday, June 10, 2019

अस्तासिन्याको उत्साह

अस्तासिन्याको उत्साह 
हरि गौतम
जिल्लाका मगर समुदायले माघी अर्थात् मकर संक्रान्तिलाई विशेष तवरले मनाउँछन् । भूम्या पर्वपछि यो उनीहरूको ठूलो चाड हो । माघीको अवसरमा मगर समुदायको बाक्लो बसोबास रहेको स्थानमा अस्तासिन्या पर्व सुरु भएको छ ।
हरेक वर्षको माघ महिनाको पहिलो दिनदेखि सुरु हुने यो पर्व ७ दिनसम्म चल्छ । यस वर्ष पनि मंगलबारबाट सुरु भएको अस्तासिन्या पर्व सोमबार सकिनेछ । मगर खाम भाषामा अस्तासिन्याको अर्थ तारो अर्थात् तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि नै तारो हान्ने चलन सुरु भएको स्थानीयहरू बताउँछन् ।
जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाकाका अधिकांश वडा र सिस्ने गाउँपालिकाका केही ठाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ६ वडा तथा साबिकको रन्मामैकोट तथा हुकाम, तकसेरालगायतका ठाउँमा ‘अस्तासिन्या’ अर्थात् तारो हान्ने चलन छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ४ वडाका विभिन्न टोलमा ‘अस्तासिन्या’ को रौनक बेग्लै छ ।
टोलैपिच्छे मनाइने यो पर्वको रौनक सुरु भइसकेको छ । मंगलबारदेखि सुरु भएको यो पर्वमा हरेक दिन फरक–फरक टोलले कार्यक्रम गरेर ‘अस्तासिन्या’ हान्ने गरेका छन् । एउटा टोलमा हुने अस्तासिन्यामा अन्य टोलका सर्वसाधारण पनि सहभागी हुने गरेका छन् ।
हरेक टोलले आफ्नो पालो परेको दिन अस्तासिन्या र तारो राखिएको स्थान (अस्ताकोला) का लागि रातो कपडा, रिवन र ऐनाको व्यवस्था गर्छन् । ‘जुन टोलमा तारो हान्नुपर्ने हो, त्यही टोलले तारो बनाउने प्रचलन छ,’ पुपाल युवा क्लबका अध्यक्ष भरतकुमार पुनमगरले भने, ‘तारो हान्न सबै सहभागी हुन्छन्, तारो बनाउने काम भने सम्बन्धित टोलको हुन्छ ।’
यस वर्ष बारघर टोलबाट तारो हान्न सुरु भएको छ । अस्तासिन्या घर्तीडेरा, कोटडेरा, कान्छाबारा, धारा टोल हुँदै काल्दुङ टोलमा पुगेर सकिने पुनले बताए । बिहानकोखानापछि नै यो खेल सुरु हुन्छ ।
अस्तासिन्या र अस्ताकोलाका लागि रातो कपडा, रिबन र ऐना इष्टपट्टिका चेली वा कुलकै चेलीबाट माग्ने प्रचलन छ । मैकोट निवासी कर्मसही घर्तीका अनुसार अस्ताकोलामै निसाना लाउनेलाई दिनैपिच्छे पुरस्कारको व्यवस्था गरिएको छ । हरेक वर्ष पुरस्कारको राशि फरक–फरक हुन्छ ।
पुरस्कारको व्यवस्था पनि सम्बन्धित टोलले नै गर्छन् । अस्तासिन्या सुरु गर्नुपूर्व यो चलन अन्तर्गत बिहान भाले बास्नेबित्तिकै घरकी छोरीबहिनी पुज्ने प्रचलन छ । त्यसपछि कुलभित्रका छोरीबहिनी पुज्ने परम्परा मगर समुदायमा छ । बिहानै छोरीबहिनीलाई पुजिसकेपछि उनीहरूलाई मीठामीठा खानाका परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । मगर समुदायले आफन्त, साथीभाइबीच भेटघाट र रमाइलो नाचगान गरेर यो पर्व मनाउने गर्छन् । प्रकाशित : माघ २, २०७५ १०:०७

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...