Monday, June 10, 2019

पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता

पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता
त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज  चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक  रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो  अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।
नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र  हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी  राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।
उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण स ंसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया  सुरु भयो ।
यस कारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति प|mान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर -सन् १८१०-६१)को छ ।
यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले  क्रान्तिको माध्यमबाट प|mान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।
यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका  सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।
महत्त्वाकांक्षी र रणनीतिक
संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठो कुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ ।  उनको दरबारमा पाण्डे -बाहुन) र बस्नेत -क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-दे शान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।
उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा  राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायपि्रय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने  परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।
नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा  रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् । पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के  हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म  शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।
विश्व परिस्थिति
एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको  थियो । रुसका राजा -जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी  बादशाह भर्खर बितेका थिए ।
पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच  चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो । यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट  मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा प|mान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए ।  यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।
राष्ट्र निर्माणका आधार
पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको  परिपक्वता दर्साउँछ । उनले टिपाएको 'दिव्योपदेश' र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे । हिमवत् खण्डको असंलग्न  परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको  निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ  लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने  कुरामा विवाद छैन ।
पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको  वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र  टिक्यो । सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत  बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्‍यो ।
विस्तारवाद, जातीयता र धर्म
जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् -हेर्नूस्, बक्स) । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय  शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा प ृथ्वीनारायणले नेपाललाई 'असली हिन्दुस्थान' बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।
उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले 'असली हिन्दुस्थान रहेछ' भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो ।  त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो ः एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको  पढ्न सकिन्छ ।
आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना  साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे,  समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् । कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो ।  इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन,  आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।
पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार  उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र  होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।
(अधिकारी 'काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल'का डीन हुन् ।)
राष्ट्र निर्माणका ८ आधार
१ छरिएर रहेका राज्य-रजौटा एकीकरण
२ राष्ट्रिय सेना निर्माण
३ राष्ट्रिय सुरक्षा नीति
४ असंलग्न परराष्ट्र नीतिको स्थापना
५ स्वदेशमै पुँजी परिचालन र उत्पादनमा जोड
६ राज्यलाई धार्मिक, सांस्कृतिक र जातीय विविधताको साझा फूलबारीका रुपमा स्वीकार
७ विजित राज्य-रजौटालाई स्वायत्तता
८ प्रजातान्त्रिक शासन पद्धतिप्रतिको अठोट (दुनियाँ/जनताले मन पराएको व्यक्तिलाई कज्याइँ/प्रधानमन्त्रीत्व)
हरेक महान्का अँध्यारा पक्ष
मान्छेमा देउता खोज्न सकिन्छ तर मान्छे देउता हुँदैन । राम्रा मान्छेलाई तत्कालीन परिवेश र समयको स्तरभन्दा राम्रो भएकाले राम्रो भनिएको हो । उसमा अवगुण छँदै थिएन भनेर राम्रो भनिएको हुँदैन । पृथ्वीनारायण शाह पनि यसै कोटीका शासक थिए । यस  किसिमको आलोचना अन्य धेरै ठूला राष्ट्रनिर्माता वा व्यक्तित्वको पनि भएको छ ।
इतिहासमा विस्मार्कलाई 'एरिस्टोक्रेटिक जंकर' भन्नेहरू पनि थिए । अमेरिकी संघका संस्थापक जर्ज वासिङ्टनले जाडो महिनामा रेड इन्डियनहरूको गाउँ जलाउन सिपाहीहरू पठाएको इतिहास छ । अमेरिकी संविधानका निर्माताहरू कतिपयले दासहरूको व्यापार  गर्थे । दासताबाट मुक्तिको घोषणा गर्नेबित्तिकै अब्राहम लिंकनले अमेरिकामा धेरै स्थानीय अमेरिकीलाई फाँसी दिएका थिए । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो सामूहिक फाँसी थियो ।
गान्धीजस्ता महात्मा पनि आलोचनारहित थिएनन् । उनले काला नस्लका मान्छेलाई आफ्नो जीवनमा कहिल्यै महत्त्व नदिएको आरोप खेपेका थिए । उनी स्वेच्छाचारी तथा आकर्षक तरुण महिलाप्रति आशक्त रहन्थे भन्ने आरोप छ । गान्धीको हर्मन कालेनब्याक  भन्ने पुरुषसँग विकृत सम्बन्ध थियो भनेर पनि लेखिएको छ । श्रीमती बिरामी भई छटपटिएर मर्न लाग्दा पनि गान्धीले बलमिच्याइँ गरी आधुनिक उपचार गर्न नदिएको आरोप पनि छ । प्राकृतिक उपचारकै माध्यमबाट बाँच्नुपर्छ भन्ने उनको मान्यता थियो ।
अमेरिकाका गान्धी मानिने मार्टिन लुथर किङलाई अर्को विश्वविद्यालयमा पढ्ने एक छात्रसँग आफूले लेख्नुपर्ने 'डक्टोरल थेसिस' किनेको आरोप लगाइएको छ । उनको 'आइ ह्याभ अ डि्रम' भन्ने प्रख्यात भाषण पनि चोरीकै भन्ने आरोप छ ।
यी आरोपबाट के देखिन्छ भने राजनीतिक जीवन निर्वाह गर्ने व्यक्तिलाई यस्ता आरोप लागिरहन्छन् नै । कति सही होलान्, कति गलत । तर, कसैको मूल्यांकन गर्दा त्यस्तो व्यक्तिले बाँचेको समग्र जिन्दगी स्थापित सिद्धान्तहरू के थिए र उसको मूलप्रवाह के थियो  भन्नेतर्फ लक्षित हुनुपर्छ । नराम्रा कुराले कुनै व्यक्तिमा भएको राम्रो कुरालाई बगाएर लैजान सक्दैन ।
रोबाटोको आक्रोश
वास्तवमा पृथ्वीनारायण शाहले बाँचेको समकालीन इतिहासमा काठमाडौँमा बसी काम गर्ने रोमन मिसनका धर्मप्रचारक जोसेप डे रोबाटोबाहेक कसैले पनि उनको खेदो खनेको इतिहासमा देखिँदैन । जतिले खेदो खनेका छन्, तिनको आधार जहिले पनि रोबाटो नै  हुने गरेका छन् । यस प्रसंगमा रोबाटो को हुन् भनेर बुझ्नु आवश्यक छ । उनी एकीकरण युद्धमा कान्तिपुरका राजा जयप्रकाश मल्लका लागि अंग्रेजको सहयोग जुटाउने कार्यमा लागेको शंकाका आधारमा गोर्खालीद्वारा काठमाडौँबाट लखेटिएका व्यक्ति हुन् । उनी  मिसनसहित भारतको बेतियातर्फ लखेटिएका थिए । उनले पृथ्वीनारायणको निन्दा गर्नु स्वाभाविक थियो । शत्रुको तारिफ केवल क्षमतावान्बाट मात्र हुन सक्छ ।
काठमाडौँ उपत्यका एकीकरणको युद्धमा कीर्तिपुरवासीको नाक काटेको, काठमाडौँभित्र खाद्यान्न ओसारपसार गर्ने नाका बन्द गरेको र चाहिनेभन्दा बढी बल प्रयोग गरेको भन्दै रोबाटोले आफ्ना लेखोटमा उल्लेख गरेका छन् । रोबाटोकै लेखोटलाई एक जना अंग्रे जले धेरै पछि अंग्रेजीमा उल्था गरी कोलकाताबाट प्रकाशित हुने एसियाटिक सोसाइटीको जर्नलमा प्रकाशित गरेका थिए । यसबाहेक कुनै पनि इतिहासका अध्येताले पृथ्वीनारायणमाथि यस्ता आरोप लगाएका छैनन् । यहाँनिर के कुरा बिर्सनु हुँदैन भने काठमाडौँ  एकीकरण गर्दा पृथ्वीनारायणले सबैभन्दा कठिन लडाइँ लडेका थिए ।
प्रकाशित: पुस २७, २०७१

जहदामा सहोराय बिदा

जहदामा सहोराय बिदा
पुस २६, २०७५देवनारायण साह
मोरङ — जहदा गाउँपालिकाले बुधबार बिदा दियो । घरहरू भित्ता नीलो र पेटी फिक्का कालो रंगले पोतिएका थिए । भित्तामा माटोका चित्र कोरिएका थिए । जहदा गाउँपालिका–७ सितोङटोलका सन्थाल नाइके भगवानलाल बेसरा घरबाट पूजा सामग्री लिएर निस्के । साथमा बाजागाजा र गाउँलेको लस्कर ।
लस्कर गड टन्डी पुग्यो । गाउँलेले कोदालोले अलिकति जमिन ताछे र गोबरले लिपपोत गरे । बन्यो– पूजा गर्ने ठाउँ । नाइके बेसरा पूजा आसनमा बसे र सुरु गरे विधि । पित्तलको लोटामा कलश राखे । चामलको पिठोले पाँचवटा कोठा बनाए । पाँचवटै कोठामा मेथी राखे र त्यसमाथिसालका पात ।
पाँचै ठाउँमा पातमाथि पान, सुपारी, सवा किलो लड्डु र सिन्दूर राखियो । उपस्थित सबैले ढोगे । त्यसपछि मंझी प्राणिकले ठूलो माटोको भाँडोमा ल्याएको जाँड दुनोमा खन्याए र नाइकेलाई दिए पूजामा चढाउन । फेरि सबैले ढोगे । लड्डुसँगै प्रसादका रूपमा उपस्थित सबैले जाँड खाए ।
गड पूजापछि कुडउम नाइकेले वनदेउता वीरको छुट्टै पूजा गरे । सिकार खेल्न आउन आहवान गरे ।सन्थाल समुदायले ६ दिनसम्म मनाउने सहोराय पर्वको पहिलो दिन बुधबार थियो । सन्थाल नाइके बेसरा वडा ७ का अध्यक्ष पनि हुन् । उनका अनुसार सहोराय पर्व धान बाली भित्र्याएको खुसीमा मनाइन्छ । पर्व मनाउन आफन्तलाई निम्तो गरिन्छ ।
सितोङटोलका सन्थालका मंझी प्राणिक पन्नालाल हेमरमले पिठोले बनाएको ५ वटा कोठामा पाँच देउताको पूजा गरे । ‘पहिलो कोठामा माराङ बुरु, दोस्रोमा जाहेर एरा र गोसाँइ एरा, तेस्रोमा मोडे कु र तुरुय कु, चौथोमा पिल्चु हाडमा र पिल्चु बुढी, पाँचौंमा सिञ चान्दु र जिन्दो चान्दुको पूजा गर्यौं,’ उनले भने, ‘सहोरायको पहिलो दिनको पूजालाई उम भनिन्छ ।’
नाइके बेसराका अनुसार आफ्ना पिताले गड पूजा गर्दासम्म कुखुराको बलि दिने परम्परा थियो । ‘बुवाको शेषपछि मैले नाइके पद सम्हालें,’ उनले भने, ‘बलि प्रथाको अन्त गर्नुपर्ने सन्थालका मुखिया मंझी हरामकहाँ प्रस्ताव राखेँ ।’
गाउँका मंझी सदस्यसहित सबै जनाले ‘देउता खेलेर बलि प्रथा हटाउन आग्रह गरेको’ उनले बताए । उनका अनुसार देउता खेल्दा बलिको साटो सवा किलो लड्डु दिनुपर्ने भनेकाले त्यहीअनुसार पूजा गर्दै आइएको हो । ‘सहोराय पर्वका छ वटै दिन विशेष हुन्छन्,’ सूर्यनारायण हास्दाले भने, ‘दोस्रो दिन दाका पर्वमा मासुलगायतका परिकार परिवार र आफन्तसँग बसेर खाने परम्परा छ ।’
दाका पर्वकै दिन दिदीबहिनी र ससुरालीले कोसेली ल्याउँछन् । कोसेली कुल देउतालाई चढाएर स्वर्गवासी पुर्खालाई सम्झने गरिन्छ । यो दिन युवायुवती सहोराय नाच्छन् ।
तेस्रो दिनलाई खुन्टौव पर्व भनिन्छ । ‘यो दिन गाईबस्तुलाई सडकछेउमा नयाँ बाँसको खम्बा गाडेर बाँध्नुपर्छ,’ ६१ वर्षीय सुजन हास्दाले भने, ‘तिनलाई रुपैयाँको माला लगाएर मिठो खुवाइन्छ । गाईबस्तुको गालामा भएको रुपैयाँको माला ज्वाइँले भोलिपल्ट निकाल्ने चलन छ ।’ चौथो दिन हो जाली पर्व । ‘जाली पर्वमा समुदायको मुखियासँगै घरघरमा गएर जाँडरक्सी खाएर रमाइलो गर्छौं,’ हास्दाले भने, ‘युवायुवतीले समूहमा नाच्दै धान, चामल, पैसा मागेर जम्मा गर्ने चलन छ ।’
पाँचौं दिन हाकुकाटोम पर्व मनाइन्छ । यो दिन माछा र गंगटो खाएर नाचगान गरिन्छ । अन्तिम दिन साकरात पर्वका अवसरमा धनुषवाणले निसाना साँध्ने परम्परा छ । सन्थालको जनसंख्या मुलुकभर ५१ हजार ७ सय २० रहेको तथ्यांक छ । जहदा गाउँपालिकामा मात्रै ६ हजार २ सय २४ जना छन् ।
प्रकाशित : पुस २६, २०७५ ०७:३७

विदेशमा एक वर्षमा ८७८ श्रमिकको मृत्यु

विदेशमा एक वर्षमा ८७८ श्रमिकको मृत्यु
कान्तिपुर, पुस २६, २०७५
होम कार्की
काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एक/एक नेपालीको ज्यान गएको छ । श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’
कार्यक्षेत्रबाहिर बढ्दोउल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो । गन्तव्य देशका सरकारले कार्यक्षेत्रको दुर्घटना दर नियन्त्रण गरेकाले त्यहाँको मृत्युदर कम देखिएको राजदूतहरूको बुझाइ छ । ‘हाम्रा श्रमिकको ठूलो संख्या निर्माण क्षेत्रमा छ । मृत्युदर निर्माण क्षेत्रभन्दा बाहिर बढी छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘क्याम्पभित्रको मृत्युदर चिन्ताजनक छ ।’ काम सकेर क्याम्पमा आराम गरिरहेका बेला मृत्यु हुनेको संख्या २४.०३ प्रतिशत अर्थात् २ सय ११ छ । दिनभर सकुशल काम गरेका श्रमिक अचानक हृदयाघात, मस्तिष्कघातको सिकार हुने गरेका छन् । ‘कोही त खाना खाइवरि बेडमा पल्टेकाहरू बिहान मृत अवस्थामा फेला पर्छन्,’ कोइरालाले भने, ‘यस्तो हुनुको ठ्याक्कै कारण छैन ।’ भने, ‘श्रमिकले स्वस्थ खाना नै पाउँदैनन् । फेरि बेलाबेला स्वास्थ्य परीक्षण गराउने बानी छैन ।’ मलेसियाको अवस्था झन् डरलाग्दो छ । चिसो मौसम भए पनि अस्वस्थ खानपिनका कारण यहाँ सबैभन्दा बढी ३६.७ प्रतिशतको मृत्यु भएको छ । यहाँ सहज रूपमा पाइने अस्वस्थ मदिराको सिकार न्यून आम्दानीका श्रमिक भइराखेको नेपाली दूतावासको भनाइ छ । ‘कम आय भएका श्रमिकले उच्चकोटिको मदिरा खाँदैनन् । उनीहरू घरेलु रूपमा उत्पादित मिसावटयुक्त मदिरा पिउँछन् । यसले भित्रभित्रै शरीरलाई खत्तम पारेको थाहा पाउँदैनन्,’ एक अधिकारीले भने, ‘ती श्रमिकलाई कसले सम्झाउने ?’
आत्महत्या र सडक दुर्घटना
दूतावासहरूका अनुसार श्रमिकको आत्महत्या दर डरलाग्दो रूपमा बढिरहेको छ । कार्यस्थलमा रोजगारदाताले गर्ने दुव्र्यवहार र पारिवारिक मनमुटाव यसको मूल कारण औंल्याइएको छ । एक वर्षमा १५.२६ प्रतिशत अर्थात् १ सय ३४ श्रमिकले आत्महत्या गरे । ‘कोरियामा धेरै आर्थिक आम्दानी छ तैपनि उनीहरू खुसी देखिँदैनन् । कोरियाको डरलाग्दो अवस्था नै आत्महत्या हो,’ कोरियास्थित श्रम सहचारी डिल्ली बाँस्तोलाले भने, ‘श्रमिकलाई मानसिक समस्या धेरै देखिन्छ ।’ कोरियापछि बढी आत्महत्या मलेसिया (४३), यूएई (३३) र कतार (२०) मा देखिन्छ । ‘एकातिर सोचेजस्तो काम र तलब हुँदैन । ऋणको भार थपिएको हुन्छ । अर्कातिर परिवारसँग पनि मनमुटाव भइरहन्छ,’ मलेसियास्थित श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘विदेशमा रहेका श्रीमान्/श्रीमतीलाई घरपरिवारबाट पनि अनावश्यक तनाव पुग्ने काम गर्नुभएन ।’ एक वर्षमा सडक दुर्घटनामा १७.१९ प्रतिशत अर्थात् ६८ जनाको ज्यान गयो । जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवती पौडेलले बाटो काट्न नजान्दा अकालमा ज्यान गइरहेको बताए । ‘गाडी १ सय २० को गतिमा दौडिरहेको हुन्छ । फेरि नेपालमा जस्तो दायाँ होइन, बायाँ साइडबाट गाडी कुदाइन्छ । गाडी परै छ भनेर फराकिलो सडक काट्न दौडिन्छ । कतिखेर कुन गाडीले भेट्छ पत्तै पाइँदैन,’ पौडेलले भने ।
सुनुवाइ हुँदैन
श्रमिकको सुरक्षाका लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ नहुने राजदूतहरूको गुनासो छ । ‘हरेकले भाषणमा दैनिक विमानस्थलमा कतिवटा शव आउँछन् भनेर फलाकिरहेको हुन्छ । हामीले न्यूनीकरणका लागि सुझाव पठाउँछौं, कतै सुनुवाइ हुँदैन,’ एक अधिकारीले भने । कुवेतका लागि राजदूत यज्ञ हमाल अभिमुखीकरण गुणस्तरीय बनाउनुको विकल्प नभएको बताउँछन् । ‘अहिले जसरी अभिमुखीकरण गरिन्छ, यो ठीक छैन,’ उनले भने, ‘हरेक देशको आफ्नै खालको विशिष्टता छ । पेसागत हिसाबले थाहा पाउनुपर्ने कुरा अलगअलग छन् । यी सबैलाई समेट्ने तालिम दिनुपर्छ । दुतावासले जागरण कार्यक्रम चलाए पनि पर्याप्त छैन । ‘हामीले श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौं,’ ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘श्रमिकहरू गन्तव्य मुलुकमा आउने बेलामै आवश्यक सूचना दिन जरुरी छ । यता सबै श्रमिक रहेको ठाउँमा पुग्न जटिल छ ।’
श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई जोखिमयुक्त बनाउन कार्ययोजना बनाएर सुधार गरिरहेको बताए । ‘श्रमिकको जीवन सुरक्षित बनाउन हामीले गन्तव्य देशका सरकारसँग नजिकबाट काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त श्रम सम्झौतालाई नै परिमार्जन गर्नेदेखि नयाँसग श्रम्झौता गर्ने काम भइरहेको छ ।’ उनले अभिमुखीकरण तालिमकोपाठ्यक्रम परिमार्जन गरिएको बताए । प्रकाशित : पुस २६, २०७५ ०७:४९

सहोराय पर्व सुरु

सहोराय पर्व सुरु
पुस २२, २०७५
कान्तिपुर संवाददाता
मोरङ — सन्थाल समुदायले जहदा गाउँपालिका ७ सिरसियास्थित दिसोम मंझी थानमा शनिबार विशेष पूजा गरेर सहरोय पर्व मनाउन सुरु गरेका छन् ।
सहोराय संरक्षण समितिले पुस २५ बाट ६ दिनसम्म मनाउने उक्त पर्वका लागि विशेष पूजा गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । समितिका संयोजक तथा जहदा ७ का वडा अध्यक्ष भगवानलाल बेसराले सहोराय पर्व मनाउन सुरु गर्नका लागि शनिबार मोराङब्रु, जाहेर एरा, गोसाइ एरा र ठकुरठकुराइनको मंझी थानमा बिशेष पूजा गरेको बताए । पूजाका अवसरमा युवायुवती, महिलापुरुषहरूले सहोराय नाच समेत नाचेका थिए । धन बाली भित्र्याएको खुसियालीमा ६ दिनसम्म मनाइने सहोराय पर्व संथाल समुदायको ठूलो पर्व हो । संथाल समुदायका मंझीसमेत रहेका बेसराले आफूहरूको समुदायले धान बाली भित्र्याएको अवसरमा यो पर्व मनाउने परम्परा रहेको बताए । ‘धान बाली राम्ररी उब्जाई भित्र्याएको खुसियालीमा आफ्ना दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाइँ, भान्जा, भान्जीलगायतका सपरिवारका साथ यो पर्व मनाउने परम्परा छ,’ उनले भने, ‘६ दिनसम्म मनाउने सहोराय पर्वको प्रत्येक दिनको विशेष हुन्छ ।’
सहोरायको पहिलो दिन उम पर्व मनाउने परम्परा छ । उम पर्वका अवसरमा घरआँगन सरसफाइ गरेर रंगीचङ्गी पार्ने, लुगाफाटो धुने र नुहाएर चोखो भएर ‘गड’ पूजा गर्ने परम्परा रहेको सूर्यनारायण हास्दाले बताए । ‘गाउँभन्दा पर गएर धर्तीलाई सफा गरेर अरुवजा चामलको पिँडोले सजाएर लड्डु, धुप, अन्डा र सिन्दुर राखेर गड पूजा मनाउने परम्परा छ,’ उनले भने, ‘गड पूजामा राखेको अन्डा गाईबस्तुले फुटाउनुपर्ने र जसको गाईबस्तुले अन्डा फुटाउन सफल हुन्छ, त्यसलाई समातेर सिङमा तेल, सिन्दुर लगाइदिएर खुट्टा धोएपछि गोठालोलाई काँधमा बोकेर गाउँ लगिन्छ ।’ अन्डा फुटाउने गाईबस्तुका मालिकलाई अर्को वर्ष संथाल समुदायले एक हाँडी जाँड दिनेसमेत परम्परा रहेको उनले सुनाए । गड पूजा सकेपछि साँझमा युवतीहरूले समूहमा गाई चुम्मन आरती र चिमौडा गीत गाउँदै घरघरमा जाने परम्परा रहेको छ । गड पूजा संथाल समुदायका नाइकेले गर्ने परम्परा रहेको छ ।
दोस्रो दिन दाका पर्व मनाइन्छ । यस दिन भात, मासुलगायतका विभिन्न परिकार सपरिवार, आफ्न्त लगायतसँगै बसेर खाने परम्परा रहेको हास्दाले बताए । ‘दाका पर्वकै दिन दिदी, बहिनी ससुरालीबाट कोसेली लिएर आउने र त्यो कोसेली कुल देउतालाई चढाएर स्वर्गबासी पुर्खालाई सम्झने परम्परा रहेको छ,’ उनले भने, ‘संथाल समुदायले दाका पर्वका दिन गाईबस्तुलाई चुमौडा गर्ने र युवायुवतीले समूह बनाएर सहोराय नाच नाच्ने गर्छन् ।’ तेस्रो दिनलाई खुन्टौव पर्व भनिन्छ । ‘यो पर्वका अवसरमा गाईबस्तुलाई सडक छेउमा नयाँ बाँसको खम्बा गाडेर त्यसमा बाँध्नुपर्छ,’ ६१ वर्षीय सुजन हास्दाले भने, ‘गाई बस्तुलाई मीठो खान दिएर सिंगारेर रुपैयाँको माला लगाइदिएपछि जिस्काएर रमाउने गर्छौं ।’ गाईबस्तुको गालामा भएको रुपैयाँकोमाला ज्वाइँले भोलिपल्ट निकाल्ने चलन रहेको उनले बताए ।
संथाल समुदायले सहोरायको चौथो दिनमा जाली पर्व मनाउने गर्छ । ‘जाली पर्वको दिन समुदायको मुखियासँगै घरघरमा गएर जाँड, रक्सी खाएर रमाइलो गर्छौं,’ हास्दाले भने, ‘युवायुवतीहरूले समूहमा नाच्दै धान, चामल, पैसा मागेर जम्मा गर्ने चलन छ ।’ सहोरायको पाँचौं दिन हाकुकाटोम पर्व मनाउँछ । यो दिन संथाल समुदायले माछा, गँगटो खाएर नाचगान गर्ने चलन छ । सहोरायको अन्तिम दिन साकरात पर्वका अवसरमा धनुषबाणको निसाना साँध्ने परम्परा रहेको हास्दाले बताए । सहोराय पर्वका अवसरमा प्रदेश १ का संघीय समाजवादी फोरमा संसदीय दलका नेता जयराम यादवले शनिबार सिरसिया पुगेर संथाल समुदायलाई शुभकामना दिएका थिए । उनीसँगै फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले समेत शुभकामना दिए ।
संथाल समुदायलाई शुभकामना दिनका लागि लाहुरलिपका उपाध्यक्ष दिनेश घले, आदिवासी जनजाति महासंघ मोरङ पूर्वअध्यक्ष देवराज चौधरीले समेत शुभकामना दिए । मुलुकमा कुल ५१ हजार ७ सय २० संथाल समुदायको जनसंख्या रहेकोमध्ये जहदा गाउँपालिकामा ६ हजार २ सय २४ रहेको छ । जहदा गाउँपालिकाले सहोराय पर्वका अवसरमा पुस २५ गते गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रकाशित : पुस २२, २०७५ ०९:४७

हेर्दाहेर्दै नासियो सप्तपाताल

हेर्दाहेर्दै नासियो सप्तपाताल
१४ रोपनी १० आना २ पैसा क्षेत्रफलको पोखरी मिचिएर डेढ रोपनीमा खुम्चिएको छ ।
Kantipur, पुस २०, २०७५
प्रशान्त माली
ललितपुर — देख्दादेख्दैको पोखरी मासिएकाले जोगाउन पूर्ण स्थापितले कानुनी लडाइँ लडेको १५ वर्ष पुग्यो । यसबीचमा न मुद्दाको टुंगो लागेको छ । न त सम्पदा जोगाउनै सकिएको छ ।
बरु १४ रोपनी १० आना २ पैसा क्षेत्रफलमा फैलिएको पोखरी चारैतिरबाट मिचिएर अहिले डेढ रोपनीमा खुम्चिएको छ लगनखेलको सप्तपाताल पोखरी । ‘ढिलै भए पनि न्याय मिल्नेमा म विश्वस्त छु,’ ७३ वर्षीय उनी अझै आशा राख्दै भन्छन् ।अशक्त भए पनि नयाँ पुस्ताले पोखरीको महत्त्व बुझिसकेकाले संरक्षण लडाइँ नरोकिनेमा ढुक्क छन् । भन्छन्, ‘सम्पदा जोगाउन सबैले साथ दिएका छन् ।’
सप्तपाताल अथवा पृथ्वीका तलतिर रहने ७ लोकमध्ये सबभन्दा तल्लो लोक हो जसलाई नागलोक पनि भनिन्छ । रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्रा सम्पन्न भएको खबर स्वर्गका देवता इन्द र पाताल लोकका नाग राजालाई पुर्‍याउन यही पोखरीको प्रयोग हुन्छ । स्वर्गमा सन्देश पठाउन एक जोडी भागेरा आकाशमा उडाइन्छ भने पातालमा पुर्‍याउन एक जोडी माछा पोखरीमा छाड्ने रीति छ । पाटनका भूमिगत जलभण्डारमा पानी पुन: भरण गर्ने परम्परागत पोखरीमध्ये सप्तपाताल मुख्य मानिन्छ । स्थापित भन्छन्, ‘यो पोखरी सहरका निम्ति खानेपानी ‘रिजर्भोयर’ट्यांकी पनि हो । यहाँ पानी भरिसकेपछि ढुंगेधारा र इनार रसाउँथे । खानेपानी अभाव हुन्थेन ।’
सप्तपाताल ललितपुरको सांस्कृतिक महत्त्व बोकेको पोखरी मात्र होइन । खुला सार्वजनिकस्थल पनि हो । पोखरीमा पानी भर्न लेले टीकाभैरवमा मुहान बनाएर राजकुलो खनेर ल्याइएको थियो । कुलोमा पनि ललितपुर महानगरपालिका २६ नम्बर ढोलाहिटीसम्म आउँछ । त्यहाँबाट लगनखेल पुर्‍याउन सकेको छैन । यसतर्फ जनप्रतिनिधिले चासो दिनुपर्ने उनको भनाइ छ । स्तूप वरिपरि पोखरीकै जग्गामा रोटरी क्लबले सार्वजनिक बगैंचा बनाएको छ । ऐतिहासिक महत्त्वको पोखरी अचेल फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको छ ।
पोखरीको अस्तित्व संकटमा छ । स्थानीयका अनुसार ल:ख्य: अपभ्रंश भएर लगनखेल बन्यो । नेपाल भाषमा ल: को अर्थ पानी र ख्य: को चौर हुन्छ । कुनै बेला लगनखेलमा ७ वटा पोखरी थिए । अहिले ललितपुर जिल्ला अदालत अगाडिको न्हुँ पोखरी, राजदल गण परिसरको कमल र लगनखेल अशोक स्तूप उत्तरपट्टिको सप्तपाताल पोखरी मात्र बाँकी छन् । सप्तपाताल पोखरीमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयले भवन बनाउन पाउनुपर्छ भनेर हालेको मुद्दा सर्वोच्च अदालतमा एक दशकदेखि विचाराधीन छ । मुद्दाको पेसी बुधबार पनि सरेको छ । पोखरीमा संरचना बनाएमा सम्पदाको अस्तित्व मेटिनेमा स्थानीय चिन्तित छन् ।
उनीहरू मासिसकेको पोखरी ब्युँताउन चाहन्छन् । लगनखेल वातावरण सुधार संस्था अध्यक्षसमेत रहेका स्थापित भन्छन्, ‘पोखरी र अशोक स्तूप साबिकमा ललितपुर नगर पञ्चायत ५ (क) को कित्ता नम्बर १२६ मा पर्छ । त्यतिबेला जग्गा २ सय ५ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको थियो । जग्गा किसिमले ७ नम्बर भनी उल्लेख छ । यसको अर्थ, कसैले कुनै पनि प्रयोजनका लागि जग्गा उपभोग गर्न पाउनेछैन भन्ने बुझिन्छ । यो जग्गामा सप्तपातालसहित अरू धेरै साना पोखरी थिए ।’ उनका अनुसार सार्वजनिक जग्गाको अतिक्रमण ०३४ देखि सुरु भयो । शिक्षण संस्थाको सम्पत्ति व्यवस्था जिल्ला समिति, ललितपुरले ०३४ फागुन १२ मा उक्त २ सय ५ रोपनी ८ आना जग्गाको कित्ताकाट गरेर नमुना मच्छिन्द्र माध्यमिक विद्यालयलाई १४ रोपनी १० आना २ पैसा दिने निर्णय गर्‍यो ।
यसको कित्ता नम्बर २१२ हो । विद्यालयले उक्त जग्गा आफ्ना नाममा दर्ता हुनुअघि ०३४ फागुन १ मा जिल्ला कार्यालय, शिक्षण शाखा ललितपुरलाई चिठी लेखेको थियो ।’ ‘चिठीमा जग्गाभित्र पर्ने पानी जमी पोखरीजस्तो देखिएको ठाउँ यथास्थितिमा राख्न मञ्जुर भएको भन्ने उल्लेख छ,’ उनी भन्छन्, ‘तर, अहिले विद्यालयले पोखरी नभएको भनी दाबी गरिरहेको छ ।’ उनले विद्यालयले लालपुर्जाकै आधारमा पोखरीमाथि आफ्नो दाबी गर्दै आइरहेको बताए । ‘विद्यालयका नाममा दर्ता भएको १६ वर्षपछि ०५० माघ २९ को निर्णयले सरकारको नाउँमा जग्गा दर्ता भएको देखिन्छ । सरकारले मालपोत ऐन, २०३४ को दफा २४ (२) मा टेकेर सप्तपाताल पोखरी भएको सार्वजनिक जग्गा आफ्ना नाममा ल्याएको हो,’ उनले भने, ‘उक्त दफामा कसैले यो दफा प्रारम्भ हुनुअघि वा पछि कुनै सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउमा दर्ता गरी आवाद गरेकामा त्यस्तो दर्ता स्वत: बदर हुनेछ भनिएको छ ।’
नमुना मच्छिन्द्र माध्यमिक विद्यालयका प्रिन्सिपल राधाकृष्ण महतले ०३४ मा विद्यालयका नाममा पुर्जा प्राप्त भइसकेको जग्गा ०५० मा त्रुटिका कारणले सरकारका नाममा हुन गएको दाबी गरे । ‘त्यतिबेला प्लट रजिस्ट्रेसन नहेरीकन फिल्ड बुक मात्र हेरेर निर्णय गरेकाले सरकारका नाममा हुन गएको हो,’ उनले भने, ‘यसमा गल्ती भएको भनी मालपोत कार्यालयले स्विकारेको पत्र पनि छ ।’ उनले शिक्षण पेसामा लागेका झगडा गर्ने स्वभावका नभएकाले नियतवशविद्यालयलाई पेल्न खोजेको आरोप लगाए ।
‘लालपुर्जा भएको जग्गामा भवन बनाउन नक्सा पास गर्न मुद्दा विचाराधीन हुँदा केही असर पर्दैन,’ उनले भने, ‘लालपुर्जा खारेज भए पनि सरकारकै नाममा जाने हो । अहिले पनि विद्यालय सामुदायिक नै हो ।’ उनले जग्गामा व्यापारीक भवन नभई विशुद्ध पठनपाठनका लागि संरचना बनाउन लागेको बताए । ‘यसका लागि जाइकाले २४ करोड रुपैयाँ सहयोग गर्दै छ,’ उनले भने, ‘यो भवनले २ रोपनी क्षेत्रफल मात्र ओगट्छ । बाँकी जग्गामा पोखरी र पार्क नै बनाउने योजना छ ।’ उनले यसमा सहमतिमा ल्याउन स्थानीयलाई विद्यालयले धेरै प्रयास गरेको बताए । ‘स्थानीयमा नेतृत्व लिने सक्ने व्यक्ति नभएकाले समस्या भएको हो,’ उनले भने । पोखरी मिच्नेमा नमुना मच्छिन्द्र मात्र छैनन् । अशोक स्तूप वरिपरिका जग्गा अतिक्रमण गर्नेमा सेनाको राजदल गण, ललितपुर जिल्ला अदालत, मालपोत, नापी, जिल्ला पशु कार्यालय, स्काउट भवन पनि छन् । यी कार्यालयले पनि जग्गा कित्ताकाट गरिसकेको छ ।
सरकारी कार्यालय र विद्यालय खुल्दासम्म स्थानीयले वास्ता गरेनन् । ०६० मा विद्यालयले डिपार्टमेन्ट स्टोर बनाउन खोजेपछि उनीहरू जुर्मुराएका हुन् । सर्वोच्चको आदेशमा यो पनि भनिएको छ, ‘सप्तपाताल पोखरी क्षेत्रबाट पानी रसाएर वडा नम्बर ६, १२ र १५ मा रहेका ढुंगेधारामा जाने भएकाले सार्वजनिक खानेपानी आपूर्तिको मुख्य स्रोत हो । यस्तो ठाउँमा विद्यालय भवन निर्माणले पोखरी र वरिपरिको वातावरणमा प्रभाव पर्नेछ ।’ त्यसविरुद्ध परेका थप मुद्दा भने अझै टुंगो लागेका छैनन् ।
प्रकाशित : पुस २०, २०७५ ०७:५०

डेढ शताब्दीअघिको स्वस्थानी

डेढ शताब्दीअघिको स्वस्थानी
सुरुमा स्वस्थानी व्रतकथा नेपाल (नेवारी) भाषामा आएको थियो । रक्तकाली नरदेवीका राम सुवालले साढे चार सय वर्षअघि नेपाल भाषामा लेखेको कथालाई पछि नेपालीमा छोट्टयाएर उल्था गरेको देखिन्छ । –सत्यमोहन जोशी
Kantipur, पुस २०, २०७५
सुनीता साखकर्मी
ललितपुर — सानो टेबलमा स्वस्थानी व्रतकथाका पुराना दुई ठेली पुस्तक छन् । काठका गाता रहेका पुस्तकभित्र नेपाली कागजका पाना बाँधिएका छैनन् । पानाभरि नेपाल भाषामा हातैले लेखिएका अक्षर छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक खोलेर देखाउँदै भने, ‘यसमा लेखिएको अक्षर मेरा बुवाको हस्तलिखित हो । माघ महिनाभरि म यसैको पाठ गर्छु ।’ पाटनको बखुंबहालस्थित संस्कृतिविद् जोशीको घरमा कञ्चनजङ्घा प्रसाईँ र विदुषी प्रसाईँले सम्पादन गरेको ‘श्रीस्वस्थानी व्रतकथा’ लोकार्पण गर्ने कार्यक्रममा जोशीले १९९५ सालमा बुवा शंकरदास जोशीले लेखेको नेपाल भाषाको स्वस्थानी पुस्तक देखाएका हुन् । उनका बुवाको हस्तलिखित पुस्तकसँगै रहेको अर्काे पुस्तक भने सत्यमोहन जोशीको ससुरालीबाट ल्याइएको थियो । त्यो पनि १ सय ५० वर्ष पुरानो भइसकेको जोशीले जनाए । जोशीका अनुसार, बजारमा पुस्तक सहजै नपाइने त्यो समय उनका बुवाले छिमेकीको घरमा रहेको स्वस्थानीको किताबबाट सारेर नयाँ पुस्तक तयार पारेका थिए ।
‘पहिले पुस्तक छपाउने चलन थिएन,’ उनले भने, ‘बुवाले सारेरै राख्नुभयो ।’ उनका बुवाले आफूलाई मात्रै नभई अन्यलाई पनि पुस्तक सारिदिएको जोशीले बताए । ‘फुर्सदको बेला पुस्तक सार्ने काम गर्नुहुन्थ्यो बुवा,’ उनले भने, ‘यो एउटा पुस्तक सक्न बुवालाई पाँच/छ महिना लागेको थियो ।’ उनका अनुसार, स्वस्थानीको पुस्तक लामो र छोटो दुवै थरी हुन्छ । उनका बुवाले लेखेको त्यही पुस्तक पौष शुक्लपूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म जोशी आफैँ पाठ गर्छन् । कथा पाठ गर्ने शैली पनि भिन्नै रहेको उनले बताए । संस्कृत भाषामा रहेको स्वस्थानी कथालाई रक्तकाली नरदेवीका राम सुवालले साढे चार सय वर्षअघि नेपाल भाषामा लेखेको जोशीले बताए । ‘सुरुमा स्वस्थानी नेपाल (नेवारी) भाषामा आएको थियो,’ उनले भने, ‘सुवालले नेपाल भाषामा उतारेको कथालाई छोट्टाएर पछि नेपालीमा उल्था गरेको देखिन्छ ।’
स्वस्थानी लोकसाहित्य र लोकसंस्कृतिको हिसाबमा धेरै महत्त्वपूर्ण रहेको जोशीले बताए । ‘शिवलीला, कुमार, नवराज, गणेशका कुरा पछि थपिएको र सबैभन्दा पहिलेब्रह्माण्ड, सूर्य–चन्द्र ग्रहण कसरी भयो भन्ने कुराहरू कल्पना गरेर स्वस्थानीमा लेखिएका छन्,’ उनले दाबी गरे, ‘सृष्टि कसरी भयो, हिमाल, पहाड नदी कसरी आए भन्ने कुरा लोकसंस्कृति र लोकदर्शनका रूपमा उल्लेख छ । आजको विज्ञान र समाजसित कतिपय कथाहरू मिल्दैन होलान् तर कुनै किसिमको दूरविन वा क्यामेरा नभएको त्यो बेलामा पनि पुर्खाले चुलोमा आगो फुक्ने ढुंग्रोलाई दूरविनको रूपमा प्रयोग गरेर त्यसको आधारमा सूर्य र चन्द्रग्रहण लाग्ने, खग्रास लाग्ने कस्मोलजीका कुराहरू थाहा पाएर हामीलाई सूचित गराउनु हाम्रो लागि रहस्य नै हो ।’ पुर्खाले कुनै पनि यन्त्रको प्रयोग नगरी पत्ता लगाएको ब्रह्माण्डीय विद्या स्वस्थानी पढेपछि थाहा पाइनेउनले बताए । अमेरिकी अनुसन्धाता लिन्डा एजटिसले सन् १९८५ मा नेपाल आई स्वस्थानी व्रतकथाबारे अध्ययन गरेको पनि जोशीले जनाए । अध्ययन पछि लिन्डाले ‘स्वस्थानी व्रत : वुमन एण्ड रिचुयल्स इन नेपाल’ शीर्षक किताब लेखिन् । उति बेला लिन्डाले दुई/तीन वर्ष नेपालीका घरघर गई अध्ययन गरेर नेपाली नारीहरूले पालना गर्ने कर्मकाण्डहरूबारे शोध गरेकी थिइन् ।
‘त्यसैका आधारमा अमेरिकाको विश्वविद्यालयबाट उनलाई विद्यावारिधि पनि प्राप्त भयो,’ जोशीले सुनाए, ‘सात समुद्रपारिबाट आई मिहिनेत गरेर पुस्तक निकालेकी रहिछन् । त्यसको एक कपी रक्तकाली नरदेवीस्थित आशा सफु गुठीमा अझै छ । हामीलाई चासो भएन, तर विदेशीले शोध ग्रन्थ तयार गरेर विश्वको अगाडि राखिदिएका छन् ।’ अहिलेका कथा र उपन्यासहरूजस्तै स्वस्थानीमा पनि कथा, जीवनी र युद्ध लेखिएको जोशीले बताए । रातो मच्छिन्द्रनाथको जात्राका बेला गाइने भजनमध्ये एउटा स्वस्थानी आधारित रहेको पनि उनले खुलाए ।
बिहीबारको कार्यक्रममा मच्छिन्द्रनाथ भजनमण्डलले स्वस्थानी शीर्षकको भजन पनि प्रस्तुत गर्‍यो । भजन मण्डलका प्रद्युम्न श्रेष्ठ, श्रीराम ताम्राकार, राम महर्जन, पद्मलाल जोशी, ज्ञानलाल महर्जन, अष्टलाल महर्जन, सिद्धिमुनि बज्राचार्यलगायतले ढलौटको झयाली, मृदङ्ग, हार्माेनियम, शंख, डमरु बजाएर स्वस्थानीको भजन गाए । उनीहरूका अनुसार, स्वस्थानी वाचन गर्ने समयमा बिहान–बेलुका यहीभजन गाइन्छ । ‘यहाँ गाउने भजनमा नेपालभाषासँगै हिन्दी, मैथिली भाषा मिसिएको छ,’ जोशीले भने, ‘कथाको साराशं नै भजनमा पाइन्छ ।’ सोह्रौं शताब्दीको अन्त्यतिर सन् १५७३ देखि संस्कृतभाषामा स्वस्थानी व्रतकथाको थालनी भएको काशीनाथ तमोटले बताएका छन् । उनका अनुसार, सुरुमा स्वस्थानी व्रतकथाब्राह्मण पण्डितहरबाट मात्र वाचनगराउने परम्परा रहेकामा सन् १८०३ मा नेपाल भाषाबाट नेपालीमा अनुवाद भएपछि यो कथावाचन पण्डितस्तरबाट जनस्तरमा ओर्लियो । कार्यक्रममा कञ्चनजंघा र विदुषीद्वारा सम्पादित स्वस्थानी पुस्तक भने संस्कृतिविद् जोशीसँगै मोदनाथ प्रश्रित, दीनानाथ शर्मालगायतले लोकार्पणगरेका थिए ।
प्रकाशित : पुस २०, २०७५ ०८:१९

उकालो लागे रिंगमोका भोटिया

उकालो लागे रिंगमोका भोटिया

रिंगमो डोल्पाको ‘से–फोक्सुन्डो' तालनजिकैको एउटा सानो गाउँ हो । गाउँमा अचेल बोन्पो धर्मावलम्बी भोटियाका ४९ घर भेटिन्छन् । ती आफूलाई लामा र बैजी जातिका भोटिया भएको बताउँछन् । बूढा र रोकायाचाहिँ भोटियाभन्दा पनि मगर र क्षेत्री थरसँग मिल्दोजुल्दो छ । त्यहाँ बसेका कतिपय बूढा र रोकायाले पुर्खा जुम्ला (सिन्जा)बाट आएको क्षेत्री भएको दाबी गर्छन् । भाषा–धर्म तथा संस्कार–सस्ंकृति भने उनीहरूले भोटियाकै अपनाएका छन् । त्यसकारण रिंगमो गाउँमा बस्ने बूढा तथा रोकायाथरी परिवार दक्षिणतिरबाट त्यहाँ गई भोटियाकरण भएका मगर वा क्षेत्री हुन् ! अथवा मगर वा क्षेत्री जातिमा उकास्ने प्रक्रिया अपनाइरहेका त्यहाँकै भोटिया हुन् ! यो एउटा अध्ययनको विषय बनेको छ । रिंगमोवासीको मूल पेसा कृषि हो । त्यहाँ गहुँ, आलु, फापर र तोरी खेती गरिन्छ । बर्खामा यार्सागुम्बा टिप्ने, पर्यटनको समयमा ससाना व्यापार गर्ने गर्छन् उनीहरू । वसन्त–ऋतुको आगमनसँगै रिंगमो गाउँमा खेतिपाती सुरु हुन्छ । बाली लाउनुअघि उनीहरू सामूहिक रूपमा ह्युल्सा देवताको पूजा गर्छन् । यो देवताको पूजा चैत महिनाको अन्त्यतिर गरिन्छ ।

ह्युल्सा देवतालाई रिंगमोवासी ‘भूमे देवता' पनि भन्छन् । भोटिया भाषामा ‘ह्युल'को अर्थ ‘देवता' र ‘सा' को अर्थ ‘भूमि' (माटो) हो । उनीहरूको मान्यताअनुसार, ‘ह्युलसा देवता' मानवमात्रको नभई प्रकृति (बोटविरुवा, कीटपतंग) सबैका संरक्षक देवता हुन् । खेतबारीमा अन्नबाली लाउन माटो खनजोत गर्दा बोटविरुवा, कीटपतंग आदिको विनाश हुनसक्छ । यसरी विनाश गरियो भने प्रकृति (भूमि) देवता ह्युल्सा रिसाउनेछिन् । र, असिना–बादल, खडेरीजस्ता प्रकृतिक प्रकोप निम्त्याई लाएको अन्नबाली सबै नास गर्नेछिन् । त्यसकारण माटो खनजोत गर्दा आफूले बोटविरुवा तथा कीटपतंग आदिको विनाश गरेकोमा माफी माग्न र अब लाउने बालीनालीमा कुनै पनि प्राकृतिक–प्रकोप ननिम्त्याई विनाश नगरिदिन बिन्ती गर्न उनीहरूले ह्युल्साको पूजा गरेका हुन् । देवताको थान गाउँको माथि शिरमा बनाइएको छ । ह्युल्सा देवताको पूजा गर्दा प्रत्येक घरबाट चामल, छ्याङ, रक्सी उठाई सामूहिक भोज खाने चलन छ । त्यसै दिन वर्ष दिनसम्म गाउँको नेतृत्व गर्ने दुईजना व्यक्तिको चयन पनि गरिन्छ । तिनीहरूले एक वर्षसम्म गाउँमा कुनै कार्यक्रम गर्नु परेमा, भोज वा बैठक गर्नु परेमा त्यसको व्यवस्थापन गर्ने गर्छन् । कारबाई प्रक्रियाबारे निर्णय गर्ने काम गर्छन् । प्रत्येक वर्ष दुईजनाका दरले गाउँका सबै घरपरिवारबाट पालैपालो छान्दै जानुपर्छ ।

रिंगमो गाउँमा वैशाख दोस्रो हप्तातिर आलु रोप्न सुरु हुन्छ । पहिला आलु रोप्न उनीहरूलाई धेरै समय लाग्थ्यो तर पछिल्लो समयमा यार्सागुम्बा टिप्न थालेदेखि कतिपयले जग्गा बाँझै राख्न थाले । आलु रोपेपछि तोरी/फापरको खेती सुरु हुन्छ । रिंगमो गाउँमा जेठको पहिलो हप्तातिर तोरी÷फापर छरिसक्नुपर्छ । ढिलो गरिए पाक्न गाह्रो हुन्छ । जेठको दोस्रो हप्तातिर उनीहरू गाउँदेखि माथि रहेको फूलबारी, पेरिकाप्वा लेक, लाप्च्या लेक आदि जग्गामा यार्सागुम्बा टिप्न जान्छन् । महिना दिन त्यहाँ बसेपछि असारको दोस्रो हप्तातिर गाउँतिर फर्किन्छन् । त्यसपछि गहुँ, आलु गोड्ने समय सुरु हुन्छ । साउन लागेपछि फेरि यार्सागुम्बा बेच्न तिब्बतको ‘क्याटोवा' क्षेत्रतिर जान्छन् । हाल रिंगमोवासीका लागि रुपैयाँपैसा आर्जन गर्ने मुख्य माध्यम यार्सागुम्बा व्यापार नै भएको छ । साउन महिनामा क्याटोवा क्षेत्रतिर व्यापारीहरू निश्चित समयका लागि चाइनाबाट आई टेन्ट लाएर बसेका हुन्छन् । रिंगमोबाट क्याटोवा पुग्न खच्चरबाट तीन दिन लाग्छ । याक÷जोभासित गइयो भने सात दिन लाग्नसक्छ । त्यसपछि यार्सागुम्बा बेचेर त्यहाँबाट रुपैयाँ, दैनिक उपभोग्य वस्तु र लत्ताकपडा आदि लिएर घर फर्किन्छन् ।

भदौ लागेपछि रिंगमो गाउँमा आलु खन्ने, गहुँ÷फापर काट्ने, तोरी उप्काउने काम सुरु हुन्छ । उनीहरूले पाकेको गहुँ, तोरी र फापरलाई काटिसकेपछि केही दिन घरको ‘थारा' (छाना) माथि सुकाएर राख्ने गर्छन् । असोज लागेपछि खनेर राखेको आलुलाई खाल्डो खनी भण्डार गर्ने, थारामाथि सुकाएको गहुँ, तोरी, फापरलाई कुटेर दाना खाटो (बाकस)मा राख्ने, त्यसको नल घाँसको लागि सुरक्षित ठाउँमा राख्ने काम गर्छन् । असोज र कात्तिकतिर एक महिना से–फोक्सुन्डो तालमा आन्तरिक वा बाह्य पर्यटकको ओइरो लाग्छ । त्यस बेला केही रिंगमोवासी घरमा वा बाटोतिर ससाना होटल थाप्ने गर्छन् । सबै काम सकेपछि रिंगमोवासी सामूहिक भोज खाने गर्छन् । भोजलाई उनीहरू ‘खाटुम' भन्छन् । खाटुम कात्तिकको पहिलो वा दोस्रो हप्तातिर खाने गरिन्छ । आआफ्नो घरबाट छ्याङ, रक्सी, मैदा, चिनी, चामल आदि संकलन गरी सामूहिक भोजको आयोजना गर्ने गरिन्छ । विभिन्न खेल तथा नाचगान हुन्छ । रिंगमोवासी ‘खाटुम' तीन दिनसम्म मनाउँछन् ।

मंसिर लागेपछि से–फोक्सुन्डो क्षेत्रमा जाडो सुरु हुन्छ । हिउँ पर्न थाल्छ । याकबाहेक अन्य बस्तुभाउ हिउँले त्यहाँ बस्न सक्दैनन् । मंसिरदेखि चैतसम्म स्कुल पनि बन्द हुन्छ । त्यसकारण घरको महत्त्वपूर्ण सामान र हालसाल फलाएको आलु, अन्नबाली (गहुँ, तोरी, फपर) घरभित्रै थन्को गरी घरमा ताल्चा लगाएर हिँउदे जाडो छल्न उनीहरू परिवार, केटाकेटी तथा बस्तुभाउ (जोभा÷झोमा,च्यालु÷च्यांग्रा, खच्चर) लिई मंसिरतिर बेसीमा झर्छन् । केही आवश्यक बस्तु जोभा÷खच्चरलाई बोकाएर । सुक्टिलामु, ज्यालस रिंगमोबासीका बेसीमा झरेर बस्ने जग्गाहरू हुन् । केही परिवारचाहिँ गाउँनजिकै पोलामतिर पनि बस्छन् । यस वर्ष भने जलवायु परिवर्तन भई फोक्सुन्डो क्षेत्रमा ढिलो जाडो आएकाले पुसको पहिलो हप्तातिरमात्र उनीहरू तलतिर झरे । हाल पोलाममा नौ परिवार, सुक्टीलामुमा पाँच परिवार र ज्यालसमा ३५ परिवार रिंगमोवासी बसेका भेटिन्छन् । याकचाहिँ माथि गाउँनजिकको जंगलतिरै छाडिराख्छन् । त्यहाँ उनीहरूले याक हेर्ने केही गोठाला पनि राखेका हुन्छन् । रिंगमोवासी बेसीतिर झर्नुको कारण मानिस तथा पशु–प्राणीलाई हिउँदे जाडोबाट जोगाउनुका साथै तल्लो–क्षेत्रमा गई बर्खा टार्ने अनाज संकलन गर्नु पनि हो । सुक्टिलामु, ज्यालसतिर बस्दा डोल्पाको तल्लो क्षेत्रतिर ओर्लेर अनाज संकलन गर्न उनीहरूलाई सजिलो हुन्छ । यी ठाउँमा उनीहरू मंसिरदेखि चैतसम्म बस्छन् ।

बेसीतिर बस्दा महिलाहरू बालबच्चा हेर्ने, भातभान्सा बनाउने, धागो कात्ने, चाङ बुन्ने काम गर्छन् । उनीहरूले बुन्ने चाङहरू ल्यु, पाखी, पउरो, झोला, छ्युवा, किटी आदि हुन् । बुनेका वस्तु तल्लो भेगका बासिन्दासँग बिक्री गर्छन् । डोल्पा क्षेत्रमा किटी (मटी) भोटिया महिलाले मात्र लाउँथे तर अचेल त्यहाँका तल्लो क्षेत्रमा बस्ने मगर, ठकुरी, क्षेत्री, दलित महिलाले समेत लाउन थालेका छन् । किटीभित्र हावा छिर्न सक्दैन र शरीर सधैं न्यानो भइरहन्छ । जाडामा यसको प्रयोग बढ्दै गएको हो । चौंरी ाईको दूध दुने, दूधबाट घ्यू निकाल्ने काम पनि उनीहरू नै गर्छन् । रिंगमो गाउँमा पुरुषले दूध दुने चलन छैन । वृद्घा महिलाचाहिँ पटुका बुन्दै बस्छन् । उनीहरूले बुनेका पटुका खरिद गर्न तल तारागाउँका तराली मगरहरू आउँछन् । पटुका उनीहरू बागलुङ, रुकुम, रोल्पा आदि क्षेत्रमा लगेर बेच्छन् । युवाहरू यसरी बेसीतिर बस्दा यार्सागुम्बा बिक्रीबाट ल्याएको पैसा बोकेर खसान क्षेत्रतिर झर्छन् । यसपालि भने जलवायु परिवर्तन भई सेफोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिँउसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे । 

काइगाउँ, पहाडा, लिकु, जुफाल, सुँ, कालिका, सर्मी आदि उनीहरूका खसान क्षेत्रतिर झर्ने जग्गा हुन् । त्यहाँबाट मकै, कोदो, गहुँ, उवा, सिमी, खुर्सानी किनेर जोभा÷खच्चरलाई बोकाई माथि लान्छन् । कहिलेकाहीँ चौंरीकोटसम्म पनि पुग्छन् । चौंरीकोट डोल्पा र जुम्लाको सीमा–क्षेत्रतिर पर्छ । चौंरीकोट जाँदाचाहिँ तिब्बतबाट ल्याएको भोटे–नुन लिएर जान्छन् । र, त्यसले स्थानीय त्यहाँका गुरुङ (भोटे)हरू सँग अनाज साटेर ल्याउँछन् । हाल चौंरीकोटमा एक फाक्तेन (जग) भोटेनुन लिएबापत चा फाक्तेन मकै, उवा दिने चलन छ । चौंरीकोटवासी भोटेनुनलाई चिया खान र वस्तुलाई दिन प्रयोग गर्छन् । चामल, तेल, च्युरा, मसला, साबुनचाहिँ रिंगमोवासी तल जाजरकोटको तल्लु–बगर र रुकुमको राढी–ज्युलासम्म झरेर लग्छन् । घरमा जोभा÷खच्चरलाई बोकाएर अनाज ल्याउने पुरुष नभएमा त्यो काम गर्ने कुनै व्यक्तिलाई निश्चित समयका लागि निश्चित पारि श्रमिक दिई घरमा राखेका पनि हुन्छन् । हालसाल ज्यालसका कार्मा–छिरिङ बुढा (भोटिया) ले जोभा÷खच्चर खेदाई, खसान–क्षेत्रबाट अनाज ल्याउन जुम्लाको लामीडाँडा गाउँका वीरेन्द्र बोहरालाई मासिक १३ हजार दिएर राखेका छन् । तलबाट खच्चर खेदाई अनाज ल्याउने कामबाहेक फुर्सदको समयमा वीरेन्द्र बोहराले बस्तुभाउ जंगल लाने पोसाउने, साँझतिर घर ल्याउने काम पनि गर्छन् । अन्य युवाले पनि खसान क्षेत्र वा चौंरीकोटबाट घर फर्किसकेपछि अथवा कुनै कारणले घरै बस्ने अवस्था भएमा तलबाट ल्याएको अनाजलाई घट्टमा लगी पिस्ने र निश्चित ठाउँमा लगी भण्डार गर्ने, बस्तुभाउलाई जंगल लाने ल्याउने, दानापानी ख्वाउने आदि काम गर्दै बस्छन् । रिंगमो गाउँमा घट्ट छैन । उवा, मकै, कोदो तलबाटै पिसेर लानुपर्छ । यसका अलावा उनीहरू फेरुवा कात्ने, छिपा बुन्ने, ताख्वा (फेरुवा कात्दा प्रयोग गरिने सामग्री) बनाउने आदि काम पनि गर्छन् । यसरी रिंगमोवासी मंसिरदेखि फागुनसम्म समय बिताउँछन् ।

फागुन महिनाको अन्त्यसँगै से–फोक्सुन्डो क्षेत्रमा जाडो कम हुन थाल्छ । स्कुल लाग्न सुरु हुन्छ । रिंगमोवासी फेरि माथि गाउँतिर फर्किन सुरु गर्छन् । सधैं चैत महिनाको दोस्रो हप्तातिरमात्र माथि फर्किने उनीहरू यसपालि भने जलवायु परिवर्तन भई से–फोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिउँसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।
प्रतिघर २० देखि ३० बोरासम्म अनाज उनीहरूले माथि लगेका देखिन्छ । त्यही अनाज बर्खाभरि खाना खाने, छ्याङ खाने, रोटी खाने तथा वस्तुलाई दाना खुवाउने गर्छन् । गाउँमा सबै घरपरिवार भेला भइसकेपछि चैत महिनाको अन्त्यतिर पुनः ह्युल्सा देवताको पूजा गर्छन् । यस सालको पूजा भरखर गरे । अब उनीहरू बालीनाली लाउने कामतिर लाग्छन् ।
लेखक त्रिवि कीर्तिपुरको मानवशास्त्रका अध्येता हुन् ।  

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...