Monday, June 10, 2019

सहोराय पर्व सुरु

सहोराय पर्व सुरु
पुस २२, २०७५
कान्तिपुर संवाददाता
मोरङ — सन्थाल समुदायले जहदा गाउँपालिका ७ सिरसियास्थित दिसोम मंझी थानमा शनिबार विशेष पूजा गरेर सहरोय पर्व मनाउन सुरु गरेका छन् ।
सहोराय संरक्षण समितिले पुस २५ बाट ६ दिनसम्म मनाउने उक्त पर्वका लागि विशेष पूजा गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । समितिका संयोजक तथा जहदा ७ का वडा अध्यक्ष भगवानलाल बेसराले सहोराय पर्व मनाउन सुरु गर्नका लागि शनिबार मोराङब्रु, जाहेर एरा, गोसाइ एरा र ठकुरठकुराइनको मंझी थानमा बिशेष पूजा गरेको बताए । पूजाका अवसरमा युवायुवती, महिलापुरुषहरूले सहोराय नाच समेत नाचेका थिए । धन बाली भित्र्याएको खुसियालीमा ६ दिनसम्म मनाइने सहोराय पर्व संथाल समुदायको ठूलो पर्व हो । संथाल समुदायका मंझीसमेत रहेका बेसराले आफूहरूको समुदायले धान बाली भित्र्याएको अवसरमा यो पर्व मनाउने परम्परा रहेको बताए । ‘धान बाली राम्ररी उब्जाई भित्र्याएको खुसियालीमा आफ्ना दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाइँ, भान्जा, भान्जीलगायतका सपरिवारका साथ यो पर्व मनाउने परम्परा छ,’ उनले भने, ‘६ दिनसम्म मनाउने सहोराय पर्वको प्रत्येक दिनको विशेष हुन्छ ।’
सहोरायको पहिलो दिन उम पर्व मनाउने परम्परा छ । उम पर्वका अवसरमा घरआँगन सरसफाइ गरेर रंगीचङ्गी पार्ने, लुगाफाटो धुने र नुहाएर चोखो भएर ‘गड’ पूजा गर्ने परम्परा रहेको सूर्यनारायण हास्दाले बताए । ‘गाउँभन्दा पर गएर धर्तीलाई सफा गरेर अरुवजा चामलको पिँडोले सजाएर लड्डु, धुप, अन्डा र सिन्दुर राखेर गड पूजा मनाउने परम्परा छ,’ उनले भने, ‘गड पूजामा राखेको अन्डा गाईबस्तुले फुटाउनुपर्ने र जसको गाईबस्तुले अन्डा फुटाउन सफल हुन्छ, त्यसलाई समातेर सिङमा तेल, सिन्दुर लगाइदिएर खुट्टा धोएपछि गोठालोलाई काँधमा बोकेर गाउँ लगिन्छ ।’ अन्डा फुटाउने गाईबस्तुका मालिकलाई अर्को वर्ष संथाल समुदायले एक हाँडी जाँड दिनेसमेत परम्परा रहेको उनले सुनाए । गड पूजा सकेपछि साँझमा युवतीहरूले समूहमा गाई चुम्मन आरती र चिमौडा गीत गाउँदै घरघरमा जाने परम्परा रहेको छ । गड पूजा संथाल समुदायका नाइकेले गर्ने परम्परा रहेको छ ।
दोस्रो दिन दाका पर्व मनाइन्छ । यस दिन भात, मासुलगायतका विभिन्न परिकार सपरिवार, आफ्न्त लगायतसँगै बसेर खाने परम्परा रहेको हास्दाले बताए । ‘दाका पर्वकै दिन दिदी, बहिनी ससुरालीबाट कोसेली लिएर आउने र त्यो कोसेली कुल देउतालाई चढाएर स्वर्गबासी पुर्खालाई सम्झने परम्परा रहेको छ,’ उनले भने, ‘संथाल समुदायले दाका पर्वका दिन गाईबस्तुलाई चुमौडा गर्ने र युवायुवतीले समूह बनाएर सहोराय नाच नाच्ने गर्छन् ।’ तेस्रो दिनलाई खुन्टौव पर्व भनिन्छ । ‘यो पर्वका अवसरमा गाईबस्तुलाई सडक छेउमा नयाँ बाँसको खम्बा गाडेर त्यसमा बाँध्नुपर्छ,’ ६१ वर्षीय सुजन हास्दाले भने, ‘गाई बस्तुलाई मीठो खान दिएर सिंगारेर रुपैयाँको माला लगाइदिएपछि जिस्काएर रमाउने गर्छौं ।’ गाईबस्तुको गालामा भएको रुपैयाँकोमाला ज्वाइँले भोलिपल्ट निकाल्ने चलन रहेको उनले बताए ।
संथाल समुदायले सहोरायको चौथो दिनमा जाली पर्व मनाउने गर्छ । ‘जाली पर्वको दिन समुदायको मुखियासँगै घरघरमा गएर जाँड, रक्सी खाएर रमाइलो गर्छौं,’ हास्दाले भने, ‘युवायुवतीहरूले समूहमा नाच्दै धान, चामल, पैसा मागेर जम्मा गर्ने चलन छ ।’ सहोरायको पाँचौं दिन हाकुकाटोम पर्व मनाउँछ । यो दिन संथाल समुदायले माछा, गँगटो खाएर नाचगान गर्ने चलन छ । सहोरायको अन्तिम दिन साकरात पर्वका अवसरमा धनुषबाणको निसाना साँध्ने परम्परा रहेको हास्दाले बताए । सहोराय पर्वका अवसरमा प्रदेश १ का संघीय समाजवादी फोरमा संसदीय दलका नेता जयराम यादवले शनिबार सिरसिया पुगेर संथाल समुदायलाई शुभकामना दिएका थिए । उनीसँगै फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले समेत शुभकामना दिए ।
संथाल समुदायलाई शुभकामना दिनका लागि लाहुरलिपका उपाध्यक्ष दिनेश घले, आदिवासी जनजाति महासंघ मोरङ पूर्वअध्यक्ष देवराज चौधरीले समेत शुभकामना दिए । मुलुकमा कुल ५१ हजार ७ सय २० संथाल समुदायको जनसंख्या रहेकोमध्ये जहदा गाउँपालिकामा ६ हजार २ सय २४ रहेको छ । जहदा गाउँपालिकाले सहोराय पर्वका अवसरमा पुस २५ गते गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रकाशित : पुस २२, २०७५ ०९:४७

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...