Monday, June 10, 2019

जहदामा सहोराय बिदा

जहदामा सहोराय बिदा
पुस २६, २०७५देवनारायण साह
मोरङ — जहदा गाउँपालिकाले बुधबार बिदा दियो । घरहरू भित्ता नीलो र पेटी फिक्का कालो रंगले पोतिएका थिए । भित्तामा माटोका चित्र कोरिएका थिए । जहदा गाउँपालिका–७ सितोङटोलका सन्थाल नाइके भगवानलाल बेसरा घरबाट पूजा सामग्री लिएर निस्के । साथमा बाजागाजा र गाउँलेको लस्कर ।
लस्कर गड टन्डी पुग्यो । गाउँलेले कोदालोले अलिकति जमिन ताछे र गोबरले लिपपोत गरे । बन्यो– पूजा गर्ने ठाउँ । नाइके बेसरा पूजा आसनमा बसे र सुरु गरे विधि । पित्तलको लोटामा कलश राखे । चामलको पिठोले पाँचवटा कोठा बनाए । पाँचवटै कोठामा मेथी राखे र त्यसमाथिसालका पात ।
पाँचै ठाउँमा पातमाथि पान, सुपारी, सवा किलो लड्डु र सिन्दूर राखियो । उपस्थित सबैले ढोगे । त्यसपछि मंझी प्राणिकले ठूलो माटोको भाँडोमा ल्याएको जाँड दुनोमा खन्याए र नाइकेलाई दिए पूजामा चढाउन । फेरि सबैले ढोगे । लड्डुसँगै प्रसादका रूपमा उपस्थित सबैले जाँड खाए ।
गड पूजापछि कुडउम नाइकेले वनदेउता वीरको छुट्टै पूजा गरे । सिकार खेल्न आउन आहवान गरे ।सन्थाल समुदायले ६ दिनसम्म मनाउने सहोराय पर्वको पहिलो दिन बुधबार थियो । सन्थाल नाइके बेसरा वडा ७ का अध्यक्ष पनि हुन् । उनका अनुसार सहोराय पर्व धान बाली भित्र्याएको खुसीमा मनाइन्छ । पर्व मनाउन आफन्तलाई निम्तो गरिन्छ ।
सितोङटोलका सन्थालका मंझी प्राणिक पन्नालाल हेमरमले पिठोले बनाएको ५ वटा कोठामा पाँच देउताको पूजा गरे । ‘पहिलो कोठामा माराङ बुरु, दोस्रोमा जाहेर एरा र गोसाँइ एरा, तेस्रोमा मोडे कु र तुरुय कु, चौथोमा पिल्चु हाडमा र पिल्चु बुढी, पाँचौंमा सिञ चान्दु र जिन्दो चान्दुको पूजा गर्यौं,’ उनले भने, ‘सहोरायको पहिलो दिनको पूजालाई उम भनिन्छ ।’
नाइके बेसराका अनुसार आफ्ना पिताले गड पूजा गर्दासम्म कुखुराको बलि दिने परम्परा थियो । ‘बुवाको शेषपछि मैले नाइके पद सम्हालें,’ उनले भने, ‘बलि प्रथाको अन्त गर्नुपर्ने सन्थालका मुखिया मंझी हरामकहाँ प्रस्ताव राखेँ ।’
गाउँका मंझी सदस्यसहित सबै जनाले ‘देउता खेलेर बलि प्रथा हटाउन आग्रह गरेको’ उनले बताए । उनका अनुसार देउता खेल्दा बलिको साटो सवा किलो लड्डु दिनुपर्ने भनेकाले त्यहीअनुसार पूजा गर्दै आइएको हो । ‘सहोराय पर्वका छ वटै दिन विशेष हुन्छन्,’ सूर्यनारायण हास्दाले भने, ‘दोस्रो दिन दाका पर्वमा मासुलगायतका परिकार परिवार र आफन्तसँग बसेर खाने परम्परा छ ।’
दाका पर्वकै दिन दिदीबहिनी र ससुरालीले कोसेली ल्याउँछन् । कोसेली कुल देउतालाई चढाएर स्वर्गवासी पुर्खालाई सम्झने गरिन्छ । यो दिन युवायुवती सहोराय नाच्छन् ।
तेस्रो दिनलाई खुन्टौव पर्व भनिन्छ । ‘यो दिन गाईबस्तुलाई सडकछेउमा नयाँ बाँसको खम्बा गाडेर बाँध्नुपर्छ,’ ६१ वर्षीय सुजन हास्दाले भने, ‘तिनलाई रुपैयाँको माला लगाएर मिठो खुवाइन्छ । गाईबस्तुको गालामा भएको रुपैयाँको माला ज्वाइँले भोलिपल्ट निकाल्ने चलन छ ।’ चौथो दिन हो जाली पर्व । ‘जाली पर्वमा समुदायको मुखियासँगै घरघरमा गएर जाँडरक्सी खाएर रमाइलो गर्छौं,’ हास्दाले भने, ‘युवायुवतीले समूहमा नाच्दै धान, चामल, पैसा मागेर जम्मा गर्ने चलन छ ।’
पाँचौं दिन हाकुकाटोम पर्व मनाइन्छ । यो दिन माछा र गंगटो खाएर नाचगान गरिन्छ । अन्तिम दिन साकरात पर्वका अवसरमा धनुषवाणले निसाना साँध्ने परम्परा छ । सन्थालको जनसंख्या मुलुकभर ५१ हजार ७ सय २० रहेको तथ्यांक छ । जहदा गाउँपालिकामा मात्रै ६ हजार २ सय २४ जना छन् ।
प्रकाशित : पुस २६, २०७५ ०७:३७

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...