Tuesday, June 11, 2019

खाँचो तिखारिएको सेना

खाँचो तिखारिएको सेना
प्रेमसिंह बस्न्यात
विचार
Annapurna,  १७ फागुन २०७५ ०८:०५:००
अभिलेख अभावमा तीन हजार वर्षभन्दा पुरानो नेपालको सैनिक इतिहास लेख्न सकिएको छैन। आधुनिककालको बाइसे–चौबीसे राज्यहरूको समेत सैनिक इतिहासको अभिलेख छैन। विसं. १६१६ असोजमा हाल गोरखाको लिगलिग कोटमा स्थापित शाहवंशीय भुरे राज्यको लहरो अस्तिको राजा ज्ञानेन्द्रसम्मको पालाका सैनिक इतिहाससमेत अपूरो भेटिन्छ। कति दन्त्य कथाजस्ता पनि छन्। गैरसैनिक इतिहासकारबाट लेखाइएको इतिहासभित्र सैनिक मर्म पाइँदैन। विसं १६१६ असोजमा खडा भएको सेनाले देशको माटो बढाउने र बचाउने काम गरे पनि यसले विभिन्न कालखण्डमा आफ्नो अस्तित्व जोगाउन धौधौ परेका नजिर पनि छन्। सेनालाई जनताले माया र विश्वास गरे पनि केही देशीविदेशी शक्तिहरूबाट भने यो संस्थाको भलो चाहेका छैनन्।
२००७ सालको क्रान्तिपछि राजासहितको प्रजातन्त्र आयो। सेनालाई राणा सरकारको दलाल ठानियो। अब नेपाली कांग्रेसका मुक्ति सेनालाई राष्ट्रिय सेना बनाई पुराना सेनालाई खारेजी गर्न राजादेखि सरकारको तयारी हुँदाहुँदै डा. केआई सिंह पर्व घट्यो। के आई सिंहले सिंहदरबारलगायत काठमाडौं कब्जा गरे। प्रधानमन्त्री, मन्त्री, प्रधानसेनापतिलगायत सबै भागेर राजदरबारमा शरण लिन पुगे। जहाँ पुरानो सेनाका बिजुली गारत (पछि रोयल गार्ड) का सेनाले सुरक्षा दिइरहेका थिए। यस्तो स्थितिमा आफ्ना सेनालाई नियन्त्रण गर्न कांगे्रस सरकारले नसकेपछि तिनै बिजुली गारतका दुई पल्टनले काठमाडौं कब्जा गरेका मुक्ति सेनालाई निशस्त्र पारी नियन्त्रणमा लिए। केआई सिंह चीन भागे। अनि मात्र कांग्रेसले पुनः सत्ता चलाउन सक्यो। त्यसपछि मन्त्रिपरिषद्को पहिलो निर्णय भई पुरानो सेनालाई यथावत् राख्ने र आफ्ना घर र डेरामा बस्दै आएका फौजलाई ब्यारेकमा राख्नेसमेत निर्णय गर्‍यो। केआई सिंह काण्ड नभएको भए पुराना सेना सबै खारेजी हुने पक्कै थियो। यो दशा टरेकै हो। त्यसबेलाको प्रधानमन्त्री बीपी कोइरालाले समेत नेपालमा स्थायी सेना राखेर गल्ती भएको र राजनीतिक दल (नेपाली कांग्रेस) को आफ्नै सेना हुनुपर्ने तथ्य आफ्नो आत्मवृत्तान्तको सुरुमै लेखेका छन्।
त्यतिबेलै भारतीय सैनिक मिसन नेपाल आएर नेपाली सेनाको संख्यालाई ४२ हजारबाट ९ हजारमा झारियो। हजारलाई पनि शून्यमा झार्न कांग्रेसका मुक्ति सेनासहित अरू थप भर्ना गरेर नेपालमा ‘सशस्त्र प्रहरी’ मात्र राखिने र सैनिकको काम परेमा भारतबाट मगाइने तर नेपालमा सेना नराख्ने योजना तय भयो। भारतीय सेना बोलाएर नेपालको उत्तरी क्षेत्रमा समेत तैनाथी भए। यो हार्ड लाइनमा भारतीय गृहमन्त्री सरदार बल्लब भाई पट्टेल थिए। तर उनको निधनपछि नेपालमा सेना खारेज गर्ने योजनाले गति लिन सकेन। यो दुर्घटनाबाट पनि नेपाली सेना जोगियो।
अर्को घटना हो २०४७ पछिको अवस्था। त्यसबेला सेना फाल्ने योजना नभए पनि त्यस बेलाको सरकारको गैरसैनिक सुरक्षा अंगहरूलाई काखी च्यापेर सेनालाई भन्दा बढी बजेट दिने, सेवा सुविधा दिने र सेनालाई सरकारकै तर्फबाट अवमूल्यनसमेत गरियो। पंक्तिकारलाई सम्झना छ– त्यसबेलाका अर्थमन्त्रीले नेपाली सेनाका लप्टनले आईए पढेकाले सुब्बाको तलब मात्र दिनुपर्छ भनी राजपत्रांकित अधिकृतहरूलाई राजपत्र अनंकित तलब विनियोजन गरे। झन्डै दुई महिना सेनाले तलब नबुझेपछि पुरानै मानमर्यादामा तलब विनियोजन गरियो। त्यसबेला सेनालाई राजाको शाही सेना र अन्य सुरक्षा अंगलाई प्रजातान्त्रिक पक्षधर ठानियो। त्यसबेलाको सरकारको यो ठूलो भूल थियो। सेना सरकारसमर्थित रहँदारहँदै पनि सरकार आफंैले धकेलेर सेनालाई राजाको नजिक हुन बाध्य बनायो।
अर्को ठूलो दशा लाग्यो सेनालाई माओवादीको पहिलो सरकार बनेको बेलामा। जसलाई समाजले ‘कटवाल काण्ड’ भनेर चिन्छन्। तर यो कटवाल काण्ड होइन माओवादी काण्ड हो। माओवादीविरुद्ध लडेका नेपाली सेनालाई समाप्त पार्न माओवादीलगायत भारतमा बाह्रबुँदेमा सही गर्ने अन्य ७ दललगायत र दलले नेपाली सेनाको अस्तित्व चाहँदैनथे। माओवादीले त्यो पहल गर्ने काम अनौठो थिएन। नेपाली सेनाभित्र नै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जस्तै विद्रोह गराउने प्रयास हुँदाहुँदै त्यसबेलाको सरकारले माओवादीकै मतियारमा तयार पारेका सेनाभित्रैका जर्नेलबाट पुरानो सेना समाप्त पारी नयाँ सेना खडा गर्ने असफल प्रयास भयो। पछि गएर माओवादीका रणनीति बुझेका अन्य दलले नेपाली सेनालाई नै साथ दिएकाले यो दुर्घटना पनि टर्‍यो।
अर्को खतरनाक पक्ष भनेको छिमेकी देश हो। जसले २००८ सालदेखि आजको दिनसम्म नेपाली सेनाको पखेटा काट्न खोजिरहन्छ। हातहतियार रोक्ने, गोलीगट्ठा बम बनाउने कच्चा पदार्थको खडेरी पार्ने, शान्ति सेनालाई आफ्नो पकडमा राख्न खोज्ने, पैसा तिरेर नेपाली सेनाविरुद्ध आफ्ना सेनाका पूर्व जर्नेल, प्राध्यापक र नेपालका विकाउ प्राज्ञमार्फत विभिन्न पुस्तक, लेख लेखाएर बेइज्जती गर्ने, नचाहिँदा क्षेत्रीय सैनिक गठबन्धनमा सामेल गराउने आदि काम गरिरहेको छर्लंग छन्। अहिले पनि निर्माणाधीन फास्ट ट्र्याक सेनाबाट छुटाई सरकार आफ्नो पोल्टामा पार्न चाहन्छ। यही फास्ट ट्र्याकको कारणले नेपाली सेनाका गोलीगट्ठा, एकस्ल्पोसिभ बन्ने कच्चा पदार्थ भारतले रोकेको छ। भारत अहिले पनि सेनाको वर्तमान नेतृत्व परिवर्तन भएको देख्न र भारतसमर्थित सैनिक जर्नेलहरूको झुन्ड बढोस् भन्ने चाहन्छ। तर नेपाली सेनाको एकताको कारणले त्यो सम्भव छैन। भुटानी मोडलमा लैजान नसकेर मित्रराष्ट्रको टाउको दुखाइमा छ नेपाली सेना।
सेना अनुशासनको प्रतीक हो। पोसाक हैन चरित्र परिवर्तन गर्नुपर्छ सेनाले। गल्ती गरेपछि तल परिन्छ। सेनालाई नरुचाउनेहरूले बास्ना आउने होइन गनाउने ठाउँ मात्र खोज्छन्।
सर्वसाधारण नेपालीले नबुझेका तर पश्चिमाका जजमानहरूले बुझेको अर्को पक्ष नेपालमा क्रिस्चियन धर्म फैलाउन वाधा पुगेको बलियो कारण पनि नेपाली सेना नै हो। नेपाली सेनाले हिन्दु धर्मअनुसार देवीदेवताको शक्ति भएको निशान बोकेरै यो नेपालको माटो बढाएको र बचाएको पक्कै हो। सेनाका नाम ती नै देवीदेवताको नाममा छन्। शिवरात्री, घोडे जात्रा, फूलपाती, वसन्त पञ्चमी, इन्द्रजात्रा, बुद्धजयन्तीलगायतका पर्व मनाउँदै आएको छ। क्रिश्चियन धर्मावलम्बीले होइन, त्यो धर्म फैलाउने खेतीवालालाई यो सेना ढाल्नु छ। त्यसपछि उनीहरूको बाटोको ढिस्को भत्किनेछ। माओवादी नामको युद्ध र तिनका नेतृत्व पात्रहरूलाई विदेशी शक्तिले पानीको फोका जसरी अस्थायी रूपमा जन्माए। उनीहरूलाई हिन्दु धर्म, संवैधानिक राजतन्त्र र नेपाली सेना ढाल्नु थियो। धर्म र राजा ढले अब ढाल्ने पालो नेपाली सेनाको हो। माओवादी र तीनलाई बाह्रबुँदेमा साथ दिनेहरूले आजको दिन जन्माए। अब विदेशीले नै माओवादी नामक पानीको फोका फुटाई एमाले बनाइदिएका छन्। माओवाद र माओवादी पातलमा पुरिए।
नेपाल सरकारले सेनालाई सैनिक अस्पताल, सैनिक विद्यालयलगायत अन्य कल्याणकारी कामलाई बजेट नदिने। शान्तिसुरक्षा र चुल्ठे मुन्द्रेको व्यवस्थापन गर्न नसकेर देशको विकास गर्न नसक्ने। अनि बाटो खन्ने, बाढी, भुइँचालो, पहिरो आदिको व्यवस्थापनमा सेना नै चाहिने। त्यसमा पनि बाटो खन्न र पुल बनाउन सेनालाई बिन्ती भाउ नै गर्छ, नेपाल सरकार। तर यही पाटोले गर्दा सेनालाई अहिले ठेकेदार, व्यापारी, भ्रष्टचारी आदि भनिएको छ। पूर्वमाओवादी नेताहरूले चलाएका र माओवादीका समर्थक पत्रिकामा निस्केका खबर हेर्ने हो भने छर्लंग छ, नेकपाको सरकारमा बसेको अर्को साझेदारको नियत। आखिर नेपाली सेना करिब एक दशकअगाडि लडेको ‘दुस्मन’ नै थियो। सेनाको संख्या घटाउनुपर्छ, सेनालाई पाता फर्काउनुपर्छ भन्ने नारा दिनैपिच्छे छापिन्छन्। ती शक्तिहरूले भने वैधानिक निर्णय गरेर नै नेपाली सेनाको तेजोबध गराउन सक्छ र अर्को ‘कटवाल काण्ड’ दोहोर्‍याउन खोजिनेछ। दुःखलाग्दो कुरा सेनाबाट अवकाशप्राप्त र सम्पत्ति कमाएका जर्साबहरू नै नेपाली सेना पछार्ने हुलमै ताली बजाइरहेका छन्। हामी पूर्व कर्मचारीले सेना, प्रहरी, प्रशासनलाई दबाब दिएर सुधार गराउनैपर्छ। तर दुस्मनसँग मिलेर संस्थामा डँडेलो लगाउने काम गर्नु दुर्भाग्य हुनेछ।
सेना अनुशासनको प्रतीक हो। पोसाक हैन चरित्र परिवर्तन गर्नुपर्छ सेनाले। गल्ती गरेपछि तल परिन्छ। सेनालाई नरुचाउनेहरूले बास्ना आउने होइन, गनाउने ठाउँ मात्र खोज्छन्। तसर्थ, सैनिक नियम लगाएर जबर्जस्ती नियन्त्रण गर्न खोजेर होइन कानुनी शासन दिएर सेनाभित्र एकता कायम गर्नैपर्छ। जर्नेल धनी बन्ने, सिपाही गरिब नै रहने र सैनिक संस्थालाई फोहोरको थुप्रो बनाउने काम गर्नु हुँदैन। ८÷१० वर्षअघिका प्रधानसेनापतिहरूले सेनाभित्रका किर्ते उमेर र प्रमाणपत्र केलाइदिएको भए आज विभिन्न पत्रपत्रिकामा संस्थाकै बेइज्जत हुने गरी लेखिने थिएनन्। वर्तमान नेतृत्वबाट सेनाभित्रका विकृति हटाउने प्रयास गर्दा धेरैको मन पोलेको पनि हुनसक्छ। तर हामीले सेनाको वर्तमान नेतृत्वलाई स्याबासी दिनैपर्छ। अपजस आउने काम सडक निर्माण, पेट्रोलपम्प सञ्चालन, जंगल संरक्षणतिर छाडेर आफ्नै सिपाहीको पेसातर्फ फर्कने दिन आएको छ। जंगी अड्डाले सेनाको मानमर्यादा, तलब र अन्य सुविधा कम्तीमा पनि सार्क मुलुककैसरह मात्र गर्न ढिलाइ नगरोस्। गैरसैनिकसरहको सेवासुविधा र मानमर्यादामा नेपाली सेना मात्र छ। नेपाली सेना तिखारिएको सुन्न पाइयोस् तर दुर्गन्ध फैलाउनेको तारो बन्ने मौका दिने काम नगरोस्।

बिहेको उमेर घरको रङ

बिहेको उमेर घरको रङ
फाल्गुन २४, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — सुदूरपश्चिम  । सुन्दै र जताततै पढ्दा, देख्दा लाग्छ– भर्खरै विकासको बाटो समातेको छ  ।
विकासको हिसाबले निकै पिछडिएको क्षेत्र हो यो । यस क्षेत्रमा पहिलोपल्ट पुगेकी सजना बरालको अनुभव:
घरमास्तिरको कान्लामा हामीलाई हेरेर बसेका थिए उनीहरू । मलाई बोल्न मन लाग्यो । परैबाट चिच्याएँ, ‘म त्यहाँ आऊँ ?’ हातको इसाराले बाटो देखाइए । म पुगेपछि सानी नानी लजाएजस्तो लाग्यो तर उनी खिन्न भएर हजुरआमाको काखभित्र घुसेकी रहिछन् । ‘दिदी आएकी हो र भनेर सोधेकी थिई यसले,’ नातिनी च्याप्दै हजुरआमा कलु नेपालीले भनिन्, ‘तिमी जत्रै थिई, पोइल गई । बहिनीले न्यास्रो मानेकी छ ।’ कक्षा १० पढ्दै गरेकी नातिनीले ‘एसएलसी’ मात्रै पास गरिदिएको भए नोकरी पाउँथी भन्ने लागेको रहेछ कलुलाई । ‘ज्वाइँले त पढाउँछु भनेका छन् तर छोरी नै पढ्दिनँ भन्छे,’ उनले भनिन्, ‘तिमी कतिमा पढ्छ्यौ ?’
मैले मास्टर्स (स्नातकोत्तर) भनेको नबुझेपछि १७ कक्षा सकियो भनिदिएँ । उमेर सोधिन् । मैले भनें, ‘२६ ।’ बिहे गर्‍यौ कि नाई ? सोधिन् । अब गर्छु होला भनें । उनी त रिसाइन् । भनिन्, ‘अहिले गर्न पर्दैन ।’ अझै काम गरेर ‘ठूलो सर’ बन्नु भनिन् । रमाइलो लाग्यो । यता सहरतिर ‘बूढी भइसक्यौ’ भन्नेहरू भेटिन्छन् । बाजुराको विकट झलगाउँस्थित दलित टोलकी हजुरआमाले मलाई ‘अझै बेला भएको छैन, पोइल जाने भए ठूलो सर भएपछि मात्रै जानु’ भनेर सिकाइन् । म हाँसें ।
उहाँहरू बाटो खन्ने काम गरिरहेका रहेछन् । पाँच वर्ष शनिबारबाहेक हरेक दिन पत्थर फोरेको बताए । महिला–पुरुषले एकसाथ काम गरेको र बाटो निर्माणसम्बन्धी सम्पूर्ण सीप जानेको कलु हजुरआमाकी बुहारीको भनाइ थियो । ‘काम छोडेपछि हात पनि सप्रेकै छन्, यी हेर्नू,’ उनले हत्केला फिँजाउँदै भनिन्, ‘यो घरभन्दा ठूलो पखान काट्यौं, टाउकैबाट ठेकै बस्यौं । त्यति गरेकाले सेवा सुविधा पायौं ।’ बाटो खन्ने काम सकेर कलु आमाका छोरा गुडगाउँ लागिसके । बाजुराको त्रिवेणी नगरपालिकामा पर्ने कैलाशमाडौं, तोली र छतारा गाउँमा ट्र्याक खनिएको रहेछ । ग्रामीण सडक भएकाले स्थानीय कामदार परिचालन गरिएपछि त्यहाँका साढे १७ हजारले रोजगारी पाएछन् । यसले भारत र खाडी जानेको लर्को रोकिए पनि काम सकिनेबित्तिकै उनीहरू घर छोड्न बाध्य भएछन् । हामी मौरे पुग्दा कतिपय युवा तारिख गन्दै थिए । विदेश नजाने युवा वर्ग भने तासमा जम्दै थिए । तिनका जहान रिसाइरहेको भेटियो ।
म पहिलोपटक सुदूरपश्चिम हेर्दै थिएँ । बाजुरा नेपालको निकै विकट ठाउँ मानिन्छ । बाटो भर्खर पुग्दैछ । मैले सुनेजस्तै नाजुकचाहिँ थिएन । सुदूरपश्चिमको डाँडा–पाखा, चट्टानी बाटो देखेर रमाएँ । धनगढीबाट भीमदत्त राजमार्ग हुँदै डोटी लाग्दा पानी छिट्याइरहेको थियो । त्यो बेला भसुको भीर भयानक देखियो । हरि दाइले ‘त्यहाँ धेरै दुर्घटना हुन्छ’ भने ।यसलाई किन भसुको भीर भनिएको ? अर्का दुई जना दाजुहरू भसुको किंवदन्ती अनुमान लाउन थाले, ‘ठूलो भीर थियो होला, भासिएको भासियै गरेर भसु भयो ।’
त्यो दिन डोटीको बुडर बस्नु थियो । दिउँसै पुग्यौं । गाउँ डुल्न ओरालो लाग्नासाथ बारीभरि मौसम, सुन्तला, निबुवा र जुनार पहेँलै भएर झरेको देखियो । ‘किसानका सुन्तलाले बजार पाएनन्, झरेरै सकिए, किसान मारमा १’ शीर्षकको समाचार बनाऊँ भन्दै दाइहरू जिस्किरहे ।
अलि तल ओर्लिएपछि दुई चेलीको भनाभन चलिरहेको रहेछ । तल्लो र माथिल्लो कान्लाको बाझाबाझमा तिखो स्वर पारी डाँडासम्म सुनियो । ‘यी गाउँका आइमाई कुरा बुझ्दैनन्, बाझ्दै बस्छन्,’ बारीका ढुंगा पन्छाउँदै गरेका एक दाइले भने, ‘रमिता देखाउँछन् ।’ हामी पूर्णागिरि माईको मन्दिर पुगेर फर्किंदासमेत भनाभन रोकिएको थिएन । अर्को दिन हामी अछाम गयौं । दिपायल पुग्दा मलाई नुवाकोटको विदुर पुगेझैं लाग्यो । विदुरमा जस्तै हप्प गर्मी थियो । बजार पनि उस्तै–उस्तै । त्यसपछि साँफेबगरतिर सोझियौं । ठाउँ–ठाउँबाट टलक्क हिमाल देखिन्थ्यो, जुन अपि–साइपल सुनियो । अलि पर पुगेपछि एकापट्टि बडिमालिका र अर्कोतिर खप्तड क्षेत्र देखियो । गीतमा भनिएझैं साँफे सुन्दर लाग्यो तर खोलामा दिसा बगेको देखेर भने झस्किएँ । सबै होटलमा ‘फ्रि वाईफाई’ लेखिए पनि कुनै चलेनन् ।
जाँदाको यात्रा सुखद थियो । सडक चिल्ला थिए । हामीसँगै गएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लीलाराज काफ्लेका अनुसार पूर्वभन्दा पश्चिमका सडक राम्रा थिए । ‘पूर्वतिरका सडक बिग्रिसके,’ उनले भने, ‘यताका बरु राम्रा रहेछन् ।’ साँफेबाट सुर्खेत लागेपछि भने पश्चिमका सडकको वास्तविकता देखियो । मध्यपहाडी लोकमार्ग हुँदै आएका थियौं, बयलपाटा अस्पतालको चर्चा जताततै सुनियो ।बेलखेतबाट कर्णाली तरेपछि बाटो भद्रगोल थियो । लोकमार्ग छेउका बस्तीसमेत दयनीय देखिन्थे । भित्रका बस्ती कस्ता होलान् ? दैलेखको रङ रातो रहेछ तर त्यो सुन्दर होइन टिठलाग्दो देखें । स्थानीयवासी भने दंगै थिए । केही गाह्रो छ कि ? ढिकी कुट्दै गरेकी एक हजुरआमा बोलिन्, ‘केही गाह्रो नाई हजुर ।’ गाउँमा काम पाइदिए हुने भन्ने चाहनाचाहिँ रहेछ । ‘केही नानतिनो एउडो काम आयाखेरि छोराछोरी टालो गासरी खाँदा हुन्,’ आमैले भनिन् ।
ती आमै दलित समुदायकी रहिछन् । पहिलेजस्तो अहिले छुवाछूत नहुने बताइन् । अछाम, दैलेखतिर हिँड्दै गर्दा मलाई भने एउटा कुरा अनौठो लागिरहेको थियो । गाउँका कतिपय घरमा पूरै रातो रङ पोतिएको देखेर यसबारे नारायण दाइलाई सोधें । उहाँले भन्नुभयो, ‘दलितहरूका घर हुन् ती । अरूले राम्रो देखाउन आधा सेतो आधा रातो पोत्छन् । दलितले पूरै रातो पोत्नुपर्छ ।’ म चकित भएँ ।
सुदूरपश्चिमका मान्छे मलाई मनपरे । सडकका साइन बोर्डको भाषा मीठो लाग्यो । देउडा नाच र डेउडा गीत प्रिय थिए । त्यहाँको पञ्चैबाजा समूहले अर्कै खालको बिट सुनाए, त्यो सुन्दर थियो । बसाइ छोटो भएकाले हो या ठाउँ नै उस्तो, मैले सुदूरपश्चिममा सुन्दर कुरा मात्रै भेटाएँ ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २४, २०७५ १२:११

कुलुङ भाषाको एल्बम

कुलुङ भाषाको एल्बम
असार २६, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — गायक तथा संगीतकार अजय अलङ्कार कुलुङको मातृभाषामा ‘सानीवा एल्बम’ (हृदय) सार्वजनिक भएको छ । किराती कुलुङ भाषाको उक्त एल्बम तथा म्युजिक भिडियो गायक स्रष्टा अजयकी ७७ वर्षीया आमा फैलिमाया कुलुङको हातबाट राजधानीमा सार्वजनिक गरिएको हो ।
स्रष्टा अजय अलङ्काको यो पाँचौ एल्बम हो । ‘सानीवा’ एल्बममा पाँचवटा गीत छन् । ‘सानीवा’, ‘लाम्तुम्मा’, ‘तोकबुरमी’, ‘लेतिचाइनु व’ र ‘सानीवा’ लाई म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । एल्बममा गायिका आभा मुकारुङ, रुपकुमार राई, कला राई, अजय अलंकार, राजेन्द्र केरुङ, माया कुलुङ, उषा थुलुङ, क्षितिज कुलुङले गायका छन् । संगीत सन्तोष सुब्बा, अजय अलंकार र उत्तर आलेमगरको रहेको छ । भिडियामो रिना लिम्बू, सृजन कुलुङ, फैलीमाया कुलुङ र अजय अलङकारले अभिनय गरेका छन् ।
प्रकाशित : असार २६, २०७५ १९:१७

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’
कार्तिक ६, २०७४अर्जुन राजवंशी
दमक — तिहारसँगै पूर्वी तराईका आदिवासी गाउँहरूमा हुदुरधुरा नाच सुरु भएको छ । लक्ष्मी पूजा गरेपछि सुरु हुने नाच हरिबोधनी एकदशीसम्म चल्ने गर्दछ ।
यो नाच झापा र मोरङका आदिवासी बाहुल्य गाउँहरूमा देखाउने गरिन्छ । राजवंशी र ताजपुरिया जातिको सांस्कृतिक नाचलाई करिब दुई सातासम्म विशेष रूपमा मनाइने गरिन्छ । पहिलापहिला टोलै पिच्छे देखाइने यो नाच पछिल्ला वर्षहरूमा भने संस्कृति संरक्षणका हिसाबले देखाउन थालिएको छ । ‘आदिवासी समुदायमा तिहारको रौनक भर्ने भनेकै हुदुरधुरा नाचले हो,’ राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले भने, ‘लक्ष्मी पूजा गरिसकेपछि गाउँगाउँ घुम्दै यो नाच देखाउने गरिन्छ ।’
यो नाच समूहमा देखाइन्छ । बाजागाजासहित कम्तीमा ८–१० जनाको समूहमा यो नाच देखाइने गरिन्छ । नाचको विशेष आकर्षक ‘बातियाँ’ र ‘छक्री’ हुने गर्दछ । अन्यले बाजा बजाउँदै गीत गाउने गर्छन भने बातियाँ र छक्रीले नाटकीय शैलीमा ‘स्लोक’ हरू भन्ने गर्छन् । नाचमा उठाइएका सामाजिक विषयवस्तुलाई बातियाँ र छक्रीले आफ्नै जीवनकालको घटनाझंै प्रस्तुत गर्छन् । नाचको माध्यमबाट समाजको विकृति विसंगतिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिने भएकाले यो नाच आदिवासी समुदायमा विशेष मानिन्छ । यो नाचलाई राजधानीमा मनाइने गाईजात्रा पूर्वकै अर्को रूप भएको आदिवासीअगुवाहरू बताउँछन् ।
‘जेठाजु–बुहारी, देवर–भाउजू, परपुरुषसँगको सम्बन्धसहित समाजमा देखिने अन्य विभिन्न विकृतिजन्य घटनालाई यस नाचबाट व्यंग्य गर्ने गरिन्छ,’ पूर्वगृहराज्य मन्त्रीसमेत रहेका राजवंशीले भने । उनले समाजलाई विकृतिमुक्त गर्न यस नाचको महत्त्व विशेष रहेको बताए । हुदुरधुरा नाच राजवंशी, ताजपुरिया, गनगाई र थारू समुदायले देखाउने गर्छन् । झापाको जुरोपानी, गौरीगन्ज, खजुरगाछी, कोरोबारी, कुञ्जिबारी, रंगियाथान, शिवगञ्ज, चकचकी, घैलाडुब्बा, डाँगीबारी, राजगढ, घेराबारी, पथरिया, बनियानी, महेशपुर, ज्यामिरगढी, बिर्ताबजार तथा मोरङको कटहरी, दादरबैरिया, अमरदहलगायतका स्थानहरूमा हुदुरधुरा नाच देखाउने गरिन्छ ।
यसपालि भने हुदुरधुरा नाच तिहार अघिदेखिनै सुरु भएको छ । आश्विन २८ गतेदेखि मोरङ अमरदहका युवाहरूले नाच सुरु गरेका हुन् । झापामा कोचिला गाभुर फ्रन्टको सांस्कृतिक समूहले नाच देखाउँदैछ । घैलाडुब्बा, चारपाने, चैतुबारी, बिर्ताबजारलगायतका स्थानमा नाच देखाउने तयारी गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । आदिवासी बाहुल्य पथरिया, घेराबारी, पाठामारी, हल्दिबारीलगायतका स्थानमा पनि नाचको तयारी गरिएको छ । पथरियामा ४ गते एक दिने कार्यक्रम राखिएको छ ।
‘नयाँ पुस्ताको ध्यानाकर्षण गराउनका लागि हामी पनि युवाहरूले नै यसपालि यो नाच देखाउने तयारी गरेका छौं,’ राजवंशी समुदायका कलाकार मनोरथ राजवंशीले भने, ‘संस्कृति बचाउनका लागि यति हिम्मत त, गर्नैपरेको छ ।’ उनले आदिवासी समुदायको आर्थिक अवस्था खस्किएसँगै संस्कृति पनि लोप हुँदै गएको टिप्पणी गरे । नाच संरक्षणका लागि मोरङको कटहरीमा बर्सेनि हुदुरधुरा जात्रा आयोजना गरिन्छ । जात्राका क्रममा मंसिर १५ गते हुदुरहुरा नाचसहितको र्‍याली विराटनगर परिक्रम गर्ने गरिन्छ ।
प्रकाशित : कान्तिपुर, कार्तिक ६, २०७४ ०९:४७

१९ वर्षपछि सल:चा नाच

१९ वर्षपछि सल:चा नाच
श्रावण २७, २०७४सुनीता साखकर्मी
काठमाडौं — भक्तपुर– २०५५ साल । मंसिरको महिना चिसिँदै थियो । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल’ अभियानका कारण राजधानी भने तात्दै थियो । मुलुकभरका विभिन्न क्षेत्रबाट नाचगानसहितको झाँकी लिएर वसन्तपुर दरबार परिसर पुगे मध्यपुर ठिमी नगरपालिका ५ पोबु टोलका केही लोक कलाकारहरू ।
उनीहरूले ‘सल:चा प्याखं’ (घोडा चढेर नाचिने नाच) प्रस्तुत गरिरहँदा मान्छेहरूको भीड लोभलाग्दो थियो । राजकुमारको श्रीपेच र पहिरनमा सजिएका कान्छा भासिमा पहिलोपटक हजारौंको भीडमा प्रस्तुत भएका थिए । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म लगातार नाचिने यो नृत्य कान्छा भासिमाले १६ वर्षको उमेरदेखि नाच्दै आएका थिए । वसन्तपुरको त्यो प्रस्तुतिपछि भने उनले नाच्न पाएनन् ।
१९ वर्षपछि आफ्नै टोलका पाँच जना नातिहरूले उनको यो सपना पूरा गर्ने भएका छन् । बुधबारदेखि यो नाच फेरि सुरु भएको छ ।
के हो सल:चा ? 
लिच्छवी कालदेखि प्रचलनमा रहेको मानिने यो नाच ठिमी, पोबुका भासिमा समुदायले मात्रै नाच्दै आएका छन् । महाभारतमा कौरवहरूसँग जुवामा हारेपछि पाएको वनबास र गुप्तबास सकेर पाण्डवहरू वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसंगलाई यो नाचमा नाटकीय रूपमा प्रस्तुत गरिने यो लोक नृत्यका गुरु कान्छा भासिमाले बताए । उनका अनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिन यो नृत्य निकालिन्छ । ‘पोसाकको रंगअनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको हुन्छ,’ उनले यो नृत्यबारे भने, ‘कृत्रिम घोडामा धनुष लिएर श्रीपेचसहित कालो वस्त्रमा युधिष्ठिर, रातो वस्त्रमा भीम, नीलो वस्त्रमा अर्जुन, पहेंलो वस्त्रमा नकुल र सेतो वस्त्रमा सहदेवको रूपमा कलाकारहरूले अभिनय गर्छन् ।’
कान्छाजस्तै विकुमानले पनि यो नाच १६ वर्षको उमेरदेखि नै नाच्दै आएका थिए । उनलाई नाच्नका लागि परिवारले पनि प्रोत्साहन गर्थे । ‘नाच्न हत्तपत्त कसैले पाउँदैनथे । गुरुहरूले छानेर नाच्न लगाउनुहुन्थ्यो,’ उनले भने । उनका अनुसार घण्टाकर्णको भोलिपल्टदेखि नास दयो (नृत्यनाथ देवता) लाई तानेर प्रतिस्थापना गरी गाईजात्राको बेलुकीसम्म यो नृत्यको तयारी गरिन्छ । यसपछि खिं, टाँ, झयाली, पोङ्गालगायतका परम्परागत बाजा बजाएर गणेश, पशुपति, नृत्यनाथ, भगवती र भैरवको गीत गाइन्छ । यिनै गीतमा पाण्डवको जीवन व्याख्या पनि समेटिएको हुन्छ ।
किन रोकियो ? 
‘भिजिट नेपाल’ को झाँकीमा डिकेश, कान्छा, वीरेन्द्र, विकास, प्रेम भासिमा नाचेका थिए । बिकुमानलगायत सबैलाई गुरुहरू अष्टमान र राजकुमार भासिमाले सिकाएका थिए । गुरुहरूकै नेतृत्वमा हरेक वर्ष नाच निकालिन्थ्यो । दुर्भाग्य, सोही वर्ष गुरुहरूको निधन भयो । ‘बूढा हुँदासम्म पनि गुरुहरूले नै नेतृत्व गरिरहनुभएको थियो,’ कान्छाले भने, ‘गुरु बित्नुभएपछि कसैले वास्तै गरेनन् । नयाँ पुस्ताहरू पनि सिक्छु भनेर कोही आएन ।’ तयारीका लागि पैसाको अभावले पनि नाच रोकिएको उनले खुलाए । ‘नाच्न जान्नेहरू पनि बिदेसिए,’ उनले भने, ‘पाँच जनाले नाच्ने भए पनि गीत गाउने, बाजा बजाउने, बत्ती बोक्ने, व्यवस्था मिलाउने गरी पचास/साठी जना चाहिन्छ । सरकारले पनि सहयोग गरेन ।’
अहिले सल:चा प्याखं व्यवस्थापन कमिटी बनाएरै उनीहरू लागेका छन् । नाच सिकाउँदादेखि अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अनुमान छ । ‘प्रत्येक परिवारबाट रकम उठाएका छौं,’ कमिटीका श्रीकृष्ण भासिमाले भने, ‘नगरपालिकाले पनि दिन्छु भनेको थियो तर अहिलेसम्म दिएको छैन ।’
यसरी फेरि सुरु गरियो 
नाच्न छोडेपछि भासिमा टोलका मानिस बालकुमारी, दुई पोखरी, चपाचो, भुलाङखेललगायत ठाउँमा पुगेर गाईजात्रा हेर्थे । ‘त्यहाँ निकालिने महाकाली र भैरवको नाच देख्दा आफ्नो ठाउँमा गर्न नपाउँदा मन भने अमिलो भएर आउँथ्यो,’ बिकुलाल भासिमाले भने, ‘हाम्रो आफ्नो पहिचान र गौरव नै मेटिएर जाने भएपछि हामी तातियौं ।’
त्यसपछि उनीहरूले कान्छा भासिमा अध्यक्ष रहेको ‘सिद्धिकाली भजन खल:’ मा नाचबारे छलफल चलाए । २१ जना तन्नेरी रहेको सल:चा प्याखं व्यवस्थापन कमिटी नै बनाए । ‘पाँच जनालाई एक महिना बेलुकी दैनिक पाँच घण्टा प्रशिक्षण दिएपछि नाच्न सक्ने भयौं,’ कमिटीकै धनकाजी भासिमाले भने, ‘१९ वर्षपछि हाम्रो आफ्नै नाच निकाल्यौं ।’ यसका लागि नाच र गीतको जिम्मा बिकुलालले लिएका छन् भने बाजामा कान्छा, सुर्जमान, ब्रम्हकाजी, चन्द्रकृष्ण, हीराकाजी भासिमाले लिएका छन् । गीत गाउनेहरूमा ८४ वर्षे पृथ्वीमान भासिमादेखि श्रीकृष्ण, धनकाजी, चयन्द्र, रमेश, पूर्ण बहादुर, कृष्णलगायत छन् । यस वर्ष नाच्नका लागि निखिल, सुजेन, रौनिक, क्रिस र आयुष छानिएका छन् । उनीहरू ११ देखि १४ वर्षसम्मका छन् । गु्रपमा सबैभन्दा साना ११ वर्षका क्रिस कक्षा ६ मा पढ्छन् । उनले नेवारी परम्परागत बाँसुरी बजाउनसमेत सिकेका छन् ।
प्रकाशित : कान्तिपुर, श्रावण २७, २०७४ ०९:०९

२१ भाषा ४ कार्यपत्र

२१ भाषा ४ कार्यपत्र
कान्तिपुर संवाददाता
१३ मुलुकका स्रष्टा एवं समालोचकहरूले शनिबार हिमवत् क्षेत्रका भाषासाहित्यदेखि संस्कृतिसम्म गम्भीर बहस गरे । कविता सुनाए । राजधानीमा जारी ‘हिमवत् खण्ड कलासाहित्य सम्मिलन, २०७५’ को दोस्रो दिन रूसी सांस्कृतिक केन्द्रमा चारवटा कार्यपत्र र मुलुकभित्रका २१ भाषाका कविताहरू प्रस्तुत गरिए ।
‘हिमवत् क्षेत्रका भाषाको उद्भव र विकासको आयाम’ विषयमा प्रा.डा. माधवप्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषाको वैज्ञानिकीकरण गर्नु अहिलेको चुनौती रहेको बताए । ‘हाम्रा साना बालबालिकालाई हिज्जे नमिलेको अबैज्ञानिक अंग्रेजी भाषा पढाइन्छ,’ उनले भने, ‘नेपाली हिज्जेको भाँडभैलो भएको छ । यसलाई मिलाउन संस्थाहरू जागरुक हुनुपर्छ ।’
प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘नेपालका भाषाहरूको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ विषयक कार्यपत्र प्रस्तुत गरे । सिक्किम विश्वविद्यालयकी प्राध्यापक डा. कविता लामाले ‘भाषिक–साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले ‘नेपाली कलासंस्कृतिको फैलिँदो आकाश’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनीहरूका कार्यपत्रमा प्रा.डा. वासुदेव त्रिपाठी, डा. जगमान गुरुङ, प्रा.डा. व्रतराज आचार्य, लक्ष्मण न्यौपाने र डा. करण सिंहले समिक्षात्मक टिप्पणी गरे ।
भानुजयन्तीका अवसरमा आयोजित सम्मिलनको दोस्रो दिन ३३ कविले आआफ्ना मातृभाषामा कविता सुनाए । बिना थिङ तामाङ र मुक्तान थेबाले तामाङ भाषामा, कविता राई र पदम राईले वान्तवा भाषा, विद्या चाम्लिङले चाम्लिङ भाषा, गणेश राईले वाम्बुले भाषा, हेमा आलेले मगर ढुट भाषा, राकेश मायालुले मगर खाम, कमला आङदेम्बे र लक्ष्मण मेन्याङबोले लिम्बु, हंसा कुर्मीले अवधि, गोपाल अश्क र प्रतिमा चौधरीले भोजपुरी, अमरेन्द्र यादव र रुपा झाले मैथिली, कृष्णराज सर्वहारी र शान्ति चौधरीले थारू, प्रतिसरा सायमी र सुरेश किरणले नेपालभाषा, छम गुरुङ र गौरी तमुले गुरुङ, भुवन निस्तेजले डोटेली, प्रभा भट्टराई र विप्लव ढकालले नेपाली, टीकाराम अधिकारी र डा. रत्नावली शर्माले संस्कृत, रमेश चेपाङले चेपाङ, सोम धिमाल र सृजना धिमालले धिमाल, पार्वती माझी र अनिल माझीले माझी तथा इदा उपाध्यायले अंग्रेजी भाषामा कविता सुनाए । सम्मिलनमा बेलायत, जापान, रूस, भारत, बंगलादेश, भुटान, म्यान्मार, थाइल्यान्ड, चीन, पाकिस्तानलगायतका नेपालीभाषीसहितका स्रष्टाहरू सहभागी छन् ।
मुलुकको गहना बहुसांस्कृतिक पहिचान भएकाले मातृभाषी कविहरूलाई सम्मिलन गरिएको प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले जनाए । आफूहरूले सकभर धेरै भाषालाई समेट्न खोजेको बहुभाषी कवि गोष्ठी संयोजन समितिकी अनिता लामाले बताइन् । तेस्रो सेसनअन्तर्गत हास्य कलाकार मनोज गजुरेल र सीताराम कट्टेल ‘धुर्मुस’, लक्ष्मण गाम्नागे, राजा राजेन्द्र पोखरेल लगायतले हास्यव्यंग्य प्रस्तुति दिएका थिए । शनिबार साँझै बागबजारको सिटी म्याक्स हलमा यादव खरेल निर्देशित ‘भानुभक्त’ फिल्म देखाइयो ।
प्रकाशित : असार ३१, २०७५ ०८:३२

लोप हुँदै ऐतिहासिक नाच

लोप हुँदै ऐतिहासिक नाच
मंसिर २२, २०७५भरत जर्घामगर
सिरहा — मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोकगाथासँग जोडिएको दुई दर्जन बढी प्राचिन लोक–नाचहरू अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
सातौ तथा आठौं शताब्दीदेखि चलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा बिकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सित वसन्त, राजा सलहेश, जंगली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर फूल, अल्लाहा रुदल जस्ता प्राचिन लोकप्रिय नाचहरू अचेल लोप भएका छन् ।
यस्तै मिथिला क्षेत्रमा अति लोकप्रिय रहेका दिनाराम दिनाभद्री, सति बिहला, दुलहा दयाल सिंह, विषहरा, राजा हरिचन्द्र जस्ता नाचहरू लोप भएका छन् । वर्षौंदेखि जंगली बादशाह कम्पनीमा काम गर्दै आएका सप्तरी पोखरीयाका रामचन्द्र पासवानले नाचबाट नै कमाएर परिवारलाई पाल्दै आएका थिए । तर अचेल नाचको माग घटन थालेपछि पासवान अरुको घरमा मजदुरी गरी परिवार पाल्न बाध्य छन् ।
नाच कम्पनीहरू बन्द हुँदा यसमा आवद्ध कलाकारहरू रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका नाचहरू बढ्दो महँगी, सिडिक्यासेटले प्रभावित भएको पासवान बताउँछन् ।
सिरहा १ का ५२ वर्षीय सैनी पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोकगाथासँग जोडिएको चौधौं शताव्दीका प्रतापी ‘राजा सलहेश’ को पोसाकमा सजिएर स्टेजमा उत्रदा दर्शकले प्रतापी राजा सलहेश नै हो भन्न बाध्य हुन्थे र दशर्कले तालीको गुन्जनले स्वागत गर्थे । ३१ वर्षे नाट्य अभिनय यात्रामा दर्शकको स्वागत नै उनको अभिनय यात्राको निरन्तरता थियो । तर अहिले लोक–नाचप्रति दर्शकको रुचि नभएको उनी सुनाउँछन् ।
सैनीसहित २० जना आबद्ध नवयुवक थ्रेटिकल नाच पार्टीले लोक–नाचहरूमा राजा सलहेशको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरेर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल थिए । उनको नाच पार्टीले महिनैभरि सिरहा, सप्तरी, महोत्तरी, धनुषा, भारतको विहार लगायतका क्षेत्रमा ‘राजा सलहेस’ को लोकगाथाको नाटकको माध्यमबाट वर्णन गरिसकेका छन् ।
‘मिथिला संस्कृतिका लोकगाथाका नाचहरूको गाउँघरमा माग छैन,’ उनले भने, ‘त्यही भएर कलाकारहरू रोजगारीका लागि कतिपय विदेश हानिएका छन् ।’ उनका अनुसार अहिले पनि सलहेस नवयुवक थ्रेटिकल नाच पार्टीमा बाध्य वाधनका सम्पूर्ण सामग्री लगायत पोसाकसहित एक लाख बराबरको भौतिक सामग्री छन् । उनको टोलीले एक रात नाटक देखाएबापत ४० हजाररुपैयाँ पाउँथे ।
महिनामा नाटक देखाउन उनको टोली २० दिन सिरहा, सप्तरी, महोत्तरी, धनुषा, भारतको विहारका गाउँगाउँमा हुन्थे । ‘अहिले पनि विवाहको समय तथा चाडबाडका अवसरमा यस्ता नाचहरू खेल्ने गरिन्छ,’ उनले भने, ‘तर यस्ता लोकप्रिय तथा ऐतिहासिक नाचहरूलाई राज्यपक्षबाट कुनै किसिमको संरक्षण र कालाकारहरूलाई प्रोत्साहन समेत नपाएकाले कामको खोजीमा कालाकारहरू बिदेसिएका छन् ।’ यी नाचलाई संरक्षण र जगेर्नाका लागि पनि सरकार र स्थानीय तहले बजेट दिएर कलाकारको सम्मान गर्नुपर्ने उनले बताए । प्रकाशित : कान्तिपुर, मंसिर २२, २०७५ ०९:३४

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...