बिहेको उमेर घरको रङ
फाल्गुन २४, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — सुदूरपश्चिम । सुन्दै र जताततै पढ्दा, देख्दा लाग्छ– भर्खरै विकासको बाटो समातेको छ ।
विकासको हिसाबले निकै पिछडिएको क्षेत्र हो यो । यस क्षेत्रमा पहिलोपल्ट पुगेकी सजना बरालको अनुभव:
घरमास्तिरको कान्लामा हामीलाई हेरेर बसेका थिए उनीहरू । मलाई बोल्न मन लाग्यो । परैबाट चिच्याएँ, ‘म त्यहाँ आऊँ ?’ हातको इसाराले बाटो देखाइए । म पुगेपछि सानी नानी लजाएजस्तो लाग्यो तर उनी खिन्न भएर हजुरआमाको काखभित्र घुसेकी रहिछन् । ‘दिदी आएकी हो र भनेर सोधेकी थिई यसले,’ नातिनी च्याप्दै हजुरआमा कलु नेपालीले भनिन्, ‘तिमी जत्रै थिई, पोइल गई । बहिनीले न्यास्रो मानेकी छ ।’ कक्षा १० पढ्दै गरेकी नातिनीले ‘एसएलसी’ मात्रै पास गरिदिएको भए नोकरी पाउँथी भन्ने लागेको रहेछ कलुलाई । ‘ज्वाइँले त पढाउँछु भनेका छन् तर छोरी नै पढ्दिनँ भन्छे,’ उनले भनिन्, ‘तिमी कतिमा पढ्छ्यौ ?’
मैले मास्टर्स (स्नातकोत्तर) भनेको नबुझेपछि १७ कक्षा सकियो भनिदिएँ । उमेर सोधिन् । मैले भनें, ‘२६ ।’ बिहे गर्यौ कि नाई ? सोधिन् । अब गर्छु होला भनें । उनी त रिसाइन् । भनिन्, ‘अहिले गर्न पर्दैन ।’ अझै काम गरेर ‘ठूलो सर’ बन्नु भनिन् । रमाइलो लाग्यो । यता सहरतिर ‘बूढी भइसक्यौ’ भन्नेहरू भेटिन्छन् । बाजुराको विकट झलगाउँस्थित दलित टोलकी हजुरआमाले मलाई ‘अझै बेला भएको छैन, पोइल जाने भए ठूलो सर भएपछि मात्रै जानु’ भनेर सिकाइन् । म हाँसें ।
उहाँहरू बाटो खन्ने काम गरिरहेका रहेछन् । पाँच वर्ष शनिबारबाहेक हरेक दिन पत्थर फोरेको बताए । महिला–पुरुषले एकसाथ काम गरेको र बाटो निर्माणसम्बन्धी सम्पूर्ण सीप जानेको कलु हजुरआमाकी बुहारीको भनाइ थियो । ‘काम छोडेपछि हात पनि सप्रेकै छन्, यी हेर्नू,’ उनले हत्केला फिँजाउँदै भनिन्, ‘यो घरभन्दा ठूलो पखान काट्यौं, टाउकैबाट ठेकै बस्यौं । त्यति गरेकाले सेवा सुविधा पायौं ।’ बाटो खन्ने काम सकेर कलु आमाका छोरा गुडगाउँ लागिसके । बाजुराको त्रिवेणी नगरपालिकामा पर्ने कैलाशमाडौं, तोली र छतारा गाउँमा ट्र्याक खनिएको रहेछ । ग्रामीण सडक भएकाले स्थानीय कामदार परिचालन गरिएपछि त्यहाँका साढे १७ हजारले रोजगारी पाएछन् । यसले भारत र खाडी जानेको लर्को रोकिए पनि काम सकिनेबित्तिकै उनीहरू घर छोड्न बाध्य भएछन् । हामी मौरे पुग्दा कतिपय युवा तारिख गन्दै थिए । विदेश नजाने युवा वर्ग भने तासमा जम्दै थिए । तिनका जहान रिसाइरहेको भेटियो ।
म पहिलोपटक सुदूरपश्चिम हेर्दै थिएँ । बाजुरा नेपालको निकै विकट ठाउँ मानिन्छ । बाटो भर्खर पुग्दैछ । मैले सुनेजस्तै नाजुकचाहिँ थिएन । सुदूरपश्चिमको डाँडा–पाखा, चट्टानी बाटो देखेर रमाएँ । धनगढीबाट भीमदत्त राजमार्ग हुँदै डोटी लाग्दा पानी छिट्याइरहेको थियो । त्यो बेला भसुको भीर भयानक देखियो । हरि दाइले ‘त्यहाँ धेरै दुर्घटना हुन्छ’ भने ।यसलाई किन भसुको भीर भनिएको ? अर्का दुई जना दाजुहरू भसुको किंवदन्ती अनुमान लाउन थाले, ‘ठूलो भीर थियो होला, भासिएको भासियै गरेर भसु भयो ।’
त्यो दिन डोटीको बुडर बस्नु थियो । दिउँसै पुग्यौं । गाउँ डुल्न ओरालो लाग्नासाथ बारीभरि मौसम, सुन्तला, निबुवा र जुनार पहेँलै भएर झरेको देखियो । ‘किसानका सुन्तलाले बजार पाएनन्, झरेरै सकिए, किसान मारमा १’ शीर्षकको समाचार बनाऊँ भन्दै दाइहरू जिस्किरहे ।
अलि तल ओर्लिएपछि दुई चेलीको भनाभन चलिरहेको रहेछ । तल्लो र माथिल्लो कान्लाको बाझाबाझमा तिखो स्वर पारी डाँडासम्म सुनियो । ‘यी गाउँका आइमाई कुरा बुझ्दैनन्, बाझ्दै बस्छन्,’ बारीका ढुंगा पन्छाउँदै गरेका एक दाइले भने, ‘रमिता देखाउँछन् ।’ हामी पूर्णागिरि माईको मन्दिर पुगेर फर्किंदासमेत भनाभन रोकिएको थिएन । अर्को दिन हामी अछाम गयौं । दिपायल पुग्दा मलाई नुवाकोटको विदुर पुगेझैं लाग्यो । विदुरमा जस्तै हप्प गर्मी थियो । बजार पनि उस्तै–उस्तै । त्यसपछि साँफेबगरतिर सोझियौं । ठाउँ–ठाउँबाट टलक्क हिमाल देखिन्थ्यो, जुन अपि–साइपल सुनियो । अलि पर पुगेपछि एकापट्टि बडिमालिका र अर्कोतिर खप्तड क्षेत्र देखियो । गीतमा भनिएझैं साँफे सुन्दर लाग्यो तर खोलामा दिसा बगेको देखेर भने झस्किएँ । सबै होटलमा ‘फ्रि वाईफाई’ लेखिए पनि कुनै चलेनन् ।
जाँदाको यात्रा सुखद थियो । सडक चिल्ला थिए । हामीसँगै गएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लीलाराज काफ्लेका अनुसार पूर्वभन्दा पश्चिमका सडक राम्रा थिए । ‘पूर्वतिरका सडक बिग्रिसके,’ उनले भने, ‘यताका बरु राम्रा रहेछन् ।’ साँफेबाट सुर्खेत लागेपछि भने पश्चिमका सडकको वास्तविकता देखियो । मध्यपहाडी लोकमार्ग हुँदै आएका थियौं, बयलपाटा अस्पतालको चर्चा जताततै सुनियो ।बेलखेतबाट कर्णाली तरेपछि बाटो भद्रगोल थियो । लोकमार्ग छेउका बस्तीसमेत दयनीय देखिन्थे । भित्रका बस्ती कस्ता होलान् ? दैलेखको रङ रातो रहेछ तर त्यो सुन्दर होइन टिठलाग्दो देखें । स्थानीयवासी भने दंगै थिए । केही गाह्रो छ कि ? ढिकी कुट्दै गरेकी एक हजुरआमा बोलिन्, ‘केही गाह्रो नाई हजुर ।’ गाउँमा काम पाइदिए हुने भन्ने चाहनाचाहिँ रहेछ । ‘केही नानतिनो एउडो काम आयाखेरि छोराछोरी टालो गासरी खाँदा हुन्,’ आमैले भनिन् ।
ती आमै दलित समुदायकी रहिछन् । पहिलेजस्तो अहिले छुवाछूत नहुने बताइन् । अछाम, दैलेखतिर हिँड्दै गर्दा मलाई भने एउटा कुरा अनौठो लागिरहेको थियो । गाउँका कतिपय घरमा पूरै रातो रङ पोतिएको देखेर यसबारे नारायण दाइलाई सोधें । उहाँले भन्नुभयो, ‘दलितहरूका घर हुन् ती । अरूले राम्रो देखाउन आधा सेतो आधा रातो पोत्छन् । दलितले पूरै रातो पोत्नुपर्छ ।’ म चकित भएँ ।
सुदूरपश्चिमका मान्छे मलाई मनपरे । सडकका साइन बोर्डको भाषा मीठो लाग्यो । देउडा नाच र डेउडा गीत प्रिय थिए । त्यहाँको पञ्चैबाजा समूहले अर्कै खालको बिट सुनाए, त्यो सुन्दर थियो । बसाइ छोटो भएकाले हो या ठाउँ नै उस्तो, मैले सुदूरपश्चिममा सुन्दर कुरा मात्रै भेटाएँ ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २४, २०७५ १२:११