Tuesday, June 11, 2019

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’
कार्तिक ६, २०७४अर्जुन राजवंशी
दमक — तिहारसँगै पूर्वी तराईका आदिवासी गाउँहरूमा हुदुरधुरा नाच सुरु भएको छ । लक्ष्मी पूजा गरेपछि सुरु हुने नाच हरिबोधनी एकदशीसम्म चल्ने गर्दछ ।
यो नाच झापा र मोरङका आदिवासी बाहुल्य गाउँहरूमा देखाउने गरिन्छ । राजवंशी र ताजपुरिया जातिको सांस्कृतिक नाचलाई करिब दुई सातासम्म विशेष रूपमा मनाइने गरिन्छ । पहिलापहिला टोलै पिच्छे देखाइने यो नाच पछिल्ला वर्षहरूमा भने संस्कृति संरक्षणका हिसाबले देखाउन थालिएको छ । ‘आदिवासी समुदायमा तिहारको रौनक भर्ने भनेकै हुदुरधुरा नाचले हो,’ राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले भने, ‘लक्ष्मी पूजा गरिसकेपछि गाउँगाउँ घुम्दै यो नाच देखाउने गरिन्छ ।’
यो नाच समूहमा देखाइन्छ । बाजागाजासहित कम्तीमा ८–१० जनाको समूहमा यो नाच देखाइने गरिन्छ । नाचको विशेष आकर्षक ‘बातियाँ’ र ‘छक्री’ हुने गर्दछ । अन्यले बाजा बजाउँदै गीत गाउने गर्छन भने बातियाँ र छक्रीले नाटकीय शैलीमा ‘स्लोक’ हरू भन्ने गर्छन् । नाचमा उठाइएका सामाजिक विषयवस्तुलाई बातियाँ र छक्रीले आफ्नै जीवनकालको घटनाझंै प्रस्तुत गर्छन् । नाचको माध्यमबाट समाजको विकृति विसंगतिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिने भएकाले यो नाच आदिवासी समुदायमा विशेष मानिन्छ । यो नाचलाई राजधानीमा मनाइने गाईजात्रा पूर्वकै अर्को रूप भएको आदिवासीअगुवाहरू बताउँछन् ।
‘जेठाजु–बुहारी, देवर–भाउजू, परपुरुषसँगको सम्बन्धसहित समाजमा देखिने अन्य विभिन्न विकृतिजन्य घटनालाई यस नाचबाट व्यंग्य गर्ने गरिन्छ,’ पूर्वगृहराज्य मन्त्रीसमेत रहेका राजवंशीले भने । उनले समाजलाई विकृतिमुक्त गर्न यस नाचको महत्त्व विशेष रहेको बताए । हुदुरधुरा नाच राजवंशी, ताजपुरिया, गनगाई र थारू समुदायले देखाउने गर्छन् । झापाको जुरोपानी, गौरीगन्ज, खजुरगाछी, कोरोबारी, कुञ्जिबारी, रंगियाथान, शिवगञ्ज, चकचकी, घैलाडुब्बा, डाँगीबारी, राजगढ, घेराबारी, पथरिया, बनियानी, महेशपुर, ज्यामिरगढी, बिर्ताबजार तथा मोरङको कटहरी, दादरबैरिया, अमरदहलगायतका स्थानहरूमा हुदुरधुरा नाच देखाउने गरिन्छ ।
यसपालि भने हुदुरधुरा नाच तिहार अघिदेखिनै सुरु भएको छ । आश्विन २८ गतेदेखि मोरङ अमरदहका युवाहरूले नाच सुरु गरेका हुन् । झापामा कोचिला गाभुर फ्रन्टको सांस्कृतिक समूहले नाच देखाउँदैछ । घैलाडुब्बा, चारपाने, चैतुबारी, बिर्ताबजारलगायतका स्थानमा नाच देखाउने तयारी गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । आदिवासी बाहुल्य पथरिया, घेराबारी, पाठामारी, हल्दिबारीलगायतका स्थानमा पनि नाचको तयारी गरिएको छ । पथरियामा ४ गते एक दिने कार्यक्रम राखिएको छ ।
‘नयाँ पुस्ताको ध्यानाकर्षण गराउनका लागि हामी पनि युवाहरूले नै यसपालि यो नाच देखाउने तयारी गरेका छौं,’ राजवंशी समुदायका कलाकार मनोरथ राजवंशीले भने, ‘संस्कृति बचाउनका लागि यति हिम्मत त, गर्नैपरेको छ ।’ उनले आदिवासी समुदायको आर्थिक अवस्था खस्किएसँगै संस्कृति पनि लोप हुँदै गएको टिप्पणी गरे । नाच संरक्षणका लागि मोरङको कटहरीमा बर्सेनि हुदुरधुरा जात्रा आयोजना गरिन्छ । जात्राका क्रममा मंसिर १५ गते हुदुरहुरा नाचसहितको र्‍याली विराटनगर परिक्रम गर्ने गरिन्छ ।
प्रकाशित : कान्तिपुर, कार्तिक ६, २०७४ ०९:४७

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...