Friday, June 14, 2019

शब्दकोश/तीनगाउँले थकाली

शब्दकोश/तीनगाउँले थकाली
राम ओमथिन थकाली
फुर्सद
 १६ चैत २०७५ १७:१२:००
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश— स्तम्भ। अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा–भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ। शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन। हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौं, हामी। यस शब्दकोश स्तम्भमा तपाईं आफ्नो समुदाय–क्षेत्रका भाषा–भाषिका–बोली संकलन गरेर पठाउन सक्नुहुन्छ।)
०००
तीन गाउँले थकाली भाषा मुस्ताङको ठिनी, जोमसोम, स्याङ, चिमाङ, मार्फा, छैरो, टुकुचे, कोबाङ, लारजुङ, खन्ती, लेते, कालोपानी र घाँसामा बोलिन्छ। यो स्थानमा थकाली भाषा बोले ता पनि तीनगाउँले थकाली भाषा र अन्य थकाली भाषामा लयगत र उच्चारणमा केही भिन्नता पाइन्छ। जस्तैः फागुपूर्णिमालाई तीनगाउँले भाषाले तुङल्आ, मार्फाली भाषामा तेर्मी र थासाङ थकालीले तोरन्ला भनी बेलिन्छ। २०५८ सालको जनगणनाअनुसार तीनगाउँले थकाली भाषाको बोल्ने जनसंख्या करिब ११ सय जति छ। यो भाषामा कुनै पनि साहित्यिक सिर्जना गरिएको पाइँदैन तर शब्दकोश भने बनाइएको छ। तीनगाउँले थकाली भाषाका
केही शब्द र तिनको अर्थ यस्तो छ :
या फ्यासी मुःनमस्कार
म्हिन्तोफूल
फ/भेःपती/पत्नी
खेवासस्तो
ल्ह्याडेलवा/भेवायौनसम्पर्क/शारीरिक सम्पर्क
छुवारमाइलो
नेप्राखरानी
कोमोमहँगो
कोम्पालगाउनु
स्योमोउहिले
तितीनहाल
म्हाङबाघ/सपना
ढुट्टु/स्यप्परअल्छी
भ्राङहूल/बथान/समूह
सममन/नयाँ
सोलोखानुहोस्
न्होरसम्पत्ति
सम्पत्तिबदमास
कुचुरीलोभी
क्युपानी
धिनीसूर्य
सूर्यभगवान्

पहिचान जोगाउँदै लेप्चा

पहिचान जोगाउँदै लेप्चा
तोयानाथ भट्टराईअन्नपूर्ण,  ०१ बैशाख २०७६ ०६:२७:००
इलाम : रोजी लेप्चा सार्वजनिक कार्यक्रममा जाँदा मौलिक पहिरन मन पराउँछिन्। उनका दांैतरी, उनीभन्दा कान्छो पुस्ता र हजुरबा पुस्ता पनि लेप्चा पहिरनमै देखिन थालेका छन्।पछिल्लो समय अल्पसंख्यक लेप्चा समुदाय भाषा र संस्कृति संरक्षण गर्दै पहिचान जोगाउन सक्रिय छ। यसमा बालकदेखि वृद्धसम्म एकजुट भएका छन्।
लेप्चा समुदाय भाषा, संस्कृति र पहिरनप्रति आकर्षित हुन थालेको रोजीको बुझाइ छ। गलामा ल्याक, साडीजस्तै देखिने दम्मुन लगाएकी उनले भनिन्, ‘हाम्रो समुदायमा भाषा, संस्कृति र पहिरनप्रतिको आकर्षण निक्कै बढेको छ।’
अन्य समुदायमा पश्चिमा संस्कृतिले छोपेका बेलामा लेप्चा युवा शिरमा तप्री (टोपी), घप्लक्क शरीर छोप्ने दम्प्रा, पटुकी, देब्रेतिर दापसहितको बनाफुक (खुकुरीजस्तै हतियार) भिरेर सार्वजनिक हुन थालेका छन्। कतिपय समुदायको घरमा पहिचान हराउँदै गएको चिन्ता बढे पनि लेप्चाले भने मौलिक पोसाक र संस्कारमा रम्न थालेको लेप्चा उत्थान मञ्चकी उपाध्यक्षसमेत रहेकी रोजीले बताइन्।
उनीहरू कुलपूजा आफ्नै धामी ‘बुङथिन’ बाट गराउँछन्। तर समुदायमा पूजाविधि जान्ने व्यक्तिको अभाव छ। बुद्धकाजी लेप्चा भन्छन्, ‘तिब्बती प्रभाव र हाम्रो संस्कार मिसाएर कुलपूजाको विधि सम्पन्न गर्ने गरेका छौं। कतिपयले सिक्किम गएर कुलपूजाको विधि सिकेर आउनुभएको छ।’ लेप्चा अगुवा जगतबहादुरले लेप्चा उत्थान मञ्च गठन गरेपछि लेप्चामा जागरण सुरु भएको रोजीको भनाइ छ।
लेप्चा भाषाका २२ भन्दा बढी मौलिक ग्रन्थ छन्। तर लेप्चा भाषा र लिपि जान्ने व्यक्ति निकै कम छन्। लेप्चा भाषाका गुरु दावाले युवामा ग्रन्थ, भाषा र लिपिबारे जागरण ल्याउन समुदायमा कार्यक्रम भइरहेको बताए। उनका अनुसार गाउँमा भाषा र लिपिको तालिम सञ्चालन भइरहेको छ। रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले वडां नं. ३ चिन्डेपानीमा आवासीय लेप्चा भाषाको विद्यालय र लेप्चा संग्राहलयसहित होमस्टे खोल्न लागिएको जानकारी दिए।
चिन्डेपानीमा लेप्चा समुदायको बाक्लो बस्ती छ। त्यो ठाउँलाई लेप्चा अध्ययन केन्द्रका रूपमा विकास गर्न एक करोड ८० लाख बराबरको कार्यक्रम सञ्चालन हुन लागेको उनले बताए।
सूर्योदय नगरपालिका १२ का लेप्चा अगुवा बालछिरिङ लेप्चा रोङ गाउँपालिकाको पहलमा हुन लागेको कामले समुदायको उत्थानमा टेवा पुग्ने बताउँछन्। ‘सरकारले लेप्चा समुदायको उत्थानका लागि ठोस काम गर्न सकेको छैन’, उनले भने, ‘लेप्चा समुदाय बाहुल्य क्षेत्रमा स्थानीय सरकारले ठोस काम गर्नुपर्छ।’
लेप्चा समुदाय कुलपूजादेखि पितृकार्य आफ्नै भाषामा गर्छ। सबैले भाषा र लिपि नजानेमा कुल र पितृले भाषा नबुझ्ने विश्वास छ। लेप्चाले सामाजिक सुरक्षाअन्तर्गत प्रतिव्यक्ति दुई हजार रुपँयाँ भत्ता पाउने गरेका छन्। न्यून आय भएका लेप्चाका लागि भत्ता राहत भए पनि दिगो आय आर्जनमा जोड्न सरकारले पहल नगरेको उनीहरूको गुनासो छ।
इलामका सूर्योदय नगरपालिका, इलाम नगरपालिका, रोङ गाउँपालिका र माइजोगमाई गाउँपालिकामा गरी ३६ सय हाराहारीमा लेप्चा समुदायको बसोबास छ। इलामका साथै झापा, पाँचथर र ताप्लेजुङमा पनि लेप्चा समुदायको बसोबास छ।
आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ अनुसार सूचीकृत भएका ५९ जातिमध्ये लेप्चा एक हो। यो जाति लोपोन्मुख समूहमा पर्छ।

दासत्वको अन्तिम अवशेष

दासत्वको अन्तिम अवशेष
पञ्चायती
चैत्र २४, २०७५आहुति
काठमाडौँ — केही साताअगाडि छापामा एउटा खबर प्रकाशित देखियो— मुक्त घोषित हलियाको व्यवस्थापनका निम्ति छुट्याइएको तीन अर्ब रकम सकियो । मुक्त घोषित हलिया, कमैया र कम्लरीको आधारभूत समस्या समाधान नभएको मात्र हैन, बरु उल्टो जटिल बनिरहेको यथार्थबारे छापाहरूमा समाचार पनि आइरहेकै छन् ।
तीन अर्ब रकम दामासाहीले हलिया परिवारलाई वितरण गरिदिएको भए हलिया परिवार पहाडको निम्नमध्यमवर्गीय किसान बन्न सोझै सम्भव थियो । सरकारी संयन्त्र, त्यसको कामको तरिका अनि बीचबीचमा घुस्ने अनेक रङ र बहानाका बिचौलियाको कोपभाजनमा परी तीन अर्ब सकियो तर समाधान हुनुपर्ने समस्याको आधा मेलो पनि सरेन ।
त्यो समाचार छापिएकै साता सिंहदरबारस्थित समाज कल्याण मन्त्रालयको सभाकक्षमा मधेसबाट आएका हरवाह–चरवाह अथवा हरुवाचरुवाका प्रतिनिधिहरू जम्मा थिए । उनीहरू त्यो दासत्वपूर्ण प्रथाबाट मुक्ति खोज्न आएका थिए । सभाहलमा भने त्यस्तै दृश्य थियो, जस्ता दृश्यहरू हलिया, कमैया र कम्लरी मुक्तिको कथित घोषणाभन्दा पहिले छरपस्टै देखिन्थे । मन्त्री हतारिँदै भाषण दिएर बाटो लागे ।
मुक्तिका निम्ति प्रेरणा र सहायता दिन सात समुद्रपारिबाट आएका गोरा छालाले केही उपदेश दिए । हरुवाचरुवा र सरकार तथा विदेशी दातृ संस्थाबीच समन्वय गर्न लागिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिले धन्यवाद दिए । दस वर्षभन्दा अगाडि हलिया मुक्तिको घोषणाताका सलबलाएका यस्ता परिदृश्य पुनः नाटक मञ्चन गरेझैं हलमा प्रकट भइरहेको आभास हुन्थ्यो ।
हलिया, कमैया र कम्लरीको कथित मुक्तिका निम्ति अपनाइएको अवधारणा र तरिका मधेसका हरुवाचरुवा प्रथाबाट प्रताडितहरूमाथि पनि अपनाउन लागिपरेको सन्दर्भले सजिलै अनुमान गर्न सकिन्छ, कुनै दिन फेरि एकपल्ट हरुवाचरुवाको पनि मुक्तिको घोषणा त गरिनेछ तर उनीहरूको जीवनमा आधारभूत मुक्तिचाहिँ आउनेछैन, बरु समस्या झन् जटिल बन्नेछ र दस वर्षपछि फेरि कुनै छापामा छापिनेछ— हरुवाचरुवाको व्यवस्थापनको पाँच अर्ब सकियो तर समस्या यथावत् !

मधेसका मैथली, भोजपुरी, बज्जिका, अवधीलगायत भाषिक क्षेत्रमा मध्ययुगीन सामन्तवादी समाजमा सुरु भएका विभिन्न बाँधा प्रथामध्येको कठोर प्रथा हो— हरुवाचरुवा । सम्भवतः नेपाली समाजमा यो नै बधुवा श्रम प्रथाको अन्तिम अवशेष हो । हलो जोत्ने हरुवा र वस्तुभाउ चराउने चरुवा । यो प्रथा केही वर्षअघिसम्म पश्चिम पहाडमा घोषित रूपमा रहेको हलिया प्रथा जस्तै हो, केही विशेषता फरक भए पनि आधारभूत प्रकृति उस्तै हो । चार अवस्थामा श्रमिक परिवार हरुवाचरुवा प्रथाको सिकार हुन बाध्य हुने गरेको पाइन्छ ।
पहिलो, जीवनको गुजारा ठप्पै रोकिने भएपछि गिरहत अथवा जग्गाधनीसँग सधैँ उसको खेतमा हलो जोत्ने सर्तमा ऋण लिँदा । जग्गाधनीको जग्गा ज्यालामा होइन, पहिले लिएको ऋणको गुन तिर्न मात्रै जोत्नुपर्ने भएपछि न ऋण तिरिन्छ न त ब्याज तिर्ने पैसा अन्तबाट कमाउन भ्याइन्छ । त्यसपछि नमरुन्जेल हलो पनि जोत्दै जानुपर्ने र साँवाब्याज पनि बढ्दै जाने दुश्चक्र चल्छ ।
पाँच हजार ऋण पचास वर्ष हलो जोत्दा पनि तिरिँदैन, बरु ब्याजमाथि स्याज जोडिएर छोरानातिका पालामा पुग्दा ऋण पचास हजार पुगिसकेको हुन्छ । दोस्रो, बासका निम्ति झुपडी गाड्न जग्गाधनीसँग जमिन लिएबापत सधैँभरि जग्गाधनीकहाँ हरुवा बस्न स्वीकार गर्दा । त्यसरी झुपडी गाडेको जग्गा हरूवाका नाममा कहिल्यै दिनु नपर्ने प्रथाका कारण हरूवाको परिवारले अन्त छाप्रो बनाउने जमिन नकिनेसम्मको पुस्ता हरुवाचरुवा भइरहनुपर्ने भयो ।
छाप्रो गाड्नकै निम्ति त हरुवा प्रथामा बाँधिन बाध्य परिवारले अन्यत्र जमिन किनोस् कसरी ? त्यसपछि पुस्तौँपुस्ता हरुवा प्रथाको पिंजडामा ! तेस्रो, बेरोजगारी र गरिबीका कारण अत्यन्त कम ज्यालामा जग्गाधनीकहाँ हरुवा बस्दा । ज्याला भन्नाले त्यस प्रथामा नगद होइन, अन्न र कतिपयले थोरै रक्सी दिने हो । श्रम गरेर बाँच्नै धौधौ हुने श्रमिक अरू उद्यम गरी स्वतन्त्र कसरी हुन सकोस् ?
चौथो, अब बाबुआमा हरुवा प्रथाअन्तर्गत पूरै गिरहत अथवा जग्गाधनीको निगाहमा बाँच्ने भएपछि तिनका बच्चाहरूचाहिँ स्वतन्त्र हुने कुरै भएन । ती बच्चाले चाहिँ जग्गाधनीका बस्तुभाउ चराउने काम गर्नुपर्‍यो अर्थात् चरुवा हुनुपर्‍यो । चरुवा बच्चाहरू मात्र हुन्छन् भन्ने हैन, तैपनि चरुवाको मुख्य प्रथा र हिस्सा यसरी नै बन्ने हो । त्यसो त हरुवा बन्ने सर्तहरूमा पनि चरुवा मात्र पनि कुनै बच्चा वा वृद्ध बन्न सक्ने भयो ।
आजभोलि बस्तु पालन कम हुँदै जाँदा एउटा जग्गाधनीको सट्टा पूरै गाउँका पशु चराउने स्तरमा यो प्रथा परिमार्जन हुँदै गएको पाइन्छ । त्यस प्रथाको बन्धनमुखी चरित्रमा भने फेरबदल आएको देखिँदैन । नेपाली समाजको उत्पीडितको सबैभन्दा पीँध यही नै हो ।
हलिया मूलतः पश्चिम नेपालका आर्य–खस दलितमाथिको उत्पीडनको प्रथा भए जस्तै हरुवाचरुवा चाहिँ मधेसी दलितभित्रको पनि सबैभन्दा सीमान्त दलितमाथिको उत्पीडनको प्रथा हो । हलिया प्रथा होस् या हरुवाचरुवा, यो सिधा दलित अवस्थासँग जोडिएको छ । मध्ययुगीन सामन्तवादी कृषि युगबाट सुरु भएको मानिएका यस्ता बाँधा प्रथाले भूमिहीन र भूमिपतिबीचको सम्बन्धलाई उजागर गर्छन् ।
सामन्तवादी युगमा जोसँग धेरै जमिन हुन्थ्यो, त्यो भूपति अर्थात् सामन्त हुन्थ्यो । जोसँग आफूलाई पुग्ने जमिन हुन्थ्यो, त्यो प्रजा हुन्थ्यो अर्थात् स्वतन्त्र किसान र जोसँग जमिन हुँदैनथ्यो, त्यो भूदास वा मोही किसान हुन्थ्यो । भूदासका विविध प्रकार हुन्थे । तीमध्येकै एउटा निकृष्ट प्रकार हो— हरुवाचरुवा प्रथा । त्यस युगमा जोसँग जमिन हुँदैनथ्यो, ऊ भूमिमा बाँधा बस्न बाध्य हुन्थ्यो ।
युरोप र चीनलगायतमा विकसित दास युग र सामन्तवादमा जो पनि दास, भूदास हुन सक्थ्यो, जो पनि भूपति वा स्वतन्त्र किसान हुन सक्थ्यो । त्यहाँ माओ थर भएको परिवार भूपति, स्वतन्त्र किसान वा भूदास जे पनि हुन सक्थ्यो किनकि युरोप, चीनलगायत समाजमा हिन्दू वर्ण व्यवस्थामा आधारित जात व्यवस्था थिएन ।

भारत र नेपालमा रहेका सामन्तवादकालीन हरुवाचरुवा, हलियाजस्ता बाँधा प्रथाभित्र चाहिँ अपवादबाहेक दलित मात्र किन बाँधिएका छन् त ? यसको सिधा उत्तर हो— हिन्दू वर्णव्यवस्थामा हिजोको ’अछूत’ वा आजका दलितलाई कुनै पनि सम्पत्तिको मालिक बन्ने अधिकारै थिएन ।
सामन्तवादी समाजको मुख्य सम्पत्ति जमिन आफ्नो बनाउने अधिकारै नभएको वर्णव्यवस्थाका कारण दलित समुदाय स्वतः भूमिहीन बन्न पुग्यो । मुख्य सम्पत्ति भूमि नै आफ्नो बनाउन नपाउने दलित त्यसका लागि बँधुवा श्रमिक बन्नुको विकल्प हुनै सक्दैनथ्यो । यसरी हरुवाचरुवा प्रथाको सिधा सम्बन्ध दलितको भूमिहीनतासँग छ र दलित समुदायको भूमिहीनताचाहिँ हिन्दू वर्णव्यवस्थामा आधारित जात व्यवस्थासँग छ ।
त्यसैले हरुवाचरुवा प्रथा सबै समाजमा सधैँभरि चलिरहने सामान्य सामाजिक आर्थिक प्रक्रियाको परिणाम होइन । हिन्दू तथा हिन्दू शासकद्वारा शासित समाजले योजनाबद्ध कानुन र संस्कृति बनाएर दलित समुदायलाई भूमिहीन बनाएपछि जन्मिएको व्यवस्था हो यो ।
यो परम्परागत राज्य र शासक समुदायको योजनाबद्ध अत्याचारको अनिवार्य परिणाम हो । परम्परागत राज्य नै यस्तो प्रथा जन्माउन लागिपरेको थियो, समुदायको अज्ञान वा गलत अन्तरक्रियाबाट यो जन्मिएको होइन । हिन्दू जात व्यवस्थामा आधारित राज्यको योजनाबद्ध उत्पीडनबाट जन्मिएको र सयौं वर्षदेखि जारी रहेको हरुवाचरुवा प्रथाले पुस्ता–दरपुस्ता लाखौं दलित परिवारको जीवन नारकीय बनाएको छ । त्यसैले हरुवाचरुवाको मुक्ति राज्यका निम्ति उपकार गर्ने, विकास गर्ने, पुनःस्थापना गर्ने होइन, बरु आजको राज्यले क्षमायाचना गर्ने र तिनलाई ऐतिहासिक उत्पीडनको क्षतिपूर्ति दिने विषय बन्नुपर्छ ।
विसं २००८ देखि नेपालमा भूमिव्यवस्थासम्बन्धी आयोगहरू बन्न थालेका हुन् । २०२१ मा भूमिसुधारको ठूलै हल्लाखल्ला भयो । आधा शताब्दी लामो भूमिसुधार र व्यवस्थासम्बन्धी सरकारी कामहरू आयोगको प्रतिवेदन सार्वजनिक गर्नेभन्दा बढी भएनन् । ठोस कदम २०१६ को बिर्ता उन्मूलन र २०२१ को भूमिसुधार नै थिए तर तिनले दलित भूमिहीनतालाई वास्तै गरेनन् ।
त्यसै गरी सबै भूमिसम्बन्धी आयोगका निष्कर्षमा दलित भूमिहीनताको ऐतिहासिक विशिष्टता परिभाषित नै गरिएन । यथार्थमा नेपालमा भूमिसुधारका निम्ति भनी राज्यले गरेका घोषणा त मूलतः सामन्तलाई जग्गा लुकाउन दिइएको सूचनाको स्तरमा सीमित भए । हलिया र हरुवाचरुवा वास्तवमा मोही किसान हुन् ।
नेपालमा कानुनमै मानिएका मोहीले भन्दा बढी श्रम गर्नुपर्ने उनीहरू मोही नभए के हुन् त ? प्रथाका कारण मात्र मोहीको सट्टा हलिया वा हरुवाचरुवा परिचय बनेको हो । आजसम्म पनि हरुवाचरुवा वा हलियालाई मोहीका रूपमा परिभाषित नगर्नु उनीहरूको अधिकारप्राप्तिको आन्दोलनको सैद्धन्तिक गल्ती भइरहेको छ ।
नेपालमा दास प्रथा अर्थात् बाँधाको मुक्ति चन्द्रशमशेरले पशुपतिनाथको खजाना झिकेर बाँधा मालिकको त्यतिबेला करिब पैँतीस लाख ऋण तिरिदिएर गराएको भन्ने छ अर्थात्, तत्कालीन दासहरूमाथि तिनका मालिकको अन्यायलाई चन्द्रशमशेरले अन्याय मानेनन्, बरु स्वतन्त्र खेताला श्रमिकको श्रम खरिद गर्न सक्षम होओस् भनेझैं गरी दास मालिकलाई अनुदान दिइयो ।
अझ भनूँ, तत्कालीन दासहरूलाई व्यक्तिबाट राज्यले किनेर राज्यअन्तर्गत बेहाल बन्ने व्यवस्थामा ल्यायो । चन्द्रशमशेरको नेतृत्वको यो शासकीय प्रवृक्ति अहिलेसम्म जारी छ । कमैया, कम्लरी र हलिया मुत्तिको घोषणा गर्दा उनीहरूले साहुको ऋण तिर्नु नपर्ने घोषणा गरियो । पचासौं वर्षसम्म गरेको श्रमले त्यो ऋणभन्दा धेरै गुणा बढी अन्यायपूर्वक असुल भइसकेको थियो ।
यथार्थमा कमैया, कम्लरी र हलियाले तिनका जग्गा र घरधनीलाई उल्टो ऋण लगाइसकेका थिए तर राज्यले कमैया, कम्लरी र हलियालाई नै ऋणी मान्यो र राज्यचाहिँ ऋणदाता मालिकका पक्षमा उभियो । सयौँ वर्षदेखि अत्याचार गर्ने, श्रम लुट्ने, बधुवा बनाउनेहरूको अपराध माफ भयो, अत्याचारमा पर्नेहरूचाहिँ दयाका पात्र बनाइए । त्यसैले त हिजो कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाए अनि मुक्त भनिएपछि मुक्ति नपाएर दुःख पाइरहेछन् !
त्यो मुक्तिको घोषणा यथार्थमा कमैया, कम्लरी र हलिया बनाउने मालिकहरू, मालिक वर्ग एवं समुदाय र मालिक समुदायको राज्यको मुक्ति थियो । राज्यले नैतिक रूपमा गर्नुपर्ने क्षमायाचना र क्षतिपूर्ति दिनुपर्ने वर्तमानको लोकतान्क्रिक दायित्वबाट ती मालिकहरूको मुत्ति थियो । त्यसैले त पूर्व कमैया, कम्लरी र हलियाको जिन्दगी रसातलमै छ, किताबमा भने त्यो प्रथा छैन ।
यसरी राज्यको आजसम्मको प्रवृत्ति शोषण–उत्पीडनलाई जायज ठहर्‍याउने अनि त्यसबाट ध्वस्त जीवनलाई दया गर्ने खालको छ, जुन न्याय क्षेत्रमा कुटिल अपराधी प्रवृत्तिका रूपमा बुझिन्छ । राज्यको यही प्रवृक्तिका कारण हरुवाचरुवाको मुत्तिको प्रश्न ओझेलमा परेको छ ।
२०१९ यताका कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गर्छन्, व्यवहारमा त्यो लागू भइरहेको छैन । राज्य अहिले पनि पुरानै प्रवृत्तितिर स्पष्टै वेगवान् देखिन्छ । भूमिहीन दलितलाई जीविकोपार्जनका निम्ति जमिन उपलब्ध गराउने संविधानको भावनालाई बलात् तोडमोड गरेर घडेरी मात्र दिने कानुनको षड्यन्त्र गर्नुले राज्यको जाली प्रवृत्ति छ्यांग भएको छ ।
केही वर्षयता हरुवाचरुवा अधिकार मञ्च जस्ता संगठन गठन भई यो प्रथाविरोधी आन्दोलनात्मक अभियान चलेको छ । आन्दोलनले आफ्ना मागहरू अघि सारेको छ । यस्ता संगठन र आन्दोलनको सबैभन्दा ठूलो समस्या के देखिन्छ भने ती कुनै न कुनै दातृ संस्था वा गैरसरकारी संस्थाको उत्प्रेरणा र सहयोगमा उभिएका छन् । जतिसुकै परोपकारी भए पनि त्यस्ता उत्प्रेरणा परियोजनामुखी हुन्छन् ।
फलस्वरूप आन्दोलन नै परियोजनामुखी बन्दै जाने जोखिममा फस्दै जान्छ । अधिकारका निम्ति आन्दोलन र संगठन निर्माण राजनीतिक ढाँचामा ढालिए मात्र त्यसले राज्यलाई चुनौती खडा गर्न सक्छ । परियोजनाको ढाँचामा ढालिएपछि त त्यो राज्यका निम्ति कहिल्यै चुनौती बन्दैन । दातृ संस्थाहरूको उत्प्रेरणाका कारण परियोजनामुखी विकृति घुसेको आन्दोलनले राजनीतिक नेता जन्माउँदैन, परजीवी पेसेवर कार्यकर्ता मात्र उत्पादन गर्न थाल्छ ।
राष्ट्रिय भूमि अधिकार मञ्च जस्ता संस्थाले निकै राम्रा अभियान चलाउँदाचलाउँदै पनि अन्ततः यही रोगले गर्दा ठोस उपलब्धितिर वेग मार्न नसकेका हुन् । हलिया प्रथा, कमैया, कम्लरी प्रथाविरोधी अभियानमा परियोजनामुखी प्रवृत्तिकै कारण सजिलै विकृति उत्पन्न भएको थियो । तसर्थ हरुवाचरुवा मुक्तिको आन्दोलनलाई राजनीतिक आन्दोलनमा कसरी रूपान्तरण गर्ने भन्ने विषय नै मुख्य समीक्षाको विषय बन्नुपर्छ ।
राजनीतिक आन्दोलनको रूप नदिई यसले न आफ्ना मागहरूलाई ठीक ढंगले प्रस्तुत गर्न सक्छ न त लक्ष्यतिरै तीव्रतासाथ परिचालित हुन सक्छ । जीवन गुजाराको निकै कठिन प्रक्रिया, त्यसमाथि अपमानित दासत्वमा रहेका हरुवाचरुवाको आन्दोलनलाई राजनीतिक रूप दिनु निकै कठिन काम हो, तथापि त्यो दिशामा नगईकन समस्याको ठीक समाधान निस्कनेछैन ।
हलिया र कमैया आन्दोलनका जस्तै आज हरुवाचरुवा आन्दोलनले उठाएका माग र अवधारणा निकै फितला देखिन्छन् । आन्दोलनले हरुवाचरुवामाथिको ऋण खारेजी र पुनःस्थापनाको अवधारणाबाट आफूलाई माथि उठाउनुपर्छ । वर्षौंदेखि उनीहरूको श्रम लुटेर पनि अझै उनीहरूको टाउकामाथि ऋण छ भन्नु उनीहरूमाथि खराब प्रथाले लादेको अत्याचार मात्र हो ।
उनीहरू ऋणी होइनन्, अन्यायपूर्ण प्रथा र प्रथालाई टिकाइराख्ने राज्यका उत्पीडितहरू हुन् । त्यसैले आन्दोलनले हरुवाचरुवा ऋणी होइनन् भन्ने घोषणा किन नगर्ने र राज्यलाई सो घोषणा स्वीकार गर्न बाध्य पारिनुपर्छ । बाँधा प्रथामार्फत लुट मच्चाएर हरुवाचरुवाको पुस्तौंको जीवन ध्वस्त बनाउने अपराध र ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिस्वरूप हरुवाचरुवा परिवारहरूले स्वतन्त्रतापूर्वक सम्मानजनक जीवन जिउन सक्ने आर्थिक, शैक्षिकसहितको समग्र प्याकेज उपलब्ध गराउनबाट राज्य कसरी उम्कन मिल्छ ?
नेपाली समाजकै दासत्वपूर्ण प्रथाको सबैझन्दा अन्तिम अवशेषबाट सदाका निम्ति मानिसलाई मुक्त गर्न राज्यले थोरै इच्छा मात्र राख्दा हरुवाचरुवाको मुत्तिको प्रक्रिया द्रुत प्रक्रियामा टुंग्याउन सक्छ । हरुवाचरुवा प्रथा जुन क्षेत्रमा छ, त्यहाँको चल्तापुर्जा मध्यमवर्ग नै यसबाट बढी लाभान्वित छ । त्यो वर्ग राजनीति, व्यापार, बौद्धिक क्षेत्र आदिमा हावी छ । त्यो वर्गको सुविधाको खुसियालीको एउटा अंश हरुवाचरुवाको सस्तो श्रम र अपमानित जीवनमाथि टिकेको छ ।
ती क्षेत्रमा सबैजसो पार्टीले हरुवाचरुवामाथिको उत्पीडनलाई पार्टीको सरोकारभित्र प्रवेशै गराउँदैनन् किनभने पार्टीको हर्ताकर्ता त त्यही वर्ग छ ! अर्कातिर, हरुवाचरुवा प्रथाको बँधुवा जीवन संसदीय राजनीतिका निम्ति सस्तो भोट बैंक पनि हुने गर्छ । यो सस्तो बैंकलाई स्वतन्त्र भएको देख्न नचाहने राजनीति अर्को समस्याका रूपमा छ ।
त्यसैले हरुवाचरुवा आन्दोलनले आफूलाई राजनीतिक आन्दोलनबाट अलग राखेर होइन, राजनीतिक पार्टीहरूको अजेन्डाभित्र यस विषयलाई प्रवेश गराउने रणनीति बनाउनैपर्छ । हरुवाचरुवाको मुक्तिको विषय एउटा जमातको समस्याको विषय मात्र होइन, बरु यो त मानव दासत्वको पुरानो युगको लज्जास्पद अवशेष हो ।
त्यसैले मधेसको चल्तापुर्जा मध्यमवर्ग हरुवाचरुवाप्रति अझै निर्दयी बनिरहन कसरी मिल्छ ? संसद्वादी पार्टीहरूले भोट बैंकको स्वार्थले मानवताविरोधी यस प्रथाबारे मौन बसिरहन कदापि मिल्दैन अनि दासत्वपूर्ण प्रथाको अन्तिम अवशेषलाई अन्त्य गर्ने थोरै तत्परतासमेत नदेखाई शासकहरूले समाजवादको गफ्फा दिइरहन मिल्छ ?प्रकाशित : चैत्र २४, २०७५ ०७:४१

छुट्टै भाषिक जनगणनै किन ?

छुट्टै भाषिक जनगणनै किन ?
वैशाख १, २०७६तारामणि राई
काठमाडौँ — ‘तपाईं त मेरो वंशज पो हुनुहुँदोरहेछ, आज भेट भयो ।’ यो कुरा सुनेर झापा, घैलाडुब्बामा भेटिएका अनन्त कोचे अचम्मित हुनुभयो । मेरो रूप, रङ, सबै हुलिया नै नियाल्न थाल्नुभयो । हुलिया केही नमिलेको देखेर फिस्स हाँस्दै भन्नुभयो, ‘होइन, तपाईंले झुट बोल्नुभयो ।’
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा गठित ‘उपसमूह निर्धारण कार्यदल’ मा संलग्न भएर कोचे जातिको जाति भाषिक अवस्थाबारे अध्ययन गर्न मसँगै जानुभएका कुमार ब्लोनले पनि सन्दर्भ नबुझेर हामी दुवैको शिर पाउ हेर्दै भन्नुभयो, ‘के तपाईं पनि वाइयात बोल्नुभा ?’
झट्ट सुन्दा झुट वा वाइयातजस्तो लागे पनि २०६८ सालको जनगणनाको तथ्यांकले अनन्त कोचे र मलाई संयोगवश दाजुभाइ बनाएको थियो । जनगणानाको अभिलेखले यही भन्छ । मेरो पुर्ख्यौली थलो खोटाङको उत्तरी भेगमा रहेको केपिलासगढी गाउँपालिकाको सुङ्देल हो । जहाँ कोयी राईहरूको सघन बस्ती छ ।
दुर्भाग्य नै मान्नुपर्छ– २०६८ सालको जनगणनाले उक्त ठाउँमा पहिलो भाषाका रूपमा बोल्ने वक्ता संख्या १९३१ जना रहेको ‘कोचे’ भनी उल्लेख गरेको छ भने दोस्रो भाषाका रूपमा बोल्ने वक्ताका रूपमा ७ जनाले बोल्ने उल्लेख गरेको छ । जबकि कोयी वक्ता भनेर चाहिँ १२७१ देखाएको छ । यसले कोयी कोचे हुन पुग्दा १९३१ जना वक्ताको अन्तर हुन पुगेको छ । डोल्पा जिल्लाको सहरतारा, तुपतारा र ताराकोटमा बोलिने मगर काइके १ हजार बढीले बोल्ने कुरा अम्बिका रेग्मीले गरेको काइके मगरको समाजभाषा वैज्ञानिक भाषिक सर्वेक्षणमा आएको छ तर जनगणनामा ५० जना माक्र वत्ता भनी उल्लेख छ ।
तिलुङको स्थलगत अध्ययनमा म आफ‍ैं संलग्न हुँदा त्यहाँका वक्ता आधा दर्जन जति मात्रै रहेको तथ्य फेला पर्‍यो । जबकि जनगणनाको तथ्यांकले १४२४ जना वक्ता संख्याका रूपमा उल्लेख गरेको छ । लमजुङको दुराडाँडामा पुग्दा दुरा भाषा बोल्ने वक्ता फेला परेनन् । दुराको वक्ता–अध्येताका रूफमा मुक्तिनाथ घिमिरे एक्ला हुन् तर जनगणनाले दुराको वत्ता संख्या भनी २१५६ जना देखाएको छ । यस्तो गणितले भाषिक नीतिनिर्माणमा कुन हदसम्म प्रभावित तुल्याउला ?
यी त प्रतिनिधि उदाहरण भए । राष्ट्रिय जनगणनामा यस्ता थुप्रै त्रुटि भएका छन् । वक्ता संख्यामा गडबडी त देखिएका छन् नै । भाषा हो कि भाषिका हो भनेर छुट्याउन नसक्दा भाषिकाहरू भाषाका रूपमा सूचीकृत हुन पुगेका छन् भने पहिचान भइसकेका भाषाहरू सूचीकृत हुनबाट वञ्चित हुन पुगेका छन् ।
हिमाली भेगमा बोलिने नारफु, नुब्री, ग्यालसुम्दो, सेके र खोनाहाजस्ता भाषा छुटेका छन् । मैथिलीको भाषिका हुँदाहुँदै पनि पूर्वी तराईमा बोलिने अङ्गिका भाषाका रूपमा सूचीकृत हुन पुगेको छ । चेपाङ भाषाको भाषिकाका रूपमा रहेको बनकरिया भाषा होस् वा आठपहरिया भाषाको बेल्हारे भाषिका होस्, छुट्टाछुट्टै भाषाका रूपमा सूचीकृत हुन पुगेका छन् ।
यस्तो हुनुमा पहिलो कारण मतदाता शिक्षा प्रभावकारी हुन नसकेर हो । दोस्रो, जनगणनामा संलग्न अधिकांश गणकलाई भाषासम्बन्धी गहिरो ज्ञान नहुनु वा भाषाका विषयमा संवेदनशील नहुनु हो । तेस्रो, कमसेकम जनगणना गर्नुपूर्व कुन–कुन भाषा कहाँ–कहाँ बोलिन्छन् भनी ती भाषाको सूची तयार नगर्नु वा पूर्वकार्यको समीक्षा नगर्नु पनि हो ।
भौगोलिक हिसाबले कुन कुन ठाउँमा कुन कुन भाषा बोलिन्छन् भनी हेक्का नराख्नाले अनेकानेक समस्या पैदा भएको छ । कोचे, मेचेजस्ता भाषा मूलतः पूर्वी तराईमा बोलिने कुरा पूर्वकार्यको समीक्षा वा यसअघिको गणनाको तथ्यांकले पनि थाहा पाउन सकिने कुरा हो । कमसेकम गणकबाट गल्ती भएको भए पनि कोचेजस्तो भाषा अचानक ठूलो संख्यामा पहाडी जिल्लामा पर्ने खोटाङको उत्तरी भेगमा कसरी सूचीकृत हुन पुग्यो भनी रुजु गर्ने बेला सावधानी अपनाउन सकेको भए मात्र पनि यस किसिमको त्रुटि हुँदैनथ्यो ।
जनगणनाजस्तो महत्त्वपूर्ण काममा नेपालको विशिष्टतालाई बुझ्नु आवश्यक हुन्छ । प्रा. योगेन्द्रप्रसाद यादव (२०१४) ले नेपालमा तीनवटा जातिभाषिक संरचना रहेको औंल्याएका छन् । पहिलो, एक जाति र एक भाषा । जस्तैः राजंशी भन्नाले जाति पनि हो र भाषा पनि हो । दोस्रो, एक जाति भए पनि त्यसभित्र धेरै भाषा समेटिएका हुन्छन् ।
जस्तैः तराईका यादव जाति एउटा भए पनि मैथिली, भोजपुरी र अवधीजस्ता धेरै भाषा बोल्छन् । राई जाति एउटा भए पनि यसभित्र धेरै भाषा पर्छन् । तेस्र्रो, धेरै जातिले एउटै भाषा बोल्ने किसिमको जातिभाषिक संरचना छ । जस्तैः बाहुन, क्षत्री, कामी, दमाईं, ठकुरी, सार्की र संन्यासीले बोल्ने भाषा नेपाली हो । त्यसैले विशिष्ट प्रकारको सामाजिक–भाषिक स्थितिलाई नबुझ्नाले पनि जनगणनामा धेरै समस्या आएको देखिन्छ । राईकै कुरा गरौं । यो एउटा जाति हो तर राईभित्र थुप्रै भाषा छन् ।
जस्तैः बान्तवा, चाम्लिङ, पुमा, दुमी, कोयी, खालिङ, आठपहरियाजस्ता २४ वटा भाषा २०६८ सालको जनगणनामा सूचीकृत छन् । त्यससँगै १ लाख ५९ हजार १ सय १५ जना वक्ता संख्याका रूपमा राई भाषालाई देखाइएको छ । यसमा गणकले जातिभाषिक विशिष्टतालाई नबुझीकन एक जाति भएपछि उसको भाषा पनि जातिकै आधारमा हुनुपर्छ भन्ने आग्रहले यस किसिमको परिणाम आएको हुन सक्छ ।
माथि उल्लिखित विवरण हेर्दा विगतमा भएका राष्ट्रिय जनगणनाको तथ्यांक त्यति भरपर्दो देखिँदैन । विश्वमा दिनानुदिन भाषाहरू लोप भएर हराउँदै छन् तर नेपालमा भाषाको संख्या बढ्दो छ । सन् १९७१ मा १७, १९८१ मा १८, २००१ मा ९२ र २०११ मा १२३ भाषा सूचीकृत भएको देखिन्छ । यसको मुख्य कारण भनेकै वैज्ञानिक भाषिक सर्वेक्षण हुन नसक्नु हो ।
लगभग २ वर्षपछि २०७८ सालमा राष्ट्रिय जनगणना हुँदै छ । बारम्बार त्रुटि भइरहेको अभ्यासबाट सिकेर पर्याप्त सुधार गर्नुपर्ने देखिन्छ । यस निम्ति गणकहरूका लागि भाषासम्बन्धी कार्यशाला गोष्ठी गर्ने वा तालिम दिने, गणकहरूका साथमा भाषाविज्ञहरूलाई पनि संलग्न गराउने कुरामा सुधार गर्न सकिए सही आँकडाको नजिक पुग्न सकिन्छ । होइन भने बारम्बार हुने गल्तीको थप संस्करण मात्र हुनेछ ।
छुट्टै भाषिक सर्वेक्षण गर्दा मानव संशोधन वा आर्थिक व्यायभारको कुरा आउला तर पनि वक्ता संख्यालगायत धेरैभन्दा धेरै भाषिक सूचना संकलन गर्न सकिन्छ । भाषिक जीवन्तताको स्थिति, भाषिक अपशरण, निरन्तरता र अभिवृद्धिजस्ता कुरासमेतको एकीकृत सूचना प्राप्त हुन सक्छ । प्रा. दानराज रेग्मीले कान्तिपुरमै प्रकाशित एक लेखमा भाषिक सर्वेक्षण गर्दा नेपालको भाषिक सर्वेक्षण परियोजना (सन् २००९–२०१७) को प्रतिवेदन महत्त्वपूर्ण सन्दर्भसामग्री हुन सक्ने उल्लेख गर्नुभएको छ ।
भाषासम्बन्धी नीति तर्जुमा गर्न र सरकारलाई सिफारिस गर्न भाषा आयोगले अख्तियारी पाएकाले भाषिक सर्वेक्षण कार्यलाई उसैले बढाउनु वाञ्छनीय हुन्छ । प्रदेश तहमा सरकारी कामकाजको भाषा निर्धारणका आधारबारे बहस भाषा आयोगले प्रारम्भ गरेको छ । स्थानीय तहकै कुरा आउँदा पनि उल्लिखित त्रुटिपूर्ण भाषिक जनसंख्यालगायत विवरणले कति असर गर्ला ? त्यसकारण पहिले भाषिक जनगणना गर्नुपर्छ । भाषिक वक्ताको संख्या, भाषा, भाषिकाजस्ता विषय दीर्घकालीन महत्त्वका हुन्छन् । यिनैका जगमा भाषिक नीति र समृद्धिको परिकल्पना गर्न सकिन्छ ।
लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागकाउपप्राध्यापक हुन्।
raitaramani@gmail.com
प्रकाशित : कान्तिपुर, बैशाख १, २०७६ ०७:४४

नेवार, भोज र वास्तुकला

नेवार, भोज र वास्तुकला
समय रेखा
चैत्र २३, २०७५अभि सुवेदी
काठमाडौँ — नेपाल सहर अथवा राजधानीको प्रभाव, आकर्षण र केन्द्रीयताको विषयमा एउटा लेख लेख्नुपर्ने मलाई भर्खरै चुनौती आइपर्‍यो । यसमाथि विचार गर्दा केही विषय खुल्दै गए । पहिलो कुरा कालिक थियो । नेपाल उपत्यका, अलिक पहिले जाँदा नेपाल मण्डल अनि अलकापुरी कान्तिपुरी अझ यता आउँदा काठमाडौं नामले चिनिएको छ ।
तर म सजिलोको निम्ति यसलाई ‘नेपाल सहर’ भन्छु । मेरो विषय काठमाडौं केन्द्रित नेपाली चेतना हो । त्यसमा पनि मैले साहित्यको विषयलाई लिएर काठमाडौं र मोफसलको कुरा लेख्नुपर्ने भएको हो । तर मलाई लाग्यो, नेपाल सहरको विषयमा केही समयदेखि देखिएका परिवर्तन र समस्यालाई लिएर लेख्दा सायद हामीले यो ठाउँको विषयमा भन्नु र लेख्नुपर्ने मुख्य कुरा छुटाउँछौं । एउटा स्तम्भ लेखमा यस्ता विषय छान्नु भनेको एउटा आँधीलाई निम्तो दिनु हो । मेरा निम्ति विषयहरू हुरी हुन् । जो आउँदा कुनै चार पाताको गाइड लाइन बोकेर आउँदैनन् । लाग्यो, नेपाल सहर र मोफसलको विषय मलाई लेख्न दिनेले त्यही अदृश्य चारपाते गाइड लाइन बोकेका थिए । तर मेरो पहिलो हुरी यसरी उठ्यो, जसको वर्णन थोरै शब्दमा मात्र गर्न चाहन्छु ।
नेपाल सहरको वा राजधानीको विषयमा उठेका छलफल आयामिक, अपूर्ण र शक्ति उन्मत्त मनस्थितिका उपज हुन् । यो एउटा इतिहास परिभाषित गर्ने अहम्का कारण नेपाल सहरको मैले भनेको पहिलो चरित्र, म्युजियम, किम्बा किंबन्दी र ‘नेवार बिग्रयो भोजले’ जस्ता उक्तिगत भाष्यमा परिणत भयो । त्यो नेवार सहर जसमा लिच्छवि र केही किराँत कालका स्मृतिहरू पनि छन्, एउटा म्युजियम मानियो । तर त्यो संस्कृति र सभ्यता जसमा प्रस्तुत कला, संगीत र जात्रा अनि उत्सव छन्, जीवन्त छ । त्यसलाई म्युजियम मानेर दोस्रो नेपाल सहर हाबी हुंँदै गयो । म्युजियम र इतिहासको सम्बन्ध गहिरो हुन्छ । तर संस्कृति, कलाका वस्तु, चलन सबै पुराना भए, अब यिनले जीवनमा काम दिंँदैनन् भन्ने धारणा बलियो भएपछि, ‘भैगो अब यी म्युजियममा राखिदिऊँ’ भन्छन् विज्ञहरू । दोस्रो नेपाल सहरले त्यसै गर्ने धारणा र केही पद्धति बनायो । अनि पर्यटकहरूलाई त्यही बुझायो । सम्पदाका ‘डिस्कोर्स’ निकाल्यो । तर एकाध अन्तर्यका कुरामा ध्यान दिएन, दोस्रो नेपाल सहरले । नेवार संस्कृति, सभ्यता र जीवन हिजोको छैन, सत्य हो । परिवर्तन भएको छ र हुन्छ । तर त्यो संस्कृति र जीवन पद्धतिमा एउटा जुन सिर्जनशील गति थियो, त्यो अहिले पनि अनेकौं रूपले देख्न सकिन्छ । हेर्न सक्नुपर्छ । म यो विषयलाई केही वास्तुकला, नाट्य, जात्रा र चलनबाट हेर्न चाहन्छु । छोटो लेख भए पनि विषयसम्म राख्छु ।
यसै क्रममा वसन्त महर्जनले लेखेको ‘भोजले नेवार बिग्रेको छैन’ शीर्षकको कान्तिपुर (१८ माघ २०७५) मा प्रकाशित एउटा सान्दर्भिक लेख भेटेंँ । त्यसमा महर्जनले नेवार बिग्रियो भोजले भन्ने उक्तिलाई अतिरञ्जक चेतनाको अभिव्यक्ति भनेका छन् । लेखमा उनको भनाइको सार यसरी राखिएको छ, ‘भोजले नेवार समाजलाई सक्रिय बनाएको छ । यसले सम्पन्न व्यक्ति वा परिवारलाई प्रोत्साहन गर्छ र अरुलाई प्रगतिको आवश्यकता बोध गराउँछ । यही अवसरमा नयाँ काम वा सामाजिक घटनाक्रम विकास हुने गर्छ ।’ महर्जनले आधुनिक पुँजीवादी उपभोक्ता संस्कृतिको नेवार समाजमा पनि प्रभाव परेको उल्लेख गरेका छन् । त्यो प्रभाव जुन सर्वत्र परेको छ, नेवार समाजमा पनि देखिन्छ । तर यसलाई मान्दा–मान्दै पनि यहाँ भन्न खोजेको मूल कुरा अलिक फरक छ ।
एउटा संस्मरणबाट लेख्छु । नोभेम्बर २०१३ मा चीनको कुनमिनको एउटा सम्बन्धित सम्मेलनमा भएका एकाध छलफलबाट म आफ्नो कुरा जोड्न चाहन्छु । मैले नेपालको अमूर्त संस्कृति वा ‘इन्ट्यान्जिबल कल्चरल हेरिटेज’ (मलाई चल्तीको यो अनुवाद उपयुक्त लाग्दैन) मा आफ्नो कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यसमा युनेस्कोकै परिभाषा अनुसार नेपालको, खासगरी पहिलेको नेपाल उपत्यकाको, सांस्कृतिक सम्पदामाथि मेरा विचार राखेको थिएँ । नेपालका दुईजना कलाकार पनि भएको त्यो सम्मेलन उपलब्धिपूर्ण थियो । युनेस्कोको परिभाषा अनुसार, कुनै संस्कृति वा चलन अझै पनि कुनै न कुनै रूपले गतिवान छ भने त्यो ‘इन्ट्यान्जिबल’ संस्कृतिको कोटीमा पर्छ । परिभाषामा ‘काइनेस्थेटिक’ भन्ने शब्द प्रयोग गरिएको छ । गति वा चलायमान भन्ने अर्थ हो, त्यसको । युनोस्कोका प्रतिनिधिले संस्कृतिको कुनै प्रयोग हुनछाडेको सर्त हुनुपर्छ भने । मैले युनेस्कोकै परिभाषा लिएर भने नेपाल सहरमा नेवार संस्कृति गतिवान छ । त्यो नित्य जीवनशैलीमा देखिन्छ, जात्रामा देखिन्छ, भोजमा देखिन्छ, कलाको नित्य साधना र निर्माणमा देखिन्छ, नाच, धिमे, अनि बाँसुरी वादन र गायनमा सुनिन्छ । बहस बढ्दै जाँदा भने तिम्रा विज्ञहरू गएर सुन्दर काठका झ्याल र ढोकाहरूका चित्र खिच्छन्, अनि तिनलाई म्युजियमको संज्ञा दिएर रिपोर्ट लेख्छन् । तर नेवार संस्कृतिमा जीवन हावी भएकाले म्युजियममा जान त्यो मान्दैन । म्युजियम र जीवन्त संस्कृतिका छलफल भएका ग्रन्थ र आलेखहरू छन् । ‘इन्ट्यान्जिबल कल्चरल हेरिटेज’को धेरै वर्ष छलफल भएपछि मात्र यो परिभाषा निस्केको थियो । मैले नेपाल एकेडेमीको प्रा. गोविन्द भट्टराईले सम्पादन गरेको नेपालिज लिटरेचर, आर्ट एन्ड कल्चर (२०१३ः२) मा त्यो लेख/पत्र छापिसकेको हुनाले यहाँ दोहोर्‍याउन चाहन्न । मैले भक्तपुरको परिवेशमा गएर लेखेका अनि अनेकौं ठाउँमा मञ्चित भएका दुइटा नाटक ‘आरुका फूलका सपना (२०५८)’ र ‘चिरिएका साँझहरू (२०६८)’ मा पनि त्यो अन्तर्य राख्न खोजेको छु ।
दोस्रो, नेपाल सहरले नेवारको भोजको अन्तर्य अनि त्यसको कालिक गतिले समय, संस्कृति, स्मृति र समाजको एक कलेवर रचना गरेको देखेन । दोस्रो नेपाल सहर पछिल्लो पुँजीवादी प्रसाद ग्रहण गरेर त्यसैमा मस्त छ । हिजो खासै केही धन नभएका परिश्रमी, राम्रै सिद्धान्त भएका राजनीतिका मानिसहरू दोस्रो नेपाल सहरमा आए । यहाँ धनको उपयोग वा दुरुपयोग गर्ने अवसर भएकाले तिनले यतैको जीवन सजिलो माने । यो दोस्रो खण्डको विषय भए पनि यहाँ यत्तिसम्म उल्लेख गरिहाल्छु । पछिल्लो पुँजीवादी उपभोक्तावादी अर्थनीति भएका, अकुत धन कमाएकाहरूले वर्षभरि नै धेरै पैसा खर्च गरेर गरेका भोज, अपव्यय, खाद्यवस्तुका छताछुल्ल दुरुपयोग गरेर टन्न भएर देखासेखीको संस्कृतिलाई अगाडि ल्याइरहेको अवस्था हो, अहिलेको ।
युनेस्कोका अष्ट्रियाली आर्किटेक्ट कार्ल पुसरले नेपाल उपत्यकाको बृहत किताब (१९७५) मा पहिलोपल्ट यहाँ ८८८ वटा वास्तु सम्पदा रहेको देखाए । तर एउटा भोज सान्दर्भिक आर्किटेक्चरको विषय यहाँ राखिहाल्न चाहन्छु । नेपाल मण्डलमा जीवन र मृत्यु, उत्सव र शोक यस्तो जीवन दर्शनसँग जोडिएका छन्, जसमा बाँच्नु र कर्म गर्नुलाई एउटा नदी, एउटा प्रवाह मानिन्छ । पहिलो नेपाल सहरमा साधारण किसान र तिनका कर्मबाट जीवन दर्शन हेर्नुपर्छ । निम्न वर्गका ती कलाकार किसानहरू शोषित थिए । समाजमा ती दुःखले जीवन धान्थे । आफ्नै भूमि भएका केही किसान भए पनि नभएका धेरै थिए, जसको लेखाजोखा नभेटे पनि हामी तिनको जीवन पद्धतिबाट अनुमान गर्न सक्छौं । एउटा अर्को कुराले मलाई जहिले पनि प्रभावित गरिरहन्छ । इटालीका लेखक पओलो पोर्टोघेसीले एउटा प्रकृति र वास्तुकला (२०००) भन्ने किताबमा भनेका छन्, मानिसहरूको भेला हुने, झुरुप्प भएर शब्द, ध्वनि र अभिनयले कुरा भन्ने स्वभाव हुन्छ । उनीहरू त्यही अनुसारको वास्तुकला रचना गर्छन् । उनी त्यसलाई ‘फ्रन्टालिटी’ वा अग्रत्व भन्छन् । पहिलो नेपाल सहरका मूल वास्तुकलामा त्यो स्वभाव प्रतिविम्बित हुन्छ । एकाध उदाहरण छन् । बसन्तपुर
र पाटन दरबार स्क्वायरलाई लिऊँ । यी रचना बनाउनेहरू तिनै साधारण, किसान र शिल्प भएका मानिस थिए, जो सहरका यी आकार बनाएर साँझमा आफ्ना निवास खेत वा बाहिर भागमा जान्थे । तर तिनीहरूले वर्षको एकपटक भोज गर्ने ठाउँ पोर्टोघेसीले भनेजस्तै दरबार वा मन्दिरका अग्रभागका चोक वा आँगनमा बनाए । ती त्यहाँ भोज गर्न फर्के अमूक दिन र पर्वमा । बसन्तपुर दरबार स्क्वायरमा हुने वर्षदिनको भोज त्यही हो । हाम्रा अंग्रेजीका विद्यार्थी थेचोका गौतम महर्जनले लेखेको एमफिल थेसिसमा पाटन दरबार स्क्वायरमा किसानहरू वर्षमा एकदिन त्यहाँदेखि आएर भोज गर्ने चलनको बयान गरेका छन् । नेवारको भोज यसरी कला र वास्तुकलासँग सोझै जोडिन्छ । नाचसँग जोडिन्छ, संगीतसँग जोडिन्छ, कार्तिक नाचसँग जोडिन्छ, मन्दिरका रचनाहरूसँग सदियौंदेखि जोडिएको छ । धेरै धनको दुरुपयोग गरेर उपभोक्तावादी भोज हसुर्नेहरूले यो नबुझ्नु स्वाभाविक हो ।
नेवारको उत्सव भोज र प्रस्तुति कलाको वास्तुकलासँग सम्बन्ध छ । मरुटोलदेखि पकनाजोलसम्म लगिने इन्द्रजात्राको उपकु यात्राले लिएको बाटोबाट मध्ययुगिन सहरको आरम्भ भएको देखिन्छ भनेर सिनासको हिस्टोरिक सिटिज (२०६८ः३२) मा अध्येताले लेखेका छन् । त्यो नागर सभ्यता र संस्कृति, अनि ती भोज खाने परिश्रमीहरूले रचेको जीवन्त ‘पोइटिक्स’लाई बुझ्न नखोज्नु वा नसक्नुले गर्दा पहिलो नेपाल सहरलाई लिएर गरिएका वर्णन अपूर्ण भएका हुन् ।
प्रकाशित : चैत्र २३, २०७५ ०८:५६

चौदण्डीगढी अब पर्यटकीय स्थल

चौदण्डीगढी अब पर्यटकीय स्थल
चैत्र ३०, २०७५डिल्लीराम खतिवडा
उदयपुर — चौदण्डीगढी नगरपालिका क्षेत्रमा पर्यटकीय सम्भावना भएका क्षेत्र भए पनि प्रवर्द्धन गर्न नसक्दा ओझेमा परेका छन् । स्थानीय तहले ती क्षेत्रको विकासका लागि प्रदेश सरकारको समेत सहयोग लिएर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
ऐतिहासिक चौदण्डीगढी दरबार, बसिलाघाटको झरना, चुरे क्षेत्रमा रहेको पौराणिक पाण्डवबास, पुरातात्त्विक थानपोखरी मन्दिर, बसिलाघाट र रानीटार बजार नगरको पर्यटकीय क्षेत्रका सम्भावना बोकेका स्थान हुन् ।
इतिहासमा उल्लेख झएअनुसार विक्रम संवत् १७९० देखि जगत सेन, वित्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरबवारमा रहेर राज्य चलाएका थिए । मकवानपुरगढीका राजा हेमकर्ण सेनका माईला भाई जगत सेनले पूर्वी सिमानाको रेखदेखका लागि चौदण्डीगढी राज्यलाई अस्तित्वमा ल्याएको इतिहासमा पाइन्छ ।
इतिहासकारका अनुसार हरि सेन राजा रहिरहेका बेला हरिनन्द उपाध्याय पोखरेल र स्वरुपसिाह कार्कीको विशेष सहयोगमा पृथ्वीनारायण शाहले विसं १८३० तिर चौदण्डीगढी राज्यमा विजय हासिल गरेका थिए । गोर्खालीहरूको विजय अभियानसम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रूपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा हाल भग्नावशेष मात्र बाँकी छ । सदरमुकाम गाईघाटवाट २७ किलोमिटर पूर्वि पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्त्विक महत्त्व बोकेका देवीदेवताका मूर्ति, ढुंगाका सामग्रीहरू हराउदै गएका छन् । भएका पनि नष्ट हुँदै गएका छन् ।
यस्तै छुईलास्थित छाँगे झरनासँगै दुघकोसीमा जलयात्राका लागि सम्भावना बोको स्थान हो । छाँगे झरना झन्डै ७ सय मिटरको उचाइबाट अविरल रूपमा पानी झरिरहन्छ । चैत/वैशाखमा पानी कम भए पनि जेठदेखि फागुनसम्म प्रसस्तै पानी रहेको झरनामा गर्मीमा चिसो र जाडोमा पानी झर्ने गरेको स्थानीय टेकबहादुर राईले बताए । ‘यो झरना हजार मिटरभन्दा माथिबाट झरेको थियो,’ टेकबहादुरले भने, ‘तर ०४५ सालको भूकम्पले माथिल्लो भाग भत्किएपछि यसको उचाइ घटेको हो ।’ झरनासम्म जानेबाटोमात्रै व्यवस्थित गर्न सके गर्मी मौसममा तराईबाट गर्मी छल्न आउने सर्वसाधारणको घुइँचो लाग्ने उनले बताए ।
नगर क्षेत्रमा रहेका नदी, खोला, झरना, ताल, दरबार र तीनको भग्नाबशेष संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा अगाडी बढने चौदण्डिगढी नगरपालिका ७ वडाध्यक्ष तेजराज तिमल्सिनाले बताए ।
‘प्रशस्तै पर्यटकीय सम्भावना बोकेका स्थान छन्,’ उनले भने, ‘त्यसको संरक्षणमा नगरपालिका लागि परेको छ ।’ साथै प्रदेश र संघीय सरकारसग पनि चौदण्डीगढीको पर्यटन विकासमा सहयोगका लागि अनुरोध गरिएको उनले बताए । नगर क्षेत्रका धार्मिकस्थलको संरक्षण गर्दै धार्मिक पर्यटक भित्र्याउन सकिने वडा ३ का वडाध्यक्ष पशुराम राईले बताए । ‘वडाभित्र रहेको जलेश्वर महादेव मन्दिर, गूम्वा, अंजीगरेको देवीथान, बेलाका मन्दिर, चण्डीस्थान (राईको चण्डी नाच्ने ठाउँ) ले धार्मिक पर्यटक अवगमन बढाउँछ ।’
पर्यटन विकासका लागि नगरपालिका लगिरहेको नगर प्रमुख खग्रेन्द्र राईले बताए । ‘हालै नगरपालिकाले पर्यटन प्रवर्द्धन तथा प्रचार प्रसारको लागि सम्भाव्यता अध्ययन गर्ने कार्य गरेको छ,’ नगरप्रमुख राईले भने, ‘अध्ययनबाट आउने प्रतिवेदन र त्यसका लागि गर्नुपर्ने योजनालाई समेटेर थप काम अगाडि बढाइने छ ।’
प्रकाशित : kantipur, चैत्र ३०, २०७५ ०९:२२

मधेसमा चैते छठ

मधेसमा चैते छठ
चैत्र २९, २०७५शब्द/तस्बिर: जितेन्द्र साह
विराटनगर — तराई-मधेसमा महिलाहरुले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैते (चैती) छठको समापन गरेका छन् । ब्रतालुहरुले बिहीबार साँझ अस्ताइरहेको सूर्यको आराधना गरेका थिए ।
असोज/कार्तिकको छठ जस्तै चैते छठमा पनि पहिलो दिन नुहाएर खाने -नहा खा), दोस्रो दिन साँझ घरमै पूजा -खरना), तेस्रो दिन साँझ र चौथो दिन बिहान पायक पर्ने जलाशय किनारमा पुगेर सूर्यलाई अर्घ्य दिइन्छ ।
दुई दिवसीय मुख्य धार्मिक अनुष्ठानको अगाडि जलाशय किनारमा घाट बनाइ दिपावली झैं केराको बोटले सिंगारेर दीयो बालिन्छ । घरदेखि नदी, खोला र पोखरी किनारसम्म लोक नृत्य, गीत तथा संगीतको रमझम हुन्छ ।
ठेकुवा, भुसुवा, खाजा, पुरी, गेडागुडी, उखु, नरिवल र मौसमी फलफूल एवं तरकारीलगायतकै शाकाहारी सामग्री चढाइन्छ । बहुसंख्यक ब्रतालुले वर्षमा एकपटक जाडोयाममा मात्र छठ मनाउने हुनाले चैते छठमा भीड कम हुन्छ । तर, बहुजातीय सहभागिताले गर्दा विस्तारै चैती छठ पनि लोकपि्रय हुँदै गएको र घाट भनिने जलासय किनारमा भक्तजन बढ्दै गएको देखिन्छ ।
प्रकाशित : kantipur, चैत्र २९, २०७५ ०९:५२

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...