Friday, June 14, 2019

पहिचान जोगाउँदै लेप्चा

पहिचान जोगाउँदै लेप्चा
तोयानाथ भट्टराईअन्नपूर्ण,  ०१ बैशाख २०७६ ०६:२७:००
इलाम : रोजी लेप्चा सार्वजनिक कार्यक्रममा जाँदा मौलिक पहिरन मन पराउँछिन्। उनका दांैतरी, उनीभन्दा कान्छो पुस्ता र हजुरबा पुस्ता पनि लेप्चा पहिरनमै देखिन थालेका छन्।पछिल्लो समय अल्पसंख्यक लेप्चा समुदाय भाषा र संस्कृति संरक्षण गर्दै पहिचान जोगाउन सक्रिय छ। यसमा बालकदेखि वृद्धसम्म एकजुट भएका छन्।
लेप्चा समुदाय भाषा, संस्कृति र पहिरनप्रति आकर्षित हुन थालेको रोजीको बुझाइ छ। गलामा ल्याक, साडीजस्तै देखिने दम्मुन लगाएकी उनले भनिन्, ‘हाम्रो समुदायमा भाषा, संस्कृति र पहिरनप्रतिको आकर्षण निक्कै बढेको छ।’
अन्य समुदायमा पश्चिमा संस्कृतिले छोपेका बेलामा लेप्चा युवा शिरमा तप्री (टोपी), घप्लक्क शरीर छोप्ने दम्प्रा, पटुकी, देब्रेतिर दापसहितको बनाफुक (खुकुरीजस्तै हतियार) भिरेर सार्वजनिक हुन थालेका छन्। कतिपय समुदायको घरमा पहिचान हराउँदै गएको चिन्ता बढे पनि लेप्चाले भने मौलिक पोसाक र संस्कारमा रम्न थालेको लेप्चा उत्थान मञ्चकी उपाध्यक्षसमेत रहेकी रोजीले बताइन्।
उनीहरू कुलपूजा आफ्नै धामी ‘बुङथिन’ बाट गराउँछन्। तर समुदायमा पूजाविधि जान्ने व्यक्तिको अभाव छ। बुद्धकाजी लेप्चा भन्छन्, ‘तिब्बती प्रभाव र हाम्रो संस्कार मिसाएर कुलपूजाको विधि सम्पन्न गर्ने गरेका छौं। कतिपयले सिक्किम गएर कुलपूजाको विधि सिकेर आउनुभएको छ।’ लेप्चा अगुवा जगतबहादुरले लेप्चा उत्थान मञ्च गठन गरेपछि लेप्चामा जागरण सुरु भएको रोजीको भनाइ छ।
लेप्चा भाषाका २२ भन्दा बढी मौलिक ग्रन्थ छन्। तर लेप्चा भाषा र लिपि जान्ने व्यक्ति निकै कम छन्। लेप्चा भाषाका गुरु दावाले युवामा ग्रन्थ, भाषा र लिपिबारे जागरण ल्याउन समुदायमा कार्यक्रम भइरहेको बताए। उनका अनुसार गाउँमा भाषा र लिपिको तालिम सञ्चालन भइरहेको छ। रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले वडां नं. ३ चिन्डेपानीमा आवासीय लेप्चा भाषाको विद्यालय र लेप्चा संग्राहलयसहित होमस्टे खोल्न लागिएको जानकारी दिए।
चिन्डेपानीमा लेप्चा समुदायको बाक्लो बस्ती छ। त्यो ठाउँलाई लेप्चा अध्ययन केन्द्रका रूपमा विकास गर्न एक करोड ८० लाख बराबरको कार्यक्रम सञ्चालन हुन लागेको उनले बताए।
सूर्योदय नगरपालिका १२ का लेप्चा अगुवा बालछिरिङ लेप्चा रोङ गाउँपालिकाको पहलमा हुन लागेको कामले समुदायको उत्थानमा टेवा पुग्ने बताउँछन्। ‘सरकारले लेप्चा समुदायको उत्थानका लागि ठोस काम गर्न सकेको छैन’, उनले भने, ‘लेप्चा समुदाय बाहुल्य क्षेत्रमा स्थानीय सरकारले ठोस काम गर्नुपर्छ।’
लेप्चा समुदाय कुलपूजादेखि पितृकार्य आफ्नै भाषामा गर्छ। सबैले भाषा र लिपि नजानेमा कुल र पितृले भाषा नबुझ्ने विश्वास छ। लेप्चाले सामाजिक सुरक्षाअन्तर्गत प्रतिव्यक्ति दुई हजार रुपँयाँ भत्ता पाउने गरेका छन्। न्यून आय भएका लेप्चाका लागि भत्ता राहत भए पनि दिगो आय आर्जनमा जोड्न सरकारले पहल नगरेको उनीहरूको गुनासो छ।
इलामका सूर्योदय नगरपालिका, इलाम नगरपालिका, रोङ गाउँपालिका र माइजोगमाई गाउँपालिकामा गरी ३६ सय हाराहारीमा लेप्चा समुदायको बसोबास छ। इलामका साथै झापा, पाँचथर र ताप्लेजुङमा पनि लेप्चा समुदायको बसोबास छ।
आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ अनुसार सूचीकृत भएका ५९ जातिमध्ये लेप्चा एक हो। यो जाति लोपोन्मुख समूहमा पर्छ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...