Sunday, September 22, 2019

मुन्धुमका अघिपछि


मुन्धुमका अघिपछि
Kantipur, Koseli, आश्विन ४, २०७६बैरागी काइँला
मुन्धुमप्रति मेरो चासो आरम्भमा साहित्यकारको हैसियतमा बढ्यो ।  बढ्दै जाँदा निकैपछि मात्र मैले मुन्धुमभित्रको लिम्बू जीवनदर्शनलाई हेर्न थालेको भन्दा हुन्छ तर अझै पनि मलाई के लाग्छ भने मुन्धुमप्रतिको मेरो झुकाउ मानवशास्त्र तथा समाजशास्त्रझैँ ज्ञानका अनुशासनमा आधारित नभएर मुन्धुमभित्रको सुन्दर र प्रभावशाली काव्यात्मकताले वशीभूत भएर तथा लोपोन्मुख मुन्धुमको संरक्षण र संवर्द्धनका हेतुले हो यिनै कुराले मैले आफ्नो जीवनका महत्त्वपूर्ण वर्षहरू मुन्धुमको संकलन, सम्पादन र नेपाली भाषामा अनुवाद गर्नमा खर्च गरेको छु
०१२ सालमा लन्डन युनिभर्सिटीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक आरके स्प्रिग तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बीएच हज्सनले संगृहीत गराएका (१८६४ तिर) लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृति, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखित पाण्डुलिपिको छायाप्रति लिएर नेपाल आउँदा पाँचथर, सारतापस्थित हाम्रै घरमा महिना दिनजति श्रीमतीसहित बसेका थिए उनीहरूलाई भेटे पनि लिम्बू लिपि भाषाबाहेक मुन्धुमको मूल विषयमा मेरो रुचि नबढेको अवस्था रहेछ, उसबेला
इमानसिंह चेम्जोङले संकलन, सम्पादन र अनुवाद गरेका किराँत मुन्धुम (किराँतको वेद, विसं २०१८) पुस्तक प्रकाशित भएर पढ्न पाएपछि लिम्बू भाषा, लिपि, साहित्य, संस्कृति र इतिहासका खोजीमा र संवर्द्धनमा लागेका ऋषितुल्य चेम्जोङबाट उत्प्रेरित भएर लागेको हुँ भन्दा अतिशयोक्ति हुँदैन
लिम्बू दैनिक जीवनमा मुन्धुम र अनुष्ठान
हामी लिम्बू जातिले घरमा पालेका सुँगुर वा कुखुरा खान परे फेदाङमा बोलाएर पूजा गरेपछि मात्र बलि दिएर खान्छौँ उँधौली उँभौलीका छेकामा वर्षमा घटीमा एकपटक शिर उठाउने पूजा (मांगेन्ना) पनि गर्छौं घरमा कुनै छोरीबुहारी दुई जीउकी भएमा दुःखकष्टबिना जायजन्म होस् भनेर कोखपूजा गर्छौं तीन वर्षमा एकपटक कुलदेवताको पूजा भव्यताका साथ गर्छौं त्यसरी नै पुर्खाहरूसँगको सायुज्य मिलनका लागि तीन वर्षमा एकपटक तङिसङ मुन्धुमको वाचन अनुष्ठान पनि भव्यताका साथ गर्छौं
सुभ्यफाप्यका लागि घरभित्रका मंगलकारी देवीदेवताहरू (थेबा साम्माङ, नाहाङ्मा तथा दुङ्दुंगेतथा युमा साम्माङ) को नियमित पूजा र अनुष्ठान तथा नराम्रा वनका अनिष्टकारी देवीदेवताहरूका कोपभाजनबाट मुक्त रहनका लागि तिनलाई मन्साउने पूजाहरू गरिरहन्छौँ एकै कुलवंशका लिम्बू परिवार मिलेर वर्षमा एकपटक घरबाट सुरु गरेर खोलासम्म पुगी आपसी वैरभाव र द्वेषजन्य व्यवहार सदाका लागि हटाउन गालीसराप बगाउने पूजा सामाजिक सद्भावको उत्सवका रूपमा गर्छौं खेतीपातीमा आधारित जीवनयापन गर्न थालेका लिम्बू पुर्खाहरूले उहिलेदेखि गरिल्याएका ऋतुअनुसारका उँधौलीका अवसरमा चासोक (खेती उठाउने बेला, न्वाँगी पूजा) र उँभौलीका बेला यकवा (खेती लाउने बेला, धूलपूजा) पूजाहरू गरिल्याएका छौँ
माथि वर्णित यामअनुसारका तथा अन्य विविध पूजाअनुष्ठान गर्दाका बेला वाचन गरिने मौखिक पाठ, तिनका विषयवस्तु र अनुष्ठानका विधि अलग–अलग हुन्छन्

हाम्रा फेदाङ्माले पूजा गर्दा कण्ठाग्र फलाकेका वा गाएर ल्याएका विविध मुन्धुमको मौखिक पाठभित्र पाइने विविधता, भाषा, विम्ब, प्रतीक र तिनमा विद्यमान काव्यात्मक साहित्यबाट म वशीभूत भएको छु
मुन्धुम शब्द र अनेक अर्थहरू
दैनिक व्यवहारमा मुन्धुम शब्दलाई कथा, कुथुङ्ग्री, आख्यान, मिथक, पुराण, गाथा तथा शास्त्र बुझाउने अर्थमा प्रयोग गरिएको पाइन्छ सामान्यतः सांस्कृतिक मूल्य मान्यता मात्र नभएर उच्च धार्मिक महत्त्व पनि हुनाले मुन्धुम शब्दलाई विशेष गरेर श्रुति परम्परागत शास्त्रको अर्थमा लिइन्छ
मुन्धुम र मिथक
मुन्धुमलाई मिथक (कल्पनामा आधारित) पनि भनिन्छ लोकवार्ताविद्हरूका अनुसार मिथक सुदूर अतीतमा भएका घटनावलीको विवरण हो समय, तिथिमिति आज हाम्रा स्मरणमा नरहे तापनि ती घटनाहरू यथार्थ थिए भन्ने मानिन्छ यसरी मिथकलाई मिथ्या भनेर अविश्वास गरिए पनि हामीले हाम्रा ती सुदूर अतीतमा भएका घटनावलीलाई तीभित्र निहित व्यञ्जना र लाक्षणिक अर्थहरूका आधारमा विश्वास गरिआएका छौँ
श्रुतिपरम्परा कि श्रुतिशास्त्र
प्राचीन समयदेखि गुरुपरम्पराले पुस्तान्तरण भइआएकाले मुन्धुमलाई लोकवार्ताविद्हरू श्रुतिपरम्परा भन्छन् मुखमुखै भनिँदै आएकाले मुन्धुमलाई चलनचल्तीको भाषामा थुत्थुरे (थुतुनो मात्र चलाएर पाठ गरिने) शास्त्र भन्ने लोकोक्ति प्रचलित छ लिम्बू जातीय पुरोहितहरू (फेदाङ्मा, साम्बा, येबा, येमाहरू) ले मुन्धुम मुखमुखै भनेर आजसम्म नै ल्याएका छन् लिम्बू भाषामा मौखिक रूपमा भनिने थुत्थुरे मुन्धुमलाइथुङ्साप मुन्धुम (मौखिक शास्त्र) भनिन्छ
ब्रह्माण्डको उत्पत्तिदेखि चराचर जगत्को सृष्टिको विकासक्रममा मान्छेको सृष्टिपछि मानव कुल, वंश र परिवारको विकाससँगै मानव बसाइँ सराइ वा स्थान परिवर्तनका साथै मानव समाजको उत्थान र पतनको विवरण विविध गाथा, किंवदन्तीमा जीवित राखेर विगतका गौरव सम्झाउने श्रुति परम्पराका रूपमा जीवित मुन्धुमको पाठ प्राचीन र अलिखित इतिहास पनि हो

मुन्धुमको संरचना र काव्यात्मक तत्त्व
मुन्धुमको आफ्नै प्रकारको संरचनाको शैली छ यसमा वर्णित आख्यानको विकास क्रमबद्ध विशद रूपमा अर्थात् क्रमविकासको सिद्धान्तमा विकसित भएको भान हुन्छ
सुदूर अतीतदेखि श्रुतिपरम्परामा जीवित मुन्धुम गेयात्मक वा पद्यात्मक हुन्छ मुन्धुमभित्र वर्णित सृष्टिको कथा, मान्छेको उत्थान र पतनका आख्यान (मिथक), कल्याणकारी र अनिष्टकारी पारलौकिक शक्ति (देवीदेवता, भूतप्रेतादि) हरूको आख्यान गायन र वाचन गर्ने अलगअलग परिपाटी, शैली, छन्द र लय हुन्छन् गायन गरिने मुन्धुममा विषयवस्तु तथा प्रसंगअनुसार उठानदेखि बैठानसम्म भिन्न–भिन्न शैली छन्द प्रयोग हुन्छन् अर्थलाई गम्भीरता दिनु मिठास प्रदान गर्नु गायनवाचनको बीचबीचमा पदहरूको उचित पुनरावृत्ति, अलंकार र उपमाको सार्थक प्रयोगले मुन्धुमलाई उच्चकोटीको काव्य साहित्य बनाएको छ
त्यति मात्र नभएर प्रसंग र विषयअनुसार कतै हास्यरसले पूर्ण अभिनयसहित गद्यात्मक शैली, कतै काव्यात्मक संवादको शैली, कतै सुन्दर अभिनयसहितको नृत्य, गायन र वाचनले युक्त मुन्धुमी साहित्य लोकनाटकीय तत्त्वले भरिपूर्ण हुन्छ
मुन्धुम र प्रकृतिसँगको घनिष्ठता
लिम्बूका पुर्खाको प्रकृति र वातावरणसँगको तादात्म्य र घनिष्ठता मुन्धुमले देखाउँछ मानव पुर्खाहरूको विभिन्न दिशामा बसाइँ सराइका क्रममा तिनले पार गरेका मार्गका चित्र, चर्चेका र भोगेका भूमिको भौगोलिक प्रकृति आदिको मनोरम विवरण मुन्धुममा गरिन्छ मानव जातिले आर्जेको वनजंगल, पशुपन्छी, वनस्पति, फलफूल, कन्दमूलसम्बन्धी अद्भुत ज्ञानको विवरणले भरिएको हुन्छ मुन्धुम
मानवको उत्तरजीवन (सर्वाइवल) का लागि वनस्पति, जलचर, कीटपतंग, पशुपन्छी र वातावरण महत्त्वपूर्ण हुन्छन् तिनका मानवमैत्री र मानवविरोधी स्वभाव, विशेषता, सीप र गुणहरूबारे मानवजातिले आफ्नो ‘सर्वाइवल’ का लागि आर्जेको अत्यन्त उपयोगी अनुभवजन्य ज्ञानको सारसंग्रह मुन्धुममा पाइन्छ
मानिसको दुःखान्त र मुक्तिको युक्ति
मुन्धुमअनुसार सृष्टिको क्रम विकासको अन्तिम कडी मानिसको सृष्टि हो तर मानिस नश्वर चोलाको हुन पुगेको दुःखद घटनापछि मानिसलई धरती नामको विशेष स्थितिमा एक्लो छोडेर असन्तुष्ट सृष्टिकर्ता (ईश्वर) स्वयम् कालको चक्र (इनुनु इमिलुङ् इनुनु इलुङ्सुम्) मा अदृश्य हुन बाध्य भयो त्यसपछि केही नजान्ने (थेमेन्निमा सा),केही नदेख्ने (थेमेन्धा सा) र नबुझ्ने (थेमेल्ले सा) असहाय भएको एक्लो मानिसका लागि सृष्टिकर्ता ईश्वर अज्ञात, जानेर नजानिने (मेन्निमाङ) र आँखाले देख्न नसकिने (मेन्धामाङ) सत्ता भयो मानव हुनुको दुःखान्त यहीँबाट सुरु भयो
मानव जीवनको त्रासदी
यसरी आइलागेको त्रासदीको चपेटामा मानिसले अनेक आरोह–अवरोह बेहोर्नुपरेको छ अज्ञानता प्राकृतिक विपद्सँगसँगै मानवसमाज, जाति, कुलवंश र पारिवारिक सम्बन्धको उद्भव र विकासक्रममा भएका समीकरणमा फेरबदलले ‘सर्वाइबल’ का लागि मान्छेले गरेको प्रयत्न र संघर्षको क्रममा पारिवारिक र सामाजिक अस्वस्थ प्रतिद्वन्द्विता, आँखी, डाह, ईर्ष्या, लोभलालच, व्यभिचार, रिस र क्रोधजस्ता भावनाले समाज, कुलवंश तथा परिवार असुरक्षित र अशान्त भयो नकारात्मक गुणहरूको समुद्रमा आकण्ठ डुब्न पुग्यो मानवजीवन तर अब यी सबै मानिसको आफ्नै कर्मका फल हुनाले यसका लागि उत्तरदायी मानिस नै हुने भयो
मानवको अस्तित्वमा आइलागेको त्रासद् संकटहरूबाट मानव अस्तित्व सुरक्षित राख्न मान्छे आफैंले प्रयत्न गर्नुपर्ने भयो संकटहरूबाट उन्मुक्तिको उपायको खोजीमा मान्छेले पाएको मार्ग भनेको सकारात्मक मूल्य मान्यतामा आधारित सदाचारको समष्टि ज्ञानको संग्रह मुन्धुमको निर्माण भयो त्यति मात्र नभएर ईश्वर तथा जीवन जगत्सँग सम्बन्धित रहस्यबारेमा मान्छेको कौतूहलपूर्ण जिज्ञासाबाट जन्मेका कठिनतर प्रश्नहरूका उत्तरको खोजीमा आदिमकालदेखि लिम्बू जातिले मार्गदर्शन बनाएर ल्याएको आस्था विश्वासहरूको प्रणाली जीवनदर्शन नै मुन्धुम हो
मुन्धुममा चोत्लुङ वा मोक्ष
मुन्धुमअनुसार ईश्वर स्वयंले पनि टार्न नसकेको जीवनको सत्य भनेको कालको चक्र (इनुनु इलुङ्सुम) अथवा मृत्यु हो तर मृत्युलाई असल कर्मले पराजित गर्न सक्छन् मान्छेको जीवनमा आइलागेको यही दुःखान्त वा त्रासदी (ट्रेजेडी) जस्तो संकटबाट मुक्त भएर मान्छे हुनुको गौरव र अर्थ बचाउन असल कर्मको दिशामा उसको प्रयत्नको आख्यान नै आजको मान्छेको यथार्थ हो
सत् छ सुन्दरै, सुन्दरै छ सत्
सृष्टिको प्रारम्भ गर्दाकै क्षणदेखि ईश्वरले सृष्टिको परिपूर्णता नै सुन्दरता हो भनेर भाव व्यक्त गरेका छन् केही नभएको महाशून्यबाट सृष्टिकार्य जारी गरिरहँदा ‘सृष्टि सुहाएन नि, सुहाएन नि राम्रो देखिएन नि, राम्रो देखिएन नि’ भन्दै ईश्वर स्वयं विरह र वेदनाले व्याकुल भएको वर्णन लिम्बू मुन्धुममा मात्र पाइन्छ मान्छेको सृष्टिपछि सृष्टिकार्यले पूर्णता पाएर सुन्दर देखिएको अनुभूतिले ईश्वर सन्तुष्ट भए हुन पनि अपूर्णता सधैँ असुन्दर हुन्छ परिपूर्णता सदा सुन्दर हुन्छ त्यसैले सम्पूर्ण हुन सकेको सृष्टि स्थिति मात्र सुन्दर हुनाले सत्य पनि हुन्छ अर्को शब्दमा सुन्दर नै पूर्ण हो सत्य हो हुन पनि कविहरू (जोन किट्, महाकवि लक्ष्मीप्रसाद देवकोटा) का अनुसार ‘सत् छ सुन्दरै, सुन्दरै छ सत्’
मुन्धुम र अमूर्त सम्पदा
मानव उत्तरजीवनका लागि हाम्रा पुर्खाहरूले अलौकिक, आधिदैविक शक्ति र प्राकृतिक प्रतिकूलतासँग गरेका संघर्ष, तिनका शूरवीरता र मानवोचित कर्तव्याकर्तव्यका गाथा, देवी–देवताका प्रकल्पना र धार्मिक आस्थाका मिथकहरू, इतिहासको जन्मभन्दा सुदूर अतीतमा भएका घटनाका श्रुति परम्परागत दस्तावेज, पुर्खाले आर्जेको ज्ञानले समृद्ध मुन्धुमको अमूर्त सम्पदाका रूपमा ठूलो महत्त्व छ
लिम्बू जातिको साझा जातीय अनुभवजन्य ज्ञानको पुञ्ज श्रुतिपरम्परागत मुन्धुम हो मानिस (लिम्बू) जातिले समयक्रममा सभ्यता संस्कृतिको क्षेत्रमा उपलब्ध गरेका उच्चतम उपलब्धिहरू श्रुतिपरम्परा वा मुन्धुमभित्रका लोककथा, लोकगीत, मिथक र तिनले व्यवस्थित र निर्देशित गरेको थिति, नीति र चालचलनजस्ता धार्मिक, आध्यात्मिक र नैतिक मूल्यमान्यता र जीवनदर्शन हाम्रा सांस्कृतिक सम्पदा हुन्
मानिसले अन्तरमनबाट कलह, झगडा, युद्ध र विनाश निम्त्याउने रिस र इबी, आँखी र डाह, लोभ र लालच अनि छलकपटजस्ता मानवताविरोधी गुणहरूको समूल विनाश गर्नुपर्छ हाम्रा विश्वास आस्थाहरू मात्र असल भएर हुँदैन, व्यावहारिक जीवनमा तिनको पालना हुनुपर्छ सम्पूर्ण स्थावर जंगम, वनस्पति, पशुपन्छी र मानिसको सृष्टिपछि मात्र परिपूर्ण भएर सुन्दर हुन सकेको हो, यो पृथ्वी यो जगत् मानिसको मात्र पेवा सम्पत्ति होइन पृथ्वी सम्पूर्ण चराचर जगत् प्रकृतिकै साझा सम्पत्ति हो
सबैको उत्तरजीवन (सर्वाइवल) भनेको नै मानिसको उत्तरजीवन (सर्वाइवल) हो त्यसैले पृथ्वीको वातावरण प्रकृतिको संरक्षण मानिसको उत्तरजीवनका लागि अनिवार्य सर्त हुन्छ सुन्दर परिपूर्ण संसारको निर्माणका लागि मानिसले जुनी पाएको हो भन्ने हाम्रा पुर्खाहरूको सामूहिक अनुभवजन्य ज्ञान नै हाम्रो जीवनदर्शन हो मुन्धुमबाट हामीले पाएको यही ज्ञानलाई मानिसलगायत यो जगत‌्को भलाइका लागि उपयोग गरौँ यसरी हामी चोतलुङ (सिद्धिस्थल) को आरोहणमा सफलता पाएर पुर्खाहरूसँग सायुज्यमा पुग्दछौँ
अन्तमा,
एक व्यक्तिले देखेको बुझेको संसार र सामूहिक रूपमा बुझिएको संसारमा विराट् अन्तर हुन्छ सुदूर अतीतदेखिका हाम्रा मानव पुर्खाका सामूहिक अनुभव ज्ञानको सारसंग्रह मुन्धुम आजको एकजना स्रष्टाव्यक्तिको काव्य सृजना–कर्मभन्दा महान् हुन्छ साझा अनुभव बुझाइले आर्जित सामूहिक ज्ञान नै मुन्धुम हुनाले लिम्बू समुदायलाई यसले एकापसमा बलियोसँग आबद्ध राखेको छ
आधुनिक समयमा शिक्षा, विज्ञान, प्रविधि, बसाइँसराइ, मिश्रित बसोबास, आधुनिकता र भूमण्डलीकरणको निरन्तर आक्रमणले अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको सामूहिक बुझाइ र ज्ञानको स्रोत मुन्धुम संकटग्रस्त छ
(यस वर्ष जगदम्बाश्री पुरस्कारबाट विभूषित कवि काइँलाको विद्वत् प्रवचनबाट सम्पादित अंश)
प्रकाशित : आश्विन ४, २०७६ ०९:५८

चीनपछि ब्रिटिस सरकारलाई जङ्गबहादुरको पत्र




चीनपछि ब्रिटिस सरकारलाई जङ्गबहादुरको पत्र

नेपालसँग भोटको आर्थिक कारोबार परापूर्वकालदेखि चलेको हो । भोटसँगका मुख्य सीमा नाका कुती र केरुङसँगै संखुवासभाको ओलाङचुङ्गोला, मुस्ताङको कोरला, हुम्लाको यारी लगायत नाकाबाट सीमा बेपार हुन्थ्यो । भोटमा चल्ने मुद्रा उताबाट सुन–चाँदी ल्याएर नेपालमै टकमारी गरेर पठाइन्थ्यो । यही विषयमा भोटसँग विभिन्न समयमा खटपट भएको थियो ।
मल्ल राज्यकालमा आर्थिक अभावका कारण चाँदीमा धेरै तामा मिसाएर भोटमा मुद्रा पठाउन थालियो । भोटमा धेरै खोटा मुद्रा पुगे । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि भने शुद्ध चाँदीका मुद्रा पठाउन थाले । सामान किनबेचमा तिनै मिस्कट र निक्खर मुद्रा समस्या बने । नेपाल निक्खर मुद्रा र मिस्कट मुद्राको भाउ फरक हुनुपर्छ भन्ने, भोट चाहिं सराबरी हुनुपर्छ भन्ने । बहादुर शाहको नायबी शासन कालसम्म पनि मुद्रा सम्बन्धी कचपच परिरहेको थियो ।
उता, भोटको दिगर्चा मठका टासी लामा पाल्देन येशेको निधन भएपछि अर्को औतारी लामा खोजेर नल्याउन्जेल मठको कारोबार उनकै भाइ स्यामर्पाले चलाइरहेका थिए । ५/६ वर्षपछि औतारी लामा खोजेर टासी लामाको गद्दीमा राखियो । उनकै बाबु कारोबारी भए । यिनले बुझबुझारथ गर्दा स्यामर्पाले सम्पत्ति हिनामिना गरेको पाइयो । कैदमा पर्ने डरले स्यामर्पा केही सम्पत्ति कुम्ल्याएर साथी–सङ्गाती सहित नेपालमा शरण लिन आए ।
पहिलेदेखि नै खोटा टकको विषयमा विवाद रहिरहँदा स्यामर्पाको शरणले आगोमा घिउ थपे जस्तो भयो । युद्ध निश्चित भएपछि नेपाली सेना कुती र केरुङबाट भोट पस्यो । जित्दै सिकारजुङ्गसम्म पुगेपछि भोटका लामाले चीनको सहायता मागे । चीनका बादशाहले फौज पठाइदिए ।

चीनका सेनापति र भोटका लामा आएर नेपाली सेनापतिसँग छलफल हुँदा भोटले नै अर्घेल्याइँ गरेको ठहर भयो । मिलापत्र हुँदा जितेको भूमि नेपालले छाडिदिने र भोटले वर्षेनि पचास हजार नेपाललाई बुझाउने सहमति भयो ।
भोटले वार्षिक तिर्नुपर्ने रकम एक वर्ष मात्र बुझायो । नेपालले तागिता गर्दा पनि पार नलागेपछि फेरि युद्ध भयो । नेपाली सेनाले दिगर्चा मठमा पुगेर तीन वर्षको बाँकी रकम माग्दा सहजै नपाएपछि बलजफ्ती लिएर फर्कियो । यो कुरा भोटले चिनियाँ बादशाहकोमा जाहेर गर्‍यो । बादशाहले भोटलाई पुनः सघाउन टुङथ्वाङ नामक सेनापतिको नेतृत्वमा ठूलै सैनिक दल पठाइदिए । यिनी मेलमिलाप गर्नतिर नलागी सरासरी युद्धमै होमिए ।
युद्धका क्रममा सैनिकको क्षति भयो, रसदपानीको अभाव भयो । भौगोलिक दूरीका कारण चीनबाट थप सैनिक ल्याउन गाह्रो पर्ने आदि कारणले टुङथ्वाङले मिलापत्रको लागि वार्ता गरे । उनको मुख्य माग स्यामर्पा र उनले ल्याएको सम्पत्ति सुम्पनुपर्ने थियो ।
त्यसवेलासम्म स्यामर्पा मरिसकेका थिए । उनका मालमत्ता जिम्मा लगाइयो । टुङथ्वाङले केही समय भोट बसेर नेपाल र भोटबीचको किचलो समाधान गरिदिए । मुद्राको समस्या हटाउन चीनले नै ल्हासामा मुद्रा ढालिदिने भयो ।
भोटसँग युद्ध गर्ने भित्री उद्देश्य भए पनि श्री ३ जङ्गबहादुरले ल्हासाका अम्बा मार्फत चिनियाँ बादशाह समक्ष पत्र पठाएर चीनको विद्रोह दमनमा सघाउन १० हजार फौज सहित आफैं आउने बताएका थिए ।
उनले भोटले गरेका अर्घेल्याइँ उल्लेख गर्दै समस्या समाधान गरिदिन पनि आग्रह गरेका थिए । जसको जवाफमा बादशाहले टाढाबाट आउँदा ठूलो दुःख हुने, विद्रोह दबाउन चिनियाँ फौज नै काफी रहेको भन्दै छिमेकीसँग मिलेर बस्न अर्ती दिएका थिए । त्यसपछि जङ्गबहादुरलाई मेरो मद्दत नलिने बादशाहले भोटलाई मद्दत दिन त्यति टाढाबाट फौज पठाउँदैनन् भनेर ढुक्कै भयो ।
चीनले भोटसँग मिलेर बस्न अर्ती दिनु एउटा कुरा, भोटका विभिन्न अर्घेल्याइँ सहेर बस्नु भने असम्भवै थियो । चीनलाई सघाउने निहुँमा नेपालले सैनिक, युद्धसामग्री र रसदपानीको तयारी गरिरहेको थियो ।
भोटले यस्तो युद्धको तयारी थाहा पाएर सुखिम (सिक्किम) पनि लिने नेपालको योजना रहेको बारे ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारलाई कुरा लगाइसकेको थियो । तर जङ्गबहादुरले कम्पनी सरकारसँगको दोस्ती खलबल्याउने प्रपञ्च भएको भन्दै यो कुराको खण्डन गरे ।
चीनबाट ढुक्क भएपछि ब्रिटिश सरकारबाट पनि आश्वासन र भरथेग पाउन आवश्यक थियो । शङ्का निवारणका लागि जङ्गबहादुरले कलकत्तामा गभर्नर जनरललाई लामो खलितापत्र पठाए ।
कलकत्ताका लाठलाई जान्या खलिताको मस्यौदा
अघिदेखीको येस्तो दस्तुर थियो कि कैयेक अफिसरहरू समेतलाइ इलथिभैचिनमा मामुलि सौगात तोहफा ली जान्या नेपालका उमरावहरू १८ मैन्हामा नै नेपाल दाषिल हुंथ्या हाम्रा उमरावहरूका साथवायका विच संघारका कानिमित्त १ ।२ चिनिञाहरू रंथ्या तैपनी चिनिञा उमराहरूले अगावै जुनजग्गामा बासपन्र्या छ वाहा इतलायेको षतलेषतथ्या अघिको दस्तुर मोजिम संम्बत १९०९ सालमा नेपालको  यिलचिकै येक अफिसर समेत सौगात चह्राउना निमित्त गयाका थिया तस्तै विचमा वाटाका विचमा अफिसरहरूलाई मुस्कि चह्राई मार्छौं भनि च्यापसा भन्याको हतीयार झ्क्यिा तर ति अफिसरहरूले हामि डाकु होइन विना कसुरले उसै माछौं भनि वहुतै अरजयारूज गर्दामा वल्ल छोडिदिया ८ मैन्हा सम्म हाम्रा इलचिले पठाइदिया को अर्जि र चिठिहरू वन्दगरिया इलचि पनी २ वर्षमा ञाहा आइ पुग्यो औ ल्हासामा असामीका वावत्मा जमानिहुन्या हाम्रा मानिसलाई खंबालीहरू ले जमानि वावत मुस्की चह्राई कैद गर्‍या वाहाको हाकिमले गन्र्या निसाफ भंदाज्यादा सजाये गर्‍याको देखि ल्हासामा वश्न्या हाम्रा वकिलले खम्बालीहरूले विद्दत् ज्यादा गर्‍याको ल्हासाका अदालतमा नालीस गर्दा खाम्बालीहरू र नेपालीहरू दुवै पनि हाम्रा तावेदार होइनन् तिमिहरूले ज्या सुकै गर भनि साफ जवांयदिया र जुन् खम्वालीले जमानिलाइ वाध्याको थियो उससंग हाम्रो वकिलले मानीस पठाई जमानिलाइ छाडि देउ जो तिम्रो असामि हो सपुर्द गरिदिंछौं भंन पठाउँदा खम्वालीहरूले वकिलको मानीसको कुराकहानि नसुनी नेसलाई घर्को दर्बाजा पुग्नी बीत्तिकै वंन्दुकले गोली चलाई मारि दिया जव हाम्रा वकिलले आफनु मानिस मारिदियाको खबर सुनियो येस्तो तवरको जोरजुलुम गर्‍याको सहननसकि वकिलकातर्फको मानिसहरूले खाम्वालीहरू माथि हल्ला गर्‍या दुवै तर्फका मानिसको हल्ला हुँदा दुवैतर्फका ६ जाना मानिस मारिया औ ल्हासामा वस्न्या हाम्रा माहाजन रैयत गैह्रगरि ३।४ हजार जति थिया उनिहरूलाई पनि आगो पानि रसद अनाज ४ दिनसम्म वन्दगरि दिया हाम्रा वकिललाई निकालिदिया माल असवाफ लुट्या अघि दोसाधमा चावल नुन को वेपारका लेनदेन वापतमा सर्कारले नेपालका र भोटका अमिर उमराब २ थर बसि २ । ३ पल्ट वंन्दोवस्त भै लेखपढ भयाको पनी वन्दोवस्त भया माफिकन गरि वनदोवस्त कागजको उल्टाकाम गर्‍या हाम्रा सरहदका मानिसलाई पनि मान्र्या उन्हेहरूले अरु अरु वेजाइ विद्दत हामिमाथि गर्‍या को दोस्तहरूको माया मोह गन्र्या मेजर जारिज रम्जि सहेव वहादुर रजिडन्ट मुलुक नेपालका मार्फत जाहेर होला यस्तो विजाइ विद्दत् हूँदा पनी उस्मा उन्हेहरूले भनि पठायामाफिक मदोस्त मंजुर गर्‍याको थियो दोस्ति पनी वढायाको थियो. जब हाम्रा इलचि चिनवाट फिरि जाहा आयी पुग्या येस्तो वेजाई विद्दत् गर्‍याको सहन नसकि उन्हेरूले वेजाइ गर्‍याको कुरो तपसिलले लेखि ल्हासामा वस्याका अम्वालाई लेखिपठाया आफ्नु लडाञिको असवाफ रसद फौज पनि तयार गर्‍यौ हाम्रो घटिया चिताउन्या दुस्मनहरूले यो तयारि गर्‍या देखि नेपालको फौज सुखिम माथि चह्राइ गर्छ भनि हौरा गर्‍याको होला हाम्रो मनचित्तमा कैल्ह पनि नभयको यस्तो हौरा हाम्रो घटिया चाहनेहरूले गर्‍याको तपाइका कानमा पनि पुग्यो भन्या सुनिंछ तसअर्थ सुखीम भन्याको सर्कार कंपनी अंगे्रज वहादुरको तावे हो. उस्मा पनी सर्कार कंपनि अंग्रेज बहादुरको येस सर्कार माथि सवै तवरको मेहरवानि र कृपाको नजर छ सुखिमले पनी येस सर्कार माथिको केही विजाइ विद्दत् गर्‍यो को छैन येस्तो छदा छंदै सर्कार कंपनिको तावेमा रहेको सुखिममाथि लडाञी गर्नाको इरादा गर्‍यो भन्या राजनिति निसाफको बाटोे छोडि बाटामारा डाकुहरूले काम गर्‍याझै गर्‍यो तपाई कृपा गर्नेको हामि माथि येस्तो ठुलो मेहरबानि दुवैतर्फको दोस्तिको जरो यस्तो बढिया छदा छंदै ठूला सर्कार कंपनी अंग्रेज बहादुर अथवा उन्का तावेका राजाहरूसंग अहदको उल्टा गर्नु र उनसँग बराबरी गन्र्याको इरादा राख्नु कहा मेरा मगदुर छ त्यस्तो गर्नु साहै्र वेजाइन र नामुनासिव हुँछ येस्तो घटिया मन सुवा अघि पनी गर्‍याको छैन अव उप्रान्त पनि हरगीज सुखिमको मुलुकमा पैर दिन्या छैन. योकुरा तपाई कृपा गन्र्यालाई वेसगरि निश्चय रहोस जाहा संम्म इस दरवारलाई तपाइको मेहेरवानगी छ म गादिमा वस्यादेखी जसवेला तपाईले हुकुम दियाका काममा धन फौज मुलुक लगाई गर्नामा तयार छु भनि अघि अघि पनी मैले वोलेको हो अ‍ैल्हे अव उप्रांत पनी सोहि माफिक तयार पनी छ पछि पनी तयार हुँन्या छु जस्ता तरहले मेरो इज्जत र हुर्मत औ ममाथि दयाकरुणा. राखनु पन्र्या हो अवस्य तपाई कृपा गन्र्याले राखन्या छ. भन्या मेरा ठूलो आसरा भरोसा छ तस्कारनले तपाईका चित्तमा नचाहिन्या कुराको हौरा चलाउन्याहरूले गर्‍याको कुरा प्रतित र पत्यार नपरोस औ येस कुरामा तपाईका चित्तमा केहि संका रहन नजावस भनि यो सवै विस्तार लेख्या. अरू जोजो योस सर्कारको र भोटको वात वेहोरा पर्ला सवैवि तार रजिडन्ट साहेब मौसुफका मार्फत तपाईलाई जाहेर हुँदै रहला
मार्ग वदि ८ रोज २.
सम्वत् १९११ साल मिति मंसिर वदि ७, का दिन श्री प्राइम्मिनिष्टर साहेबबाट नजर भइ आफ्ना बाहुलीले नपुग्याको नभयाको ठाउँमा थपि काटी मञ्जुर गरि बक्सनुभयाको मस्यौदा





राणाशासनको वृतान्त

राणाशासनको वृतान्तको २०औं श्रृँखला
माथवरसिंहलाई अब चाँडै ठेगान अगाउनु पर्छ अन्यथा अनर्थ हुन सक्छ भनी महारानीले यस विषयमा आफना विश्वासी भारदार गगनसिंह भण्डारी समेत संग गुप्त रुपमा सरसल्लाह गरिन् । यिनीहरुले पनि अब माथवरलाई राख्न ठीक पर्दैन भन्ने राय जाहेर गरे । तर माथवरसिंहलाई कसरी पन्छाउने भन्ने कुराको टुँगो अझै लाग्न सकेन । गगनसिंहले धेरै बेर सम्म विचार गरी यस्तो जोखिम काम सम्पन्न गर्न सक्ने व्यक्ति हाल जङगबहादुर मात्रै छन् र यिनी अहिले आफना मामा माथवर संग साह्रै नै कुँडिएका छन् यो काम यिनै बाट गराइनु पर्ला भनी जाहेर गरे । महारानीले स्वीकृति प्रदान गरे पछि मुलमानसिंह मार्फत महारानीको हुकुम जङगबहादुरका कानमा सुनाइयो । महारानीबाट हुकुम भए जस्तो सुकै काम भए पनि म गर्छु भनी जङगबहादुर अघि सरे । अब सबै जनाको सल्लाहअनुसार माथवरसिंह थापालाई राजदरवारमा बोलाएर यहीं नै काम तामेल गर्नुपर्छ भन्ने योजना तयार भयो । महारानीले तुरुन्तै काम तामेल गरिहाल्नु भन्ने हुकुम दिइन् र राजाले पनि यसमा स्वीकृति प्रदान गरे । यतिभएपछि महारानीलाई श२लको व्यथा लागेर च्यापेको छ र उहाँ पानी बाट झिकेको माछोजस्तै फत्रयाकफत्रयाक परिबक्सेको छ, अवस्था अत्यन्तै नाजुक छ, त्यसैले तुरुन्तै प्रधानमन्त्रीलाई बोलाएर ल्याउ भनी हुकुम भएकोले म हजुरलाई बोलाउन आएको हुँ भनी कुलमानसिंह १७ मे १८४५ इ.को राती हस्याङफस्याङ गर्दै माथवरको निवासमा पुगी शाही सन्देश सुनाए । महारानीलाई आराम नभएको खबर सुन्नासाथै तरवार भिरेर माथवर दरबार तर्फ जान पटुका कसीहाले । रातको समयमा हजुर एक्लै हतारिएर नजानुहोस, दुइचार जना अङरक्षकहरुलाई समेत साथमा लिएर जानुहोस भनी उनकी मुखिनीले निकै आग्रह गरिन् । तर आफनो हातमा तरवार भएपछि मलाई सितिमिति कसैले केही नाप्न सब्दैन भनी पत्निको कुरै नसुनी उनी हिँडिहाले । बागदरबारबाट राजमहल त्यति टाडा थिएन, त्यसैले केहीबेरमै उनी दरबारको ढोकामा पुगे ।
राजदरबारको चोकमा पुगेका प्रधानमन्त्री माथवरसिंहलाई देख्नासाथ व्दारपालले उनका हाजिरी माथि पुरयाइहाले । अनि एउटी नानी चोकमै आएर उनलाई स्वागत गरी माथि लगिन् । माथवरसिंह तिनको पछि लाग्दै माथि पुगी कोठाभित्र पाइला के हालेका थिए पर्दा पछाडी लुकेर बसेका जङबहादुरले राइफलले हानेका गोलीहरु यिनको शिर र छातीमा लाग्यो र यिनी त्यहीँ ढली छटपटाउन थाले । यिनी त्यहाँ पछारिनासाथ राजा राजेन्द्र उफ्रँदै त्यहाँ आए र माथवरसिंहलाई तथानाम गाली गर्दै यिनको अचेत शरीरमा लात्तीले हान्न थाले । त्यसै राति यिनको शवलाई कपडाले बेरेर तल चोकमा खँगारी पशुपतिघाटमा पठाएर जलाउन लगाइयो । बहालवाला प्रधानमन्त्रीको अन्तिम संस्कार हँुदा दिइनुपर्ने सामान्य सम्मान सम्म पनि यिनलाई दिइएन ।
आफनै मामाको हत्या गर्ने जङबहादुर साँखुल्ले हुँदै आफु यस्तो षडयन्त्रमा सामेल नरहेको प्रमाणित गर्न आफना भाइ रणोद्दीपसिंहलाई माथवरको घरमा दौडाएर भएको घटनाको बेहोरा उनको परिवारलाई सुनाएर जेजति चल सम्पत्ति लैजान सकिन्छ लिएर भागिहाल्नू भन्ने सन्देश पठाए । यो खबर पाउनासाथ माथवरका छोराहरुले आफुले बोक्न सके जति चल सम्पत्ति कम्मरमा बाँधेर उज्यालो नहुँदै कुलेलम ठोके । रणोद्दीप र बम बहादुर उनीहरुलाई चन्द्रागिरी पार गराएर फर्के । भोलिपल्ट मृतक माथवरसिंह थापाको सम्पूर्ण चल अचल सम्पत्ति जफत भयो ।
माथवरको हत्या भएपछि उनको तैनाथमा रहेको सेना भडकने पो हो कि भन्ने शङ्काले तीन पलटन फौज तुरुन्तै सामेल गराई राजदरवार वरिपरि निकै दिन सम्म राखे । राजा राजेन्द्रले एउटा घोषणा गरी माथवरसिंहलाई मैले आफैले गोली हानी हत्या गरेको हँु भने । तर उनको कुरा धेरै मानिसले पत्याएनन् । मुन्सीखानापार्फत ब्रिटिश रेजिडेन्टलाई पनि यही बेहोरा लेखी जानकारी गराइयो, तर रेजिडेन्टले यो कुरामा पत्यार गरेनन् । उनले आफना चरहरु मार्फत हत्याकाण्डको सबै बेहोरा बुझिसकेका थिए । केही टाठाबाठा मानिसले माथवरको हत्या सायद गगनसिंहले गरेका हुन् कि भन्ने शङका गरे ।
माथवरको सम्पत्ति जफत गर्ने कार्य पूरा भएपछि त्यस बखत पाल्पा गौंडाका तालुकवाला भएर बसेका यिनका भाई तिलबिक्रम थापालाइ पदच्युत गरी पक्राउ गरी सदरमा ल्याउनू भनी यहाँबाट एक कम्पनी फौज खटाइयो । तर यहाँबाट खटिएको फौज पाल्पा नपुग्दै तिलविक्रमले सबै कुरा थाहा पाइसकेछन् । उनले त्यहाँको मालको तीन साँचोमा रहेको सबै नगद र अन्य ढुकुटीहरुसमेतबाट सबै रकम झिकेर लिई कम्पनी सरकारको सरहदभित्र पसहिाले । यहाँ बाट गएको फौज पाल्पा पुग्दा सबै ढुकुटी खाली फेला परयो र फौज रित्तो हात फक्र्यो ।
साभारः राणाशासनको वृतान्त, प्रमोद शमसेर राणा

यस पछि यस पुस्तकमा जङबहादुर, रणोद्दीपसिंह, वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्यम शमशेर, र मोहन शमशेरका बारेमा बेग्ला बेग्लै अध्यायमा उल्लेख गरिएको छ । नेपालको विगत इतिहास षडयन्त्र र रक्तपात पूर्ण काण्डहरुले भरिएको छ । पढनु होला ।

Sunday, September 15, 2019

राणा शासनको वृतान्त

राणा शासनको वृतान्त १९औं श्रृँखला
युवराज सुरेन्द्र दिन दिनै उद्दण्ड हुँदै गइरहेका थिए । बुबा राजा छँदाछँदै आफुलाई महाराजाधिराज भन्नु भनी उर्दी समेत दिदै हिडन थाले । छोराले यस्तो नचाहिदो उर्दी दिँदा पनि त्यस्तो उर्दीलाई बदर नगरी राजा राजेन्द्र मौन रहे । यसो हुँदा युवराज अरु उत्साहित भई बुबालाई करेपमा पारी मलाई सम्पूर्ण राजकीय अधिकार बक्सियोस् नत्र म सन्यासी भएर काशीतर्फ जान्छु भनी कोलाहल मच्चाउन थाले । पिताले यस्तो नचाहिँदो माँग पुरा गर्न सक्दिन भन्ने स्पष्ट जवाफ दिएपछि यिनी रन्केर केही फौज साथमा लिई तराईतर्फ लागे । माथवर पनि महारानी बाट राजकीय अधिकार झिकी युवराजको हातमा पार्न पाए आफुले आनन्दसँग राजकाज चलाउन पाउँथे भन्ने सोचाइमा थिए ।

यसरी फौज साथमा लिएर तराई तर्फ हिँडेका युवराज सदलबल कम्पनी सरकारको सरहदभित्र पसेका खण्डमा ब्रिटिस हरुले अर्कै अर्थ लगाउने हुन् भन्ने चिन्ता माथवरको मनमा परयो, अनि उनले राजा र महारानीलाई तराई तर्फ सवारी भई युवराजलाई राजधानीमा फिर्ता ल्याइबक्सनुपरो भनी जाहेर गरे । माथवरको कुरा सुने पछि युवराजलाई लिन जान्छौँ भनी राजा रानी दुवै जना तराई तर्फ जान राजी भए । राजा रानीको सवारी यहाँबाट चलेको केही दिन पछि हेटौँडाको ढुकुवाबासमा शाही क्याम्प खडा गरी त्यही मुकाम भयो । माथवरसिंह पनि ठूलो सैन्यदल लिएर सवारी क्याम्पमा पुगे ।

माथवरले राजालाई करेपमा पारी झुक्याएर २५ नवेम्बर १८४४ इ. का दिन आफनो समग्र राजकीय अधिकार युवराजलाई दिएँ भन्ने कागजमा दस्तखत गराए । यस्तो अधिकार पत्रमा दस्तखत गरिबक्सन हुन्न कि भनी राजालाई केही वफादार अधिकारीहरुले त्यस बखत सम्झाउने चेष्टा गरेका थिए । उनलाई सतर्क गराउन खोज्ने अठार जना अधिकारीहरुलाई माथवर सिंहले पक्राउ गरी मृत्यु दण्ड दिए । यति गरे पछि युवराजलाई साथमा लिएर उनी सदलबल कामाण्डौतर्फ हिँडिहाले । राजधानी पुगेपछि युवराजले राजकीय अधिकार पाएको उपलक्ष्यमा हर्षबढाइँ र सिन्दुरजात्रा समेत गराए । त्यो उत्सवमा ब्रिटिश रेजिडेन्ट हेनरी लरेन्सलाई निमन्त्रणा पठाएको थियो । एउटा राजाले गद्दी त्याग नगरेसम्म युवराज गद्दीमा चढेर सिन्दुरजात्रा गर्न कसरी मिल्छ भन्ने जिकिर गर्दै लरेन्स त्यो उत्सवमा उपस्थित भएनन् ।

राजा र महारानी दुवै जनाले माथवरसिंह थापाको भित्री ईच्छा के रहेछ भन्ने राम्रोसंग बुुझे । अब माथवरसिंह थापालाई नहटाई केही कामकुरा हुन सक्दैन भन्ने महारानीले देखिन् । तर झण्डै नौ हजारजति सैनिक आफनो मातहतमा राखेर बसेका मुख्तियारलाई सितिमिति त्यसै हटाउन सकिेने अवस्था पनि थिएन । यिनलाई ठाडो आदेश दिएर निकाल्न खोज्दा आपनो गद्दी पो जाने हो कि भन्ने खतरा पनि थियो । त्यसै कारण कुनै षडयन्त्रकै सहारा लिनुपर्ने अवस्था महारानीका सामु आइपरयो । षडयन्त्र नगरी माथवर सिंहलाई पन्छाउन सकिदैन भन्ने कुरा महारानी र राजा समेतले राम्रो संग बुझे ।
साभारः प्रमोदशमशेर राणा, राणाशासनको वृतान्त

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...