Sunday, September 22, 2019

चीनपछि ब्रिटिस सरकारलाई जङ्गबहादुरको पत्र




चीनपछि ब्रिटिस सरकारलाई जङ्गबहादुरको पत्र

नेपालसँग भोटको आर्थिक कारोबार परापूर्वकालदेखि चलेको हो । भोटसँगका मुख्य सीमा नाका कुती र केरुङसँगै संखुवासभाको ओलाङचुङ्गोला, मुस्ताङको कोरला, हुम्लाको यारी लगायत नाकाबाट सीमा बेपार हुन्थ्यो । भोटमा चल्ने मुद्रा उताबाट सुन–चाँदी ल्याएर नेपालमै टकमारी गरेर पठाइन्थ्यो । यही विषयमा भोटसँग विभिन्न समयमा खटपट भएको थियो ।
मल्ल राज्यकालमा आर्थिक अभावका कारण चाँदीमा धेरै तामा मिसाएर भोटमा मुद्रा पठाउन थालियो । भोटमा धेरै खोटा मुद्रा पुगे । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि भने शुद्ध चाँदीका मुद्रा पठाउन थाले । सामान किनबेचमा तिनै मिस्कट र निक्खर मुद्रा समस्या बने । नेपाल निक्खर मुद्रा र मिस्कट मुद्राको भाउ फरक हुनुपर्छ भन्ने, भोट चाहिं सराबरी हुनुपर्छ भन्ने । बहादुर शाहको नायबी शासन कालसम्म पनि मुद्रा सम्बन्धी कचपच परिरहेको थियो ।
उता, भोटको दिगर्चा मठका टासी लामा पाल्देन येशेको निधन भएपछि अर्को औतारी लामा खोजेर नल्याउन्जेल मठको कारोबार उनकै भाइ स्यामर्पाले चलाइरहेका थिए । ५/६ वर्षपछि औतारी लामा खोजेर टासी लामाको गद्दीमा राखियो । उनकै बाबु कारोबारी भए । यिनले बुझबुझारथ गर्दा स्यामर्पाले सम्पत्ति हिनामिना गरेको पाइयो । कैदमा पर्ने डरले स्यामर्पा केही सम्पत्ति कुम्ल्याएर साथी–सङ्गाती सहित नेपालमा शरण लिन आए ।
पहिलेदेखि नै खोटा टकको विषयमा विवाद रहिरहँदा स्यामर्पाको शरणले आगोमा घिउ थपे जस्तो भयो । युद्ध निश्चित भएपछि नेपाली सेना कुती र केरुङबाट भोट पस्यो । जित्दै सिकारजुङ्गसम्म पुगेपछि भोटका लामाले चीनको सहायता मागे । चीनका बादशाहले फौज पठाइदिए ।

चीनका सेनापति र भोटका लामा आएर नेपाली सेनापतिसँग छलफल हुँदा भोटले नै अर्घेल्याइँ गरेको ठहर भयो । मिलापत्र हुँदा जितेको भूमि नेपालले छाडिदिने र भोटले वर्षेनि पचास हजार नेपाललाई बुझाउने सहमति भयो ।
भोटले वार्षिक तिर्नुपर्ने रकम एक वर्ष मात्र बुझायो । नेपालले तागिता गर्दा पनि पार नलागेपछि फेरि युद्ध भयो । नेपाली सेनाले दिगर्चा मठमा पुगेर तीन वर्षको बाँकी रकम माग्दा सहजै नपाएपछि बलजफ्ती लिएर फर्कियो । यो कुरा भोटले चिनियाँ बादशाहकोमा जाहेर गर्‍यो । बादशाहले भोटलाई पुनः सघाउन टुङथ्वाङ नामक सेनापतिको नेतृत्वमा ठूलै सैनिक दल पठाइदिए । यिनी मेलमिलाप गर्नतिर नलागी सरासरी युद्धमै होमिए ।
युद्धका क्रममा सैनिकको क्षति भयो, रसदपानीको अभाव भयो । भौगोलिक दूरीका कारण चीनबाट थप सैनिक ल्याउन गाह्रो पर्ने आदि कारणले टुङथ्वाङले मिलापत्रको लागि वार्ता गरे । उनको मुख्य माग स्यामर्पा र उनले ल्याएको सम्पत्ति सुम्पनुपर्ने थियो ।
त्यसवेलासम्म स्यामर्पा मरिसकेका थिए । उनका मालमत्ता जिम्मा लगाइयो । टुङथ्वाङले केही समय भोट बसेर नेपाल र भोटबीचको किचलो समाधान गरिदिए । मुद्राको समस्या हटाउन चीनले नै ल्हासामा मुद्रा ढालिदिने भयो ।
भोटसँग युद्ध गर्ने भित्री उद्देश्य भए पनि श्री ३ जङ्गबहादुरले ल्हासाका अम्बा मार्फत चिनियाँ बादशाह समक्ष पत्र पठाएर चीनको विद्रोह दमनमा सघाउन १० हजार फौज सहित आफैं आउने बताएका थिए ।
उनले भोटले गरेका अर्घेल्याइँ उल्लेख गर्दै समस्या समाधान गरिदिन पनि आग्रह गरेका थिए । जसको जवाफमा बादशाहले टाढाबाट आउँदा ठूलो दुःख हुने, विद्रोह दबाउन चिनियाँ फौज नै काफी रहेको भन्दै छिमेकीसँग मिलेर बस्न अर्ती दिएका थिए । त्यसपछि जङ्गबहादुरलाई मेरो मद्दत नलिने बादशाहले भोटलाई मद्दत दिन त्यति टाढाबाट फौज पठाउँदैनन् भनेर ढुक्कै भयो ।
चीनले भोटसँग मिलेर बस्न अर्ती दिनु एउटा कुरा, भोटका विभिन्न अर्घेल्याइँ सहेर बस्नु भने असम्भवै थियो । चीनलाई सघाउने निहुँमा नेपालले सैनिक, युद्धसामग्री र रसदपानीको तयारी गरिरहेको थियो ।
भोटले यस्तो युद्धको तयारी थाहा पाएर सुखिम (सिक्किम) पनि लिने नेपालको योजना रहेको बारे ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारलाई कुरा लगाइसकेको थियो । तर जङ्गबहादुरले कम्पनी सरकारसँगको दोस्ती खलबल्याउने प्रपञ्च भएको भन्दै यो कुराको खण्डन गरे ।
चीनबाट ढुक्क भएपछि ब्रिटिश सरकारबाट पनि आश्वासन र भरथेग पाउन आवश्यक थियो । शङ्का निवारणका लागि जङ्गबहादुरले कलकत्तामा गभर्नर जनरललाई लामो खलितापत्र पठाए ।
कलकत्ताका लाठलाई जान्या खलिताको मस्यौदा
अघिदेखीको येस्तो दस्तुर थियो कि कैयेक अफिसरहरू समेतलाइ इलथिभैचिनमा मामुलि सौगात तोहफा ली जान्या नेपालका उमरावहरू १८ मैन्हामा नै नेपाल दाषिल हुंथ्या हाम्रा उमरावहरूका साथवायका विच संघारका कानिमित्त १ ।२ चिनिञाहरू रंथ्या तैपनी चिनिञा उमराहरूले अगावै जुनजग्गामा बासपन्र्या छ वाहा इतलायेको षतलेषतथ्या अघिको दस्तुर मोजिम संम्बत १९०९ सालमा नेपालको  यिलचिकै येक अफिसर समेत सौगात चह्राउना निमित्त गयाका थिया तस्तै विचमा वाटाका विचमा अफिसरहरूलाई मुस्कि चह्राई मार्छौं भनि च्यापसा भन्याको हतीयार झ्क्यिा तर ति अफिसरहरूले हामि डाकु होइन विना कसुरले उसै माछौं भनि वहुतै अरजयारूज गर्दामा वल्ल छोडिदिया ८ मैन्हा सम्म हाम्रा इलचिले पठाइदिया को अर्जि र चिठिहरू वन्दगरिया इलचि पनी २ वर्षमा ञाहा आइ पुग्यो औ ल्हासामा असामीका वावत्मा जमानिहुन्या हाम्रा मानिसलाई खंबालीहरू ले जमानि वावत मुस्की चह्राई कैद गर्‍या वाहाको हाकिमले गन्र्या निसाफ भंदाज्यादा सजाये गर्‍याको देखि ल्हासामा वश्न्या हाम्रा वकिलले खम्बालीहरूले विद्दत् ज्यादा गर्‍याको ल्हासाका अदालतमा नालीस गर्दा खाम्बालीहरू र नेपालीहरू दुवै पनि हाम्रा तावेदार होइनन् तिमिहरूले ज्या सुकै गर भनि साफ जवांयदिया र जुन् खम्वालीले जमानिलाइ वाध्याको थियो उससंग हाम्रो वकिलले मानीस पठाई जमानिलाइ छाडि देउ जो तिम्रो असामि हो सपुर्द गरिदिंछौं भंन पठाउँदा खम्वालीहरूले वकिलको मानीसको कुराकहानि नसुनी नेसलाई घर्को दर्बाजा पुग्नी बीत्तिकै वंन्दुकले गोली चलाई मारि दिया जव हाम्रा वकिलले आफनु मानिस मारिदियाको खबर सुनियो येस्तो तवरको जोरजुलुम गर्‍याको सहननसकि वकिलकातर्फको मानिसहरूले खाम्वालीहरू माथि हल्ला गर्‍या दुवै तर्फका मानिसको हल्ला हुँदा दुवैतर्फका ६ जाना मानिस मारिया औ ल्हासामा वस्न्या हाम्रा माहाजन रैयत गैह्रगरि ३।४ हजार जति थिया उनिहरूलाई पनि आगो पानि रसद अनाज ४ दिनसम्म वन्दगरि दिया हाम्रा वकिललाई निकालिदिया माल असवाफ लुट्या अघि दोसाधमा चावल नुन को वेपारका लेनदेन वापतमा सर्कारले नेपालका र भोटका अमिर उमराब २ थर बसि २ । ३ पल्ट वंन्दोवस्त भै लेखपढ भयाको पनी वन्दोवस्त भया माफिकन गरि वनदोवस्त कागजको उल्टाकाम गर्‍या हाम्रा सरहदका मानिसलाई पनि मान्र्या उन्हेहरूले अरु अरु वेजाइ विद्दत हामिमाथि गर्‍या को दोस्तहरूको माया मोह गन्र्या मेजर जारिज रम्जि सहेव वहादुर रजिडन्ट मुलुक नेपालका मार्फत जाहेर होला यस्तो विजाइ विद्दत् हूँदा पनी उस्मा उन्हेहरूले भनि पठायामाफिक मदोस्त मंजुर गर्‍याको थियो दोस्ति पनी वढायाको थियो. जब हाम्रा इलचि चिनवाट फिरि जाहा आयी पुग्या येस्तो वेजाई विद्दत् गर्‍याको सहन नसकि उन्हेरूले वेजाइ गर्‍याको कुरो तपसिलले लेखि ल्हासामा वस्याका अम्वालाई लेखिपठाया आफ्नु लडाञिको असवाफ रसद फौज पनि तयार गर्‍यौ हाम्रो घटिया चिताउन्या दुस्मनहरूले यो तयारि गर्‍या देखि नेपालको फौज सुखिम माथि चह्राइ गर्छ भनि हौरा गर्‍याको होला हाम्रो मनचित्तमा कैल्ह पनि नभयको यस्तो हौरा हाम्रो घटिया चाहनेहरूले गर्‍याको तपाइका कानमा पनि पुग्यो भन्या सुनिंछ तसअर्थ सुखीम भन्याको सर्कार कंपनी अंगे्रज वहादुरको तावे हो. उस्मा पनी सर्कार कंपनि अंग्रेज बहादुरको येस सर्कार माथि सवै तवरको मेहरवानि र कृपाको नजर छ सुखिमले पनी येस सर्कार माथिको केही विजाइ विद्दत् गर्‍यो को छैन येस्तो छदा छंदै सर्कार कंपनिको तावेमा रहेको सुखिममाथि लडाञी गर्नाको इरादा गर्‍यो भन्या राजनिति निसाफको बाटोे छोडि बाटामारा डाकुहरूले काम गर्‍याझै गर्‍यो तपाई कृपा गर्नेको हामि माथि येस्तो ठुलो मेहरबानि दुवैतर्फको दोस्तिको जरो यस्तो बढिया छदा छंदै ठूला सर्कार कंपनी अंग्रेज बहादुर अथवा उन्का तावेका राजाहरूसंग अहदको उल्टा गर्नु र उनसँग बराबरी गन्र्याको इरादा राख्नु कहा मेरा मगदुर छ त्यस्तो गर्नु साहै्र वेजाइन र नामुनासिव हुँछ येस्तो घटिया मन सुवा अघि पनी गर्‍याको छैन अव उप्रान्त पनि हरगीज सुखिमको मुलुकमा पैर दिन्या छैन. योकुरा तपाई कृपा गन्र्यालाई वेसगरि निश्चय रहोस जाहा संम्म इस दरवारलाई तपाइको मेहेरवानगी छ म गादिमा वस्यादेखी जसवेला तपाईले हुकुम दियाका काममा धन फौज मुलुक लगाई गर्नामा तयार छु भनि अघि अघि पनी मैले वोलेको हो अ‍ैल्हे अव उप्रांत पनी सोहि माफिक तयार पनी छ पछि पनी तयार हुँन्या छु जस्ता तरहले मेरो इज्जत र हुर्मत औ ममाथि दयाकरुणा. राखनु पन्र्या हो अवस्य तपाई कृपा गन्र्याले राखन्या छ. भन्या मेरा ठूलो आसरा भरोसा छ तस्कारनले तपाईका चित्तमा नचाहिन्या कुराको हौरा चलाउन्याहरूले गर्‍याको कुरा प्रतित र पत्यार नपरोस औ येस कुरामा तपाईका चित्तमा केहि संका रहन नजावस भनि यो सवै विस्तार लेख्या. अरू जोजो योस सर्कारको र भोटको वात वेहोरा पर्ला सवैवि तार रजिडन्ट साहेब मौसुफका मार्फत तपाईलाई जाहेर हुँदै रहला
मार्ग वदि ८ रोज २.
सम्वत् १९११ साल मिति मंसिर वदि ७, का दिन श्री प्राइम्मिनिष्टर साहेबबाट नजर भइ आफ्ना बाहुलीले नपुग्याको नभयाको ठाउँमा थपि काटी मञ्जुर गरि बक्सनुभयाको मस्यौदा





Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...