Sunday, September 22, 2019

राणाशासनको वृतान्त

राणाशासनको वृतान्तको २०औं श्रृँखला
माथवरसिंहलाई अब चाँडै ठेगान अगाउनु पर्छ अन्यथा अनर्थ हुन सक्छ भनी महारानीले यस विषयमा आफना विश्वासी भारदार गगनसिंह भण्डारी समेत संग गुप्त रुपमा सरसल्लाह गरिन् । यिनीहरुले पनि अब माथवरलाई राख्न ठीक पर्दैन भन्ने राय जाहेर गरे । तर माथवरसिंहलाई कसरी पन्छाउने भन्ने कुराको टुँगो अझै लाग्न सकेन । गगनसिंहले धेरै बेर सम्म विचार गरी यस्तो जोखिम काम सम्पन्न गर्न सक्ने व्यक्ति हाल जङगबहादुर मात्रै छन् र यिनी अहिले आफना मामा माथवर संग साह्रै नै कुँडिएका छन् यो काम यिनै बाट गराइनु पर्ला भनी जाहेर गरे । महारानीले स्वीकृति प्रदान गरे पछि मुलमानसिंह मार्फत महारानीको हुकुम जङगबहादुरका कानमा सुनाइयो । महारानीबाट हुकुम भए जस्तो सुकै काम भए पनि म गर्छु भनी जङगबहादुर अघि सरे । अब सबै जनाको सल्लाहअनुसार माथवरसिंह थापालाई राजदरवारमा बोलाएर यहीं नै काम तामेल गर्नुपर्छ भन्ने योजना तयार भयो । महारानीले तुरुन्तै काम तामेल गरिहाल्नु भन्ने हुकुम दिइन् र राजाले पनि यसमा स्वीकृति प्रदान गरे । यतिभएपछि महारानीलाई श२लको व्यथा लागेर च्यापेको छ र उहाँ पानी बाट झिकेको माछोजस्तै फत्रयाकफत्रयाक परिबक्सेको छ, अवस्था अत्यन्तै नाजुक छ, त्यसैले तुरुन्तै प्रधानमन्त्रीलाई बोलाएर ल्याउ भनी हुकुम भएकोले म हजुरलाई बोलाउन आएको हुँ भनी कुलमानसिंह १७ मे १८४५ इ.को राती हस्याङफस्याङ गर्दै माथवरको निवासमा पुगी शाही सन्देश सुनाए । महारानीलाई आराम नभएको खबर सुन्नासाथै तरवार भिरेर माथवर दरबार तर्फ जान पटुका कसीहाले । रातको समयमा हजुर एक्लै हतारिएर नजानुहोस, दुइचार जना अङरक्षकहरुलाई समेत साथमा लिएर जानुहोस भनी उनकी मुखिनीले निकै आग्रह गरिन् । तर आफनो हातमा तरवार भएपछि मलाई सितिमिति कसैले केही नाप्न सब्दैन भनी पत्निको कुरै नसुनी उनी हिँडिहाले । बागदरबारबाट राजमहल त्यति टाडा थिएन, त्यसैले केहीबेरमै उनी दरबारको ढोकामा पुगे ।
राजदरबारको चोकमा पुगेका प्रधानमन्त्री माथवरसिंहलाई देख्नासाथ व्दारपालले उनका हाजिरी माथि पुरयाइहाले । अनि एउटी नानी चोकमै आएर उनलाई स्वागत गरी माथि लगिन् । माथवरसिंह तिनको पछि लाग्दै माथि पुगी कोठाभित्र पाइला के हालेका थिए पर्दा पछाडी लुकेर बसेका जङबहादुरले राइफलले हानेका गोलीहरु यिनको शिर र छातीमा लाग्यो र यिनी त्यहीँ ढली छटपटाउन थाले । यिनी त्यहाँ पछारिनासाथ राजा राजेन्द्र उफ्रँदै त्यहाँ आए र माथवरसिंहलाई तथानाम गाली गर्दै यिनको अचेत शरीरमा लात्तीले हान्न थाले । त्यसै राति यिनको शवलाई कपडाले बेरेर तल चोकमा खँगारी पशुपतिघाटमा पठाएर जलाउन लगाइयो । बहालवाला प्रधानमन्त्रीको अन्तिम संस्कार हँुदा दिइनुपर्ने सामान्य सम्मान सम्म पनि यिनलाई दिइएन ।
आफनै मामाको हत्या गर्ने जङबहादुर साँखुल्ले हुँदै आफु यस्तो षडयन्त्रमा सामेल नरहेको प्रमाणित गर्न आफना भाइ रणोद्दीपसिंहलाई माथवरको घरमा दौडाएर भएको घटनाको बेहोरा उनको परिवारलाई सुनाएर जेजति चल सम्पत्ति लैजान सकिन्छ लिएर भागिहाल्नू भन्ने सन्देश पठाए । यो खबर पाउनासाथ माथवरका छोराहरुले आफुले बोक्न सके जति चल सम्पत्ति कम्मरमा बाँधेर उज्यालो नहुँदै कुलेलम ठोके । रणोद्दीप र बम बहादुर उनीहरुलाई चन्द्रागिरी पार गराएर फर्के । भोलिपल्ट मृतक माथवरसिंह थापाको सम्पूर्ण चल अचल सम्पत्ति जफत भयो ।
माथवरको हत्या भएपछि उनको तैनाथमा रहेको सेना भडकने पो हो कि भन्ने शङ्काले तीन पलटन फौज तुरुन्तै सामेल गराई राजदरवार वरिपरि निकै दिन सम्म राखे । राजा राजेन्द्रले एउटा घोषणा गरी माथवरसिंहलाई मैले आफैले गोली हानी हत्या गरेको हँु भने । तर उनको कुरा धेरै मानिसले पत्याएनन् । मुन्सीखानापार्फत ब्रिटिश रेजिडेन्टलाई पनि यही बेहोरा लेखी जानकारी गराइयो, तर रेजिडेन्टले यो कुरामा पत्यार गरेनन् । उनले आफना चरहरु मार्फत हत्याकाण्डको सबै बेहोरा बुझिसकेका थिए । केही टाठाबाठा मानिसले माथवरको हत्या सायद गगनसिंहले गरेका हुन् कि भन्ने शङका गरे ।
माथवरको सम्पत्ति जफत गर्ने कार्य पूरा भएपछि त्यस बखत पाल्पा गौंडाका तालुकवाला भएर बसेका यिनका भाई तिलबिक्रम थापालाइ पदच्युत गरी पक्राउ गरी सदरमा ल्याउनू भनी यहाँबाट एक कम्पनी फौज खटाइयो । तर यहाँबाट खटिएको फौज पाल्पा नपुग्दै तिलविक्रमले सबै कुरा थाहा पाइसकेछन् । उनले त्यहाँको मालको तीन साँचोमा रहेको सबै नगद र अन्य ढुकुटीहरुसमेतबाट सबै रकम झिकेर लिई कम्पनी सरकारको सरहदभित्र पसहिाले । यहाँ बाट गएको फौज पाल्पा पुग्दा सबै ढुकुटी खाली फेला परयो र फौज रित्तो हात फक्र्यो ।
साभारः राणाशासनको वृतान्त, प्रमोद शमसेर राणा

यस पछि यस पुस्तकमा जङबहादुर, रणोद्दीपसिंह, वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्यम शमशेर, र मोहन शमशेरका बारेमा बेग्ला बेग्लै अध्यायमा उल्लेख गरिएको छ । नेपालको विगत इतिहास षडयन्त्र र रक्तपात पूर्ण काण्डहरुले भरिएको छ । पढनु होला ।

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...