Sunday, September 15, 2019

राणा शासनको वृतान्त

राणा शासनको वृतान्त १९औं श्रृँखला
युवराज सुरेन्द्र दिन दिनै उद्दण्ड हुँदै गइरहेका थिए । बुबा राजा छँदाछँदै आफुलाई महाराजाधिराज भन्नु भनी उर्दी समेत दिदै हिडन थाले । छोराले यस्तो नचाहिदो उर्दी दिँदा पनि त्यस्तो उर्दीलाई बदर नगरी राजा राजेन्द्र मौन रहे । यसो हुँदा युवराज अरु उत्साहित भई बुबालाई करेपमा पारी मलाई सम्पूर्ण राजकीय अधिकार बक्सियोस् नत्र म सन्यासी भएर काशीतर्फ जान्छु भनी कोलाहल मच्चाउन थाले । पिताले यस्तो नचाहिँदो माँग पुरा गर्न सक्दिन भन्ने स्पष्ट जवाफ दिएपछि यिनी रन्केर केही फौज साथमा लिई तराईतर्फ लागे । माथवर पनि महारानी बाट राजकीय अधिकार झिकी युवराजको हातमा पार्न पाए आफुले आनन्दसँग राजकाज चलाउन पाउँथे भन्ने सोचाइमा थिए ।

यसरी फौज साथमा लिएर तराई तर्फ हिँडेका युवराज सदलबल कम्पनी सरकारको सरहदभित्र पसेका खण्डमा ब्रिटिस हरुले अर्कै अर्थ लगाउने हुन् भन्ने चिन्ता माथवरको मनमा परयो, अनि उनले राजा र महारानीलाई तराई तर्फ सवारी भई युवराजलाई राजधानीमा फिर्ता ल्याइबक्सनुपरो भनी जाहेर गरे । माथवरको कुरा सुने पछि युवराजलाई लिन जान्छौँ भनी राजा रानी दुवै जना तराई तर्फ जान राजी भए । राजा रानीको सवारी यहाँबाट चलेको केही दिन पछि हेटौँडाको ढुकुवाबासमा शाही क्याम्प खडा गरी त्यही मुकाम भयो । माथवरसिंह पनि ठूलो सैन्यदल लिएर सवारी क्याम्पमा पुगे ।

माथवरले राजालाई करेपमा पारी झुक्याएर २५ नवेम्बर १८४४ इ. का दिन आफनो समग्र राजकीय अधिकार युवराजलाई दिएँ भन्ने कागजमा दस्तखत गराए । यस्तो अधिकार पत्रमा दस्तखत गरिबक्सन हुन्न कि भनी राजालाई केही वफादार अधिकारीहरुले त्यस बखत सम्झाउने चेष्टा गरेका थिए । उनलाई सतर्क गराउन खोज्ने अठार जना अधिकारीहरुलाई माथवर सिंहले पक्राउ गरी मृत्यु दण्ड दिए । यति गरे पछि युवराजलाई साथमा लिएर उनी सदलबल कामाण्डौतर्फ हिँडिहाले । राजधानी पुगेपछि युवराजले राजकीय अधिकार पाएको उपलक्ष्यमा हर्षबढाइँ र सिन्दुरजात्रा समेत गराए । त्यो उत्सवमा ब्रिटिश रेजिडेन्ट हेनरी लरेन्सलाई निमन्त्रणा पठाएको थियो । एउटा राजाले गद्दी त्याग नगरेसम्म युवराज गद्दीमा चढेर सिन्दुरजात्रा गर्न कसरी मिल्छ भन्ने जिकिर गर्दै लरेन्स त्यो उत्सवमा उपस्थित भएनन् ।

राजा र महारानी दुवै जनाले माथवरसिंह थापाको भित्री ईच्छा के रहेछ भन्ने राम्रोसंग बुुझे । अब माथवरसिंह थापालाई नहटाई केही कामकुरा हुन सक्दैन भन्ने महारानीले देखिन् । तर झण्डै नौ हजारजति सैनिक आफनो मातहतमा राखेर बसेका मुख्तियारलाई सितिमिति त्यसै हटाउन सकिेने अवस्था पनि थिएन । यिनलाई ठाडो आदेश दिएर निकाल्न खोज्दा आपनो गद्दी पो जाने हो कि भन्ने खतरा पनि थियो । त्यसै कारण कुनै षडयन्त्रकै सहारा लिनुपर्ने अवस्था महारानीका सामु आइपरयो । षडयन्त्र नगरी माथवर सिंहलाई पन्छाउन सकिदैन भन्ने कुरा महारानी र राजा समेतले राम्रो संग बुझे ।
साभारः प्रमोदशमशेर राणा, राणाशासनको वृतान्त

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...