Saturday, September 14, 2019

बाह्र मगरातमा शाही कटक



इतिहास : बाह्र मगरातमा शाही कटक
कोसेली, भाद्र २८, २०७६यादव देवकोटा
मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ 
मगरात
तत्कालीन ‘बाह्रथरे’ मगरहरूको इलाकाका रूपमा परिचित बाह्र मगरातभित्र अर्घा, खाँची, गुल्मी, इस्मा, मुसीकोट, घिरिङ, बल्ढेङगढी, रुद्रपुरगढी, देउचुली, तनहाङ/तनु–ह्युला’ (तनहुँ), पर्वत, गलकोट, रिसिङ, घिरिङ, भीरकोट, सतहुँ, गरहुँ, पैयुँ, ढोर, कास्की, ल्यहे–मुऊ–ह्युला (लमजुङ), काहुँ, लिगलिग, गोर्खाकोट, बुङकोट, बाह्राकोट (बाहकोट), तार्घाकोट (ताकुकोट), मकवानपुर लगायतका रैथाने सामन्ती इलाका आबद्ध थियो कतै कविला राज्यको रूपमा कतै रजौटा स्थानीय सामन्तका रूपमा आफ्नै सिक्का नभएको, स्थायी सेना पनि नभएको

मग्वर मगरातको प्राचीन नाम हो मगरहरूको मूलथलो या मगरात मर्स्याङ्दी नदीदेखि प्यूठानसम्मको प्रदेशलाई भनिन्थ्यो (पन्त/शर्मा–द टु अर्लिएस्ट कपरप्लेट इन्स्क्रिप्सन्स फ्रम नेपाल, मिसेनेन्स पेपर, पृ. ६) निसी–भुजीलाई सीमा मानेर त्यस पश्चिमको भेग अठार मगरात र पूर्वको भेग बाह्र दर्लाम अर्थत् बाह्र मगरातका रूपमा परिचित थियो अठार मगरात (राप्ती) मा पाङ (खाम) बाह्र मगरात (गण्डकी) मा ढुट मगर भाषा बोल्ने गरिन्छ (बुढामगर, भोजविक्रम–मगर जातिको राजनीतिक इतिहास, पृ. ६९/७३)

त्यही बाह्र मगरातका विभिन्न राज्यहरू सुरुमा रिडी–भीरकोटबाट अस्तित्वमा देखिने आरम्भिक समयमा मगर नै रहेका भनिएका र पछि खान/साही/शाहको पदवी धारण गरी ठकुरी कहलिन गएकाहरूले एकपछि अर्को गर्दै निल्न पुगे भीरकोट, सतहुँ, गरहुँ, बल्ढेङ, किहुँ, रामकोटजस्ता अनेकन मगर प्रशासित इलाका बिनाकुनै लडाइँ खानहरूको हातमा गएको देखिन्छ तर, जहाँ गुरुङहरूको इलाका थियो, त्यहाँ भने खानहरूले चर्को भिडन्त बेहोर्नुपरेको थियो

त्यसरी बाह्र मगरातका मगर राज्यहरूमा शाही कटकको सिलसिला गोर्खा माझकोटमा आइपुग्दा भने भीषण भिडन्तमा परिणत हुन्छ पन्ध्र दिन लामो निरन्तरको प्रतिवादपछि बाह्र मगरातको अन्तिम मगर राज्य गोर्खा माझकोट द्रव्य शाहको हातमा जान्छ मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ

लसर्घादेखि गोर्खाकोटसम्म
पश्चिमको खस राज्यमा स–साना राजा–रजौटाको स्वतन्त्र अस्तित्व देखिन थालेको बेला खस राज्यकै सामन्त इलाकाका सामन्त गज ब्रम्हका छोरा धर्म पालले विसं १४८० तिर रिब्दीकोट नामक स्वतन्त्र राज्यको स्थापना गरेका थिए यसपछि कालीगण्डकी आसपासका पहाडी भेगमा अर्घा, खाँची, धुरकोट, मुसिकोट, इस्मा, पर्वत पनि स्वतन्त्र रियासतका रूपमा स्थापित हुन पुगे
रिब्दीकोटको सेन राज्यको मुकाम रुद्र सेनले पाल्पा सारेका थिए (खनाल, मोहनप्रसाद–सेनराज्यको राजनीतिक इतिहास, पृ. १९) रिब्दीकोट नजिक बल्ढेङगढीमा मगरहरूको बलियो राज्य अस्तित्वमै थियो गण्डकी प्रदेशमा सेन राज्य स्थापना भएको समयकै हाराहारीमा त्यही प्रान्तको केही उत्तरी ेकमा ‘खान’ राज्यको स्थापना भएको थियो खानहरूले पूर्वतिर बढ्दै गएर गोर्खासम्म पुग्दा आठ राज्य स्थापना गरेका थिए यी राज्यलाई आठ टीका पनि भनिन्थ्यो

विसं १५०० को आसपासमा लसर्घामा जैन (जैत) ‘खाँन/खाँण’ बाट आजका शाहहरूको स्थानीय जरो उठेको विभिन्न समयमा लेखाइएका वंशावलीहरूमा उल्लेख भएको पाइन्छ केही वर्षपछि आँधीखोलाको दायाँ किनाराको खिलुङमा जमिन आवाद गराई भीरकोट ठकुराईको जग बसाएको देखिन्छ (आचार्य बाबुराम–श्री बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (), पृ. ६)

गोरखा राजवंशावलीअनुसार जैन खानका छोरा सूर्यखानले लसर्घाबाट बढेर खिलुङमा राज्य जमाए उनका जेठा छोरा कर्हान्चा (खाञ्चा) ले खिलुङ छाडेर भीरकोटमा कान्छा छोरा मिर्हन्चा (मिचा) ले नुवाकोटमा रजाइँ कायम गरे रैथाने मगर बोलीमा कर्हान्चा भनेको जेठा मिर्हन्चा भनेको कान्छा हो शाहवंशीहरू चित्तौरबाट आएका राजपूतहरू नै थिए भने उनीहरूले आफ्ना छोराहरूलाई रैथाने मगरबोलीमा जेठा र कान्छा राख्ने बाध्यतै के थियो र?

कर्हान्चाका सन्तानले भीरकोटबाट बढेर गरहुँ र ढोरमा रजाइँ कायम गरे मिर्हन्चा आफ्ना छोरा लिएर लगभग विसं १५१० तिर बाह्रदर्लामको नवकोट पुगे बहदर्लाम भनेको मगरको बस्ती हो उनका जेठा छोरा भक्ति खान आफ्नो मूलराज्यमा रहिरहे पनि कान्छा विचित्र खान भने आँधीखोला आसपास रहेका मगर आवादीहरूबाट मात्र सन्तुष्ट नभई त्यहाँबाट उत्तरतर्फ आवाद भएर रहेका बस्तीहरू नियन्त्रणमा लिई स्वतन्त्र राज्यको गठन गर्न पुगे यही राज्य नै पछि आएर कास्की राज्यको नामले प्रसिद्ध हुन पुग्यो (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त (२), पृ. ८९)

विचित्र खानपछि जगती खानले घलेमा रहेको घलेहरूको राज्य (क्होल, सिक्लिस, अर्मलाकोट) स्थानीय शासक राकसे गुरुङको नायकत्वबाट खोसेर खानहरूको कास्की राज्यमा सामेल गराएका थिए (मेचीदेखि महाकाली, भाग ३, पृ. ४४५) कास्की राज्यको विस्तार गरी कुलको इज्जत बढाउन सकेकाले उनले ‘कुलमण्डन’ नाम धारण गरेका थिए, जगतीको ठाउँमा कुलमण्डलले पौराणिककालीन कुण्डिन देशका मण्डन राजा नलसँग तुलना गरी कुण्डिन मण्डन भन्दाभन्दै उनको कुलमण्डन हुन गएको देखिन्छ (शर्मा, गोपीनाथ–चौबीसी राज्यको इतिहास, पृ. ३२)

उनका सात भाइ छोरा थिए जेठा नरराज खान कास्कीको राजा रहे पहिले कालु साही पछि जसबम (यशोब्रह्म) साही लमजुङ लगेर राजा थापिए तिनै नरराज खानले ‘साही’ उपाधि प्रयोग गरेपछि त्यसैको सिकोमा यशोब्रह्मले पनि साही उपाधि धारण गरे यशोब्रह्मका जेठा छोरा नरहरि साही लमजुङकै राजा रहे भने उनका कान्छा द्रव्य साहीलाई उनले मर्स्याङ्दी तथा चेपे नदीभन्दा दक्षिणपूर्वमा रहेको मगरातको रागिनासकोटको प्रशासक बनाएर पठाएका थिए (आचार्य, उही (२), पृ. ९०)

तिनै द्रव्य शाहले विसं १५१५ मा रैथाने मगर प्रशासित लिगलिगकोट कब्जा गरे भने विसं १६१६ भदौ २५ मा हाल गोरखा दरबार रहेको तत्कालीन माझकोटका मानसिङ खड्गालाई पराजित गरी बाह्र मगरातको अन्तिम मगर राज्य हडपेर साही धुन्य फहराए योसँगै बाह्र मगरातमा रहेको मगर राज्यमाथिको साही कटकले विश्राम लियो र उप्रान्त यो तमु, तामाङ, नेवार, किराँत र अन्य रैथाने राज्य निलेर एकात्मक साही राज्यको आकार बढाउन अघि बढ्यो

फलाम काट्न फलाम
गोर्खा भेकमा पछिल्लो समय खस राज्य र पाल्पासहितका राज्यहरूको विस्तार र विघटनको क्रममा अघि बढ्दै, बसाइ सर्दै हिँडेका पश्चिमी पहाडी भेगका ब्राह्मण, क्षत्री, दलितहरूको आवादी सघन हुन गएको थियो निश्चित संस्कार, संस्कृतिबाट संस्कारित ब्राह्मण, क्षत्रीहरूले रैथाने संस्कृति, परिशीलनमा अभ्यस्त गोर्खा भेकमा आफूलाई असहज र असुरक्षित महसुस गरिरहेको थियो

आगन्तकु बाहुन, क्षत्रीको बढ्दो आकांक्षा, बल र संख्यालाई रैथाने मगरहरूले थेग्न नसक्ने अवस्था आएपछि ती दुई समुदायबीच अन्तरविरोध तीव्र हुन गएको थियो पश्चिमबाट अनेकन आकांक्षा बढ्दो आवश्यकता थेग्न पूर्व हान्निएको नवआगन्तुक खसहरूको हूलको महत्त्वाकांक्षा र आवश्यकताको सम्बोधन परम्परागत सामाजिक रीति थामेर बसेको प्रशासक, सामन्तहरूसँग थिएन

बग्ने पानीजस्तै चहार्दै, डुल्दै, लड्दैभिड्दै हिँडेका खस, पर्वत, इस्मा, पाल्पालगायतबाट गोर्खामा केन्द्रीकृत हुन गएका क्षत्रिय र तिनका बिचारी ब्राह्मणको बुद्धि, बल, तिक्डमलाई सामना गर्न सक्ने अवस्थामा एकै ठाउँ जमेर बसेको रैथाने मगर समुदाय थिएन नै
उसै पनि सामन्ती प्रथा धानेर बसेका मगर प्रशासकसँग असन्तुष्ट रैथाने मगर गंगारामलगायतलाई भड्काएर फलाम काट्न फलाममै धार साँध्ने कुटिल चलाखी मगरविरोधीहरूले अपनाएका थिए
भुसुन्डीखोला पानीढलो, चेपे पानीढलो र दरौंदी पानीढलोबीचमा आवादी चलाएर बसेका घले/खड्गा मगरहरू र राना, वुषाल, मास्की, पुलामीमगरहरूबीच जारी तीव्र अन्तरविरोधले असन्तुष्ट मगरसँग असुरक्षित र असन्तुष्टिको भुंग्रोमा परेको क्षत्री, ब्राह्मणहरूको हातेमालो भएपछि त्यसको मार खेप्न रैथाने घले/खड्गामगरको तागत पर्याप्त भएन
पाल्पाबाट तत्कालीन छोप्राक बेलबासमा बसेका गणेश पाँडे, इस्माबाट आएका नारायणदास अर्याल, अर्घाबाट आएका सर्वेश्वर खनाल र भगीरथ पन्थ, सल्यानबाट आएका केशव बोहराबीच मोर्चावन्दी भएपछि यो बाहिरिया समूहले रैथाने मगरहरूलाई आफ्नो शासक मान्न अस्वीकार गर्‍यो अनेक कारणले मगर शासकसँग असन्तुष्ट गंगाराम पनि त्यही समूहमा मिसिएपछि रागिनासको प्रशासन चलाई बसेका भीरकोटे खान/साही खलकका द्रव्यलाई अघि सारेर आफ्नो तुष्टि पूरा गर्ने दाउमा यो समूह लाग्यो

मगरले नमानेको दसैं
विसं १६१५ को दसैंमा दौडमा सामेल भई आफ्नो राजा छान्न सामेल घलेमगरहरूलाई गिंडेर द्रव्य शाहले लिगलिगकोट कब्जा गरेको मूलधारको इतिहासकारहरूले उल्लेख गरेको पाइन्छ तर द्रव्य शाहले लिगलिगमा विजयादशमीको दिनमा राजाको दौडमा सामेल घलेहरू मारेर लिगलिग दख्खल गरेको कुराचाहिँ किन पनि मिल्दैन भने घलेहरू तिब्बतीकरण भएको बौद्ध धर्म मतावलम्बी थिए
त्यसैले तिनलाई हिन्दूहरूको विजयादशमी कुनै चाड, उत्सवको दिन थिएन नै (आचार्य, उही (१), पृ. ४३) रैथाने अनुश्रुतिअनुसार पाल्पाली सेन राज्य विभाजित भएपछि विसं १६०५ पछिका दिनहरूमा रैथाने दलसुर घलेमगर प्रशासक छँदा अनेक विवाद उब्जिएपछि उनले हरेक चैत्र पूर्णिमाको दिन दौडमार्फत आफ्नो शासक छान्ने रीति छानेकामा एक जना घले लगातार बाह्र वर्षदेखि दौडमा प्रथम भई शासक बन्दै आएका थिए
उसै पनि त्यसबखत, बल हुनेहरू नै आफ्नो इलाकाको रक्षार्थ सामर्थ्यवान मानिने समय थियो र घलेहरूको अभ्यास त्यही ‘तिघ्रे’ तागतको मापन गर्ने एउटा हिस्सा थियो द्रव्य शाहीले लिगलिग महविलथोक तल तिघ्रे गणतन्त्रको अभ्यास गर्दै दौडमा भाग लिइरहेका पाँच घलेहरू काटेर लिगलिगमा ‘पाखुरे’ एकात्मक साहीतन्त्रको धुन्य फहराएका थिए

समावेशी फौज
त्यसरी लिगलिग हान्न आउँदा द्रव्य शाहले साथमा केही लमजुङे गुरुङहरू पनि ल्याएका थिए, जसलाई उनले पछि उमरा पद दिएर राखेका थिए राम साहीको पालासम्म वार्पाक, स्यार्तान, अठार सयखोला, सल्यान, वस्याहारी, खरी, मैधी, धादिङ आदि राज्यहरू गोर्खामा गाभिएपछि गोर्खामा मगर, गुरुङ, घले, तामाङहरूको संख्या बढ्न गयो
लिगलिगकोट, माझकोट, उपल्लोकोट, तल्लोकोट, सिह्रानचोक, अजिरगढमा खान/साही दखलपछि गोर्खालीसँग पहिल्यैदेखि मगर, बराम, क्षत्री, ब्राह्मण, माझी, कुमाल, ‘दलित’, गुरुङहरूको शक्ति एकीकृत भएकै थियो उसो , द्रव्य शाहलाई रागिनासबाट बोकेर गोर्खा ल्याउने काम बरामहरूले गरेका थिए (बराम र छन्त्याल–बराम जातिको चिनारी, पृ. २८) गोरखाका कुमालहरूले गोर्खा राज्य विस्तारको क्रममा दौडाहाको रूपमा परिचालित भई सन्देश सम्प्रेषकको भूमिका निर्वाह गरेका थिए (मुखिया, बाघवीर–कुमाल जातिको अध्ययन, पृ २९)
यसरी गोर्खाले आफ्नो आकार बढाउँदै जाँदा देशको सबैभन्दा लडाकु शक्ति एउटै सैन्य क्याम्पमा एकीकृत भयो त्यसले निश्चित एकल जातीय बनोटमा रहेका राज्यका सैन्यहरूलाई कहीँ पनि टिकेर अडिन दिएन काठमाडौं उपत्यकाका राजाहरूले भाडामा ल्याएका नगरकोटी गुहारमा बेलाइएका शक्तिशाली बाह्य अंग्रेज फौजले समेत उपत्यकाको राज्य गोर्खाली तारोमा परेपछि एक दशकभन्दा बढी समय थेग्न सकेन
कोट र थुमैपिच्छेका भुरे टाकुरे राज्य र सामन्तहरू रिझाउँदा रिझाउँदै जनतालाई त्यो झ्याउलो अत्यासलाग्दो काउसो बन्न गएको थियो त्यसमाथि त्यस्ता सामन्तहरूको तीव्रत्तर परिवर्तनले जनतामा स्थिर र बलियो राज्यको आवश्यकता खड्किन गएको थियो बढ्दो बसाइसराइ पश्चिमबाट पूर्व बत्तिएको नवआगन्तुक चेतनासँगको संसर्गले समाजको परम्परागत शासकीय चेतनासँग तीव्र अन्तरविरोध बढ्न गएको थियो
समाज सामूहिक जातीय संरचनामा बदलिएको थियो भने रैथाने सत्तासीन फौज एकलजातीय स्वरूपमा घिडघिडाएर रहेको थियो परिणामस्वरूप, सामूहिक बुद्धि र तागत मिसाएर खनिएपछि त्यस्ता एकल जातीय फौजहरू समावेशी गोर्खाली फौजको सामु कहीं पनि टिक्न सकेन बरु, कीर्तिपुरकै फौजमा काठमाडौं, पाटन, भक्तपुरको बहुल चरित्रको फौजी तागत जुटुन्जेल त्यसले गोर्खाली हमलाको सानदार प्रतिवाद जमाइराखेको थियो
तर जब, गोर्खालीहरूको फुटाउने र त्यही मौकामा मार हान्ने रणनीति अघि बढ्यो, उपत्यकाको एकलजातीय फौजले गोर्खालीहरूको बहुजातीय फौजसँग टाउको उठाउने मौकासमेत पाएन बरु, तुलनात्मक तवरले समावेशी रहेको लमजुङे फौजले भने गोर्खालीहरूलाई जित्दै पूर्वोत्तर भेग पुगिसक्दा पनि छेवैमा सधैंभर हैरान खेलाइरह्यो

एकीकृत गोर्खाली फौजले अंग्रेज र मुसलमानी फौजको हुंकारलाई समेत सिन्धुली र मकवानपुरमा निचोरेपछि आक्रामक रूपमा विस्तारमा अघि बढ्यो गोर्खा राज्यले जे–जति भुरे–टाकुरे राज्य आफूमा समाहित गर्‍यो, कालान्तरमा गोर्खा विस्तार अभियानको परिणामले एउटा भीमकाय देशको स्वरूप हासिल गर्‍यो र नेपालको रूपमा अस्तित्वको झन्डा फहरायो विसं १८७२ को अंग्रेजसँग विभिन्न मोर्चाहरूमा नेपालले बेहोरेको महाभिडन्तपछि खुम्चिएको राज्य विस्तारको नेपाली मनोबल आजको भूगोलको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान जोगाउने अविराम प्रयत्नहरूमा विघटित भएर बसेको छ
.....

त्यसरी एकल चरित्रको फौजी र राजकीय स्वरूपको कमजोरीमाथि सामूहिक र समावेशी तागत संकेन्द्रित गरेर आफूलाई श्रेष्ठ सावित गरेको समाजको नेतृत्व गरेको गोर्खाली शाहवंशलाई महेन्द्रको पालामा आएर एकल भाषा, एकल भेष, एकल चिन्तनमा लागेर एकात्मकतामा केन्द्रित हुँदा त्यसले समाजमा बढिरहेको बहुल विचार, बहुल चेतना र सामाजिक विविधताका बहुल रङको बढ्दो यथार्थसँग सामना गर्न नसक्ने अवस्थामा पुर्‍यायो
सामाजिक बहुलता र निरंकुश एकात्मकताबीचको निर्णायक संघर्षमा पाँच सय वर्षअघि आफैंले अरूलाई घुँडा टेकाएको यथार्थ भुल्दा महेन्द्र निर्मित एकल चेतनाको सत्ता भाष्य र त्यसको आडमा बहुलता र विविधताको घाँटी अठ्याउन अग्रसर राजतन्त्र समाजमा विकसित नयाँ आवश्यकता, सामाजिक सम्बन्धहरूको निर्णायक संघर्षमा टिक्न सकेन र सधैंका लागि बिदा भयो जसरी, हिजोका एकलजातीय सत्ताहरू बहुलजातीय सामाजिक यथार्थहरूका कारण ढलेको थियो, उसैगरि सामाजिक बहुल चिन्तनको यथार्थले राजतन्त्रात्मक एकल चिन्तनलाई बिदाइ गरिदियो

गोर्खाकोटमा शाहीे कटक
लिगलिग दखल गरेको वर्षदिन नपुग्दै आफ्ना सेनामेना लिएर द्रव्य माझकोट (हाल गोर्खा दरबार रहेको स्थान) हान्न पुगेका थिए पन्ध्र दिन लामो फौजी भिडन्तपछि सोह्रौं दिनमा खड्गा राजा मारिएपछि द्रव्य साहीलाई नारायणदास अर्यालले विसं १६१६ भदौ २५ मा गोर्खाको ‘राजा’ ा रूपमा अभिषेक दिएका थिए त्यसरी द्रव्य साहीले जोडेको त्यही गोर्खा माझकोटको राज्य उनकै समयमा सिह्रानचोक, अजिरकोटमा विजयको शंखनाद गर्न पुगिसकेको थियो
नरभूपाल साहको पालासम्म अनेकन पटक जित्दै, गुमाउँदै फेरि जित्दै गोर्खा बारपाक, सल्यान, खरी, मैधी, धादिङ, सिम्जुङ, मझुवा, स्यार्तान, अठार सयखोला, बसेरी, चरङ्गे, निभारचोक, फिर्केप, कटुञ्जे कब्जा गरी त्रिशूली नदीमा सीमामा गोरखाको साँध लगाउन पुगेको थियो नरभूपालकै पालामा त्रिशूलीमा खुँडा पखालेर नुवाकोटमाथि जाईकटक गरे पनि कठमाडौंको झिटीकटकमा पराजित भएपछि पृथ्वीनारायणको शासनारम्भ हुनुअघि गोर्खा १२ हजार घरधुरी भएको राज्यका रूपमा उपस्थित थियो

मुसलमान कि मगर?
नेपालका विभिन्न भेग हुँदै कालान्तरमा केन्द्रीय नेपालमा शासक बन्न पुगेका शाहहरूको पुर्खा को थिए भन्ने विवादित बहसहरू सर्वथा नौलो होइन कतिले उनीहरूलाई खान उपाधि जोडेको र शाहका पुर्खाहरूमा खांचा र मिंचाजस्ता नामहरू देखिएको कारण उनीहरू मुसलमान थिए भन्ने अड्कल काटेको देखिन्छ
तर, यो तर्क खास वलशाली देखिँदैन बरु शाहहरूको पुर्ख्यौली मगर थियो भन्ने तथ्यहरूको फेहरिस्त भने प्रशस्तै भेटिन्छन् गण्डकी क्षेत्रका मगरहरूले निकै उन्नति गरेर बाह्र खान (राजाहरू) को संघ खडा गरी ‘बाह्र मगरात’ नामको राज्य खडा गरेका थिए यी सबै स्थानमा आ–आफ्ना खान (राजा) थिए तर पनि भीरकोटका खान (राजा) लाई बडाखानको मनितो थियो (शर्मा, उही, पृ. ४)

लसर्घाको आलमदेवी जैनखानको दुर्ग हो दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने गरिन्छ विजयध्वजलाई स्थानीय भाषामा ‘आलम’ भन्ने गरिन्छ त्यसैकारण दुर्गा भवानीलाई आलमदेवी भन्ने गरिन्छ आलमदेवी आठटीकाका खान एवं साही/शाह वंशका कुलदेवी हुन् आलमदेवीको पूजा विवाह नभएका मास्की रानामगरबाट हुने गर्छ (गुरुङ, जगमान– गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ. १०२) काठमाडौंमा गद्दीनसीन छउन्जेल राजदरबारबाट वर्षैपिच्छे एक असर्फी आलमदेवीलाई जाने गर्थ्यो (शर्मा, उही, पृ. ९)

पाल्पाली सेनवंशी अभय राणक (मगर) ले सेनले मकवानपुरे गजसिंह नामका मगर राजाको छोरी कान्तिमतीसँग बिहे गरेको सेनहरूको वंशावलीमा उल्लेख भएको पाइन्छ (घिमिरे, विष्णुप्रसाद–पाल्पा राज्यको इतिहास, भाग २, पृ. १५) अभय कान्तिमतिका तेह्रौं पुस्ताका थिए मुकुन्द सेन मुकुन्द सेनले पनि पारकोटका मगर राजा (?) की छोरी महादेवी सुवर्णमालासँग बिहे गरेका थिए
तिनैबाट जन्मेका माणिक्य सेन पाल्पाली गद्दीमा बसेका थिए (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ. १९)
सिक्किमबाट लेखिएका पुस्तकमा पनि सेनवंशी राजाहरूलाई मगर राजा भनेर सम्बोधन गरेको देखिन्छ (प्रधान, कुमार–एक प्रहर, पृ. ६) केशर पुस्तकालयमा रहेको हस्तलिखित ग्रन्थ ‘नारदस्मृति’ मा सेनवंशी राजा मुकुन्द सेनलाई मगर राजा उल्लेख भएको पाइन्छ काठमाडौंका मल्ल राजाहरूले सत्रौं शताब्दीको पहिलो दशकमा गरेको मैत्री सहमतिमा पाल्पाली मगरहरूको आक्रमणबाट बच्न एक हुनुपर्ने उल्लेख भएको पाइन्छ

पृथ्वीनारायणको मावली पाल्पाली सेन राज्य थियो उनकी माता कौशल्यावती पाल्पाली राजा गन्धर्व सेनकी छोरी थिइन् विभिन्न वंशावली, टिपोट, बिहेवारीले मगर देखाएका पाल्पाली सेनहरूसँग गोर्खाली/भीरकोटे खान/शाहहरूको बिहेवारी चल्नु रोचक मात्रै छैन, त्यसको गहनताले शाहवंशको खास जरो खोज्न सघाउँछ पृथ्वीनारायण आफैंले ‘मगरातको राजा मै हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ (योगी आचार्य, दिव्य उपदेश, पृ. २८)

खान/शाह ठकुरीहरूका निकटतम सहयोगीको कोटीमा आउने मगरहरूलाई ठकुरीका मावली खलक पनि भनिएको लोकाख्यानहरू प्रचलित छन् (सुवेदी, राजाराम–कास्की राज्यको इतिहास, पृ. ८७) भीरकोटे ‘खान’ बाट विस्तरित हुँदै साही/शाह भएकाहरूको कुलपूजा हुने आलमदेवीमा मास्की रानामगर पुजारी रहनु उत्तिकै रोचक विरोधाभास देखिन्छ कुनै पनि वंशको कुलपूजा हुने मन्दिरमा आफ्नै वंशको मात्रै पुजारी रहने हरेक परिवार, गोत्र, वंशहरूको सर्वमान्य प्रचलन हेर्ने हो भने खान/शाहहरूको कुलपूजाको मन्दिरमा मात्रै किन मगर पुजारी रहे भन्ने सवालहरूले शाहहरूको वंशीय नश्लको यथार्थ पर्गेल्न मद्दत गर्छ

शाह/खान/सेनहरूमा प्रचलित एकथरी अनुश्रुति अनुसार भूपालजी रावले वाँगे (च्वाँचे) पूजा गरी च्वाँचे (सुँगुर) को मासु खाएको हुनाले अरू भाइले ‘तिमीले अभक्ष्य खायौ, अब तिमी मास्सियौ’ भनेपछि उनी अरू भाइसँग छुट्टिएको र रैथाने मगरकी छोरी बिहे गरेर पूजा चलाएर बसेका थिए दसैंको बेलामा आलमदेवीमा अहिले पनि सुँगुर बलि दिने गरिन्छ नेपालका शाह राजाहरूले पनि राणाकालको मध्यान्तरसम्म आलमदेवीमा मगरहरूले जसरी नै सुँगुर र रक्सी चढाउने गर्थे पछिबाट मात्रै सुँगुरको ठाउँमा शाह राजाहरूले बँदेल बलि दिन थालेको देखिन्छ

लसर्घा आलमदेवीमा मात्रै होइन मगरहरूलाई शाहवंशीय राजतन्त्रले सबैतिर आफ्नै साथमा राखेको र आफ्ना कुलदेवी र इष्टदेवीहरूको मन्दिरको पुजारी बनाएको देखिन्छ खान/शाहहरूको प्रारम्भिक थलो मानिएको भीरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारु, नुवाकोटमा सारु, सतहुँकोटमा पुलामी, सराङकोटमा चुमी थापा, ढोरमा दर्लामी, लमजुङमा दूधराना, गोर्खा कालिकामा भुसाल/मास्की, सल्यानकोट धादिङमा सारु/रानामगरहरू पुजारी रहेको देखिन्छ यसले शाहहरूको वंशीय नशो मगरहरूतिरै केन्द्रित गर्न बल पुर्‍याउँछ

खान/साही/साह/शाह
राम शाहले चित्रविलासलाई लेख्न लगाएको ‘राजवंशावली’ ले शाहहरूको पुर्ख्यौली चित्तौरगढमा जोड्न पुगेको देखिन्छ तर गोर्खाको राजवंश चन्द्रवंशी र चित्तौरको रावलवंश सूर्यवंशी भएकाले साहीहरूलाई चित्तौरमा जोड्ने राम शाहको प्रयास उदांगिएपछि त्यसलाई टाल्न धरणीधर (टिप्पणीकार?) लाई ‘गोरक्ष वंशावली’ लेख्न लगाई सच्याउन खोजेको देखिन्छ
यसपटक भने साहीवंशलाई सूर्यवंशी राजा अयतिवुमदेखि उठाएर सूर्यवंशी देखाउन खोजिएको छ राजेन्द्रविक्रमको पालामा लेखाइएको ‘गोरक्षधीस–चम्पु’ मा गोर्खाली शाह वंशलाई चित्तौरका राणावंश सावित गर्ने प्रयास गराइएको राजेन्द्रकै पालामा शेरमान सिंह उनका भाइ बुद्धिमान सिंहले लेखेको ‘जीवनचरित्र’ ‘गोर्खा वंशावली’ ले पनि शाह वंशावलीलाई चित्तौरका ऋषिराज भट्टारक राणाजी रावमा जोड्न पुगेको छ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग १ का विभिन्न पृष्ठहरू)
.....

राजा/सरदार/बडाप्रतिष्ठित व्यक्तिको अर्थमा व्यवहार हुने तुर्की भाषाको ‘खान’ उपाधि भिरेको देखिन्छ जैनले। जुम्लाका कल्याल राजाहरूले सुरुमा राई र पछि साहीका रूपमा धारण गरेको राजपदवी कास्कीका जगति या नरराज खानले अनुकरण गरेको देखिन्छ राम शाहको पालामा लेखाइएका पुस्तकमा साही साह दुवै प्रयोग भएको देखिन्छ त्यस समयमा दिल्लीमा जहाँगीर शाह सत्तासीन रहेकाले त्यसैको सिकोमा जुम्ली ‘साही’ को ठाउँमा दिल्ली ‘साह’ लेखाउन रहर गरेको बुझ्न सकिन्छ तर साहीको प्रयोग भने पृथ्वीनारायणको समयसम्म सर्दै आइरहेकै देखिन्छ
विसं १८११ मा पृथ्वीनारायणले ढलाएको मोहरमा उनले साही उपाधि नै राखेका छन् उनकै समयकालमा अविवाहितापट्टिका सन्तानलाई ‘साही’ र विवाहितापट्टिका सन्तानलाई ‘साह’ उपाधि व्यवहार गर्ने प्रवृत्ति देखिन्छ
शूर र वीरलाई जनाउन तुर्की भाषामा प्रयोग गरिने ‘बहादुर’ उपाधि पाल्पाली मुकुन्द सेन (द्वितीय) ले प्रयोग गरेकाले त्यसैको सिकोमा हुन सक्छ तरबार र लडाइँको अर्थमा प्रयोग हुने फारसीको ‘शम्शीर’ र ‘जगं’ शब्दका साथमा ‘बहादुर’ जोडेर ‘शमशेर जंगबहादुर’ को उपाधि धारण गरेका थिए पृथ्वीनारयणले –आचार्य, उही(१), पृ. ३९–४१) त्रिभुवनको पालामा फारसीको शुद्ध रूप ‘शाह’ बिग्रेर ‘साह’ बन्न गएको व्याख्या गराई त्यसपछिका व्यवहारमा ‘शाह’ उपाधि लेखाउन थालेको पाइन्छ
प्रकाशित : भाद्र २८, २०७६ ०९:५२

Thursday, September 05, 2019

राणा शासनकाे वृतान्त

राणा शासनकाे वृतान्त १८ श्रृँखला

किशोर अवस्थाका युवराज सुरेन्द्र दिनदिनै वरालिदै गइरहेका थिए । राजकुमारले पालन गर्नुपर्ने उच्च आदर्श, मर्यादा र अनुशासन पालन गरेर मर्यादित भएर बस्नुको सटटा यिनी उल्टै जथाभावी गरी हिँडन थालेका थिए । यिनी उद्दण्ड प्रकृतिका थिए र जुनसुकै बखत भाइ, भारदार, तथा उच्च अधिकारीहरुसमेतको बेइज्जती गर्न किञ्चित मान्दैनथे । अर्कालाई सताएर, पीडा दिएर हेर्न उनी आनन्द मान्थे । आफनै पिता राजा राजेन्द्रको समेत यिनी केही मर्यादा गर्दैनथे । यिनको स्वेच्छाचारी, व्यभिचारी तथा क्रुर व्यवहार देखेर प्रधानमन्त्रीलगायत सारा जनता त्रस्त थिए । यस्तो बखतमा राजाले केही कडाइ गरी युवराजमाथि नियण्त्रण गर्नुपर्नेमा यस्तो बरालिन लागेका छोरालाई नानी महाराजाधिराज भनी सम्बोधन गरी उल्टो उकास दिन्थे ।
अब साह्रै नै अनर्थ हुन लाग्यो भनी सारा भाइ भारदारहरु प्रधानमन्त्री फत्तेजङको निवासमा जम्मा भएर एउटा सभा गरे । यिनीहरुले संयुक्त रुपमा एउटा विन्तीपत्र लेखी राजामा चढाउने निर्णय गरे । विन्तीपत्रमा युवराजको गतिविधि नियण्त्रित गरी राजाले मर्यादित भएर राजकाज चलाइबक्सनुपरयो । सरकार र युवराजको द्वैध शासन अन्त गर्नुुपरयो भन्ने लेखिएको थियो । सन् १८४२ डिसेम्बर ७ का दिन उपर्युक्त विन्तीलाई सुनको किस्तीमा राखी बाजागाजा बजाएर सारा जङगी तथा निजामती अधिकारीहरुको लस्कर लिई प्रधानमन्त्री स्वयम हनुमानढोका दरबारमा पुुगी त्यो विन्तीपत्र राजामा चढाए । राजाले देशको वास्तविक वस्तुस्थिति बुझी युवराजमाथि नियण्त्रण गरी शासनव्यवस्था राम्रो चलाउलान् भन्ने सबैले आशा राखेका थिए । तर सबैको आशा र इच्छाको विपरीत सन् १८४३ जनवरी १ का दिन शाही घोषणा गरी आफनो सम्पूर्ण राजकीय अधिकार कान्छा महारानीलाई सुुम्पे ।
लामौ समयसम्म नेपालमा रैथाने भई बसेका ब्रायन हगसनले नेपाल सरकारविरुद्ध धेरै पटक विष बमन गरी गभर्नर जनरलसमक्ष रिपोर्टहरु पठाई नेपालको आन्तरिक मामिलामा समेत बराबर हस्तक्षेप गर्ने प्रयत्न गरिरहेका थिए । गभर्नर जनरल लर्ड विलियम बेन्टिक, सर चार्लस मेटकाफ र लर्ड अकल्याण्डले यिनका प्रतिवेदनहरुमा पूरा विश्वास गरी त्यसैका आधारमा काम कारवाई समेत गर्ने गर्थे । सन् १८४१ मा लर्ड अकल्याण्ड स्वदेश फर्के पछि उनको ठाउँमा आएका अर्ल अफ एलेनबराले नेपाल प्रति केही नरम नीति अपनाउने चाहे । हगसनले नेपालको आन्तरिक मामिलामा बराबर हस्तक्षेप गर्न खोजेको यिनले रुचायनन् र हगसनलाई आफू अलि मर्यादित भएर नेपालदरवारसंग काम गर्नु भनी सचेत गराए । अनि बल्ल हगसनको होस ठेगानमा आयो र अलि नरम भएर काम गर्न थाले । सन् १८४३ मा एलेनबराले हगसनलाई नेपालबाट फिर्ता बोलाए र उनी फर्कने समयमा उनको विदाइकालागि एउटा विशेष समारोह काठमाण्डौमा आयोजना गरिएको थियो । त्यो समारोहमा राजा राजेन्द्रसमेत उपस्थित थिए र उनले आँखाबाट आँसु चुहाएर हगसनलाई विदाइ गरे भनी उनको जीवनी लेख्ने डब्लु हन्टरले लेखेका छन् ।
कान्छा महारानीका हातमा राज्यशक्ति हस्तान्तरण गरिएपछि सारा राजकाज उनकै हुकुमबाट चल्न थाल्यो र राजा नाम मात्रका हुन गए । अब जसरी भए पनि सुरेन्द्रलाई युुवराजबाट हटाएर आफनो छोरालाई युुवराज बनाउन महारानीले कम्मर कसिन् । फत्तेजङ शाहले युुवराजलाई हटाउने काममा सहयोग गर्लान् भन्ने महारानीले आशा राखीनन् । यस्तो जोखीमको काम सितिमिति कसैले आँटेर गर्न सक्ने पनि थिएन । यो कामपुुरा गर्नकालागी थापा खलककै सहयोग लिनुपर्छ भनी माथवरसिंह थापालाई झिकाउन राजासंग महारानीले सल्लाह गरिन् । राजाले माथवरसिंहलाई ल्याउने कु्रामा स्वीकृति दिए । माथवर त्यस बखत पन्जाबमा बसिराखेका थिए । उनलाई नेपालमा ल्याउन यहाँबाट अधिकारीहरु खटाएर पठाइयो ।
नेपालको परिस्थिति बुझेका माथवरसिंहले राजा रानीको सन्देश पाएपछि पनि नेपाल जाउँ कि नजाउँ गरी केही दिनसम्म आलटाल गरेर बसे । पछि यिनको मन बदलियो र नेपालमा जान्छुु भनी पन्जाबबाट हिँडे तर गोरखपुुरमा आइपुुगेपछि फेरी यिनकोमनमा केही कुरा खेल्न थाल्यो र उनी त्यहीँ रोकिए । त्यहाँ केही दिनसम्म विश्राम गरी नेपाल दरवारको कुरा बुझी बल्लतल्ल नेपाल भित्र पसे । १७ अप्रिल १८४३ इ.मा यिनी काठमाण्डौ पुग्दा यिनको राम्रो स्वागत सत्कार भयो ।
माथवरसिंहले महारानी राजाको दर्शन गरी आफुुहरुमाथि झुटो अभियोग लगाई सजायँ गरी कलङ्क लगाएको हटाइपाउँ भनी जाहेर गरे । अघिको विषमुद्दा पुनरावलोकन गर्नु भन्ने हुकुम भएपछि भारदारी सभा बोलाइयो । यो सभाका सभासदहरुले महारानीसमेतको आशय बुुझी विषकाण्डमा थापाहरु त्यसै मुछिएका रहेछन् भन्ने ठहर गरी जाहेर गर्दा यिनीहरुलाई सफाई दिई अघि जफत गरिएको सबै सम्पत्ति फिर्ता दिनुु भन्ने हुुकुुम भयो । यिनीहरुलाई अघि त्यसै झूटो अभियोग लागाएर विनाकारण फसाउने आराधी यिनै हुन् भनी करवीर पाँडे, कुुलराज पाँडे आदि थापाविरोधी भारदारहरुलाई मृत्युुदण्ड दिए । यतिगरीसकेपछि १८ डिसेम्बर १८४३ मा माथवर सिंहलाइ मिनिस्टर एण्ड कमाण्डर इन चीफ पदसमेत दिई मुुख्तियारमा नियुक्त गरिन् । चौतरिया फत्तेजङ शाह तीर्थ जान्छु भनी राजारानीसंग विदा भएर गयातर्फ प्रस्थान गरे ।
मुख्तियारमा बहाल भएपछि माथवरसिंह थापाले विस्तारै सेनालाई आफनो मातहतमा राख्ने चाल चल्न थाले । अघिदेखि विभिन्न काजी, चौतरियाहरुको तैनाथमा केही सैन्यदल राख्ने चलन चलिरहेको थियो । अब यिनीहरुको ताल्लुकबाट सैन्यदल झिकेर सम्पूर्ण सेनालाई कमान्डर इन चीफकै अधीनमा राख्ने व्यवस्था यिनले मिलाए । महारानीबाट बारम्बार ताकिता गर्दा पनि युवराजलाई हटाउने कामकुुरा मिलाउन यिनले कुनै कदम चालेनन् । महारानीलाई मौखिक आश्वासन मात्र दिएर अलमल्याई आफनो सैनिक शक्ति बढाउनैमा यिनी व्यस्त रहे ।
साभार, राणा शासनकाे वृतान्प्रत, प्रमाेद शमसेर




Tuesday, September 03, 2019

हिंसा र अहिंसा


हिंसा र अहिंसा
वसन्त महर्जन, नागरिक, शनिबार, १४ भदौ २०७६, ०७ : ५१ |  

समाजमा सार्वजनिक जीवनधारण गरेकामध्ये मन परेकाको प्रशंसा र नपरेकाको आलोचना गर्न पाइन्छ। तर त्यसको सीमा हुन्छ। गाइजात्रामा एक नेताको मुहार चित्र पिठमा टाँसेर हिँडिरहेको व्यक्तिको तस्बिर सामाजिक संजालमा देखियो।
मान्छेको मानवीयता हराएपछि’ टिप्पणीसहित राखिएको उक्त तस्बिर यहाँ पुनः प्रकाशन गर्न उपयुक्त ठानिँन। कारण, तस्बिरसँग ती नेताको मृत्युको कामना गरिएको छ। साथै, गाइजात्रा पर्वको एउटा पक्ष हाँस्यव्यङ्ग्य भए पनि यसमा गाली वा सराप्नेजस्ता अमर्यादित क्रियाकलापलाई ठाउँ हुँदैन। यसलाई सांस्कृतिक विचलन वा विकृति पनि भन्न सकिन्छ। टिप्पणीअनुसार मानवीयता हराएको त हो नै, साथै बौद्ध धर्मदर्शन अनुसार यो पनि एक प्रकारको हिंसा हो। कसैको मृत्युको कामना गर्नाले पनि कर्मविपाकको भागिदार हुनु पर्छ।
सामान्यतः गौतम बुद्धलाई अहिंसाको प्रतीक मानिन्छ। सर्वसाधारण बौद्धले पनि दैनिक जीवनमा पालना गर्नै पर्ने पाँच शीलमध्ये पहिलो हिंसाकर्मबाट विरत रहनु हो। कसलाई हिंसा मान्ने र कसलाई नमान्ने तथा हिंसाबाट कसरी टाढा बस्ने भन्ने सवालमा यथेस्ठ छलफल भएको पाइन्छ। 
गौतम बुद्ध श्रावस्तीस्थित जेतवन विहारमा बसिरहेका बेला ‘अहिंस्रक’ नामक भारद्वाज गोत्रका एक ब्राह्मण साक्षात्कारका लागि आइपुगेका थिए र कुशलवार्तापछि एक छेउमा बसेर उनले ‘म अहिंस्रक हुँ’ भनेर परिचय दिए। त्यही बेला बुद्धले पनि भने, ‘‘जस्तो नाउँ, त्यस्तै तिमी अहिंस्रक छौ। जो काय, वाक र चित्तले हिंसा गर्दैन, उही अहिंस्रक हुन्छ। जसले कसैलाई पनि हिंसा गर्दैन उही अहिंस्रक हुन्छ।’’
झट्ट हेर्दा हिंसा र अहिंसासम्बन्धी बुद्ध वचन सामान्यजस्तो लाग्छ। तर, यही वचनबाट प्रभावित भएर ती भारद्वाज ब्राह्मणले भने, ‘‘धन्य, भो गौतम १ घोप्टेकोलाई उत्तानो पारिदिँदा, छोपिएकोलाई उघारिदिँदा, बाटो भुलेकालाई बाटो देखाइदिँदा, अँध्यारोमा तेलको बत्ती राखिदिँदा–आँखा हुनेहरूले रुप देखेझैं तपाई गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो। भन्ते, अब म तपाईको शरणमा पर्छु, धर्म र भिक्षु संघको पनि। तपाई गौतमको संघमा प्रव्रज्या र उपसम्पदा पाउँ।’’

मनको धर्म हो जुनसुकै काममा पनि अगुवा हुनु । मन मुख्य भएर जताततै पुगेको हुन्छ। त्यसकारण अशुद्ध मन भएर कसैले बोल्यो भने बयलको पछिपछि गाडाको पांग्रा आएझैं दुःख पछि लागेर आउँछ ।  
माथि वर्णित बुद्ध वचनबाट के कुरा स्पष्ट भयो भने, हिंसा शब्दले प्राणीको हत्याहिंसालाई मात्रै जनाउँदैन। यसले पहिलो शीललाई पनि विस्तृत व्याख्या गर्छ। शारीरिक बल प्रयोग गरी गरिने हिंसाका अलावा बोली तथा चित्तले गरिने घातक कर्म पनि हिंसा नै हो। बोलेर र लेखेर गरिने हिंसा कानुनतः अपराध कर्म हो। चित्तबाट गरिने हिंसाका सम्बन्धमा कानुन मौन छ तर बौद्ध धर्मले यसलाई अकुशल कर्म तथा पापको भागीदार हुनुपर्ने कोटीमा राखेको छ। साथै यसमा बढी चिन्तित भएको पनि पाइन्छ।
अहिंसा चतुब्रह्मविहारको आधार
बौद्ध सन्दर्भमा हिंसा र अहिंसालाई अलि बढी प्राथमिकता दिएर चर्चा गरिन्छ । बौद्धमत पनि एउटा दर्शन हो। हिंसा र अहिंसाको चिन्तनमा यति धेरै समय किन दिनुप-यो र भन्ने प्रश्न उठ्न सक्छ। विचार विमर्श मात्रै गरेर वस्ने र बौद्धिक उहापोह नै प्रमुख मान्ने हो भने यो वाणीविलासको स्तरभन्दा माथि उठ्दैन। अन्य दर्शनशास्त्र जस्तै यो पनि एउटा ‘च्याप्टर’मा सीमित हुन्थ्यो। तर, बुद्धले यसलाई त्यसरी सीमित पारेका छैनन्। यसलाई जीवन दर्शन मात्रै होइन, दैनिक जीवनको अभ्यासमै उतार्न जोड दिएका छन्। जन्म र मृत्युको चक्रबाट उन्मुक्ति हुने जीवनको लक्ष्य लिएपछि सोही अनुसार जीवन पद्दति अपनाउनु पर्ने भयो। यस जीवन पद्दतिमा अनेक व्यवधान छन्। एउटा व्यवधान हिंसा कर्म हो। हिंसाकर्मलाई साथमा लिएर बौद्ध साधना गर्नु बौद्धमत विपरित हुन्छ। 
बौद्ध जगतमा ‘चतुब्रह्मविहार’ शब्दावली छ जसलाई बौद्धको गहना मानिन्छ। मैत्री, करुणा, मुदिता र उपेक्षा भाव विकास गर्नु नै चतुब्रह्मविहार हो। यो चार गुणको विकास जति मात्रामा भयो त्यति नै बौद्धको जीवन गौरवमय हुनाका साथै साधनापथ फराकिलो हुँदै जान्छ। सबैप्रति समान भावले एकै स्तरमा, विना स्वार्थ प्रेम गर्नु मैत्री भाव हो। वैमनष्यताको अभाव तथा अपनत्वको भावनामा मैत्री भाव विकास हुन्छ। कोही पनि प्राणी दुःखमा परेको छ भने त्यसलाई आत्मसात गरी आफ्नै दुःखको रुपमा अंगिकार अत्यन्त द्रवीभूत भई सकभर चाँडो छुटकारा पाउन प्रयत्न गर्नु करुणा भाव हो। आदर्शको कुरा जति गरे पनि अरुको प्रगति तथा सुखमा खुसी हुनु व्याबहारिक रुपमा निकै कठिन हुन्छ। ठूलो त्यागबल र उच्चस्तरको मनस्थितिले मात्रै यो संभव हुन्छ। इष्र्याले यस्तो हुन दिँदैन। अरुको सुखमा खुसी हुन सक्नु मुदिताको भाव विकास गर्नु हो। यसरी नै नकारात्मक कुराबाट विचलित नहुनु उपेक्षा भाव हो। हिंसा भावले ‘चतुब्रह्मविहार’लाई हुर्कन दिँदैन। शील बलियो पार्दा समाधि बलियो हुने र समाधि बलियो हुँदा प्रज्ञा प्राप्ती हुने हो। हिंसा कर्मले शीललाई शिथिल बनाइदिन्छ र समाधि तथा प्रज्ञाको संभावना नै हुँदैन।
कुनै उच्चस्तरको राजनीतिक व्यक्ति, हिंस्रक तथा आततायी नै किन नहोस्, त्यो पनि एउटा प्राणी हो। शारीरिक रुपमा विशाल काय होस् वा शूक्ष्माति शूक्ष्म काय, समग्रमा एउटा प्राणी हो। कायिक हिंसाले घात गर्दा सबैलाई चोट पर्छ नै। वाचिक हिंसा गर्दा कसैको चित्त दुक्छ वा कसैलाई यसमा हेक्का नहोला। मुख अगाडि हितैषी भई मुस्कुराइरहेकै किन नहोस्, मनमा हिंसाजन्य भावना लिएर बसेको कुरा सम्बन्धित प्राणीलाई थाहा हुँदैन। यसमा उसको केही हानी पनि तर जसले चित्तबाट त्यस्तो हिंसा गरेर बस्छ, उसलाई भने पापले छोइसकेको हुन्छ। पापको मात्रा पनि बढ्दै गएको हुन्छ। बौद्ध साहित्यमा चित्तबाट हुने यस्ता पापका कारण सोही जन्ममा वा अर्को जन्ममा दुःख भोग गर्नु परेको वर्णन पाइन्छ।
पूर्वजन्म तथा पुनर्जन्ममा विश्वास नगर्ने वर्गले पनि देखेकै वा अनुभव गरेकै हुन्छ, जसको मन सफा छैन, नकारात्मक कुराले भरिएको छ, उसको व्यक्तित्वमा त्यो कुरा अभिव्यक्त हुन्छ। सामान्य दैनिक जीवनमा पनि त्यस्तो चित्तको असर परेकै हुन्छ। काय वा वाकले हिंसा गरोस् वा चित्तले, त्यो आफ्नै खुट्टामा बन्चरोले हानेजस्तै हो। यसको असर आफ्नै खुट्टामा पर्छ र खुट्टा खोच्याउँदै हिँड्दा गन्तव्यमा पुग्ने मामिलामा प्रभावित हुन्छ नै।
आफूलाई मन नपर्ने राजनीतिक व्यक्तिको मुहार चित्र पीठमा टाँसेर मृत्यु कामना गर्दै हिँड्नेको मनस्थिति अनुमान गर्न सकिन्छ। उसको मनमस्तिष्कमा भएको आक्रोशका रुप प्रकट भएकोमा शंका छैन। तर ऊ मानसिक रुपमा उद्विग्न भइरहेको हुन्छ। यस क्रममा उसको चित्त अझ दूषित हुनाका साथै अन्य पाप कर्म गर्नमा उत्प्रेरित भइरहेको हुन्छ। जसको कर्म विपाक उसले अनिवार्य रुपमा भोग्नै पर्दछ। 
मनोपुब्बमाङ्गमा धम्मा
हिंसा कर्म चित्तबाटै सुरु हुन्छ। सबै प्रकारका हिंसा तथा अकुशल कर्म अकस्मात् हुने गर्दैन, यसका लागि एक जना कर्ता हुन्छ र उसको चित्तमा यसको संकल्प हुन्छ। मनमा भएको संकल्प नै निश्चित अन्तरालमा व्यवहारमा अभिव्यक्त हुने हो। यसरी व्यवहारमा आउँदा यो शारीरिक, मानसिक यातनाका रुपमा, बलात्कारका रुपमा वा अन्य कुनै नराम्रो रुपमै प्रकट हुन्छ। बौद्ध जगतमा जसले मन, वचन र कर्मले हिंसा गर्दैन उसलाई अहिंस्रक भनिएको छ। यसर्थ कसैको मृत्यु कामना गर्नु पनि स्वतः हिंसा नै हुनजान्छ।
बुद्ध वचनको सारका रुपमा चर्चित ग्रन्थ ‘धम्मपद’को पहिलो गाथा चित्त र चित्तको प्रकृतिबारे छ। यसले भन्छ, ‘मनको धर्म हो जुनसुकै काममा पनि अगुवा हुनृु। मन मुख्य भएर जताततै पुगेको हुन्छ। त्यसकारण अशुद्ध मन भएर कसैले बोल्यो वा ग-यो भने बयलको पछिपछि गाडाको पांग्रा आएझैं दुःख पछि लागेर आउँछ।’
अहिंसाबाट शान्ति
घरपरिवार, समाज, राष्ट्र तथा विश्वमा शान्ति कायम होस भन्ने चाहना सबैको हुन्छ। हिंसाबाटै अशान्ति भइरहेको भन्ने चेत पनि छ। यही भएर अहिंसाका पक्षधर गौतम बुद्धलाई शान्तिसँग सम्बन्धित गरेर पनि बुझ्ने गरिएको हो। तर बौद्ध धर्मको अहिंसा वा शान्तिको बुझाइ अन्य समाजको भन्दा फरक पाइन्छ। हिंसासम्बन्धी बुझाइमै  फरक पर्न गएपछि अन्य कुरा पनि फरक पर्नु स्वाभाविक हो।
सबै प्रकारका हिंसाबाट विमुक्त भएपछि उत्पन्न हुने एक खालको प्रिती अनुभव  कायम राख्न सक्यो भने पनि शान्तिको अनुभव गर्न पाइन्छ। तर यहाँ पीडक विरुद्ध पीडितलाई दबाएर राख्न सक्यो भने पनि शान्ति कायम भएको भनी व्याख्या गर्ने गरिन्छ। यस्तोले शान्ति सिर्जना कदापि हुनसक्दैन बरु अव्यवस्था पैदा गर्दछ। 
पीडितलाई दबाए सिर्जना गरिने मूर्दाशान्ति हिंसामा आधारित हुन्छन् र हिंसामा आधारित सबै कुराले अव्यवस्था पैदा गर्दछ। बुद्धले सबै प्रकारका हिंसाविरुद्ध शसक्त रुपमा प्रतिकार गरेको पाइन्छ। यसरी नै अरुको कुभलो चिताउनुका साथै ‘छिमेकीको छोरा मरोस् र योे कामना पूरा भयो भने बोका काट्न ल्याउँछु’ भनेर अमुक देवताको भाकल गर्ने निर्दयी समाज वा परम्परा पनि छ। यो पनि एक प्रकारको हिंसा नै हो। यस्तो भाकल र फलानो नेता मरोस् भनेर गरिने मृत्यु कामनामा तात्विक फरक पाइँदैन। यस्तो मनःस्थिति हुन्जेल हिंसाको अन्त्य हुँदैन।


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...