Tuesday, September 03, 2019

हिंसा र अहिंसा


हिंसा र अहिंसा
वसन्त महर्जन, नागरिक, शनिबार, १४ भदौ २०७६, ०७ : ५१ |  

समाजमा सार्वजनिक जीवनधारण गरेकामध्ये मन परेकाको प्रशंसा र नपरेकाको आलोचना गर्न पाइन्छ। तर त्यसको सीमा हुन्छ। गाइजात्रामा एक नेताको मुहार चित्र पिठमा टाँसेर हिँडिरहेको व्यक्तिको तस्बिर सामाजिक संजालमा देखियो।
मान्छेको मानवीयता हराएपछि’ टिप्पणीसहित राखिएको उक्त तस्बिर यहाँ पुनः प्रकाशन गर्न उपयुक्त ठानिँन। कारण, तस्बिरसँग ती नेताको मृत्युको कामना गरिएको छ। साथै, गाइजात्रा पर्वको एउटा पक्ष हाँस्यव्यङ्ग्य भए पनि यसमा गाली वा सराप्नेजस्ता अमर्यादित क्रियाकलापलाई ठाउँ हुँदैन। यसलाई सांस्कृतिक विचलन वा विकृति पनि भन्न सकिन्छ। टिप्पणीअनुसार मानवीयता हराएको त हो नै, साथै बौद्ध धर्मदर्शन अनुसार यो पनि एक प्रकारको हिंसा हो। कसैको मृत्युको कामना गर्नाले पनि कर्मविपाकको भागिदार हुनु पर्छ।
सामान्यतः गौतम बुद्धलाई अहिंसाको प्रतीक मानिन्छ। सर्वसाधारण बौद्धले पनि दैनिक जीवनमा पालना गर्नै पर्ने पाँच शीलमध्ये पहिलो हिंसाकर्मबाट विरत रहनु हो। कसलाई हिंसा मान्ने र कसलाई नमान्ने तथा हिंसाबाट कसरी टाढा बस्ने भन्ने सवालमा यथेस्ठ छलफल भएको पाइन्छ। 
गौतम बुद्ध श्रावस्तीस्थित जेतवन विहारमा बसिरहेका बेला ‘अहिंस्रक’ नामक भारद्वाज गोत्रका एक ब्राह्मण साक्षात्कारका लागि आइपुगेका थिए र कुशलवार्तापछि एक छेउमा बसेर उनले ‘म अहिंस्रक हुँ’ भनेर परिचय दिए। त्यही बेला बुद्धले पनि भने, ‘‘जस्तो नाउँ, त्यस्तै तिमी अहिंस्रक छौ। जो काय, वाक र चित्तले हिंसा गर्दैन, उही अहिंस्रक हुन्छ। जसले कसैलाई पनि हिंसा गर्दैन उही अहिंस्रक हुन्छ।’’
झट्ट हेर्दा हिंसा र अहिंसासम्बन्धी बुद्ध वचन सामान्यजस्तो लाग्छ। तर, यही वचनबाट प्रभावित भएर ती भारद्वाज ब्राह्मणले भने, ‘‘धन्य, भो गौतम १ घोप्टेकोलाई उत्तानो पारिदिँदा, छोपिएकोलाई उघारिदिँदा, बाटो भुलेकालाई बाटो देखाइदिँदा, अँध्यारोमा तेलको बत्ती राखिदिँदा–आँखा हुनेहरूले रुप देखेझैं तपाई गौतमले मलाई अनेक प्रकारबाट धर्म प्रकाश गरिदिनु भयो। भन्ते, अब म तपाईको शरणमा पर्छु, धर्म र भिक्षु संघको पनि। तपाई गौतमको संघमा प्रव्रज्या र उपसम्पदा पाउँ।’’

मनको धर्म हो जुनसुकै काममा पनि अगुवा हुनु । मन मुख्य भएर जताततै पुगेको हुन्छ। त्यसकारण अशुद्ध मन भएर कसैले बोल्यो भने बयलको पछिपछि गाडाको पांग्रा आएझैं दुःख पछि लागेर आउँछ ।  
माथि वर्णित बुद्ध वचनबाट के कुरा स्पष्ट भयो भने, हिंसा शब्दले प्राणीको हत्याहिंसालाई मात्रै जनाउँदैन। यसले पहिलो शीललाई पनि विस्तृत व्याख्या गर्छ। शारीरिक बल प्रयोग गरी गरिने हिंसाका अलावा बोली तथा चित्तले गरिने घातक कर्म पनि हिंसा नै हो। बोलेर र लेखेर गरिने हिंसा कानुनतः अपराध कर्म हो। चित्तबाट गरिने हिंसाका सम्बन्धमा कानुन मौन छ तर बौद्ध धर्मले यसलाई अकुशल कर्म तथा पापको भागीदार हुनुपर्ने कोटीमा राखेको छ। साथै यसमा बढी चिन्तित भएको पनि पाइन्छ।
अहिंसा चतुब्रह्मविहारको आधार
बौद्ध सन्दर्भमा हिंसा र अहिंसालाई अलि बढी प्राथमिकता दिएर चर्चा गरिन्छ । बौद्धमत पनि एउटा दर्शन हो। हिंसा र अहिंसाको चिन्तनमा यति धेरै समय किन दिनुप-यो र भन्ने प्रश्न उठ्न सक्छ। विचार विमर्श मात्रै गरेर वस्ने र बौद्धिक उहापोह नै प्रमुख मान्ने हो भने यो वाणीविलासको स्तरभन्दा माथि उठ्दैन। अन्य दर्शनशास्त्र जस्तै यो पनि एउटा ‘च्याप्टर’मा सीमित हुन्थ्यो। तर, बुद्धले यसलाई त्यसरी सीमित पारेका छैनन्। यसलाई जीवन दर्शन मात्रै होइन, दैनिक जीवनको अभ्यासमै उतार्न जोड दिएका छन्। जन्म र मृत्युको चक्रबाट उन्मुक्ति हुने जीवनको लक्ष्य लिएपछि सोही अनुसार जीवन पद्दति अपनाउनु पर्ने भयो। यस जीवन पद्दतिमा अनेक व्यवधान छन्। एउटा व्यवधान हिंसा कर्म हो। हिंसाकर्मलाई साथमा लिएर बौद्ध साधना गर्नु बौद्धमत विपरित हुन्छ। 
बौद्ध जगतमा ‘चतुब्रह्मविहार’ शब्दावली छ जसलाई बौद्धको गहना मानिन्छ। मैत्री, करुणा, मुदिता र उपेक्षा भाव विकास गर्नु नै चतुब्रह्मविहार हो। यो चार गुणको विकास जति मात्रामा भयो त्यति नै बौद्धको जीवन गौरवमय हुनाका साथै साधनापथ फराकिलो हुँदै जान्छ। सबैप्रति समान भावले एकै स्तरमा, विना स्वार्थ प्रेम गर्नु मैत्री भाव हो। वैमनष्यताको अभाव तथा अपनत्वको भावनामा मैत्री भाव विकास हुन्छ। कोही पनि प्राणी दुःखमा परेको छ भने त्यसलाई आत्मसात गरी आफ्नै दुःखको रुपमा अंगिकार अत्यन्त द्रवीभूत भई सकभर चाँडो छुटकारा पाउन प्रयत्न गर्नु करुणा भाव हो। आदर्शको कुरा जति गरे पनि अरुको प्रगति तथा सुखमा खुसी हुनु व्याबहारिक रुपमा निकै कठिन हुन्छ। ठूलो त्यागबल र उच्चस्तरको मनस्थितिले मात्रै यो संभव हुन्छ। इष्र्याले यस्तो हुन दिँदैन। अरुको सुखमा खुसी हुन सक्नु मुदिताको भाव विकास गर्नु हो। यसरी नै नकारात्मक कुराबाट विचलित नहुनु उपेक्षा भाव हो। हिंसा भावले ‘चतुब्रह्मविहार’लाई हुर्कन दिँदैन। शील बलियो पार्दा समाधि बलियो हुने र समाधि बलियो हुँदा प्रज्ञा प्राप्ती हुने हो। हिंसा कर्मले शीललाई शिथिल बनाइदिन्छ र समाधि तथा प्रज्ञाको संभावना नै हुँदैन।
कुनै उच्चस्तरको राजनीतिक व्यक्ति, हिंस्रक तथा आततायी नै किन नहोस्, त्यो पनि एउटा प्राणी हो। शारीरिक रुपमा विशाल काय होस् वा शूक्ष्माति शूक्ष्म काय, समग्रमा एउटा प्राणी हो। कायिक हिंसाले घात गर्दा सबैलाई चोट पर्छ नै। वाचिक हिंसा गर्दा कसैको चित्त दुक्छ वा कसैलाई यसमा हेक्का नहोला। मुख अगाडि हितैषी भई मुस्कुराइरहेकै किन नहोस्, मनमा हिंसाजन्य भावना लिएर बसेको कुरा सम्बन्धित प्राणीलाई थाहा हुँदैन। यसमा उसको केही हानी पनि तर जसले चित्तबाट त्यस्तो हिंसा गरेर बस्छ, उसलाई भने पापले छोइसकेको हुन्छ। पापको मात्रा पनि बढ्दै गएको हुन्छ। बौद्ध साहित्यमा चित्तबाट हुने यस्ता पापका कारण सोही जन्ममा वा अर्को जन्ममा दुःख भोग गर्नु परेको वर्णन पाइन्छ।
पूर्वजन्म तथा पुनर्जन्ममा विश्वास नगर्ने वर्गले पनि देखेकै वा अनुभव गरेकै हुन्छ, जसको मन सफा छैन, नकारात्मक कुराले भरिएको छ, उसको व्यक्तित्वमा त्यो कुरा अभिव्यक्त हुन्छ। सामान्य दैनिक जीवनमा पनि त्यस्तो चित्तको असर परेकै हुन्छ। काय वा वाकले हिंसा गरोस् वा चित्तले, त्यो आफ्नै खुट्टामा बन्चरोले हानेजस्तै हो। यसको असर आफ्नै खुट्टामा पर्छ र खुट्टा खोच्याउँदै हिँड्दा गन्तव्यमा पुग्ने मामिलामा प्रभावित हुन्छ नै।
आफूलाई मन नपर्ने राजनीतिक व्यक्तिको मुहार चित्र पीठमा टाँसेर मृत्यु कामना गर्दै हिँड्नेको मनस्थिति अनुमान गर्न सकिन्छ। उसको मनमस्तिष्कमा भएको आक्रोशका रुप प्रकट भएकोमा शंका छैन। तर ऊ मानसिक रुपमा उद्विग्न भइरहेको हुन्छ। यस क्रममा उसको चित्त अझ दूषित हुनाका साथै अन्य पाप कर्म गर्नमा उत्प्रेरित भइरहेको हुन्छ। जसको कर्म विपाक उसले अनिवार्य रुपमा भोग्नै पर्दछ। 
मनोपुब्बमाङ्गमा धम्मा
हिंसा कर्म चित्तबाटै सुरु हुन्छ। सबै प्रकारका हिंसा तथा अकुशल कर्म अकस्मात् हुने गर्दैन, यसका लागि एक जना कर्ता हुन्छ र उसको चित्तमा यसको संकल्प हुन्छ। मनमा भएको संकल्प नै निश्चित अन्तरालमा व्यवहारमा अभिव्यक्त हुने हो। यसरी व्यवहारमा आउँदा यो शारीरिक, मानसिक यातनाका रुपमा, बलात्कारका रुपमा वा अन्य कुनै नराम्रो रुपमै प्रकट हुन्छ। बौद्ध जगतमा जसले मन, वचन र कर्मले हिंसा गर्दैन उसलाई अहिंस्रक भनिएको छ। यसर्थ कसैको मृत्यु कामना गर्नु पनि स्वतः हिंसा नै हुनजान्छ।
बुद्ध वचनको सारका रुपमा चर्चित ग्रन्थ ‘धम्मपद’को पहिलो गाथा चित्त र चित्तको प्रकृतिबारे छ। यसले भन्छ, ‘मनको धर्म हो जुनसुकै काममा पनि अगुवा हुनृु। मन मुख्य भएर जताततै पुगेको हुन्छ। त्यसकारण अशुद्ध मन भएर कसैले बोल्यो वा ग-यो भने बयलको पछिपछि गाडाको पांग्रा आएझैं दुःख पछि लागेर आउँछ।’
अहिंसाबाट शान्ति
घरपरिवार, समाज, राष्ट्र तथा विश्वमा शान्ति कायम होस भन्ने चाहना सबैको हुन्छ। हिंसाबाटै अशान्ति भइरहेको भन्ने चेत पनि छ। यही भएर अहिंसाका पक्षधर गौतम बुद्धलाई शान्तिसँग सम्बन्धित गरेर पनि बुझ्ने गरिएको हो। तर बौद्ध धर्मको अहिंसा वा शान्तिको बुझाइ अन्य समाजको भन्दा फरक पाइन्छ। हिंसासम्बन्धी बुझाइमै  फरक पर्न गएपछि अन्य कुरा पनि फरक पर्नु स्वाभाविक हो।
सबै प्रकारका हिंसाबाट विमुक्त भएपछि उत्पन्न हुने एक खालको प्रिती अनुभव  कायम राख्न सक्यो भने पनि शान्तिको अनुभव गर्न पाइन्छ। तर यहाँ पीडक विरुद्ध पीडितलाई दबाएर राख्न सक्यो भने पनि शान्ति कायम भएको भनी व्याख्या गर्ने गरिन्छ। यस्तोले शान्ति सिर्जना कदापि हुनसक्दैन बरु अव्यवस्था पैदा गर्दछ। 
पीडितलाई दबाए सिर्जना गरिने मूर्दाशान्ति हिंसामा आधारित हुन्छन् र हिंसामा आधारित सबै कुराले अव्यवस्था पैदा गर्दछ। बुद्धले सबै प्रकारका हिंसाविरुद्ध शसक्त रुपमा प्रतिकार गरेको पाइन्छ। यसरी नै अरुको कुभलो चिताउनुका साथै ‘छिमेकीको छोरा मरोस् र योे कामना पूरा भयो भने बोका काट्न ल्याउँछु’ भनेर अमुक देवताको भाकल गर्ने निर्दयी समाज वा परम्परा पनि छ। यो पनि एक प्रकारको हिंसा नै हो। यस्तो भाकल र फलानो नेता मरोस् भनेर गरिने मृत्यु कामनामा तात्विक फरक पाइँदैन। यस्तो मनःस्थिति हुन्जेल हिंसाको अन्त्य हुँदैन।


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...