इतिहासको भविष्य
के इतिहासको भविष्य सकिएकै
हो त ? वर्तमानका
समस्यालाई ऐतिहासिक सन्दर्भसँग जोडेर विश्लेषण गर्दा वा नगर्दा ‘इतिहास’ कहाँनेर
कसरी रहन्छ ? सामाजिक-राजनीतिक
परिवर्तनका सन्दर्भहरूमा इतिहासलाई कहाँनेर राखेर हेर्ने ? इतिहासको ब्याज खाएर जातीय श्रेष्ठताको
गौरवगान गर्ने समूह एकातिर छ भने अर्कोतिर त्यही गौरवगानबाट पीडित
‘सबाल्ट्रन’हरूले गुमनाम इतिहासको हिसाबकिताब खोजिरहेका छन्। इतिहासको निर्माण र सभ्यताको
शिलान्यासमा कसको योगदान बढी छ र ऐतिहासिक पृष्ठभूमिमा साँच्चै प्रताडित को हो त ?यो लेख यी प्रश्नहरूको घोत्ल्याइँमा केन्द्रित छ।
पक्षपातपूर्ण इतिहास लेखनमा
कुनै एक समूहलाई केन्द्रित गर्दै गर्दा कुनै अर्को बहिष्कृत समूहको भूमिकालाई
अस्वीकार गर्न कदापि मिल्दैन। भूमिकाहरूको विश्लेषणमा ऐतिहासिक पृष्ठभूमि र
पुरातातात्विकदलिलहरूलाई केन्द्रमा राख्नु उत्तिकै जरुरी छ।
ऐतिहासिक र
पुरातातात्विकदलिलहरूको आधारबाट नेपालको सन्दर्भमा को आदिवासी, को आप्रवासी छुट्ट्याउनै कठिन छ। आप्रवासी
मानिएकाहरूको इतिहासको प्राचीनतालाई ऐतिहासिक र पुरातातात्विकप्रमाणहरूले जसरी
प्रमाणित गरेका छन्, त्यसरी
नै आदिम आदिवासीहरूको इतिहासलाई प्रागैतिहासिक आधारहरूले प्रमाणित गरेका छन्। को
आदिवासी, को
आप्रवासी भन्ने प्रश्नसँगै त्रिविको इतिहास विभाग स्वयं नै इतिहास हुन लागेको
(भएको) सन्दर्भ सोचनीय छ। अनि यसैबीच समाजशास्त्री चैतन्य मि श्रको ‘नेपाल भन्ने
देश नै नरहन सक्छ’ भन्ने अभिव्यक्ति पनि उत्तिकै त्रासदीपूर्ण छ।
इतिहासको मूल्य र मर्मलाई
बेलाबेलामा परराष्ट्र मामिलामा देखा पर्ने सीमाविवादले बोधार्थ गराएको छ। विशेषगरी
नेपालको मित्रराष्ट्र चीनभन्दा पनि भारतसँग पटकपटक बल्झिरहने सीमा विवादको
सन्दर्भमा फेरि इतिहासको आवश्यकताको बोध भएको छ। सीमा विवादको सन्दर्भमा ऐतिहासिक
नक्सा, साँधसिमानासम्बन्धी
कागजपत्र र सन्धिसम्झौता अध्ययन गरेर सीमा विवादका दीर्घकालीन उपायहरू खोज्न जरुरी
भइसकेको छ। तर तत्कालीन समयमा नेपालमा अभिलेख व्यवस्थापन प्रणाली अर्थात्
राष्ट्रको संस्थागत सम्झना कमजोर हुँदा हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा
कालापानी लिम्पियाधुरा हाम्रो आफ्नो हो भनी प्रमाणित गर्न इतिहासको सहायता लिनु
परेको छ। अभिलेख व्यवस्थापनको वैज्ञानिक प्रणाली हामीसँग भएको भए अहिले हामीलाई
तथ्य प्रमाणका आधारमा भारतसँग छलफल गर्न सहज हुन्थ्यो।
यसका बीच पनि हामीसँग भएका
तथ्य, तर्क र
प्रमाणहरूका आधारमा सीमाविद्, इतिहासकार र परराष्ट्रविद्हरूले भारतको दाबीलाई कमजोर बताएका छन्।
वर्तमानमा भने साँधसिमानाका तत्कालीन नक्सा तथा नेपाल अंग्रेजबीच (तात्कालिक नाम
इस्ट इन्डिया कम्पनी) भएका सन्धिहरूको मूल प्रति (दुवै देशका परराष्ट्रविद्, सीमाविद् तथा राजनीतिज्ञहरूबीचको कूटनीतिक छलफल)
हेरेर दुई देशबीचको बल्झिरहने सीमा सम्बन्धका घाउलाई निको पार्न इतिहासतिर
फर्कनुको विकल्प छैन।
इतिहास विभागमा इतिहास
पढ्ने विद्यार्थीको संख्या किन कम भयो भन्ने सन्दर्भमा विभिन्न समयमा सम्बद्ध
विचारकहरूले बहस छेडिरहेको देखिन्छ। देशको सबैभन्दा पुरानो विश्वविद्यालयको इतिहास
विभागमा विगत तीन चार वर्षदेखि एकै जना विद्यार्थी छैनन्। शिक्षकहरूले अवकाश
प्राप्त गरेपछि इतिहास विषय विभाग नै खारेज गरिने अवस्था छ (सौरभ, असंगति, २०७३ :१२)। यस परिस्थितिले इतिहास प्रेमीहरूको
मनमा चिन्ता उठ्नु स्वाभाविक नै हो। सौरभले भनेझैं के अब नेपालमा इतिहास पढ्ने
परम्पराको सिलसिला बन्द भएको हो त ? इतिहास रोजगारीका निम्ति प्राप्त गरिने ज्ञान होइन
भन्ने जवाफभित्रै सौरभले अनेक आशंका उठान गरेका छन्। आफ्नो पहिचान बुझ्न इतिहास
बुझ्नैपर्छ। इतिहास बिर्सने व्यक्तिलाई वर्तमानले समेत चिन्दैन भन्ने इतिहास
विभागका विभागीय प्रमुख शंकर थापाको भनाइ शाश्वत सत्य भए पनि हाल उनले हाँकेको
इतिहास विभागमा विद्यार्थी संख्या कम हुनु दु :खद विषय हो।
समसामयिक परिस्थितिमा
इतिहासको सन्दर्भलाई कसरी विश्लेषण गर्ने विषयमा सरकारले स्पष्ट नीति बनाउनै पर्छ।
समसामयिक सन्दर्भमा मानविकी विषयहरूको महत्व रहँदारहँदै पनि यो विषय पढ्ने
विद्यार्थीको घट्दो दरमा इतिहास विषय पृथक् छैन। मूलत : राज्यको थिंक ट्यांक नै
बलियो नभइरहेको सन्दर्भमा इतिहास र इतिहासकारको हैसियत खोज्नु नै दुर्भाग्य
छ। युग पाठकले भनेझैं प्रागइतिहासदेखि पौराणिक इतिहास हुँदै लिखित इतिहासको
युगसम्म आइपुग्दा आफ्नो समुदायको ऐतिहासिक भूमिका खोज्ने चासोमा इतिहासको विशेष
भूमिका हुन्छ। तर वर्तमान राजनीतिक घटनाक्रमहरूमा इतिहासलाई बहसको विषय नै
नबनाइएको देखिन्छ। विशेषगरी त्रिभुवन विश्वविद्यालयमा इतिहासको अध्ययनमा एकसरो
रटान लगाएको देखिन्छ।
फरक कोणबाट ऐतिहासिक
व्याख्याको अपेक्षा खोज्ने विद्यार्थीलाई हतोत्साह गर्ने प्रवृत्ति नदेखिएको होइन।
इतिहासको एकसरो रटानबाहेक फरक धारबाट इतिहासको व्याख्या गर्न नदिइनु नै इतिहास
अध्ययनमा देखिएका मूल समस्याहरूमध्ये एक कारण हुन सक्छ। बदलिँदो राजनीतिक
सन्दर्भहरूमा विशेष गरी पृथ्वीनारायण शाहलाई धारेहात लगाइएको देखिन्छ। तर तत्कालीन
सन्दर्भमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाको मूल्यांकन गरिएन। पृथ्वीनारायण
शाहले नेपालको एकीकरण गरेका थिए कि गोरखा राज्यको विस्तार भन्ने युग पाठकको
प्रश्नलाई सुन्नै नचाहने इतिहासका प्राध्यापकहरूको जमातका कारणले इतिहासको साख
गिरेको सत्य स्वीकार गर्न कर लाग्छ। सुदूर इतिहास नदेख्ने कुनै पनि नागरिकले न
वर्तमानको विश्लेषण गर्न सक्छ न त भविष्यको योजना नै तर्जुमा गर्न सक्छ।
सौरभ र पाठकहरूले उठाएको
विषयले एकातिर नेपालमा इतिहासको अध्ययन गर्नै बिर्सने हो कि भन्ने भविष्यको
डरलाग्दो संकेत गरेका छन् भने अर्कातिर नेपालको इतिहास लेखन प्रवृत्तिप्रति पनि
प्रश्न गरेका छन्। मूलत : इतिहास किन पढ््ने र किन पढाउने भन्ने विषयमा सम्बन्धित
पक्षहरू संवेदनशील हुनैपर्छ। पुराणकाल, लिच्छविकाल, मल्लकाल र शाहकालको एकोहोरो गाथा मात्र गाउने हो
या आलोचनात्मक चेतबाट इतिहासको विवेचना गर्ने होे ? सो विषयमा अध्येता तथा पाठक स्पष्ट निर्णयमा
पुग्नैपर्छ। पत्रकार लक्ष्मण श्रेष्ठले भनेझैं इतिहासका लागि इतिहास लेख्ने
होइन कि इतिहासको प्रोजेक्सनमा समकालीन सन्दर्भलाई कसरी उठान गर्न सकिन्छ भन्ने
जोडकोणलाई स्थापित गर्नु जरुरी हुन्छ। पारम्परिक विधिबाट नेपालको एकसरो इतिहास
लेखिइसकेको छ।
मल्लकालमै नेपाल आउने
पश्चिमी विद्वान्हरूले नेपालको इतिहास लेखनको थालनी गरेका थिए। इतिहास लेखनको
इतिहास मल्लकालबाट सुरु भई राणाकालसम्म विस्तारित नै थियो। चन्द्रशमशेरले विसं
१९८४÷८५ मा
पर्सिभल ल्यान्डनलाई नेपाल शीर्षकको प्रशस्तीपरक इतिहास लेखाउन लगाई प्रकाशित
गराएका थिए (पुरुषोत्तमशमसेर ज.ब.रा., श्री ३ हरूको तथ्य वृत्तान्त २०६५ दोस्रो भाग, पृष्ठ १६३)। यसभन्दा अगाडि विसं १९३७ मा भारतीय
लिपि विशेषज्ञ भगवानलाल इन्द्रजीले लिच्छविकालका केहस् अभिलेखहरूको लिप्यन्तर गरी
प्रकाशन गराएबाट नेपालमा अभिलेख अध्ययनको इतिहास उनीबाट सुरु भएको मान्नुपर्छ।
इस्वी १८८६ मा सेसिल वेन्डालले थप चारवटा अभिलेख प्रकाशित गराएका थिए भने इस्वी
१८९६ मा फुहररले लुम्बिनीस्थित अशोक स्तम्भमा रहेको अभिलेख उतार गरी आफ्नो लिपि
विशेषज्ञ जर्जबुहलरलाई लिप्यान्तर गर्न पठाएका थिए।
विसं २००७ को राजनीतिक
परिवर्तनसँगै इतिहासको अध्ययन र अनुसन्धानले निरन्तरता पाएको देखिन्छ। विशेष गरी
इतिहासशिरोमणि बाबुराम आचार्य, पण्डित नयराज पन्त, योगी नरहरिनाथ, जनकलाल ढकाललगायतले अभिलेखहरूको अध्ययनमा जोड
दिएको देखिन्छ (दिनेशचन्द्र रेग्मी, पुरालेखन र अभिलेख, २०६० पृ ३२)। विदेशीको आँखाबाट लेखिएको नेपालको
इतिहास बढी भ्रमपूर्ण थियो भने लेखनको उद्देश्य स्वार्थपरक थियो भन्ने भनाइ छ। गलत
इतिहास लेखनको यस प्रवृत्तिले गलत सिद्धान्त स्थापित हुने डर तत्कालीन नेपाली
विद्वान्हरूमा थियो। यसै पृष्ठभूमिमा इतिहास संशोधन मण्डलको स्थापना भएको थियो।
विसं २००९ मा ‘इतिहास संशोधन’ मण्डलको स्थापना भएपछि पुरातातात्विकएवं ऐतिहासिक
प्रमाणबाट प्रमाणित गरी इतिहास लेखन एवं संशोधनको सुरुआत भएको देखिन्छ। विसं २०२१
देखि गौतमवज्र वज्राचार्य र महेशराज पन्तको सम्पादकत्वमा इतिहासप्रधान त्रैमासिक
पत्रिका ‘पूर्णिमा’को प्रकाशनसँगै नेपालको आधिकारिक इतिहास लेखन एवं सम्पादनको
थालनी भएको मानिन्छ। हालसम्म पूर्णिमाको १४४औं अंक प्रकाशित भइसकेको छ।
इतिहास लेखन र अध्ययन
अत्यन्त जटिल कार्य हो। इतिहासको अध्ययनका लागि प्राचीन लिपि, भाषा, साहित्य र संस्कृतिको ज्ञान हुनुपर्छ। अभिलेखहरूमा
अंकित लिपिहरूको उतार, लिप्यान्तर
र भाषान्तरण गरेर तुलनात्मक विश्लेषणात्मक र वैज्ञानिक अध्ययनका लागि पर्याप्त
अध्ययन, साधना र
धैर्य चाहिन्छ। यस आधारमा इतिहासको गोरेटो तयार गर्न सकिन्छ। अघिल्ला पुस्ताका
इतिहासकारहरूले कोरेको यसै गोरेटोले इतिहासका विभिन्न विषयमा बहस गर्ने आधार दिएको
छ।
विशेषगरी
इतिहास संशोधन मण्डलका विज्ञ सदस्यहरूले इतिहास लेखनका यी ज्ञानका आधारहरूमा
विशिष्टता हासिल गरेको देखिन्छ। यसकारण नेपालको इतिहास लेखनमा संशोधन मण्डलको
एकाधिकारजस्तै रहनु स्वाभाविक लाग्छ। नेपालको इतिहास लेखनमा ‘इतिहास संशोधन’
मण्डलको गरिमामय स्थान छ। यसै प्रसंगमा उल्लिखित अध्ययन विविध पक्षहरूमध्ये कुनै
एक पक्षमा कमजोर हुँदा समग्र इतिहासको अध्ययन गर्न सकिँदैन। वस्तुत : यी सबै
विषयमा ज्ञान राखी त्यही दाँजोमा अध्ययन गर्न सक्ने दक्ष जनशक्ति त्रिभुवन विश्वविद्यालयबाट
उत्पादन हुन सकेको छैन।
इतिहास
विषयमा स्नातकोत्तर र विद्यावारिधिको अध्ययन पूरा गरेका सयौं विद्यार्थीले नेपालको
इतिहासको खोजीमा खास काम नगरेको अनुभव हुँदै आएको छ। वस्तुत : इतिहास संशोधन मण्डल
र यसका सदस्यहरूले अनुसन्धान गरी प्रकाशित गरेका पुस्तकको ब्याज खाएर प्राज्ञ
बनेका छन् तर साँच्चै अनुसन्धानको कसीमा संशोधन मण्डललाई चुनौती दिन सक्ने कुनै
अन्वेषक वा अन्य संस्था स्थापना हुन नसकेको यथार्थ छ। हाम्रा विश्वविद्यालयबाट
उच्च अंकसहित डिग्री विद्यावारिधि लिएका कसैले पनि भेटिएको शिलापत्रको अर्थ दिनु त
के सन्दर्भसमेत बताउन नसक्ने अवस्था छ।
त्रिविको
संस्कृति, इतिहास
तथा पुरातत्व केन्द्रीय विभागबाट अभिलेख राम्ररी उल्था गर्न, पढ्न र व्याख्या गर्नसक्ने कुनै लिपि विशेषज्ञ
तयार गर्न नसकेको त्रिविप्रति संशोधन मण्डलको चिन्ता र चासो रहनु स्वाभाविक हो
(महेशराज पन्त, यो भ्रम
नै भ्रमको देश हो, नागरिक, २०७४।४।२९)। स्मरणीय छ, संशोधन मण्डलको साथसाथै हेमराज शाक्य, हरिराम जोशी र धनवज्र वज्राचार्यजस्ता
विद्वान्हरूको प्राचीन लिपिसम्बन्धी अध्ययन र विश्लेषणमा महत्वपूर्ण योगदान छ।
व्याख्या र विश्लेषणको दृष्टिकोणमा धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख र
मध्यकालका अभिलेख उत्कृष्ट कृति मानिन्छ।
इतिहास अनुसन्धानसम्बन्धी
मूलाधार शिक्षाको यस्तो नैराश्य स्थितिमा पनि संशोधन मण्डलले कमसेकम इतिहास विधाको
शाखामा मियो गाड्न सफल भयो। संशोधन मण्डलको उदय हुनुभन्दा अगाडि नेपालको इतिहासको
खोजीमा गोरा साहेबहरू हावी भएका थिए। अहिले गोरा साहेबहरूले गरिरहेको प्राचीन
स्थलहरूको खनन कार्यमा हाम्रो पुरातत्व विषयका अधिकारीहरू फट्के किनाराका साक्षी
भएकै ढाँचामा संशोधन मण्डलपछि सरफेस आर्कियोलोजी अर्थात् जमिनमाथिको पुरातत्वको
खोजीमा पनि फेरि गोरा साहेबहरूको मातहतमा नेपालको इतिहासको खोजी होला भन्ने नमीठो
कल्पना गर्नु परेको छ भन्ने महेशराज पन्तको भनाइमा केही असहमति व्यक्त गर्न
सकिन्छ।
नेपालको इतिहास लेखनको
इतिहासमा प्रारम्भमा गोरा साहेबहरू हावी भए पनि यस किसिमको प्राज्ञिक हैकमवादलाई
इतिहास संशोधन मण्डलले तोडेको सर्वस्वीकार्य यथार्थ हो। तर इतिहास अध्ययनको
क्षेत्रमा विदेशी विद्वान्हरूले चासो राखी अध्ययन, अनुसन्धान गरी नेपालको इतिहासको केही पक्ष उजागर
गरेपछि सो विषयप्रति स्वदेशी विद्वान्हरूको पनि ध्यान केन्द्रित भई यसै विषयमा थप
खोज अनुसन्धान गर्न आँखा उघारिदिएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन। नेपालका
पछिल्ला चरणका उत्खननहरूका सन्दर्भमा महेशराज पन्तले भनेजस्तै गोरा साहेबहरूको
हालीमुहाली भन्ने वाक्यांशलाई भने स्वीकार गर्नचाहिँ अलि सकिँदैन।
उत्खननमा ठूलो बजेट र दक्ष
जनशक्ति आवश्यक पर्छ। उत्खननका आधुनिक सामग्रीहरू र प्राप्त पुरातात्विक
सामग्रीलाई वैज्ञानिक विधिबाट संरक्षण गर्न र तिथिमिति निर्धारणजस्ता कैयौं विषयमा
हाल पनि वैदेशिक सहयोगबिना गर्न सकिएको अवस्था भने छैन। तर फट्के किनाराको साक्षी
बन्नुपर्ने दिनहरू क्रमश : घट्दै गएको र पुरातत्व विभागको जनशक्तिबाट नेपालका विभिन्न
स्थानहरूमा उत्खनन गरी ठूलाठूला उपलब्धिहरू क्रमश : प्राप्त गरिरहेको सत्य
जगजाहेरै छ। विदेशीहरूले गर्ने उत्खननमा नेपालका पुरातत्वविद्हरूकै नेतृत्वदायी
भूमिका छ। तर विगतका वर्षहरूका तुलनामा भन्दा अहिले पुरातातात्विकउत्खननबाट धेरै
उपलब्धि प्राप्त भए पनि पर्याप्त जनशक्तिको अभाव महसुस गरिएको छ।
नेपालको
पुरातातात्विकउत्खननका सुरुको अवस्थामा पन्तले भनेझैं नेपालका तत्कालीन
पुरातत्वविद्हरू फट्के किनाराका साक्षी बने पनि हाल त्यो अवस्था विस्तारै परिवर्तन
हुँदै गइरहेको छ। तारानन्द मि श्र र बाबुकृष्ण रिजालपछिका समयमा पुरातत्व विभागको
जनशक्तिले किचकबध, हिलेहाङ, खपडे डाँडा, मोरङको वेतना, डोल्पाको त्रिपुरासुन्दरी, तनहुँको तनहुँसुर, दाङको दंगीशरण, नवलपरासीको पण्डितपुर, रूपन्देहीको भवानीपुर, कपिलवस्तुको दोहनी, काठमाडांैको चन्द्रागिरि, बुङ्मती, हनुमानढोकास्थित नौतले मन्दिरलगायतका कैयौं ठाउँको
उत्खनन गरी उत्खनन प्रतिवेदनहरू प्रकाशित भएका छन् र हुने क्रममा छन्। यसकारण
महेशराज पन्तले भनेजस्तो पुरातातात्विकउत्खननमा गोरा साहेबहरू हावी भएको भन्ने
तर्कलाई अस्वीकार गर्नु श्रेयष्कर हुन्छ। तर यो भन्दै गर्दा संशोधन मण्डलसँग
पौंठेजोरी खेल्न खोजेको किमार्थ होइन भन्नेमा यो लेखका लेखक स्पष्ट छ। सूर्यलाई
हत्केलाले छेक्ने कोसिस गर्ने प्रयास गरिएको होइन तर विषयलाई बहसमा ल्याउन मात्र
खोजिएको हो।
समकालीन सन्दर्भमा
इतिहासलाई फरक कोण र समीकरणबाट व्याख्या र विमर्श गर्ने प्रयास गरिएको देखिन्छ।
अभिलेखहरूको लिप्यान्तरण र रूपान्तरण गरी प्रमाणको कसीमा घोटेर इतिहास लेखनमा
संशोधन मण्डलले दिएको योगदानको माथि नै चर्चा परिसकेको छ। वस्तुत : इतिहासकारको
काम त्यसको साथसाथै समकालीन सन्दर्भहरूमा तुलना गरी इतिहासवाद र हर्मेन्युटिक्स
दृष्टिकोणबाट विवेचना गर्नुपर्छ। तर संशोधन मण्डलका इतिहासकारहरू प्रशस्ती गानमै
रमाएको देखिन्छ भन्ने आरोप संशोधन मण्डलमाथि लागेको देखिन्छ। यस आरोपलाई संशोधन
मण्डलले आफ्ना लेखहरूमर्फत खण्डन गरेको देखिन्छ। तर युग पाठकले भनेझैं वर्तमान
सन्दर्भमा ‘भृकुटीको विभूति गाथा गाएर मात्र छल्ने दिन गइसकेको छ।’ आर्य सभ्यताकोे
महत्व र सत्ताको बार्दलीबाट तल झर्नैपर्छ भन्ने सत्यलाई स्वीकार गर्नैपर्छ।
बौद्ध, कर्णाली, किरात आदि सभ्यतासँग सहकार्य गर्नुको विकल्प छैन (पाठक, ०४३ : ८८ )। मांगेनाले उठाएको यस किसिमको
सवाल्ट्रन प्रभाव केही मात्रामा संशोधन मण्डलमा देखिन्छ। यद्यपि संशोधन मण्डललाई
राजाहरूको विरुदावली व्याख्यामै लागेको आरोपहरू नसुनिने होइन तर यस प्रकारका
आरोपहरूलाई संशोधन मण्डलले अस्वीकार गरेको देखिन्छ। इतिहासका पुराना पात्र र
तत्कालीन सन्दर्भलाई अहिलेको आँखाले हेर्ने र सराप्ने र इतिहासलाई सोही समयको विश्व
सन्दर्भबाट हेर्नुपर्छ भन्ने दुवै अतिवादी सोचलाई संशोधन मण्डलले अस्वीकार गरेको
देखिन्छ। हार्नेहरूको पनि इतिहास हुन्छ भन्ने ऐतिहासिक यथार्थलाई स्वीकार गर्दै
तथ्य र प्रमाणका आधारमा इतिहास लेख्नुपर्छ भन्नेमा नै इतिहास संशोधन मण्डलको
दृष्टिकोण रहेको देखिन्छ (महेशराज पन्त, ‘यो भ्रम नै भ्रमको देश हो’)।
ऐतिहासिक प्रमाणभन्दा पनि
मिथकीय पात्रलाई पुज्ने नेपालको प्राज्ञिक परम्परामा विमति जनाउँदै बुटवल जितगढ
किल्लामा अंग्रेजलाई हराउने उजिर सिंहको योगदानलाई बिर्सने तर युद्ध हारेका अमर
सिंह र बलभद्र कुँवरहरूको गुणगान र तारिफ गर्ने नेपालको प्राज्ञिक परम्परामा विमति
जनाएर आफूलाई सवाल्ट्रन अध्यताका रूपमा चिनाएका छन्। मुलुक गुमाउने भीमसेन थापालाई
विभूषित गर्ने र मुलुक थप्ने जंगबहादुरलाई बिर्सने प्रवृत्तिले इतिहासको अवमूल्यन
गरिएकोप्रति विरोध गरेर आफूलाई सवाल्ट्रन इतिहास लेखकका रूपमा प्रस्तुत गरेका छन्
(ऐजन्)। तर के इतिहासको उत्खनन गर्ने क्रममा हामी इतिहास लेखिनुअघिको मिथकीय
समयसँग साक्षात्कार गर्न सक्छौं त ? (सञ्जीव उप्रेती, सिद्धान्तका कुरा, २०६८, पृ ३४) भन्ने प्रश्नलाई इतिहास लेखनमा ध्यान दिनु
जरुरी छ।
इतिहासको अतिरञ्जित
भाष्यहरूले नेपालको इतिहासको गलत व्याख्या हुनसक्ने सम्भावनाको वृद्धि हुँदैछ।
माक्र्सवादी कोणबाट नेपालको इतिहासको पुनव्र्याख्या गर्नेहरूले ऐतिहासिक
पृष्ठभूमिलाई लत्याएको देखिन्छ भने इतिहास लेखनको सोझो धार अँगाल्ने लेखकहरू
पुरातन चिन्तनभन्दा माथि उठ्न सकेको देखिँदैन। सवाल्ट्रन इतिहास लेख्नेहरूले
मूलधारको प्रवृत्तिलाई बेवास्ता गरेका छन् जब कि इतिहास लेखनको सोझो धारको अध्ययन
नगरी सवाल्ट्रन इतिहासको अध्ययन गर्ने आधार रहँदैन अर्थात् संशोधन मण्डलको शरण
नपरी सुखै छैन भन्दा अत्युक्ति नहोला। मूलधारको इतिहास लेख्ने संशोधन मण्डलले पनि
पारम्परिक चिन्तनभन्दा माथि उठेर इतिहासवाद, हर्मेन्युटिक्स चिन्तन र सवाल्ट्रन आवाजहरूलाई
आत्मसात् गर्नु आवश्यक नै देखिन्छ। कमलप्रकाश मल्ल, इमानसिंह चेम्जोङ, अभि सुवेदी, सञ्जीव उप्रेती, युग पाठकहरूको सवाल्ट्रन धार र मूलधार भनिने
संशोधन मण्डलको धारलाई त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र, मानवशास्त्र, इतिहास र संस्कृति तथा पुरातत्व विभागका
पाठ्यक्रमहरूमा समावेश गराई बहसमा ल्याउन सके अरुण गुप्तोले भनेझैं मानविकी विषयको
भविष्य उज्ज्वल छ।
इतिहास लेखनको क्रममा
नेपालको इतिहास लेखनको इतिहासमा संशोधन मण्डलको योगदानलाई भविष्यले समुचित
मूल्यांकन गर्ला तर संशोधन मण्डलको विरासतलाई निरन्तरता दिने पुस्ता तयार गर्न
नसक्नु सरोकारवालाहरूको कमजोरीबाहेक अरू केही होइन। इतिहास अध्ययनका लागि लिपि
जान्न आवश्यक छ तर त्रिवि संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा लिपिको पढाइ भए
पनि लिपिमै विशेषज्ञता हासिल गर्न विद्यार्थीको अभिरुचि बढेको देखिँदैन। पुरातत्व
विभागका लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशीको सेवा निवृत्तिसँगै पुरातत्व विभागमा
लिपि विशेषज्ञको अभाव महसुस गरिएको छ। महेशराज पन्त र दिनेशराज पन्त, काशीनाथ तमोट, दिनेशचन्द्र रेग्मी, रणहार नामक उपन्यासमा मदन पुरस्कार विजेता
योगेशराज र पुरुषोत्तमलोचन श्रेष्ठहरूको शारीरिक असमर्थतासँगै लिपि पढ्न
सक्ने विशेषज्ञको अभाव हुने निश्चितप्राय : छ।
इतिहास संशोधन मण्डलको
अभिप्रेरणामा अहिले केही विद्यार्थी अभिलेख अध्ययन तथा प्रकाशनका लागिपरेका छन्।
यी प्रतिभाहरूलाई सम्बन्धित निकायले प्रोत्साहन दिएमा संशोधन मण्डलले निरन्तरता
पाउन सक्ने बलियो सम्भावना छ। यसतर्फ कुनै ठोस कार्य गर्न सकिएन भने इतिहास संशोधन
मण्डलले लगाएको ब्याज खानुबाहेक हाम्रो अर्को कुनै भूमिका हुने छैन। अनुसन्धानका नाममा
संशोधन मण्डलका पुस्तकहरू साभार गर्दै आफ्नो नाममा पुस्तक प्रकाशित गरी विद्वान्
कहलाउने अनुसन्धानकर्ताहरूको नियति बन्ने निश्चितप्राय : देखिन्छ।