Saturday, December 21, 2019

अजयमेरुकोटको इतिहास हराउँदै


अजयमेरुकोटको इतिहास हराउँदै
सम्पादक on January 30, 2019, गोरखापत्र
तेह्रौ शताब्दीमा राजा नागी मल्लद्वारा डोटी राज्य सञ्चालनका लागि निर्माण गरिएको अजयमेरुकोटको इतिहास मेटिने खतरामा पुगेको छ ।
गृष्मकालीन मौसममा बस्नका लागि निर्माण भएको कोट संरक्षणका अभावमा जीर्ण बन्नुका साथै संरचनासमेत मेटिदै गइरहेको अजयमेरुकोटको अवलोकनमा निस्कने अवलोकनकर्ता बताउँछन् ।
मल्ल राजाको दरबर, रानीले रानीताल नुहाउन जाने गुफा, घोडाराख्ने तवेला, नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेका स्थानीयवासीको भनाइ छ ।
पुराना कलाशैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ ।
यस भेगकै शक्तिशाली राजाका रुपमा रहेका राजा नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण भएको कोट पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण स्थलको रुपमा रहेको स्थानीय शिक्षक हीरा सेटी बताउँछन् । आफूले पर्यटकलाई आकर्षण गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको भए तापनि मुख्य आकर्षण नै ओझेलमा रहेको उनले गुनासो गरे ।
यस कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीनशैलिका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।
डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा सम्बद्र्धन हुन नसक्दा एकहजार ३०० वर्ष पुरानो इतिहास मेटिने अवस्थामा पुगेको हो । आठौँ शताब्दीमा निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ, भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन् । जीर्ण बनेका भवनबाट १० औँ फिट लामा ढुङ्गाको मूर्ति चोरी हुन थालेको छ ।
पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको जनाए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति चोरी भइसकेका छन् । कोटक्षेत्रमा रहेका अधिकांंस देवल पूर्णरुपमा नष्ट भइसकेका छन् । नेपाल सरकारबाट आवश्यक बजेट नआई थोरै आउने र त्यो पनि उद्देश्यअनुसार काम नहुँने गरेको स्थानीवासीले आरोप लगाएका छन् ।
संरक्षण र सम्बद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफासमेत बन्द भइसकेको छ । कोटक्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला जीर्ण छन् । जमिन अतिक्रमण गरेर खेती गर्नाले कोटले चर्चेको भूभाग साँगुरिदै गएको छ । तत्कालीन राजाले यहीबाट नै डोटी राज्य व्यवस्था सञ्चालन गर्दै आएको भन्ने किम्बदन्ती स्थानीयस्तरमा रहेको पाइन्छ ।


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...