Showing posts with label आदिवासी. Show all posts
Showing posts with label आदिवासी. Show all posts

Saturday, January 27, 2024

किरातको इतिहास : को हुन् किरात राई ?

 किरातको इतिहास : को हुन् किरात राई ?

डा. भक्त राई, लोकपाटी न्यूज ६ माघ २०७६, सोमबार

किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिमन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन्। किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन। जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ। ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन।

किरात जातिका बारेमा इमानसिंह चेम्जोङ भन्छन्, वर्तमान समयमा लिम्बू र राई मात्र किराती भनी प्रख्यात भएको भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, नेवार, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे कोचे, धिमाल, थारू, दनुवारसमेत किरात हुन्। यसैगरी, नेपालबाहिर आसामका ताई र भियतनामी जाति, फिलिपाइनका खम्बोज जाति र युनानी चिनिया जाति पनि किरात हुन्।

यसै क्रममा अर्का अनुसन्धानदाता डोरबहादुर विष्टका अनुसार किरातका सन्तानहरूमा आफ्नो मातृभाषाका रूपमा तिब्बत बर्मेली भाषाहरू बोल्ने राई, लिम्बू, सुनुवार, जिरेल, कोयू, गुरुङ, मगर, थकाली, मेचेकोचे र काठमाडाैका पहिलेका नेवारहरू हुन्।

तुलसी दिवसका अनुसार धिमाल जाति आफूलाई किराती मान्दछन्। ईसापूर्व १००० वर्षभन्दा धेरै पहिले भारतीय उपमहाद्वीपको उत्तरी र पूर्वी हिमालय क्षेत्रमा आएर बसेका किरातीहरूको एक शाखा धिमालहरू पर्दछन्। किरातका बारेमा हर्षबहादुर बुढामगर भन्छन्, ‘हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर, गुरुङ, लिम्बू तामाङ, चेपाङ, नेवार आदि किरातहरू हुन्। रामकुमार पाँडेका अनुसार किरातहरू लिम्बू, राई, सुनुवार, नेवार, मगर, कुमाले, तामाङ, गुरुङ, भोटे, थारू, याख्खाका रूपमा विकास भएका हुन्।

यसैगरी, किरातभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक अनुसन्धाताहरूले अर्काथरी धारणाहरू पनि सार्वजनिक गर्दै आएका छन्। यिनीहरूमध्ये ऐडेन मान्सिटाइका अनुसार खास अर्थमा राईहरू मात्र किराती हुन्। सही रूपमा यसको प्रयोग (खुम्बू) राईहरूका लागि मात्र हुनुपर्दछ। जर्ज ग्रियर्सनको भनाइ अनुसार याख्खा र लिम्बूहरूलाई प्रायजसो किराती भनिँदैन।

यसरी हेर्दा के देखिन्छ भने एकथरी विद्वान्हरूले खम्बू अर्थात् राईलाई मात्र किराँती भन्ने गरेको देखिन्छ भने अर्काथरि विद्वान्हरूले किरातीभित्र अन्य जातिहरू पनि पर्दछन् भन्ने धारणा व्यक्त गरेका छन्। वस्तुतः किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

यसरी किरात राई जातिभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषयमा लामो समयदेखि नै विभिन्न किसिमका फरक–फरक धारणाहरू आइरहेका छन्। तापनि, हाल आएर राई, लिम्बू, सुनुवार र याख्खा जातिले आफू किरात भएको स्वीकार गरेका छन्। त्यसैले, वर्तमान समयमा किराती भन्नाले यिनै चार जातिहरू राई, लिम्बू, सुुनुवार र याख्खालाई बुझ्ने गरिन्छ। यिनै चार जातिमध्ये राई जाति किरातको प्रमुख जातीय सम्प्रदाय हो। प्रस्तुत आलेखमा यिनै राई जातिको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ।

जनसंख्या तथा बसोबास क्षेत्र

मूल रूपमा पूर्वी नेपालको पहाडी जिल्लाहरूमा छरिएर बसोबास गर्ने किरात राईहरू हाल आएर नेपालका पूर्वी तराईका जिल्लाहरू खासगरी झापा, मोरङ, सुनसरी, उदयपुर तथा काठमाडांै उपत्यकामा समेत बसोबास गर्दछन्। वैदेशिक रोजगारीका क्रममा खास गरेर ब्रिटिस सेनामा कार्यरत किरात राई जातिका कतिपय मानिसहरू बेलायत, हङकङ, बु्रनाई तथा अमेरिकामा समेत बसोबास गर्न थालेका छन्। यसका साथै छिमेकी राष्ट्र भारतका सिक्किम, पश्चिम बंगाल, अरुणाचल, उत्तर प्रदेश तथा भुटानमा समेत किरात राईहरूको बसोबास पाइन्छ।

यिनीहरूको वास्तविक तथ्यांक नआउनुमा जनसंख्या संकलन गर्ने क्रममा गणकलाई जात लेखाउँदा ‘राई’ नेलेखाई थर (पाछा) लेखाएको देखिन्छ। जस्तै, राईको सट्टामा बान्तवा, साम्पाङ, कुलुङ, थुलङ, चाम्लिङ आदि। यसैगरी, जनसंख्या गणकहरूलाई उचित तालिम र सामग्री उपलब्ध नगराइनु तथा गणकहरूको अनुगमन नहुनाले वैज्ञानिक तरिकाले जनसंख्या गणना हुन नसेककाले पनि किरात राईहरूको वास्तविक जनसंख्या तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ।

थर तथा उपथर (पाछा)

किरात राई जातिभित्र विभिन्न थर तथा उपथर (पाछाहरू) रहेका छन्। किरात राई जातिमा सुरुमा दसथरी राई मात्र थियो भन्ने भनाइ रहेको पाइन्छ। किराती राई जातिमा थरहरूका बारेमा जनकलाल शर्मा भन्छन्, ‘किरात जातिमा भएका दसथरी राईहरू हुन्, १. आठपहरे २. बान्तवा राई ३. चाम्लिङ ४. कुलुङ ५. लोहरुङ ६. नेवाहाङ ७. नेपाली ८. साङपाङ ९. थुलुङ र १०. चौरसिया।’ यसरी हेर्दा के प्रस्ट हुन्छ भने यिनै राईका पुराना थरहरूबाट विभाजित हुँदै टुक्रिँदै र फैलिँदै जाँदा अनगिन्ती थर तथा उपथरहरू देखिँदै आएका छन्, जुन अद्यापि कायमै छ।

यसरी किरात राई जातिमा जातका रूपमा राई र थरका रूपमा साम्पाङ, कुलुङ, थुलुङ, बाम्बुले, खालिङ, नाछिरिङ, दुमी, कोयु, फमा, याम्फू, मेवाहाङ, आठपहरिया, लिङखिम, फाङदुवानी, बेल्हारे, लम्बिछोङ, चाम्लिङ, बाहिङ, बान्तवाजस्ता विभिन्न थरहरू रहेका छन् भने यी थरभित्र पनि आ–आफ्नै पाछा रहेका हुन्छन्। जस्तै, साम्पाङ थरभित्र मालु, बाली, राना, हिराङ आदि। त्यसैगरी, बान्तवाभित्र माङपाङ, मुकारुङ, छाङछा, इसारा आदि अनेकौं पाछाहरू रहेका छन्। यसरी किरात राई जातिको थरअनुसारको आ–आफ्नै भाषा समेत छ।

भाषिक अवस्था

किरात राई जातिका विभिन्न थरहरूको आ–आफ्नै प्रकारका भाषा छन्। कतिपयका भाषा लोप भइसकेका छन् भने कतिपयको लोपोन्मुख अवस्थामा पुगेका छन्। सरकारी एकल भाषिक नीति, बसाइँसराइ मिश्रित सामाजिक संरचना, अन्तरजातीय तथा अन्तरथरीय विवाह, आर्थिक विपन्नता, अन्तर्राष्ट्रिय प्रभाव आदिका कारण अधिकांश राईहरूको भाषिक अवस्था लोपोन्मुख अवस्थामा पुगको देखिन्छ। कतिपय राईहरू जस्तै बाहिङ, कोयू, हायू, याम्फू, याम्फे, छिलिङ, लोहारुङ, मेहवाङ आदि थरी राईका भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको देखिन्छ।

यसरी किरात राईहरूको जनसंख्या वृद्धिसँगै बसाइँसराइ हुने क्रममा ठाउँअनुसारको संस्कार, संस्कृति र भाषिकाहरूको विकास भई भाषिक विविधता भएको देखिन्छ। वर्तमान परिस्थितिमा नेपालको अवस्था यहाँसम्म आइपुग्दा भने कतिपय किरात राई भाषीहरूले आफ्नो भाषामा पाठ्यपुस्तक, पत्रपत्रिका तथा साहित्यिक रचनाहरू समेत प्रकाशन गर्न थालेका देखिन्छन्। तर, अधिकांश राई भाषाभाषीहरू लोप हुने खतराको नजिक पुगिसकेका छन्।

(लेखक त्रिविविबाट राई जातिका प्रचलित लोकगीतमा विद्यावारिधि हुन्।)

 

Sunday, May 30, 2021

आदिवासी ज्ञान के हो ?

 आदिवासी ज्ञान के हो ?

शुक्रवार १६ आस्विन, २०७७   |   कला र साहित्य

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल
https://www.indigenousvoice.com/1059.html

विश्वका विभिन्न ७० देशहरुमा बसोबास गरिरहेका ३७ करोड भन्दा बढी जनसंख्या भएका आदिवासीहरुको आफनै परम्परा, आफनै संस्कृति र जिविका सञ्चालनका तौरतरिकाहरु छन् । मानव विकासको क्रमसंगै आदिवासीले आर्जन गरेको अनुभव, अभ्यास र कतिपय अवस्थामा चुनौतिलाई समाधान गर्ने क्रममा उपलव्ध ज्ञानहरु रहेका हुन्छन् । आधुनिक राज्य प्रणालीको विकास नहुँदै अभ्यासमा आएका त्यस प्रकारका ज्ञानलाई पृथक सामाजिक संगठन, संस्कृतिहरुमार्फत समाजलाई सुव्यबस्थित बनाउन सहयोग गरेको हुन्छ । यस्ता ज्ञानहरु धेरै प्रकारबाट अभिव्यक्त हुन्छन् । कतै मूर्त वा अमुर्त साँस्कृतिक सम्पदाका रुपमा दृश्य वा अदृश्य हुन्छन् भने कतै प्रचलन र आध्यात्मिक विश्वासमा अनुवाद भएका हुन्छन् । तथापि कुनै पनि समाज ज्ञान सून्य भने हुन्नन् । 

मान्छेले आफनो ज्ञान र अनुभवका आधारमा तत्कालीन समस्यालाई समाधान गर्ने    जीवनलाई अझ गुणस्तरीय बनाउने उदेश्यले अनेकौ खोजहरु गरेको छ । मानिसलाई अनेकौ रोगव्याधि लाग्दा उपचार खोज्यो, खनिज, खाद्यपदार्थको उपयोगिता, पृथ्वी, वायूमण्डल लगायत प्रकृति र प्राकृतिक स्रोतको उपादेयता माथि अनुसन्धान ग¥यो । परिणाम स्वरुप जीवनलाई एक स्वीकृत तरिकाले (Accepted Modes Of Life) परिबर्तन गर्दै लग्यो ।  यसैको परिणाम. स्वरुप धर्म, ज्ञान, कला, विश्वास, प्रथा, कानुन, विज्ञान, दर्शन, साहित्य, वास्तुकला, बानी व्यहोरा आदिको विकास गर्न पुग्यो । तीनै सन्दर्भहरुको गर्भबाट आदिवासी ज्ञानको पनि विकास हुँदै गएको मान्न सकिन्छ । 

आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । जीव विज्ञानको क्षेत्रमा जसरी जीवको संरचना परिबर्तन हुँदै जान्छ भन्ने मान्यता छ, त्यसै गरी आदिवासी ज्ञानको क्षेत्र पनि फराकिलो हुँदै जान्छ । प्रशिद्ध दार्शनिक चाल्र्स डार्विन (Charles Darwin) ले प्राकृतिक चयनको सिद्धान्तको व्याख्या गर्दै जैविक परिवर्तन संगै केही आन्तरिक शक्तिको पनि अभिबृद्धि हुने बताएका थिए । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी ज्ञान भनिएको छ । 

आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी ज्ञान भनिएको छ । 

सुरुमा सबै मानव जाति जंगली युगमा थिए । जंगलमा उपलव्ध फलफूल, पशुपंक्षीको शिकार गरेर जीवन धान्ने गर्दथे । अभ्यासका क्रममा पशुपंक्षीको शिकार गर्नका लागि हतियारको आवश्यक भयो । ढुंगाका हतियारहरु बने । कन्दमूल संकलन गर्न कुनै न कुनै प्रकारका ज्यावलहरु आवश्यक भयो, यसका लागि काठका ज्यावल बने । मानव समाज ओडारमा बस्थे, घाम पानीबाट  र अन्य जंगली हिंस्रक जनावरको आक्रमणबाट बच्नका लागि सुरक्षित स्थान आवश्यक भयो, परिणाम स्वरुप आवासको जुक्ति निस्क्यो । मानिसहरु आगोको उपभोग गर्न जाने । आगोको ताप, भोजन बनाउन सहयोगी सिद्ध भयो । 

अभ्यासकै क्रममा मानिसले खान हुने र नहुने जंगली कंन्दमूल, अन्नपातको पहिचान गरे । उत्पादनलाई भण्डारण गर्न सिके । यसबाट कृषितर्फ मानिसको आकर्षण सुरु भयो । शिकार, फलफूल, कन्दमूलसंगै पशुपालन सहायक सिद्ध भयो । यस पछि धातुको प्रयोग गर्ने सीप सिके । माटोका भाँडाकुँडा बनाउने, बनको काठ पैदावरको सदुपयोग गर्न सिके । 

मानिसहरु बिभिन्न कारणले बिरामी पर्ने बेलामा उपचारपद्धतिहरुको आविश्कार भयो । खाद्यन्न, पोषिलो पदार्थहरु खाने अभ्यासमा लागे । लाज ढाक्न झारपात, रुखका बोक्राहरुको बस्त्र बनाउन थाले पछि कालान्तरमा कपडा बुन्ने रेशाहरुको विकास गरेर कपडाहरु लगाउन थाले । असभ्य जंगली समाजबाट उक्लदै सामाजिक व्यबस्था, प्रथाजनित संस्थाहरुको निर्माण, आध्यात्मिक विश्वासहरुका माध्यमले समाजलाई सुव्यवस्थित बनाउन लागे । यही विकासक्रममा अनेको प्रथा, परम्पराहरुको जग बसाले । यही पृष्ठभूमिबाट आदिवासी ज्ञानको प्रचलन हुन थाल्यो । यो ज्ञानको पुस्तान्तरण, प्रचलन र मान्यताहरु स्थापित भएकै कारणले आजको विश्वमा करौडौ संस्कृति, संस्कार र भाषा तथा सभ्यता विकसित रुपमा रहेका छन् । 

परिभाषा 

आदिवासी ज्ञान (Indigenous Knowledge)  मानव समुदायको लामो समय देखिको अभ्यास र अनुभवको निरन्तरता हो । यसलाई परम्परागत ज्ञान (Traditional Knowledge)   कसैकसैले स्थानीय ज्ञान (Local Knowledge) पनि भन्ने गर्दछन् । तथापि विज्ञान र प्रविधिको बढदो प्रयोग, विश्वव्यापीकरण, शहरीकरण, आधुनिक जीवनशैलीका कारण यस्तो ज्ञान आदिवासीहरुमा मात्र प्रचलनमा रहेको छ ।

जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ ।

 आदिवासी ज्ञान आदिवासी समुदायको साझा इतिहास, आफनै भौगोलिक क्षेत्रको परम्परागत भूमि र भूक्षेत्र, साझा संस्कृति, मातृ भाषाको प्रयोगका कारण जिवित रहेको छ । जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ । आदिवासी ज्ञानको लिखित दस्तावेज उपलव्ध हुँदेन । किनकि आदिवासीहरुको जिवन्त मौखिक परम्पराले यस्ता ज्ञानलाई बचाएको हुन्छ । आदिवासी ज्ञान केही रुपमा संस्कृतिका रुपमा र कतै लोककथा, किम्बदन्तीका रुपमा बाँचेका हुन्छ भने कतै गीत तथा नाचहरुमा, अभिव्यक्त हुन्छ । केही आदिवासीहरुमा चित्रकला, मुर्तीकला एबम् धार्मिक संस्कारहरुमा देख्न सकिन्छ । 

आदिवासी ज्ञान सिर्जना वा आविस्कारबाट प्रारम्भ भएको नभै अभ्यास र अनुभवबाट खाँरिदै परिस्कृत हुँदै आएको हुँदा यसको स्वामित्व र प्रचलन सामुहिक हुन्छ । आदिवासी ज्ञानको प्रारम्भ मिती वा सुरुवाती समय हुँदैन । यसको प्रचलन र प्रयोग सामुहिक हुने भएको हुँदा यस्तो ज्ञानको श्रेय पुर्खालाई दिइन्छ । यस्तो अभ्यास केही स्थानमा आध्यात्मीक आस्था र विश्वासका आधारमा रहेको हुन्छ । 

आदिवासी ज्ञानलाई पश्चिमा संसारमा नेटिभ्स साइन्स (Natives Science) का नामले पनि सम्बोधन गरिन्छ । अमेरिका स्थित नेटिभ्स नेशन इन्स्ट्रिच्यूडका संस्थापक मध्ये एक  जर्ज क्याजेटले Gregory Cajete नेटिभ्स साइन्स शव्दको प्रयोग गरेका थिए । उनको कथन अनुसार प्राकृतिक संसारमा रहेका आदिवासीहरुको मानवीय अनुभव, बिचार, अनुभवबाट  नेटिभ्स साइन्सको विकास भएको हो । यो रुढ विचार वा अन्धविश्वास भन्दा पनि यसमा विज्ञान रहेको हुन्छ र यो विज्ञान मानव समुदायको सहयोगी हुन्छ ।  जुन भूमिमा उनीहरु जन्मे, बढे र प्रकृतिसंग आत्मसाथ गरे, त्यही भूमि र प्रकृतिको देन नै आदिवासी ज्ञान हो भन्ने उनको व्याख्या छ ।

आदिवासी ज्ञान आदिवासी समाजको साँस्कृतिक मूल्य र मान्यतासंग जोडिएको हुन्छ । जहाँ जीवन निर्बाहका जटिलता बिरुद्ध सहज निकाशको बाटो खोलिएको हुन्छ । उदाहरणका लागि हातहतियारहरु, शिकार खेल्ने साधानहरुलाई लिन सकिन्छ । कृषिसंग सम्बन्धी अनेको प्रविधिहरु छन् । कृषिसंग सम्बन्धीत बिउको संरक्षण गर्ने प्रविधिहरु छन् । कुन मौसममा  कुन बाली लगाउने भन्ने ज्ञान उनीहरुसंग छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ । हिमाली आदिवासीले प्रयोग गर्ने स्वरिग्पा पद्धति यसैको निरन्तरता हो । आयुर्बेदका माध्यमले प्रयोगमा ल्याएका अनेको जडिबुटी आदिवासी ज्ञानको प्रतिफल हो । 

आदिवासी ज्ञान प्राचीन र परम्परागत ज्ञान भएता पनि आधुनिक वैज्ञानिक ज्ञान प्रणाली Modern Science Knowledge System (MSKS)  को परिपुरक हो । वैज्ञानिक ज्ञानमा झै यसमा जहिले पनि नविनता, दीगो र विश्वासयोग्य ज्ञान हुन्छ ।  पर्याबरण, जैविक क्षेत्रमा त आदिवासी ज्ञानको क्षेत्र अझ फराकिलो छ । यसका तरिकाहरु, प्रविधिहरु आधुनिक वैज्ञानिक ज्ञान प्रणालीले पनि अवलम्बन गरेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा जडिबुटीको प्रयोग एक उदाहरण हो । तिनै जडिबुटीबाट आधुकि औषधि विज्ञानले क्याप्सुल र सुईको आविस्कार गर्छन् । जस्लाई आदिवासी समाजमा तामाङको, वोन्वो, लिम्बुको फेदाङमा, गुरुङहरुको पैडी र लम तथा हिमालीभेगमा आम्चीहरु औषधीय ज्ञानलाई प्रयोगमा ल्याइरहेका छन् ।

आदिवासी ज्ञान र आदिवासी ज्ञान प्रणालीको स्रोत स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृति हो भने आधुनिक वैज्ञानिक ज्ञान प्रणालीको स्रोत अन्तराष्ट्रिय ज्ञान प्रणाली हो । बिश्वविद्यालय, अनुसन्धान संस्थान तथा अनेको कम्पनीहरुमा आवद्ध बैज्ञानिकहरुको खोज र अनुसन्धानबाट आधुनिक वैज्ञानिक ज्ञान प्रणालीबाट जन्म हुन्छ । यो ज्ञान प्रणाली मौखिक रुपमा प्राप्त गर्न सकिन्न । कठोर शैक्षिक अध्ययन, प्रशिक्षण र लामो शैक्षिक अनुसन्धानबाट प्राप्त हुन्छ ।  तर आदिवासी ज्ञान मौखिक बृतान्तका आधारमा र पुस्ता हस्तान्तरणका माध्यमले प्राप्त हुन्छ । तथापि केही आदिवासी ज्ञानलाई आधुनिक विज्ञान प्रणालीले अस्तित्व स्वीकार गरेको मात्र नभै यसको अध्ययन अनुसन्धान नै सुरु गरेको छ । उदहरणका लागि आयुर्वेद औषधालयहरु नेपालमा खुल्न थालेका छन् । सरकारले आयुर्वेद विभाग नै बनाएको छ । चिनिया एक्युपञ्चर प्रणालीको अभ्यास विभिन्न अस्पतालमा पनि हुन थालेको छ । अमेरिकमा राष्टिय स्वास्थ्य अनुसन्धानमा एक्युपञ्चर र आयुर्बेद, आम्ची प्रणालीको अनुसन्धान हुन थालेको छ । 

आदिवासी ज्ञान सबै विज्ञानको जननी मान्नेहरु पनि छन् । आदिवासी ज्ञानको प्रयोग प्राकृतिक स्रोतहरुको उपयोग, संरक्षण र व्यबस्थापनमा बढी उपयोगी देखिएकोछ । पानीको स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसंग अनेकौ जुक्तिहरु हुन्छन् । आदिवासी ज्ञानमा आधारित सूचना प्रणाली, शिक्षा तथा सार्वजनिक पहुँचलाई सहज बनाउने प्रविधिहरु पनि छन् । तर ती ज्ञानहरु कतै लोप भएका छन् भने कतै राज्यको संरक्षणको अभावमा प्रतिबन्धित छन् । 

चुनौतिहरु 

आदिवासी ज्ञान यतिबेला लोपोन्मूख अवस्थामा छ । माथि नै चर्चा भए अनुसार विश्वव्यापीकरण, आधुनिक समाज, शहरीकरण तथा राज्यका असहिष्णु नीतिले आदिवासी ज्ञान प्रणाली लोप हुने खतरामा छ । प्रभूत्वशाली जाती वा समूदायको संस्कार र संस्कृति थोपर्ने प्रबृत्तिका कारण पनि आदिवासी ज्ञान वेवास्थामा परेको छ । 

आदिवासी ज्ञानको सवल प्रयोग विशेष संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न सकिन्छ ।

धेरै देशहरुमा आदिवासीको पहिचानको पनि समस्या छ । समाजको बनावटमा साँस्कृतिक अन्तरघुलन, बिबाह आदि कारण साँस्कृतिक सम्बन्धहरुमा अन्तरविरोध कायम हुँदा पनि आदिवासी ज्ञान लोप हुने सम्भावना हुन्छ । विश्वव्यापी रुपमा बसाईसराईको बढदो प्रबृत्तिका कारण विभिन्न जातीय पृष्ठभूमिका मानिसहरु एकै समाजमा बस्न पुग्छन् । यो क्रम आन्तरिक बसाईसराईमा पनि बढ्दोक्रममा छ । यस्तो समाजमा आदिवासी र गैरआदिवासीबीच मित्रता भयो भने आदिवासी ज्ञान लोप हुने खतरा हुन्छ भने द्वण्द्वले समाजमा हिंसा र अन्य सुरक्षा व्यबस्थालाई चुनौति दिन्छ । यी दुबै अवस्थामा आदिवासी ज्ञानको प्रचलन अविश्वसनीय बन्छ ।  

आदिवासी ज्ञानको सवल प्रयोग विशेष संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न सकिन्छ । तर त्यसरी सुधार गर्दा यसको आत्मामा भने नराम्ररी चोट पुगेको हुन्छ ।

(आदिवासी ज्ञान, प्रथा र परम्परा नामक प्रकाशोन्मूख पुस्तकबाट लिइएको हो ) 

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...