Showing posts with label Police. Show all posts
Showing posts with label Police. Show all posts

Monday, April 06, 2020

महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?


महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?
के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ ? हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस् ।
चैत्र २२, २०७६उत्तमकुमार कार्की
विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा छ । ३ महिनादेखि चीनको वुहानबाट सुरु भएको महामारी आजसम्म विश्वका २०४ मुलुकमा फैलिसकेको छ । जुनबेला चीनको बुहान सहरमात्र कोरोना विरुद्धको लडाइँमा एक्लो लडिरहेको थियो त्यसबेलासम्म विश्‍व तमासे बनिरहेको थियो । आज यसले सबैलाई गाँजेपछि सबैको चेत खुलेको छ 
नेपाल पनि यसबाट अछुतो रहन सकेन र विश्वव्यापीकरण महामारीको यस लडाइँमा होमिन पुगेको छ। जुन समय नेपालले लकडाउनको घोषणा गरको थियो, त्यस समयसम्म विश्वभर लगभग २ लाख यस महामारीको चपेटामा परेका थिए भने मृतकको संख्या १३ हजार हाराहारीमा थियो।
भाग्यवश नेपालमा त्यस बेलासम्म शून्य संक्रमण थियो। नेपालमा भएको लकडाउनको ११ दिनमा संक्रमितको संख्या ९ पुगिसकेको छ भने भाग्यवश यस महामारीको कारणबाट कसैले मृत्युवरण गर्नु परेको छैन।
यही अवधिमा विश्वको तथ्यांक हेर्दा ११ दिनअघि अर्थात् २०७६ चैत १० गते २ लाख हाराहारीमा रहेको संक्रमण बढेर २१ गतेसम्म आइपुग्दा १० लाख नाघेको छ भने १३ हजार हाराहारीमा रहेको मृतकको संख्या बढेर ६० हजार नाघेको छ। झन् कहालीलाग्दो स्थिति त के छ भने विश्वको शक्तिशाली राष्ट्र संयुक्तराज्य अमेरिकामै संक्रमितको संख्या सबैभन्दा बढी २ लाख नाघेको छ।
यस आपात्कालीन घडीमा राज्यका सबै अंगलगायत सम्पूर्ण नागरिक एकजुट हुनुको विकल्प छैन र लागिपरेकै पनि छन्। नेपालमा सरकारी अंगहरुमध्ये ठूलो नेटवर्क भई समाजमा सरकारको प्रतिनिधिको रुपमा अग्रणी स्थानमा रहेको नेपाल प्रहरीको भूमिका पनि अहम् रहन्छ नै।
यस पंक्तिकारले आफ्नो जीवनको महत्वपूर्ण ३० वर्ष प्रहरी सेवामै व्यतित गर्दाको अनुभव तथा विद्यमान अवस्थामा आफूले महसुस गरेका विषयहरुलाई समेटेर यो आलेख सुझावको रूपमा प्रस्तुत गरेको छु।
यद्यपि, नेपाल प्रहरीमा सेवारत साथीहरू सक्षम, दक्ष र जानीफकार हुनुहुन्छ, तसर्थ यस पंक्तिलाई सुझाव नभएर पुनर्स्मरणको रुपमा लिन सक्नु हुनेछ।
यस किसिमको महामारीमा नेपाल प्रहरीको सदाझैं नियमित कार्यको साथै मुख्यतया तीनवटा कर्तव्य (भूमिका) हुन्छन्ः
क)   महामारीको विषयमा भएका सरकारी नीति, नियम र आदेशहरुको आफ्नो विषय र कार्यक्षेत्रभित्र रहेर कार्यान्वयन। महामारीको विषयमा क्रियाशील रहेका कानूनहरुको कार्यान्वयनसगै महामारी फैलन नदिन सरकारी तबरबाट जारी भएका नीति र आदेशहरुको तदारुकतासाथ कार्यान्वयन गर्ने तर यसोगर्दा आफ्नो कार्यक्षेत्र, अधिकार र प्रचलित नियमको त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ।
यहाँ प्रचलनमा के छ भने जुन काम तोकिएका अन्य सरकारी निकायले सम्पादन गर्दैनन्, त्यी सबै कार्य नेपाल प्रहरीले गरिदेओस् भन्ने मनसाय सरकार र समाजले पनि लिएको हुन्छ। नेपाल प्रहरीका कर्मचारीले पनि यदाकदा त्यसरी कार्यक्षेत्र, अधिकार र क्षमता बाहिरको काम जिम्मा लिई गर्ने गरिन्छ जुन स्वाभाविक रुपले सफलतापूर्वक सम्पन्न हुन गाह्रो साँगुरो नै हुन्छ।
अन्ततोगत्वा नेपाल प्रहरीले नाहकमा प्रतिष्ठा गुमाउनुपर्ने हुन्छ। तसर्थ नीति, नियम र आदेशको पालना तदारूकताको साथै सतर्कतापूर्वक गर्नु पर्छ। यसो गर्दा मानवीय संवेदनाका कुरामा पनि त्यत्तिकै ध्यान पुर्‍याउनु पर्छ।
केही उदाहरण प्रस्तुत गर्न चाहान्छु:
उदाहरण १ः केही दिन पहिले दार्चुलाको सिमापारीबाट कुनै नेपाली नागरिक वैध बाटोबाट नेपाल आउन नपाएपछि आफ्नो जीउज्यानको जोखिम मोलेर महाकाली नदी पौडी खेलेर पार गरी नेपाल प्रवेश गर्छन्। नेपाल प्रहरीले निजलाई पक्राउ गरी नांगेझार पारेर बजार घुमाइन्छ। यस प्रकरणमा पक्राउ गर्ने विषयसम्म त सरकारी आदेशको पालना होला, तर के एक नेपाली नागरिक (जो अपराधी होइनन्) ले आफ्नो मुलुक फर्कन पाउने संवैधानिक हक प्रयोग गर्न खोज्दा अपराधीले भन्दा बढी अपमानित हुनुपर्ने अवस्था ठीक हो त? यहाँ प्रहरीले ध्यान दिनुपर्ने कुरा के हो भने पहिलो कुरो त पक्राउ हैन, सामाजिक दूरी कायम राख्ने र यसको लागि विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने कुरा हो।
के कुनै व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, नराख्ने र त्यसको व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो? नेपाल प्रहरीले जिम्मेवारी वहन नगरोस् भनेर कदापि भन्न खोजिएको हैन, खाली के भने यस विषयमा सम्बन्धित निकायलाई सघाउने सम्मको जिम्मेवारी मात्र नेपाल प्रहरीको हो भन्ने यस पंक्तिकारलाई लागेको छ।
दोस्रो, नांगै शहरमा घुमाउने कुरो। यो त समाज र सरकारले समेत पचाउन सक्ने कुरै भएन।
उदाहरण २: त्यस्तै अर्को यस अवधिमा दैनिकरुपमा सुनिने लकडाउन उल्लंघन गर्ने व्यक्तिउपर गरिने भाटे कारवाहीको। यो पंक्ति टाइप गर्दैगर्दा मोरङको पथरीमा लकडाउन उल्लंघनकर्तालाई निर्घात कुटपिट गरी अस्पताल भर्ना गरिएको समाचार सुनियो। यो भाटे कारवाही कुन कानूनमा के अपराध गरेवापतको सजाया हो? मलाई थाहा छ, नेपाल प्रहरीले आफ्नो जिउज्यानको पर्वाह नगरी देशवासीको सेवामा जुटिरहेको छ। राज्यका अन्य अंगहरुभन्दा कम स्रोतसाधन र सुविधामा कुनै गुनासोबिना यस किसिमको संकटकालमा सबैभन्दा अग्रणी स्थानमा रही काम गरी आर्जन गरेको नेपाल प्रहरीको अतुलनीय योगदान र साख यस्तै किसिमका घटनाहरुबाट नधमिलियोस्, यसतर्फ सबै तह र तप्काका प्रहरी कर्मचारीहरु सजग र सचेत हुनुपर्छ।
ख)कालाबजारी विरुद्ध अनुगमन र कानूनी कारवाही। समाज संकटको घडीमा रहेका बखत केही आपराधिक तत्वहरू मौकाको फाइदा लुट्न लागिपरेकै हुन्छन्। यो मौकामा समाजमा कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्ने, तस्करी गर्ने तथा मिसावट गर्ने लगायतका मुनाफाखोरहरु सक्रिय हुने गर्छन् । यी कार्य विशुद्ध आपराधिक कार्य हुन् र यस्ता गतिविधि विरुद्ध लड्नु नेपाल प्रहरीको अहम् कर्तव्य हो । हो, नेपाल प्रहरीले यस्ता अपराध विरुद्ध लड्न सरोकारवाला अन्य निकायहरुको पनि साथ र सहयोग लिनुपर्ने हुन्छ। यसको लागि दैनिक उपभोग्यवस्तुहरुको भण्डारण कहाँ, कति, कस्तो अवस्था र कसको नियन्त्रणमा छ, बिक्री बितरण के कसरी भईराखेको छ, सूचना संकलन गर्ने र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ।
ग) सरकारी वा गैरसरकारी क्षेत्रबाट उपलब्ध गराइने सेवा र आपूर्ति व्यवस्थामा सुरक्षाको दृष्टिकोणबाट सहजीकरण गर्ने। एकातिर यस्तो अवस्थामा केही हदसम्म अभाव त हुन्छ नै भने धेरै हदसम्म भण्डारमा रहेका दैनिक ऊपभोग्यवस्तुहरु बजारसम्म वा उपभोक्ताको घरदैलोसम्म पुग्न पाएको हुादैन। दैनिक मिहिनेत, मजदुरीको आधारमा जीविकोपार्जन गर्नेहरुको अवस्था नाजुक हुन्छ। सरकारको कर्तव्य हुन्छ— व्यापारी वा सरकारी भण्डारमा रहेका दैनिक उपभोग्यवस्तु बजारमा वा आवश्यकतानुसार उपभोगकर्ताको घरदैलोमा पुर्‍याइदिनु र दैनिकी चलाउन कमजोर अवस्थामा रहेका नागरिकलाई निःशुल्क उपलब्ध गराउनु।
यस्तो अवस्थामा आपूर्ति कार्यमा सुरक्षा दिने र संकटकालमा ढुवानी समेतको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। तर यसको लागि सरकारसाग छुट्टै साधनस्रोतको माग राख्न हिच्किचाउनु हुादैन किनभने प्रहरीले प्रदान गर्ने नियमित सेवाको लागि उपलब्ध साधनस्रोत अन्तै मोडिदिदा प्रहरीको आधारभूत सेवामा नै नकारात्मक असर पर्ने हुन्छ। त्यस्तै आपूर्तिकर्ता र भण्डारण व्यवस्थामा पनि सुरक्षा चासो र चिन्ता त्यत्तिकै रहनुपर्छ।
त्यस्तै सेवा पुर्‍याउने निकाय र व्यक्तिहरु यस्तो अवस्थामा सुरक्षा संकटमा रहेका हुन्छन्। खासगरी स्वास्थ्यकर्मीहरु, अस्पतालहरू र औषधी उत्पादक र बितरकहरुको समेत सुरक्षाको ग्यारेन्टी लिनु र उपलब्ध गराउनु प्रहरीकै चिन्ता र चासोको विषय हो। यस बिचमा केही गलत उदाहरणहरू पनि देखिएका छन्। प्रहरी नेतृत्व र गृह प्रशासन नेतृत्वले समयमै सुधार गर्ने, गराउने विश्वाससाथ शब्द चित्र राख्दैछु।
उदाहरण ३:केही दिन पहिले कुनै प्रहरी अधिकारीले आफ्नो भौगोलिक कार्यक्षेत्र भित्रका जनताले खान पाइएन, उपचार पाइएन भने उहाँहरुलाई घरघरमा खाना र स्वास्थ्यसेवा पुर्‍याउँछु भन्नु भयो। मलाई लाग्यो नेपाल सरकारले उहाँलाई विश्वास गरेर सबै साधनस्रोत र अधिकारले सम्पन्न बनाएछ कि क्या हो?
के नेपाल प्रहरीले यत्रो विधि जिम्मेवारी पाएकै हो? के यो समेतको जिम्मेवारी वहन गर्न नेपाल प्रहरी सक्षम छ? यी जिज्ञासासहित सम्बन्धित निकायमा अनौपचारिक तवरले बुझ्दा त्यस्तो केही नभएको पाइयो। मैले खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित जिम्मेवारी नै नेपाल प्रहरीको जिम्मेवारी हो भन्ने मनशायको जवाफ पाइयो।
के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ? छैन भने यस किसिमका हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस्। व्यक्तिगत हिरोइजम् देखाइ संगठनको साख गिराउने खेल नदोहोरियोस्, समयमै सचेत होऔं।
मैले समाचार च्यानलहरुमा देख्ने गरेको छु—सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले थर्मल गनको प्रयोगबाट स्क्रिनिङ गरिरहेका छन् जुन काम स्वास्थ्यकर्मी वा स्वास्थ्य प्राविधिकको हो। ती प्रहरी स्वास्थ्यकर्मी नै हुन् भने ठिकै छ, अन्यथा सुरक्षामा खटिने प्रहरीलाई थर्मल गन स्क्रिनिङको कार्य गर्नु, गराउनु व्यावसायिक हो जस्तो लाग्दैन, यसमा मैले खासै व्याख्या गर्नु छैन।
अन्तिममा यस संकटको घडीमा नेपाल प्रहरीलगायत सरकारका सबै निकाय सचेत हुनुपर्ने विषय हो– संकट पछिको संकट अर्थात् लकडाउन पछिको अवस्था। यस लकडाउन अवधिमा सबै नागरिकले आआनो ज्यानको जोखिमलाई मध्यनजर गर्दै केही समयसम्म अभावलाई झेलेर पनि बस्न सक्छ।
तर लकडाउनको अवधि लम्बिन गई लामो समयपश्चात् संकट समाधान भएपछि अर्को संकट उत्पन्न हुनसक्छ, त्यो हो चरम अभाव। यस चरम अभावबाट उत्पन्न हुनसक्ने यावत् विकृति, विसंगति र छरपष्ट अपराधलाई रोक्न पनि यही युद्धको बिचमै तयारी गर्नुपर्ने पनि आजको आवश्यकता हो (इटालीको अहिलेको अवस्थाः लुटपाटबाट हामीले समय नघर्किंदै सिक्नु पर्छ)।
यस संकटको घडीमा महायुद्ध लड्न कठिन छ, तर हाम्रो एकताले यसलाई परास्त गर्ने अवश्यम्भावी छ।
लेखक पूर्वप्रहरी नायब महानिरीक्षक हुन्।
प्रकाशित : कान्तिपुर, चैत्र २२, २०७६ १९:४९



Friday, September 27, 2019

“दस्यु शुशिल झाको अन्त्य”


सत्य अपराध कथा “दस्यु शुशिल झाको अन्त्य”
प्र.ना.उ.गोविन्दप्रसाद थापा, जि.प्र.का. भक्तपुर
छोडदो मुझे….पानी ! … पानी ! …. तुम लोगोँका भी यही हाल कर दुंगा एक बार । छोडदो मुझे” निकै बेदना र क्रोधले मिश्रित स्वरको साथै अरु मानिसहरुको गल्याँङ गुलुृँङ आवाजले मेरो कान टाठो भई आँखा खुल्यो । नाडी घडी हेर्दा विहानको ०३१५ भएको थियो । म बोहर्वा, कुवारामपुरबाट फर्की सुतेको तीन घण्टा भइ सकेको रहेछ । फेरी कानलाई आवाजपट्टि लगाएँ आवाज आइनैरहेको थियो । “हुं …मत छुओ मुझे .. गधे .. तेरा मैं बोटी–बोटी कर दुंगा” एक्कासी झस्कें । यो सधैंको झंैं सुनिने आवाज थिएन । जिल्ला प्रहरी कार्यालय धनुषा भवनको छतबाट तल हेरें । निकै विस्मयमा परें । क्रोध र कौतुहलको वातावरण देखें । तल ओर्लें, हेरें त्यो व्यक्तिलाई । करीव ७ फीट उँचाई भएको, दाडी अलिअलि र जुङ्गा भने निकै बाक्लो र कालो, ठूलाठूला राता आँखा । यसो हेर्दा डर लाग्दो रुप । ठाउँठाउँमा चोट लागी घाउ भएको, हातपाखुरा र खुट्टाका जोर्नीहरु अस्वाभाविक रुपमा सुन्निएका थिए । रगत टाउकोबाट बग्दै गर्धन र अनुहारमा पुगी सुकेको रक्ताम्य अनुहार अझै बढी भयानक देखिन्थ्यो । महेन्द्रनगर चौकी (हाल थानामा परिणत) को प्रहरी हवलदार जवानहरुका साथै १०÷१२ जना गाउँलेहरुको जमातले उसलाई घेरेर उभिएको थियो । सोधें, “को हो ? के भयो ?” प्र.ह. निकै बाठो थियो, फुर्तिसाथ जवाफ दियो “यो कुख्यात डाँकु शुशिल हो । आज राती नौंसयबिघामा पक्राउ गरी ल्याएको हो सर” म झस्कें । फेरी उसको डरलाग्दो आकृतिलाई एक पटक निंयाले । सोचें, होला यही नै होला खुनी डाँकु शुशिल उर्फ पण्डितजी भनेको …. । यसलाई खोज्नको लागि म धनुषामा आउने बित्तिकै प्रहरी उपरीक्षक नारायण सिंह गुरुङ साहबको सक्रियतामा पाँच टीम बनाई पटक पटक कपटोल, नरहिया, झिंझा बोहर्वा, सोनिगामा जस्ता मुख्य डाँकाहरुको अखडामा राती छापा मार्ने उद्देश्यले अप्रेशन कार्य दिइएको थियो । म सोनीगामा, नरहिया तथा झिंझा अप्रेशनमा परे । शुशिल धूर्त र चलाख थियो । हात लागेन । बरु झिंझाका सातजना डाँकाहरु अप्रेशन जालमा परेका थिए । बराबर गश्तिको रुपमा बोहर्वा, कपटोल समेत चाहार्दा शुशिल फेला परेको थिएन । आज एक्कासी शुशिल अर्धमुर्छित अवस्थामा आफू सामु देख्दा खुशीको सीमा रहेन । अस्पतालमा उपचारार्थ भर्ना गराए पछि बिहानै नौसयबिघा तर्फ लागें । हिड्नुअघि आकाश कुर्लेर पानी पर्न थालिसकेको थियो । जिल्ला प्रहरी कार्यालयको रसियन जीपमा आवश्यक संख्यामा प्रहरी राखी नौसयबिघा पुगियो । मोटर वरै खेतको छेउमा राखी हामी पैदलै खेतको आलि–आलिमा चिप्लदै लडदै अगाडी बढ्यौं । मोटर राखेको करिव पाँचसय गज पर खेतमा एकजना नवयूवकको लाश लडिरहेको देखें । छातिमा गोली लागेको सानो प्वाल रहेछ । कानमा एउटा सद्दे बिडी अझै अडी रहेकै थियो । नजिकै उसको बाबु भने पनि आमा भने पनि एकजना बुढोबाजे रोइकराई बिलाप गरिरहेको देखी मुटुनै छिया–छिया भयो । एकजना गाँउलेको भनाई अनुसार बुढाका छोरा बुहारी मरीसकेका रहेछन् । बुढेसकालको साहारा त्यही नवयूवकलाई पनि डाँकु शुशिललाई गाउँले तथा प्रहरीहरु समेतले साँझपख लखेट्दै रहेको अवस्थामा मृतक बहादुर नवयूवकले आफ्नो ज्यानको पर्वाह नगरी पक्रन खोज्दा धनुषा तथा भारतमा समेत निकैजनाको निर्मम हत्या गरी सकेको क्रुर शुशिलले कटुवा पिस्तोलले गोली हानी मारिदिएको थियो । त्यसपछि पनि उसलाई लखेट्ने काम भै नै रहयो र दुईसय गज अझै दाैिडसकेपछि, शुशिल मोटो भएको हुनाले दौडन सक्दैनथ्यो । अर्को एकजना बहादुर नवयुवकले उसलाई रोक्न खोज्दा उसमाथि पनि गोली चलाउँदा गोली छातिमा लाग्नासाथ त्यो बहादुर जमिनमा लड्यो । त्यही मौका छोपी गाँउलेहरुले शुशिल माथि लाठी प्रहार गरे । खेतको दुईफुट गहिरो कुलोमा डाँकु शुशिल छड्के परी लड्यो र उठ्ने प्रयास गर्दा गर्दै अरु लाठीहरु उमाथि बस्र्याे । उसको हातमा भएको पिस्तोल खोसी डोरीले बाँधी सबै जना गाँउले मिली प्रहरी चौकीमा ल्याइपुयाएका रहेछन् । पछि त्यो पिस्तोल खोली हेर्दा त्यसमा गोली नपड्केको भेटियो । धन्य परमेश्वर ! अरु एकजनाको ज्यान बाँचेछ । घटनास्थलको अवलोकन गर्दा डाँकु शुशिलसँग रहेको अन्य डाँकुहरुले फालेको कटुवा पिस्तोल र गोलीहरु पनि हामीले खेतमा बरामद गरयौं । साथै शुशिलको एकजना साथी पनि पक्राउ परेको थियो । पछिल्लो पटक गोली लागी मुर्छा परेको नवयुवकको छातिबाट गोली निकाली ज्यान बाँचेको थियो । गाँउलेहरुको रुवावासी र घनघोर वर्षातबीच अंचलाधीश लालकाजी गुरुङ्ग साहेब तथा प्रमुख जिल्ला अधिकारी समेत त्यहाँ पुग्नु भै गाँउलेहरुलाई राहत दिनुको साथै हामीलाई समेत प्रोत्साहित गर्नु भएको थियो । त्यहाँको काम सकी फर्कदा भने आपत नै आइपरेको थियो । बीच बाटोमा पर्ने खोलामा पानी निकै बढिसकेको रहेछ । मोटर पारी नै राखी जेनतेन नदी पार गरी हामीहरु महेन्द्रनगर सम्म पैदल आयौं । यता अस्पतालमा भर्ना भएको डाँकुको बयानले हामीलाई अरु डकैतीको रहस्योद्घाटन हुनुको साथै कैयौंलाई पक्राउ गर्न सघाउ पुग्यो । दुई दिन पश्चात् कुख्यात डाँकु शुशिलको अस्पतालमै जीवनलिला समाप्त भयो । वार्षिक खेलकुदको पुरस्कार वितरण समारोहमा नौसयबिघा र उमाप्रेमपुरका चार जना बहादुर जनताहरुलाई प्रहरी नायव महानिरीक्षक पूर्ण बहादुर लामाबाट प्रशंसा–पत्र तथा अंचलाधिशज्यूको तर्फबाट नगद पुरस्कार बितरण गरिएको थियो । यस कार्य बाट जनता र प्रहरी बीच राम्राे सम्बन्ध रहयाे । प्रहरी जीवनमा मैले भोगेको यो सत्य घटना म सदा संझिरहने छु ।


Friday, June 14, 2019

प्रहरीलाई काभ्रे होइन, राष्ट्रपतिलाई नारायणहिटी

प्रहरीलाई काभ्रे होइन, राष्ट्रपतिलाई नारायणहिटी
वैशाख ४, २०७६अग्निप्रसाद उपाध्याय रेग्मी
काठमाडौँ — अहिले म बयानब्बे वर्षमा हिँड्दै छु । औंलाले अक्षर पार्न गाह्रो, निकटस्थको सहयोगमा यति कोर्दै छु । शीतल निवासको क्षेत्रफल बढाउन प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेमा सार्ने कुरो नउठेको भए यो झन्झट सायद गर्दिनथें ।
मैले २००६ कात्तिकमा निजामती जाँचमा बोर्डफस्ट भई सरकारको सिन्दूर पहिरें । श्री ३ मोहनशमशेर र कमान्डर–इन–चिफ बबरशमशेरका हजुरमा दाम चढाएर नोकरी खाएँ । करिब चार दशकको निजामती सेवामा राजादेखि रंकसम्म बेहोरेंँ । अहिलेका नेताका हजुरबुबा पुस्तासँग काम गरें ।
समय अनुसार जनचेतना र अधिकारमा वृद्धि भयो, तर बलियो हुनुपर्ने सरकार क्रमश: कमजोर हुँदै गयो । दुईतिहाइले मात्र सरकार बलियो हुने होइन, सरकारका अंगहरूचाहिँ बलिया चाहिन्छन् ।
प्रहरीलाई हेर्दा २००७ मा म बिन्तीपत्र निक्सारी अड्डा, सिंहदरबारमा कार्यरत थिएँ । काभ्रेका रत्नप्रसाद खरेल सहकर्मी थिए, मुखिया । प्रजातान्त्रिक योद्धा उनी हनुमानढोका कोतवालीमा थुनिए र पछि मन्त्री पनि भए । प्रजातन्त्र ल्याउन लडेको मुक्तिसेना प्रहरीमा मिसियो र त्यसको ‘जय नेपाल’ सम्बोधन प्रहरीले पायो । ‘राणाको प्रहरी अब जनताको’ भन्ने धारणा विकास भयो । २००८ मा मलाई आईजीपी गोपालशमशेरले प्रहरीमा ‘असई’ खान अनुरोध गरे । खाइनँ । निमित्त सरकारी वकिल भएँ र जिल्ला प्रशासनमा कार्यरत हुँदा प्रहरीलाई नजिकबाट नियाल्ने अवसर पाएँ । हिजोको बाघ प्रहरी अहिले लुतुरे छ । प्रहरी बाघ नै हुनुपर्छ । अनियन्त्रित जंगली होइन, सरकारले चलाउने खालको । प्रहरी बाघको नंग्रा र दाँत उखाल्न हुँदैन । कडा अनुशासन र तालिमले ठीक ठाउँमा हान्ने र टोक्ने बनाउने हो । प्रहरीलाई पर्गेल्ने होइन, नजिकमा राखी तालिमले धारिलो बनाउनुपर्छ । बलियो लगाममा कस्नुपर्छ । राज्यको निरोधात्मक शक्ति भनेको प्रहरी नै हो । यसैले सामान्यत: जनतालाई प्रहरी निको लाग्दैन । सरकारलाई नै निको नलागेचाहिँ दुर्भाग्य हुन्छ ।
सरकार र प्रहरी
अहिले ओली प्रधानमन्त्री छन् । जोशिला, चतुर र वाचाल उनीबाट धेरै आशा गर्ने ठाउँ थियो । तर उनी अरूभन्दा झन् नकारात्मक देखिए । प्रहरीको संवर्द्धन हुनुपर्नेमा मानमर्दन भयो । गृहमन्त्रीबाट प्रधानमन्त्री बनेका देउवाले विगतमा एक किसिमको हावा निर्णय गरे, ओलीले पनि त्यस्तै ।
करिब ७६ हजार जनशक्तिको नेपाल प्रहरीमा नौजना एआईजी थिए । देउवाले त्यसलाई पन्ध्र पुर्‍याए, ओलीले तीनमा झारे । देउवाले थप्दा विभिन्न अनुसन्धान समितिको सिफारिसको दुहाइ दिए, ओलीले बिनागृहकार्य हटाए । फोर्सको दोस्रो तहमा कति संख्या हुनुपर्छ, नेतृत्व गर्ने टाउको र शरीर बीचको घाँटी सानो बने दीर्घकालमा प्रहरी कर्मचारीको वृत्तिविकास र कार्यमा के असर पर्छ भन्नेतिर ध्यानै दिइएन । सशस्त्रका पाँच एआईजीलाई अझ लज्जास्पद रूपमा हटाए । माओवादीसँग एकीकरण गरेकाले प्रहरीसँग बदला लिएको जस्तो देखियो । प्रहरी प्रशिक्षण प्रतिष्ठानको सन्दर्भले पनि यसैलाई पुष्टि गर्छ ।
प्रहरी प्रतिष्ठान सन्दर्भ
प्रधानमन्त्रीले प्रहरीलाई विस्तार गर्न प्रतिष्ठान सार्न खोजेको बताएका छन् । तर उल्टो देखिन्छ । एआईजी हटाएकाले २०६४ देखिको काठमाडौं महानगरीय प्रहरी कमान्ड एआईजीबाट घटुवा भई डीआईजीमा आयो । विगतमा डीआईजीमा रहेको ट्राफिक महाशाखा र एयरपोर्ट प्रहरी कमान्ड खुम्चिएर एसएसपीमा आयो । प्रहरी अधिकृत जन्माउने मातृसंस्था प्रशिक्षणस्थल काभ्रेमै बनाउनुपर्ने भए पनि हामीले नै किन नबनाउने ?
रेल र पानीजहाज चलाउन अग्रसर मुलुकले प्रहरी जन्माउने थलोको लागि भारतको भिक्षा किन लिनुपर्‍यो ? यसले तीन सम्भावना देखाउँछ— हामी साँच्चिकै आर्थिक रूपमा कमजोर छौं, हाम्रो विचारमै द्विविधा छ, सरकारमा प्रहरीप्रति तुष वा पूर्वाग्रह छ । समस्या पूर्वाग्रह होइन भने समाधान राम्रो छ ।
शीतल निवास कि नारायणहिटी
राष्ट्रपति भवन स्थान साँघुरो भएको, आधारभूत पूर्वाधारका लागि स्थानाभाव रहेको, प्रहरीको पीटी, परेड र फायरिङले डिस्टर्ब गरेको, हेलिप्याड बनाउने स्थान नभएको जस्ता कुराहरूले प्रहरी प्रतिष्ठान हटाउनुपर्ने देखियो भनिएको छ । उसो भए बल्ल चेत खुल्यो । गल्ती अब सुधार्नुपर्छ । लोकतन्त्र प्राप्तिपश्चात् राष्ट्रपतिलाई परराष्ट्र मन्त्रालयमा राखियो । लोकतन्त्रको मूलमर्म नै हिजो जन्मजात राजाले प्रयोग गर्ने अधिकार र स्थान जनताका छोराछोरीमा जाने हो । तर राष्ट्रप्रतिलाई करिब आठ सय रोपनीको नारायणहिटीमा राखिएन, जुन सरकारले राजा महेन्द्रबाट किनेको हो । राज्य र जनताको सम्पत्ति नारायणहिटी राजाको सम्पत्ति होइन । एक पटक सोचौँ— अहिले नारायणहिटीमा को बस्छ र को बस्न उचित होला ? राष्ट्रपति कि सेना र प्रहरीका जर्नेलहरू ?
नारायणहिटीलाई संग्रहालय बनाउनु उचित हो । तर यो कटु यथार्थ भुल्नु हुन्न— बुद्ध धर्मको उद्गमस्थल, संसारकै निधि लुम्बिनीको मुटु तिलौराकोट नै स्याहार–सम्भार हुन नसकेर झाडीले छोपिएको छ । अशोक स्तम्भ मक्किएको छ । राष्ट्रनिर्माताको नुवाकोट दरबार जीर्ण भएर ढल्ने अवस्थामा छ । हनुमानढोका संग्रहालयका शौचालयमा हार्पिक हाल्ने पैसा छैन, फुटेका धारा फेरिएका छैनन्, विद्युत् चिम उडेपछि नयाँ जडान भएको छैन । विश्व सम्पदामा सूचीकृत हनुमानढोकासँगै भक्तपुर र पाटनका प्रशस्त सम्पदा मर्मतको पर्खाइमा छन् । सामान्य सिद्धान्त के हो भने, एकपटक लगानी भएपश्चात् कुनै पनि संग्रहालय वा मोनुमेन्ट आफ्नो कमाइले धानिन सक्ने रहनुपर्छ । त्यसैले नारायणहिटीको आकर्षणलाई अब हनुमानढोका संग्रहालयमा सारौं र राम्रो व्यवस्थापन गरौं । हैसियतबिना सेतो हात्ती नपालौं ।
राष्ट्रपतिलाई शीतल निवासमा प्रहरीको कार्यक्रमले डिस्टर्ब भयो भने भोलि राष्ट्रपतिको हेलिकप्टरका कारण त्यहाँका अस्पताललाई के होला ? कान्ति बाल अस्पताल प्रतिष्ठानसँगै टाँसिएको छ । शिक्षण अस्पताल, मनमोहन कार्डियाक सेन्टर, लायन्स आँखा अस्पताल र प्रहरी अस्पताल त्यहीँ छन् । यस हिसाबले शीतल निवास राष्ट्रपति बस्ने ठाँवै होइन । हेलिप्याड सेनाको प्यारा गणमा राखे हुन्छ । यी सबै मूल्य चुकाएर राष्ट्रपति भवन हिजोको परराष्ट्र भवनमा थन्क्याउन जरुरी छैन । नारायणहिटीको एक छेउ कुनै दल निकटका मानिसले कब्जा गर्न खोजिसकेको समाचार आइरहेको छ । अरूतिर पनि गिद्देदृष्टि नलाग्ला भन्न सकिन्न ।
त्यसैले राष्ट्रपतिलाई नारायणहिटीमा सारौं । भाडामा बसेका उपराष्ट्रपतिलाई शीतल निवास दिऔं । यदि राष्ट्रपतिलाई शीतल निवासमै राख्ने हो भने प्रहरी प्रतिष्ठान राष्ट्रपतिलाई दिऔं अनि नारायणहिटीचाहिँ प्रहरीलाई दिऔं । सधैं जनताको बीचमा बस्नुपर्ने प्रहरीले यो हैसियत राख्छ । यसैबाट प्रधानमन्त्रीले भनेझै प्रहरीलाई खुम्च्याउन होइन, बढाउन खोजेको देखिन्छ । बदला नभई हित चाहेको देखिन्छ । एकातिर प्रधानमन्त्रीले नै सेना परिचालन गर्न मिल्ने कानुन बनाउने, अर्कातिर प्रहरीलाई टाढा पुर्‍याउन खोज्ने ?
धेरै मुलुकमा राष्ट्रप्रमुखहरू सेनाका मात्र नभई प्रहरीका पनि प्रमुख हुने गर्छन् । कतिपय मुलुकमा प्रहरी प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा हुन्छन् । विगतमा जिल्लाका बडाहाकिमको ‘नेकी–बदी’ प्रहरीमार्फत बुझिन्थ्यो । अहिले प्रहरीलाई बडाहाकिम अर्थात सीडीओको ‘सहायक’ मात्र बनाइएको झैं लाग्छ । शान्ति सुरक्षाको सवालमा प्रहरी सीडीयोको सहायक भए पनि अपराध–अनुसन्धान लगायतमा प्रहरीले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ ।
काठमाडौं प्रहरी अहिले टेकुको पार्टी प्यालेसमा पालमा बसेको रहेछ । त्यहाँबाट पनि हटिदिन नेपाल आयल निगमले बारम्बार अनुरोध गर्दो रहेछ । प्रहरीको यो दुरवस्था कसैका लागि प्रीतिकर नहुनुपर्ने हो, तर उसका लागि बोल्ने को ? प्रहरी न सेनाजस्तो बलियो छ, न त निजामतीजस्तो ट्रेड युनियन बलियो भएको । प्रधानमन्त्रीले नै पूर्वाग्रह राखे प्रहरी निरीह हुन्छ । मुट्ठीको माखो ! थिचे थिचिने, छोडे छुट्ने ! प्रहरीको संवेदनशीलतालाई विचार गरौं । बिनागृहकार्य ‘पाँडे पजनी’ नगरौं ।
बेलायतमा पहिले गृहमन्त्री र पछि प्रधानमन्त्री भएका रोबर्ट पिलले प्रहरीमा गरेको सुधारले गर्दा उनी ‘फादर अफ पुलिस’ का रूपमा संसार प्रसिद्ध भए । हाम्रा ओलीजी पनि ‘फादर अफ नेपाल पुलिस’ बन्न सकून् ।
प्रकाशित :kantipur, वैशाख ४, २०७६ ०७:५४

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...