सत्य
अपराध कथा “दस्यु शुशिल झाको अन्त्य”
प्र.ना.उ.गोविन्दप्रसाद थापा, जि.प्र.का. भक्तपुर
प्र.ना.उ.गोविन्दप्रसाद थापा, जि.प्र.का. भक्तपुर
“छोडदो मुझे….पानी ! … पानी ! ….
तुम लोगोँका भी यही हाल कर दुंगा एक बार । छोडदो मुझे” निकै बेदना र क्रोधले
मिश्रित स्वरको साथै अरु मानिसहरुको गल्याँङ गुलुृँङ आवाजले मेरो कान टाठो भई आँखा
खुल्यो । नाडी घडी हेर्दा विहानको ०३१५ भएको थियो । म बोहर्वा, कुवारामपुरबाट फर्की
सुतेको तीन घण्टा भइ सकेको रहेछ । फेरी कानलाई आवाजपट्टि लगाएँ आवाज आइनैरहेको
थियो । “हुं …मत छुओ मुझे .. गधे .. तेरा मैं बोटी–बोटी कर दुंगा” एक्कासी झस्कें
। यो सधैंको झंैं सुनिने आवाज थिएन । जिल्ला प्रहरी कार्यालय धनुषा भवनको छतबाट तल
हेरें । निकै विस्मयमा परें । क्रोध र कौतुहलको वातावरण देखें । तल ओर्लें, हेरें त्यो व्यक्तिलाई
। करीव ७ फीट उँचाई भएको, दाडी अलिअलि र जुङ्गा भने निकै बाक्लो र कालो, ठूलाठूला राता आँखा ।
यसो हेर्दा डर लाग्दो रुप । ठाउँठाउँमा चोट लागी घाउ भएको, हातपाखुरा र खुट्टाका
जोर्नीहरु अस्वाभाविक रुपमा सुन्निएका थिए । रगत टाउकोबाट बग्दै गर्धन र अनुहारमा
पुगी सुकेको रक्ताम्य अनुहार अझै बढी भयानक देखिन्थ्यो । महेन्द्रनगर चौकी (हाल
थानामा परिणत) को प्रहरी हवलदार जवानहरुका साथै १०÷१२ जना गाउँलेहरुको
जमातले उसलाई घेरेर उभिएको थियो । सोधें, “को हो ? के भयो ?” प्र.ह. निकै बाठो थियो, फुर्तिसाथ जवाफ दियो
“यो कुख्यात डाँकु शुशिल हो । आज राती नौंसयबिघामा पक्राउ गरी ल्याएको हो सर” म
झस्कें । फेरी उसको डरलाग्दो आकृतिलाई एक पटक निंयाले । सोचें, होला यही नै होला खुनी
डाँकु शुशिल उर्फ पण्डितजी भनेको …. । यसलाई खोज्नको लागि म धनुषामा आउने बित्तिकै
प्रहरी उपरीक्षक नारायण सिंह गुरुङ साहबको सक्रियतामा पाँच टीम बनाई पटक पटक कपटोल, नरहिया, झिंझा बोहर्वा, सोनिगामा जस्ता मुख्य
डाँकाहरुको अखडामा राती छापा मार्ने उद्देश्यले अप्रेशन कार्य दिइएको थियो । म
सोनीगामा, नरहिया तथा झिंझा अप्रेशनमा परे । शुशिल धूर्त र चलाख थियो । हात
लागेन । बरु झिंझाका सातजना डाँकाहरु अप्रेशन जालमा परेका थिए । बराबर गश्तिको
रुपमा बोहर्वा, कपटोल समेत चाहार्दा शुशिल फेला परेको थिएन । आज एक्कासी शुशिल
अर्धमुर्छित अवस्थामा आफू सामु देख्दा खुशीको सीमा रहेन । अस्पतालमा उपचारार्थ
भर्ना गराए पछि बिहानै नौसयबिघा तर्फ लागें । हिड्नुअघि आकाश कुर्लेर पानी पर्न
थालिसकेको थियो । जिल्ला प्रहरी कार्यालयको रसियन जीपमा आवश्यक संख्यामा प्रहरी
राखी नौसयबिघा पुगियो । मोटर वरै खेतको छेउमा राखी हामी पैदलै खेतको आलि–आलिमा
चिप्लदै लडदै अगाडी बढ्यौं । मोटर राखेको करिव पाँचसय गज पर खेतमा एकजना नवयूवकको
लाश लडिरहेको देखें । छातिमा गोली लागेको सानो प्वाल रहेछ । कानमा एउटा सद्दे बिडी
अझै अडी रहेकै थियो । नजिकै उसको बाबु भने पनि आमा भने पनि एकजना बुढोबाजे रोइकराई
बिलाप गरिरहेको देखी मुटुनै छिया–छिया भयो । एकजना गाँउलेको भनाई अनुसार बुढाका
छोरा बुहारी मरीसकेका रहेछन् । बुढेसकालको साहारा त्यही नवयूवकलाई पनि डाँकु
शुशिललाई गाउँले तथा प्रहरीहरु समेतले साँझपख लखेट्दै रहेको अवस्थामा मृतक बहादुर
नवयूवकले आफ्नो ज्यानको पर्वाह नगरी पक्रन खोज्दा धनुषा तथा भारतमा समेत निकैजनाको
निर्मम हत्या गरी सकेको क्रुर शुशिलले कटुवा पिस्तोलले गोली हानी मारिदिएको थियो ।
त्यसपछि पनि उसलाई लखेट्ने काम भै नै रहयो र दुईसय गज अझै दाैिडसकेपछि, शुशिल मोटो भएको हुनाले
दौडन सक्दैनथ्यो । अर्को एकजना बहादुर नवयुवकले उसलाई रोक्न खोज्दा उसमाथि पनि
गोली चलाउँदा गोली छातिमा लाग्नासाथ त्यो बहादुर जमिनमा लड्यो । त्यही मौका छोपी
गाँउलेहरुले शुशिल माथि लाठी प्रहार गरे । खेतको दुईफुट गहिरो कुलोमा डाँकु शुशिल
छड्के परी लड्यो र उठ्ने प्रयास गर्दा गर्दै अरु लाठीहरु उमाथि बस्र्याे । उसको
हातमा भएको पिस्तोल खोसी डोरीले बाँधी सबै जना गाँउले मिली प्रहरी चौकीमा ल्याइपुरयाएका रहेछन् । पछि त्यो पिस्तोल खोली हेर्दा त्यसमा गोली नपड्केको
भेटियो । धन्य परमेश्वर ! अरु एकजनाको ज्यान बाँचेछ । घटनास्थलको
अवलोकन गर्दा डाँकु शुशिलसँग रहेको अन्य डाँकुहरुले फालेको कटुवा पिस्तोल र
गोलीहरु पनि हामीले खेतमा बरामद गरयौं । साथै शुशिलको एकजना साथी पनि पक्राउ परेको
थियो । पछिल्लो पटक गोली लागी मुर्छा परेको नवयुवकको छातिबाट गोली निकाली ज्यान
बाँचेको थियो । गाँउलेहरुको रुवावासी र घनघोर वर्षातबीच अंचलाधीश लालकाजी गुरुङ्ग
साहेब तथा प्रमुख जिल्ला अधिकारी समेत त्यहाँ पुग्नु भै गाँउलेहरुलाई राहत दिनुको
साथै हामीलाई समेत प्रोत्साहित गर्नु भएको थियो । त्यहाँको काम सकी फर्कदा भने आपत नै आइपरेको थियो । बीच बाटोमा पर्ने
खोलामा पानी निकै बढिसकेको रहेछ । मोटर पारी नै राखी जेनतेन नदी पार गरी हामीहरु
महेन्द्रनगर सम्म पैदल आयौं । यता अस्पतालमा भर्ना भएको डाँकुको बयानले हामीलाई
अरु डकैतीको रहस्योद्घाटन हुनुको साथै कैयौंलाई पक्राउ गर्न सघाउ पुग्यो । दुई दिन
पश्चात् कुख्यात डाँकु शुशिलको अस्पतालमै जीवनलिला समाप्त भयो । वार्षिक खेलकुदको
पुरस्कार वितरण समारोहमा नौसयबिघा र उमाप्रेमपुरका चार जना बहादुर जनताहरुलाई
प्रहरी नायव महानिरीक्षक पूर्ण बहादुर लामाबाट प्रशंसा–पत्र तथा अंचलाधिशज्यूको
तर्फबाट नगद पुरस्कार बितरण गरिएको थियो । यस कार्य बाट जनता र प्रहरी बीच राम्राे
सम्बन्ध रहयाे । प्रहरी जीवनमा मैले भोगेको यो सत्य घटना म सदा संझिरहने छु ।