Monday, April 06, 2020

महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?


महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?
के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ ? हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस् ।
चैत्र २२, २०७६उत्तमकुमार कार्की
विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा छ । ३ महिनादेखि चीनको वुहानबाट सुरु भएको महामारी आजसम्म विश्वका २०४ मुलुकमा फैलिसकेको छ । जुनबेला चीनको बुहान सहरमात्र कोरोना विरुद्धको लडाइँमा एक्लो लडिरहेको थियो त्यसबेलासम्म विश्‍व तमासे बनिरहेको थियो । आज यसले सबैलाई गाँजेपछि सबैको चेत खुलेको छ 
नेपाल पनि यसबाट अछुतो रहन सकेन र विश्वव्यापीकरण महामारीको यस लडाइँमा होमिन पुगेको छ। जुन समय नेपालले लकडाउनको घोषणा गरको थियो, त्यस समयसम्म विश्वभर लगभग २ लाख यस महामारीको चपेटामा परेका थिए भने मृतकको संख्या १३ हजार हाराहारीमा थियो।
भाग्यवश नेपालमा त्यस बेलासम्म शून्य संक्रमण थियो। नेपालमा भएको लकडाउनको ११ दिनमा संक्रमितको संख्या ९ पुगिसकेको छ भने भाग्यवश यस महामारीको कारणबाट कसैले मृत्युवरण गर्नु परेको छैन।
यही अवधिमा विश्वको तथ्यांक हेर्दा ११ दिनअघि अर्थात् २०७६ चैत १० गते २ लाख हाराहारीमा रहेको संक्रमण बढेर २१ गतेसम्म आइपुग्दा १० लाख नाघेको छ भने १३ हजार हाराहारीमा रहेको मृतकको संख्या बढेर ६० हजार नाघेको छ। झन् कहालीलाग्दो स्थिति त के छ भने विश्वको शक्तिशाली राष्ट्र संयुक्तराज्य अमेरिकामै संक्रमितको संख्या सबैभन्दा बढी २ लाख नाघेको छ।
यस आपात्कालीन घडीमा राज्यका सबै अंगलगायत सम्पूर्ण नागरिक एकजुट हुनुको विकल्प छैन र लागिपरेकै पनि छन्। नेपालमा सरकारी अंगहरुमध्ये ठूलो नेटवर्क भई समाजमा सरकारको प्रतिनिधिको रुपमा अग्रणी स्थानमा रहेको नेपाल प्रहरीको भूमिका पनि अहम् रहन्छ नै।
यस पंक्तिकारले आफ्नो जीवनको महत्वपूर्ण ३० वर्ष प्रहरी सेवामै व्यतित गर्दाको अनुभव तथा विद्यमान अवस्थामा आफूले महसुस गरेका विषयहरुलाई समेटेर यो आलेख सुझावको रूपमा प्रस्तुत गरेको छु।
यद्यपि, नेपाल प्रहरीमा सेवारत साथीहरू सक्षम, दक्ष र जानीफकार हुनुहुन्छ, तसर्थ यस पंक्तिलाई सुझाव नभएर पुनर्स्मरणको रुपमा लिन सक्नु हुनेछ।
यस किसिमको महामारीमा नेपाल प्रहरीको सदाझैं नियमित कार्यको साथै मुख्यतया तीनवटा कर्तव्य (भूमिका) हुन्छन्ः
क)   महामारीको विषयमा भएका सरकारी नीति, नियम र आदेशहरुको आफ्नो विषय र कार्यक्षेत्रभित्र रहेर कार्यान्वयन। महामारीको विषयमा क्रियाशील रहेका कानूनहरुको कार्यान्वयनसगै महामारी फैलन नदिन सरकारी तबरबाट जारी भएका नीति र आदेशहरुको तदारुकतासाथ कार्यान्वयन गर्ने तर यसोगर्दा आफ्नो कार्यक्षेत्र, अधिकार र प्रचलित नियमको त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ।
यहाँ प्रचलनमा के छ भने जुन काम तोकिएका अन्य सरकारी निकायले सम्पादन गर्दैनन्, त्यी सबै कार्य नेपाल प्रहरीले गरिदेओस् भन्ने मनसाय सरकार र समाजले पनि लिएको हुन्छ। नेपाल प्रहरीका कर्मचारीले पनि यदाकदा त्यसरी कार्यक्षेत्र, अधिकार र क्षमता बाहिरको काम जिम्मा लिई गर्ने गरिन्छ जुन स्वाभाविक रुपले सफलतापूर्वक सम्पन्न हुन गाह्रो साँगुरो नै हुन्छ।
अन्ततोगत्वा नेपाल प्रहरीले नाहकमा प्रतिष्ठा गुमाउनुपर्ने हुन्छ। तसर्थ नीति, नियम र आदेशको पालना तदारूकताको साथै सतर्कतापूर्वक गर्नु पर्छ। यसो गर्दा मानवीय संवेदनाका कुरामा पनि त्यत्तिकै ध्यान पुर्‍याउनु पर्छ।
केही उदाहरण प्रस्तुत गर्न चाहान्छु:
उदाहरण १ः केही दिन पहिले दार्चुलाको सिमापारीबाट कुनै नेपाली नागरिक वैध बाटोबाट नेपाल आउन नपाएपछि आफ्नो जीउज्यानको जोखिम मोलेर महाकाली नदी पौडी खेलेर पार गरी नेपाल प्रवेश गर्छन्। नेपाल प्रहरीले निजलाई पक्राउ गरी नांगेझार पारेर बजार घुमाइन्छ। यस प्रकरणमा पक्राउ गर्ने विषयसम्म त सरकारी आदेशको पालना होला, तर के एक नेपाली नागरिक (जो अपराधी होइनन्) ले आफ्नो मुलुक फर्कन पाउने संवैधानिक हक प्रयोग गर्न खोज्दा अपराधीले भन्दा बढी अपमानित हुनुपर्ने अवस्था ठीक हो त? यहाँ प्रहरीले ध्यान दिनुपर्ने कुरा के हो भने पहिलो कुरो त पक्राउ हैन, सामाजिक दूरी कायम राख्ने र यसको लागि विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने कुरा हो।
के कुनै व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, नराख्ने र त्यसको व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो? नेपाल प्रहरीले जिम्मेवारी वहन नगरोस् भनेर कदापि भन्न खोजिएको हैन, खाली के भने यस विषयमा सम्बन्धित निकायलाई सघाउने सम्मको जिम्मेवारी मात्र नेपाल प्रहरीको हो भन्ने यस पंक्तिकारलाई लागेको छ।
दोस्रो, नांगै शहरमा घुमाउने कुरो। यो त समाज र सरकारले समेत पचाउन सक्ने कुरै भएन।
उदाहरण २: त्यस्तै अर्को यस अवधिमा दैनिकरुपमा सुनिने लकडाउन उल्लंघन गर्ने व्यक्तिउपर गरिने भाटे कारवाहीको। यो पंक्ति टाइप गर्दैगर्दा मोरङको पथरीमा लकडाउन उल्लंघनकर्तालाई निर्घात कुटपिट गरी अस्पताल भर्ना गरिएको समाचार सुनियो। यो भाटे कारवाही कुन कानूनमा के अपराध गरेवापतको सजाया हो? मलाई थाहा छ, नेपाल प्रहरीले आफ्नो जिउज्यानको पर्वाह नगरी देशवासीको सेवामा जुटिरहेको छ। राज्यका अन्य अंगहरुभन्दा कम स्रोतसाधन र सुविधामा कुनै गुनासोबिना यस किसिमको संकटकालमा सबैभन्दा अग्रणी स्थानमा रही काम गरी आर्जन गरेको नेपाल प्रहरीको अतुलनीय योगदान र साख यस्तै किसिमका घटनाहरुबाट नधमिलियोस्, यसतर्फ सबै तह र तप्काका प्रहरी कर्मचारीहरु सजग र सचेत हुनुपर्छ।
ख)कालाबजारी विरुद्ध अनुगमन र कानूनी कारवाही। समाज संकटको घडीमा रहेका बखत केही आपराधिक तत्वहरू मौकाको फाइदा लुट्न लागिपरेकै हुन्छन्। यो मौकामा समाजमा कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्ने, तस्करी गर्ने तथा मिसावट गर्ने लगायतका मुनाफाखोरहरु सक्रिय हुने गर्छन् । यी कार्य विशुद्ध आपराधिक कार्य हुन् र यस्ता गतिविधि विरुद्ध लड्नु नेपाल प्रहरीको अहम् कर्तव्य हो । हो, नेपाल प्रहरीले यस्ता अपराध विरुद्ध लड्न सरोकारवाला अन्य निकायहरुको पनि साथ र सहयोग लिनुपर्ने हुन्छ। यसको लागि दैनिक उपभोग्यवस्तुहरुको भण्डारण कहाँ, कति, कस्तो अवस्था र कसको नियन्त्रणमा छ, बिक्री बितरण के कसरी भईराखेको छ, सूचना संकलन गर्ने र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ।
ग) सरकारी वा गैरसरकारी क्षेत्रबाट उपलब्ध गराइने सेवा र आपूर्ति व्यवस्थामा सुरक्षाको दृष्टिकोणबाट सहजीकरण गर्ने। एकातिर यस्तो अवस्थामा केही हदसम्म अभाव त हुन्छ नै भने धेरै हदसम्म भण्डारमा रहेका दैनिक ऊपभोग्यवस्तुहरु बजारसम्म वा उपभोक्ताको घरदैलोसम्म पुग्न पाएको हुादैन। दैनिक मिहिनेत, मजदुरीको आधारमा जीविकोपार्जन गर्नेहरुको अवस्था नाजुक हुन्छ। सरकारको कर्तव्य हुन्छ— व्यापारी वा सरकारी भण्डारमा रहेका दैनिक उपभोग्यवस्तु बजारमा वा आवश्यकतानुसार उपभोगकर्ताको घरदैलोमा पुर्‍याइदिनु र दैनिकी चलाउन कमजोर अवस्थामा रहेका नागरिकलाई निःशुल्क उपलब्ध गराउनु।
यस्तो अवस्थामा आपूर्ति कार्यमा सुरक्षा दिने र संकटकालमा ढुवानी समेतको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। तर यसको लागि सरकारसाग छुट्टै साधनस्रोतको माग राख्न हिच्किचाउनु हुादैन किनभने प्रहरीले प्रदान गर्ने नियमित सेवाको लागि उपलब्ध साधनस्रोत अन्तै मोडिदिदा प्रहरीको आधारभूत सेवामा नै नकारात्मक असर पर्ने हुन्छ। त्यस्तै आपूर्तिकर्ता र भण्डारण व्यवस्थामा पनि सुरक्षा चासो र चिन्ता त्यत्तिकै रहनुपर्छ।
त्यस्तै सेवा पुर्‍याउने निकाय र व्यक्तिहरु यस्तो अवस्थामा सुरक्षा संकटमा रहेका हुन्छन्। खासगरी स्वास्थ्यकर्मीहरु, अस्पतालहरू र औषधी उत्पादक र बितरकहरुको समेत सुरक्षाको ग्यारेन्टी लिनु र उपलब्ध गराउनु प्रहरीकै चिन्ता र चासोको विषय हो। यस बिचमा केही गलत उदाहरणहरू पनि देखिएका छन्। प्रहरी नेतृत्व र गृह प्रशासन नेतृत्वले समयमै सुधार गर्ने, गराउने विश्वाससाथ शब्द चित्र राख्दैछु।
उदाहरण ३:केही दिन पहिले कुनै प्रहरी अधिकारीले आफ्नो भौगोलिक कार्यक्षेत्र भित्रका जनताले खान पाइएन, उपचार पाइएन भने उहाँहरुलाई घरघरमा खाना र स्वास्थ्यसेवा पुर्‍याउँछु भन्नु भयो। मलाई लाग्यो नेपाल सरकारले उहाँलाई विश्वास गरेर सबै साधनस्रोत र अधिकारले सम्पन्न बनाएछ कि क्या हो?
के नेपाल प्रहरीले यत्रो विधि जिम्मेवारी पाएकै हो? के यो समेतको जिम्मेवारी वहन गर्न नेपाल प्रहरी सक्षम छ? यी जिज्ञासासहित सम्बन्धित निकायमा अनौपचारिक तवरले बुझ्दा त्यस्तो केही नभएको पाइयो। मैले खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित जिम्मेवारी नै नेपाल प्रहरीको जिम्मेवारी हो भन्ने मनशायको जवाफ पाइयो।
के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ? छैन भने यस किसिमका हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस्। व्यक्तिगत हिरोइजम् देखाइ संगठनको साख गिराउने खेल नदोहोरियोस्, समयमै सचेत होऔं।
मैले समाचार च्यानलहरुमा देख्ने गरेको छु—सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले थर्मल गनको प्रयोगबाट स्क्रिनिङ गरिरहेका छन् जुन काम स्वास्थ्यकर्मी वा स्वास्थ्य प्राविधिकको हो। ती प्रहरी स्वास्थ्यकर्मी नै हुन् भने ठिकै छ, अन्यथा सुरक्षामा खटिने प्रहरीलाई थर्मल गन स्क्रिनिङको कार्य गर्नु, गराउनु व्यावसायिक हो जस्तो लाग्दैन, यसमा मैले खासै व्याख्या गर्नु छैन।
अन्तिममा यस संकटको घडीमा नेपाल प्रहरीलगायत सरकारका सबै निकाय सचेत हुनुपर्ने विषय हो– संकट पछिको संकट अर्थात् लकडाउन पछिको अवस्था। यस लकडाउन अवधिमा सबै नागरिकले आआनो ज्यानको जोखिमलाई मध्यनजर गर्दै केही समयसम्म अभावलाई झेलेर पनि बस्न सक्छ।
तर लकडाउनको अवधि लम्बिन गई लामो समयपश्चात् संकट समाधान भएपछि अर्को संकट उत्पन्न हुनसक्छ, त्यो हो चरम अभाव। यस चरम अभावबाट उत्पन्न हुनसक्ने यावत् विकृति, विसंगति र छरपष्ट अपराधलाई रोक्न पनि यही युद्धको बिचमै तयारी गर्नुपर्ने पनि आजको आवश्यकता हो (इटालीको अहिलेको अवस्थाः लुटपाटबाट हामीले समय नघर्किंदै सिक्नु पर्छ)।
यस संकटको घडीमा महायुद्ध लड्न कठिन छ, तर हाम्रो एकताले यसलाई परास्त गर्ने अवश्यम्भावी छ।
लेखक पूर्वप्रहरी नायब महानिरीक्षक हुन्।
प्रकाशित : कान्तिपुर, चैत्र २२, २०७६ १९:४९



धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...