Tuesday, June 11, 2019

फागुमा घन्किँदै 'ट्याम्को र ढोलक'

फागुमा घन्किँदै 'ट्याम्को र ढोलक'
चैत्र ६, २०७५माधव अर्याल
पाल्पा — दुई दशक अघिसम्म फागुपूर्णिमा (होली) को ४ दिन अघिदेखि गाउँमा ट्याम्को, ढोलक, डम्फु, मजुरा बज्थे । गाउँघर गुन्जायमान बन्थे । अहिले यस्ता धुन सुनिन छाडे । पाल्पाका सोमादी, भैरवस्थान, बराङदी लगायतका गाउँमा संस्कृति जोगाउनका लागि मात्र यस्ता बाजा बजाएर घरघरमा फागु खेलेको देखिन्छ ।
अरू ठाउँमा चलन हराएको छ । नयाँ पुस्ताले यस्तो संस्कृति देख्न पाएका छैनन् । पहिले तानसेनको शीतलपाटी, टक्सारमा चीर गाडेपछि फागु खेलिन्थ्यो । पूर्णिमाका दिन युवा सेतो पहिरनमा रंग खेल्दै हिँड्थे ।
‘पुरानो संस्कृति हरायो,’ संस्कृतिविज्ञ मदन श्रेष्ठले भने, ‘नयाँ पुस्ताले जोगाउन सकेन ।’ उनका अनुसार पहिला फागु रमाइलो हुन्थ्यो । पाल्पाली फागुको छुट्टै महत्त्व थियो । अहिले त्यस्तो छैन । गाउँघर शून्य छन् । २ वर्षअघिदेखि बराङदीमा ‘पाल्पाली फागु’ जगेर्ना गर्न लागि परिएको स्थानीय दयाराज न्यौपानेले बताए । उनका अनुसार ७३ वर्षीय पाकाले युवालाई फागु गाउन र बजाउने काम सिकाएका हुन् । भैरवस्थानकी लक्ष्मी खनालका अनुसार गाउँघरमा ट्याम्को र ढोलक बजाएर फागु खेल्ने चलन थियो । पछिल्ला वर्ष गाउँघरबाट चलन हराउन थालेपछि भैरवस्थान मन्दिर व्यवस्थापन समितिले पुरस्कारको प्रचलन ल्याएको छ ।
भैरवस्थान, बराङदी र सोमादीको सर्देवामा अहिले पनि देख्न पाइने उनले बताइन् । परम्परा जोगाउन युवाले पुरानो संस्कृति धानेको सोमादीका ऋषिराम नेपालले बताए । ‘गाउँमा परम्परागत रूपमा फागु बजाएर र नाचेर खेल्ने युवा छैनन्,’ उनले भने, ‘अनि ट्याम्को र ढोलक कहाँबाट बजोस् ?’ उनका अनुसार युवाजति विदेश पलायन र पुरानो पुस्ताले पहिलेकै जस्तो जाँगर नचलाएपछि संस्कृति हराउँदै गएको हो ।
जिल्लाको पूर्व भेकको प्रायः सबै गाउँ केही वर्षअघिसम्म पनि चार दिन अघिदेखि नै ट्याम्को र ढोलक बजाएर फागुका गीत बजाउने र गाउने गर्थे । अहिले त्यस्तो नदेखिएको पूर्वखोला–१, सिलुवाका भोगबहादुर थापाले बताए । पछिल्लो समय पहाडमा पनि फागु पूर्णिमाको दिनमा एक दिन मात्र अविर छ्यापा–छ्याप गर्दै फागु मनाउने गर्छन् । बाजा बजाएर, आफैं गीत गाएर फागु मनाउन छाडेकाले संस्कृति जोगाउन लागेको भैरवस्थानका गंगा थापाले बताए । ‘पहिला जस्तो केही छैन,’ उनले भने, ‘अहिले हामी पुरानो चलनलाई जोगाउन लागेका हौं ।’
उनले पहिलेको परम्परा जोगाउन पर्ने अवस्था आएको बताए । बराङदीमा पनि पुरानो संस्कृति जोगाउन खैजडी, डम्फु, ट्याम्को र ढोलक बजाएर दुई वर्ष अघिदेखि फागु खेल्न थालेको युवा विनोद न्यौपानेले बताए ।
प्रकाशित : कान्तिपुर, चैत्र ६, २०७५ ०९:२५

सडक खन्दा मुगलकालीन सिक्का

सडक खन्दा मुगलकालीन सिक्का
चैत्र ६, २०७५कान्तिपुर संवाददाता
बर्दिया — बारबर्दिया नगरपालिका ६, सोनपुरदेखि जोगनपुर जोड्ने सडक खन्ने क्रममा तामा र चाँदीका सिक्का भेटिएका छन्  । स्काभेटरबाट सडक खन्दा करिब ३ फिट गहिराइमा मुगलकालीन तामा र चाँदीका सिक्का फेला परेको प्रहरीले जनाएको छ  ।
प्रहरी नायब उपरीक्षक मदनजित महराले माटाका घैंटोमा राखिएको चाँदीको सिक्का ५ थान ५४ दशमलव ४ मिलिग्राम र तामाको सिक्का ७ केजी २ सय ग्राम रहेको बताए । केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का भेटिएपछि स्थानीय प्रहरीले सडक खन्न रोक लगाएको छ । उर्दू अक्षरमा लेखिएका ती सिक्का अनुसन्धानका लागि पुरातात्त्विक विभागमा पठाइएको छ ।
मुस्लिम अभिलेख पढ्न सक्ने जनशक्ति अभावमा अनुसन्धानका लागि पुरातात्त्विक विभाग पठाइएको प्रहरीले जनाएको छ । पुरातात्विक अनुसन्धान विभागका अधिकृत भास्कर ज्ञवालीले १३औं देखि १७औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुन सक्ने बताए । नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी, डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुन सक्ने अनुमान विभागको छ । मुगलकालमा बर्दियामा घना बस्ती नहुनु, घना जंगल भएका कारण सुन, चाँदी, तामा लगायत सिक्का माटाका भाँडामा गाडेका हुन सक्ने बताइएको छ ।
०४५ सालमा सूर्यपटुवास्थित ओरही खोला नजिक ५ किलो सुनको असर्फी फेला परेको थियो । ती असर्फी तात्कालीन प्रहरी प्रशासनले नियन्त्रणमा लिएको थियो । बरामद असर्फी तात्कालीन प्रहरीले गायब पारेको आशंका छ । करिब ३ वर्षअघि गुलरियास्थित संगम बस्तीमा १ सय ३५ वर्ष अघिको सिक्का फेला परेको थियो । ३ सय ५० थान सिक्का भेट्टाएपछि त्यहाँ सडक खन्नेमध्ये केहीले सबै लुटेर लगेका थिए । ती मध्ये एक थान मात्र सिक्का फेला परेको थियो । सन् १८८० साल लेखिएको भारतमा तात्कालीन अंग्रेज सरकारको पालाको उक्त सिक्का रहेको छ ।
बेलायतकी तात्कालीन महारानी भिक्टोरियाको तस्बिर अंकित चाँदीको सिक्का थियो । तीन दशक अघिसम्म घना जंगल रहेको हाल यस क्षेत्र फँडानी भई बस्तीसमेत भएको छ । स्थानीय बासिन्दाका अनुसार घना जंगल भएको यस ठाउँमा डाँकाको डरले गाईबस्तु चराउने यादव वंशीले त्यस बेला माटोमा गाडेर राखेको अनुमान गरेका छन् । यस क्षेत्रमा यादव समुदायको घना बस्ती छ । त्यस समय जिल्लाको गुलरिया र राजापुरमा थाना (प्रहरी कार्यालय) थियो । प्रहरी थोरै संख्यामा भएका कारण चोरी डकैतीको त्रासले स्थानीयले घैंटोमा गरगहना र असर्फी राख्ने गरेका थिए ।
प्रकाशित : kantipur, चैत्र ६, २०७५ १०:२७

Monday, June 10, 2019

राजनीतिमा अल्फा प्रवृत्ति

राजनीतिमा अल्फा प्रवृत्ति
फाल्गुन २, २०७५चन्द्रदेव भट्ट
काठमाडौँ — समाजवादको नारासहित सत्तामा आएको सरकारले एक वर्ष पुरा गर्दैछ । पाँच वर्षका लागि निर्वाचित सरकारको एकवर्षे शासकीय गतिविधिलाई आधार बनाएर मत निर्माण गर्नु न्यायोचित नहुन सक्छ । लामो राजनीतिक अस्थिरताबाट नयाँ शासकीय चरणमा प्रवेश गरेको र द्वन्द्वका भग्नावशेषको भारी पनि बिसाउने जिम्मेवारी भएको सरकारका अगाडि चुनौती र समस्याको कमी हुँदैन ।
राजनीतिक परिवर्तनसँगै आम नागरिकका इच्छा र आकाङ्क्षा बढेर जाने भए । नयाँ राजनीतिक परिवर्तनलाई युगान्तकारी र नयाँ युगको सुरुआत हामी आफैँले भनेका छौं । नयाँ युगको फल चाख्ने इच्छा सबैको हुन्छ ।
यी सबैलाई सन्तुलन गर्न सजिलो छैन । यति हुँदाहुँदै पनि सरकारसँग काम गर्न सहज वातावरण छ । सबैभन्दा ठूलो पक्ष सरकारसँग जनमत छ । केन्द्रदेखि स्थानीय तहसम्म एउटै विचारधारामा विश्वास गर्ने स्वजातीयहरूको सरकार छ । प्रतिपक्ष विगतको भन्दा शालीन छ, आफैमा अलमलिएको छ ।
सहज परिस्थिति हुँदाहुँदै पनि सरकार कताकता हराए जस्तो देखिन्छ । पार्टीको सिद्धान्तमा बाँधिएका बाहेक आम नागरिकलाई सरकारले विश्वासमा लिनसकेको देखिँदैन । यो नै सत्य होइन, तर वास्तविकता हो । देश बाहिर पनि हामी विश्वास गुमाउँदैछौं र कमजोर कूटनीतिक चरित्र प्रदर्शन गर्दैछौं । नयाँ युगले दिने फल सर्वसाधारणका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तो हुने त होइन भन्ने सबैको मनमा पर्न गएको छ ।
हाम्रा नेता र प्रशासकमा ज्ञानको कमी पनि देखिँदैन । केही वर्षयता सबैले स्व:प्रशंसाले भरिपूर्ण आत्मकथा, सुझाव र सल्लाहले भरिभराउ ठेलीका ठेली पुस्तक प्रकाशित गर्दै आएका छन् । यो ज्ञानले सत्तामा बस्दा किन काम गर्दैन भन्ने विषयले सर्वसाधारण नागरिक अचम्मित भएका छन् । भाषणमा पनि नेताहरू इलियाड, ओडेसी तथा पछिल्लो समयका उत्कृष्ट पुस्तकका लेखक नोभल हरारीका सबै कृति पढेको अनुभूति दिन्छन् ।
मार्क्सवाद कण्ठै गरेर बसेका छन् । केही वर्ष पहिले प्रकाशित ‘किन राष्ट्रहरू असफल हुन्छन्’ र गतवर्ष प्रकाशित ‘कसरी प्रजातन्त्र मर्छ’ भन्ने पुस्तक नेपालमा धेरै किनिए । धेरैजसो नेतागण, प्राज्ञ र प्रशासकले यी पुस्तकको प्रसंग लिएको देखिन्छ ।
धेरैजसो शीर्षनेताले कम्तीमा तीनवटा फरक राजनीतिक व्यवस्थामा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनको माध्यमले एउटाबाट अर्को व्यवस्थामा फड्को मारेर जुन व्यवस्थामा पनि उपयुक्त हुनसक्ने क्षमता प्रदर्शन गरेका छन् । यस्ता चतुर राजनीतिज्ञ धेरै कम देशमा पाइन्छन् । यतिहुँदाहुँदै पनि नेपाली राजनीति र राजनीतिज्ञले विश्वास गुमाउँदैछन् । किन ?
विगतका राजनीतिक आन्दोलनहरूको प्रमुख उद्देश्य नेपाली राजनीतिलाई सामन्तवादबाट समतावादतिर लानु थियो । राजनीतिज्ञहरूले विगतमा सामन्तवाद मात्र देखे, तर जनता जहिले पनि विगतकै गुणगान गाउँछन् । अहिले राम्रो गर्न नसकेर विगत राम्रो भएको हो कि विगत राम्रै थियो ? यो समीक्षा गर्नु अप्ठ्यारो पक्ष हो ।
समाज ठाडो रूपमा विभाजन भएको छ । कसैले यसैलाई प्रजातन्त्र देख्छन् भने कसैका लागि दुई हजार वर्ष अगाडि प्रजातन्त्र राम्ररी अभ्यास गरिएको देख्छन् । उनीहरूले पौराणिक र ऐतिहासिक घटनाबाट मत निर्माण गर्दैछन्, जुन आज देखिँदैन । उल्टो न्यायका लागि सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको छ ।
समतावाद स्थापनाका लागि साम्यवादी विचारधारामा विश्वास गर्ने तर प्रजातान्त्रिक प्रक्रियाबाट आएका राजनीतिक पार्टीहरूको हातमा सत्ताको बागडोर परेको लामो समय भइसकेको छ । कानुनमा व्यवस्था भए पनि व्यवहारमा न सामन्तवाद अन्त्य भएको छ, न समतावाद स्थापना हुनसकेको छ ।
राजनीतिक शब्दजाल प्रयोग गरेर विगतलाई गाली गर्ने या गुनगान गाउने, तर समकालीन विषयमा कम छलफल गर्ने हाम्रो बानी भैसकेको छ । जीवन समकालीनतामा निर्भर गर्छ । साधारण जीवन जिउन न भूत आवश्यक पर्छ, न भविष्य । छलफल गरेको भए समकालीन समस्या समाधान थिए । जनसंख्याको ठूलो भाग ओगटेका युवक–युवतीका समस्या समाधान गर्न हामी बढी केन्द्रित हुने थियौं । अरुका समस्याबाटै व्यक्तिगत समृद्धि सिर्जना गर्ने फरक वर्गको विकास भएर जाँदैछ ।
मुलुकलाई दिशानिर्देशन गर्न राजनीतिक वर्गको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रजातन्त्रसँगै उदाएका नयाँ शासक र अभिजात्य वर्गको जीवन ‘निजितामा सुरु भएर निजितामै’ अन्त्य हुने संस्कार विकास भएको छ । यो वर्गमा पर्ने व्यक्तिहरू सबै एकैचोटी सफल र नम्बर एक (अल्फा म्यान) हुन चाहन्छन् । ओमेगा हुन कोही तयार छैनन् । हामी पुनर्जन्ममा विश्वास गर्ने बहुमतमा छौं । त्यस्तो हतारै गरिहाल्नुपर्ने छैन ।
यस्ता व्यवहारले राजनीति गर्ने र नगर्नेका बीच सनातनी शत्रुताको विकास हुनगएको छ । राजनीति गर्ने वर्गमा ‘हामी जनता’ भन्ने सिद्धान्तलाई ‘जनताका हुन् र’ भन्ने मानसिकताले जरो गाड्दैछ । यस्तो व्यवहारले प्रजातन्त्रका मौलिक मूल्य र मान्यताको उपहास गरेको देखिन्छ । हाम्रो राजनीतिक व्यवहारले निर्माण गरेको यो दोस्रो किसिमको वर्ग हो ।
अर्को समस्या हामी झुटो मनले ‘सत्य’ बोल्छौं र सत्य मनले ‘झुटो’ बोल्छौं, जसले गर्दा व्यवहार र विश्वास छुट्याउन आम नागरिकलाई अप्ठ्यारो परेको छ । हामी बाहिरी मनले सबै प्रजातन्त्र र विकास चाहन्छौं । भित्री मनले घोर अप्रजातान्त्रिक र आफ्नोमात्र विकास हेर्न चाहन्छौं । राज्यको चरित्र पनि त्यसरी नै निर्माण गर्दैछौं ।
यो चरित्रले शासकीय पद्धतिमा समस्या देखिँदैछ । हामी सिद्धान्त र सम्झौता पूर्णरूपमा लागु गर्ने मनस्थितिमा छैनौं । किनकि यसले शासकीय शक्ति विभाजन गर्छ, जुन हामी चाहँदैनौं । शासक, नोकरशाही र प्राज्ञ पनि श्रेणीक्रममा विश्वास गर्छाैं । श्रेणीक्रम लागु गर्न श्रेणीविहीन ठूलो वर्ग चाहिन्छ ।
पछिल्लो वर्ग जति बलियो हुन्छ, अघिल्लो वर्गको प्रभुत्व त्यतिकै खतरामा पर्छ । अर्को कुरा सत्तामा पुगेका व्यक्तिहरू (त्यो राजनीतिज्ञ होस् या कर्मचारी) अवकाश चाहँदैनन् र नमरुन्जेलसम्म विभिन्न किसिमका नियुक्ति कुर्दै बसेका देखिन्छन् । यी समस्या आनुवंशिक भएर आएका छन् ।
आज थोरै व्यक्ति ज्यादै सफल छन् र तिनले मेरो अनुमानमा मुलुकको जीडीपीको लगभग १५ प्रतिशत भाग ओगट्छन् । व्यक्तिगत स्वार्थका लागि सकेसम्म राज्यका संरचनालाई आफू सुहाउँदो तरिकाले निर्माण गर्ने र नीति पनि त्यस्तै बनाउने परम्परा स्थापित हुँदैछ । परिणामस्वरुप दोहोरो समानार्थी अर्थतन्त्र र शासकीय स्वरुप अगाडि आउँदैछ ।
बहुनागरिक असफल र राज्यभन्दा गैरराज्य बलियो भएर गएको छ । हामीले अगाडि सारेका नीतिहरूले धनी र गरिबका छोराछोरीको भेटघाट हुँदैन । सामान्य अवस्थामा गरिब किसान र मजदुरका छोराछोरीको डाक्टर, इन्जिनियर बन्ने सम्भावना न्युन भएको छ । जुन अवस्था तीन दशक अगाडि थिएन । फलस्वरूप एकले अर्कोलाई हेर्ने दृष्टिकोणमा भिन्नता आएको छ ।
यस्तो अवस्थामा (डिप राज्य) फगत राष्ट्रवादको नाराले मात्र नागरिक सार्वभौमता संरक्षण गर्दैन । राजनीतिज्ञको मूल्याङ्कन व्यक्तिगत सफलता र उपलब्धिका आधारमा हुँदैन । राज्य सामूहिक निकाय हो । राजनीतिज्ञको सफलता सामूहिक सफलतामा निर्भर गर्छ ।
व्यक्तिगत सफलता र उपलब्धिको कुनै सीमा छैन । हामीसँग त्यसको लागि न पर्याप्त समय छ, न क्षमता । रविन्द्रनाथ टैगोरले मृत्युशैय्यामा रुँदै भनेका थिए, यो संसारमा धेरै कुरा छन्, तर मनुष्यको टोकरी भगवानको भन्दा ज्यादै सानो छ । यो संसारको दुई हजार वर्षको इतिहासमात्र हेर्ने हो भने यो अवधिमा धेरै शासक, विद्वान र कलाकार आए होलान्, तर हामी मुस्किलले १०–१२ जनालाई मात्र सम्झिन सक्छौं ।
स्वार्थ र सुविधाका आधारमा राजनीतिक दलहरू फुट्ने र जुट्ने परम्पराले हाम्रो प्रजातन्त्र पटक–पटक सङ्कटमा पर्दैछ । दलभित्र र बाहिरको मल्लयुद्धले राजनीतिप्रति विश्वास घट्दै गएको छ । संसारका धेरैजसो राष्ट्रले बाह्य मुलुकसँग स्वतन्त्रताको लडाइँ लडे । हाम्रो लडाइँ आन्तरिक छ । कुनै बेला सामन्तवादको नाममा त कुनै बेला प्रजातन्त्रको । लडाइँ आफ्नै बन्धु–बान्धवसँग छ ।
बहुदलीय प्रतिस्पर्धी शासन व्यवस्थाको मर्म हामीले बुझ्न सकेनौं कि † प्रतिस्पर्धी मात्र भनेको हो, लडाइँ गर्ने भनेकै होइन । प्रतिस्पर्धी जनहितका लागि कसले बढी गर्न सक्ने भनेर हो । त्यसो त अहिलेको प्रजातान्त्रिक प्रणालीमा ओलम्पियस (ग्रिक) फिलोसोफीको ठूलो प्रभाव छ । जसको मुख्य उद्देश्य प्रथम हुने (अल्फा प्रवृत्ति) हो । यो प्रतिस्पर्धी परम्परा अनुसार सबै कुरा एउटै जीवनमा प्राप्त गर्नुपर्छ ।
जीवनको सफलता सबै उपलब्धिसँग (सम टोटल अफ दी एचिभमेन्ट) सँग जोडिनाले उपलब्धिका लागि जे पनि गर्ने प्रवृत्ति हावी भएको छ । त्यही भएर होला, जति विद्वान भए पनि प्रतिस्पर्धा लडाइँमा रूपान्तरण हुने र समाज पछाडि परिरहने । यस्तो अवस्था कायमै रहे राजनीतिले नागरिकको विश्वास जित्न अप्ठ्यारो हुनेछ ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २, २०७५ ०७:५४

देश जोड्ने कसले ?

देश जोड्ने कसले ?
मेखराज परियार
अन्नपूर्ण, २७ माघ २०७५ १०:५५:००
नेल्सन मन्डेलाको चर्चित कथन छ, ‘कसैले उसले बुझ्ने भाषामा कुरा गर्‍यो भने उसको दिमागलाई हुन्छ तर उसको भाषामा कुरा गर्‍यो भने उसको मुटुलाई छुन्छ।’ स्पष्ट छ, मानिसको भाषा, भेष, संस्कार, धर्म, मान्यता, परम्परा फरक-फरक हुन्छन्। भर्खरै पुस २७ गते राष्ट्रिय एकता दिवस या पृथ्वी जयन्ती मनायो देशले।
पृथ्वी जयन्तीको २९७ औं वर्षसम्म पनि तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले गरेको देशको भौगोलिक एकताको विवाद भने टुंगिएको छैन। यस्तो विवाद रहिरहनुमा पृथ्वी नारायणको मात्रै दोष होइन, उनीपछिका शाह राजाहरू, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका शासकहरूले भावनात्मक, संवेदनात्मक र राजनीतिक रूपमा कोही कसैले र राजनीतिक रूपमा देशको एकता हुनै सकेको छैन।
अझ एकतामा क्षयीकरण हुन पुगेको भान हुन्छ। बहुलता, अनेकता, भिन्नता, पृथकता, फरक मान्यता देश भनेको डाँडाकाँडा राष्ट्रका सम्पत्ति हुन्। वनजंगल, ढुंगामुढा, नदीनाला मात्रै होइनन्, जनता महत्वपूर्ण हुन्। जनता एक धार्मिक एवं भाषिक, एक जातीय, एक लिंगीय, एक क्षेत्रीय, उच्च वर्गीय, एक समुदाय मात्रै होइनन्। शाह शासकहरूले बझेनन्, बेग्लै कुरा तर हामी प्रगतिशीलहरूले बुझ्यौं ? देश जोड्ने कसले र केले ? बहस नउठाउने हो भने संकट निकट आइसकेको छ।
विभेदको आधुनिकीकरण
देशमा कति प्रकारका विभेद छन् ? ती विभेदहरू पालिराख्न के जरुरी छ ? स्वार्थ कसको ? को माथि हुन्छ अझै विभेद ? यस्ता थुप्रै प्रश्न जीवित छन्। केही दिनअघिको अन्नपूर्ण पोस्ट्मा छापिएको समाचार थियो- बाजुराकी अम्बा बोहोरा र उनकी दुईजना नाबालक छोराको छाउगोठमा निसास्सिएर मृत्यु। संघीय लोकतान्त्रिक गणतन्त्रले समेत भत्काउन सकेन पश्चिमका छाउगोठहरू। योभन्दा ठूलो विडम्बना अरू के नै हुन सक्ला ? हुन त काठमाडौंलगायतका ठूला सहरहरूमा पनि छाउपडी प्रथा जीवित नै छन्।
जस्तै- सहरका महिला महिनावारी भएको समयमा भान्छा कोठा, पूजा कोठा, मन्दिर प्रदेश गर्दैनन् गर्न दिइँदैन। आज श्रीमती नछुने भएकी चिन्, आफैं खाना बनाउनुपर्छ भन्ने थुप्रै साथीहरू छन्। महिला अधिकारवादी दलित महिला, शिक्षित महिलामा समेत यस्तो भावना छ। यद्यपि ज्यानै जाने घटना भने सहरमा हुँदैनन्।
पृथ्वीनारायण शाहलाई सरापेर या गाली गर्दैमा देश जोडिन्न। देश जोड्न सबैका भावना, हक, अधिकार, न्याय, समानता, कानुनको राज्य, समावेशीकरणजस्ता महत्वपूर्ण सवालमा दृढतापूर्वक उभिन सक्नुपर्दछ।
केही वर्षअघिको कुरा हो, दसैंको टीका (विजयादशमी) को दुई दिन बितेको मात्रै थियो। म घर (डेरा) को छतमा कपडा सुकाउँदै थिएँ। घरबेटीका श्रीमान्- श्रीमती पनि छतमै घाम ताप्तै गफ गरिरहेका थिए। अन्य कुरामा ध्यान नभए पनि घर भेटको यो वाक्यले मेरो ध्यानाकर्षण गरायो। ‘टीकाको दिनपछि टीकाटालो त दमाईकामीले मात्रै गर्छन् हामी त लगाउँदैनौं।’ म झसंग भएँ। पल्लो घरमा टीका लगाइरहेको दृश्य देखेर श्रीमतीले देखाएपछि श्रीमान्को प्रतिक्रिया थियो त्यो। कोठा सरेर उनको घरमा आउँदा, मेरो नाम, जात केही सोधेनन् उनले। मैले ढाँटेर बसेको पनि होइन। नसोधेपछि मैले पनि बताइरहन आवश्यक ठानिनँ।
पृथ्वीनारायण शाहका आर्थिक सहयोगी तथा राष्ट्रिय विभूति बिसे नगर्चीले तत्कालीन राज्यलाई दिएको एक मोहर (एक रुपैयाँ) र सल्लाहको ऋण अन्तिम शाही शासक ज्ञानेन्द्र शाहसम्म आइपुग्दासमेत फिर्ता गरेनन्। राष्ट्रिय एकीकरण अभियानमा महत्वपूर्ण योगदान दिने चार जातिलाई काजी उपाधि दिइएको थियो। चार काजीमध्ये एक पाण्डे, दुई कुँवर, तीन थापा र चार बस्नेत थिए। तथापि आर्थिक सल्लाहकार, नगरा लगाएर युद्धमा सँगै हिँड्ने नगर्चीहरू, हतियार तयार पार्ने विश्वकर्मालगायतका कथित दलित समुदायमाथि राज्यले कहिले पनि सम्मान, न्यायको नजरले हेरेन। अवसरहरू पनि प्रदान गरेन।
देशले शासन प्रणलीमा क्रान्तिकारी परिवर्तन प्राप्त गर्‍यो। त्यसैले त विभेद, विभेद गर्ने तरिका, समानता र समावेशीकरणमा पनि आधुनिकीकरण आएको छ। अन्तर्राष्ट्रिय समुदाय, दातृ निकायको नजरमा समेत भ्रम पर्न पुगेको छ। देशमा लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समानता र समावेशी मुद्दा स्थापित भएको र दलित, आदिवासी, जनजाति, महिला, मुस्लिम समुदाय, उत्पीडित वर्ग समुदायको न्यायोचित सम्बोधन भएको भान पर्न गएको छ।
समानता, न्याय विधिको शासन स्थायित्व भइसक्यो, अब केको आन्दोलन ? यस्तो प्रश्न जताततै सुनिन्छ। सरकारले त दातृ निकायहरूलाई दलित मुद्दामा काम गर्ने तरिका सन्दर्भमा नयाँ नीति बनाइदिएको छ। त्यसैले देश-विदेशमा भ्रामक प्रचार चुलिएको देखिन्छ। तर सत्य के हो भने विभेदमा आधुनिकीकरण भएको हो, देश जोड्ने र साँच्चै विभेदहरूको अन्त्य गर्ने कार्य भएकै छैन।
उपलब्धिको संरक्षण कसले गर्ने ?
वर्तमान केपी ओली सरकारको बदनियत, समानता र समावेशी मुद्दाविरोधी, एकल जातिवादी, नश्लीय सरकार, संविधानको कार्यान्वयनमा देखिएको शंका र नेकपा (नेकपा) को लोकतन्त्र, धर्म निरपेक्षताप्रतिको विरोधाभास इत्यादि कारणले के देखाउँछ भने लोकतन्त्र बलियो बनाउन लोकतान्त्रिक शक्ति बलियो हुनैपर्छ। त्यसको मतलब नेपाली कांग्रेस बलियो बन्नुपर्दछ भन्ने हो ? नेपाली कांग्रेस पार्टी पूर्ण लोकतन्त्रवादी दल हो कि होइन, त्यो उसैले जानोस्। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। त्यति मात्रै होइन, लोकतन्त्रमा दलको विकल्प दल नै हुन्। हाम्रो देशमा एक दल असफल भए या एउटाले लोकतन्त्रको संरक्षण, संवद्र्धन नगरे अर्काे दलले गर्छ भनी ढुक्क हुने स्थिति छैन।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्काे अध्यक्ष पुष्पकमल दाहाल लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण र कार्यान्वयनमा उदासीन देखिन्छन्। तत्कालीन एमालेका नेतृत्व माधव नेपाल पक्ष लोकतन्त्रप्रति प्रतिबद्ध र लोकतन्त्र प्राप्तिका निम्ति जुझारु थिए। तर उनको पक्ष अहिले संकटको स्थितिमा छ। ओली दाहालको नेतृत्व लोकतन्त्रप्रति जहिले पनि शंकास्पद रहँदै आएका हुन्।
कस्तो देखिन्छ भने अहिलेको संविधान, संवैधानिक व्यवस्थाहरू, ऐन-कानुन निर्माण गरी लोकतान्त्रिक उपलब्धिहरू तल्लो तहका जनतासम्म पुर्‍याउनुपर्ने अवस्था हो। संवैधानिक हक प्राप्त गरे मात्रै गरिब, निमुखा, उत्पीडनमा परेका जनजीविका, जीवनस्तरमा बदलाब आउँछ। तर सरकार, त्यसको नेतृत्व, पार्टी केवल बेथिति, भ्रष्टाचार, अनियमितता र अन्यायमा लिप्त भएका छन्। त्यसले जनतामा लोकतन्त्रप्रति नै वितृष्णा पैदा हुँदै गएको छ। अनि दाहालको लोकतन्त्रमा ड्याम-ड्याम विकास गर्न नसकिने भन्ने भनाइ आउनु अस्वाभाविक होइन।
भर्खरै विवेकशील साझा पार्टी फुट्न पुग्यो। त्यस पार्टीका दुई संयोजकहरू रवीन्द्र मि श्र र उज्ज्वल थापा अलग-अलग पार्टीको नेता बन्न पुगे। कतिपय विद्वान्को विश्लेषण छ- वैकल्पिक शक्ति सफल हुँदैन। अझ डा. बाबुराम भट्टराईको असफलता पनि त्यसैको उदाहरणका रूपमा जोड्ने गर्दछन्। खासमा रवीन्द्रजी, उज्ज्वलजी या भट्टराईजीबाट वैकल्पिक शक्ति बन्नै सक्दैन। किनभने मि श्रजीको पार्टीमा जानुभन्दा ओली-दाहाल या देउवा पौडेलकै पार्टी छ नि।
भट्टराईको पार्टीभन्दा उही जातका थापा, राणा या ओलीकै पार्टी बलियो छ। उहाँहरूजस्तो विकल्प कहाँ खोजेको हो र देशले ? देश त खस-आर्य, पहाडे र पुरुष, हिन्दु मात्रै नेतृत्वले आजित छ। मधेसीको नाममा कथित उच्च जात र वर्गका ठाकुर, त्रिपाठी, यादवहरूका एकल नेतृत्वप्रति वाक्क-दिक्क भा’छ। अबको विकल्प त त्यस्तो हुनुपर्छ, सबै जात-जाति, क्षेत्र, लिंग, वर्ग, समुदायको सामूहिक नेतृत्व। सधैं सवर्ण, खस-आर्यको नेतृत्व अन्यले स्विकार्नैपर्छ भन्ने के छ ? अरू वर्ग, समुदायको नेतृत्व स्थापित गर्न जरुरी छ।
रवीन्द्र, उज्ज्वल, बाबुरामहरूको नीति कार्यक्रम र भावनासमेत मूल धारका पार्टीका भन्दा फरक छैनन्। मुलुकले खोजेको के हो ? स्पष्ट होस्, मुलुकले खोजेको आजको आवश्यकता भनेको संविधानका उपलब्धिहरूको जगेर्ना र कार्यान्वयन। त्यस्तै ऐतिहासिक उत्पीडनमा पारिएका जाति, क्षेत्र, वर्ग, लिंग, समुदाय, भाषा, भेष, संस्कृतिको वैज्ञानिक त भावनात्मक एकता। भौगोलिक एकता गरी एक राजा, एक देश, एक धर्म, एक संस्कृति लादेर गएका पृथ्वी नारायण शाहलाई सरापेर या गाली गर्दैमा देश जोडिन्न। देश जोड्न सबैका भावना, हक, अधिकार, न्याय, समानता, कानुनको राज्य, समावेशीकरणजस्ता महत्वपूर्ण सवालमा दृढतापूर्वक उभिन सक्नुपर्दछ। जुन कार्य ओलीको कथित कम्युनिस्ट सरकारबाट सम्भव छैन। यो कम्युनिस्ट भनिए पनि एकल जातिवादी सरकार र नश्लवादी पार्टी हो।
देश जोड्ने कसले ?
माथि नै भनियो- लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, न्याय, समानता र समावेशीकरणजस्ता उपलब्धि कार्यान्वयन नगरी देश जोडिन्न। देश जोड्न सक्षम नीति र नेतृत्व आवश्यक छ। विगतमा जस्तो मुख थुन्ने अनि विरोधको स्वर सुनिएन भन्ने, हात-खुट्टा बाँध्ने अनि शान्ति छ भन्ने चातुर्यपूर्ण स्थितिको अन्त्य हुनैपर्छ। देशमा जातीय विभेदका घटना दैनिक हुन्छन्। राज्यले न्याय दिन सकेको छैन। महिला हिंसा, विभेद, अन्याय, बलात्कारको अन्त्य, दोषीमाथि कडा कानुन कार्यान्वयन हुन सकिरहेको छैन। राज्यले नै मधेसको भूमि मेरो हो तर त्यहाँका जनता मेरा होइन भन्नेजस्तो बोली र व्यवहार गर्दासम्म देश भौगोलिक र भावनात्मक दुवै कुरामा जोडिन्न।
भोका, नांगा, दुःखी, अशिक्षित, निमुखा, विभेदमा पिल्सिएका जनतालाई ‘पर्ख है समाजवाद आएपछि न्याय दिउँला’ भनेर हुँदैन। जनता पनि कति मूर्ख छन् भने नेताले फेरि लड्नुपर्छ, अनि बल्ल तिम्रो मुक्ति हुन्छ भनेका भरमा लड्न तयार हुने ? के हो समाजवाद ? कस्तो हुन्छ साम्यवाद जनताको मुक्तिका निम्ति समाजवाद, साम्यवाद चाहिने तर तपाईंको यो उन्नति, प्रगति, सत्ताचाहिँ कसरी आयो ? जवाफ छ कमरेडहरूसँग ?
देशमा १५० भन्दा बढी जात-जाति, थुप्रै उपजाति, १२५ भन्दा बढी भाषा-भाषा, विभिन्न धर्म, मूल्य मान्यता छन्। ती सबैको नाश गरी एउटा मात्रै जगेर्ना गर्नाले देश जोडिएन। सबैको सम्मान, उन्नति, प्रगति गर्न सके देश जोडिन्छ। अवसर सबैलाई दिनुपर्छ। चार दलका चार नेता बस्ने तर चारै नेता खस-आर्य, पुरुष, पहाडे र हिन्दु। अनि अन्यले स्विकार्नैपर्ने ? यो अन्याय हो। सबैको आआफ्नै प्रतिनिधिसहितको निर्णय मात्रै मान्य हुन सक्छ। किनभने यो देश अनार्य, गैरहिन्दु, महिला, तेस्रो लिंगी, दलित, मधेसी, हिमाली, जनजाति, आदिवासी, अपांग, गैरखस आर्य सबैको साझा सम्पत्ति हो। द्वन्द्वको वीज रोप्ने कार्य अब बन्द गरौं।

राष्ट्रिय सुरक्षामा प्राथमिकता

राष्ट्रिय सुरक्षामा प्राथमिकता
फाल्गुन ३, २०७५केशरबहादुर भण्डारी
काठमाडौँ — नेपाल राष्ट्रिय सुुरक्षाको दृष्टिकोणले बाहिरबाट ठिकै देखिए पनि भित्रभित्रै कुहिन लागेको फर्सीजस्तो भइरहेको छ । सरकारमा रहेका नेताहरूले राष्ट्रिय हित र राष्ट्रिय सुुरक्षाबारे ठूलठूला कुरा गरे पनि व्यवहार तथा अभ्यासमा त्यस्तो पाइँदैन ।
कूटनीतिक सुरक्षामा अपरिपक्वता
हाम्रा सरकार प्रमुखहरू छिमेकी राष्ट्रहरूको औपचारिक भ्रमणका बेला संयुक्त विज्ञप्तिमा राष्ट्रिय हित र स्वार्थ प्रतिकूल बुँदामा हस्ताक्षर गर्छन् । अर्कोतर्फ भए–गरेका द्विपक्षीय सम्झौता, समझदारी कार्यान्वयनमा उदासीन देखिन्छन् । बिमस्टेक शिखर सम्मेलनका बेला प्रस्तावित संयुक्त सैनिक अभ्यासबारे सरकारले देखाएको दोधारे चरित्र, धार्मिक स्वर्थ केन्द्रित एसिया प्यासिफिक समिटमा सरकार र नेताहरूले देखाएको रवैया तथा नेकपाका एक अध्यक्षले भेनेजुएलाका राष्ट्रपतिको विवादमा विज्ञप्तिद्वारा अमेरिकाको भत्र्सना गर्नु आदि कूटनीतिक कमजोरीका पाटा हुन् । अमेरिकाले सुझाएको इन्डोप्यासिफिक रणनीतिमा नेपालको कस्तो भूमिका रहनेछ, त्यसले नेपालको कूटनीतिक सुरक्षामा ठूलो माने राख्छ ।
सशस्त्र प्रहरी बलमा धावा
सशस्त्र प्रहरी बल (सप्रब) बारे गृह मन्त्रालयको एउटा निर्णय कार्यान्वयनले नेपालको राष्ट्रिय सुरक्षामा सुनियोजित प्रहार भएको देखिन्छ । सप्रबको प्राथमिक भूमिका सीमा सुरक्षा हो । यो मूल भूमिका विस्तार गर्दै लैजानुपर्नेमा संकुचित पारिएको छ । नेपाल–भारत बीचको १७५१ किमि खुला सिमानामा ७० हजारभन्दा बढी भारतीय सशस्त्र सीमा सुरक्षाबल तैनाथ छन् ।
नेपालको सीमा सुरक्षामा सप्रबको उपस्थिति धेरै पातलो छ । दीर्घकालीन योजना अनुसार स्थापना गरिएको सीमा सुरक्षा पोष्ट (बीओपी) विस्तार गर्नुपर्नेमा अहिले गृह मन्त्रालयको निर्णयले कतिपय सीमा सुरक्षा गण/गुल्म खारेज भएका छन् । कतिपयलाई अस्थायीकरण गरिएकाले दक्षिणतर्फको सीमा सुरक्षा कमजोर भएको छ । यो सुनियोजित वा स्वार्थवश भएको हुनसक्छ ।
तराई, पहाड दुबैतर्फको सुरक्षा आवश्यकता र प्रभावकारी परिचालनलाई दृष्टिगत गरी सप्रबलाई सामरिक हिसाबले पूर्व–पश्चिम राजमार्गको नजिक तैनाथ गरिएको थियो । तर संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा हालको बाहिनी तथा गणको तैनाथी खारेज गरी तराईका जिल्लामा भएका १४ वटा गण विलय गरिएको बुझिन्छ ।
अर्कोतर्फ सामान्य सुरक्षा अवस्था भएको केही पहाडी जिल्लामा गणको तैनाथी गरिएको छ । यसले दक्षिणी सीमातर्फको सुरक्षा संवेदनशीलताले प्राथमिकता नपाएको प्रस्ट हुन्छ । यो नयाँ व्यवस्थाले राजमार्ग तथा तराईको संवेदनशील सुरक्षा आवश्यकतालाई सम्बोधन गर्न कठिन हुनेछ ।
अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा संघीय सरकारको जिम्मा हो । यो प्रादेशिक प्रहरीबाट हुन सक्दैन, मिल्दैन । सप्रब संघीय स्रोत हो । सेना र सप्रबलाई अन्य सरकारी निकाय/कार्यालयजस्तो प्रशासनिक विभाजनका आधारमा जिल्ला–जिल्लामा तैनाथ गर्नु हुँदैन ।
जिम्मेवरी क्षेत्रका आधारमा तैनाथ गर्नुपर्छ । सप्रबको संख्या आवश्यकताका आधारमा कम छ । ७७ वटै जिल्लामा उपस्थिति गराउने नीतिका कारण सेक्सन, प्लाटुन र कम्पनीको नफ्री घटाएर लडाकु कम्पनीको नफ्रीमा समेत एकरूपता कायम गर्न नसकेको बुझिन्छ । यस्तो हचुवा किसिमको व्यवस्थाले सप्रबको प्रभावकारितामा ह्रास आउँछ ।
अन्वेषण तथा विकासजस्तो महत्त्वपूर्ण निर्देशनालयलाई अन्यत्र गाभी महाशाखामा सीमित गरिएको छ । दर्जनभन्दा बढी बीओपी स्थापना गर्न पुग्ने जनशक्तिलाई खेलकुद शिक्षालय तथा बाद्यबादन गुल्मजस्ता अनुपादक क्षेत्रमा खर्चिइएको छ । प्रशासनिक र समन्वय कार्य गर्ने सप्रबको बाहिनीमा अनावश्यक दरबन्दी बढाइएको छ ।
इन्टिलिजेन्स ब्युरोलाई आईजीपी सचिवालयमा सार्नुको औचित्य पनि प्रस्टिएको छैन । सप्रबका तल्लो निकायसम्मको व्यक्तिगत हतियारमा अमेरिकन एम–१६ राइफल राखिएको छ । नेपाली सेनाले समेत सबैलाई पुर्‍याउन नसकेको एम–१६ राइफल सप्रबमा व्यक्तिगत हतियार बनाउन खोज्नुमा अनावश्यक प्रतिस्पर्धाको मानसिकता देखिन्छ ।
सप्रब प्रभावकारी हुँदा सेनाको प्रयोग र परिचालनमा न्यूनीकरण हुन्छ । यही कारण नेपालमा सेना र नागरिक प्रहरी बीचको शक्तिका रूपमा सप्रबजस्तो अर्धसैनिक बल सिर्जना गरिएको हो । सप्रबलाई विशुद्ध व्यावसायिक अर्धसैनिकका रूपमा विकास गरिनुपर्छ, नकि सेनाको प्रतिस्पर्धीका रूपमा । सुरक्षा निकायहरूको मेरुदण्ड अनुशासन र सञ्चालनको आधार ‘चेन अफ कमाण्ड’ हो ।
अनाश्रित बीओपीको खारेजी तथा अस्थायीकरणका कारण जिल्लास्थित गणको तजबिजीमै सीमा नाकाहरूमा कमाण्डर खट्दा सही चेन अफ कमाण्डको अभ्यास हुन सक्दैन । आर्थिक अनुशासनमा नकारात्मक प्रभाव पर्ने सम्भावनासमेत बढ्छ ।
नाम परिवर्तन
कुनै समाज, राष्ट्र वा राज्यको पहिचानलाई सैनिक आक्रमणबिना मास्नुछ भने पहिले त्यसको इतिहास, भाषा, धर्म, संस्कार संस्कृति, परम्परा आदिलाई सिध्याउनुपर्छ भनिन्छ । जुन काम नेपालमा सुनियोजित ढंगबाट भैरहेको छ । सप्रबको बाहिनी तथा गणहरूको निसान र नामकरण धार्मिक परम्परा, संस्कार र संस्कृतिका आधारमा देवी, देवताका नाममा गरिएको थियो । सरकारले देवी, देवताको नाम हटाई बाहिनी तथा गणलाई १, २, ३...जस्ता अमूक नम्बरबाट सम्बोधन गर्ने आदेश गरेको छ । यो भोलि अरू सुरक्षा अंगमाथि पनि हुनसक्छ ।
विभेदी सरकार
सरकारले घोषणा गरेका सबैजसो काम कार्यान्वयनमा असफल छन् । सरकारले हात हाल्न खोज्छ, तर सम्बन्धितको दादागरी र धम्काइको अगाडि केही गर्न सक्दैन । सरकार तिनै कर्मचारीलाई रिझाउन अनेक सुविधा र सहुलियत दिन उद्यत छ ।
दर्जनौं सरकारी कार्यालयका कर्मचारीको शतप्रतिशत तलब–भत्तादेखि लिएर अनेक सरसुविधा बढाउने कार्यले अन्य सरकारी कर्मचारीमा आकांक्षा बढ्नु र नपाए हतोत्साही/विद्रोही हुनु स्वाभाविक हो । के सेना र प्रहरीका जवानले दिनरात खटिनु अन्य कुनै सरकारी कार्यालयका कर्मचारीले गर्ने कामभन्दा कम छ ? यसमा सरकारको बेलैमा सोच पुग्नु जरुरी छ ।
सकारात्मक पहल
सुरक्षा निकायमध्ये नेपाल प्रहरी, सप्रब र राष्ट्रिय अनुसन्धान विभागमा सेवारत कर्मचारीको वृत्तिविकास तथा अन्य महत्त्वपूर्ण विषयमा नियमद्वारा सञ्चालन गर्नसक्ने सरकारी तजबिजीको कानुनी व्यवस्था गरिएको छ । यही कारण यी निकायमा चरम राजनीतिक हस्तक्षेप र चलखेल बढेको हो ।
यसका प्रमुखहरू निरीह हुन बाध्य छन् भने उच्चतहका अधिकृतहरू व्यक्तिगत लाभका लागि राजनीतिको फेरो समाती हरकिसिमको चलखेलमा अभ्यस्त भएका छन् । यी निकायहरूको व्यावसायिक क्षमातामा ह्रास आएको छ । सरकारले संघीय प्रहरी ऐन ल्याएर प्रहरीभित्र नियमावलीबाट सञ्चालन गर्ने तजबिजीको व्यवस्था खारेज गर्नुका साथै ३० वर्षे सेवा अवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्ने र आईजीपी, एआईजीपी र डीआईजीको निश्चित पदावधि कायम गर्ने व्यवस्था गर्नलागेको छ । यसले यी निकायमा सुधार आउने देखिन्छ । यसले व्यावसायिक क्षमता बढाउने गर्छ ।
निचोड
चौतर्फी भ्रष्टाचार मौलाएको छ । हर क्षेत्रमा अराजकता बढ्दो छ । जनता आजित छ । सरकार निरीह देखिन्छ । समाज संवेदनहीन तथा विभाजित समाज छ । ठूलठूला राजनीतिक कुरा भए पनि कार्यान्वयन फितलो छ । धर्म, भाषा र इतिहासप्रति असहिष्णुता/प्रहार हुँदैछ ।
संघीयताको यथोचित व्यवस्थापनमा कठिनाइ र द्वन्द्व देखिन्छ । कर्मचारी र शिक्षक राजनीतिक खेमामा विभाजित छन् । अर्थतन्त्र अन्योल उन्मुख छ । विदेशी चासो तथा चलखेल बढ्दो छ । कूटनीतिक सन्तुलन मिल्नसकेको छैन । यी राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा देखा पर्दैछन् । समयमै सोचविचार पुर्‍याई जनता र राष्ट्रिय हितलाई मात्र केन्द्रमा राखी राज्यव्यवस्थामा सुधार ल्याउनु अनिवार्य भइसकेको छ ।
नेपाली सेनाका पूर्वसहायक रथी लेखक नेपाल स्ट्राटेजिक स्टडिजका सचिव हुन् 
kesharbh@gmail.com
प्रकाशित : कान्तिपुर, फाल्गुन ३, २०७५ ०८:२५

रंग थप्दै मिथिला कला

रंग थप्दै मिथिला कला
मिथिला कलामा गर्ने के हो त्यतातिर जोड छैन, बिक्ने के हो त्यतातिर जोड दिइएको छ नेटमा देखेजति किन्नेको चाहनाअनुसार मिथिला कला परिवर्तन भइरहेको ।’
पुस १३, २०७५सुनीता साखकर्मी
काठमाडौँ — दुई ठूला गोलाकार आँखा, त्रिभुजाकार चुच्चो नाक र सीमित रंग । एक दशकअघि श्यामसुन्दर यादवले यस्तै चित्र बनाउन थालेपछि उनलाई ‘मिथिला चित्र बिगार्‍यो’ भन्ने आरोप लाग्यो ।
उनका चित्रमा भएकी महिलाको शिरमा न घुम्टो छ, न अण्डाकार ठूला आँखा, न त पहिरन नै झकिझकाउ । मिथिला चित्रमा घुम्टोभित्रबाट नियालिरहेको महिला आकृति मात्रै देखिरहेका
कला समीक्षक र पारखीलाई उनरको चित्र नौलो थियो ।
यस्तो फरक चित्र हेरेपछि कतिले श्यामसुन्दरले ‘मिथिला कलामा आधुनिकता ल्यायो’ समेत भने । तर उनका अनुसार, यो चित्र तराई भेगमा गोवर्धन पूजा, समाचकेवा लगायत विभिन्न पर्वहरूमा गाउँभरिका महिलाहरूले घरको भित्तामा बनाउने परम्परागत चित्र हो ।
‘मैले केमिकलयुक्त रंगहरूको माध्यमबाट क्यानभासमा चित्र उतारेँ । मैले अपनाएको विधिअनुसार यो आधुनिक चित्र नै हो,’ उनले भने, ‘तर यो चित्रको आत्मा परम्परागत नै हो । भित्तामा बनाइने चित्र क्यानभासमा नयाँ प्रविधिको प्रयोग गर्दै उतारेको मात्रै हुँ ।’
उनका अनुसार, गाउँमा अहिले पनि यस्तै मिथिला चित्र बन्छ, तर सहरमा पाइने र देखिने मिथिला चित्र भिन्नै छ । अचेल मिथिला चित्रको आकृतिमा आँखा फरक हुन थालेको छ । घरका भित्ताबाट क्यानभासमा आकृति सरेपछि परिवर्तनहरू आएको उनको दाबी छ ।
मिथिला क्षेत्रमा मानिसको आँखा बनाउने शैली एकै किसिमको छैन । लाम्चो आँखा त भयो नै, त्योसँगै कागजमा मिथिला चित्र कोर्ने चलन सुरु गरेका माली जातिले घरको कुलदेवता पूजा गर्दा छोपिने ‘झाँप’ मा देवीको आँखा भिन्नै बनाउँछन् । त्यसमा देवीसँगै जनावरको चित्र हुन्छ । मुछेको माटोलाई भित्तामा टाँस्दै गर्ने थ्रीडी शैलीको मुडन पनि अहिले नौलो लाग्ने उनले बताए ।
‘अहिले मैले त्यस्तै आँखा र शैली बनाएर चित्र कोरेँ भने त्यसलाई पनि आधुनिक चित्र बनायो भनेर भन्छन्,’ उनले भने, ‘खासमा मिथिला कलाको विविधता बाहिर आउन सकेको छैन ।’ भित्तामा माटोको टेक्स्चर गर्ने शैलीलाई शशी शाहको पेन्टिङमा देखेर उनीबाटै आधुनिक रंगको माध्यमबाट क्यानभासमा उतार्न सिकेको श्यामसुन्दरले बताए ।
बहुरेखाको प्रयोग
मिथिला चित्रलाई रेखा चित्र पनि भनिन्छ । फाइन आर्टमा लाइट र सेडले आकृति छुट्याइन्छ, तर मिथिला कलामा रेखाले नै आकृति छुट्याउँछ । चित्रकार श्यामसुन्दरका अनुसार ओरिजिनल मिथिला आर्ट बनाउने हो भने, त्यो एकै लाइनमा पनि बन्न सक्छ ।
चित्र बनाउँदै गरेको हात न झिक्नुपर्छ, न लाइन दोहोराइन्छ । हातलाई घुमाउँदै पुरै चित्र एकै लाइनमा बनाउनुपर्ने हुन्छ । अहिले पनि तराईमा भूमिकलाअन्तर्गत अरिपन बनाउँदा यसै गर्छन् । ‘हिमालबाट खसेको पानी खोलामा जसरी अटुट बग्दै समुद्रसम्म एकै लाइनमा आइपुग्छ, त्यसरी नै एक बिन्दुबाट सुरु गरेर हात नछोडी अन्तिमसम्म निरन्तर चलाएर आकृति बनाइन्थ्यो पहिले,’ उनले भने, ‘अहिले बदलियो । बहुरेखाको चलन आयो ।’
मिथिलामा रेखाहरूको महत्त्व कुनै मानिस वा जनावर, वस्तुको फिगर छुट्याउनमा छ । तर पछिल्लो समय रेखाको परिभाषा बदलिएको छ । अहिले पाइने मिथिला चित्रमा रेखाको अर्थ धेरै रेखा कोर्नुजस्तै बनिसकेको देखिन्छ ।
श्यामसुन्दरका अनुसार मिथिलामा दुई थरीको चित्र बन्छ, भर्नी (रंग भरेर) र कचिनी (काटेर) । नेपालको तराईमा बनाइने मैथिली चित्रमा रंग भरेर बनाउने चलन छ भने भारतको मधुवनीमा कचिनी (काट्ने) छ । भर्नीमा हातैले रंग फिजाएर भरिन्छ भने कचिनीमा पात, शरीर, रुख जे भएनि त्यसमा काटेर धेरै रेखाहरू देखिनेबनाइन्छ । अहिले दुवै शैली मिसिएपछि धेरै रेखाहरू बनाउने चलन सुरु भएको श्यामसुन्दर बताउँछन् ।
ठमेलमा मिथिला यें ग्यालरी चलाउँदै आएका श्यामसुन्दरका अनुसार मिथिलामा बनाउने बुट्टाहरू सीमित छन् र ती सबै प्रतीकात्मक छन् । कुनैले पानीको, कुनैले हावाको त, कुनैले योनिको संकेत दिइरहेका हुन्छन् । प्रत्येक रेखाहरूको भिन्नै अर्थ हुन्छ । अहिले पाइने मिथिला पेन्टिङका बुट्टाहरू मिथिलाका नभएको कला अनुसन्धाता, समीक्षक एवं कलाकार मुकेश मल्ल पनि दाबी गर्छन् ।
‘मिथिला शैली बंगालीहरूको पाल शैली, भारतका राजस्थानी शैली र मुगल शैलीसित मिल्दैनथ्यो । तर अहिले मिसिन थालेपछि सबै उस्तै देखिन थालेका छन्,’ उनले भने, ‘डेकोरेटिभ (शृंगारिक) बनाउने भन्दै मिथिला कलामा मुगल, राजस्थानी लगायत अन्यत्रका पनि बुट्टाहरू थपिँदै गएको छ, जुन मिथिलाको बुट्टा हैन । अहिले मानिसले अरुको हेर्‍यो, अनि त्यस्तै थपिदियो ।’
भारत र बंगलादेशमा विभिन्न शैली भनेरै किटान गरिएका छन् । तर नेपालमा भिन्नै मिथिला शैली भनेर किटान नगरिएकोले यस्तो समस्या आएको उल्लेख गर्दै उनले थपे, ‘मिथिला कलामा गर्ने के हो त्यतातिर जोड छैन, बिक्ने के हो त्यतातिर जोड दिइएको छ । नेटमा देखेजति र किन्नेको चाहनाअनुसार मिथिला कला परिवर्तन भइरहेको छ ।’
अनेक थरी रंग
परम्परागत रूपमा एउटै रंगको प्रयोग गरेर ठूलो मिथिला चित्र बनाइन्थ्यो । तराईमा सेतो रंगबाट आँगनमा अरिपन चित्र बनाइन्थ्यो, रातो रंगबाट विवाह वा शुभकार्यको चित्र ।
शुभकार्यमा प्रयोग गरिने भएकोले त्यस्ता चित्रमा कालो रंग लगाउनुहुन्न भन्ने मान्यता तराई क्षेत्रमा थियो । तर पछिल्लो समय कोहबर चित्र कालो रंगमा मात्रै नभई विभिन्न रंगीविरगी भएर सजिन थालेको छ । मुकेशका अनुसार पहिले यस्ता बजारिया र केमिकलयुक्त रंगले बन्दैनथे ।
जति पनि रंग पाइन्थ्यो, त्यो वातावरणमा पाइने माटो खनेर बनाइन्थ्यो, ती रंग सीमित थिए । सेतो, रातो र पहेँलो माटोकै विभिन्न रंगको सम्मिश्रणबाट कला बन्थ्यो । भिन्न रंगका लागि उक्त माटोलाई पोलिन्थ्यो । कतिपय अवस्थामा गेडागुडीहरूसमेत प्रयोग गरेर कलागर्न थाल्यो ।
तराईका गाउँमा अहिले पनि यस्ता चित्रको अंश बाँकी छ । तर सहरमा मिथिला पेन्टिङको स्वरूप भिन्नै भेटिन्छ । प्रकृतिमा पाइने गाढा रातो नभई किन्नेले फिक्का, कोमल रंगको माग गर्‍यो भन्दै कलाकारहरूले फरक रंगहरू प्रयोग गर्न थालेको मुकेशले आरोप पनि लगाए । ‘अहिले किसिम किसिमका मिथिला कला आयो । मिथिला कला भन्नै नमिल्ने । मिथिला कलामा आधुनिक चेतना र व्यावसायिकता एकै पटक भित्रिनुले यस्तो भएको हुन सक्छ ।’
मिथिलाको भित्री कुरा
दुई वर्षदेखि मिथिला कलाबारे पुस्तक लेख्दै छन्, मुकेश । उनका अनुसार मिथिला कलाको इतिहास लामो भेटिँदैन । सन् १९३४ मा भारतमा भूकम्प आएपछि बेलायती अध्येता विलियमले भारतको मधुवनीमा भिन्नै किसिमको चित्र देखे र त्यसलाई मधुवनी आर्टको रूपमा विश्वमा चिनाउन थाले ।
तर नेपालको इतिहास पल्टाउँदा सन् १९९० तिर एनजीओ खोलेपछि मात्रै आयआर्जनको स्रोत हुन्छ भनेर मिथिला कला गर्न थालेको इतिहास उनले भेट्टाएका छन् । ‘मिथिला कला भनेर धेरै पहिलेदेखि गर्दै आए पनि यसबारे धेरै लामो इतिहास मैले भेट्टाइनँ, कतै पनि मिथिला शब्द उल्लेख पनि छैन,’ उनले भने ।
किम्वदन्ती मान्ने हो भने, राम–सीता विवाहका बेलामा जनकपुरमा सर्वसाधारणलाई चित्र बनाउन भनेपछि यो चित्र सुरु भएको पाइने मुकेशको बुझाइ छ । अर्काे किम्वदन्तीअनुसार तराईको राज्य तिरहुतमा मुगलहरूले आक्रमण गरेपछि त्यहाँका रानी र राजकुमार भक्तपुरको मल्ल राजपरिवारसित मिल्न आए ।
त्यसैले दसौं शताब्दीतिर पौभा र मिनियचर आर्टमा मिथिलाको झल्को पाइन थालेको देखिन्छ । तर त्यति बेलाको साहित्यमा मिथिला भाषाको प्रयोग टड्कारो देखिए पनि कलाबारे कतै उल्लेख नभएको मुकेशको दाबी छ ।
विश्वभरि रहेका लोक कलाको क्यारेक्टर अर्थात् पात्रहरूको अनुहार र बनावट भने उस्तै देखिने मुकेशले जनाए । ‘पश्चिमा मुलुकमा पाइने लोक कला होस् या पूर्विमा, या अफ्रिकीमा, जताको भए पनि पात्रको अनुहारमा खासै फरक देखिँदैन, उस्तै प्रकृतिको लाग्छ । तर तीनमा लुगा, गहना, औजार लगायत कुराहरूले त्यसलाई फरक बनाएको हुन्छ,’ उनले भने । पहिले नै विश्वमा एकले अर्कालाई प्रभाव पारेको देखिने उनले बताए ।
यो भनाइमा श्यामसुन्दर पनि सहमत छन् । उनले पिकासोको कलालाई २०६२ पछि मात्रै चिनेका थिए । तर उनको २०५० को दशकदेखि गाउँको स्थानीयताअनुसार लाम्चो अण्डाकार आँखा बनाउने शैली पिकासोसित तुलना गरेर हेरिएको उनले बताए ।
उनले भने, ‘पश्चिमा मुलुक, युरोपतिर उनको पेन्टिङ हेरेर पिकासोजस्तै भनेर कमेन्ट आए । तर मैले आफ्नो गाउँको कुरा र शैली उतारेको थिएँ ।’ त्यसैले पहिलेको लोक कला केही केहीबाहेक सबैतिर उस्तैदेखिन्छ जस्तो श्यामसुन्दरलाई पनि लाग्छ ।
समुदायअनुसार फरक
अहिले मिथिला कला पनि विभाजन हुन थालेको श्यामसुन्दरको आरोप छ । उनका अनुसार मिथिला कुनै जात र भाषा नभई एक शैली हो । रामायण र मिथिला माहात्म्यमा लेखिएअनुसार मिथिला क्षेत्र उत्तर हिमालय, दक्षिण गंगा, पुर्व कौशिक र पश्चिम गण्डक हो ।
‘यही क्षेत्र भित्र थारू, मुस्लिम, दनुवार, अवधी, भोजपुरीजस्ता जातहरू बस्थे, त्यसैले जति जात छन्, त्यति नै शैलीको आवश्यकता पर्दैन,’ उनले भने, ‘कलालाई छुट्याउने शैलीको आधारमा हो । त्यसको बनावटीले छुट्याउँछ ।’
समुदायको रूपमा कला विभाजन नहुने र ठाउँ विशेषमा कलाको विश्लेषण गरिनुपर्नेमा उनले जोड दिए । ‘जात अनुसार छुट्याउन कलाहरू आधारहरू पर्याप्त भेटिँदैन,’ उनले भने । स्थापित कलाकारका चित्रकृति
छुट्टिने भए पनि अरुको हेर्‍यो भने उस्तैदेखिने भएकाले मिथिला कलालाई जातअनुसार विभाजन गरिरहन जरुरी नभएको उनले बताए ।
प्रकाशित : kantipur, पुस १३, २०७५ ०८:४२

दुई दशकदेखि सारंगी रेट्दै गाउँबस्ती

दुई दशकदेखि सारंगी रेट्दै गाउँबस्ती
माघ २९, २०७५रमेशचन्द्र अधिकारी
धनकुटा — कठ्यांग्रिँदो जाडोले सारंगीको तारमा औंला दौडाउन पनि सकस छ । तैपनि घरदैलोमा सारंगी रेट्दै वीरता, प्रेम रस, विरहजस्ता विभिन्न भाकाका गीत सुनाउँदै हिँड्नु उनीहरूको बाध्यता छ ।
गीत सुनाएर हिँड्दाहिँड्दै कयौंपटक भोकै बस्नु परेको पीडा त छँदैछ, घरजम गर्ने फुर्सदसमेत नभएका दुई गन्धर्व डेढ दशकदेखि सँगसँगै गाउँबस्ती पस्दै आएका छन् ।

भोजपुरको अरुण गाउँपालिकास्थित जरायोटारका ५७ वर्षीय कुलबहादुर गन्धर्वले सारंगी बजाउँदै गाउँबस्ती डुल्न थालेको चार दशक बढी भयो । गाएर पाएको पैसा तथा खाद्यान्नले जीविकोपार्जन गर्दै आएका उनी पुख्र्यौली पेसाका रूपमा गीत गायन रोजेको बताउँछन् । उनी स्वदेश र छिमेकी मुलुक भारतका कयौं स्थानमा पुगिसकेका छन् । यति बेला उनी धनकुटाका गाउँघर डुल्दै हिँडेका छन् । पहिले बाबुआमा र भाइबहिनी पाल्न सारंगी बजाउँदै गीत सुनाउन हिँडेका उनी पछिल्लो समय यसैमा भुल्न थालेको बताउँछन् ।

‘गीत गाउँदागाउँदै कपाल फुलिसके, अरू केही सोच्ने फुर्सद मिलेन’, उनले भने, ‘अरू त परैको कुरा भो, बिहे गर्ने नै फुर्सद भएन ।’ उनी झन्डै ६ दशक उमेर छिचोल्नै लाग्दा पनि अविवाहित छन् । यति बेला कसैले बिहे नगरेकोबारे चासो लिएमा अनौठो मान्दैनन् । सारंगीको तार खिप्दा र बिहानदेखि साँझसम्म गाएर हिँड्नु पर्दा कहिलेकाहीँ त भोकभोकै परिएको सुनाउँछन् । भोजपुरबाट ४० वर्ष पहिले बाबुआमासँगै झापाको केचनाकलन झरेका उनी दर्जनांै गीत सारंगी बजाएर सुनाउन खप्पिस छन् । सारंगी बजाउन बाबुबाट सिकेका हुन् । झापामा बाबुकै पालामा जंगल पँmडानी गरेर १६ कठ्ठा जग्गा जुटाए पनि गीत गाएर हिँड्दा आफूले कमाइ गर्न नभ्याएको उनले बताए ।
त्यसो त घरमा समेत ढुक्कले दुईचार दिन बसेको उनलाई सम्झना छैन । अढाई दशक एक्लै गाएर हिँडेका कुलबहादुरले विगत डेढ दशकदेखि मिठास स्वर भएका साइनोमा भाइ पर्ने ४३ वर्षीय बाबुराम गन्धर्वको साथ पाएका छन् । बाबुरामको पनि समान अनुभव छ ।

कुलबहादुरभन्दा उमेरले १४ वर्ष कान्छा उनी गायनमा निकै निपूर्ण छन् । कुनै व्यावसायिक गायकभन्दा कम छैन, उनको गायिकी । एकदशक सँगसँगै गायन यात्रामा रहेका बखत बाबुराम भने केही वर्ष भारततर्फ एक्लै गएपछि यी दुईको जोडी अगल थियो । तर पुन: पाँच वर्षदेखि दुईको गायन यात्रा जारी छ । पूर्वपश्चिमका अधिकांशजिल्ला र भारतको दार्जिलिङ, असाम, डिम्बापुर लगायतका गाउँबस्तीमा सारंगीसँगै भाका हाल्दै हिँडेको उनले बताए । बाबुराम पनि यो उमेरमा अविवाहित नै छन् । बिहे गर्ने सोच आए पनि साँच्दासाँच्दै समय बितेको पत्तै नभएको उनको भनाइ छ । ‘गाउने भएपछि धेरै समय गीत संगीततिरै ध्यान जाँदो रैछ’, उनले भने, ‘बिहे गर्ने फुर्सद मिलेन, फुर्सद मिलेमा हुन पनि सक्छ ।’

बाबु केशरबहादुरले सारंगी बनाउने र बजाउने गरेको देख्दा आफूले सिकेको बताए । दुवैले गीत गाएर घरदैलो गरेर मासिक औसत १० हजार आम्दानी हुने बताए । यी दुवैले मोबाइल फोन बोक्ने गरेका छैनन् । आफन्तबाट कहाँ पुग्यौ भन्दै सोधेर हैरान पार्ने गरेकाले मोबाइल फोन बोक्न छोडेको भनाइ छ । प्रकाशित : kantipur, माघ २९, २०७५ ०९:५७

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...