Monday, June 10, 2019

दुई दशकदेखि सारंगी रेट्दै गाउँबस्ती

दुई दशकदेखि सारंगी रेट्दै गाउँबस्ती
माघ २९, २०७५रमेशचन्द्र अधिकारी
धनकुटा — कठ्यांग्रिँदो जाडोले सारंगीको तारमा औंला दौडाउन पनि सकस छ । तैपनि घरदैलोमा सारंगी रेट्दै वीरता, प्रेम रस, विरहजस्ता विभिन्न भाकाका गीत सुनाउँदै हिँड्नु उनीहरूको बाध्यता छ ।
गीत सुनाएर हिँड्दाहिँड्दै कयौंपटक भोकै बस्नु परेको पीडा त छँदैछ, घरजम गर्ने फुर्सदसमेत नभएका दुई गन्धर्व डेढ दशकदेखि सँगसँगै गाउँबस्ती पस्दै आएका छन् ।

भोजपुरको अरुण गाउँपालिकास्थित जरायोटारका ५७ वर्षीय कुलबहादुर गन्धर्वले सारंगी बजाउँदै गाउँबस्ती डुल्न थालेको चार दशक बढी भयो । गाएर पाएको पैसा तथा खाद्यान्नले जीविकोपार्जन गर्दै आएका उनी पुख्र्यौली पेसाका रूपमा गीत गायन रोजेको बताउँछन् । उनी स्वदेश र छिमेकी मुलुक भारतका कयौं स्थानमा पुगिसकेका छन् । यति बेला उनी धनकुटाका गाउँघर डुल्दै हिँडेका छन् । पहिले बाबुआमा र भाइबहिनी पाल्न सारंगी बजाउँदै गीत सुनाउन हिँडेका उनी पछिल्लो समय यसैमा भुल्न थालेको बताउँछन् ।

‘गीत गाउँदागाउँदै कपाल फुलिसके, अरू केही सोच्ने फुर्सद मिलेन’, उनले भने, ‘अरू त परैको कुरा भो, बिहे गर्ने नै फुर्सद भएन ।’ उनी झन्डै ६ दशक उमेर छिचोल्नै लाग्दा पनि अविवाहित छन् । यति बेला कसैले बिहे नगरेकोबारे चासो लिएमा अनौठो मान्दैनन् । सारंगीको तार खिप्दा र बिहानदेखि साँझसम्म गाएर हिँड्नु पर्दा कहिलेकाहीँ त भोकभोकै परिएको सुनाउँछन् । भोजपुरबाट ४० वर्ष पहिले बाबुआमासँगै झापाको केचनाकलन झरेका उनी दर्जनांै गीत सारंगी बजाएर सुनाउन खप्पिस छन् । सारंगी बजाउन बाबुबाट सिकेका हुन् । झापामा बाबुकै पालामा जंगल पँmडानी गरेर १६ कठ्ठा जग्गा जुटाए पनि गीत गाएर हिँड्दा आफूले कमाइ गर्न नभ्याएको उनले बताए ।
त्यसो त घरमा समेत ढुक्कले दुईचार दिन बसेको उनलाई सम्झना छैन । अढाई दशक एक्लै गाएर हिँडेका कुलबहादुरले विगत डेढ दशकदेखि मिठास स्वर भएका साइनोमा भाइ पर्ने ४३ वर्षीय बाबुराम गन्धर्वको साथ पाएका छन् । बाबुरामको पनि समान अनुभव छ ।

कुलबहादुरभन्दा उमेरले १४ वर्ष कान्छा उनी गायनमा निकै निपूर्ण छन् । कुनै व्यावसायिक गायकभन्दा कम छैन, उनको गायिकी । एकदशक सँगसँगै गायन यात्रामा रहेका बखत बाबुराम भने केही वर्ष भारततर्फ एक्लै गएपछि यी दुईको जोडी अगल थियो । तर पुन: पाँच वर्षदेखि दुईको गायन यात्रा जारी छ । पूर्वपश्चिमका अधिकांशजिल्ला र भारतको दार्जिलिङ, असाम, डिम्बापुर लगायतका गाउँबस्तीमा सारंगीसँगै भाका हाल्दै हिँडेको उनले बताए । बाबुराम पनि यो उमेरमा अविवाहित नै छन् । बिहे गर्ने सोच आए पनि साँच्दासाँच्दै समय बितेको पत्तै नभएको उनको भनाइ छ । ‘गाउने भएपछि धेरै समय गीत संगीततिरै ध्यान जाँदो रैछ’, उनले भने, ‘बिहे गर्ने फुर्सद मिलेन, फुर्सद मिलेमा हुन पनि सक्छ ।’

बाबु केशरबहादुरले सारंगी बनाउने र बजाउने गरेको देख्दा आफूले सिकेको बताए । दुवैले गीत गाएर घरदैलो गरेर मासिक औसत १० हजार आम्दानी हुने बताए । यी दुवैले मोबाइल फोन बोक्ने गरेका छैनन् । आफन्तबाट कहाँ पुग्यौ भन्दै सोधेर हैरान पार्ने गरेकाले मोबाइल फोन बोक्न छोडेको भनाइ छ । प्रकाशित : kantipur, माघ २९, २०७५ ०९:५७

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...