Monday, June 10, 2019

रंग थप्दै मिथिला कला

रंग थप्दै मिथिला कला
मिथिला कलामा गर्ने के हो त्यतातिर जोड छैन, बिक्ने के हो त्यतातिर जोड दिइएको छ नेटमा देखेजति किन्नेको चाहनाअनुसार मिथिला कला परिवर्तन भइरहेको ।’
पुस १३, २०७५सुनीता साखकर्मी
काठमाडौँ — दुई ठूला गोलाकार आँखा, त्रिभुजाकार चुच्चो नाक र सीमित रंग । एक दशकअघि श्यामसुन्दर यादवले यस्तै चित्र बनाउन थालेपछि उनलाई ‘मिथिला चित्र बिगार्‍यो’ भन्ने आरोप लाग्यो ।
उनका चित्रमा भएकी महिलाको शिरमा न घुम्टो छ, न अण्डाकार ठूला आँखा, न त पहिरन नै झकिझकाउ । मिथिला चित्रमा घुम्टोभित्रबाट नियालिरहेको महिला आकृति मात्रै देखिरहेका
कला समीक्षक र पारखीलाई उनरको चित्र नौलो थियो ।
यस्तो फरक चित्र हेरेपछि कतिले श्यामसुन्दरले ‘मिथिला कलामा आधुनिकता ल्यायो’ समेत भने । तर उनका अनुसार, यो चित्र तराई भेगमा गोवर्धन पूजा, समाचकेवा लगायत विभिन्न पर्वहरूमा गाउँभरिका महिलाहरूले घरको भित्तामा बनाउने परम्परागत चित्र हो ।
‘मैले केमिकलयुक्त रंगहरूको माध्यमबाट क्यानभासमा चित्र उतारेँ । मैले अपनाएको विधिअनुसार यो आधुनिक चित्र नै हो,’ उनले भने, ‘तर यो चित्रको आत्मा परम्परागत नै हो । भित्तामा बनाइने चित्र क्यानभासमा नयाँ प्रविधिको प्रयोग गर्दै उतारेको मात्रै हुँ ।’
उनका अनुसार, गाउँमा अहिले पनि यस्तै मिथिला चित्र बन्छ, तर सहरमा पाइने र देखिने मिथिला चित्र भिन्नै छ । अचेल मिथिला चित्रको आकृतिमा आँखा फरक हुन थालेको छ । घरका भित्ताबाट क्यानभासमा आकृति सरेपछि परिवर्तनहरू आएको उनको दाबी छ ।
मिथिला क्षेत्रमा मानिसको आँखा बनाउने शैली एकै किसिमको छैन । लाम्चो आँखा त भयो नै, त्योसँगै कागजमा मिथिला चित्र कोर्ने चलन सुरु गरेका माली जातिले घरको कुलदेवता पूजा गर्दा छोपिने ‘झाँप’ मा देवीको आँखा भिन्नै बनाउँछन् । त्यसमा देवीसँगै जनावरको चित्र हुन्छ । मुछेको माटोलाई भित्तामा टाँस्दै गर्ने थ्रीडी शैलीको मुडन पनि अहिले नौलो लाग्ने उनले बताए ।
‘अहिले मैले त्यस्तै आँखा र शैली बनाएर चित्र कोरेँ भने त्यसलाई पनि आधुनिक चित्र बनायो भनेर भन्छन्,’ उनले भने, ‘खासमा मिथिला कलाको विविधता बाहिर आउन सकेको छैन ।’ भित्तामा माटोको टेक्स्चर गर्ने शैलीलाई शशी शाहको पेन्टिङमा देखेर उनीबाटै आधुनिक रंगको माध्यमबाट क्यानभासमा उतार्न सिकेको श्यामसुन्दरले बताए ।
बहुरेखाको प्रयोग
मिथिला चित्रलाई रेखा चित्र पनि भनिन्छ । फाइन आर्टमा लाइट र सेडले आकृति छुट्याइन्छ, तर मिथिला कलामा रेखाले नै आकृति छुट्याउँछ । चित्रकार श्यामसुन्दरका अनुसार ओरिजिनल मिथिला आर्ट बनाउने हो भने, त्यो एकै लाइनमा पनि बन्न सक्छ ।
चित्र बनाउँदै गरेको हात न झिक्नुपर्छ, न लाइन दोहोराइन्छ । हातलाई घुमाउँदै पुरै चित्र एकै लाइनमा बनाउनुपर्ने हुन्छ । अहिले पनि तराईमा भूमिकलाअन्तर्गत अरिपन बनाउँदा यसै गर्छन् । ‘हिमालबाट खसेको पानी खोलामा जसरी अटुट बग्दै समुद्रसम्म एकै लाइनमा आइपुग्छ, त्यसरी नै एक बिन्दुबाट सुरु गरेर हात नछोडी अन्तिमसम्म निरन्तर चलाएर आकृति बनाइन्थ्यो पहिले,’ उनले भने, ‘अहिले बदलियो । बहुरेखाको चलन आयो ।’
मिथिलामा रेखाहरूको महत्त्व कुनै मानिस वा जनावर, वस्तुको फिगर छुट्याउनमा छ । तर पछिल्लो समय रेखाको परिभाषा बदलिएको छ । अहिले पाइने मिथिला चित्रमा रेखाको अर्थ धेरै रेखा कोर्नुजस्तै बनिसकेको देखिन्छ ।
श्यामसुन्दरका अनुसार मिथिलामा दुई थरीको चित्र बन्छ, भर्नी (रंग भरेर) र कचिनी (काटेर) । नेपालको तराईमा बनाइने मैथिली चित्रमा रंग भरेर बनाउने चलन छ भने भारतको मधुवनीमा कचिनी (काट्ने) छ । भर्नीमा हातैले रंग फिजाएर भरिन्छ भने कचिनीमा पात, शरीर, रुख जे भएनि त्यसमा काटेर धेरै रेखाहरू देखिनेबनाइन्छ । अहिले दुवै शैली मिसिएपछि धेरै रेखाहरू बनाउने चलन सुरु भएको श्यामसुन्दर बताउँछन् ।
ठमेलमा मिथिला यें ग्यालरी चलाउँदै आएका श्यामसुन्दरका अनुसार मिथिलामा बनाउने बुट्टाहरू सीमित छन् र ती सबै प्रतीकात्मक छन् । कुनैले पानीको, कुनैले हावाको त, कुनैले योनिको संकेत दिइरहेका हुन्छन् । प्रत्येक रेखाहरूको भिन्नै अर्थ हुन्छ । अहिले पाइने मिथिला पेन्टिङका बुट्टाहरू मिथिलाका नभएको कला अनुसन्धाता, समीक्षक एवं कलाकार मुकेश मल्ल पनि दाबी गर्छन् ।
‘मिथिला शैली बंगालीहरूको पाल शैली, भारतका राजस्थानी शैली र मुगल शैलीसित मिल्दैनथ्यो । तर अहिले मिसिन थालेपछि सबै उस्तै देखिन थालेका छन्,’ उनले भने, ‘डेकोरेटिभ (शृंगारिक) बनाउने भन्दै मिथिला कलामा मुगल, राजस्थानी लगायत अन्यत्रका पनि बुट्टाहरू थपिँदै गएको छ, जुन मिथिलाको बुट्टा हैन । अहिले मानिसले अरुको हेर्‍यो, अनि त्यस्तै थपिदियो ।’
भारत र बंगलादेशमा विभिन्न शैली भनेरै किटान गरिएका छन् । तर नेपालमा भिन्नै मिथिला शैली भनेर किटान नगरिएकोले यस्तो समस्या आएको उल्लेख गर्दै उनले थपे, ‘मिथिला कलामा गर्ने के हो त्यतातिर जोड छैन, बिक्ने के हो त्यतातिर जोड दिइएको छ । नेटमा देखेजति र किन्नेको चाहनाअनुसार मिथिला कला परिवर्तन भइरहेको छ ।’
अनेक थरी रंग
परम्परागत रूपमा एउटै रंगको प्रयोग गरेर ठूलो मिथिला चित्र बनाइन्थ्यो । तराईमा सेतो रंगबाट आँगनमा अरिपन चित्र बनाइन्थ्यो, रातो रंगबाट विवाह वा शुभकार्यको चित्र ।
शुभकार्यमा प्रयोग गरिने भएकोले त्यस्ता चित्रमा कालो रंग लगाउनुहुन्न भन्ने मान्यता तराई क्षेत्रमा थियो । तर पछिल्लो समय कोहबर चित्र कालो रंगमा मात्रै नभई विभिन्न रंगीविरगी भएर सजिन थालेको छ । मुकेशका अनुसार पहिले यस्ता बजारिया र केमिकलयुक्त रंगले बन्दैनथे ।
जति पनि रंग पाइन्थ्यो, त्यो वातावरणमा पाइने माटो खनेर बनाइन्थ्यो, ती रंग सीमित थिए । सेतो, रातो र पहेँलो माटोकै विभिन्न रंगको सम्मिश्रणबाट कला बन्थ्यो । भिन्न रंगका लागि उक्त माटोलाई पोलिन्थ्यो । कतिपय अवस्थामा गेडागुडीहरूसमेत प्रयोग गरेर कलागर्न थाल्यो ।
तराईका गाउँमा अहिले पनि यस्ता चित्रको अंश बाँकी छ । तर सहरमा मिथिला पेन्टिङको स्वरूप भिन्नै भेटिन्छ । प्रकृतिमा पाइने गाढा रातो नभई किन्नेले फिक्का, कोमल रंगको माग गर्‍यो भन्दै कलाकारहरूले फरक रंगहरू प्रयोग गर्न थालेको मुकेशले आरोप पनि लगाए । ‘अहिले किसिम किसिमका मिथिला कला आयो । मिथिला कला भन्नै नमिल्ने । मिथिला कलामा आधुनिक चेतना र व्यावसायिकता एकै पटक भित्रिनुले यस्तो भएको हुन सक्छ ।’
मिथिलाको भित्री कुरा
दुई वर्षदेखि मिथिला कलाबारे पुस्तक लेख्दै छन्, मुकेश । उनका अनुसार मिथिला कलाको इतिहास लामो भेटिँदैन । सन् १९३४ मा भारतमा भूकम्प आएपछि बेलायती अध्येता विलियमले भारतको मधुवनीमा भिन्नै किसिमको चित्र देखे र त्यसलाई मधुवनी आर्टको रूपमा विश्वमा चिनाउन थाले ।
तर नेपालको इतिहास पल्टाउँदा सन् १९९० तिर एनजीओ खोलेपछि मात्रै आयआर्जनको स्रोत हुन्छ भनेर मिथिला कला गर्न थालेको इतिहास उनले भेट्टाएका छन् । ‘मिथिला कला भनेर धेरै पहिलेदेखि गर्दै आए पनि यसबारे धेरै लामो इतिहास मैले भेट्टाइनँ, कतै पनि मिथिला शब्द उल्लेख पनि छैन,’ उनले भने ।
किम्वदन्ती मान्ने हो भने, राम–सीता विवाहका बेलामा जनकपुरमा सर्वसाधारणलाई चित्र बनाउन भनेपछि यो चित्र सुरु भएको पाइने मुकेशको बुझाइ छ । अर्काे किम्वदन्तीअनुसार तराईको राज्य तिरहुतमा मुगलहरूले आक्रमण गरेपछि त्यहाँका रानी र राजकुमार भक्तपुरको मल्ल राजपरिवारसित मिल्न आए ।
त्यसैले दसौं शताब्दीतिर पौभा र मिनियचर आर्टमा मिथिलाको झल्को पाइन थालेको देखिन्छ । तर त्यति बेलाको साहित्यमा मिथिला भाषाको प्रयोग टड्कारो देखिए पनि कलाबारे कतै उल्लेख नभएको मुकेशको दाबी छ ।
विश्वभरि रहेका लोक कलाको क्यारेक्टर अर्थात् पात्रहरूको अनुहार र बनावट भने उस्तै देखिने मुकेशले जनाए । ‘पश्चिमा मुलुकमा पाइने लोक कला होस् या पूर्विमा, या अफ्रिकीमा, जताको भए पनि पात्रको अनुहारमा खासै फरक देखिँदैन, उस्तै प्रकृतिको लाग्छ । तर तीनमा लुगा, गहना, औजार लगायत कुराहरूले त्यसलाई फरक बनाएको हुन्छ,’ उनले भने । पहिले नै विश्वमा एकले अर्कालाई प्रभाव पारेको देखिने उनले बताए ।
यो भनाइमा श्यामसुन्दर पनि सहमत छन् । उनले पिकासोको कलालाई २०६२ पछि मात्रै चिनेका थिए । तर उनको २०५० को दशकदेखि गाउँको स्थानीयताअनुसार लाम्चो अण्डाकार आँखा बनाउने शैली पिकासोसित तुलना गरेर हेरिएको उनले बताए ।
उनले भने, ‘पश्चिमा मुलुक, युरोपतिर उनको पेन्टिङ हेरेर पिकासोजस्तै भनेर कमेन्ट आए । तर मैले आफ्नो गाउँको कुरा र शैली उतारेको थिएँ ।’ त्यसैले पहिलेको लोक कला केही केहीबाहेक सबैतिर उस्तैदेखिन्छ जस्तो श्यामसुन्दरलाई पनि लाग्छ ।
समुदायअनुसार फरक
अहिले मिथिला कला पनि विभाजन हुन थालेको श्यामसुन्दरको आरोप छ । उनका अनुसार मिथिला कुनै जात र भाषा नभई एक शैली हो । रामायण र मिथिला माहात्म्यमा लेखिएअनुसार मिथिला क्षेत्र उत्तर हिमालय, दक्षिण गंगा, पुर्व कौशिक र पश्चिम गण्डक हो ।
‘यही क्षेत्र भित्र थारू, मुस्लिम, दनुवार, अवधी, भोजपुरीजस्ता जातहरू बस्थे, त्यसैले जति जात छन्, त्यति नै शैलीको आवश्यकता पर्दैन,’ उनले भने, ‘कलालाई छुट्याउने शैलीको आधारमा हो । त्यसको बनावटीले छुट्याउँछ ।’
समुदायको रूपमा कला विभाजन नहुने र ठाउँ विशेषमा कलाको विश्लेषण गरिनुपर्नेमा उनले जोड दिए । ‘जात अनुसार छुट्याउन कलाहरू आधारहरू पर्याप्त भेटिँदैन,’ उनले भने । स्थापित कलाकारका चित्रकृति
छुट्टिने भए पनि अरुको हेर्‍यो भने उस्तैदेखिने भएकाले मिथिला कलालाई जातअनुसार विभाजन गरिरहन जरुरी नभएको उनले बताए ।
प्रकाशित : kantipur, पुस १३, २०७५ ०८:४२

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...