Thursday, June 13, 2019

अझै १४ तुइन

अझै १४ तुइन
चैत्र १८, २०७५कान्तिपुर संवाददाता
काठमाडौं/गोरखा — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा २ वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै ओलीले गरेको पहिलो निर्णय थियो यो । आर्थिक वर्ष २०७२/७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो ।
तीन वर्ष बित्यो, तुइन भने अझै विस्थापन भइसकेको छैन । केही जिल्लाका विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर नदी वारपार गर्नुपर्ने बाध्यता छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय ३० तुइनमध्ये १ सय १६ वटा विस्थापन भएका छन् । अझै १४ वटा तुइन विस्थापन हुन बाँकी छ । तुइन भएका धेरै ठाउँमा झोलुंगे पुल निर्माण भइरहेका छन् । कतै निर्माण जारी छ । कतै ठेकेदारको ढिलाइले काम रोकिएको छ । विस्थापन हुन बाँकी रहेका ठाउँमा पनि पुल निर्माणका लागि डीपीआर भने बनिसकेको छ ।
‘तुइन बाँकी भएका ठाउँमा यही वर्षभित्र विस्थापन गर्ने लक्ष्य छ,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘डीपीआर तयार भइसकेको छ, तुइन भएका ठाउँमा आवश्यकताका आधारमा झोलुंगे पुल निर्माण गरिनेछ ।’ उनका अनुसार एकसाथ ७ सयवटा झोलुंगे पुलको डीपीआर बनेको छ । ‘तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माणका लागि काम भइरहेको छ,’ उनले भने, ‘यस आर्थिक वर्षभित्र सबै पुल निर्माण सक्ने लक्ष्य हो । नसकिए अर्को वर्ष सकिन्छ ।’
भारतसँग सीमा जोडिएको दार्चुलामा तुइन विस्थापन गर्न समस्या देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार प्रधानमन्त्री ओलीको पहिलो कार्यकालबाटै तुइन हटाउने अभियान सुरु गरिएको हो । ‘प्रधानमन्त्रीले मुलुकभरबाटै तुइन विस्थापन गर्न निर्देशन दिनुभएको हो, आवश्यकताका आधारमा पुल निर्माण गर्ने, थप बनाउनुपरे बनाउने कुरा भएको हो,’ उनले भने, ‘यसमा उहाँको विशेष चासो छ ।’
दार्चुलामा बढी समस्या छ । ‘भारत र नेपालको समझदारीमा काम गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हुन सक्छ,’ उनले भने । भौगोलिक विकटताले समस्या थपेको उनले बताए । ‘देशभर तुइन विस्थापनको अन्तिम चरणमा छौं,’ उनले भने, ‘तुइनको समस्या धेरै रहँदैन ।’ मन्त्रालयका अनुसार यो वर्ष ४ सय १७ झोलुंगे पुल बनेका छन् ।
स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका अनुसार देशभर १ सय ८७ वटा तुइन रहेकामा १४ वटा मात्र बांँकी छन् । विभागका अनुसार दार्चुलामा पहिला समस्या थियो । बुधबार मात्र भारत सरकारसँग पुल निर्माण गर्न सहमति भएको छ । दार्चुलामा ५ वटा तुइन छन् । त्यस्तै धादिङ र गोरखा जोड्ने १, चितवन र गोरखा जोड्ने १, नवलपरासीमा १, सुर्खेतमा ३, डोटी १ र बझाङमा २ वटा तुइन विस्थापन गर्न बाँकी छ ।
पुल बनेन
गोरखाको गण्डकी गाउँपालिका(८, घ्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौँदी जोड्न ०७३ मंसिर २६ गतेबाट त्रिशूली नदीमाथि झोलुंगे पुल निर्माण थालिएको हो । अझै पूरा भएको छैन । ०७४ असोज १५ गतेभित्र निर्माण सक्ने गरी नयाँ बाटो मना कन्स्ट्रक्सन जेभीले जिम्मा लिएको थियो । सम्झौता अवधि सकिइसकेको छ । छिटो पुल निर्माणका लागि ताकेता गरे पनि ठेकेदारले ढिलाइ गरेको घ्याल्चोकका स्थानीय झवीन्द्र रानामगरले बताए । तरकारी र दैनिक उपभोग्य सामग्री राखेर तुइनको कोर्के बाहिरै खुट्टा झुन्ड्याउँदै स्थानीय आउजाउ गर्न बाध्य छन् ।
‘तुइनबाट वारपार गर्न गाह्रो भएको छ,’ उनले भने, ‘चरौँदी बजारको सहकारीमा तरकारी बेच्न लान्छौँ, अर्को बाटो जाँदा घुमाउरो पर्छ । तुइन नचढी सुखै छैन ।’ १ सय ९९ मिटरको दूरी तुइनको सहाराले घ्याल्चोकतर्फबाट चरौँदी जाँदा पाँच मिनेटमा पुगिन्छ । फर्कंदा आधा घण्टा लाग्छ । ‘ढिलै भए पनि पुल निर्माणका लागि सामान झरेको छ,’ मगरले भने, ‘दुई(चार दिनयता निर्माण फेरि रोकिएको छ, ठेकेदारले पैसा नदिएपछि कामदार आउन छाडेका छन् ।’
गण्डकी गाउँपालिका(८, घ्याल्चोकअन्तर्गतको बेनीगाउँ, तोरीस्वाँरा, तेर्सेलगायत गाउँका करिब ५ सय स्थानीयले तरकारी बिक्री तथा आउजाउका लागि उक्त तुइन प्रयोग गरेका छन् । ०६७ सालबाट उक्त तुइन सञ्चालनमा ल्याइएको हो । सहिद लखन गाउँपालिका(४, ताक्लुङस्थित ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका(४, कुरिनटार जोड्ने तुइन विस्थापन गर्न झोलुंगे पुल निर्माणाधीन छ । उक्त पुल निर्माणको जिम्मा पनि नयाँबाटो मना कन्स्ट्रक्सन जेभीले पाएको छ । ०७४ असोज १५ मै निर्माण सम्पन्न गर्ने भन्दै ०७३ मंसिर २६ गते सम्झौता गरेको ठेकेदार कम्पनीले सम्झौता अवधि सकिँदासम्म काम सम्पन्न गर्न सकेको छैन ।
सार्वजनिक तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गर्ने कार्यक्रमअन्तर्गत यहाँको ६ वटा तुइन विस्थापित भएको छ । ताकुकोट र श्रीनाथकोट जोड्ने दरौंदीमाथिका दुईवटा, भुम्लीचोक र चितवनको दारेचोकको हिवलिङस्थित त्रिशूली नदीको एउटा, मनकामना र आँबुखैरेनी जोड्ने भुवानी टारस्थित मर्स्याङी नदीमाथिको एउटा, धादिङ र भुम्लीचोक जोड्ने हिक्लुङस्थित त्रिशूली नदीमाथिको र हंसपुर तथा लमजुङको बिचौर जोड्ने चेपे खोलामाथिको तुइन विस्थापन भइसकेका छन् ।
प्रकाशित : चैत्र १८, २०७५ १३:५९

जात्रामय पशुपति

जात्रामय पशुपति
चैत्र २०, २०७५प्रशान्त माली
काठमाडौँ — पशुपति देवपक्तनबासीका लागि चैतकृष्ण द्वादशी खुसीको दिन हो  । यो दिन घण्टाकर्ण राक्षसको त्रासबाट मुत्ति मिलेको मानिन्छ  ।
पशुपति देवपक्तनबासीका लागि चैतकृष्ण द्वादशी खुसीको दिन हो । यो दिन घण्टाकर्ण राक्षसको त्रासबाट मुत्ति मिलेको मानिन्छ । यही दिनको स्मृतिस्वरूप यहाँका मानिसले प्रत्येक वर्ष पशुपति क्षेत्रस्थित बज्रेश्वरी पीठमा तान्त्रिक विधि आधारित ‘देशोद्वार जात्रा’ मनाउँदै आएका छन् मंगलबार पशुपतिनाथका गुरु मानिने दक्षिणमूर्ति मन्दिरका पुजारी चण्डिकानन्द राजोपाध्यायको नेतृत्वमा विभिन्न समुदायले यो जात्रा मनाए ।
जात्रासम्बन्धी जानकार सुवर्ण वैद्यका अनुसार राक्षस घण्टाकर्ण पशुपतिनाथका भक्त थिए । ‘तर, स्थानीयको प्रार्थनाअनुसार पिंगाल माँ (बज्रेश्वरी) ले राक्षसको क्रासबाट मुत्त दिलाए,’ उनले भने, ‘यसको खुसियालीमा मुलुकभर शान्तिको कामना गर्दै प्रत्येक वर्ष यो जात्रा मनाउन थालेको हो ।’ जात्रामा प्रत्येक समुदायले छुट्टाछुट्टै बलिसहितको पूजा गरे । यसका लागि आमलकोट कचहरी (पुरानो अड्डा) स्थित डबलीबाट बाजागाजा लवालस्करसहित पीठमा प्रस्थान गरेका थिए । मंगलबारबाट सुरु भएको जात्रा ६ दिन मनाउने गरिन्छ ।
राजधानीका नेवार समुदायले मनाउने पाहाँ चह्रे (पिसाच चतुर्दशी) भने बिहीबार मनाइँदै छ । चैत्र कृष्ण औंसीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्यः (लुकिराखेको महादेव) बाहिर निकाली पूजा गर्ने प्रचलन छ । यस क्रममा हनुमान ढोका दरबार क्षेत्रस्थित तलेजु मन्दिरमा त्रिबलिसहितको तान्त्रिक पूजा गरिन्छ, जसमा ४२ जना पुजारी सहभागी हुन्छन् । मानन्धर समुदायले पनि तलेजु मन्दिरमा अखण्ड दीप बाल्ने गर्छ ।
जात्राको अवसरमा पशुपति क्षेत्रमा पशुफतिनाथ र वत्सलेश्वरीको संयुक्त मूर्ति (शिवशत्ति) को पनि रथयात्रा गरिन्छ । वैद्यका अनुसार देवपत्तन क्षेत्रको जात्राको अर्को विशेषता स्याल कराउनु हो । बिहान दुर्लभ स्यालको सिङमा जाँड भरेर ‘छ्याहाकेगु’ नामक पूजा गर्ने गरिन्छ । यस क्रममा एक जनालाई स्याल कराउन लगाइने वैद्यले बताए ।
सिंह हेर्न जात्रामा भीडभाड हुने गरेको अमालकोट कचहरीका द्वारे पूर्ण डंगोलले बताए । बुधबार पशुपति आर्यघाटको किनारस्थित वत्सलेश्वरी मन्दिरमा देशोद्वार पूजा गरिन्छ । वत्सलेश्वरी देवी महादेवका कान्छी श्रीमती हुन् । यही अवसरमा विवाह भइसकेका चेलीबेटी, आफन्त साथीभाइलाई ३२ टोलका ज्यापू समुदायले मरजाः (तान्त्रिक विधिपूर्वक पकाइएको भात) खुवाउने गरिन्छ ।
त्यसैगरी, यही चाड मनाउन ललितपुरका भीमसेन गुठीयारले पनि तयारी थालेको छ । चाडको अवसरमा पाटनमा मल्लकालीन राजदरबारबाट एकल घोडा बालकुमारीमा दौडाउन चलन छ । यसका लागि सिंहदरबार तबेलामा घोडा उपलब्ध गराउन जानकारी गराइसकेको भीमसेन गुठीले जनाएको छ ।
सिंहदरबारबाट ल्याइएको घोडा बालकुमारीतर्फ लैजाँदा त्यसको पछिपछि मल्लकालीन राजकीय खड्ग पनि झल्लरवाला छत्रले ओढाएर लैजानुपर्ने परम्परा छ । गुठियारले फलैंचा (पाटी) मा पुर्‍याइने पाटनका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग, घोडा र घोडचढीलाई भीमसेन मन्दिरबाट ल्याइएको फूलमाला पहिर्‍याएर स्वागत गर्ने गरिन्छ । नेपाल भाषामा फलैंचालाई घोडालाई स्याहारसुसार र तालिम दिने सिद्धिनरसिंह मल्ल र उनकी पत्नी हेमन्तसिंह मल्ल तथा तिनका छोराको प्रतिमा रहेको पाटी भन्ने बुझिन्छ ।
भीमसेन मन्दिरका पुजारी रवि दर्शनधारीका अनुसार ‘बालकुमारीमा अहिले खुला मैदान छैन । पहिला घोडालाई मन्दिरसँगै ठड्याएको लिंगो र भोलु गणेशको तीन पटक परिक्रमा गराइन्थ्यो ।’ प्राचीनकालमा त्यहाँ मैदान रहेको पाटनको घोडेजात्राको सम्बन्धमा पुरातत्त्वबाट प्रकाशित भाषा वंशावलीमा ‘संवत् ८०० फागुन कृष्ण औंसीका दिनदेखि देशको पूर्वतर्फ मैदान बढाइ घोडा जात्रा चलाया’ भनी उल्लेख छ । पाटनमा घोडेजात्रा त्यहाका तत्कालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि महर्जनहरूले चलाउँदै आएको किम्वदन्ती छ ।
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७५ ०९:५०

बुढेसकालमा माइती

बुढेसकालमा माइती
चैत्र २०, २०७५भवानी भट्ट
कञ्चनपुर — 'चैत महिना दादा, चैत महिनाभेट्न आए दादा तेरी बैना  । ’डोटेली गायक महेशकुमार आउजी र राधिका हमालको स्वरमा रहेको सुदूरपश्चिमेली यो गीतले मनोरञ्जन मात्रै दिँदैन  ।
२०६० तिरको यो गीतले सुदूरपश्चिमको संस्कति र परम्परालाई समेत समेटेको छ । दाजुभाइले आफ्ना दिदीबिहिनीलाई चैतको महिना भेट्न जाने सुदूरपश्चिमको ‘चैतालो भैटौलो’ परम्परालाई यो गीतले झल्काउँछ । आइतबार महाकाली साहित्य संगमले महेन्द्रनगरमा आयोजना गरेको चैतालो भेटौलो कार्यक्रममा उल्टाखामकी सीता पुजाराले उक्त गीत गाउँदा कार्यक्रमका सहभागी सबै नाच्न झुम्मिए । दिदीबहिनी, दाजुभाइ सबैका कुरा समेटिएको गीतमा हुड्केली गाउने र नाच्नेसमेत रमाए ।
चैतको महिना । सुक्खा यामको सुरुवात । वन जंगलमा बास्ने कोइली र न्याउलीले झनै उदास बनाउँछन् । विवाह भएका छोरी बहिनीहरू माइती भेट्न आउने आशमा बसेका हुन्छन् । दाजुभाइ नहुनेहरू निराश हुन्छन् ।
त्यसकै प्रतिविम्ब आउजीको गीत हो । सुदूरपश्चिममा चैतालो भेटौलोलाई एउटा प्रमुख पर्वका रूपमा मानिन्छ । विभिन्न जिल्लामा माघमा भेटने चलन भए पनि प्रायःले चैतमै दिदीबहिनी भेट्न जान्छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा घरघरै पुगेर चैतोली हुड्केलो गाउने चलन पनि छ । साहित्य संगमको कार्यक्रममा पनि चैतालो हुड्को गाउनेसँगै दाइभाइ नभएका टुहुरा दिदीबहिनीहरूलाई कोसेलीसहित भैटौलो प्रदान गरियो ।
दाजुभाइ नभएका ६ जना दिदीबहिनीलाई कोसेली प्रदान गरियो । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी ७० वर्षीया पुष्पा भट्टका माइतीबाट चैतालो भेटौलो नआएको २६ वर्ष भयो । बुवा सानो छदै बिते । आमा पनि २०४९ मा मृत्यु भएपछि भेट्न कोही आएनन् । ४ बहिनीमध्ये पुष्पा जेठी हुन् ।
उनले नै आफूभन्दा कान्छी बहिनीहरूलाई भेट्ने गर्छिन् । तर उनलाई भेट्न कोही आउँदैन । ‘आज २६ वर्षपछि मैले माइती र भाइ भेटे,’ आइतबार महाकाली साहित्य संगमले चैतालो भेटौलो प्रदान गरेपछि खुसी हुँदै पुष्पाले भनिन्, ‘दाइभाइ नहुँदाको पीडा मैले महसुस गरेकी छु, चैतमा भेट्न मात्रै होइन, भाइटीकाका बेला पनि मन उदास हुन्छ ।’
बुढेसकालमा महाकाली साहित्य संगमले बहिनी मानेर भेटेकोमा उनी निकै खुसी छिन् । थारू समुदायमा चैतालो भेटौला चलन छैन । संगमले गीता चौधरीलाई पनि चैतालो भेटौलो प्रदान गरेपछि उनीपनि खुसी छिन् । भारतबाट भागी विवाह गरेकी उनको माइतीसँग कुनै सम्पर्क छैन । अब त माइतीमा कोको छन् भन्ने पनि उनलाई थाहा छैन । ‘नयाँ चलन थाहा पाए, माइती पनि भेट्टाएँ,’ उनले भनिन्, ‘वर्षौंअघि माइती घर छाड्दाको पीडा अहिले सम्झेँ ।’
संगमले समावेशी रूपमा दाजुभाइ नभएका जनजाति, दलित र एकल महिलालाई छानेर चैतको कोसेली प्रदान गरेको हो । भट्ट र चौधरीसँगै शौका समुदायकी मञ्जु लामा, उष लुहार, गोमती बोहोरा र गीता आउजीलाई चैतालौ भेटौलो प्रदान गरेको हो । छोरी बहिनीलाई भेट्न जाँदा पकवान, फलफूल र कपडा लैजाने चलन छ । पहाडतिर सुक्खा याममा खाद्यान्नकोसमेत अभाव हुन्छ ।
त्यही बेला छोरीबहिनी के खाने हो भन्ने मनसायले केही दिनका लागि भए पनि पकवान र फलफूलसहित भेट्न जाने चलन सुरु गरिएको हो । हुड्को गाउँनेहरू मोहन आउजी, चिना नेपाली र गीता आउजीले चैतालो भेटौलोको संस्कार बोकेको कत्युवंशी राजा भानादेउ र गोरीधानाको कथा गाए । कथाअनुसार १३ शताब्दीमा राजा भानादेउकी छोरी गोरीधानाको विवाह नागवंशी राजा कालीनागसँग हुन्छ । विवाह भएको लामो समयसम्म गोरीधानाले माइत आउने तथा माइतीले उनलाई भेट्न जाने गरेनन् ।
भानादेउका छोरा सादेउवालाको जन्म भयो । उनी ठूला भएपछि दिदीबहिनी भए नभएको सोधी खोजी गरे । दिदीबारे जानकारी पाएपछि उनले भेट्न जाने इच्छा गरे । तर आमा कौशिलाले नागहरूले खाइदिने भन्दै उनलाई पठाउन मानेनन् । छोराका जिद्द अगाडि कौशिलाको केही चलेन । उनलाई नयाँ लुगा सिलाएर पकावानसहित छोरीका घर पठाए । घरमा पुगेपछि भाइबहिनीबीच लामो समयपछि भेटले निकै भावुक बनाउँछ ।
काली नागले पनि सालाको राम्रो स्वागत गरे । करिब एक महिनापछि दिदीसँगै घर फर्किने बेला काली नागकी बहिनी भागानन्दले शंका पैदा गरेपछि कालीनागले सालालाई रोके । त्यसपछि उनीमाथि आक्रमण गरे तर त्यसले केही असर गरेन । त्यपछि सदेउवालाले आक्रमण गर्दा काली नागको मृत्यु भयो । नागको मृत्युपछि दिदी गोरीधानाले पनि आत्महत्या गरिन् । त्यसपछि सादेउवालाले पनि आत्महत्या गरे ।
कालीनागकी बहिनी भागा नन्दको शंकाका कारण दुईटा परिवारको नाश हुन्छ । त्यससँग सम्बन्धित एक डोटेली गीतको बोल चर्चित छ– इचली व कनालीका पलुइ झान्ना तिता, भलो गरे भागा नन्द दुई घर रित्ता ।
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७५ ०९:४६

‘सांस्कृतिक नीति खोइ ?’

सांस्कृतिक नीति खोइ?’
कान्तिपुर, चैत्र १५, २०७५दीपक परियार
लेखनाथ — प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने गण्डकी प्रदेशको तयारी उहिल्यै हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गत वर्ष तयारी थाल्न सार्वजनिक आव्हान नै गरे । राज्य पुनर्संरचनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिसकेका उनमा पोखराका प्राज्ञिक व्यक्तित्वको भरोसा थियो । तर हालसम्म प्रदेश प्रज्ञा प्रतिष्ठान गठन भएको छैन ।
सर्वप्रथम गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको आफ्नै सांस्कृतिक नीति हुनुपर्ने धारणा राख्छन्, कवि तीर्थ श्रेष्ठ । विश्व रंगमञ्च दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले पोखरेली नाटकका अन्तरकुन्तर खोले । पोखरा थियटरले गरेको ‘नाटक हेर्छ पोखरा’ विषयक कार्यक्रममा उनले प्रमुख वक्ताका रूपमा आफ्ना विचार राखेका थिए ।
नाट्य क्षेत्रलाई राज्यको सहयोग नहुँदा पनि व्यक्तिगत तथा संस्थागत रूपमा रंगमञ्चको यात्रा अगाडि बढेको उनको बुझाइ छ । ‘कर्मचारी पाल्न नसक्ने एकेडेमीबाट हामीले के आशा गर्ने ?’ उनले भने, ‘यति हुँदाहुँदै पनि नाटक देखाउनुपर्छ, नाटक हेरिनुपर्छ भन्ने प्रयत्नले नाट्य क्षेत्र अगाडि बढ्नु सुखद् हो ।’ सांस्कृतिक नीति बनाएर नाटक विधा राज्यबाटै आरक्षित हुनुपर्नेमा उनी जोड दिन्छन् । पोखरा थिएटर सञ्चालनमा आएपछि एक वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नाटक महोत्सव हुनु पोखरेली रंग क्षेत्रको लागि सौभाग्य भएको उनले बताए । उनले धनशमशेरको पालादेखि सुरु भएको पोखराको रंगमञ्चका विभिन्न उतारचढावका बारेमा बेलिविस्तार लगाए ।
साहित्यकार सरुभक्त रंगमञ्चको यात्रालाई अगाडि बढाउन अध्ययन आवश्यक पर्ने बताए । पछिल्लो क्रममा अध्ययन नगरी यो क्षेत्रमा प्रवेश गर्नेहरूप्रति उनको चिन्ता थियो । ‘नाटक हेर्छ पोखरा भनेजस्तै, नाटक पढ्छ पोखरा हुनुपर्छ,’ उनले भने । नाटक लेखनदेखि मञ्चनसम्म थुप्रै चुनौती रहेको बताउँदै उनले नाटकको भविष्यप्रति सचेत बन्नुपर्ने आवश्यकता औंल्याए ।
प्रकाशित : चैत्र १५, २०७५ १२:३५

रारामा खोलानाला सुके

रारामा खोलानाला सुके
किराफट्याङ्ग्रा, गँड्यौला बगेर आउन छाडेपछि आहारा नपाएर असला माछासमेत घट्दै गएका छन् ।
Kantipur, चैत्र १४, २०७५राजबहादुर शाही
रारा, मुगु — रारासँग आफ्नो बखानका लागि थुप्रै चिज छन् । त्यसमा हिमाली असला माछा पनि पर्छ । माछाको संख्या भने पछिल्लो समय घट्दै गएको छ । स्थानीयका अनुसार एक दशकअघिसम्म रारामा माछाको लस्कर किनारैसम्म देखिन्थ्यो ।
‘अहिले माछा पहिलेजति देखिँदैन,’ जीवजन्तुमा रुचि राख्ने पूर्वशिक्षक देवीकृष्ण रावलले भने, ‘असला जातका माछा झनै जोखिममा परेका हाम्रो अनुमान छ ।’ हिमाली असला माछा रारामा मात्रै पाइने स्थानीयको दाबी छ ।
स्थानीयका अनुसार अहिले असला माछालाई आहारा अभाव छ । २०३५ सालसम्म छाप्रुमहादेव भन्ने स्थानमा बाक्लो बस्ती थियो । त्यहाँ गहुँ, जौ, चिनो, कागुनो, फलफूल प्रशस्त उत्पादन हुन्थे । बर्खाका बेला खेतबारीबाट बगेर तालमा पुग्थे र माछाको आहारा बन्थे । ‘निकुञ्ज बनेपछि बस्ती सर्‍यो, माछा मार्ने क्रम रोकियो,’ रावलले भने, ‘आहारको महत्त्वपूर्ण स्रोत पनि घट्यो ।’
पहिले चारैतिरबाट करिब ३ सय खोलानाला रारामा मिसिन्थे । ती खोलानालाबाट किराफट्याङ्ग्रा, गड्यौला बगेर आउँथे । मांसाहारी असला माछाका लागि ती राम्रा आहारा हुन्थे । अहिले अधिकांश खोलानाला सुकिसकेका छन् । रारा क्षेत्रमा वन्यजन्तु पनि प्रशस्त थिए । कालगतिले वा प्राकृतिक प्रकोपले ताल किनारमा गएर मरेका त्यस्ता वन्यजन्तु माछाको आहारा बन्थे । ‘आहाराको कमीले माछाको जीवनमा मात्र होइन, प्रजननमा समेत प्रभाव पारेको हुन सक्छ,’ स्थानीय लेकविक्रम शाह भन्छन् ।
२०५८ कात्तिक २० गते रारा तालमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएपछि ट्यांकीबाट निस्किएको इन्धन (रसायन) ले पनि माछालाई प्रतिकूल असर पारेको कतिपयको अनुमान छ । त्रिभुवन विश्वविद्यालयबाट २०७४ असारमा माछा विशेषज्ञको एक समूह अध्ययनका लागि रारा पुगेको थियो ।
उक्त टोलीले माछामा छिप्रे टाटेपाटे रोग देखा परेको पुष्टि गरेको थियो । ‘यही अवस्था रहे केही दशकभित्र राराको माछा लोप हुन सक्छ,’ टोलीको निष्कर्ष सुनाउँदै निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने । अनुसन्धान टोलीले आहारा अभावमा राराका माछा खत्याड खोलातिर सर्न थालेका जनाएको उनले बताए ।
रारामा मानवीय चाप बढ्नु पनि माछाका लागि प्रतिकूलता बन्दै गएको छ । पर्यटकले मदिरा, मदिराका बोतल र विषाक्त खानेकुरा तालमा फ्याँक्छन् । यसले तालको पर्यावरण प्रदूषित बन्दै गएको स्थानीय बताउँछन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव रारामा पनि परेको छ । २०५० को दशकअघिसम्म रारामा अत्यधिक चिसो हुन्थ्यो । पछिल्लो समय पृथ्वीको तापमान बढ्दै जाँदा माछामा असर परेको हुन सक्ने अनुसन्धाता बताउँछन् ।
संरक्षणमा बेवास्ता
सरकारले रारा तालमा रहेको असला प्रजातिको माछा संरक्षणमा ध्यान दिन सकेको छैन । माछामा देखिने रोग पत्ता लगाई उपचार गर्ने गरिएको छैन । वैज्ञानिक विधिबाट अध्ययन गरी माछा संरक्षणको पहल गरिनुपर्नेमा स्थानीय जोड दिन्छन् ।
रारा राष्ट्रिय निकुञ्जले माछा मार्न प्रतिबन्ध लगाएको छ । संरक्षण अधिकृत भण्डारी निकुञ्जका कर्मचारी र सेनाले नियमित गस्ती गरिरहेको बताउँछन् । तरझ्यारी, मुर्मा, टोप्ला, माथितुम, ताल्चालगायत निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाले बल्छी, झरिउला, सोलिउ प्रयोग गरेर माछा मार्ने गरेका छन् ।
रारामा ३ प्रजातिका असला माछा छन् । हल्का कालो माछा तालको ४५ मिटरसम्म गहिराइमा जान्छ र सतहसम्मै आउँछ । यो प्रजातिको माछा आहारा खोज्न किनारसम्मै आउने गर्छन् । सेतो असला माछा पनि हल्का कालो रङको जस्तै गहिराइसम्म जान्छ र सतहमा आउँछ ।
कहिलेकाहीँ यो माछाले उफ्रिएर आनन्द लिने गर्छ । थेप्चे अर्थात् धामी माछा कमै देखिने गर्छ । यो तालको गहिराइ, ओढार वा ढुंगामुनि बस्ने गर्छ । रारा तालमा रहेका असला माछाको प्रजनन प्रक्रिया चैत–वैशाख र भदौ–असोजमा हुने गर्छ । प्रकाशित : चैत्र १४, २०७५ ०७:३४

मातृभाषाको सम्मानमा


मातृभाषाको सम्मानमा
फाल्गुन १०, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — विश्वमा करिब सात हजार मातृभाषा अहिलेसम्म जीवित रहेको दाबी गरिन्छ । ती मातृभाषा लोपोन्मुख हुँदै गएकोमा भाषाशास्त्रीहरूले बेलाबेला चिन्ता जनाइरहेका हुन्छन् ।
तिनै लोपोन्मुख भाषाको सम्वर्द्धन र प्रवर्द्धनका लागि वर्षमा एक दिन साइत जुर्ने गरेको छ, अन्तर्राष्ट्रिय मातृभाषा दिवस । २१ फेब्रुअरीमा मनाइने यही दिवस पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबार राष्ट्रिय मातृभाषा कविता महोत्सव गर्‍यो ।
महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुनले देशको दृश्य तथा अदृश्य, मूर्त तथा अमूर्त सम्पदाको ऐतिहासिक अभिलेखन गर्ने काम भाषाबाटै हुने भएकाले मातृभाषा संरक्षण गर्न राज्यले अग्रसरता लिनुपर्ने बताए । बाह्य भाषाले जबरजस्ती नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले भने मौलिक संस्कृति र भाषा नभए हाम्रो पहिचान नरहने दाबी गरे ।
नेपालले आफ्नो गोपनीयता कायम राख्न आफ्नै भाषाको प्रयोग गर्न सक्ने उनले बताए । ‘बौद्धिकता र गुणस्तरीयताको नाममा हामी जानी–नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ । यसलाई सुधार्नुपर्छ,’ उनले भने, ‘हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न नजाने कसरी राष्ट्रियता रहन्छ होला ! त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ ।’
सांस्कृतिक एवं भाषिक विविधताबाटै राष्ट्रिय एकता हुने वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले औँल्याए । कवि एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईंलाले एउटा बगैँचा सुन्दर देखिन सेतो रंगको मात्रै नभई रातो, पहेँलो लगायत अन्य रंग पनि हुनु आवश्यक रहेको उल्लेख गर्दै देश पनि विविधता भए मात्र सुन्दर देखिने सुनाए । आठ वर्षदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गोष्ठी एवं महोत्सव गर्दै आएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनाए ।
युनेस्कोले सन् १९९९ मा फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् २००० देखि विश्वव्यापी रूपमा मनाउन थालिएको हो । मूलतः मातृभाषा आन्दोलनका क्रममा बंगलादेशका चार विद्यार्थीले सहादत पाएका थिए । तिनैको बलिदानको कदरस्वरूप युनेस्कोले दिवस विश्वव्यापी रूपमा मनाउने अभियान थालेको हो ।
महोत्सवमा सपना श्रीवास्तवले अवधी, राकेश बीएम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दीपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर, मुक्तिनाथ घिमिरेले दुरा र मेक रानामगरले ढुटमगर भाषाका कविता सुनाए ।
पूर्णिमा ताजपुरिया, ङ्हेमा थाङ्पाल तामाङ, शिखर थामी, राकेशकुमार सिंह र अर्णव चौधरी, रमेश कुमार दनुवार, प्रयास दुमी राई, उर्मिला धिमालले आआफ्ना भाषाका सिर्जना वाचन गरे ।
प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबीले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बू, आङदावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए ।
दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बू, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शनसमेत गरे । कमलादीबाट सुरु र्‍याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो ।मातृभाषा संवर्द्धनमा महोत्सवले उत्प्रेरणात्मक टेवा पुर्‍याउँदै आएको दावी गर्दै मातृभाषा साहित्य लेखनमा युवाहरुको चासो बढ्दै गएको प्राज्ञ एवं मातृभाषा विभाग प्रमुख लक्ष्मी मालीले बताइन् ।
प्रकाशित : फाल्गुन १०, २०७५ ०८:१८

Religion and culture and peacebuidling

Religion and culture and peacebuidling
Dr. Govind Prasad Thapa

'International Conference on Religion and Culture in Conflict and Peace: Reconciliation and Peacebuilding in South Asia' held in Lumbini of Nepal in March 26-27, 2019. was held in Lumbini of Nepal. Religion is contested issue. Quite often, it is abused for instigating hatred and provocation of war in modern societies. At the same time religion and cultural practices could be used to promote peace and harmony in the world. With the views of these belief and faith several eminent scholars highlighted on the issues of maintaining peace and harmony in the world through the medium of religion and culture in the two-day 'International Conference on Religion and Culture in Conflict and Peace: Reconciliation and Peacebuilding in South Asia' held in Lumbini of Nepal in March 26-27, 2019.
Some of my observations were:
Nepal suffered from the brunt of the Maoist insurgency for one decade: 1996-2006. The rebellion was launched by the CPN-M on 13 February 1996 with the main aim of overthrowing the Nepalese monarchy and establishing a People's Republic. The bloody civil war ended with the Comprehensive Peace Accord signed on 21 November 2006. Seventeen thousands were killed and hundreds of people were injured and disappeared. Nepal had failed to prevent and counter the insurgency due to the internal politics of king, political parties and also, to some extent, due to the interagency rivalry among the security agencies of Nepal. These are the bizarre facts drawn in the autobiography of retired IGP Achyut Krishna Kharel. Even after the truce and end of the decade-long insurgency, the Truth and Reconciliation Commission has failed to investigate wartime killings, torture and forced disappearances and delivering justice to victims of war has also failed so far. The government has recently adopted 'no-compromise-with-terrorist-group' attitude against Biplab-led group and have started carrying out surveillance on its activities and taking action against those found involved in it. There are voices that such strategy could invite more confrontation similar to the nature of insurgency.
It is my understanding that super powers around the world are responsible for escalating the conflicts globally. As a consequence, the spill-over of conflicts are affecting the socio-economic development of these countries.
Music is the universal language of all living beings including animals, insects and plants. India and Pakistan must resolve the Jammu and Kashmir issue permanently. I proposed for the appeal not only to the governments of India and Pakistan only to resolve the issues of Jammu and Kashmir permanently but also to the governments of all the countries in the world to end all kinds of conflicts in the globe.
Spirituality is the best answer for the durable peace in the world. There is a need for education system for the physical, mental and spiritual health of human beings in order to have lasting peace in the world.

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...