Thursday, June 13, 2019

रारामा खोलानाला सुके

रारामा खोलानाला सुके
किराफट्याङ्ग्रा, गँड्यौला बगेर आउन छाडेपछि आहारा नपाएर असला माछासमेत घट्दै गएका छन् ।
Kantipur, चैत्र १४, २०७५राजबहादुर शाही
रारा, मुगु — रारासँग आफ्नो बखानका लागि थुप्रै चिज छन् । त्यसमा हिमाली असला माछा पनि पर्छ । माछाको संख्या भने पछिल्लो समय घट्दै गएको छ । स्थानीयका अनुसार एक दशकअघिसम्म रारामा माछाको लस्कर किनारैसम्म देखिन्थ्यो ।
‘अहिले माछा पहिलेजति देखिँदैन,’ जीवजन्तुमा रुचि राख्ने पूर्वशिक्षक देवीकृष्ण रावलले भने, ‘असला जातका माछा झनै जोखिममा परेका हाम्रो अनुमान छ ।’ हिमाली असला माछा रारामा मात्रै पाइने स्थानीयको दाबी छ ।
स्थानीयका अनुसार अहिले असला माछालाई आहारा अभाव छ । २०३५ सालसम्म छाप्रुमहादेव भन्ने स्थानमा बाक्लो बस्ती थियो । त्यहाँ गहुँ, जौ, चिनो, कागुनो, फलफूल प्रशस्त उत्पादन हुन्थे । बर्खाका बेला खेतबारीबाट बगेर तालमा पुग्थे र माछाको आहारा बन्थे । ‘निकुञ्ज बनेपछि बस्ती सर्‍यो, माछा मार्ने क्रम रोकियो,’ रावलले भने, ‘आहारको महत्त्वपूर्ण स्रोत पनि घट्यो ।’
पहिले चारैतिरबाट करिब ३ सय खोलानाला रारामा मिसिन्थे । ती खोलानालाबाट किराफट्याङ्ग्रा, गड्यौला बगेर आउँथे । मांसाहारी असला माछाका लागि ती राम्रा आहारा हुन्थे । अहिले अधिकांश खोलानाला सुकिसकेका छन् । रारा क्षेत्रमा वन्यजन्तु पनि प्रशस्त थिए । कालगतिले वा प्राकृतिक प्रकोपले ताल किनारमा गएर मरेका त्यस्ता वन्यजन्तु माछाको आहारा बन्थे । ‘आहाराको कमीले माछाको जीवनमा मात्र होइन, प्रजननमा समेत प्रभाव पारेको हुन सक्छ,’ स्थानीय लेकविक्रम शाह भन्छन् ।
२०५८ कात्तिक २० गते रारा तालमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएपछि ट्यांकीबाट निस्किएको इन्धन (रसायन) ले पनि माछालाई प्रतिकूल असर पारेको कतिपयको अनुमान छ । त्रिभुवन विश्वविद्यालयबाट २०७४ असारमा माछा विशेषज्ञको एक समूह अध्ययनका लागि रारा पुगेको थियो ।
उक्त टोलीले माछामा छिप्रे टाटेपाटे रोग देखा परेको पुष्टि गरेको थियो । ‘यही अवस्था रहे केही दशकभित्र राराको माछा लोप हुन सक्छ,’ टोलीको निष्कर्ष सुनाउँदै निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने । अनुसन्धान टोलीले आहारा अभावमा राराका माछा खत्याड खोलातिर सर्न थालेका जनाएको उनले बताए ।
रारामा मानवीय चाप बढ्नु पनि माछाका लागि प्रतिकूलता बन्दै गएको छ । पर्यटकले मदिरा, मदिराका बोतल र विषाक्त खानेकुरा तालमा फ्याँक्छन् । यसले तालको पर्यावरण प्रदूषित बन्दै गएको स्थानीय बताउँछन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव रारामा पनि परेको छ । २०५० को दशकअघिसम्म रारामा अत्यधिक चिसो हुन्थ्यो । पछिल्लो समय पृथ्वीको तापमान बढ्दै जाँदा माछामा असर परेको हुन सक्ने अनुसन्धाता बताउँछन् ।
संरक्षणमा बेवास्ता
सरकारले रारा तालमा रहेको असला प्रजातिको माछा संरक्षणमा ध्यान दिन सकेको छैन । माछामा देखिने रोग पत्ता लगाई उपचार गर्ने गरिएको छैन । वैज्ञानिक विधिबाट अध्ययन गरी माछा संरक्षणको पहल गरिनुपर्नेमा स्थानीय जोड दिन्छन् ।
रारा राष्ट्रिय निकुञ्जले माछा मार्न प्रतिबन्ध लगाएको छ । संरक्षण अधिकृत भण्डारी निकुञ्जका कर्मचारी र सेनाले नियमित गस्ती गरिरहेको बताउँछन् । तरझ्यारी, मुर्मा, टोप्ला, माथितुम, ताल्चालगायत निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाले बल्छी, झरिउला, सोलिउ प्रयोग गरेर माछा मार्ने गरेका छन् ।
रारामा ३ प्रजातिका असला माछा छन् । हल्का कालो माछा तालको ४५ मिटरसम्म गहिराइमा जान्छ र सतहसम्मै आउँछ । यो प्रजातिको माछा आहारा खोज्न किनारसम्मै आउने गर्छन् । सेतो असला माछा पनि हल्का कालो रङको जस्तै गहिराइसम्म जान्छ र सतहमा आउँछ ।
कहिलेकाहीँ यो माछाले उफ्रिएर आनन्द लिने गर्छ । थेप्चे अर्थात् धामी माछा कमै देखिने गर्छ । यो तालको गहिराइ, ओढार वा ढुंगामुनि बस्ने गर्छ । रारा तालमा रहेका असला माछाको प्रजनन प्रक्रिया चैत–वैशाख र भदौ–असोजमा हुने गर्छ । प्रकाशित : चैत्र १४, २०७५ ०७:३४

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...