Thursday, June 13, 2019

मातृभाषाको सम्मानमा


मातृभाषाको सम्मानमा
फाल्गुन १०, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — विश्वमा करिब सात हजार मातृभाषा अहिलेसम्म जीवित रहेको दाबी गरिन्छ । ती मातृभाषा लोपोन्मुख हुँदै गएकोमा भाषाशास्त्रीहरूले बेलाबेला चिन्ता जनाइरहेका हुन्छन् ।
तिनै लोपोन्मुख भाषाको सम्वर्द्धन र प्रवर्द्धनका लागि वर्षमा एक दिन साइत जुर्ने गरेको छ, अन्तर्राष्ट्रिय मातृभाषा दिवस । २१ फेब्रुअरीमा मनाइने यही दिवस पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबार राष्ट्रिय मातृभाषा कविता महोत्सव गर्‍यो ।
महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुनले देशको दृश्य तथा अदृश्य, मूर्त तथा अमूर्त सम्पदाको ऐतिहासिक अभिलेखन गर्ने काम भाषाबाटै हुने भएकाले मातृभाषा संरक्षण गर्न राज्यले अग्रसरता लिनुपर्ने बताए । बाह्य भाषाले जबरजस्ती नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले भने मौलिक संस्कृति र भाषा नभए हाम्रो पहिचान नरहने दाबी गरे ।
नेपालले आफ्नो गोपनीयता कायम राख्न आफ्नै भाषाको प्रयोग गर्न सक्ने उनले बताए । ‘बौद्धिकता र गुणस्तरीयताको नाममा हामी जानी–नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ । यसलाई सुधार्नुपर्छ,’ उनले भने, ‘हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न नजाने कसरी राष्ट्रियता रहन्छ होला ! त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ ।’
सांस्कृतिक एवं भाषिक विविधताबाटै राष्ट्रिय एकता हुने वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले औँल्याए । कवि एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईंलाले एउटा बगैँचा सुन्दर देखिन सेतो रंगको मात्रै नभई रातो, पहेँलो लगायत अन्य रंग पनि हुनु आवश्यक रहेको उल्लेख गर्दै देश पनि विविधता भए मात्र सुन्दर देखिने सुनाए । आठ वर्षदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गोष्ठी एवं महोत्सव गर्दै आएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनाए ।
युनेस्कोले सन् १९९९ मा फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् २००० देखि विश्वव्यापी रूपमा मनाउन थालिएको हो । मूलतः मातृभाषा आन्दोलनका क्रममा बंगलादेशका चार विद्यार्थीले सहादत पाएका थिए । तिनैको बलिदानको कदरस्वरूप युनेस्कोले दिवस विश्वव्यापी रूपमा मनाउने अभियान थालेको हो ।
महोत्सवमा सपना श्रीवास्तवले अवधी, राकेश बीएम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दीपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर, मुक्तिनाथ घिमिरेले दुरा र मेक रानामगरले ढुटमगर भाषाका कविता सुनाए ।
पूर्णिमा ताजपुरिया, ङ्हेमा थाङ्पाल तामाङ, शिखर थामी, राकेशकुमार सिंह र अर्णव चौधरी, रमेश कुमार दनुवार, प्रयास दुमी राई, उर्मिला धिमालले आआफ्ना भाषाका सिर्जना वाचन गरे ।
प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबीले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बू, आङदावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए ।
दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बू, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शनसमेत गरे । कमलादीबाट सुरु र्‍याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो ।मातृभाषा संवर्द्धनमा महोत्सवले उत्प्रेरणात्मक टेवा पुर्‍याउँदै आएको दावी गर्दै मातृभाषा साहित्य लेखनमा युवाहरुको चासो बढ्दै गएको प्राज्ञ एवं मातृभाषा विभाग प्रमुख लक्ष्मी मालीले बताइन् ।
प्रकाशित : फाल्गुन १०, २०७५ ०८:१८

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...