Thursday, June 13, 2019

अझै १४ तुइन

अझै १४ तुइन
चैत्र १८, २०७५कान्तिपुर संवाददाता
काठमाडौं/गोरखा — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा २ वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै ओलीले गरेको पहिलो निर्णय थियो यो । आर्थिक वर्ष २०७२/७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो ।
तीन वर्ष बित्यो, तुइन भने अझै विस्थापन भइसकेको छैन । केही जिल्लाका विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर नदी वारपार गर्नुपर्ने बाध्यता छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय ३० तुइनमध्ये १ सय १६ वटा विस्थापन भएका छन् । अझै १४ वटा तुइन विस्थापन हुन बाँकी छ । तुइन भएका धेरै ठाउँमा झोलुंगे पुल निर्माण भइरहेका छन् । कतै निर्माण जारी छ । कतै ठेकेदारको ढिलाइले काम रोकिएको छ । विस्थापन हुन बाँकी रहेका ठाउँमा पनि पुल निर्माणका लागि डीपीआर भने बनिसकेको छ ।
‘तुइन बाँकी भएका ठाउँमा यही वर्षभित्र विस्थापन गर्ने लक्ष्य छ,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘डीपीआर तयार भइसकेको छ, तुइन भएका ठाउँमा आवश्यकताका आधारमा झोलुंगे पुल निर्माण गरिनेछ ।’ उनका अनुसार एकसाथ ७ सयवटा झोलुंगे पुलको डीपीआर बनेको छ । ‘तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माणका लागि काम भइरहेको छ,’ उनले भने, ‘यस आर्थिक वर्षभित्र सबै पुल निर्माण सक्ने लक्ष्य हो । नसकिए अर्को वर्ष सकिन्छ ।’
भारतसँग सीमा जोडिएको दार्चुलामा तुइन विस्थापन गर्न समस्या देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार प्रधानमन्त्री ओलीको पहिलो कार्यकालबाटै तुइन हटाउने अभियान सुरु गरिएको हो । ‘प्रधानमन्त्रीले मुलुकभरबाटै तुइन विस्थापन गर्न निर्देशन दिनुभएको हो, आवश्यकताका आधारमा पुल निर्माण गर्ने, थप बनाउनुपरे बनाउने कुरा भएको हो,’ उनले भने, ‘यसमा उहाँको विशेष चासो छ ।’
दार्चुलामा बढी समस्या छ । ‘भारत र नेपालको समझदारीमा काम गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हुन सक्छ,’ उनले भने । भौगोलिक विकटताले समस्या थपेको उनले बताए । ‘देशभर तुइन विस्थापनको अन्तिम चरणमा छौं,’ उनले भने, ‘तुइनको समस्या धेरै रहँदैन ।’ मन्त्रालयका अनुसार यो वर्ष ४ सय १७ झोलुंगे पुल बनेका छन् ।
स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका अनुसार देशभर १ सय ८७ वटा तुइन रहेकामा १४ वटा मात्र बांँकी छन् । विभागका अनुसार दार्चुलामा पहिला समस्या थियो । बुधबार मात्र भारत सरकारसँग पुल निर्माण गर्न सहमति भएको छ । दार्चुलामा ५ वटा तुइन छन् । त्यस्तै धादिङ र गोरखा जोड्ने १, चितवन र गोरखा जोड्ने १, नवलपरासीमा १, सुर्खेतमा ३, डोटी १ र बझाङमा २ वटा तुइन विस्थापन गर्न बाँकी छ ।
पुल बनेन
गोरखाको गण्डकी गाउँपालिका(८, घ्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौँदी जोड्न ०७३ मंसिर २६ गतेबाट त्रिशूली नदीमाथि झोलुंगे पुल निर्माण थालिएको हो । अझै पूरा भएको छैन । ०७४ असोज १५ गतेभित्र निर्माण सक्ने गरी नयाँ बाटो मना कन्स्ट्रक्सन जेभीले जिम्मा लिएको थियो । सम्झौता अवधि सकिइसकेको छ । छिटो पुल निर्माणका लागि ताकेता गरे पनि ठेकेदारले ढिलाइ गरेको घ्याल्चोकका स्थानीय झवीन्द्र रानामगरले बताए । तरकारी र दैनिक उपभोग्य सामग्री राखेर तुइनको कोर्के बाहिरै खुट्टा झुन्ड्याउँदै स्थानीय आउजाउ गर्न बाध्य छन् ।
‘तुइनबाट वारपार गर्न गाह्रो भएको छ,’ उनले भने, ‘चरौँदी बजारको सहकारीमा तरकारी बेच्न लान्छौँ, अर्को बाटो जाँदा घुमाउरो पर्छ । तुइन नचढी सुखै छैन ।’ १ सय ९९ मिटरको दूरी तुइनको सहाराले घ्याल्चोकतर्फबाट चरौँदी जाँदा पाँच मिनेटमा पुगिन्छ । फर्कंदा आधा घण्टा लाग्छ । ‘ढिलै भए पनि पुल निर्माणका लागि सामान झरेको छ,’ मगरले भने, ‘दुई(चार दिनयता निर्माण फेरि रोकिएको छ, ठेकेदारले पैसा नदिएपछि कामदार आउन छाडेका छन् ।’
गण्डकी गाउँपालिका(८, घ्याल्चोकअन्तर्गतको बेनीगाउँ, तोरीस्वाँरा, तेर्सेलगायत गाउँका करिब ५ सय स्थानीयले तरकारी बिक्री तथा आउजाउका लागि उक्त तुइन प्रयोग गरेका छन् । ०६७ सालबाट उक्त तुइन सञ्चालनमा ल्याइएको हो । सहिद लखन गाउँपालिका(४, ताक्लुङस्थित ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका(४, कुरिनटार जोड्ने तुइन विस्थापन गर्न झोलुंगे पुल निर्माणाधीन छ । उक्त पुल निर्माणको जिम्मा पनि नयाँबाटो मना कन्स्ट्रक्सन जेभीले पाएको छ । ०७४ असोज १५ मै निर्माण सम्पन्न गर्ने भन्दै ०७३ मंसिर २६ गते सम्झौता गरेको ठेकेदार कम्पनीले सम्झौता अवधि सकिँदासम्म काम सम्पन्न गर्न सकेको छैन ।
सार्वजनिक तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गर्ने कार्यक्रमअन्तर्गत यहाँको ६ वटा तुइन विस्थापित भएको छ । ताकुकोट र श्रीनाथकोट जोड्ने दरौंदीमाथिका दुईवटा, भुम्लीचोक र चितवनको दारेचोकको हिवलिङस्थित त्रिशूली नदीको एउटा, मनकामना र आँबुखैरेनी जोड्ने भुवानी टारस्थित मर्स्याङी नदीमाथिको एउटा, धादिङ र भुम्लीचोक जोड्ने हिक्लुङस्थित त्रिशूली नदीमाथिको र हंसपुर तथा लमजुङको बिचौर जोड्ने चेपे खोलामाथिको तुइन विस्थापन भइसकेका छन् ।
प्रकाशित : चैत्र १८, २०७५ १३:५९

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...