Thursday, November 28, 2019

चन्द्रगुप्त मौर्य नेपाली हुन् ?


चन्द्रगुप्त मौर्य नेपाली हुन् ?
नरु थापा, फुर्सद,  ०७ मङि्सर २०७६ ०८:१२:००
भारतीय लेखक विश्वनाथ सत्यनारायणले ‘चन्द्रगुप्तका स्वप्न’ नामक पुस्तकमा चन्द्रगुप्तलाई ‘हामी किराती हौं’ भनाएका छन्।
कपिलवस्तु बृजी संघका राजा शुद्धोधनका छोरा गौतम बुद्धको जन्म रूपन्देही रुम्मिनी (लुम्बिनी) बगैंचामा भएको थियो। सिद्धार्थ जन्मेको सात दिनमै आमा महामायाको मृत्यु भएकाले सौतेनी आमा प्रजापति गौतमीले स्याहारसुसार गरेर हुर्काएको हुनाले गौतम भनिएको हो। सिद्धार्थले देवदह कोलिया गणको आफ्नै मामाकी छोरी यशोधरा (भद्रकपालिनी)लाई विवाह गरेका थिए। गौतम बुद्धको जन्म नेपालमा भए पनि उनको कर्म क्षेत्र, धर्म क्षेत्र, बौद्धिक क्षेत्र र मृत्यु भारत रहेको छ।
बौद्ध धर्मको नियमानुसार भिक्षा पात्रमा दानीले जे दिए पनि खानुपर्ने हुन्छ। गौतम बुद्धलाई चुन्द लोहारले खानामा सुँगुरको मासु दिएको हुनाले अपच भई पखाला चलेर ८० वर्षको उमेरमा महापरिनिर्वाण हुँदा शाक्य संघले बुद्धको खरानी दाबी गरेर कपिलवस्तु ल्याएका थिए। भिक्षु अक्षघोषले पनि बुद्धलाई ‘हे तुरग श्रेष्ठ’ भनेका छन्। गौतम बुद्ध कुनै काल्पनिक पात्र नभएर इतिहास पुरुष हुन्।
अयोध्या (भारत)का राजा दशरथ पुत्र पुरुषोत्तम रामसँग विवाह भएको राजा जनककी छोरी सीता पनि जनकपुर (नेपाल)कै थिइन्। प्रथम सगरमाथा विजेता पर्वतारोही प्रशिक्षक तेन्जिङ शेर्पा पनि नेपालकै थिए।
त्यस्तै भारतीय ऐतिहासिक सम्राट् चन्द्रगुप्त मौर्य पनि नेपालको (कपिलवस्तु पिप्पलिवन, पिपरहवा)का मौर्यवंशका सन्तान हुन्। भारतीय र विदेशी लेखकहरूले चन्द्रगुप्तलाई बुद्धलाई जस्तै नेपाली नै भनी ठोकुवा नगरे पनि विशाखदत्तले आफ्नो पुस्तक ‘मुद्राराक्षस’मा चन्द्रगुप्त मौर्यलाइ ‘मौर्य पुत्र’ भनेका छन्। भारतीय लेखक विश्वनाथ सत्यनारायणले ‘चन्द्रगुप्तका स्वप्न’ नामक पुस्तकको १५ अध्यायको पृष्ठ १४८ मा चन्द्रगुप्तलाई ‘हामी किराती हौं’ भनाएका छन्। आत्माराम ओझाले २०६३ असोज ९ गतेको कान्तिपुर पत्रिकामा ‘भारतको पटनास्थित किताब महल पुस्तकालयमा रहेको बौद्धकालीन इतिहास अध्ययन गर्दा भारतीय इतिहासपुरुष चन्द्रगुप्त मौर्य मगर थिए’ भनेका छन्।
समय र ठाउँको नाम नभएसम्म इतिहासलाई इतिहास मानिँदैन। कालक्रमअनुसार इतिहास वास्तविक इतिहास हो। भारतीय सम्राट् चन्द्रगुप्तबारे इतिहास छर्लंग देखिएको छ। कौटल्यको अर्थशास्त्र, मुद्राराक्षस, पुराणहरू, बौद्ध स्रोत, दीपवंश, महावंश, महावंश टीका, महाबोधी वंश, भद्र बाहु, लंका जय (महालेखक, कल्पसूत्र, परिशिष्टपर्वण, कथासरित सागर, जैन स्रोत, पाली ग्रन्थ र मनुस्मृतिको टीकाकार आदि पुस्तकको गहन अध्ययन गरी विद्वान् अन्वेषक राधा मुखर्जीको ‘चन्द्र गुप्त मौर्य और उसका काल’ नामक पुस्तकको सहयोग लिई यो लेख तयार गरिएको हो।s
कुलवंश भारतीय सम्राट् चन्द्रगुप्त मौर्यका सम्बन्धमा अनेक कथा प्रचलित छन्। ‘चन्द्रगुप्त मौर्यको जन्म कुलघरानमा भएको थियो, ऊ क्षत्रिय थियो’, ‘किरात कुलको भएको हुनाले उसको जन्म नीच कुलमा भएको थियो, ऊ शुद्रको सन्तान थियो’, ‘चन्द्रगुप्तको जन्म अज्ञात कुलमा भएको थियो’, पालि स्रोत र युनानी लेखकले ‘मौर्यको जन्म साधारण कुलमा भएको थियो’ (पृष्ठ २९,३२)। पुराणहरूको एउटा टीकाकारले मौर्य शब्दको अर्थ मुरा पुत्र लगाएका छन्। मुरालाई राजा नन्दको भित्रिनी भनेका छन् तर पुराणले कतै पनि मुराको उल्लेख गरेको छैन। उनी नन्दवंशीय भित्रिनीका पुत्र पनि होइनन्।
बौद्ध र जैन स्मृति ग्रन्थहरू अध्ययन गरेर पनि चन्द्रगुप्त मौर्यलाई नेपाली भन्नुपर्ने हुनाले बृजी वंशको आठवटा संघलाई शोधकर्ताहरूले बेवास्ता गरेको देखिन्छ। आज भारतको तिरंगा झन्डामा चन्द्रगुप्त मौर्यको नातिको चिह्न ‘अशोक चक्र’ फर्फराइरहेको छ, भारतीय मुद्राहरूमा पनि अशोक चिह्न अंकित छ। सम्राट् चन्द्रगुप्त मौर्यले भारतको पूर्वी समुद्रदेखि पश्चिमी समुद्रको किनारसम्म उत्तरदेखि दक्षिण सीमान्तसम्म मात्र होइन, इरानको सीमासम्म एकछत्र कब्जा गरेका थिए।
नेपालको तराई क्षेत्रमा लिच्छविहरूको (बृजी) आठवटा महासंघ थियो। यी आठवटै राज्यको शासनव्यवस्था केन्द्रीय महासंघले सञ्चालन गथ्र्यो। यसको केन्द्रीय राजधानी वैशाली थियो। यी आठवटै महासंघ बौद्ध ग्रन्थअनुसार निम्नलिखित थिए— कपिलवस्तु (शाक्यहरू जहाँ गौतम बुद्धको जन्म भयो), समसुभारा पर्वत भाग, केशपुत्ताका कालामास, रामग्रामका कोलिया (नवलपरासी बुद्धकी आमा महामायाको माइती), कुशी नारा (गोरखपुर नजिक कुशीनगर पावाका मल्ल), पिप्कालिवान (कपिवस्तु पिपरहवा)का जहाँ चन्द्रगुप्त मौर्यको जन्म भएको थियो, मिथिलाको विदेह (सीता जन्मेको स्थान जनकपुर) र वैशालीको लिच्छवि।
कपिलवस्तुको शाक्य वंशमा गौतम बुद्धको जन्म भएको थियो भने पिप्कालिवान (पिपरहवा)को मौर्य वंशमा चन्द्रगुप्त मौर्यको जन्म भएको ऐतिहासिक तथ्यले साबित गर्छ। भारतका विद्वान् शोधकर्ता राहुल सांकृत्यायनले पनि लेखेका छन्, ‘यिनै बृजीहरूका सन्तानलाई पातली पुत्रको महान् सम्राट् बन्न लेखेको रहेछ।’
उपर्युक्त पुस्तकमा बौद्ध र जैन साहित्यमा ‘मौर्य जाति शाक्यहरूको कुल घरानको पवित्र एउटा शाखा हो, जुन कुलमा महात्मा बुद्धको जन्म भएको थियो-पृ.२८’ , पिप्कालिवान (पिपरहवा)मा मयुरहरू प्रशस्त पाइने हुनाले यो वंशलाई मोरीय भनिएको हो। मोरीय शब्द मोरबाट बनेको हो। यो संस्कृतको मयूर शब्दको पालि पर्याय हो। महाबोधीवंश (सम्पादक स्ट्रांग)मा भनिएको छ, ‘कुमार चन्द्रगुप्तको जन्म राजाको कुलमा भएको थियो। मोरियनगर शाक्यपुतोंले निर्माण गरेका थिए। चाणक्यको सहयोगबाट चन्द्रगुप्त मौर्य पातली पुत्र (मगध)को राजा भयो ‘(पृ(२८), दिधनिकाय ग्रन्थमा भनिएको छ, ‘पप्लिवनमा बस्ने मोरीय क्षत्रीय वंशमा चन्द्रगुप्तको जन्म भएको थियो।’
आफ्नो जन्मभूमि छाडेर जाने चन्द्रगुप्तका बुवा पिपरहवा गाउँका मुखिया थिए। सीमा क्षेत्रमा झगडा हुँदा उनी मारिएपछि आफ्ना दाजुभाइसहित चन्द्रगुप्तकी आमासहित पातलीपुत्र पुगे। त्यहाँ चन्द्रगुप्तले गोठालाको काम गरेका थिए। ठूलो भएपछि उसको मालिकले एउटा सिकारीलाई बेचिदिएका थिए। त्यहाँ पनि चन्द्रगुप्तको काम गोठालाकै थियो। गोठालो गर्दा आठ÷नौ वर्षका चन्द्रगुप्तले केटाकेटी बटुलेर ‘राजकिलम’ भन्ने खेल खेलाउँथे। यो खेलमा उनी राजा बन्थे भने साथीहरू उसका सेवक। उनी सभा राखेर न्यायको फैसला गर्ने गर्थे। एक दिन राजा धननन्द (चन्द्रमय क्याम्ब्रिज हिस्ट्री अफ इन्डिया पृ.४६९) द्वारा अपमानित चाणक्यले यो खेल देखेपछि प्रभावित भएर सिकारी मालिकसँग १००० कार्षापण (मुद्रा) तिरेर किनी तक्षशिला विद्यापीठमा चन्द्रगुप्तलाई शिक्षाका लागि भर्ती गरिदिए। त्यहाँ धनुर्विद्या, राजनीतिक ज्ञान, सिकारी ज्ञान र सैनिक तालिमसम्म गराइन्थ्यो। आठ वर्षसम्म सम्पूर्ण विधामा ज्ञान आर्जन गरेपछि उनलाई चाणक्यले सैनिक नेता बनाएर भारतलाई युनानीहरूबाट स्वतन्त्र र अन्यायी, अत्याचारी राजाहरूको नाश गर्ने काम सुम्पिएका थिए। चाणक्य र चन्द्रगुप्तले चोर डाँकु, पर्वतीय आदिवासी (किरात), वनबासी (आरबिक), लडाकु गण जाति, शक (हेरसोनियन), युनानी, कांबोज, खसहरूको सेना खडा गरेर विजय अभियान आरम्भ गरेका थिए।
सिकन्दरले मे ३२७ इपूदेखि ३२३ इपूसम्म दुई वर्ष भारतमा आक्रमण गरी कैयौं सानासाना राज्य जितेका थिए। अम्बालाका राजा आम्भीको नियन्त्रणमा सिकन्दरले पुरु राज्यमा आक्रमण गरेका थिए भने यता चन्द्रगुप्तको उदय भइरहेको थियो। त्यति बेलाका महान् सैनिक नेता सिकन्दरसँग चन्द्रगुप्त मौर्यको भेट हुँदा के कुरामा दुवैको भनाभन भयो र सिकन्दरले चन्द्रगुप्तलाई हत्या गर्ने आज्ञासमेत दिएका थिए। कुनै उपायले चन्द्रगुप्त आफ्नो ज्यान जोगाएर भागेका थिए। इ.पू. ३२३ मा सिकन्दरको बैबिलोनमा मृत्यु भएपछि क्रान्तिका नेता चन्द्रगुप्तद्वारा सिकन्दरको मृत्युपछि उसले खटाएका छत्रपतिहरू युमेनिज, पेइथन, फिलिप, निकानोर चन्द्रगुप्त मौर्यको स्वतन्त्रताका सेनाहरूद्वारा मारिए। इ.पू.३२२ मा चन्द्रगुप्त मौर्यको शुभ राज्याभिषेक गरियो। नौ नन्दहरू जसले पातली पुत्र (मगध)मा राज्य गर्थे, जेठा उग्रसेन नन्द थिए भने अन्तिम कान्छा राजा धननन्द (चन्द्रमस) जसले चाणक्यको अपमान गरेका थिए, उनलाई मारेर चन्द्रगुप्तले पाटलीपुत्र राज्य हत्याएका थिए। नन्दवंशी नौ भाइ पनि पहिला डाँका थिए। आमजनता नन्दवंशी राजाहरूलाई मन मराउँदैनथे। चन्द्रगुप्त मौर्यको सेल्युकससँग सम्झौता भई दुवैले एकआपसमा उपहार आदानप्रदान गरेका थिए र मौर्यले सेल्युकसकी छोरी पनि विवाह गरेका थिए।
१७÷१८ वर्षदेखि लड्दालड्दा चन्द्रगुप्त मौर्य विरक्त भइसकेकाले ५० वर्षअगावै जैन धर्म स्वीकार गरी २९८ इपूमा युवराज बिदुसारलाई राज्य सुम्पिई आफ्नो गुरु भद्रबाहुसमेत श्रवण भद्रगोला भन्ने ठाउँमा गई गुरुको सेवा गर्दागर्दै गुरुको मृत्यु भएको हुनाले उनी आफैंले पनि अन्नपानी खान छोडेर इपू २९९ मा प्राण त्याग गरे। उनका छोरा विंविसार पछि नाति अशोक मौर्य राजा भए। अशोकले कलिङ युद्धको विभीषिका सहन नसकी बौद्ध धर्म ग्रहण गरी सारा एसियामा बौद्ध धर्मको प्रचारप्रसार गरे र जताततै अशोक स्तम्भ ठड्याए।
राजा अशोकले ठड्याएको अशोक स्तम्भको टुप्पामा बाघको मुख हुने गरेको छ भने अशोकको राष्ट्रिय झन्डामा पनि बाघको मुख अंकित थियो। किरातीहरूले आफूलाई बाघझैं बलियो ठान्छन्। अशोक उज्जैनमा उपराजा हुँदा मामाकी छोरी महादेवी शाक्य कुमारीसँग विवाह गरेका थिए। उनको पटरानीको नाम असंधिमित्रा थियो। मनुस्मृतिको टीकाकारले राजाहरूको सुरक्षाका लागि ‘मामाकी छोरी विवाह गर्ने चलन थियो’ भनेका छन्- पृ.७१। राजा अशोकले बुद्ध र बाजे चन्द्रगुप्तको जन्मस्थल लुम्बिनी र पिप्कालिनीमा एक भाग मात्र कर लगाई अरू कर माफ गरी सो ठाउँलाई ‘उबलिके’ तथा ‘अठभागिए’ घोषणा गरेका थिए।
बुद्ध जन्मस्थल लुम्बिनीमा अशोक स्तम्भ गाडेकामा स्तम्भको टुप्पाको बाघको चिह्न भुइँमा खसेको छ। साथै बाजेको जन्मस्थल पिपरहवामा श्रद्धाले दुइटा अशोक स्तम्भ गाडेकामा एउटा स्तम्भ खडा छ, एउटा ढलेको छ। सम्राट् चन्द्रगुप्त मौर्यले २४ वर्ष छोरा विंविसारले २५ वर्ष भारतमा राज्य गरेका थिए भने सम्राट् अशोक मौर्यको २६९ इपूमा शुभ राज्याभिषेक भएको थियो।


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...