Friday, June 14, 2019

टोखा जात्रा ओझेलमा

टोखा जात्रा ओझेलमा
चैत्र २९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — टोखाको बिस्काः नखः (बिस्केट जात्रा) लिच्छविकालीन मानिन्छ । भक्तपुरको बिस्काः जात्राभन्दा पनि टोखाको बिस्काःको इतिहास पुरानो रहेको यहाँका स्थानीयबासी बताउँछन् । टोखाबासीका अनुसार जात्राका बारेमा प्रचारप्रसार कमीका कारण ओझेलमा पर्दै आइरहेको छ ।
उनका अनुसार प्राचीनकालमा टोखामा एक भिल्मो नामक राजाले राज्य चलाउँथे । भिल्मो राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजू (पुजारी) थियो । एक दिन श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् ।
पुजारी पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछिन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिकालागि बिस्केट जात्रा सुरु गरेको किम्वदन्ती छ ।
नेवाः गुथि टोखाका अध्यक्ष देवराज डंगोल भन्छन्, ‘टोखाबासीले अहिले पनि नाग र नागिनीको आत्माको शान्तिको कामना गर्दै बिस्काः जात्रा मनाउने गरिन्छ । टोखामा दरबार, तलेजु मन्दिर पनि छ । जात्रामा सरकारी पूजा गर्ने चलन बाँकी नै छ । ऐतिहासिक महत्त्वको जात्रा भए पनि प्रचारप्रसार गर्न नसकेका कारणले सीमित व्यक्तिलाई जानकारी छ ।’ टोखा बिस्काः जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा आठ रात नौ दिन मनाइन्छ ।
औपचारिक रूपमा साताअघि शुक्रबार क्वने लाछी (तल्लो लाछी चोक) मा सिन्दुर जात्रा गरेर सातैवटा खट बोक्ने गुठीयारले नागको प्रतीकको रूपमा ५४ हात अग्लो योसी (लिंगो) ठड्याइपछि जात्रा सुरु गरिएको थियो । अब चैत मसान्तमा सपनतीर्थमा बिहान स्नान गरी शिवपुर वनमा अवस्थित बाघद्धार जाने गरिन्छ । र, बेलुका सपनतीर्थ विनायक र चण्डेश्वरी माईको मूर्ति खटमा राखेर चिलाख बालेर गरी बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ ।
वैशाख १ गते उपत्यका र बाहिरका भक्तजन सपनतीर्थमा स्नान गर्न आउने गर्छन् । तीर्थमा स्नान गरेमा चिलाउने, खटिरा आउने र कुष्ठरोगबाट मुक्त मिल्ने जनविश्वास छ । नेवाः गुथि टोखाका सल्लाकार गणेशमान श्रेष्ठले जात्रा व्यवस्थापन गर्न ३ सय जना स्वयंसेविका परिचालन गरिने बताए । ‘जात्रा अवलोकनमा आउनेलाई मध्यनजर गरेर ठाउँठाउँमा खानेपानी, सरसफाइ गरिएको छ,’ उनले भने, ‘सुरक्षाका लागि प्रहरीसँग समन्वय भइरहेको छ ।’ उनले जात्रा २ लाखजनाले अवलोकन गर्ने अनुमान रहेको बताए ।
टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलले जात्रालाई व्यवस्थापन गर्न सरकारी पूजाका लागि डेढ लाख छुट्ट्याएको बताइन् । ‘कुमारी र गणेशलाई वार्षिक २ लाख ५० हजार, बाजा मर्मत गर्न १० देखि २० हजार रुपैया छुट्ट्याएका छौं,’ उनले भनिन् । जात्रामा मसानकाली मन्दिर परिसर भूतखेल चौरमा होम गर्ने चलन छ ।
वैशाख २ गते चण्डेश्री, सपनतीर्थ, महादेव, सरस्वती, मसानकाली, गणेश, कोथु गणेशको सरकारी पूजा गरिन्छ । जीवित देवी गणेश र कुमारी आगमनपछि सिन्दुर जात्रा प्रारम्भ गरिन्छ । त्यसपछि सांस्कृतिक बाजागाजासहित नगर परिक्रममा गरिन्छ । जुन जात्राको रौकनको रूपमा लिइन्छ । जात्रा नागसँग सम्बन्धित नाच या प्यानाच र नाग प्याँखा देखाइन्छ ।प्रकाशित : चैत्र २९, २०७५ ०७:३९

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...