Thursday, June 13, 2019

मुसहरका कुलदेवता : भुइँया महाराज


मुसहरका कुलदेवता : भुइँया महाराज
पचुलाल माझी, अन्नपूर्ण, ९ चैत्र २०७५

रुति

(श्रुति परम्पराबाट जीवित हाम्रो लोकजीवन अहिले संकटमा छ । घरघरमा कथा कहने, गाथा गाउने, ‘गाउँ खाने–दिने’ जुन चलन थियो, त्यो झन्डै लोप हुँदो छ । लोकवार्ताका विभिन्न रूप हाम्रा मौलिक पहिचान हुन् । लोककथा, दन्त्यकथा, किंवदन्तीहरू तत्कालीन समाज हेर्ने आँखीझ्याल हुन् । हामी यस स्तम्भमा संकलन नभएका ती कथ्य सामग्री छाप्ने छौँ । यस्ता कथामा जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक अनेक विभेद पनि झल्किन सक्छन्, अन्धविश्वास पनि प्रस्तुत हुन सक्छ । ‘पलिटिकल करेक्ट’ हुने नाममा हामी यिनलाई संशोधन गर्ने छैनौँ, किनभने यिनका आधारमा हामीले हाम्रो समाजको अवलोकन–विवेचन गर्ने हो । सच्चिने हो, न कि यिनैलाई सच्याएर छाप्ने । यहाँहरू पनि आफ्नो क्षेत्रका, समुदायका, पाका पिँढीका लोककथा–मिथहरू संकलन गरी पठाउन सक्नुहुन्छ ।)
शक्तिको अवतार लिएर जन्मेका भुइँया महाराज । शक्तिशाली महाराजले मारिदिन्छ भन्ने डरले उनलाई जन्मेको ६ दिनमा नै दैत्य दानवले चोरी नवनिभ भन्ने ठाउँमा बाँसको नजिक अस्सी फुट गाढा (खाल्डो)मा खनेर गाडिदिन्छ ।
१२ वर्षसम्म उक्त गाढामा जीवितै बस्छ, भुइँया महाराज । एक दिन अचानक भविष्यवाणी सुनिन्छ कि नवनिभ नजिक रहेको बाँसको छेउमा दूध चढाउनका लागि त्यो कुरा सुन्नेबित्तिकै सबैजनाले आआफ्नो घरबाट दूध लिएर त्यहाँ चढाउँछन् । त्यो लगत्तै भुइँया महराजले सपना देख्छ कि आफ्नो जाँघमा ताल ठोक्नु (हातले ठोक्नु) आफैँ जमिन फाडिन्छ त्यसैअनुरूप गरी भुइँया महाराज अस्सी फुट गहिरो खाल्डोबाट निस्किन्छ ।
बाहिर आउनेबित्तिकै आमासित भेट्छ तर आमाले चिन्न सकिनन् । त्यसपछि सबै घटना सुनाउँछ । छोरा चोरिएको शोकबाट व्याकुल भएकी आमाको मनमा खुसीको भाव आउँछ । र आफूसित रहेको चिज पकाई खुवाउँछ । छोरा पाएको खुसीमा पूजा गर्नका लागि कमलको फूल ल्याउन भन्छ । भुइँया महराज खोज्दाखोज्दै एउटा पोखरी हेर्छ, त्यसमा धेरै फुल हेर्छ तर उक्त पोखरीको चारैतिर चौकीदारको बास हुन्छ जसलाई लोकगाथामा यसरी भनेका छन् (यो हाम्रो स्थानीय भाषामा देहाती भनिने मगही भाषामा छ ।)
कैइसे लैइबहु हो भुइँया बाबा, कैइसे लैइबहु हो कमलके फुल
उतरे द्वारे हो बैठल दैत दानव हो,
दक्षिणे द्वारे हो बैठल बाघबघिनिया हो,
पुर्वे द्वारे हो बैठल नागनागिन हो,
पश्चिमे द्वारे हो बैठल काल भैरव हो ।”
अर्थात् उत्तरको दिशाको द्वारमा दैत्य दानव । दक्षिणको दिशाको द्वारमा बाघबघिन । पूर्व दिशाको द्वारमा नागनागिन । पश्चिमको दिशाको द्वारमा कालभैरव । कसरी ल्याउने कमलको फूल ? तर भुइँया महराज नडराईकन यी सबैबाट यस पोखरीलाई मुक्त गर्ने र सबैका लागि खुला गर्ने मनशायले दैत दानवसित लडाइँ गर्छ र उसलाई मारिदिन्छ, त्यसपछि बाघबघिनसित लडाइँ गरी पछार्छ र त्यसलाई आफ्नो वाहन बनाउँछ । बाघबघिनमा सवार भई नागनागिनसित लडाइँ गरी नागनागिनलाई नाथ दिन्छ र अन्त्यमा कालभैरवसित लडाइँ गरी हराइदिन्छ र त्यहाँबाट कमलको फूल लिएर जान्छ ।
त्यही भएर भाकल गरेको कुरा पूरा हुनेबित्तिकै भुइँया महराजको अपटौनी (तातो दूधले नुहाउने) पूजा दिन्छ जसबाट भुइँया महराज धेरै नै खुसी हुन्छन् भन्ने मान्यता छ । साथै प्रत्येक माघ १ गते खुसीसाथ भुइँया महराजको धूमधामसित पूजाआजा गरिन्छ । भुइँया महराज मुसहर समुदायको कुलदेवता हो जसलाई भुइँया बाबा पनि भन्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा महोत्तरीदेखि पर्सासम्मका मुसहर समुदायले पुस्तौँदेखि भुइँया महाराजको नामले पुज्दै आएको छ । विस्तारै लोप हँदै गएको यो गाथालाई हामी बचाउँछौँ ।
(सर्लाहीका पचुलाल मुसहर समुदायबाट समाजशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो हुन् । 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...