Monday, June 10, 2019

आज चाख्नुहोस् चाकु

आज चाख्नुहोस् चाकु
माघे संक्रान्ति
माघ १, २०७५
सुनीता साखकर्मी
काठमाडौँ — तराईमा माघे संक्रान्तिसम्बन्धी एउटा भनाइ छ– ‘खिचडी के चार यार– दही, पापड, घी, अचार ।’ अर्थात्, दही, पापड, घ्यू र अचार खिचडीका चार साथी हुन् । माघे संक्रान्तिको दिन तराईमा खिचडीमा तिल पनि हाल्ने चलन छ ।
माघे संक्रान्तिमा तराईमा मात्रैनभई प्राय: मुलुकभर नै विभिन्न परिकार खाने परम्परा छ । सबैजसो जाति–समुदायले आआफ्नै नाममा मनाउने गरे पनि यो चाडका बेला खाइने परिकारहरूले शरीरलाई अत्यावश्यक ऊर्जा दिने गर्छन् ।
सप्तरीकी गीता चौधरीका अनुसार, तराईमा माघे संक्रान्तिलाई ‘तिला संक्रान्ति’ पनि भनिन्छ । थारू समुदायले यसलाई माघी पर्वका रूपमा मनाउने गर्छन् । ‘संक्रान्तिमा तिलका विशेष परिकारहरू बन्ने भएकाले पनि यसको यो नाम रहन गएको हुन सक्छ,’ उनले भनिन्, ‘हाम्रोतिर यो बेला नुहाउनदेखि खानामा र आगो ताप्दा पनि तिलकै प्रयोग गरिन्छ । तराईमा यो दिन तिल, चामल र सक्खर राखेर बनाइने खिचडी विशेष मानिन्छ ।’ गीताका अनुसार, तराईमा संक्रान्तिको दिन बिहानै तिल हालेकै पानीले नुहाइधुवाई गरी तिल, मुरही र चिउराको लड्डु, तिलै हालेको खिचडी, तिलका रोटीहरू, तरुवा (तरुलको परिकार) लगायत खाने गरिन्छ ।
‘तराईमा सेतोभन्दा पनि कालो तिल मिठो मानिन्छ । यी परिकार पाकेपछि सबैभन्दा पहिले देवतालाई चढाइन्छ, अनि मात्रै मान्छेले खान्छौँ,’ केही वर्षयता ललितपुरको टीकाथलीमा बस्दै आएकी उनले भनिन्, ‘घुँगी, माछा, मासु, गंगटालाई पकाएर खाने चलन छ ।’
यस्ता परिकारहरू खानाले ‘जाडो याममा शरीरमा चिसो लाग्न नदिने र रोगव्याधिबाट बचाउने’ मान्यता छ । ‘सप्तरीमा तरुल नपाइने हुनाले यो खाने चलन थिएन,’ उनले भनिन्, ‘त्यसको बदला सखरखण्ड (सुठुनी) खान्थ्यौँ । तर टीकाथलीमा बस्न थालेदेखि यो दिन
तरुल पनि खान थालेका छौँ । देशअनुसारको भेष !’
माघे संक्रान्तिका बेला तराईमा गाउँघरतिर मुखिया चुन्ने कार्यक्रम पनि हुन्छ । पहिलेको ऋण चुक्ता गरी नयाँ लिने चलन पनि थारूहरूमाछ । ‘यो दिनमा विवाहित वाअविवाहित छोरीबेटीलाई चामल, दाललगायत निचरो दिने चलन पनि छ,’ गीताले सुनाइन् ।
मगर समुदायकाले माघे संक्रान्तिलाई ‘माघे संकराई’ भन्ने गर्छन् । संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार, मगर जाति आदिवासी भएको हुनाले यो दिन कन्दमुल, पिँडालु, वन तरुल, घरतरुल खाने चलन छ । ‘प्राकृतिक रूपमा पाइने दालबाली, तरुल, जौजस्ता अर्गानिक खानेकुरा खाइन्छ । संक्रान्तिको दिन जौको फूल टाउकोमा सिउरिने चलन पनि छ,’ उनले भनिन्, ‘यो दिन खोलामा गई माछा मार्ने, सुंगुर/राँगाजस्ता घरपालुवा जनावर काट्ने वा वन गई मृग मारी खाने चलन पनि छ, मगर समुदायमा ।’
बमकुमारीका अनुसार, मगर समुदायमा असारदेखि पुससम्म गरिने नाचगान यही माघे संक्रान्तिपछि अर्को असारसम्मका लागि औपचारिक रूपमा बन्द गर्ने परम्परा छ । योबीचको अवधि नयाँ पुस्तालाई सिकार गर्न सजिलो होस् भनेर ‘तारा खेल’ को अभ्यास गराइन्छ । ‘माघ महिनाको सुरुमा तारा खेल सिकेर गर्मी महिना सिकार खेलेर बिताइन्थ्यो,’ उनले सुनाइन् ।
संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार, यो बेला किरातीहरूको मेनुमा भने तरुल, माछा, मासुलगायत ‘झोले वा’, ‘वाचिप्पा’ पर्छन् । सामान्य कोदोको जाँडरक्सीलाई घ्यू र तेलमा मरमसलासँगै झानेर ‘झोले वा’ बनाइन्छ । वाचिप्पा चाहिँ कुखुराको सानो प्वाँखलाई पोलेर त्यसको धुलोमा पखेटा, खुट्टा, भित्र्यांश मिसाई भातसँग पकाएर बनाइन्छ ।
‘पहिले गाउँघरमा जंगलतिर गई सिकार गरेर मासुको व्यवस्था गरिन्थ्यो,’ तीर्थराजले भने, ‘विभिन्न किसिमका तरुलहरू पोलेर खाने चलन थियो । पोल्दा कालो भएको तरुलको बाहिरी भागलाई टीकाको रूपमा लगाउने गरिन्थ्यो । अहिले तरुल उसिनेर खाने गर्छन्, जताततै ।’
उनका अनुसार, संक्रान्तिको दिन चामलसित सिलाम र सेल खाने गरिन्छ । त्यस्तै गहतको झोल र मुलाको सिन्कीले पनि शरीरलाई न्यानो दिने उनले बताए ।
नेवारलगायतका विभिन्न समुदायमा जाडोमा चाकु, तिलको लड्डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने प्रचलन छ । सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक भएको पोषणविद् डा. अरुणा उप्रेतिले सुनाइन् । जाडोमा चाकु, घ्यू, तिल, खिचडी, मासको दाल, तरुलजस्ता खानेकुरा पौष्टिक हुनुका साथै यसमा भएका विभिन्न पदार्थले शरीरलाई ऊर्जा दिन्छन् । अरुणाका अनुसार, चाकुमा पर्याप्त मात्रामा क्याल्सियम र आइरन हुन्छ भने तिलमा भिटामिन ए, सूक्ष्म पोषणतत्त्व आदि पाइन्छन् ।
‘हामीले खाने कालो तिलमा बढी आइरन हुन्छ । तिलको तेल छालाको लागि पनि राम्रो हुन्छ,’ उनले भनिन्, ‘सन् २००६ मा अमेरिकामा भएको बायोलोजिकल अनुसन्धानमा तिलको तेलको प्रयोगले ब्लड प्रेसर घटाउन मद्दत गर्ने निश्कर्ष निकालिएको थियो ।
त्यस्तै, महिनावारी सुकिसकेका महिलामा हर्माेन उत्पादनको लागि र गर्भवतीका लागि पनि तिल लाभदायक छ । शरीरलाई चाहिने क्याल्सियम र म्याग्नेसियम, भिटामिन ए, पोटासियम पनि हुने भएकोले तिल कोलेस्ट्रोल घटाउनसमेत उपयोगी हुने गर्छ ।’
तरुलमा कार्बाेहाइड्रेड र अन्य सूक्ष्म पोषकतत्त्व हुने भएकोले यसलाई उसिनेर वा तरकारीको रूपमा जुन हिसाबले खाए पनि शरीरलाई ऊर्जा मिल्ने उनले बताइन् । तरुल रेसादार पदार्थ भएकोले यसमा प्रोटिन, फाइबर र भिटामिन ‘डी’ को मात्रा बढी हुने उनले जनाइन् ।
‘कति जनाले यसलाई गुलियो आलु भन्ने गरेका छन्,’ अरुणाले भनिन्, ‘नेपालकै चेपाङ समुदायले पनि तरुल खान्छन् । अफ्रिकामा पनि यो खाइन्छ ।’ प्रकाशित : माघ १, २०७५ ०८:१०

यले संवत्‌को संवर्द्धन

यले संवत्‌को संवर्द्धन 
अस्तित्व र अधिकार खोजी गर्ने क्रममा किरात राजा यलम्बर सम्झनेहरू बढ्दै गएका छन् ।
माघ १, २०७५
अर्जुन जम्नेली राई
काठमाडौँ — नेपालको इतिहासमा किरात राजा यलम्बर खिएर सकिन लागेको अवस्थामा भेटिन्छन् । अस्तित्व र अधिकार खोजी गर्ने क्रममा यलम्बरको सम्झना गर्नेहरू बढ्दै गएको देखिन्छ । जानी–नजानी प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन हाङ यलम्बरको तस्बीर राखेर स्मरण गर्ने चलन व्यापक बन्दैछ ।
यो माघ १ मा ५०७९ सुरु भएको छ । पूर्वी नेपालमा बसोबास गर्दै आएका किरातीले माघ १ गतेलाई नयाँ संवत् (नयाँ वर्ष) का रूपमा मनाउने गर्छन् । यस दिन किरातीहरू राई, लिम्बु, याक्खा र सुनुवारहरूले आआफ्नै अनुकूलतामा कार्यक्रम गरेर शुभकामना आदान–प्रदान गर्छन् ।
किरातहरूले आफ्नो पुर्खाले जंगली अवस्था पार गरेर कृषि युगमा प्रवेश गरेको दिनका रूपमा समेत माघ १ लाई सम्झने गर्छन् । विभिन्न खाले तरुल, गिठ्ठा भ्यागुर उसिनेर खाने चलन छ । तरुल डढाएर टीका लगाएर जंगली युग सम्झने पनि गरिन्छ ।
यले संवत् सुरुवात
किरातकालीन प्रथम राजा हाङ यलम्बरको सम्झनामा यले संवत् सुरु भएको हो । यसलाई लिम्बुले यले तङ्बे, राईले यले दोङ, सुनुवारले यले थोचे भन्ने गर्छन् । हाङ यलम्बरले शासनसत्ता सञ्चालन सुरु गरेको समयदेखि यो संवत् गणना हुन्छ । इतिहास अनुसार जंगलै–जंगलले ढाकेको वर्तमान १ नम्बर प्रदेशलाई किराती पुर्खाले आवाद गरेका थिए ।
तिनै किरातहरूले वर्तमान राजधानी काठमाडौंमा महिषपालवंशी राजालाई पराजित गरेर शासनसत्ता स्थापित गरेका थिए । यलम्बरले सुरु गरेको किरातकाल ३२ पुस्ता गरी १९०३ वर्षसम्म चलेको बताइन्छ ।
किरातहरूको सामाजिक संस्थाहरूले हाङ यलम्बरले शासन सुरु गरेको मितिलाई आधार मानेर यले संवत् गणना गर्दै आएका हुन् । तर विभिन्न अध्ययनले किरात राजाहरूको नाम तथा उनीहरूले शासन चलाएका वर्ष हिसाब गर्दा यले संवत् नमिलेको भनी तर्क गर्दै आएका छन् ।
यले संवत्को प्रचलन
पहिचान सम्बन्धी चेतना खुलेका आदिवासी किरात समुदायद्वारा प्रकाशित संस्थागत मुखपत्र, पत्रपत्रिका तथा कार्यक्रममा लामो समयदेखि यले संवत् उल्लेख हुँदै आएको पाइन्छ । राई, लिम्बु, याक्खा र सुनुवार जातिको सामाजिक व्यक्तिहरूले यले संवत्लाई आन्तरिक कार्यक्रमहरूमार्फत प्रचलनमा ल्याउने प्रयास गरेको देखिन्छ ।
सरकारी तवरबाट भने गोरखापत्र दैनिकले गणतन्त्र स्थापनापछि २०६४ सालमा सुरु गरेको ‘नयाँ नेपाल’ पृष्ठमा यले संवत् उल्लेख गर्‍यो । यस अघि सुनसरीको धरानबाट प्रकाशन हुँदै आएको औजार दैनिक पत्रिकले केही वर्षसम्म यले संवत् उल्लेख गरेका थिए । २०७२ मा संसद्मा यले (यलम्बर) संवत्को पहिचान हुनुपर्ने आवाज उठेपछि सरकारले यसलाई किरात संवत् भनी सूचीकृत गरेको छ ।
क्यालेन्डर निर्माणको दायित्व
बढ्दो विश्वव्यपीकरणसँगै नेपालका भाषा, लिपि, धर्म, संस्कार, उत्पादित सामग्रीमा आएको नकारात्मक प्रभावले यले संवत्लाई पनि छोएको छ । लेख तथा पुस्तकमा विक्रम संवत् नभएर इस्वी संवत् लेख्ने क्रम बढ्दो छ । विदेशीलाई बुझ्न र बुझाउन सजिलोका लागि पनि इस्वी संवत् राख्नैपर्ने बाध्यता बनेको हो ।
तर प्रदेश १ को सरकारले यले संवत्लाई आधिकारिक क्यालेन्डर निर्माण गरेर प्रचलनमा ल्याउन सक्छ, ल्याउनुपर्छ । यो प्रदेशमा यले र इस्वी संवत् चलाउँदा उपयुक्त हुन्छ । यसमा सरोकारवालाको सिर्जनात्मक पहलकदमी जरुरी छ ।
लेखक किराती राष्ट्रिय मुक्तिमोर्चाका महासचिव हुन्newsjamneli@gmail.com प्रकाशित : माघ १, २०७५ ०७:५०

थारू बस्तीमा माघीको उल्लास

थारू बस्तीमा माघीको उल्लास
जिता, ढिक्री, घोंगी र मुसाका परिकार
छोराछोरीको विवाह मिति तय
माघ १, २०७५प्रदेश ५ ब्युराे
बुटवल — पश्चिम तराईका थारू गाउँलाई माघीको रौनकले छपक्कै छोपेको छ । सोमबारदेखि खानपान र नाचगान सुरु भए । गाउँमा परदेशी फर्किएका छन् । यसलाई बहुआयामिक पर्व मानिन्छ । माघ १ गते परिवारका सबै सदस्य स्वतन्त्र हुन्छन् ।
आत्मनिर्णयको अधिकार उनीहरूलाई दिइन्छ । यसैले माघीलाई स्वतन्त्रताको पर्व भनिन्छ । ठूलो परिवार अलग–अलग हुन सक्छन् । छोराछोरीको विवाहको मिति तय गरिन्छ । घरमूली फेर्न पाउँछन् । गाउँका लागि आवश्यक नियम यही दिन तय गरिन्छ ।
‘गाउँका अगुवा (बडघर) पनि चयन गरिन्छ,’ अगुवा नारायण चौधरीले भने, ‘माघी लोकतान्त्रिक पर्व हो ।’ थारू समुदायले यसलाई वैज्ञानिक पर्वका रूपमा मनाउँछन् । यतिबेला घरमा खाद्यान्न र बारीमा तरकारी हुने भएकाले पर्व मनाउन सहज छ । बडघर छनोट गर्न गाउँभरिका परिवारका घरमूलीले आफ्ना मत वा तर्क पेस गर्छन् । थारू समुदाय संस्कृतिको खानी मानिन्छ । पछिल्लो समय संस्कृति बिर्सिन थालेपछि यसलाई सांस्कृतिक अभियानका रूपमा मनाउन थालिएको हो ।
दाङ, बाँके र बर्दियाका थारू बस्तीमा सोमबार मासुका लागि (जिता) सुँगुर–बंगुर मारिएका छन् । ढिक्री पकाउन सुुरु भइसकेको छ । घोंगी, माछा, मुसाका परिकार तयार भइसकेका छन् । राति माघी नहान (स्नान) गरिन्छ । गाउँगाउँमा सांस्कृतिक कार्यक्रम राखिएका छन् । माघीले समुदायमा उत्साह थपेको छ । सोमबार राति १२ बजेपछि तालतलैया, नदीमा गएर स्नान गरी शिवालयमा जल चढाउने परम्परा छ ।
स्नानपछि आफूभन्दा ठूलालाई ढोग गरी (निसराउ) चामल छुनुपर्छ । जुन चालम विपन्नलाई दान दिने र उब्रेमा दिदीबहिनीलाई कोसेली पठाइन्छ । ‘मासुका लागि जिता तयार भइसक्यो,’ बाँके बैजनाथ–८ का बडघर केदार चौधरीले भने, ‘सोमबार बिहानैबाट चहलपहल बढेको छ । रमाइलोसुरु भइसक्यो ।’
माघी लक्षित गरेर बैजनाथ गाउँपालिका गुरुदयालपुर, राप्ती सोनारी गाउँपालिकाको भुवरभवानी, बर्दियाका बाँसगढी नगरपालिका, ठाकुरद्वारा, सदरमुकाम गुलरियामा महोत्सव तथा मेला आयोजना गरिएको छ । त्यहाँ माघी परिकार बिक्रीमा राखिएका छन् । परम्परागत पहिरनमा सजिएर माघीका गीत गाउँदै रमाइरहेका छन् ।
ढिक्री र मघौटा
माघीमा थारू समुदायले पकाउने महत्त्वपूर्ण परिकार ढिक्री हो । यसले बेग्लै पहिचान बनाएको छ । अहिले माघीको रौनकसँगै थारू गाउँमा ढिक्री पाकिरहेका छन् । अन्य समुदायका मानिस यसको स्वाद लिन थारू गाउँ पस्छन् । अचेल औपचारिक कार्यक्रममा पनि खाजाका रूपमा ढिक्री खुवाउने गरिन्छ । यो चामलको पिठोको परिकार हो । यो बाफबाट पकाइन्छ ।
पकाउने तरिका म:मको जस्तै हो । ‘थारू समुदायका चाडपर्व भनेपछि ढिक्रीको नाम आइहाल्छ । ढिक्री नपकाएसम्म पर्व नै मनाइँदैन,’ घोराही १०, नारायणपुरकी सरस्वती चौधरीले भनिन्, ‘हामीले ढिक्रीलाई महत्त्वपूर्ण परिकार मान्दै आएका छौं । अरू समुदायका पनि थारू गाउँ आएपछि ढिक्री खोज्छन् ।’ माघीको अवसरमा ढिक्री पकाउने, अचार बनाउने, रोटी पकाउने, सुँगुर काट्नेलगायत काम चलिरहेका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेको छ । माछा, खसी, सुँगुर, कुखुरा मार्नुका साथै तरुल पनि खनिएका छन् ।
खास माघी पर्व माघ १ गते हो । यस दिन बिहानै नुहाउने, अग्रजसँग टीका ग्रहण गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा निसराउ दिन जाने चलन छ । माघीमा मघौटा गीत गाइन्छ । घरघरमा नाचगान गर्दै जाने र ढिक्री खाने परम्परा रहेको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘माघीमा मघौटा गीत र नाचसँगै ढिक्री खाएर रमाइलो गरिन्छ,’ उनले भने, ‘ढिक्री थारूको पुरानो परिकार हो । यसलाई विभिन्न पौराणिक कथासँग जोडेर व्याख्या गरिन्छ ।’ पाँच पाण्डवमध्येका सबैभन्दा बलिया भीम भएको र उनले पिठोको नपाकेको रोटी खाएको कहानीसँग पनि ढिक्रीको प्रसंग जोडिने उनले बताए ।
चलन हरायो
माघी थारू समुदायको नयाँ वर्ष हो । यस दिन वर्षभरिको योजना तर्जुमा गरिन्छ । जिम्मेवारी बाँडफाँट हुन्छ । पहिले माघीका दिन मुखिया चुन्ने चलन थियो । सबैले सम्मान गर्ने र न्याय गर्न सक्ने व्यक्तिलाई वर्षदिनका लागि मुखिया चुन्थे । गाउँघरमा झगडा, दु:ख पर्दा, सहयोग आदानप्रदान मुखियाको निर्देशनमा हुने र जग्गाको तिरो उनैमार्फत बुझाउने चलन थियो ।
अहिले उक्त चलन हराएको छ । पश्चिम नवलपरासीको सरावलका ७५ वर्षीय जितबहादुर चौधरीलाई गाउँमा मुखिया चुन्ने परम्पराको अझै सम्झना छ । ‘गाउँभरिका जम्मा भएर नाचगान गर्ने, मीठो खाने र आपसमा सहमति गरेर एक अगुवालाई मुखिया चुन्ने गरिन्थ्यो,’ उनले भने, ‘बहुदल आएपछि राजनीतिक पार्टीको चहलपहलले यो प्रथा हराएजस्तो भयो ।’
थारू गाउँ मिश्रित समुदाय भयो । नयाँ पुस्ताले आफ्नो भाषा नजान्ने अवस्था आएपछि यसको संरक्षणमा थारू अगुवाले चासो देखाएका छन् । मौलिक पोसाक र संस्कृति संरक्षणका लागि विभिन्न स्थानमा महोत्सव गर्ने, मौलिक नाच प्रतियोगिता गर्ने र नयाँ पुस्तालाई मौलिक संस्कृतितर्फ आकर्षण गर्न खोजिएको स्थानीय मनीराम थनैतले बताए ।
चेली पुज्ने पर्व
माघी ठाउँ र परिवेशअनुसार फरक–फरक तरिकाले मनाइन्छ । पूर्वी रुकुममा मीठो खाने, सिस्नो हान्ने र परम्परागत खेल खेलेर मनाउने चलन छ । केही क्षेत्रमा छोरीबहिनीलाई पुज्ने गरिन्छ । मगर समुदायले माघीमा चेली पुज्ने गर्छन् । पुथाउत्तरगंगा र भूमेका अधिकांश र सिस्ने गाउँपालिकाका केही ठाउँमा छोरीबहिनीको पूजा गरिन्छ ।
यो चलन ठाउँपिच्छे फरक छ । कति ठाउँमा बिहान भाले बास्नेबित्तिकै र कति ठाउँ ढिला गरेर छोरीबहिनी पुज्ने गर्छन् । पुजिसकेपछि उनीहरूलाई मीठा परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । ‘दिन लामा हुने, रात छोटा हुने, जाडो भाग्ने र न्यानो लाग्ने संक्रान्तिका रूपमा यसलाई लिइन्छ,’ भूमेका अध्यक्ष रामसुर बुढामगरले भने, ‘छोरीबहिनी पुज्ने चलन उहिल्यैदेखिको हो ।’
मगर समुदायले छोरीबहिनी पुजिसकेपछि ‘अस्तासिन्या’ सुरु गर्छन् । हरेक वर्षको माघ महिनाको पहिलो दिन सुरु हुने ‘अस्तासिन्या’ सात दिनसम्म चल्ने गर्छ । खाम भाषामा ‘अस्तासिन्या’ को अर्थ तारो अर्थात तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि ‘अस्तासिन्या’ हान्न थालिएको भनाइ छ ।
जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाका अधिकांश ठाउँ र सिस्नेका केही गाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगाको १ देखि ४ वडामा यो पर्व विशेष धुमधामसाथ मनाइन्छ । प्रकाशित : माघ १, २०७५ ०८:१६

प्रजातान्त्रिक बडघर प्रथा

प्रजातान्त्रिक बडघर प्रथा
माघी–पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । यो दिन अघिल्लो वर्ष बढघरद्वारा निर्वाचित नेतृत्वको बिदाइसाथै नयाँ वर्षको योजना बनाइन्छ ।
माघ १, २०७५नीरा भगत थारू
काठमाडौँ — माघी थारूहरूको महत्त्वपूर्ण चाड हो । यसै दिनदेखि नयाँ वर्ष, नयाँ काम, नयाँ जोसजाँगर सुरु हुन्छ तर गरिब थारूका लागि माघी पेटभरि मासुभात खाने र कमैयाका नाममा आफू बेचिने दिन पनि हो । कमैया प्रथा कागजी उन्मूलन भए पनि व्यावहारिक रूपमा सरकारले उन्मूलन गरेन । गाँस, बास, कपास नभएका व्यक्ति, उन्मुक्ति भयो भन्दैमा सडकमा निस्किएर के खानु ? कहाँ बस्नु ? के लगाउनु ? अनि बाध्य भएर पुन: कमैया हुनुपर्‍यो बाँच्नका लागि । जुनसुकै थारू नेता भए पनि थारूको यो मर्म कसैले बुझ्न सकेन । हेमन्त ऋतुबाट वसन्त ऋतु परिवर्तनसँगै दक्षिणायनबाट उत्तरायणमा प्रवेश गर्ने दिन हो माघ १ गते ।
माघी–पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । यो दिन अघिल्लो वर्ष बढघरद्वारा निर्वाचित नेतृत्वको बिदाइसाथै पुरानो वर्षको आर्थिक कारोबार बन्द गरी नयाँ वर्षको योजना बनाउने काम गरिन्छ । गाउँभरिका थारू समुदायका सबै उमेर समूहका मानिस भेला भई नयाँ सालका लागि नेतृत्व (मुखिया–गच्छदार) को चयन गरिन्छ । थारू समुदायको प्रथाजनित लोकतान्त्रिक संस्थालाई बढघर भनिन्छ ।
माघीमा थारूहरूले तिलको लड्डु, मुरै (भुजा) को लड्डु, चिचिरी/चचर (अनदी धानको चामललाई उमालेर बनाएको चाम्रे भात) र अलुवा (सगरखण्ड) खाने प्रचलन छ । पश्चिम तराईमा चचर र पूर्वी तराईमा चिचिरी खानाको परिकार नै माघीको महत्त्वपूर्ण मानिन्छ । चचर/चिचिरी मांसहारीहरूले मनपर्दाे मासुको परिकारसँग र शाकाहारीले दूध र सक्खरसँग खाने प्रचलन छ ।
उक्त परिकारसँगै कोसीपूर्वका थारू समुदायले भक्का खाने गरेको पाइन्छ भने कोसी पश्चिम कमलापूर्वका थारूहरूले बयिया खाने गरेको पाइन्छ । थारू संस्कृति झल्काउने नाचगानसहित वर्षभरि सुख, शान्ति र समृद्धिका लागि मान्यजनबाट आशीर्वाद लिने र एकापसमा शुभकामना आदानप्रदानका साथै विविध कार्यक्रम गर्ने गरिन्छ ।
लामो समयदेखि चलेका आन्दोलनमा आदिवासी जनजातिका अधिकारलाई मौलिक अधिकारका रूपमा संवैधानिक व्यवस्थापन गर्नुपर्ने र एकात्मक राज्यसत्ताले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले समाप्त गर्ने प्रयत्न गर्दा समेत आदिवासी जनजातिले बचाएका मौलिक ज्ञान, सीप र प्रविधिलाई आधुनिक राजनीतिक विज्ञानसम्मत ढंगले प्रयोग गर्न पाउनुपर्छ भन्ने माग रहिआएको छ । उक्त ज्ञान, सीप र प्रविधि सबै नेपालीको उपलब्धिका रूपमा स्थापित हुन गई नेपालीको समृद्धिका लागि साधन बन्न सक्नेछ ।
सोहीअनुसार नेपालको तराई भूभागमा पूर्व मेचिदेखि महाकालीसम्म फैलिएर रहेको थारू समुदायले अवलम्बन गरेको माघी पर्व (संस्कृति) भित्र रहेको मौलिक गुण बिस्तारै व्यवस्थापन हुन गइरहे संघीय लोकतन्त्रको व्यवस्थापनमा टेवा पुग्छ । संघीय लोकन्तत्रको खोज नेपाली माटामै थारू आदिवासीहरूको परम्परागत मौलिक ज्ञान, सीप र प्रविधिका रूपमा रहेको बढघर प्रथाका रूपमा प्रयोग भएको प्रत्यक्ष लोकतान्त्रिक पद्धतिलाई आधुनिक राजनीतिक विज्ञानले विकास गरेका मान्यताको कसीमा प्रयोग गर्न सकिन्छ ।
गौतम बुद्धले व्याख्या गरेको संघम् शरणम् गच्छामिको अंशका रूपमा रहेको बढघर प्रथालाई आधुनिक रूपमा विकसित संघीयतामा प्रयोग गर्न सकिन्छ । दुनियाँमा २ सय वर्षको साम्यवाद र उदारवादबीचको द्वन्द्वका बीचमा विज्ञान प्रविधिको अकल्पनीय विकास त भयो तर मानव समाजमा शान्ति र अमनचयन हुन सकेन ।
राजनीतिले संघीय लोकतन्त्रको व्यवस्थापन गर्न कसरत गरिरहेको अवस्थामा नेपाली समाजमै विकसित भएका सम्यतामध्येको शान्त, सरल र इमानदार समुदायका रूपमा स्थापित थारू समुदायले अविच्छिन्न रूपमा मान्दै आएको पर्व र त्यससँगै प्रयोगमा ल्याएको प्रत्यक्ष लोकतान्त्रिक पद्धतिलाई परिष्कार गर्दै विकास गर्न सके थारू समुदायका साथै लामो समयदेखि कायम रहेको अस्थिर नेपाली राजनीतिले स्थिरता प्राप्त गर्न सक्छ । राष्ट्र समृद्ध बन्न सक्छ ।
आधुनिक खगोलशास्त्रीय हिसाबले पुष्टि गर्न सफल ऋतु परिवर्तनलाई नयाँ वर्षको रूपमा मान्दै आएको वैज्ञानिक आधारलाई समेत नेपाली संवत्का विषयमा बहस र छलफल गर्नु सान्दर्भिक हुन्छ । माघी पर्व वा संस्कृतिलाई बचाउनु संघीय लोकतन्त्रको संरक्षण गर्नु हो । प्रकाशित : माघ १, २०७५ ०७:५४

किपुमि’को भूमि बेदखल

किपुमि’को भूमि बेदखल
त्रिविले जग्गा कुन संविधान, कानुन र ऐनअनुसार गैरशैक्षिक प्रयोजनमा बाँड्दै आएको छ, सार्वजनिक रूपमा जवाफ दिनु जरुरी छ ।
माघ १, २०७५राजेन्द्र महर्जन
काठमाडौँ — महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो, एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा मैले सोधेँ–बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ? – संगीत स्रोता
पहिले तरवारले इतिहास लेखिन्थ्यो, अचेल कलमले । तरवार होस् या कलम, ती सत्ता–शक्तिका दोधारे अस्त्र हुन् । यहाँको ‘राष्ट्र निर्माण’को इतिहास र ‘राष्ट्रिय एकीकरण’को कथा यस्तै दोधारे अस्त्रले लेखिएका छन् । कसैलाई त्यस्ता इतिहास र कथा लेख्ने कलमको मसी कसकसको रगतले बनेको रहेछ भन्ने प्रश्न महत्त्वपूर्ण नलाग्न सक्छ ।
तर कसकसको भूमिमाथि वर्तमान एकीकृत राष्ट्रदेखि राज्यको ढाँचा ठड्याइएको भन्ने प्रमुख सवाललाई बेवास्ता गर्न सकिँदैन । यो भूमिबाट बेदखल गरिएका किसानको भावनाको सवाल होइन, भूमि र स्वामित्वको प्रश्न हो, अत्यन्त ठोस र मूर्त मुद्दा हो । चाहे कीर्तिपुर होस् या चित्रपुर (चोपुर), अढाई सय वर्षअघि नाक–कान काटिएको कुरा धेरैका लागि इतिहासको अर्थहीन कोट्याइ होइन । नाक कटुवा पराजित जनताको भूमि–हरणले भावी साढे दुई सय वर्षलाई समेत प्रभावित पार्नेवाला छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले ‘राष्ट्र निर्माण’का क्रममा सयौं पराजित रैतीका नाक–कानमात्रै काटेका थिएनन्, तिनको भूमि हडप्दै जमिनका भोका गोरखालीलाई बाँडेका पनि थिए । ‘जति–जति अरू देश जित्न सकिन्छ, त्यति–त्यति त्यहाँका जनताको जमिन तिमीहरूले पाउँछौ’ भनी लोभ्याउँदै शाहले उनीहरूलाई गोरखाको राज्य विस्तारमा होमेका थिए ।
पुरातत्त्वविद् तथा इतिहासकार शुक्रसागर श्रेष्ठले पराजयपछि आफ्नो नाक काटिएका र जमिन कब्जा गरिएका ‘किपुमि’ (कीर्तिपुरवासी) ले राजा पृथ्वीनारायणलाई बुझाएको विन्तीपत्र सार्वजनिक गरेका थिए । विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका किपुमिको जग्गा तुरुन्त दर्ता गर्न र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकाले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ ।
५ सय किपुमिलाई कब्जा गरिएको जग्गाजमिनबाट कटाएर प्रतिपरिवार दुई रोपनी पानी नलाग्ने टारको जग्गा दिइएको पनि जनाउ दिन्छ । उनीहरूको जग्गा दर्ता पनि मूल पुरोहितको तिरोतिरानमा पारियो, जुन सबभन्दा कठिन तिरान थियो । राजाले पनि मिनाहा गर्न नसक्ने पुरोहितको तिरानमा सुक्खा या अति वर्षाले उब्जनी नभए पनि आधा बाली बुझाउनैपथ्र्यो, ऋण काढेर भए पनि ।
भूस्वामीबाट भूमिहीन
गोरखाली शासकबाट हारेका र जग्गा खोसिएका अधिकांश किपुमिहरू जग्गाधनी किसानबाट जग्गा जोत्ने वा कमाउने मोहीमा फेरिए । गोरखाली शासकहरू तल्सिङ वा जग्गाधनीका रूपमा प्रकट भए । कीर्तिपुर र अधिकांश विजित क्षेत्रका जनजातिको जग्गाजमिन गोरखाली खस–आर्य समुदायका शासक वर्गको स्वामित्वमा हस्तान्तरण हुनुमा युद्धमा पराजय मूल कारण हो, जसलाई अचेल ‘राष्ट्रिय एकीकरण’को गलैंचाले छोप्ने काम गरिएको छ ।
‘राष्ट्र निर्माण’को नामकरण गरिएको विजय अभियानसँगै जमिन र राज्यमाथि शाह शासकसँगै गण्डक क्षेत्रका ‘छ थरघर’ भनिने अर्याल, पाँडे, पन्थ, खनाल, बोहरा आसिन भए, पछि थापा, बस्न्यात, कुँवर र ठकुरी थपिए । आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीका अनुसार गोरखाली शासकहरूले ‘नेपाल मण्डल’को वैभव, तराई–मधेसको जंगल तथा भारत–भोट व्यापारमाथि कब्जासँगै विशाल भूमिमाथि प्रभुत्वका लागि राज्य विस्तार गरेका थिए । जति बेसी युद्ध र विजय, त्यति बेसी जग्गाजमिन र जागिरको नाराका साथ गरिएको लामो युद्धपछि विस्तारित भएका गोरखाली शासकहरूले केन्द्रीय तहबाटै सामन्तवादको सट्टा ‘भूपति राज्य’ (स्टेट ल्यान्डलर्डिजम) लागु गरेका थिए ।
‘थ्याच्ड हट्स एन्ड स्टुक्को प्यालेसेस’मा रेग्मीले शाह र राणा शासकहरूसँगै ‘नयाँ राजनीतिक कुलिन वर्ग’ले गरिखाने वर्गका श्रम र पसिनासँगै जग्गाजमिन हडपेर ठड्याएका महल, दरबार र निवासको निर्माणको कथा लेखेका छन् । महाराजगन्जदेखि जावलाखेलसम्म ‘राष्ट्र–निर्माता’हरूका विलासी भवन कुन–कुन रैथाने किसानका उब्जाउ खेतमा बनाइएको थियो, जगजाहेर छ ।
अध्येता नाति महर्जनका अनुसार नेवारहरूको मात्रै १० हजार रोपनी जग्गा खोसिएको थियो । अध्येता रामभक्त श्रेष्ठ र अन्यका अनुसार कुलेश्वर आवास योजनाका लागिमात्रै ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो, जुन अधिकांश नेवारको थियो । त्यस्तै सिंहदरबार र त्यस वरपरका ‘पता:बुँ’ र ‘फिबुँ’ जस्ता उर्बर फाँट पनि भवन ठड्याउन हडपिएको थियो ।
जग्गाजमिनको अधिग्रहण हुनुको अर्थ खाने अन्न र खेतको स्वामित्वबाट मात्रै हात धुनु होइन, बास, शिक्षा, सम्पत्ति, सत्ता–शक्तिबाट पनि च्युत हुनु हो । गोरखादेखि नेपालसम्मका नयाँ–पुराना राजनीतिक कुलिन वर्गका नश्ल, वर्ण, जात, थर र लिङ्गको पहिचान गरेपछि बहुसंख्यकको वञ्चितीकरण र अल्पसंख्यकका सशक्तीकरणका जातिवादी आयाम घामजत्तिकै छर्लङ्ग हुन्छ ।
अधिग्रहणमा सत्ता–शक्ति–सम्पत्तिको सम्बन्ध
यस्तै कुरूप आयाम देखिन्छ, त्रिभुवनका नाममा विश्वविद्यालय स्थापनाका लागि गरिएको कीर्तिपुरको करिब ४ हजार ९ सय रोपनी जग्गाजमिनको अधिग्रहणमा पनि । रोपनीको ३७५ रूपैयाँको दरले २०१३ सालदेखि जबर्जस्ती थालिएको जग्गा अधिग्रहणले नाक–कटुवा किपुमिहरूको अर्काे दु:खान्त कथालाई उजागर गरेको छ ।
यसले भूमिसँगै रोजगार, आर्थिक प्रगति, राजनीतिक शक्तिबाट उनीहरूको वञ्चितीकरणलाई तीव्र र सघन पारेको छ, जुन पराजित जनताको सत्ता–शक्ति–सम्पत्तिबाट विस्थापनकै निरन्तरता बाहेक केही होइन । शिक्षाको प्रसार र ज्ञान उत्पादनका नाममा गरिएको जमिनको बेदखलीपछि कुन सत्ता–शक्तिका लागि कस्तो बुद्धि र बुद्धिकर्मी उत्पादन गरियो, कति किपुमिले शिक्षा र ज्ञानको उज्ज्वल प्रकाशसँगै रोजगारको टेको पाए, कति गैर–किपुमिले उच्चशिक्षा अध्ययनदेखि अध्यापन, प्रशासन, नीति–निर्माण तहमा हालीमुहाली चलाउन भ्याए, प्रस्ट छ ।
क–कसको कति रोपनी जमिन अधिग्रहण गरियो, जग्गाधनीलाई न्यायोचित मुआब्जा दिइयो कि दिइएन, न्यूनतम मुआब्जा सबै जग्गाधनीले पाए कि पाएनन्, त्रिभुवन विश्वविद्यालय, सरकारले समेत चिन्ता र चासोसहित लगत राख्न वा सार्वजनिक गनु जरुरी ठानेका छैनन् ।
त्रिभुवनका नाममा विश्वविद्यालय बनाउन उनका दुई श्रीमतीको अध्यक्षतामा २०१२ सालमा गठित कमिसनले पहिले प्रस्तावित छाउनी, लुँबु र महाराजगन्जमा जग्गा अधिग्रहण नगर्नुमा सत्ता–शक्ति–सम्पत्तिको सम्बन्ध देखिन्छ । लुँबुमा रहेको जग्गाको स्वामित्व तिनै महारानीहरूको नाममा थियो । महाराजगन्जमा राणा प्रधानमन्त्री एवं मोहनशमशेर र श्री ५ को सरकारकै जमिन थियो ।
नेपाली कमिसनर र अमेरिकी सल्लाहकारको नजरलाई कीर्तिपुरको त्याँला–गाँख्य: फाँटतिर तान्यो, जहाँ कुनै नयाँ र पुराना महाराजको स्वामित्व थिएन । नेवारका गुथी र रैकर जग्गा अधिग्रहण गरिँदा नाक–कटुवाकै जमिन खोसिने र उनीहरूको जग्गासँगै जीविका, आर्थिक प्रगतिमा बाधा पुग्ने तथ्यबाट लक्ष्मीप्रसाद देवकोटाजस्ता संवदेनशील कवि, कमिसनर र सरकारका अन्य निर्णायक पुरै बेखबर थिए भन्न सकिँदैन ।
उनीहरू किपुमिहरूबाट हुने प्रतिरोध, त्यसलाई मत्थर पार्ने छलकपटको रणनीति र दमनकारी सरकारी व्यवहारबाट पनि अनभिज्ञ थिएनन् । ‘सुनको डल्लो दिए पनि जग्गा दिन्नौँ’ भन्ने नाराका साथ थालिएको ‘मयो संघ’को संघर्षलाई अगुवा वासु पासालाई हातमा लिएर त्यत्तिकै तुहाउन सकिएको होइन । दमन र छलछामकै क्रममा करिब १५–२० प्रतिशत जग्गाको न्यूनतम मुआब्जासमेत नदिई दुरुपयोग गरिएको आधा शताब्दीभन्दा बेसी भइसकेको छ ।
लोकतान्त्रिक सहभागिताबिनाको ‘ज्ञान केन्द्र’
२०१३ मंसिर १५ को ‘गोरखापत्र’मा छापिएको सूचनामा गृह मन्त्रालयले भनेको थियो, ‘विश्वविद्यालयको निम्ति लिइने जग्गामा पर्ने जग्गाका धनी र मोही समेतलाई विश्वविद्यालयको इमारत बनाउने र पछि स्टाफमा लिने काममा समेत सकभर योग्यता अनुसार (स्थानीयलाई) प्राथमिकता दिइनेछ र अरू कुराको पनि हुनेसम्मको सुविधा दिइनेछ ।’
खेतीपाती गरिखाने किपुमिका जग्गाको उचित मुआब्जासमेत नदिने सरकारले सरोकारवालाको सहभागिताका लागि नीति निर्माण गरेको र योग्यता–क्षमता अनुसार उनीहरूलाई प्राथमिकतामा राखेको उदाहरण दिन सक्ने अवस्था छैन । जसको खेतबारी न्यूनतम मूल्यमा अधिग्रहण गरियो, विश्वविद्यालयको अध्ययन, अध्यापन, प्रशासन, नीति निर्णय गर्ने त्रिवि कार्यकारी सभामा उनीहरूको सहभागिता छैन, तिनका उपलब्धिलाई साझेदारी गर्ने सम्भावना निकै टाढाकै कुरा भयो ।
भूमि वा अन्य स्रोतका उपलब्धिको निजीकरण कसरी गरिन्छ भन्नेबारे त्रिविका प्रशासकसँगै विद्यार्थी, कर्मचारी र प्राध्यापकका संघसँगै तिनको नेपथ्यमा रहेका राजनीतिक दलसँग अकल्पनीय ज्ञान छ । कीर्तिपुरको एक तिहाइ खेतीयोग्य भूमि हडपेर ‘सम्भवत: काठमाडौंकै सबैभन्दा ठूलो रियल स्टेट’ बनेकोत्रिविले मनपरी बाँडचुँड गर्ने, भाडामा लगाउँदै नाफा कमाउने, स्थानीय सरकारलाई बेवास्ता गर्दै नक्सा जाँचपास विनाभवन ठड्याउने कामलाई जारी राखेको छ ।
‘शैक्षिक र प्राज्ञिक क्षेत्रबाट देश विकास गर्ने’ नाममा अधिग्रहण गरिएको जग्गा त्रिविले कुन संविधान, कानुन र ऐन अनुसार गैरशैक्षिक प्रयोजनका लागि बाँड्दै आएको छ, सार्वजनिक रूपमा जवाफ दिनु जरुरी छ । अधिगृहित जमिन घोषित उद्देश्यभन्दा बाहिरका काममा दुरुपयोग गर्न दिइँदा लामो कानुनी संघर्ष भएको र सरोकारवाला जग्गाधनीले जमिन फिर्ता पाएको नजिर हेक्का राख्नलायक छ । किपुमिहरूले दुरुपयोग भएका जग्गा फिर्ता लिने र भवन कब्जा गर्ने अभियान चलाए भने त्रिवि र सरकारका सञ्चालकहरूलाई पक्कै सहज हुँदैन ।
twitter: @rmaharjan72 प्रकाशित : माघ १, २०७५ ०८:०१

गणतन्त्रको जग : माघ १९

गणतन्त्रको जग : माघ १९
सामयिकी
माघ १९, २०७५
किशोर नेपाल
काठमाडौँ — माघ १९ ले सिर्जना गरेको आतंक अब हामी नेपालीले भोग्नु नपर्ला । अथवा हामीले त्योभन्दा ठूलो आतंकको सामना गर्नुपर्ला । अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे । माघको महिनामा जाडोको अनुभूति कम हुन्छ । चिसोको दबाब कम भएको हुँदैन । चिसो बढी नै भए पनि त्यो दिन देशको प्रमुख आध्यात्मिक थलो स्वर्गद्वारी प्रवेशद्वारको रूपमा रहेको प्यूठान जिल्लाको भृंगृ बजारको बिहान निकै उज्यालो र सुमधुर थियो । पश्चिमबाट पूर्वतिर बगिरहेको माण्डवी नदीको आवाजले वातावरणलाई अझै रमाइलो बनाएको थियो ।
प्यूठान र रोल्पाको सिमानामा रहेको, सानो र सुन्दर भृंगृ बजारले यस भेगका करिब साठी हजार जनसङ्ख्यालाई व्यापारिक सेवा पुर्‍याउँदै आएको थियो । सरकारले माओवादी विद्रोहीलाई निरुत्साहित गर्न व्यापारमा कठोर नियन्त्रण लगाएकाले उपभोक्ताको सेवाको अवस्था थिएन । सरकारी कारबाहीले प्यूठान र रोल्याका झन्डै बाह्रवटा गाउँहरू व्यापारविमुख बनेका थिए । चामल यहाँका जनताको मुख्य आवश्यकता हो । तर, प्रशासनले यो क्षेत्रमा चामलको व्यापार सीमित गरेको थियो । व्यापारीले चालीस क्विन्टल चामल ल्याउने अनुमति पाए पनि सुरक्षाले त्यो अनुमतिलाई मान्यता दिंदैनथ्यो । त्यतिबेला व्यापारीहरूले सरकारले दिने पीडा मात्र होइन, विद्रोहीले दिने पीडा पनि समान रूपले भोगेका थिए । यतिबेला ती व्यापारीहरू त्यो पीडालाई सम्झन चाहँदैनन् ।
२०६१ माघ १९ गते बिहान भृंगृका सामान्य नागरिक, राजनीतिकर्मी, पर्यटन व्यवसायी र व्यापारीहरू चन्द्रेश्वर प्राथमिक शिक्षालयको आँगनमा जम्मा भएका थिए । म उनीहरूसँग जनताले दिनहुँ भोग्नुपरेका हिंसात्मक द्वन्द्वका समस्या र विकासका सम्भावनावारे छलफल गर्दै थिएँ । बजारबाट उपभोग्य वस्तुहरूको ओसार–पसारमा सुरक्षाफौजले गर्ने रूखो हस्तक्षेप त्यतिबेला जनताले भोगिरहेको मुख्य समस्या थियो । उनीहरू यो समस्यालाई सोझै र स्पष्ट शब्दमा सुरक्षाफौजसँग जोडेर प्रस्तुत गर्न हिच्किचाइरहेका थिए । सुरक्षाको ज्यादतीको कुरा गर्दा सरकारी पक्षले माओवादीको आरोप लगाउने त्रास सबैको अनुहारमा स्पष्ट देखिन्थ्यो । त्यो त्रासलाई लुकाउन खोज्दै, घुमाउरो भाषामा, अड्किई–
अड्किई समस्याको गाँठो फुकाउन खोज्थे व्यापारीहरू :
चार पोका चाउचाउ र चार किलो चिनी ल्याउन पनि पाएका छैनौं हामी व्यापारीले औषधिको नाममा सिटामोलको गोली सामान्य उपभोगका सामान ल्याउँदा पनि प्रशासनको सिफारिस चाहिन्छ त्यो सिफारिसका लागि हामीले बेग्लै कष्ट खेप्नुपर्दछ यस्तो अवस्थामा के उन्नति हुन्छ?फौजी ब्यारेकमा बस्ने अल्लारे र उरन्ठेउला सिपाहीहरूका कारण आफ्नो सामाजिक प्रतिष्ठा छिन्नभिन्न हुने चिन्ता र आशंकामा डुबेका थिए बजार क्षेत्रका भलाद्मीहरू । उनीहरू साँझ–बिहान लामाटारको बाटो हिंड्ने छोरी– बुहारीहरूको इज्जत सुरक्षित नभएको गुनासो गर्दै थिए : हाँस्ने–बोल्नेसम्मको कुरासँग उनीहरूको परहेज थिएन । तर, खानतलासीका नाममा गरिने अभद्र व्यवहारका कारण समस्या उत्पन्न हुने डरले सबै तर्सिएका थिए । असुरक्षित खालको सुरक्षा व्यवस्थाले सबैलाई चिन्तामा पारेको थियो । चिन्ताको अर्को पाटोमा विद्रोहीहरू थिए । मानिसको हैसियत नै नहेरी दस हजारदेखि पचास हजारसम्म चन्दा तोक्ने, चन्दा नदिए हात–गोडा भाँचेर अपांग बनाइदिने, अपहरण गर्ने र घरबास नै छाडेर हिंड्नुपर्ने अवस्थामा पुर्‍याइदिने †
बाटो–घाटो, टेलिफोन, नहर–कुलो र विकासका अन्य विषयहरूमा विद्रोहीहरूको निरन्तर हस्तक्षेप र अवरोध कसैलाई पनि मन परेको थिएन । विकासका काममा आएको रकमको हिस्सा खोज्ने र हिस्सा नपाए काम रोक्ने † उनीहरूको व्यवहारसँग मानिसहरू आजित भएका थिए । यो पनि खुलेर बोल्न सक्ने विषय थिएन । विद्रोहीको चर्चा गर्दा सुराकीको आरोप लाग्ने पीर †
बिहान ढल्किन थालेपछि छलफललाई निष्कर्षमा पुर्‍याउँदै सहभागीहरू भन्दै थिए,
बल प्रयोग गरेर माओवादी समस्या समाधानको छेउ– टुप्पो केही फेला पर्दैन यसका लागि दुवै पक्षले वार्तामा आउनैपर्छ वार्ता र सहमतिबाटै यो समस्यालाई टुंग्याउनुपर्दछ दुईथरी बन्दुकको चेपमा चेपिएर हामी कति दिनसम्म बाँच्न सक्दछौं ?
छलफलको अन्त्यमा टुप्लुक्क आइपुगे, जनमोर्चाका स्थानीय नेता थम्मन बुढामगर । उनले भने,
अहिले भर्खर रेडियोबाट शाही घोषणा भएको छ राजाको रोडम्याप आएको अब २०४६ को जनआन्दोलनको उपलब्धि बहुदलीय प्रजातान्त्रिक पद्धति पनि गएजस्तो
सुनेर म झसंग भएँ । थम्मन आफैंले शाही घोषणाका केही अंश मात्र सुनेका थिए । त्यत्तिकै भरमा कुनै निष्कर्ष निकाल्न सकिने थिएन । यता भेलाका सहभागीले शाही घोषणाको बारे खासै उत्साह देखाएर सोधखोज पनि गरेनन् । कार्यक्रममा शाही घोषणाको उल्लेख हुनेबित्तिकै उनीहरूको अनुहार चकमन्न बन्यो । थम्मनले विचार राखेपछि मैले छलफल कार्यक्रम टुंग्याएँ ।
म र मेरा साथीहरूमा शाही घोषणा सुन्ने उत्सुकता प्रबल थियो । हामीलाई थाहा थियो, सरकारी सञ्चार माध्यमहरूले शाही घोषणा अविरल प्रसारित गर्नेछन । भृंगृबाट फर्कंदा शाही घोषणा सुन्ने अवसर हामीलाई कतै मिलेन । हामीसँग भएको सानो एफएम रेडियोले रेडियो संकेत टिप्न सकिरहको थिएन । हामीले एफएम प्रसारणमा रोक लागेको अनुमान नै गरेनछौं । लामाटार ब्यारेकबाट केही पर रहेको एउटा पसलमा रेडियो घन्किरहेको थियो । हामी केही बेर पर्खेर भए पनि रेडियो सुन्ने नियतले त्यहाँ रोकियौं । हामीलाई देख्नेबित्तिकै पसलेले रेडियो र पसल एकसाथ बन्द गरे । उनको व्यवहार हामीलाई अनौठो लाग्यो । हामीले उनीसँग रेडियो सुन्न दिने आग्रह गर्दा नगर्दै उनी माण्डवी नदी किनारको ओरालो ओर्लिसकेका थिए । पहाडमा मानिस देख्नेबित्तिकै पसल बन्द गरेको हाम्रा लागि यो पहिलो अनुुभव थियो । हामी चकमन्न बजार, वस्ती र सडक काटेर भालुबाङतिर लाग्यौ । झिमरुकदेखि भालुबाङसम्मको बाटो पूरै सुनसान थियो । त्यतिखेर प्यूठानको यो भागमा माओवादीहरूको बन्द चलिरहेको थियो । बन्दका कारण बजारहरू खुलेका थिएनन् । जनताले बन्दलाई सदाझैं सहज रूपमा लिएका थिए । जीवन सामान्य थिएन । सार्वजानिक यातायात पूरै बन्द थियो ।शाही घोषणाबारे हाम्रो उत्सुकता भालुबाङमा पनि मेटिन सकेन ।
हामी निर्धारित कार्यक्रम छोट्याएर भालुबाङबाट बुटवलतिर लाग्यौं । परिवर्तित सन्दर्भमा शाही घोषणाका प्रस्तावहरूका बारे थाहा नपाएसम्म यात्रा जारी राख्नु निरर्थक हुन्थ्यो भन्ने बोध हामीलाई छिट्टै भयो । गोरुसिंगे कटेपछि मोबाइल चल्ने आशा थियो । त्यहाँ पुगेपछि थाहा भयो, बिहानैदेखि सञ्चारका सबै मार्गहरू अवरुद्ध छन् । भालुबाङदेखि बुटवलसम्मको सडक लगभग सुनसान थियो । हामी झमक्क साँझ पर्दा बुटवल पुग्यौं । बल्ल हामीलाई राजाको सम्बोधन सुन्ने अवसर प्राप्त भयो ।
सम्बोधन सुन्यौं । त्यसलाई भावुक शब्दहरूले सिंगार्ने कोसिस गरिएको थियो । विद्रोहका कारण उब्जिएका सबै समस्याहरूलाई शब्दमा समेटिएका थिए । तर, ती शब्दहरूले कतै पनि सम्बोधनको अभिप्राय स्पष्ट पार्न सकेका थिएनन् । माओवादी विद्रोहको परिस्थितिप्रति देखाएको निरपेक्षताका कारण राजनीतिक दलहरूसँग जनताले गर्ने गरेका गुनासा र असन्तुष्टिहरूलाई राजाको सम्बोधनले सकेसम्म बढी समेट्ने प्रयास गरेको थियो । सम्बोधनले यिनै गुनासा र अस्न्तुष्टिहरूलाई अभियोग बनाएर दलहरूको चर्को आलोचना गरेको थियो । राजाको सम्बोधन बहुदलीय व्यवस्थाप्रति पूर्ण असहमतिको अभिव्यक्ति थियो ।
घोषणाको परिणाम
लगत्तै नागरिक अधिकारहरू निलम्बित भए । जनता सञ्चार सम्बन्धबाट अलग गरिए । सूचनाको अधिकार धराशायी भयो । संगठित क्षेत्रका रूपमा विकासका शृङ्खलाहरू उक्लिंदै गरेका सञ्चार–माध्यमसँग सम्बन्धित सबै संस्था घेराउमा परे । मोबाइल फोनमा रोक, छापामा सेन्सरसिप, एफएम रेडियोहरूको सूचनामूलक प्रसारणमा सुरक्षाकर्मीहरूको ठाडो हस्तक्षेप शाही घोषणाका तात्कालिक परिणाम थिए । सुरक्षा निकायका साना–ठूला अधिकारीहरू आफ्नो हातमा शासनको जिम्मेवारी आएको दाबी गर्न थाले । नागरिक प्रशासन प्रभावशून्य भयो ।
प्रारम्भमा माओवादी विद्रोहबाट आजित भएको दाबी गर्ने सहरियाले राजाको कदमप्रति खासै असन्तोष व्यक्त गरेको पाइएन । शाही घोषणापछि गिरफ्तार भएका दलका साना–ठूला नेताहरूप्रति पनि जनताको खासै सहानूभूति देख्न पाइएन । नागरिक अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक र गैरव्यावसायिक संघ–संस्थाहरूले तत्काल स्वत:स्फूर्त विरोधको संयोजन गर्न सकेनन् । प्रजातान्त्रिक शासन पद्धतिप्रति जनताको विमति थिएन । राजाबाट हिंसात्मक द्वन्द्वको समाधान निस्किहाल्छ कि ? झिनो आशाले सबैलाई अल्झाएको थियो ।
शाही घोषणाको लगत्तैपछि विभिन्न शहरमा दिपावली भए भने देशकाअसंख्य बजार र बस्ती अँध्यारै रहे । शाही घोषणाको प्रतिरक्षाका लागि देशमा संकटकाल घोषणा भयो । यसले माओबादी बिद्रोहीले आह्वान गरेको फागुन १ गतेदेखिको अनिश्चितकालीन नेपाल बन्दलाई निष्प्रभावी तुल्याउन सकेन । माओबादीहरूले लेउती खोलाछेउको सडकमा पर्खाल उठाएर अवरोध खडा गरेकाले धनकुटा जाने यात्रुहरू भेडेटारबाट तल ओर्लिन सकेनन् । महेन्द्र राजमार्गको कानेपोखरी–दमक खण्डमा राखिएका धराप र दुई पक्षको झडपका कारण झापा पहुँचबाहिर पर्‍यो । चितवनबाट पश्चिम बुटवलसम्म राजमार्गमा सयौं क्विन्टल गोलभँेडा फालिए । यातायात अवरोधका कारण बजार पुर्‍याउन नसकेपछि कुहिन थालेका गोलभेँडा सडकमा फाल्नुको विकल्प किसानहरूसँग थिएन । बुटवलबाट पश्चिम, महेन्द्र नगरसम्म अवस्था अझै कष्टकर थियो । मेचीदेखि महाकालीसम्म, राजमार्गको सुरक्षा व्यवस्था सचेत र सजग भएको शाही सरकारले दाबी गरे पनि यातायात सेवा ठप्प रह्यो । राजमार्ग छेउका बजारहरू फाटफुट खुलेका थिए । मानिसको चहलपहल भने शून्य थियो । बन्दको बेलामा राजमार्गमा चलाइने सवारी साधनलाई सुरक्षा दिइने व्यवस्था भएपनि व्यवसायीहरू जोखिम उठाउन तयार थिएनन् । राज्य आफैँ युद्धरत रहेका बेला राज्यको सुरक्षा घेराभित्र रहेर यात्रा गर्दा आइपर्ने खतराका सामना गर्न कोही तयार थिएन । नारायणघाटमा एक जना यात्रु भन्दै थिए,
सुरक्षा घेराभित्रको यात्रा झन् खतरनाक हुन्छ भर्खर शाही घोषणा भएको विद्रोहीहरूले यतिबेला झन धेरै धराप थापेका होलान् यस्तो अवस्थामा कतिबेला के हुने हो पत्तै हुँदैन
माथिका विवरणहरू काल्पनिक कथा होइनन् । यो हाम्रो जीवनको यथार्थ हो । अहिले यस्तो लाग्दछ, मात्र चौध वर्षअघिका यी कठोर अनुभव हामीले बिर्सिइसकेका छौं । संसारभर इतिहासकार, सिनेकर्मी, कलाकार, साहित्यकार आ–आफ्नो देशले भोगेका अमानवीय परिस्थितिको अभिलेख पुस्तक, सिनेमा, नाटक, कविताजस्ता प्रभावकारी माध्यम मार्फत तयार पारिरहेका छन् । हामी भने ती कालखण्डलाई बिर्सिइरहेका छौं । हामी सामान्य कुरामा रमाइरहेका छौ । यो नै हाम्रो दुर्गतिको कारण हो । गति भनेको चेतना हो । हामीमा यो चेतनाको सर्वथा अभाव छ ।
माघ १९ राजाको इन्कार थियो, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रप्रति । २०४६ को राष्ट्रिय जन–आन्दोलन मार्फत जनताले अभिव्यक्त गरेका विधिका शासनविरुध्द प्रहार थियो । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे ।
अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । तर, माघ १९ को रचनात्मक विरोध हुनुपर्दछ जसले जुनसुकै प्रकारको एकाधिकारवादी, तानाशाही शासन प्रणालीप्रति जनतालाई सजग बनाओस् ।
देशको राजधानी शहरका अँध्यारा कोठाहरूमा गणतन्त्रविरुद्धका खेलको प्रायोजन भइरहेको छ । यस्तोमा, देश राजनीतिक खतराबाट मुक्त छ भन्न मिल्दैन । नेपालमा राजनीतिक संस्कार छैन । यस्तोमा भन्न सकिन्न सत्ताको मोहमा परेका मानिसले कस्तो षड्यन्त्र रच्नेछन् ? राजनीतिक दलहरू पनि कतै यो षड्यन्त्रको वृत्तमा त छैनन् ? प्रश्न जायज हो । सत्ताका लागि दल टुक्य्राउने परम्परा छ देशमा । यति भन्न सकिन्छ सबै कुरा शत–प्रतिशत प्रमाणित छैनन् । यस्तो अवस्थामा जनता सचेत रहने हो भने कुनै पनि षड्यन्त्र सफल हुन सक्दैन।
Kantipur प्रकाशित : माघ १९, २०७५ १२:००

घुमिफिरी ‘फेरी’

घुमिफिरी ‘फेरी’ 
संस्कृति
पुस २१, २०७५कुलचन्द्र न्यौपाने
काठमाडौँ — यी हुन्, काठमाडौंमा फेरी (फिरी) लगाउने एक्ला कान चिरेका जोगी, अर्थात् डिल्लीनाथ योगी । कान चिरेर ठूलो बाला लगाएका, घाँटीमा हड्डी, मोती, रुद्राक्षको माला भिरेका, साइडमा झोला, रातो ज्याकेट अनि हातमा मृगको सिङको ढुम्रोजस्तो बजाउने बाजा । सत्ययुगका बाबा गोरखनाथको जस्तो भेष अहिले डिल्लीनाथको चिनारी बनेको छ ।
१६ वर्षअघि सुदूरपश्चिमी एक गाउँबाट काठमाडौं छिरेका उनी अहिले साँखुस्थित शालीनदीको महन्थ आश्रममा बस्छन् । तर, कात्तिक सुरु भएदेखि नै उनको त्यहाँ बास छैन । एक दिन झुलुक्क एउटा गाउँ/टोलमा देखिने उनी अर्को दिनभने अर्के गाउँ/टोलमा पुगिसकेका हुन्छन् ।
उनको मुख्य पेसा घरघर डुलेर फेरी लगाउने हो । उनकै शब्दमा केही वर्षअघिसम्म यो पेसा थियो, हिजोआज पुर्खादेखि चल्दै आएको संस्कृति जोगाउने धर्म बनेको छ । उनी फेरी लगाउने एक्ला जोगी भने होइनन् । तर, गोरखनाथबाट दीक्षित र कान चिरेको फेरी लगाउने जोगीमा भने ‘आफू एक्लो भएको’ उनको दाबी छ । उनको दाबीमा सही थाप्दै अर्का जोगी पद्म भन्छन्, ‘शुद्ध मन्त्र भनेर फेरी लगाउने र त्यसमा पनि कान चिरेको जोगी उहाँ मात्रै हो ।’
६० वर्षीय डिल्लीनाथ राति ९ बजेदेखि फेरी लगाउन सुरु गर्छन् । निर्धारित टोल र बस्ती नभ्याउँदासम्म चेला पदमका साथ डुलिरहन्छन् । यसरी डुल्दा राति २ बजेदेखि कहिलेकाहीं बिहानको ४ बजिसकेको हुन्छ । फेरी लगाएका घरमा बिहान ७ बजेदेखि नै सिदा थाप्न हाजिर हुनुपर्छ । फेरी लगाउन कात्तिक लागेदेखि नै सुरु हुन्छ र फागुनसम्म चल्छ ।
फेरीको आफ्नै कहानी छ । यसको सुरुआत सत्ययुगबाटै भएको मानिन्छ । इतिहास भन्छ— यसको प्रचलन गोरखनाथ बाबाबाट सुरु भएको हो । सत्ययुगमा राक्षसी जगजगी थियो । देवताहरू त्राहीमाम थिए । त्यसबाट बचाउन गोरखनाथ बाबा आफैंले घरघरमा पुगेर फेरी लाउन थाले । आफूपछि कान चिरेका जोगीलाई उत्तराधिकारी रूपमा उनले सुम्पेपछि जोगीले फेरी लगाउन थालेका हुन् भन्ने किंवदन्ती छ ।
डिल्लीनाथ योगी आउनुअघिसम्म महन्थ आश्रममा गुरु थिए— गंगानाथ योगी । आफूपछि फेरी लगाउन उनले डिल्लीनाथ योगीलाई सुम्पे । ९ वर्षअघि गंगानाथको देहान्त भयो । त्यहाँबाट डिल्लीनाथ आश्रमका मुख्य हर्ताकर्ता छन् । आश्रममा एक दर्जन जोगी छन्, सबै फेरी नै लगाउँछन् ।
जोगीहरूले फुक्ने विशेष प्रकारको बाजा मृगको सिङ हो । यस्तो प्रकृतिको बाजा अहिले दुर्लभ छ । कतिपय जोगीहरू यस्तो बाजा नपाएर शंख फुक्ने गर्छन् । ‘वर्षभर नै भूतप्रेत नलागोस्, कुनै छेद नलागोस् भनेर मन्त्रसहित यो बाजा बजाउने गरिन्छ,’ उनी भन्छन्, ‘यो पवित्र स्वरले घर र गाउँलाई शान्ति दिन्छ ।’
फिरी लगाउने जोगीलाई विशेष महत्त्वका साथ धान, चामल, तरकारी, नगदसहित सिदा दिने चलन गाउँमा छ । कतिपय गाउँमा वर्षमा दुई पटक धान र गहुँ छुट्टाएर राख्ने प्रचलन हुन्छ । ‘यसरी उठाएको सिदाको थोरै
अंश गोरखनाथलाई भोग चढाउँछौ, कर बुझाउँछौं,’ डिल्लीनाथ भन्छन्, ‘अनि बल्ल गोरखनाथ बाबाबाट
आशीर्वाद पाइन्छ ।’ प्रकाशित : पुस २१, २०७५ ०८:५९

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...